कथा: एउटा यात्रा

-अनन्त लम्साल-

सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो। काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव आकृतीहरु टन्नै छन्। पूजारीले निधारमा चन्दन धसिदिएर हत्केलामा एक आचमानी पञ्चामृत तुर्क्याए। पञ्चामृत सुरुप्पऽऽऽ पारेर ऊ सरासर इन्द्रचोक पुग्यो। भैरव मन्दिर अघि फेरि एकपटक झुक्यो र आँखा चिम्म बनायो। चोक वरपर मान्छेको उपस्थिती बिस्तारै बाक्लिँदै छ, बिशेष गरी सडक छेउको पत्रिका बेच्ने ठाउँमा मान्छेहरु भरिएका छन्। थोरै किनेर धेरै फोकटमा पढ्नेहरुको जमातले पत्रिकाको पसल भनाउँदोलाई छपक्कै ढाकेको छ। किलागलको ठुटोलाई दायाँ पार्दै उसले न:घल छिर्ने बाटो पक्र्यो। उसलाई देखेर चिया पसले हात उठाएर ङिच्च हाँस्यो, उसले पनि उसै गर्‍यो।

बिहानको पारिलो घाममा त्यो ढुङ्गे पेटिमा बसेर कालो चिया र चुरोट नतानेको पनि जुग भयो उसले। चिया दोकानको ढोकाबाट एकछिन चिहाएर पुरानो आसनमा फ्यात्त बिसायो उसले आफैँलाई। भाँडा खकाल्ने खुँडे केटो क्षणभरमै हाजिर भयो।


“कति समय भयो यसरी नबसेको ! कहाँगए ति दोस्ती ? कुनै एउटा जमाना थियो त्यो,आज सबै कता पुगे कता ? सबै आ-आफ्नै बाटामा। कसैले कसैलाई चाहेर पनि भेट्न नसकिने। बस् यसैगरि आक्कल-झुक्कल सम्झनामा आए भने मात्र हो, नत्र सबै अपरिचित जस्ता।” उसलाई पुराना दिनहरुको सम्झना भईरहेछ यो एकांकीपनमा।

अस्ति बेलुकी देखि फुर्सद पाएको छ, झण्डै १ साल पछि। अस्ति सम्म उसको समय यति खाँदिएको थियो कि २ मिनेटको लागि ३ मिनेट सोच्नु पर्ने। यो ब्यस्तताको बावजुद पनि उसको मन्दिर-प्रेम जीवित छ, र त हरेक बिहान, यो बाटो नाप्छ,मन्दिर घुम्छ,निधारमा चन्दन लगाउँछ अनि कार्यशाला तिर लम्किन्छ। मन्दिर पुग्दा मन हलुङ्गो र ताजा भएको महसुस गर्छ।

आज ऊ स्वतन्त्र छ, मतलव उसलाई कुनै हतारो छैन। मन लागुञ्जेल त्यहाँ बसेर थपि-थपि कालो चियासँग चुरोट उडाईरहन सक्छ उसले। ठ्याक्कै २ साल अघिको जस्तै फुर्सदिलो याममा छ। जतिबेला उसको पढाई स्नातकको अन्त्यतिर रुमल्लिरहेको थियो। त्यसताक एक किसिमको तनाव थियो मनभरि, दिक्दारी थियो वरिपरी। त्यो फुर्सदिलो याममा उस्ले धेरै सुन्यो आफन्तका ‘कमेन्ट’,दाजु-भाउजुका ‘कमेन्ट’ र बाबु-आमाको उपदेश। सबैको एउटै लय थियो “ यसरी हल्लेर हिँडेर भएन, पढेर अगाडि जान नसके केहि काम गर्नु पर्छ अब, अब पनि अर्काको टाउकामा गीरि खेलेर साध्य लाग्दैन।”

गर्न नचाहेको कहाँ हो र उसले ! आफ्नो उन्नती-प्रगती नचहाने शायदै कोहि होला संसारमा। तर खै ? त्यो मान्छेको असमेल सागरमा ऊ एक बुँद कता बिलाउँथ्यो कता। उसको अस्तित्व कतै थिएन, ऊ नगन्य थियो परिवारमा। पुराना दिनहरुलाइ सफा दर्पण अघि आकृती नियाले झैँ नियाली रहेछ ऊ। ति समयलाई सम्झिएर एकतमासले घोरिइरहन्छ।

