कथा यात्रा (भाग ५)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राले एक महिना पूरा गरिसकेको छ। भाग ५ का लागि यो साता पनि गत साता जस्तै ३ वटा कथामात्रै पाठकहरुले लेखे। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ, सुमन र विशाल बी बस्नेत। ढिला अर्थात् अप्रिल २४ मा मात्र लेखे पनि ५३ मतका साथ रिजन दोस्रो भए भने २९ मतका साथ सुमन तेस्रो भए। र, यो साताका लागि १४२ मतका साथ छानिएको कथा छ विशालको।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। तपाईँको मतले छानिएको कथा यात्राको पाँचौँ भाग यस्तो छ।


कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्
कथा यात्राको तेस्रो भाग पढ्नुस्
कथा यात्राको चौथो भाग पढ्नुस्

विशाल बी बस्नेत
सम्राट गएपछि धेरैबेर सोचमग्न भएँ म । कति निश्फिक्री छ यो मान्छे । मानौं उसलाई कुनै पर्वाह छैन नियतिको, विश्वासको अनि यथार्थताको । सोच्दछ मनमा एउटा कुरा र गर्दछ अर्को । नारी के हो ? उसलाई रेणु र ममा देखिने भिन्नता सोध्ने हो भने उसले देख्ने कुरा एउटै होला । एउटी वयस्क स्त्री । कोमल मुहार, पुष्ट वक्ष, पोटिलो नितम्ब, छिनेको पातलो कम्मर, मृदु मुस्कान, आदि आदि । सोच्दासोच्दै मैले आफैलाई अगाडिको ठुलो ऐनामा हेर्न भ्याइसकेकी थिएँ । अलिकति लाजले हो कि संकोचले मेरो ओठ आफै खुले र त्यसरी हाँसेको मेरा आखालाई नपचेर त्यो भावविहिनता के नमिले के नमिलेजस्तो लाग्न थाल्यो । अनायास म मनलाई दृढ गर्दै टिभी कोठातिर लम्किएँ ।
फेयर एण्ड लब्लिको एउटा सामान्य विज्ञापन आइरहेको थियो । त्यसबाट नजर उठाएर मैले टिभीको दराजमाथी राखेको एउटा फोटोमा हेरें । विद्यालय पढ्दाको त्यो फोटोमा आकृति, रेणु, सुलोचना र म अंगालोमा बाँधिएर खिचेका रहेछौ । रेनुको निर्दोष अनुहार हेर्दाहेर्दै फेरी मलाई सम्राटको घिनलाग्दो अनुहार र चुरोटको निकोटिनले कालो भएका उसका पिपलपाते ओठहरुको याद आयो । अनि हेर्न थालें रेनुका कलिला पाखुराहरुलाई जुन फोटोमा उसले मेरो ओरिपरी कसेर राखेकी थिइ । सोचें कसरी रेनुले यस्तो गरी होला ? तिनै पाखुरीहरू त्यो स्वार्थी पुरूषको ओरिपरी कसरी कसी होला उसले ? अनि मनलाई शान्त पार्नकै लागि मैले आकृतितिर नजर दौडाएँ । यो चंचल केटी ऐले के गर्दै होलि । खुल्दुली लाग्दै थियो ।
टिभीमा एउटा आपराधिक शृंखला शुरु भयो । अक्सर हेर्ने गर्थें म यो कार्यक्रम । कथामा एउटा पुरुषको गैरवैवाहिक प्रसंगले प्रवेश पाएको थियो । त्यसैले म एकाग्र भएर त्यतातिर लागें ।
“के सोच्छौ तिमि मलाई ? के म तिम्रो खेलौना हो? जे पनि पुरुषलाई यो समाजमा छुट अनि नारीलाई चै अनेकथरि अंकुश ? ”
कथाकी पात्रा राँकीइ । मलाई पनि कुराले चित्त बुझ्दै थियो ।
