बैंककमा पनि एनटीसीकी दिदीले दुःख दिन छाडिनन्

थाई एअरवेयज टीजी ६५६/जुन २७
बैंककको समय सवा १२ भएको छ र म अहिले थाई एअरवेजको टीजी ३५६ को सीट नं ६१ एमा बसेर यी शब्दहरु टाइप गर्दैछु। नेपालमा अहिले रातिको ११ बजेको रहेछ। अबको ५ घण्टापछि बल्ल मेरो अन्तिम गन्तव्य दक्षिण कोरियाको इन्छन विमानस्थल पुगिनेछ। यति लामो समय काट्नका लागि सजिलो हुने उपाय मैले यही ठानेको छु।

यो विमानमा चढ्दा बल्ल मलाई विदेश आएको जस्तो भइरहेको छ। किनभने यहाँ एक जना पनि नेपाली छैनन्। सबै विभिन्न देशका। अझ कोरियनहरु नै बढी छन् जस्तो देखिन्छ। हेर्दा खेरी हाम्रा राई दाजुभाइहरु जस्ता देखिने रहेछन् उनीहरु। नत्र त अघि बैंककको सुवर्णभूमि विमानस्थलसम्म त नेपाली नै नेपाली। नेपाली मै बोलियो, गफ गरियो। कतिसम्म भने न फाइनल कल नहुँदासम्म म नेपालीहरुलाई छाडेर जाँदै गइनँ। एक जना मजाको साथी बनेका थिए, गुरुङ। यति आत्मीय बने कि सीधै तिमी भनी कुरा गर्दै थिए। अनि एक दम्पति। उनीहरु दुवै अस्ट्रेलिया जाँदै थिए। म भने दक्षिण कोरिया। मेरो भन्दा उनीहरुको अलि बढी ट्रान्जिट थियो। गुरुङ साथीले १० बज्दादेखि नै जाउ न यार, मलाई त तिम्रो छुट्छ भनेर चिन्ता लागिरहेको छ भनी भन्दै थिए।

छिट्टै फर्कने गरेर जान लागेको ? उसले सोध्दै थियो।

मैले भनेँ, अँ, एउटा कन्फ्रेन्स छ, त्यसमा भाग लिएर फर्कने हो।

पत्रकारहरुलाई मजा छ है, घुम्न पाइन्छ, उसले भन्दै थियो। पासपोर्टमा उसले मेरो पेशा पत्रकारिता लेखेको देखिसकेको थियो।

उ भने कहिले फर्कने निश्चित छैन रे। देशको हालत यस्तै हो, पढ्न भनेर जाने हो, तर खर्च उठाएर भिसा थप्दै बस्ने हो। हुँदै भएन भने मात्र फर्कने हो।

ट्रान्जिटमा नै अर्का एक जना नेपाली युवा साथी पनि भेटिएका थिए, जापानको नारितासम्म जाने। गुरुङभन्दा अघि मेरो उसैसँग परिचय भएको थियो। गुरुङ र उ साथी रहेछ। तर उ कता हरायो हरायो। पछि भेट्दै भेटिएन। तर उमार्फत् नै भेटिएकासँग भने मजाले धेरै घण्टा बिताइयो।

फोन गर्नका लागि जाँदा हास्यास्पद स्थितिको समेत सामना गर्नुपर्‍यो। ५० डलर साटेको थिएँ घरमा फोन गर्न भनी। १०० डलरको नोट दिएको थिएँ। पैसा साट्ने ठाउँकी थाई सुन्दरीले त ५० को मात्रै थाई भाट साटेर भयो भन्ने इशारा गर्दै थियो। मैले ५० बाँकी छ नि भनेपछि बल्ल सरी आई फरगेट भनेर फिर्ता दियो। केही क्वाइन पनि मागेको थिएँ। उ मलाई गाइड गर्दै‍ थियो। क्वाइन राखेर फोन गरेको त हुँदै भएन। बरु दुई वटा क्वाइन खसाएको, एउटा तल झर्‍यो, अर्को झर्दै झरेन।

उ मरिमरि हाँस्दै थियो। म भने वाल्ल। धत्, भएन अब कार्ड पो किन्नुपर्छ भनेर कार्ड किन्ने ठाउँतर्फ लाग्यौँ हामी। न्युनतम १०० भाटको किन्नुपर्छ रे कार्ड। क्वाइन पनि कतिको हो थाहा थिएन। त्यहीँ काउन्टरकी महिलालाई देखाएँ। ठूलो क्वाइन १० भाटको र अरु १ भाटको रहेछ। १०० भाटको एउटा कार्ड किनियो। तर फोन गर्न फेरि टेन्सन। कार्डका विभिन्न प्रक्रिया र त्यसमा भएको पिन कोड हानिसकेपछि नेपालको कन्ट्री कोड र सिटी कोड नै कति डायल गर्नु पर्ने थाहा भएन।