त्यतिबेला उसको खर्चको आशा र भरोसाको केन्द्र थिई त केवल अर्चना। ४\५ केटाकेटी जम्मा गरेर घरमै ट्युसन पढाउँथी। त्यसबाट उसको ‘पकेटमनि’ चल्थ्यो। अर्चना अझै त्यसबाट काटेर दाजुको खल्तिमा धेर-थोर पैसा हालिदिन्थी। ऊ अकिञ्चन ग्रहण गरिरहन्थ्यो लाज पचाएर। खासमा अर्चनाले उसको गर्जो टारेकी थिई। केहि सीप नलागे आमाकै अगाडि आमाको थैली खोतल्थ्यो, सुभद्रा नबोली छोराको अनुहार नियाल्थिन् गहिरिएर।

अभि फिस्स हाँस्यो एक्लै। अर्को चुरोट सल्कायो, भित्तामा अडेस लागेर अझै आरामसित शरीर छोड्यो। आज उसलाई यो सब गर्न रमाईलो लागिरहेछ किन किन ! पुरानो समयप्रति उसको छैटौँ इन्द्रीय अझै घनिभूत हुँदै गइरहेछ।

उसको दायाँबाट एकजोडी गुज्रीए, पिलिक्क नजर लगायो,एकछिन घोरिएझैँ गर्‍यो र आँखीभौँ माथिसम्म तन्काएर फेरि तलतिर झार्दै मुखको ढाँचा बिगार्‍यो। “कस्तो उस्तै ! झण्डै बोलाएछु, मेरो दिमाग पनि…….., अँ साँच्चै, त्यो बेलामा म कस्तो वेवकुफ थिएँ। हुस्सु……!” चुरोटको लामो सर्को सिधै फोक्सोमा हुल्यो अनि पर-पर हेर्न थाल्यो। एकदिन कलेजको गेटैमा सविताले उसलाई कलेज सकिएपछि क्यान्टिन पछाडिको चौरमा भेट्ने निम्तो दिएकी थिई। ऊ असमञ्जसमा पर्दै थोरै डराएको पनि थियो। भेट पछि सविताले भुइँ कोतर्दै भनेकी थिई, “अभि मेरो घरमा बिहेको कुरो चल्दैछ, के गर्ने होला ?”

“के गर्नु ? केटा राम्रो छ र तिमीलाई ठिक लाग्छ भने गर्ने,यसमा मलाई सोध्नु पर्ने कुरै के छ र ?” उसले निस्फिक्री भनेको थियो। सविता एकोहोरो थिई, ऊ ट्वाल्ल थियो। निकैबेरको मौनता पछि सविता “ ल त म जान्छु” भन्दै उठेर हिँडी। ऊ त्यत्तिकै छक्क परेर घोत्लियो। उसको आँखा अगाडि सविताको आँखामा छल्किरहेको आँशु टिल्पिल-टिल्पिल भएर देखा पर्‍यो। उसले बल्ल चाल पाएको थियो सविताको कुरोको चूरो। भुइँमा मुड्कि बजार्दै, जुरुक्क उठेर गेटतिर दौडिएको थियो तर सविता त्यहाँ कतै देखीईन। उसले मनमनै भनेको थियो “ह्याऽऽऽऽऽ मैँले त्यो रुपमा कहिल्यै उस्लाई सोचेकै छैन त कसरी थाहा पाउनु ?”

त्यसदिन देखि सविता कलेज फर्केर आईनन् । शायद बिहे भयो होला। तर अभिलाई त्यस्तै केश र बान्कि परेका युबती देख्दा सँधै सविता फर्कि-फर्कि आएझैँ लाग्छ, उसलाई जिस्क्याउन।

“ओहो ! १० बजेछ,हत्तेरी अब जानु पर्छ, अबेला पो भई सकेछ।”