“हेर प्रतिमा यो मेरो विगत मात्रै हो । तिमीलाई मैले स्पस्ट भनिसकें । जब तिमि विदेशमा गएकी थियौ । मैले तिम्रो अनुपस्थितिमा हरेक दिन तिमीलाई सम्झिएँ । यस्तैमा हाम्रै घरमा आएकी रमोला मेरो सम्पर्कमा आइन । त्यो समयमा उनको श्रीमान पनि घर बाहिर थियो । संयोगवश नै हामी यसरी नजिकियौं कि कुनै पत्तो नै भएन कतिबेला हामीबिचको दूरी शून्यतामा पुगेर टुङ्गियो । हामीबीचमा एउटा नूतन सम्बन्ध स्थापित भयो । यो सही थिएन हामी दुवैको लागि तर हामी दुवैले यो चै बुझेको थियौं यो सम्बन्धले दुवैजनाको घर बिगार्नुहुँदैन । भविश्यलाई अन्धकारमा डोर्याउनुहुँदैन” ऊ भन्दै गयो, “ यो केबल दुर्घटना थियो । एउटा संयोग । एउटा परिस्थिति ।” लोग्नेले धेरै तर्क दिइरह्यो र स्वास्नीलाई आश्वस्त बनाउने असफल प्रयास गर्यो । तर सकेन । म भने त्यो रमोलाको बारेमा सोच्न थालें । त्यो नारी चै कस्ती हो त । श्रीमान नभएको समयमा परपुरुषसंग सम्बन्ध राख्ने । मलाई अलिकति रिस पनि उठ्यो । फेरी सोचें यौनेच्छा पनि एउटा आवश्यकता नै पो हो कि । समयले टाढिनुपर्दा, परिस्थितिले पर रहनुपर्दा अनि यस्तै कारणहरूले परपुरुष,परपत्नी सम्बन्ध झाँगिदै गएको कुरा त्यो शृङ्खलाको अन्त्यमा प्रस्तोताले भन्यो । यो कुराले मलाई मेरो बालसखा कुमुस्तीको याद दिलाइदियो । पुरानो भैसकेको डायरिबाट त्यसको फोन नम्बर भेट्टाएँ , हत्तपत्त नम्बर डायल गरें । ढिलो गरी फोन उठाई उसले, “किन सम्झिस हौ आज एक्कसी ?” आश्चर्यन्वित भएर उसले प्रश्न राखी । मलाइ आफ्नो मनको जिज्ञासा ठ्याक्कै राख्न असमन्जस भैरहेकोले मैले यताउताका कुरा गर्दै उसलाइ अल्मल्याएँ ।
“अनि बुडा त सँगै छन होइन ?”
“अँ, अहिले त सँगै त हो नि । म आएको नै बाइस दिन भैसक्यो त ।”
” चार वर्ष बाहिर बसिस् तँ पनि हैन?” मैले विषयप्रवेशको जमर्को गरें ।
” हो नि कस्तो हतारमा जानुपर्यो ।”
“तेरो बिहे भएको कति हप्ता सँगै बस्यौ र तिमीहरू ? हनिमून पनि मनाउन कतै गएनौ हगी ।” मेरो लवजमा आएको नैराश्यलाई हाँसोमा उडाउँदै ऊ बोल्न थाली, “के को हनिमून नि । राम्ररी सुत्न त थालेको थिएनौं । मेरो भिसा आइहाल्यो । त्यस्तै हो जवानी र जोशको मिठासको राम्रो बोध हुन नै पाएन ।” छिल्लिएको कुराको आभाश दिने गरी मत्त भएर ऊ खित्खिताई । संगै भएको भए आँखा पनि नचाउँथी होला । तर फोनबाटै म उसको शरीर काँप्दै गरेको अनुभूती गरिरहेको थिएँ ।
“त्यसो भए त भोकाएको बेला आहारविहिन है?” म पनि यही विषयको खोजीमा त थिएँ । मौका पाएको भन्ठानी प्रश्न तेर्स्याएँ ।
“हेर केटी, भोको प्राणीले जसरी नि आहाराको बन्दोबस्त गर्छ ।” यती भनेर ऊ झन जोडले हाँसी र हाँसो सकिनासाथ पुन: गम्भीर भएर भनी, “तर सबै कुराको सीमा हुन्छ । जसरी गाडीले गतिको सीमाको ख्याल नगर्दा दुर्घटना हुन्छ । हामीले पनि त्यसको ख्याल नगरे ठूलो दुर्घटना हुन्छ ।”
