भिडियो ब्लगः रत्नपार्कमा बम विस्फोट

२०६२ फागुन १, सोमबार

आज रत्नपार्कमा भएको बम विस्फोटको भिडियो ब्लग भित्र प्रस्तुत छ। आज अपराह्न कमलपोखरीतिर जानका लागि म भोटाहिटी हुँदै जमलको पुलमा के चढेको थिएँ, ड्वाङऽऽऽऽ ठूलो आवाज सुनियो। रत्नपार्कतिरबाट आवाज आएको थियो। त्यहाँ धुँवा, धुलो उडेको र आकाशमा चिल, चरा, कागहरु उडिरहेको देखेँ। त्यसपछि म फर्किएर रत्नपार्कतिर लागेँ। बाटोमा सबै जना के भएको रहेछ भनी जान्न उत्सुक थिए। सबैले आवाज आएको ठाउँतिर हेरिरहेका थिए। जमलबाट दरबार हाइस्कुल हुँदै भोटाहिटीको आकाशेपुल चढेँ। दरबार हाइस्कुलका विद्यार्थीहरु बम पड्कियो भन्दै त्यतातर्फ जाँदै थिए।

धेरै जना भने जहाँ हो त्यहीँ उभिएर आवाज आएको ठाउँ हेरिरहेका थिए। मैले बम पहिलेको साझा भवन रहेको रानीपोखरी छेउको रत्नपार्कमा भएको भन्ने ठानेको थिएँ। तर त्यहाँसमेत मान्छे उभिएर रत्नपार्कको पार्कतिर हेरिरहेका रहेछन्। रत्नपार्क बाहिर सँधै झैं टेम्पो, माइक्रो र बसहरु र यात्रुहरुको भीड थियो। रत्नपार्कभित्र गएर हेरेँ।


त्यहाँ केही प्रहरी रहेछन्। के भएको रहेछ भन्ने उत्सुकताले ठूलै जनसमूह त्यहाँ जम्मा भइसकेको रहेछ। पार्कको बायाँतिरको बालबालिका खेल्ने ठाउँभन्दा अलि पर रहेको फोहर राख्ने ठाउँमा विस्फोटक पदार्थ पड्किएको रहेछ। प्रहरीहरु प्रारम्भिक अनुसन्धान गर्दै थिए। बम त्यति शक्तिशाली थिएन कि…किनभने जमिनमा खाल्डो परेको देखिएको थिएन। बरु नजिकैको एउटा टहराको छानो उडेको रहेछ।

एक प्रहरीले यसमा हालेर पड्काए जस्तो छ भन्दै एउटा शिशाको बोतलको टुक्रा देखाउँदै थिए। मैले त यो घटनामा कोही हताहत भएन होलान् भन्ने ठानेको थिएँ। तर नेपाल वनको समाचारमा भने एक जना सामान्य घाइते भएको बताइएको थियो। बम पड्कँदा पनि मानिसहरु त्रसित नभई उत्सुकतावश के भयो भनी हेर्न त्यहाँ झुम्मिएका थिए।

बम विस्फोट भएको रत्नपार्कको अगाडि पट्टी उपत्यका प्रहरी कार्यालय रहेको छ। पछि त्यहाँ भीडलाई प्रहरीले हटाउन थाले। अनि म त्यहाँबाट हिँडेँ। बाहिर अरु पनि भ्यानका भ्यान प्रहरीहरु आउँदै रहेछन्।

भिडियो हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला। भिडियो रोकी रोकी बज्न थालेमा पहिले बायाँ छेउको तलतिर रहेको प्ले/पज बटन थिचेर ५-१० मिनेट यत्तिकै डाउनलोड हुनका लागि छाडेर त्यसपछि बल्ल पुनः सोही बटन थिचेर हेर्नुहोला।

भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।