उसले अल्छि लाग्दो पाराले दुई हातमाथि गरेर लामो आङ तान्यो।

थँहितिको गणेश मन्दिर हुँदै सुस्तरी पाइला बढायो। मन्दिर देखि क्षेत्रपाटी चोकसम्म मोटर-गाडिको खचाखच छ। गाडिको हर्न र धुवाँले दुषित वातावरण निस्सासिँदो छ। सबैलाई हतार छ आ-आफ्नो गन्तब्यमा पुग्न। पैदलयात्री झनै हतारमा। अरुलाई कुल्चिएको र धक्का लागेको कसले याद गरोस ? बाटोमा मेलो पाईनसक्नु छ। सडकपेटिमा पसल थापेर गुजारा गर्ने समुहले झनै कष्टकर बनाएका छन् बाटो छिचोल्न साँझ-बिहान। हुत्तऽऽऽ हुत्तऽऽ गर्दै आएको पँहेलो बाइकले झण्डै घुँडा फुकालेको ! उ झसङ्ग भएर उभियो। बाइक हुत्त हुत्त गर्दै पल्लो छेउ पुग्यो।

“यहाँ कसैलाई कसैको मतलवै छैन, निस्फिक्री, मनपरि। यो हूलमा ज्यान जोगाएर हिँड्न पनि हम्मे हुँदैछ दिनानुदिन।”
उसको मुहार र आँखामा बेग्लै भाव उम्लिरहेछ ।

मंगलेको मासु पसलमा मान्छेको भीड त्यस्तै छ। मंगले दाउ उजाई –उजाई मासुको रासमा छप्काईरहेछ। नानीचा काटेका मासुका काँचा चोक्टाहरुलाइ जम्मा पार्दै पोलिथिनमा हाल्दै छे। बाटो अलिक खुल्यो। अभि अगाडि बढ्यो, बाटोमा अभिले नानीचालाई सम्झ्यो। उसको कोमल मुहार अनि सुकूमार हात सम्झ्यो। “ नानीचाका सुन्दर र सुकूमार हातले रक्ताम्मे मासु गिजलेको कत्ति बिभत्स !!” उसको मुखभरि पानि भरियो। सडकपेटिमा प्याच्चऽऽऽ थुकेर ऊ सरासर अघि बढ्यो।

घरको बाटो छोडेर बायाँपट्टि धोबीचौर भित्र छिर्‍यो। चौरभरि सेता तन्ना र तकियाका अनि सेतै रुमाल भुइँ देखि डोरीभरि टाँगिएका छन्। पब्लिक यूथ क्याम्पसको गेटबाट बिहानी कक्षा सकेर बिद्यार्थीहरु छरिएका छन् यत्र-तत्र। चौरको गेटबाट बाहिरिएर ऊ सरासर भुँडेगणेशको मन्दिर पुग्यो। किन गयो ? थाहा छैन। तर पूजा या दर्शन गर्ने हेतुले पक्कै होईन।

मन्दिर पछाडिको पेटिमा थ्याच्चऽऽ बसेर परऽऽऽ तुवाँलोमा छोपिएर मिरमिर देखिएको स्वयम्भूलाई एकटकले हेरिरह्यो उसले। हेर्दा हेर्दै आँखाभरि नानीचा भरिएर आई, कानमा मुन्द्री लगाएकी, आँखा ठूला गरेकी नानीचा।

नानीचा संग कसरी मायाँ बस्यो उसलाई थाहै भएन। उसले पकनाजोलको युवक मा. बि. बाट एस. एल. सी. पास गर्दा नानीचा ८ कक्षामा पढ्थी। नजिकैको घर, बाहिर-फेर गर्दाको देखा-देख। अलिपछि भएपछि शिक्षक र बिद्यार्थीको सम्बन्धमा झनै गहिरिए उनीहरु। एकदिन बिहान घरको छतमा बसेर रातीको सपना सम्झिरहँदा उसले आफू नानीचाको प्यारमा परेको थाहा पाएको थियो। त्यतिखेर उसले आँखा ठूला-ठूला बनाएर हावामा मुड्की हानेको थियो।

एवं रीतले दिनहरु चलेकै थिए। पढाउने\पढ्ने बहानामा जिस्किँदै गर्दा एकदिन सुभद्राले देखिन्। मनमा चीसो पसेर पनि उनले केहि भन्ने आँट गरिनन्।

