
नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज घन्काउँदै पैदल यात्राको आयोजना गर्यो। भक्तपुरका बालबालिका, महिला, वृध्द गरी हजारौंले यसमा सहभागिता जनाएका थिए। र्याली नयाँ बानेश्वरको लोकतन्त्र चोकमा सभामा परिणत भएको थियो। तस्वीरमा एक बालक स्कूल ड्रेसमा प्लेकार्ड प्रदर्शन गर्दै। थप तस्वीर र भिडियो ब्लगका लागि भित्र आउनुस्।

यो नेमकिपाको शक्ति प्रदर्शन थियो। निकै तयारी गरेको थियो यसका लागि पार्टीले। करिब २० हजार जनाले यसमा भाग लिएका थिए रे। माघ १९ पछि नेमकिपाले आयोजना गरेको यो पहिलो विरोध सभा थियो।

पैदलयात्राका लागि आज भक्तपुरमा सबै स्कूल कलेज बन्द गरिएको हुनाले स्कूले बालकदेखि लिएर शिक्षकहरुको पनि यसमा सहभागिता थियो। ६-७ वर्षकादेखि ७० वर्षसम्मका मानिसहरु यसमा सहभागी थिए। निकै व्यवस्थित रहेको यो र्यालीमा पैदल यात्रीको सुविधाका लागि पुरुष र महिलाका लागि अलग्गै घुम्ती शौचालय, पानी पिउनका लागि पानी राखिएको गाडी, एम्बुलेन्स साथै ल्याइएको थियो।

उनीहरुले आफूसित खाजाका लागि दालमोठ र चिउरा पनि बोकेर आएका थिए। म सभाको मध्यतिर त्यहाँ पुग्दा धेरैले पिकनिक मनाए जस्तै गरी आ-आफ्नो समूहमा बसी खाजा खाइरहेको देखिएको थियो। त्यहाँ निकै फोहोर पनि देखिएको थियो। तर पछि उनीहरुले सफा समेत गरेर गए रे। उनीहरु फर्कनका लागि ८०-९० गाडीको समेत व्यवस्था गरिएको थियो।


एक वृध्द सहभागी आफ्नो प्यास मेटाउँदै।

भाषण त के सुन्नु र, पहिले पेट पूजा गरौं नः वृध्दहरुको समूह चिउरा खाँदै।

युवायुवतीको यो समूह पनि पेटपूजामा नै व्यस्त देखिन्छ।
अरु कार्यक्रममा भए नेताहरुको भाषणलाई ध्यान दिनुपर्ने भएकोले उपस्थित भीडको बीचमा नियाल्न पाइँदैन थियो। फेरि भीडतिर गयो भने अगाडि फर्कन गार्हो हुन्थ्यो। आज भने नेताहरुको भाषण हैन, भीडलाई नै हेर्ने भन्दै पछाडिको पंक्तिमा रहेका स्रोताहरुतिर म बढी घुमिरहेको थिएँ।

जसोतसो भीडलाई छिचोल्दै खिचेको भीडको फोटो।

मञ्च अगाडि जसोतसो पुगेर हेर्दा त एन्टिलाइट पर्ने भएकोले त्यति फोटो राम्रो नआउने रहेछ। तैपनि खिचेको फोटो।

र्यालीमा सहभागी ट्र्याक्टरमा प्रतिगमनविरोधी नारा।

सात दलका कार्यक्रममा गणतन्त्रका चर्का नारा लाग्थे, तर यहाँ त्यस्तो भएन रे। सहभागीहरुले माअो, लेनिन, स्टालिनसहितका कम्युनिस्ट नेताहरुको तस्वीर बोकेका थिए। जर्ज बुसलाई एक नम्बरको आतंककारी भनी लेखिएको प्लेकार्ड पनि थियो रे भन्ने सुनियो तर मैले भने यस्तो प्लेकार्ड मात्रै देखेँ-


भाषणको मतलब नभएका बालबालिकाहरु र्यालीसित आएको गाडीभित्र खेलेर रमाउँदै।

[सबै फोटो म आफैले खिचेको]
यसलाई डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला।