यस्तो तालले के आउला र लोकतन्त्र खै !

कृष्णज्वाला देवकोटा र खगेन्द्र संग्रौला अनि सीके लालले चर्को विरोध गर्दैमा के गर्नु, पार्टीका नेताहरु अमेरिकी राजदूत मोरिआर्टीको अगाडि थरथर काम्ने रहेछन् ! सुनामी ल्याउँछु भन्ने माधव नेपाललाई मकरतन्त्रले कोठाभित्र स्थानहद गरेपछि सुनामीको त के कुरा, ३८ वर्षपछि पहिलो पटक काठमाडौंमा वर्षेनी हिउँदमा पर्ने पानीसमेत परेन। एकचोटी आजभोलि नै लोकतन्त्र आउला जस्तो गरी सडकमा मान्छेहरु देखिन थालेका थिए। तर निरंकुशताले अलिकति केही दिनका लागि कडाइ गरेपछि ती सबै कता गए-गए र आन्दोलन दुई-तीन वर्षपछाडिको स्थितिमा धकेलिन पुग्यो। सात दलले कति नै के-के न गरे झैं गरी माअ‍ोवादीसँग गरेको १२ बूँदे सहमतिलाई नाइटोदेखिको बल लगाएर मोरिआर्टीले भंग गराउन खोज्दैछन्। उनैले बिहीबार ब्रेकफास्ट खुवाएर दुई काँग्रेसलाई एक हुन ‘निर्देशन’ दिएछन्।


सुनेको कुरा कति पत्याउने कति नपत्याउने। मैले सुनेको त यी मोरिआर्टी महोदयले संसद पुनर्स्थापना गराइदिन्छु भन्ने ठेक्का नै लिएका छन् रे। तर त्यसअघि काँग्रेसलाई एक बनाउनु जरुरी देखियो रे। त्यसै पनि काँग्रेस एक त हुनु नै थियो, भविष्यमा कुनै न कुनै दिन। तर मोरिआर्टीकै कृपाले त्यसो हुनुको अर्थ छ। विघटित संसद पुनर्स्थापना भएपछि टुक्रिएको काँग्रेस भयो भने संसदमा एमालेको बहुमत भइहाल्छ। अब एमालेले पार्टी कार्यालयबाट कम्युनिस्ट नेताहरुको फोटो हटाउँदैमा उसको कम्युनिस्ट बिल्ला मेटिँदैन क्यारे। त्यसैले अमेरिकालाई संसद पुनर्स्थापना हुँदा आफ्नो विश्वासपात्र प्रधानमन्त्री हुनुपर्‍यो नै।

१२ बूँदे सहमतिको आधारमा माअ‍ोवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा अवतरण गराउन सके सबैभन्दा सुखद क्षण हुने थियो नेपालीका लागि। तर अमेरिकालाई त्यही हेर्न मन छैन। माअ‍ोवादी शान्तिपूर्ण राजनीतिमा आउँदै आउँदैन भन्ने एकोहोरो रट लगाएको लगायै छ अमेरिका। त्यसो त माअ‍ोवादी पनि भर भएकाहरु त हैनन्। तर अमेरिकाको शंकाकै भरमा नेपालीले शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने आशा त्याग्नु पर्ने नै हो त ?

स्थिति यस्तै देखिन्छ। किनभने मैले देखेको अमेरिकाको रोडम्याप यस्तो छ- संसद पुनर्स्थापना, देउवा प्रधानमन्त्री, अमेरिका र उसका सहयोगी राष्ट्रहरुको सैनिक सहायता सुचारु, माअ‍ोवादीसँग वार्ता, संविधान सभामा पुनः कुरा अड्किने, अमेरिकाको हतियारको बलमा पुनः युध्द चर्काउने….!

मोरियार्टीको आदेशको भरमा काँग्रेसले १२ बूँदे सहमतिबाट अलग भई पुनः राजाको प्रधानमन्त्री बन्न जाने हो भने काँग्रेसले फेरि ऐतिहासिक गल्ती गर्नेछ। उसले फेरि कुनै पनि दिन दरबारको लात खाएर सडकमा आउनु पर्नेछ र फेरि जनतालाई आन्दोलनको पुकार गर्नुपर्नेछ। तर त्यसबेला कसले उसलाई साथ देला ?