“के भन्छे यो नक्कली ?” मलाई अप्ठेरो लागिरहेको थियो उसको निजी जीवनको फरक ढङ्गले अनुसन्धान गर्दै थिएँ म । उसको आन्तरिक कुरामाथि प्रश्न उठाउँदै थिएँ म ।
“तँ बुझ्दिनस् यी कुराहरू । बेला आको छैन तेरो ।” ऊ फेरी हाँसी ।
“भन् न भन् के मलाइ नि लुकाउछेस् हँ ?” म झन आतुर भएँ उसको अगाडिको कुरा सुन्न ।
“कसरी मेटाइस् त त्यो दूर देशमा त्यो जवानीको काहिं नभएको भोक ?” अब ठाडो प्रश्न गर्न पुगें म । प्रश्न गरिसक्ता कतैबाट ठूलो आँधी आएर कोठाको ढोका घच्घच्याएजस्तो लाग्दै थियो । टिभिको आवाज पनि धिमी लागिरह्यो अनि मुटु घाँटीमा आएर धड्किन थाल्यो ।
“ह्या तँलाई किन चाहियो यो सब ? छोड्दे यी कुरा अनि भन् कैले गर्दैछेस् त बिहे ? तेरो लागि राम्रो केटो खोज्द्यछु है मैले । मसँगै बसेको हो अमेरिकमा । राम्रो छ । धनी पनि र एकदमै आधुनिक ।”
“को थियो तेरो त्यस्तो मिल्ने साथी अमेरिकमा ? हामीसँगा च्याट गर्दा त कोही छैन यो विरानो देशमा भनेर खुब बिलौना गर्थिस् ।” दुई वर्षअगि उसँग च्याट गरेको सम्झदै मैले भनें ।
“त्यही त थियो नि मेरो प्यारो साथी । अहिले यतै आएको छ रे बिहे गर्नलाई । हेर् केटी त्यो तेरो लागि राम्रो केटो हो । मसँग त्यसले केही पनि लुकाएको छैन र लुकाउँदैन पनि । मेरो सार्है मिल्ने साथी पो हो त ।”
“को नाम भन् न त ।” हामी पनि सुनूँ । मैले उसको कुरालाई हावामा उडाउँदै सोधेँ ।
“सम्राट ।”
उसले यो भन्नासाथ म झाँगाबाट खसेझैँ भएँ । मैले आफुलाई सम्हाल्न सकिन । क्रमश :….

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता विशालबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

3 Comments

  1. सार्है राम्रो अनि सान्दर्भिक कथा मलाई मन पर्यो l

  2. कुमुस्तीको कुराले त्यो दिनभरि नै मेरो आङमा एक किसिमको चिसो अनुभूति हुन थाल्यो ।
    अर्को दिन सँधैझैं आयो । एउटा रात बितेपछी अर्को दिन आउनु नै थियो । मेरो जीवन र मेरो बँचाइसँग दिन अनि रात हुने प्रकृया अझ भनूँ समयको कुनै सम्बन्ध थिएन । हेरें, आकाश मेघाच्छन्न थियो । क्षितिजमा एक दुई टुक्रा निलो आकृतिबाहेक कतै पनि खुलेको थिएन । त्यो कालो बादलले पनि लाग्दथ्यो मेरै जीवनमा घटेको विषम घटनशृङ्खलाकै प्रतिनिधीत्व गरिरहेछ । लामो समय सोचेपछि मैले अन्तत: निर्णय गरें, सम्राटसँग मेरो सम्बन्धको कुनै औचित्य छैन । रेनु, कुमुस्ती त प्रतिनिधी पात्राहरू हुन् । अझ कति होलान् यस्तै नारीहरू जो पुतलीजस्तै झुम्मिरहेछन् सम्राटरुपी झर्झराउँदो बत्तीसामु । मैले आफूभित्र उठेका यस्ता ज्वालामुखीहरूलाई मत्थर पार्न सकिनँ । स्वतन्त्रता, अङ्ग्रेजीमा फ्रीडम यो कुरा भनेको के हो । म अड्कलगममा परें ।
    यस्तैमा मोबाइलको घण्टी बज्यो, हेरें रेनुको रहेछ ।
    “ओइ के गर्दैछेस् ? यो शनिवार घुम्न जाने हो ?”
