भिडियो ब्लगः हत्याको विरोधमा तातेको सडक

२०६२ माघ २७, बिहीबार
दाङ हत्याको विरोधमा बिहीबार राजधानीमा भएको विरोध प्रदर्शन र श्रध्दाञ्जली सभाको मुख्य अंश समेटिएको भिडियो ब्लग हेर्नका लागि भित्र आउनुस्। भिडियोको समयावधि १० मिनेटभन्दा बढी रहेको छ। यसको पूर्ण अंश म बिस्तारै प्रस्तुत गर्दै जाने नै छु। आजको जुलुसमा मैले अनुभव गरेका केही कुराहरु पनि भित्र राखेको छु।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।

तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि तपाईँ भिसिडी पनि खरिद गर्नसक्नुहुन्छ।

भिडियो मन पर्‍यो ? डाउनलोड गर्ने हो ? यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

दाङमा सेनाको गोली लागेर ज्यान गुमाएका उमेश थापालाई लोकतान्त्रिक आन्दोलनका पहिला शहीद घोषणा गरेका सात दलले आज बसन्तपुरमा श्रध्दाञ्जली सभा गर्दैछ भन्ने समाचार कान्तिपुर दैनिकमा छापिएको रहेछ। तर सगरमाथा एफएमले भने नयाँ बानेश्वरमा शव राखिने र त्यहीँ सभा हुने जानकारी दिएको थियो। तर पनि बसन्तपुरमा के रहेछ स्थिति भनी त्यहीँबाट बानेश्वरतिर जाने विचार गरेँ।

बाटोमा भेटिए च्यानल नेपालका एक पुराना सहकर्मी। उनी पनि बसन्तपुरको सभा नै हेर्न आएका रहेछन्। उनी हिजोको चुनावको नौटंकीको उल्लेख गर्दै हाँसिरहेका थिए। अनि उमेश थापालाई सेनाले जुलुसबाट गोली हानी सुरक्षाकर्मी घाइते भएकोले गोली हानेको भनी हिजो सेनाले निकालेको विज्ञप्तिबाट क्रुध्द थिए उनी। ‘विश्वास गर्ने पो कुरा गर्नुपर्छ, गुलेली हानेको भए पत्याइन्थ्यो, गोली हानेको पनि भन्ने हो ? कस्तो बुध्दि होला ?’, उनी प्रश्न गर्दै थिए।

बसन्तपुरमा प्रहरीहरु देखिन्थे। केही भीड पनि थियो तर कार्यक्रम त्यहाँ नहुने लगभग निश्चित जस्तै थियो। त्यसैले हामी लाग्यौं आरएनएसी टेम्पो पार्क। त्यहाँबाट लाग्यौं नयाँ बानेश्वरतर्फ।

DSCI0003
नयाँ बानेश्वरमा लोकतन्त्र चोकमा सुरु मै छ्याप्छयाप्ती प्रहरी देखिए। यसो हेर्दा त जुलुस अघि बढिसकेको रहेछ। हामीले जुलुसलाई पछ्याउँदै गयौ‍।

माघ ७ गतेको सात दलको जुलुस र सभा बिथोल्न सरकारले रिङरोडभित्र लगाएको निषेधाज्ञापछि काठमाडौंमा ठूला जुलुस निस्किन सकेको थिएन। जति निस्किए छापामार ढंगमा निस्किए र त्यस्तोमा प्रहरीले हस्तक्षेप पनि गर्थ्यो। चुनाव अगाडि त नारा नलगाउने र झण्डा नबोक्ने कार्यकर्तालाई समेत प्रहरीले पक्रेका थिए। त्यसपछिको सबैभन्दा ठूलो जुलुस आज कै थियो। सातै दलका नेता र कार्यकर्ता सहभागी थिए त्यसमा। सातै दलका झण्डा बोकेकाहरु देखिन्थे।

मेलम्ची खानेपानी आयोजनाको कार्यालयअगाडि पुग्दा जुलुसका सहभागीहरु भागाभाग भए। के भएको हो, थाहा भएन। पछि केही क्रुध्द व्यक्तिहरुले ढुंगा हान्दै कार्यालयका शिशाहरु फुटाइरहेको देखियो। त्यस ठाउँमा कुनै पत्रकार वा मानवअधिकारवादी थिएनन्। यस्तो ठाउँमा क्यामेरा निकाल्नु एकदमै जोखिम हुन्छ। भीडले जे पनि गर्नसक्छ। स्थिति तनावपूर्ण हुने देखेपछि हामी त्यहाँबाट दौड्दै अगाडि लाग्यौं।