बिस्तारै उनिहरुको भेट घरबाहिर, बिशेष गरि बसन्तपुर दरबार क्षेत्रमा बाक्लो हुन थाल्यो। मन्दिर मूर्ती छोएर मायामा गरिने बाचाहरुलाई तिनीहरुले पनि सिको गरे। घण्टौँ सम्म मन्दिरका पेटिमा बसेर एक-अर्कामा हराउन थालेका थिए। नानीचा घरमा फुर्सद हुनासाथ एउटा कापी र किताब च्यापेर अभि दाजुकोमा पढाई गर्न हुत्तिन्थी। बाबु आमा र दाजु नानीचाको पढाईप्रतिको लगाव देखेर दङ्ग पर्थे।

यस्तैमा दोस्रोपटक आपत्तिजनक अवस्थामा नानीचा र अभिलाई सानी भाउजुले देखेपछि घरभित्र राँको सल्कियो। दाजुहरुको सामुन्ने ऊ रुझेको मुसो भयो। बाबुबाट जात-भात, संस्कार, परम्परा र रीतिको लामो भाषण सुन्यो। दुईजनाको ईश्कबाजीले गर्दा पाएको जागिर पनि नखाएको पो रहेछ भन्ने कल्पित आशंकामा दाजुहरुलाई थपेको आर्थिक भारको रोष देखाए भाउजूहरुले। सुभद्राले आँखाभरि आँशु बनाएर भनेकी थिइन् “बाबै तिमीहरु पढेर र लेखेर बुद्धिमान भएका छौ भन्ने त हाम्रो भ्रम पो रहेछ। सबैकुरामा आफैँलाई मात्र हेरेर हुँदैन छोरा ! अघि पछि, दायाँ-बायाँ पनि हेर्नु पर्छ। तेरो कारण परिवारका अन्यले शीर झुकाएर हिँड्नु पर्‍यो भने के होला ? सोच् त। यदि तँलाई त्यसैसँग जिन्दगी बिताउँछु भन्ने लागेको छ भने पहिले हामी बुढा-बुढीलाई बिष खुवाएर मार, अनि जे-जे मन लाग्छ त्यही गर्नु।”

त्यसदिन देखि उसले सारा सपनामा आगो लगायो। नानीचा उस्को घरमा आउन बन्द भई। मंगलेले बहिनीका हरेक क्रियाकलापमा कडा निगरानी राख्यो। एकदिन गणेश मन्दिर अघि भेट हुँदा नानीचाले आफूमाथि दाइले गरेको ब्यबहार र दिएको धम्कि उसलाई सुनाउँदा ऊ मन अमीलो पारेर नानीचालाई हेरिरहेको थियो।

कृष्ण जन्माष्टमीको दिन बिहानै गल्लीको कुनाबाट बाटो हिँडिरहेको अभिलाई नानीचाले बोलाई। ऊ छक्क पर्दै नजिकै पुग्यो। “बाबा-आमा र दाजु सबैजना बिहानै पाटन गएका छन्, घरमा कोहि पनि छैनन्। म सँग अलिकता पैसा र गहना पनि छ,उनीहरु नआउँदै जाउँ हामी।” नानीचाले एकै श्वासमा सिध्याई।

“जाउँ ? कहाँ जाने ?”

“जहाँ गएपनि जाउँला तर अब यहाँ नबस्ने, भागौँ।”

“भागेर कहाँ जाने ? के गर्ने ? को बाट भाग्ने ? हेर नानु जे भयो, भयो। अब हामीले ति सबै कुरा बिर्सनुपर्छ, यसरी भाग्नु राम्रो होइन।” अभिले मुटु मिचेर भुईँतिर हेर्दै भनेको थियो। नानीचाले डरलाग्दो पाराले उसलाई हेरेर घच्घच्याएकी थिई। ऊ मूर्तिबत उभिएको थियो।

“थुइक्कऽऽऽऽऽ छेरुवा काठो !!” नानीचा सरासर घरभित्र छिरी, ऊ एकछिन मूर्ती भयो र गह्रुँगो पाइलो घिसार्दै बाटो लाग्यो। त्यसदिन देखि उसले नानीचाको मुहारमा ठाडो शीर गरेर हेर्न सकेको छैन।