    मलाई भने तत्काल जवाफ आएन । भनें, “खै के गर्ने, मूड भयो भने जाम्ला नि ।” शनिवार आउन दुई दिन त बाँकी थियो । यसो सोचें ठिकै त हो मन बरालिने यो भन्दा उत्तम उपाय अरु के नै हुन्थ्यो र ? हतपत रेनुलाई भनें, “ए कता जाने हो भन् त ।”
    “त्यै नगरकोट त होला नि ।” उसले भनी । अनि फेरी थपी, “एक जना नयाँ साथी पनि जान्छ रे है ।”
    “को साथी फेरी ? हामी मात्रै जाउँ न ।” मलाई अरु कोही सँगै जाने उसको विचार मन परेन । तर उसले त्यस्तो आत्तिनुपर्ने केही नभएको कुरा राखी र मलाई सम्झाई, “सम्राटको कुराले तेरो चित्त क्षुब्ध भएको छ । तँ यो मान्छे भेटेपछि परिवर्तन हुन्छेस्,” अनि हांस्न थाली ऊ ।
    “लु त्यस्तो केही होइन । म कसैको कारणले यो वा त्यो सोच्ने मान्छे होइन । मलाई त्यती सोच्ने फुर्सत पनि छैन ।” उसलाई भने पनि वास्तवमा सम्राटसँगको बातचित र उसको बारेमा थाहा पाएका कैयौं कुराहरूले ममा उब्जिएको पुरुषसमाजप्रति नकारात्मकताहरूको कारण नै म एउटा अल्प विराममा अड्किएको अनुच्छेद नै भएको थिएँ । मेरो घरमा मेरो बिहेको कुरा ज्यादै घनीभूत तरिकाले चलेको र पहिलो रिस्ता नै सम्राट भएकोले मलाई सुखदानुभूतिबाट विरक्तलाग्दो विश्राम भैरहेको थियो । यो अल्पविराम नै थियो किनभने विवाह जीवनरुपी लामो उपन्यासको एउटा अध्याय मात्रै त हो ।
    फोनसम्पर्क टुटेपछि म घरपरिवारसँग घुलमिल हुन थालें । भाइ मोबाइलमा झुण्डिरहेको थियो ।
    “तँ जैले फेसबुकमा के गर्छस्, हँ ?”
    “ह्या तँलाई के मतलब ?” उसले प्रश्न गर्यो । मलाई साँच्चिकै मतलब थिएन । मैले आफ्नो मनलाई अल्मल्याउन मात्रै म उसँग बोल्दै थिएँ । मन त रुमल्लिरहेको थियो, रेनु, कुमुस्ती, सम्राट र अन्त्यमा नयाँ मान्छे ।
    नयाँ मान्छे । यो सोच्नेबित्तिकै मलाई कताकता काउकुति लागेजस्तै भयो । रेनुको कुरा कानमा फेरी गुन्जियो, “तँ यो मान्छे भेटेपछि परिवर्तन हुन्छेस्,”
    त्यस्तो परिवर्तन के हुने हो । मेरो मनमा सम्राटको कारण उत्पन्न द्वेष, पूर्वाग्रह र मनोगत आँधीहरूलाई स्वयम् ईश्वरले समेत निमिट्यान्न पार्न सक्तैनथ्यो यदि ईश्वर हुन्थ्यो भने पनि । मैले सोच्ने परम्परागत विचारहरू गलत थिए होलान् तर सम्राटले आफ्ना कर्तुतहरूलाई लुकाउन झूठको सहारा लिएको कुरा कदापी सही थिएन ।
    रेनुलाई फोन लगाएँ, “ओइ भन् न को हो नयाँ मान्छे ?”