नाराहरु चर्का लागिरहेका थिए। शाही सरकारको धरपकडपछि भूमिगत रहेका कतिपय नेता र कार्यकर्ताहरु जुलुसमा देखिन्थे। जुलुस मैतिदेवी चोकमा पुग्दा कता जाने भन्ने निश्चित भएन। आक्रोशित प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर रत्नपार्क जानुपर्छ भन्दै थिए। तर नेताहरु मानिरहेका थिएनन्। त्यहीँको एउटा प्रहरी बिटको पर्खालमा चढेर भाषण गर्न लाग्दा आक्रोशित युवाहरुले अगाडि बढ्ने भए बढ, नभए चौकी उड्ला भनेर नेताहरुलाई धम्क्याए। स्थिति निकै तनावपूर्ण देखिन्थ्यो। कुनै पनि बेला केही पनि हुनसक्ने स्थिति थियो। गौशाला जाने बाटोतिर प्रहरी, डिल्लीबजार जाने बाटोतर्फ पनि प्रहरी…घेरामा थिए प्रदर्शनकारीहरु। तर धन्न त्यस्तो केही अप्रिय घटना हुन पाएन।

DSCI0031
प्रहरी चौकीको पर्खाल चढेर कोणसभामा सम्बोधन गरिरहेका माले महासचिव सीपी मैनाली।

सुरुमा त आक्रोशित भीड मानेकै थिएन। हल्ला गरी नै रहेका थिए। तर सभा सञ्चालकले शहीदको तस्वीर लिएर बोल्न थालेपछि बल्ल शान्त भयो भीड र सुन्न थाल्यो। सरकारले लाश नदिएकोमा आलोचना गर्दै लाशलाई आन्दोलनकारीहरुको सहमति बिना बुझेर दाहसंस्कार गर्नेछैनौं भनेर शहीदको परिवारले आश्वासन दिएको बताइयो।

DSCI0043
विदेशी टेलिभिजनका क्यामेराम्यान छतबाट दृश्य खिच्दै।

सभामा सात दलका नेताहरुले चर्का भाषण गरे। शहीदको रगतको कसम खाए, हत्याको बदला निरंकुश राजतन्त्र ढालेर लिन्छौं भने।

सभा सम्पन्न भएपछि नेताहरु आफ्नो बाटोतर्फ लागे। आक्रोशित एक भीड डिल्लीबजारतर्फ लाग्यो। तर प्रहरीले अवरोध खडा गरेपछि भने उनीहरु डिल्लीबजारबाट पुतलीसडक निस्कने बाटो निषेधित क्षेत्र पुग्नुअघि नै त्यहीँबाट आ-आफ्नो बाटो लागे। निषेधित क्षेत्र सुरु हुने ठाउँमा दमकल लगायत निकै सुरक्षाकर्मी तैनाथ थिए।

DSCI0061
रुबिन गन्धर्वः मुख छोपेको हैन, मुखमा माउथ हारमोनियम थियो।

फर्कनुअघि स्वतन्त्र समाचार सेवाका खिला कार्कीको सौजन्यमा लोकप्रिय गायक रुबिन गन्धर्वसहितको हामी ६ जनाको समूहले पुतलीसडकको चिया पसलमा तातो चिया खायौं। रुबिन गन्धर्व भन्दै थिए, मलाई हाइलाइट गर्ने पत्रकारहरुलाई मैले पैसा कमाएँ भने ठूलो पार्टी दिन्छु। उनी सञ्चारकर्मीले नै आफूलाई चर्चित बनाएको भन्दै थिए।

मैले रुबिनलाई तिमीले बानेश्वरमा गाएको गीत इन्टरनेटमा राखिदिएको छु, मान्छेहरुले राम्रो भनिरहेका छन् भनी सुनाइदिएँ। उनी मख्ख पर्दै थिए।

9 Comments

  1. Merosansar is doing excellent job by resenting the real and hot news clips. Well done and keep it posting.

    My heartfelt congratulations to Robin bahi who has couragiously expressed the reality in the form of LokGeet. That is what more and more nepalese people should listen and internalized.

    Thank you.

  2. A very good video as always from merosansar.info!

    Keep up the great work of bringing out messages to Millions of Nepalese at home and abroad, who perhaps have not been able to find truth about many news events that takes place within this tiny country of ours.

    I don’t know, really, where else people can go to, to find news videos like yours!! Awesome videos, and works. And a site authored in Nepali language ? double awesome.!!

    Good videos, Good site, Thumbs up to you guys, all the way, from me and the rest of the team from http://www.nepalvista.com/ !

    Regards

  3. रुबिन जि को गित मलाई पनि मन पर्छ ,, भबिस्य मा केही गर्छ जस्तो छ
    ल बदा इ छ । । । BEst of LUCK …

  4. उमेज जी, धेरै राम्रो भिडियोहरु हेर्न पाइयो । तपाईंलाई धन्यवाद छ । रुबिन गन्धर्ब्को गीत्को स्वद झनै मीठो लाग्यो । हामीले पनि जानी नजनी भए पनि एउटा ब्लग तयार गर्ने कोसिस गरेका छौ, हेरेर उचित सल्लाह दिनु होला ।
    खगेन्द्र पराजुली, धरान, सुनसरी
    blog.dharanonline.com.np

  5. रबिन जि लए पनि ठुलो मान्छे बन्ने रह्हर्, उमेश जि सँग तगदा सात्गाद हुने भो, ल बधाए छ!

Comments are closed.