एउटा लुते कुकुर जिब्रोबाट र्याल चुहाउँदै आयो, पीपलको फेदमा आड लागेर खुट्टा उचाल्यो, अनि फेरि र्याल चुहाउँदै बाटो लाग्यो। उस्लाई फेरि चुरोटको तलतल लाग्यो। रित्तो बट्टा अगाडिको खल्तिमा किन राखेको होला भनेर ऊ आफैँसँग रिसायो र बट्टालाई सकेसम्म पर पुग्नेगरि हुत्यायो। खल्तिबाट पर्स निकाल्यो र भित्रको पैसामा नजर लगायो।

“ओहो ! अब त पैसा कहाँबाट पाउनु ? जागिर गएपछि। हुन त त्यस्तो घटिया जागिर के खानु ? दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो ! तर सालाऽऽऽ जागिर सँधै उस्तै। चम्चा र नालायक हरु माथि पुगे, हाकिमका प्यारा भए। योग्यतामा निकै तलकि ठिटीले मेरो काँध चढी। तर… म !!! थुक्कऽऽऽ मेरो ईमान्दारी।” उसलाई आफ्नै छायाँले जिब्रो निकालेर गिज्याईरहेछ। यो गिज्याईमा उसको स्वाभिमान बिस्तारै बिस्तारै फिका भएको भान हुँदैछ।
जागिर सकिएको दिन कत्ति बेचैनी भएको थियो रातभरि। ईमान भन्ने कुराको कुनै मोल रहेनछ भन्ने कुराले उसमा घोर दु:ख ल्यायो। यो एउटा फोस्रो आदर्श शिबाय केहि होइन भन्दै त्यो दिन आफ्नो ईमानप्रति धिक्कारि रह्यो उसले। यि सब सम्झिरहँदा उसलाई झनै छटपटी बढिरहेको छ।
दिनभरि ऊ घोत्लिरह्यो, के गरौँ ? के गरौँको भूलभुलैयामा। अब जागिर खाने कि नखाने ? खाए कहाँ खाने ? कसले खुवाउने ? यिनै प्रश्नहरुको गोल चक्करमा धेरै समय काट्यो उसले। घरको अबस्था, दाजुहरुको पारा, बहिनीको उमेर, पैसाको बिषयमा घरभित्र चल्ने भाउजुहरुको रडाको, अनि आफ्नो हबिगत सम्झेर ! किन किन दुबैहातले कपाल लुछ्नु झैँ भयो उसलाई।

छिमेकी, सँगैका साथी र एउटै उमेरका आफन्ती ऊ भन्दा कहाँ छन् कहाँ, धेरै अगाडि। अस्ति सम्मको जागिरमा पनि ऊ न कहिल्यै सन्तुष्ट थियो, बस् एउटा ब्यस्त हुने बहाना मात्र थियो। त्यो न उसको योग्यता अनुरुप थियो न त आर्थिक रुपमा जब्बर ! दुनियाँको सामुन्ने आफुलाई उभ्याउँदा, एउटा लघुताभाषले उसलाई कहिल्लै छोडेन। आज झनै यो बढेर उसलाई निलुँला झैँ गरिरहेछ।

ऊ जुरुक्क उठ्यो, लुगा टक्टक्यायो र सरासर हिँड्यो। महानगरपालिकाले खनेर ३ महिना देखि छोडेको बाटोबाट हरेक सबारीको आवत-जावत सँगै बुङ्गऽऽ बुङ्गऽऽ धूलो उडेको छ। ऊ धूलोको मुस्लो चिर्दै अगाडि बढ्यो। सडक छेउमा थुपारेको फोहोरको डङ्गूरमा बढेमानको साँढे उग्राइरहेछ। ३\४ सडक बालबालिका प्लाष्टिक टिप्न हानथाप गर्दै त्यहि फोहोरको डङ्गूरमा हेलिईरहेछन्। यि सारा दृष्यलाई हेरेर मनमनै बर्बरायो “ यस्तो देशको नागरिक म जस्तो नभए कस्तो हुन्छ त ?”

