पहिलो परिणाम काँग्रेसको पक्षमा, प्रकाशमान सिंह विजयी

अपडेट (बिहान ८:२०): संविधान सभाको ऐतिहासिक निर्वाचनको पहिलो परिणाम सार्वजनिक भएको छ। काठमाडौँको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका प्रकाशमान सिंहले आफ्ना प्रतिद्वन्द्वी प्रदीप नेपाललाई दुई गुणा बढी मतले उछिनेका छन्। एमालेले समानुपातिकमा दिँदा नमानेर प्रत्यक्षमा लड्ने रहर गरेका प्रदीप नेपाल हाल शिक्षा तथा खेलकूद मन्त्री पनि हुन्। तेस्रो स्थान माअ‍ोवादीको रहेको छ। विजयको अ‍ौपचारिक घोषणा भने हुन बाँकी छ।

अपडेट (बिहान २:५३): काठमाडौँ १ को हालसम्मको परिणाम हेर्दा नेपाली काँग्रेसका प्रकाशमान सिंहको जीत सुनिश्चित झैँ देखिन्छ। उनले आफ्ना प्रतिद्वन्द्वी प्रदीप नेपाललाई दुई गुणा बढी मतले उछिनेका छन्। एमालेले समानुपातिकमा दिँदा नमानेर प्रत्यक्षमा लड्ने रहर गरेका प्रदीप नेपाल हाल शिक्षा तथा खेलकूद मन्त्री पनि हुन्। तेस्रो स्थान माअ‍ोवादीको रहेको छ।
NC प्रकाशमान सिंह ३८१५
UML प्रदीप नेपाल १६६९
Mao डा. राममान श्रेष्ठ १०१०

अपडेट (राति १२): काठमाडौँ १ र ललितपुर २ को मतगणना सुरु भइसकेको छ। ललितपुर २ मा एमालेका सिद्धिलाल सिंह, काँग्रेसका चन्द्र महर्जन र माअ‍ोवादीका राजकाजी महर्जन प्रमुख उम्मेदवार रहेका छन्। ललितपुर ३ को मतगणना पनि छिट्टै सुरु हुँदैछ।
अपडेट (११:१५) इलेक्ट्रोनिक मतदान भएको काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना अहिले राति साढे ११ बजेबाट सुरु हुन लागेको छ। विद्युतीय मतदान भएकोले केही घण्टामा नै करिब तीन घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुँदैछ। यो क्षेत्रमा काँग्रेसका प्रकाशमान सिंह, एमालेका प्रदीप नेपाल, माअ‍ोवादीका राममान श्रेष्ठ प्रमुख उम्मेदवार छन्।

सर्वाधिक चासोको विषय बनेको माअ‍ोवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना भोलि शुक्रबार बिहान सात बजेदेखि हुँदैछ। त्यसैगरी काठमाडौँ ८ र काठमाडौँ ९ को मतगणना पनि भोलि बिहान सात बजेदेखि हुँदैछ। काठमाडौँ ५, ६, ७, ८, ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। बाँकीको भने राष्ट्रिय सभागृहमा हुँदैछ।

त्यसैगरी काठमाडौँ ६ को मतगणना बिहान ५ बजेदेखि र ७ को बिहान नौ बजेदेखि हुँदैछ। ३५ उम्मेदवार रहेको काठमाडौँ ६ मा एमालेका युवा नेता योगेश भट्टराई, काँग्रेसका भीमसेनदास प्रधान र माअ‍ोवादीका हितमान शाक्य प्रमुख उम्मेदवार छन्। काठमाडौँ ७ चाहिँ माअ‍ोवादी मन्त्री हिसिला यमी, एमालेका नेता राजेन्द्र श्रेष्ठ र काँग्रेसका तर्फबाट प्रमिला सिंह डंगोल उम्मेदवार रहेका छन्।

काठमाडौँका बाँकी क्षेत्रका मतगणना कहिले हुने हो, त्यो घोषणा भइसकेको छैन। सर्वदलीय सहमतिपछि बल्ल कहिले गन्ने भनी घोषणा गरिनेछ।

One comment

Comments are closed.