सेलाउँदै गइरहेको छ दलहरुको आन्दोलन

२०६२ असोज ३ सोमबार

[हिजो कारणवश पूरा गर्न नसकेको ब्लगलाई आज पूरा गरेको छु- असोज ४]
शीर्षक र माथिको तस्वीर देखेपछि अलि अनौठो लाग्यो होला तपाईँहरुलाई। तर यो तस्वीर एउटा पाटोमात्र हो। शान्ति र लोकतन्त्रको पक्षधर भएकोले मैले पनि पूर्वाग्रही भएर लेख्ने हो भने आन्दोलनले दिनदिनै राजधानी तात्दैछ भनी लेख्न सक्थेँ। तर ब्लगरको धर्म जे देख्यो त्यही लेख्ने हो। न कुनै लगानीकर्ताको दबाब, न पूर्वाग्रह…म मेरो संसारमा जे देख्छु त्यही लेख्छु। र, आजको कार्यक्रम हेरेपछि मैले भन्नै पर्ने भएको छ, दलहरुको आन्दोलन बिस्तारै सेलाउँदैछ। बाँकी

पेशाकर्मी र बुध्दिजीवीहरुको अगुवाईमा सात दलका नेता तथा कार्यकर्ताहरुले निषेध घेरा तोड्ने कार्यक्रम धेरै अघि नै सार्वजनिक भइसकेको हुनाले समय अगावै सवा ३ बजेतिर म पुतलिसडक पुगेको थिएँ। पुतलिसडकदेखि नै डिल्लीबजार उकालोमा सयौं प्रहरी तैनाथ थिए। त्यसको ठीक विपरीत आन्दोलनकारीहरुको संख्या भने थोरै थियो। निर्धारित समयमा जुलुस निकाल्ने बेलातिर भने संख्या बढ्यो।

चार बजे पेशाकर्मी र बुध्दिजीवीहरुलाई अगाडि राख्दै सात दलका नेता तथा कार्यकर्ताहरु पछाडि बसेर जुलुस निकालियो। प्रहरीले पुतलिसडक निस्कने बाटो छेकेर राखेका थिए। उनीहरुले निषेध क्षेत्र पार नगर्नुहोला भनी ब्यानर पनि बोकेका थिए र माइकिङ पनि गरेका थिए। दमकलबाट पानीको फोहोरा हान्न तयार पारिएको थियो।


निषेध क्षेत्रमा प्रवेश निषेधको ब्यानर र माइकिङ गर्दै पुलतिलसडक जाने बाटो छेकिरहेका प्रहरी। तस्वीरः उमेश

भीडले घेरा तोड्यो। केही पुतलिसडकसम्म आइपुगे। प्रहरीले नेपाली काँग्रेसका नवनियुक्त प्रवक्ता रामशरण महतलाई गिरफ्तार गर्‍यो। उनी प्रतिकार गर्दै थिए। तर ठूलो संख्यामा रहेका प्रहरीको अगाडि उनको केही लागेन। उनलाई भ्यानमा हालियो। त्यसैगरी अर्का काँग्रेसी नेता अर्जुन नरसिंह केसी झन्डै पुतलिसडकसम्म आइपुगेका थिए। उनलाई पनि प्रहरीले भ्यानमा हाले।

भीडमा सबैतिर दृष्टि पुर्‍याउन गार्‍हो हुन्छ। मैले आफ्नै आँखाले भने यिनै नेताहरुलाई पक्रेको मात्र देखेँ। तर अरु नेताहरु जस्तै एमालेका मंगलसिध्दी मानन्धर, राजेन्द्र श्रेष्ठ आदिलाई पनि गिरफ्तार गरिएको रहेछ। वृध्दा छायादेवीलाई कहाँ कहिले पक्रियो, मैले हेर्न पाइनँ।


अर्जुननरसिंह केसीलाई गिरफ्तार गर्दै। तस्वीरः उमेश

प्रहरी आज संयमित देखिन्थ्यो। त्यसो त केहो प्रहरीले आज पनि प्रदर्शनकारीलाई लाठीले चुटन बेर लगाएनन्। तर त्यस्ता प्रहरीलाई उनीहरुकै सहकर्मी र अधिकारीहरुले छुटाए। कालो कोटधारी एक कानुन व्यवसायीलाई प्रहरीले लछारपछार गरी पक्रे।