“ओइ अभि।”

बाइकबाट हात खडा गर्दै कोहि करायो , झुलुक्क देख्यो, समिर श्रीमती सँगै अफिसबाट फर्कँदै रहेछ। उसले पनि हात उठायो, समिरकी श्रीमती खिसिक्क हाँसी। उनिहरु धूलो उडाउँदै बाटो लागे।

“सालेऽऽ कलुवारले स्वास्नी चाहिँ कत्ति राम्री पा’को नि ! आफू छ हाँडिको पिँध जस्तो। सारी चोलोमा कत्ति राम्री देखिएकी हो त्यो पनि। सालाऽऽऽ,
आफ्नो त जवानी पनि कुण्ठामैँ बित्यो, थुइक्कऽऽऽऽ।” सकेसम्म बेस्सरि धूलोमा प्याच्चऽऽ थूक्यो। लुगाको पोको बोकेर हिँडिरहेकी धोबिनीले अचम्म मानेर उसको अनुहार हेरी, ऊ अलि असहज हुँदै अघि बढ्यो।

साँझ अबेला सम्म सुभद्राले छोराको बाटो हेरिन्। ११ बजेतिर गेट बज्यो। अर्चनाले झ्यालको पर्दा खोलेर तल हेरी। अभि थकित मुद्रामा भित्र छिर्‍यो। दाजुको मुहारको मलिनताले उ धमिली भई।

बिहान सबेरै चिसो हातको स्पर्शले अभिको आँखा खुल्यो,

“ह्याप्पिऽ बर्थ डे दादा।” कानैमा मुख लगेर अर्चना बोली।

“के ?” उसले आँखा ठुल्ठूला पार्दै सोध्यो।

“हेर कस्तो बुद्धु ! आफ्नै जन्मदिन पनि था’छैन, ल छिटो उठ्नुस, नुहाएर मन्दिर जानुपर्छ। मैँले त नुहाइसकेँ, पानि तताएर राख्देको छु, ल छिटो ! अहिले पानि सेलायो भने चिसोमा नुहाउनु पर्ला फेरि !”

“अरे ! के भन्छे यो ! आज मेरो जन्मदिन हो र ? कस्तो याद न’भाको। हुन त कसरि याद हुनु ? म आफैँलाई आफू याद हुन्न। तर अर्चनाले कसरी याद गरेकी ? साँच्चै यो घरमा मलाई बुझ्ने र मलाई म देख्ने यहि प्यारी बहिनी त छ नि !” ऊ भित्तातिर फर्केर भावुक भयो।

“हैन किन नउठेको ?” अर्चनाले घच्घच्याई। ऊ जुरुक्क उठेर बाथरुम तिर दौडियो।

नुहाउँदै गर्दा ऊसले हिजो दिनभरि तनावमा भौँतारिएको सम्झ्यो। जिन्दगीप्रति आफूले राखेका बिमती र नकारात्मक दृष्टिकोण सम्झ्यो। “म जे छु ठिकै छु, जस्तो छु स्वयमको लागि पूर्ण छु, म सँग अघि बढ्न पाउ छन्, मेहनत गर्न दुई हात छन्, दिल-दिमाग छ। मेरो साथ मेरा जन्मदाताको आशिर्बाद छ, मेरी बहिनीको अपार स्नेह छ, माया छ। तब म किन दिक्दार हुँ ?? जिन्दगीमा सफलता र प्राप्ति भन्ने कुरा परिश्रम गर्दै जाँदा प्राप्त हुने कुरा न हुन्।”

“दादाऽऽ कत्ति बेर लगा’को ?”

अभि झसङ्ग भो। पानी चिसिइसकेछ, फटाफट नुहाएर बाहिर निस्कियो। अर्चना पूजाका सर्दाम सहित तयार थिई। हतार हतार कपडा उनेर मिरमीरेमा दाजु बहिनी गेटबाट निस्किए।

बाटोको दायाँपट्टि अलि पर, बिजुलीको खम्बा छेउमा एउटा धमिलो छायाँ देखियो, मंगलेको घर अगाडि। सेतो खास्टोले ढाकिएको त्यो छायाँ अलि-अलि चलेको भान हुन्थ्यो। पूर्णरुपमा उज्यालो नभएकोले होला चित्र नजरमा आएपनि प्रष्ट हुन मुस्किल थियो। उनिहरु नजिकै पुग्दा झ्यार्रऽऽऽ सलाइ कोरियो, सलाइको काँटिले दियो सल्कियो। रातो माटोले पोतिएको वृतमाथि दियो झनै चम्किलो भएर बल्यो। पहेँलो प्रकाशमा नानीचाको मुहार सुनौलो देखियो। दियोको प्रकाश अनुहारमा ठोकिँदा उ झनै देदिप्यमान देखिई। कोमल, सपाट, स्निग्ध र सुकुमार नानीचालाई देख्दा अभिलाई बाटोमा नै बालक सूर्य निस्किएको भान भयो।