एउटा अलि बुझक्कड अधवैँशेलाई सोधेको त ००९७७ र १ थिच्नुपर्छ भने। गरेको लाग्दै लाग्दैन पो त। सिटी कोडमा पनि ०१ राख्नुपर्छ कि भनेर ट्राइ गरेँ, अहँ। बल्ल बल्ल सँगैको अर्को फोनमा एक महिलाले नेपालमा कुरा गरिछिन्। त्यो पसलमा फोन गर्नेहरु जति सबै नेपाली थिए। त्यसैले त भनेको सुवर्णभूमि एअरपोर्ट पनि मलाई त नेपाल कै कुनै स्थान जस्तै लाग्यो। अनि उनैलाई सोधेँ, उनले ९७७ र १ थिच्ने भनेर भने। अनि बल्ल त्यही अनुसार गरेँ। मोबाइलमा गरेको, माफ गर्नुहोला…सम्पर्क हुन सकेन भनेर तिनै एनटीसीकी दिदीको दिक्कलाग्दो आवाज यहाँ पनि सुनियो। तर यसरी सम्पर्क नहुँदा पनि पैसा भने सकिँदो रहेछ गाँठे कार्डको। त्यस्तै २०-३० भाट सकिएको रहेछ। खुब जान्ने भएर एनटीसीकी दिदीको आवाज सुन्ने भइखाको। माफ गर्नुहोला भन्ने बित्तिकै काटिदिएको भए त त्यति लाग्दैन थियो होला नि, दुई दुई पटक दोहोर्‍याएर सुनेको !

बल्ल बल्ल फोन लाग्यो र कुरा गरेँ। त्यही पसलमा हाइस्पिड इन्टरनेट पनि रहेछ। लौ हेरिहालौँ न थाइल्यान्डको हाइस्पिड इन्टरनेट कस्तो हुन्छ जस्तो लाग्यो। हामी पर्‍यौँ डायल अपको दिक्क लाग्दो स्पिडमा र केबल इन्टरनेट भन्दै ल्यान केबलको इन्टरनेट चलाइरहेका मान्छे! न्युनतम १०० भाट तिरेर कार्ड किन्नुपर्ने रहेछ त्यसका लागि। त्यो भनेको ३ डलर हुन आउने रहेछ। त्यसवापत् २० मिनेट चलाउन पाइने रहेछ। नेपाली रुपैयाँमा कन्भर्ट गर्दा त महँगै हुने रहेछ एक सय ९५ रुपैयाँ। हामी पर्‍यौँ १५ रुपैयाँमा एक घण्टा इन्टरनेट चलाउनेहरु साइबरमा। तर साइबरको स्पिड पनि सार्‍है स्लो हुन्छ नि। एक पटक एउटा २ एमबीको फाइल शान्तिनगरको साइबरबाट डाउनलोड गर्न खोज्दा साढे एक घण्टा लाग्ने देखिएको थियो।

हेर्दै भद्दा लाग्ने एउटा ब्राउजर खोलिदिए ती थाई दिदीले। त्यही ब्राउजर पनि दुई चोटी बिग्रेर अकस्मात् बन्द भयो। सबैभन्दा पहिला इमेल चेक गरेँ। कोरियाका केही शुभचिन्तकहरुले ब्लग हेरेर त्यहाँ आउन लागेको थाहा पाई इमेल गरेका थिए। एक जना शुभचिन्तकले त मलाई आफ्नो खर्चमा होटलमा बस्नुपर्ने भए हामी निःशुल्क मिलाइदिन्छौँ बस्ने ठाउँ समेत भन्नुभएको रहेछ। तर, हैन आयोजक अ‍ोहमाइन्युजले नै हामी सबै विश्वभरबाट भेला हुने नागरिक पत्रकारहरुलाई होटलको व्यवस्था गरिसकेको छ।

त्यसपछि कमेन्ट हेर्न थालेँ। बा..एक सय वटा कमेन्ट आएको रहेछ। धेरैजसोले शुभयात्रा भनेका रहेछन्। कमेन्टको भीडमा दुई जना जे कुराको पनि विरोधै गर्नुपर्ने मानसिकता भएकाहरुले भने जथाभावी लेखेका रहेछन्। इन्टरनेट फास्ट नै थियो। सबैभन्दा रमाइलो त रेभरको भिडियो तुरुन्तै खुलेको देख्दा लाग्यो। हाम्रोमा त एक पटक पज थिचेर केही बेर कुरेपछि बल्ल खुल्छ। यहाँ त क्लिक गर्ने बित्तिकै खुल्ने रहेछ।

एकछिन विमानस्थल घुमेँ। ट्रान्जिटको कक्षमात्र पनि कति ठूलो ! काठमाडौँको विमानस्थल त डोमेस्टिक एअरपोर्ट जस्तो पनि छैन, अस्ट्रेलिया जान लागेका दम्पतिमध्येका पति भन्दै थिए। उनीहरुसँग धेरै बेर भलाकुसारी गरियो। चितवनका रहेछन् उनीहरु। पछि विदा हुँदा तीनै जनाले शुभ यात्रा भनी भने। यस्तो सौहार्दता नेपालीमा बाहेक कहाँ पाउनु !