उता पुतलिसडकमा एक हुल चर्का नारा लगाउँदै बसे। उनीहरुलाई पनि प्रहरीले पक्रे र त्यस क्रममा मुख थुन्न खोजे। चर्का नारा लगाउने एक जनालाई छानी छानी प्रहरीले भीडबाट पक्रेर दुर्व्यवहार गर्न खोजेको थियो।

अब ‘शो’ समाप्त। १५ मिनेट पनि भएको थिएन सबैलाई गिरफ्तार गरिसकिएको थियो। डिल्लीबजारको उकालोतिर एक हुल बाँकी थियो तर नेतृत्वको अभावमा उनीहरु बेवारिसे थिए। अधिकांश त त्यहाँ तमाशेमात्रै थिए।


काँग्रेसका नवनियुक्त प्रवक्ता रामशरण महतलाई भ्यानमा कोच्दै। तस्वीरः उमेश

पेशाकर्मी र बुध्दिजीवीहरुले निषेध घेरा तोड्ने भनिए पनि उल्लेखनीय संख्यामा उपस्थिति थिएन। त्यसैले १५ मिनेटमा नै कार्यक्रमलाई प्रहरीले नियन्त्रणमा लिइहाले। न्युरोडमा प्रदर्शन हुनेगर्दा त्यो उत्तेजक बनेको थियो। बागबजार सरेपछि केही दिन उत्तेजक बन्यो। अब डिल्लीबजार सरेपछि भने झन्डै निष्प्रभावी बन्न खोज्दैछ।

त्यसो त अब दशैं पनि लाग्दैछ। त्यसैले पनि आन्दोलन सेलाउन थालेको हो कि। फेरि आन्दोलनमा कहिले नयाँ अनुहार र जनता देखिएन। सँधै उही नेता उही कार्यकर्ता। नेताहरु पनि दोस्रा दर्जाका। शीर्ष नेताहरुले दिनदिनै सडकमा आउन किन गार्‍हो मानेका ? आन्दोलनमा पनि घुम्ने कुर्सीमा बसेर गर्ने चाह हो कि के हो यिनीहरुको ? एमालेको राजधानीमा एक लाख सक्रिय कार्यकर्ता छन् भनेर उनीहरुका मान्छेहरु भन्ने गर्छन्। खै त एमालले आन्दोलनमा आफ्ना कार्यकर्ताहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्न सकेको ?


एक कानुन व्यवसायीलाई प्रहरी गिरफ्तार गर्दै। तस्वीरः उमेश

फेरि कार्यकर्तालाई पनि आफ्ना नेताहरुको भर लाग्न छाडेको जस्तो छ। असोज १८ को कदमपछि जतिबेला सडक तातेको थियो, त्यतिबेला सडकमा उल्लेख्य उपस्थिति हुने गर्थ्यो। त्यतिबेला यिनीहरुले चाहेको भए वार कि पारको आन्दोलन गर्नसक्थे। तर कुर्सीको खेलमा परेर यिनीहरु फुटे, अहिले फेरि जुटेका छन्। तर महत्त्वपूर्ण कुरा, जनतालाई पटक्कै आन्दोलित बनाउन सकेका छैनन्।

नागरिक समाजले जनतालाई केही जागृत बनाउन खोजेको थियो र छ। तर राजधानीमा नागरिक समाजले कार्यक्रम नगरेको पनि धेरै भयो।


नारा लगाउनेको कमी भएपछि ढुंगा हान्ने तयारी। तस्वीरः उमेश

१५ मिनेटमा नै आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिइसकेपछि डिल्लीबजारको उकालोमा केही नेतृत्वविहीन भीड ढुंगा हान्न सडक छेउमा रहेका ढुंगा बटुल्दै थिए। जाउँ न अगाडि भनेर उनीहरु कराउँदै थिए तर कोही अघि सरिरहेको थिएन। त्यसैले एक जना ल म ढुंगाले हान्छु तपाईँहरु अगाडि जाउँ भनेर भन्दै थिए। धेरै बेरसम्म त्यो अन्यौल कायम रह्यो। त्यसपछि एकजनाले टायर र एकजनाले पराल ल्याएर सडकबीचमा राखेर आगो बालेर सेलाएको माहौललाई तताउने प्रयास गरे।