काँग्रेस र अरु पार्टीहरुले अहिले बुझ्नु पर्ने कुरा के हो भने माअ‍ोवादी समस्यालाई सम्बोधन नगरी यो देशको मुख्य समस्या समाधान हुँदै हुँदैन। अमेरिकाको दबाब वा फकाइमा लागेर उनीहरुले हतियारको बलमा माअ‍ोवादीलाई मास्छु भनेर लाग्न थाले भने फेरि हजारौं नेपाली मर्नेछन्। लामो युध्दपछि फेरि अहिले जस्तै स्थितिको सामना एक न एक दिन गर्नुपर्ने नै छ।

अब मोरिआर्टीलाई छाडेर दलहरुको कुरा गर्न मन लाग्यो। दलका नेताप्रति वितृष्णा सबैमा छ। यी बूढा नेताहरु त बिग्रिए-बिग्रिए, युवाहरु फेरि के भा’का हुन् ? नेपालको इतिहासमा विद्यार्थीहरुले हरेक ठूला परिवर्तनमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। तर इतिहासको यो कठिन मोडमा आएर भने न नेताहरु सशक्त हुन सकेका छन्, न विद्यार्थी नै। यतिबेला ३६ सालको जस्तो विद्यार्थी नेताहरु भइदिएको भए लोकतान्त्रिक आन्दोलनले अर्कै गति लिइसक्थ्यो। तर अहिलेका विद्यार्थी नेताहरुमा आन्दोलन हाँक्न सक्ने क्षमता नै देखिएको छैन।

काँग्रेसले त पार्टी आफै लागेर नेविसंघलाई कमजोर बनाइदियो। नेतृत्वको विवादमा नराम्रोसित फँसेको छ नेविसंघ। राजाले देशमा माघ १९ लागू गरे जस्तो पार्टीले नेविसंघमा त्यस्ता माघ १९ धेरै पटक लागू गरिसकेको छ। उता, एमालेको अखिल पनि सशक्त छैन। नेविसंघ जस्तो कुनै विवाद नभए पनि अखिलको नेतृत्वले सशक्त रुपमा आन्दोलन गर्न सकिरहेको छैन। अखिलभित्रै पनि कति विवाद छ भन्ने कुरा त अहिलेको स्ववियु निर्वाचनले देखाइसकेको छ। मीनभवन क्याम्पसमा मात्रै अखिलका तीन वटा प्यानलले उम्मेदवारी दिएका छन्। ती मध्ये एक मात्रै आधिकारिक हो भने बाँकी दुई विद्रोही। त्यस्ता विद्रोही अरु क्याम्पसमा पनि थुप्रै देखिएका छन्।

देख्नुभयो त हाम्रा युवाहरु ! कलेजको सिटमा त यस्तो हारालुछ गर्नेहरुले देशको सत्तामा पुग्दा के गर्लान् ? देशको चिन्ता गर्नु त पर्‍यो।

अनि यी सबबाट फाइदा उठाउँदै निरंकुशता लादन उद्दत छन् राजा। न दलहरुले आन्दोलन चर्काउन सकेका छन्, न माअ‍ोवादीहरुले भने जस्तो साझा सेना बनाउन सक्ने स्थितिमा छन्, उता माअ‍ोवादी पनि केन्द्रीय सत्तामा कब्जा गर्ने त कुरै छाडौं, अहिलेसम्म एउटा सदरमुकाम पनि २४ घण्टा आफ्नो कब्जामा लिनसक्ने स्थितिमा छैनन्। यस्तो अवस्थामा कसरी आउँछ त लोकतन्त्र ?