नानीचाले बाटोको छायाँपट्टी पुलुक्क हेरी, भुक्भुके उज्यालोमा अनुहार चिन्न सकिन अनि आफ्नै धूनमा ब्यस्त भई। अभि ठिङ्ग उभिएर उसैलाई हेरिरह्यो। अर्चनाले दाजुको कुममा धक्का मारी, दाजु बहिनीको नजर मिल्यो, बहिनीले “जाउँ” भन्ने सङ्केत गरी।
अलि पर पुगेर उसले फेरि फर्केर हेर्‍यो, नानीचा लत्रेको खास्टोलाई मिलाएर जीउ ढाक्दै थिई। अर्चनाले दाजुको हात समाई र झट्कारी, अनि निधार खुम्च्याएर मुख बिगारी। अभिले पनि बहिनीलाई जिस्क्याउँदै उस्तै गर्‍यो। अर्चना हाँसी, अभि हाँस्यो। फेरि बहिनीले दाजुको हात समाती। दुबैजना सँगै हाँसे, अनि सरासरअघि बढे।

11 Comments

  1. बहिनिले दाजुलाई गरे को मायाले मन छोयो अरु ta तेस्तै हो छोरो manchhe एस्तो suhayena मन parena.

  2. कथा एकदमै राम्रो अनि सान्दर्भिक छ, प्रेममा साथ दिन नसक्नेले प्रेम नै किन गर्नुपर्यो। बिचरी नानीचा।

  3. मन र दिमाग दुबैलाई छुने लेखाई छ ! पात्रहरु जीवित छन् र कथा नि जीवन्त छ.. तपाई को भबिस्य राम्रो छ, यो क्षेत्रमा लेख्दै जानुस …. सुभकामना !!!.

    • दु:ख नगरी सुख पाइदैन भन्छन, सफलता पाउन मिहनेत त् गर्नै पर्यो होइन र ? कथाका पत्रहरु र कथाका मोडले के भन्छ भनि, “लगन पछीको पोते र मौका पछी को बुदी के काम” ? कथा लेखिरहनुहोला पाठकहरु यक दिन तपाइँ को कथा लाई ध्यान दिनेछन !

  4. “म जे छु ठिकै छु, जस्तो छु स्वयमको लागि पूर्ण छु, म सँग अघि बढ्न पाउ छन्, मेहनत गर्न दुई हात छन्, दिल-दिमाग छ। मेरो साथ मेरा जन्मदाताको आशिर्बाद छ, मेरी बहिनीको अपार स्नेह छ, माया छ। तब म किन दिक्दार हुँ ?? जिन्दगीमा सफलता र प्राप्ति भन्ने कुरा परिश्रम गर्दै जाँदा प्राप्त हुने कुरा न हुन्।”
    कथा सार्है राम्रो लग्यो l

  5. यो कथाको शिर्सक चै ‘नामर्द जिन्दगी’ राख्नु पर्ने —-
    कथा सजिब छ , दृश्य पनि उस्तै सजिब छ , कथाको पात्र अभि ले हाम्रा धेरै
    नामर्द युवाको प्रतिनिधित्व गरेको छ .
    मनले माया गरेकी प्रियसीलाई परिबार – समाजको कारण अपनाउन नसक्ने लाछी
    हरु नामर्द नै हुन् —
    सरल भाषामा लेखिएको यो कथा पढे पछी पाठक एक छिन घोत्लिन बाध्य हुन्छ —
    साहित्यक यात्रामा अगाडी बढी रहनुहोस ! शुभ कामना हिर्दयादेखी नै .

  6. कथा समय सान्दर्भीक छ , राम्रो लाग्यो लेख्दै गर्नु होला.

  7. कथा रर्मो छ अझ प्रगतिको कामना गर्दछु //

    घनश्याम घिमिरे

  8. कथा राम्रो छ. मन छुने दृश्य वर्णन. गजब लग्यो.

Comments are closed.