चिसिएको आन्दोलनलाई तताउन आगो बाल्ने तयारी। तस्वीरः उमेश

चार पाँच जनाले चर्का नारा लगाए। नारा पनि आजभोलि जथाभावी लाग्न थालेको छ-
आर्यघाटले के भन्छ, .*****…..लाई ले भन्छ
शिकारी माइलो…*************……………..बाँच्नुभन्दा मर्नु बेश
ले ले जनता खुकुरी ले, ******….लाई छप्काइदे

दशौं हजारको भीडले यो नारा लगाएको भए यसको केही महत्त्व हुन्थ्यो होला तर चार पाँच जनाको भीडले यस्ता चर्का नारा लगाउनुको सान्दर्भिकता मैले देखिनँ। केही छिनको नाराबाजीपछि उनीहरुले ढुंगामुढा गर्न थाले। ढुंगा हान्नेहरुमा एक प्रहरी अधिकारीको भनाईमा “गुण्डा टाइपका मान्छे” थिए। अनि स्कुल छुटेर आएका केही विद्यार्थीहरु पनि रमाइलोका लागि त्यसमा लागेको देखेँ। त्यो भीडलाई प्रहरीले एक पटक लखेटेपछि ढुंगामुढा पनि बन्द भयो र शो साँच्चिकै अन्त्य भयो।


पुतलिसडकमा भीडको दृश्य खिच्दै गरेका क्यामेराम्यान। तस्वीरः उमेश

पछि एक प्रहरी अधिकारी हामी पत्रकार र मानवअधिकारवादीहरु भएको ठाउँतिर आएर भन्दै थिए, “देख्नुभो नि तपाईँहरुले, चारपाँच जना मान्छेले यत्रो जनजीवनलाई अशान्त बनाइराखेका थिए। मान्छेहरु पनि फेरि गुण्डा अपराधी टाइपकाहरु….” उनको यो कुरा मलाई पनि ठीकै लाग्यो। कुन कुरा चाहिँ ठीक लागेन भने प्रहरीले एक बटुवालाई पनि ढुंगा हानेको आरोपमा चुटे। अनि केहीलाई हात हेर्दै ढुंगा हानेको आरोपमा पुतलिसडकसम्म हिँडाएर प्रहरी भ्यानमा हालेर भक्कुमारसित चुटे।

प्रहरी अधिकारीहरु गल्लीबाहिर बसी कुरा गर्दैथिए, “उ त्यो सेतो भेस्ट लाउनेले सबैभन्दा पहिला ढुंगा हानेको हो। त्यसलाई अहिले पक्रियो भने अलग्गै भ्यानमा हालेर लग्नु पर्छ” त्यसरी लगेपछि के गरिन्छ, त्यो त तपाईँहरुले अनुमान गर्नु भएकै होला।


डिल्लीबजारबाट जुलुस निकाल्ने तयारीमा सहभागी छायादेवीः कतिञ्जेल यी आमैले आन्दोलन धान्ने ? खै जनता सडकमा उत्रिएको ? तस्वीरः उमेश

यसरी हिजोको आन्दोलन सकियो। म बाटोभर आन्दोलन सेलाएको कुरा मनमा खेलाउँदै आइरहेको थिएँ। घरमा पुग्दा उपाध्यक्ष तुलसी गिरी टिभीमा कुर्लँदै थिए, दलहरुले गणतन्त्रको कुरा गर्छन् भने हामीले राजतन्त्रात्मक शासन व्यवस्थाको कुरा किन नगर्ने ? दलहरुले नै संवैधानिक राजतन्त्र नमानेपछि सरकारले मात्र संविधान मान्नुपर्छ भन्ने छैन आदि इत्यादि।

दलहरुको आन्दोलनको गति यस्तो छ, अनि राजावादीहरुको फूर्ति बढ्दैन त ? अझ मैले सुनेको हल्ला अनुसार त राजा दशैं अगाडि नै यही गिरीलाई मन्त्रिपरिषद्‍को अध्यक्ष बनाउने र कडा नियन्त्रण गर्ने विचारमा छन्।

लौ न साथीहरु, तपाईँहरु नै भन्नुस्, अब के उपाय होला आन्दोलनलाई गति दिने ?