एमाले कार्यालय जलाइदिने धम्की, कडा सुरक्षा

मण्डलेहरुको जुलुसले राजधानी तनावग्रस्त
२०६२ मंसिर १८ शनिबार

अडियो ब्लगः एमाले महासचिव माधव नेपालको प्रतिक्रिया सुन्न यहाँ क्लिक गर्नुहोला।

हिजो राजाको गाडी र युवराजको सवारीमा ढुंगा प्रहार भएको घटनाबाट क्रुध्द भई युवराज आज बिहान प्रहरी प्रधान कार्यालयमा गई प्रहरी प्रमुख श्यामभक्त थापा, सशस्त्र प्रहरीका प्रमुख सहवीर थापा र उपत्यका प्रहरी प्रमुख कृष्ण न्यौपानेलाई मारसँग हकारी डाङडुङ गरेको खबर छ। वास्तवमा हिजो प्रहरीले सुरक्षा दिन पूर्णतया असमर्थ भएको पनि साँचो हो। राजाको गाडीमा इतिहासमा अहिलेसम्म त्यस्तो आक्रमण भएको थिएन होला।

हिम गुरुङ नामका एसएसपीको संयोजनमा उक्त घटनाको छानबिन गर्न समिति गठन भएको छ प्रहरीका तर्फबाट। यसैगरी सरकारका तर्फबाट पनि आजै बेलुकीसम्ममा अर्को समिति गठन गर्ने बुझिएको छ।

हिजोको घटनाबाट क्रुध्द भएर केही युवाहरुले राजधानीका विभिन्न ठाउँमा विरोध जुलुस निकालि घुमिरहेका छन्। यसले गर्दा राजधानीको स्थिति तनावग्रस्त हुन पुगेको छ भने उनीहरुको मोटरसाइकल जुलुसका कारण ठाउँठाउँमा ट्राफिक व्यवस्था अवरुध्द हुन पुगेको छ। ती युवाहरुले बल्खुस्थित एमाले कार्यालयमा तोडफोड, आगजनी गराउने भन्ने सूचना पाएर हाल २०० को संख्यामा प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको मेरा एक पत्रकार मित्रले अहिले भर्खरै मलाई मोबाइलमा बताएका छन्। ती युवाहरुले राति ११ बजे कार्यालयमा तोडफोड, आगजनी गर्न आउने भनेर भनेका छन् रे।

यसैबीच प्राप्त अर्को समाचार अनुसार, प्रहरी प्रमुखलाई गृहमन्त्रीले स्पष्टिकरण लिएका छन्।