गुरुङ साथीसित इमेल ठेगाना माग्न मन लागेको थियो। तर जानीजानी मागिनँ मैले। किनभने मलाई थाहा थियो, नेपालमा फर्किएपछि उही ताल हो, आफ्नै काममा व्यस्त भइन्छ- च्याट गर्ने फूर्सदै हुन्न। त्यसैले यात्राको साथीलाई यात्रामा नै छाडेर म आफ्नो विमान चढ्नतर्फ लागेँ।

विमानमा बसेपछि एकछिन विमानस्थल र बैंकक सहरको बत्तीको रमाइलो हेरेँ। अहिले त झ्यालबाट हेर्दा पनि कालो बाहेक केही देखिन्न। सँगैको सिटमा एक कोरियन युवती परेकी थिइन्। तर उनले सिट परिवर्तन गरेर अर्कै स्थानतर्फ बस्न गइन्। त्यसैले मेरो साइडको सिट पनि खाली नै छ। अब दुई वटा सिट मिलाएर सुत्न मजा आउँछ।

विमानको यात्रा पनि एकतमासको हुने रहेछ। बसमा भए दृश्य हेर्न पाइने, कहिलेकाहीँ झर्न पनि पाइने। यसमा त झ्यालबाट हेर्दा पनि नीलो आकाश र सेतो बादल मात्र देखिने। त्यही पनि अहिले त देखिँदैन। अघि बाँडिएको हेडफोन सिटमा घुसाएर १६ वटा च्यानल सुन्न पाइने रहेछ। त्यही परिवर्तन गर्दै सुन्दैछु। एउटा च्यानलमा हिन्दी गीत पनि बज्ने रहेछ। धन्दा मान्नु पर्दैन, नेपाली सुन्न मन लागे मैले एमपीथ्री प्लेयर पनि बोकेको छु। ल त, अब आजलाई यति नै गरौँ होला। एक बजिसकेछ। कुन ठाउँको आकाशमाथि छु पनि थाहा छैन। लेख्न त लेखियो, तर अब यसलाई ब्लगमा पोस्ट पो कसरी गर्ने हो। अघि सुवर्णभूमिको साइबरमा ल्यापटपमा जोड्न मिल्दैन भन्दै थियो। हेरौँ के हुने हो। पहिला कोरिया पुग्छु, त्यसपछि थाहा होला।

9 Comments

  1. Dear Umesh ji,
    Yatra smarn derai ramro lagyo, sanchai nai aaphai ghumiraheko jasto, keep it up
    best of luck

    Narayan
    Hong Kong

  2. उमेश दादा हजुरको यात्रा बिवरन एकदम रमाइलो छ।म सार्है प्रभावित भए।कुनै रमाइलो कथा पढे जस्त्यो लाग्यो मलाई त।म सानो हुँदा हजुर मुवा ले कथा सुनाउनु हुन्थ्यो त्यस्त्यै लाग्यो मलाई त,लेखी राख्नुस् है।ल

  3. Umesh (Salokya) dai,
    the way of writing of your journey is very interesting…… , I think journalist like you who travels lot aboard country, for call to Nepal they should take home country direct service (HCD) Prepaid phone card which is the best way to make phone calls to Nepal form abroad in Nepalese Rupees. Nepal Telecom has introduced HCD Prepaid card service with three different denomination of Rs 500, Rs 1000 and Rs 2000 which are valid for 6 months, 12 months and 18 months respectively form the first use of the cards.And Country where this card work are: JAPAN,SINGAPORE, UAE, SOUTH KOREA, UK, THAILAND.and charges are @Rs 1 per 2.4 Sec (Exclusive of TSC and VAT)

    Procedure to call Nepal :-
    1)Dial country specific access code (see list of Access codes table which get with card) and hear the language selection voice prompt.
    2)Press 1- for English and 2- for Nepali Voice.
    3)Enter the 9 digits Card Number and then press # key to confirm after the voice prompt
    4)Enter the 6 digits PIN Code and then press # key to confirm.
    5)Dial the Area Code and Telephone number within Nepal Telecom’s network. (No need to dial the Country Code).
    6)Press 11# to Query Balance.
    7)If there is any mistake in dialing Card No., PIN No. or Phone No., press * to cancel.
    8)If the line is busy, press 0 to redial

    Sameer form Singapore

  4. Umesh ji nepal ko country code 977 ho.00 ta nepal telcom ko out going access code ho.tesaile bahira bata call garda nepal ko country code 977 ra tesh pachhi ko city code ko first ko 0 hataunu parchha.Dherai nepali le nepal ko phone no dida wa nepal ma call garda 00+977 include garchhan jun galat ho.Baru +977 bhanera samjhida ramro hunchha jas ko artha jun network use gareko chha tes ko outgoing code +977 huna aauchha.Korea ma tapai ko yatra sukhad ra samjhirahana man lagne banos yahi kamana chha.

  5. Umesh yar internet chai kasari chalaudai chau. Aeroplane bitra pani NEt chalauna milcha ra bhana ko ?

  6. i am following u. i also have to face similar problems in phone call. go on . thank u .
    God protect you

Comments are closed.