अब गद्दी त्यागेको घोषणा गरे हुन्छ राजाले

यतिबेला नेपाल ऐतिहासिक परिवर्तनको संघारमा छ। आफ्नो संविधान आफै लेख्‍न, आफ्नो शासन व्यवस्था आफै चुन्नका लागि गरिएको संविधान सभाको निर्वाचन अपेक्षा गरिएभन्दा पनि निकै शान्त ढंगले सम्पन्न भयो। रक्तपात मच्चिन्छ भनेर त्रास फैलाउन खोज्नेहरुलाई मतदाताहरुले पूरै अस्वीकार गर्दै अत्यधिक प्रतिशतमा उत्साहपूर्ण मतदान गरे। पर्दापछाडि अनेक खेल भएका थिए, अनेक षड्यन्त्र भएका थिए। दुई दुई पटक स्थगित भइसकेको, तराईको समस्या, प्रतिगामीहरुको चलखेल, दिनहुँ पटाका पडकाएर तर्साउने प्रयासका बीच चैत २८ आउला नआउला भनी आशंका गरिरहेकाहरुलाई अचम्ममा पार्दै नेता, सरकार र विदेशीहरुलाई समेत छक्क पार्दै यो ऐतिहासिक निर्वाचन सकियो। निलम्बित राजा आफैले पनि निर्वाचन सुरु हुन केही घण्टा बाँकी छँदा वक्तव्य निकालेर निर्वाचनमा भाग लिन आह्वान गरेका थिए। यसले अरुलाई नभए पनि राजाले केही गर्ला र हाम्रो दिन आउनेछ भनी कुरी बस्नेहरु समेत निराश भएका छन्।

निर्वाचनमा भाग लिन आह्वान गरेर निलम्बित राजा ज्ञानेन्द्रले समेत यो निर्वाचनलाई वैधता दिएका छन्। यो उनले गराएको नगर निर्वाचनभन्दा बिल्कुल फरक खालको निर्वाचन हो। त्यो निर्वाचनलाई न प्रमुख दलले मान्यता दिएका थिए, न मतदाताहरुले नै त्यसलाई स्वीकारेका थिए।

यो निर्वाचनलाई वैधता दिनु भनेको उनले जनइच्छाका अगाडि गरेको आत्मसमर्पण हो। सहानुभूति पाउनका लागि उनले वक्तव्य निकालेर निर्वाचनको समर्थन गरेको भए पनि अब सहानुभूति पाउनैका लागि फेरि एक पटक शान्तिपूर्ण रुपले नै गद्दी त्यागेको घोषणा गरिदिए हुन्थ्यो। किन फेरि रक्तपात र हिंसामा जाने ?

जनआन्दोलन २ लाई नजिकबाट देखेको, भोगेको हुनाले मेरो लागि पनि यो ऐतिहासिक निर्वाचनको महत्त्व बेग्लै थियो। बिहान सात बज्नुअघि नै उठेर मतदान गरिरहेको फोटो र भिडियो खिचेर माइसंसारमा अपडेट गरेको त थिएँ, तर अत्याधिक भार थाम्न नसकेर सर्भरले धोका दिएपछि दिनभर ब्लग अपडेट गर्न सकिएन र मूड अफ भएर बस्नुपर्‍यो। दिउँसो २ बजेतिर मैले काठमाडौँ क्षेत्र नम्बर आठको एउटा निर्वाचन केन्द्रमा मतदान गरेको थिएँ। गोप्य मतदान भएकाले मैले कसलाई मत दिएँ, त्यो त म भन्दिनँ। तर, हरेक नेपालीको जस्तै शान्तिको कामना गर्दै मैले मत दिएँ। म ‘एकछापे’ चाहिँ भइनँ। मैले दिएका दुई मत एउटै पार्टीलाई थिएन। मैले पहिलो हुने निर्वाचित हुने प्रणालीमा एउटा पार्टीको उम्मेदवारलाई मत दिएँ भने समानुपातिकका लागि अर्कै पार्टीलाई मत दिएँ। मेरो मत देशमा शक्ति सन्तुलन कायम होस् भन्ने पक्षमा थियो। किनभने दलहरु नमिली धरै छैन। मिलेरै उनीहरुले शान्ति प्रक्रियलाई अगाडि बढाउनु छ र मिलेरै देशलाई अग्रगमन र विकासको बाटोतिर लम्काउनु छ। नेपाललाई लोकतान्त्रिक संघीय गणतन्त्र बनाउनु छ।

यही सोचाइले मूर्त रुप पाउन लागेकोले होला, मत खसाइसकेपछि मलाई मनमा एकदमै शान्ति अनुभूति भयो र एउटा फरक खालको जोश जाग्यो- अब त केही हुन्छ कि भन्दै।

यो ऐतिहासिक मतदानको क्षणलाई साथी कृष्ण ढुंगानाले भिडियोमा कब्जा गरेका थिए। यो मैले मतदान गर्दाको दृश्य हो-

One comment

  1. Confidently that Gyane should be out from that place,
    there is No any appropriateness to stay in that building surrounded by security force.
    President system is good but each and every nepalese citizen can be the candidate of president,if he or she
    is quilified.oppertunity must be for all citizen not
    for limited community,
    If the new government want to built a new Nepal must
    think about above line,
    thank’s

Comments are closed.