अनि एउटा रमाइलो प्रसङ पनि। मैले बितेका दिनमा धेरैलाई भेट्दा सबैले लोकतन्त्र अहिले नै आउनु हुँदैन भन्ने गरेको सुनिएको छ। पत्रकारदेखि लिएर बुध्दिजीवीहरुले सम्म यस्तो विचार राखिरहेका छन् (तर अनौपचारिक रुपमा मात्र है) यी सब सुन्दा पनि लाग्छ हामी लोकतन्त्रका लागि अहिले नै तयार भइसकेका छैनौं। अस्ति भर्खर एकजना भन्दै थिए- कहाँ अहिले नै आउनु हुन्छ लोकतन्त्र। अहिले नै आयो भने त बर्बाद भइहाल्छ नि। अब आयो भने कहिले नजाने गरी आउनु पर्छ।

हुन पनि हो जस्तो लाग्यो, यी नेताहरुले अझै लात खानु पर्नेछ। यिनीहरुको बुध्दिमा यिनीहरुको विगतको गल्ती पार्नुपर्नेछ। बिस्तारै सबैलाई लोकतन्त्रिक नयाँ नेपालका लागि तयार पार्नुपर्नेछ। अनि बल्ल लोकतन्त्र आउनु पर्छ। त्यतिञ्जेल राजाले अझै कडा रुपमा निरंकुश शासन लागू गर्‍यो भने यसका लागि मार्ग प्रशस्त हुनेछ। नत्र भने, खै मैले त देखिन बा…कसरी आउला लोकतन्त्र खै ! तर अघिको साथीले भने जस्तो कामना- बरु अलि समय लागोस् (धेरै चाहिँ हैन नि) तर कहिले नजाने गरी आअ‍ोस् लोकतन्त्र…..!!!

7 Comments

  1. My dear Umesh
    u r sincere to ur mission so u blindly support the leaders as many of others.
    But its unfortunate the leaders are not sincere, not at all.They are the just enhancer of anarchy, just shepherd.
    As a result u, me and all of nepalese are unfortunate.
    Nothing is left for we poor nepalese except waiting.
    Milan

  2. उमेश जि तपाईको आजको “यस्तो तालले खै के आउला लोकतन्त्र” सिर्षक (artical) पढे र धेरै नै बुझ्न पाये यस्कोलागि धेरै धेरै धन्यबाद छ तपाईलाई। र आजको यस् विषय वस्तु ले पुर्णांक ठोकेको छ यस्को लागि बधाई दिदै फेरि पनि यस्तै पुर्णांक ठोक्ने समाचार आउने छ भन्ने आशामा छु।
    नबु

  3. umesh ji tapi la ahila samma pani nepali neta haru ko bani tha chaina ra ye sabi bhoka udush hun kun bala raja la satta dincha ra khula bhanara basaka chan yo abhian ma tapi matra hunu parla k garna moter chidna ra ghanda haluna bani jo lagiko cha
    tapi ko vcd abba ti neta haru lai dhaknu hola ali buddhi auchuka ke janta ko chora chori lai bata ma andolan gar bhana afno chora chori lai usa uk india ma doctor padhuna harnu ye nakchara haru lai rubin bahi lai pani usa ma phdana phatiya huncha ni no janta ko chora sadak ma neta ko chai usa uk india ma

  4. Mero manko kura sabai lekhidinubhe pachhi k banki rahyo ta lekhna aba.

    La bhannuhosh ta

    -Deuba nai ho rajalai sangsad bighatan garna sifarish garne. Aba punarsthapan garda usle kun mukh laune?

    -Girija ra Makune ko ta k kura? Satta ko hoadma laagera Nepali janata lai latyaune yiniharu nai hun.

    Aba arko upaya k ta?

    -Rajale janatalai chhanik bhramma rakhnalai Surya Bahadur ki Bhek Bahadur was kunai Bahadur lai pradhan mantri banayera afno haatma remote raakchha. Nepali janata naya kuro bhanera kehi din walla parera herchhan. Tara budi jiudai?? K paunu na k paunu? Jatha sthithi or even worse.

    Antama, tapaiko bhanai prati ma 100% sahamati prakat garchhu. Maobadi lai mainstream ma lyaunu nai thulo
    upalababdhi hunechha shanti ra ekta banaunama. Tapaile bhane jhai Maobadi lai pani bharosa garna sakidaina, tara uniharu pani janatako chahana biruddha
    gaye kunai din janatale ghar ko na ghatko banaunechhan.

    Keep up the good work.

Comments are closed.