-राजेश राई-
“जात भएर होइन जाति भएर बाचौँ” पहाडकी रानी दार्जिलिङका हरेक बस्तीहरु अनि हरेक व्यक्तिहरुको आवाज हो यो। गोर्खाल्याण्डको माग गर्दै सन् १९८६ मा भएको रक्तपातपूर्ण आन्दोलनपश्चात् स्वायत्त परिषद्को नाममा “दार्जिलिङ गोर्खा पार्वत्य परिषद” पाए पछि अन्त्य भएको उक्त आन्दोलन आज फेरि ब्युँतिएको छ। तत्कालिन आन्दोलनका नायक सुवास घिसिङको नेतृत्वमा रहेको दागोपापले जनताका समस्याहरुमा ध्यान नदिई बंगाल सरकारको इशारामा काम गर्न थालेपछि, सम्पूर्ण गोर्खालीहरुमा नैराश्य अनि असन्तोषको भावना सिर्जना भएको थियो। तर घिसिङको दादागिरीसामु सबै निरीह मूकदर्शक भएर बस्नु सिवाय अन्य उपाय थिएन। यसै बीच छैठौ अनुसूचीको माध्यमबाट गोर्खालीहरुलाई आदिवासी र अन्य जाति भनेर छुट्याउने प्रयास समेत गरियो।

यता, गत वर्षको इण्डियन आइडलमा फाइनल चरणमा प्रशान्त तामाङको प्रवेशपछि उत्साहित बनेका नेपालीभाषी एकजुट भए। तर घिसिङ्ग नेतृत्वले देखाएको प्रशान्तप्रतिको बेवास्ता प्रति स्थानीय जनता आक्रोशित बनेका बेला प्रशान्त फ्यान क्लबका अध्यक्ष समेत रहेका विमल गुरुङले “गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)” नामक राजनैतिक पार्टीको स्थापना गरी छेडिएको शान्तिपूर्ण गोर्खाल्याण्ड आन्दोलनले घिसिङलाई मात्र पदमुक्त गरेन, बंगाल सरकारलाई पनि एकपटक सोच्न बाध्य बनाएको छ। प्रायः हरेक घरमा फहरिएको हरियो, सेतो र पहेलो रंग मिश्रित गोजमुमोको झण्डाले रंगिएका दार्जिलिङका बस्ती र सडकमा गुड्ने गाडीहरु अनि दिनहुँ निस्कने र्यालीहरुले गोर्खाल्याण्डको आन्दोलनलाई सँगै देखिने कंचनजंघाको शिखरमा पुर्याउने निश्चित प्रायः नै छ। (more…)