    “लौ यो केटीलाई के भो ? के सोच्दै बसिरा’थिस् हौ तँ ?”
    “भन न मलाई जान त मन छ तर को हो त्यो त्यत्तिकै कसरी आउनु ?”
    “आइज न थाहा पाइहाल्छेस् । एकैपल्टमा प्रभावित हुन्छेस् तँ ।” अर्को कौतुहलता छोडेर ऊ सम्पर्कदूर भई । मलाई भने यो शनिवार जसरी नि उसँग जानु नै थियो । मैले सोचें जो भए नि म यो नयाँ मान्छेलाई भेट्ने नै भएँ ।

  3. “सम्राट, सम्राट, सम्राट – आखिर के छ यो मान्छेमा ? किन सबै जना हात धोएर पछि परेका छन् ? किन सबै जना उसकै गुणगान गाउन व्यस्त छन् ? ल माने उ सँग धन छ, अमेरिकाको ग्रीन कार्ड पनि होला, तर एउटी केटी मान्छेसँग कसरी बोल्ने भन्ने सामान्य ज्ञान भने पटक्कै छैन ।” – म एक्लै भुत्भुताउन थालेछु । “फेरी यो नखरमाउलीलाई पनि कोहि नपाएर त्यही मान्छेको साथी हुनु पर्ने । हैन यो के संयोग हो । फेरी जोडी त पहिले नै बनिसकेको हुन्छ भन्छन् ।” – मनमा अनेक कुरा खेल्न थाले । “अब चाडैं नै यो नक्कली हाम्रो घरमा आउने छे अनि आमालाई नाना-भाँतीका गफ सुनाएर आगोमा घ्यु थप्ने छे ।” – फोन गरेकोमा मलाई थकथकी भयो । “होइन केही त गर्नै पर्छ । रेणुको जिन्दगी बर्बाद पार्नेलाई म आफ्नो सारा जीवन सुम्पन सक्दिन ।” – मनमनै केही गर्ने निर्णय गरें ।

    मैले आइ. ए. किलियर गरेपछी बुवाले मलाई एउटा कम्प्युटर गिफ्ट गर्नु भएको थियो । मोडेल केही पुरानो भए पनि मजाले काम दिदैछ । यसलाई मैले खाटमा नै बसी बसी चलाउन मिल्ने गरि राखेकी छु । कोठामा पस्ने बित्तिकै कम्प्युटर अन गरें र एकै छिनमा फेसबुकमा लग-इन गरें । फेसबुकमा हाल सालै मात्र म सम्राटसँग साथी बनेकी थिएँ । मलाई त खासै केही चासो थिएन तर उसले रिक्वेस्ट पठाए पछी मैले नो भन्न सकिन । फटाफट सम्राटको पेजमा गएँ । उसको ११५२ जना साथी थिए । ती मध्ये अधिकांश केटी साथी नै थिए । अमेरिकन, जापानी, फिलिपिनो, आइरिस – सबै देशका थिए त्यहाँ, मानौ यो फेसबूक नभएर एउटा नमुना संसार थियो । एक-एक गरेर सबैको प्रोफाइल चेक गर्न मलाई फुर्सद पनि थिएन, रहर पनि भएन । शैलेश पराजुली – सम्राटको एक जना साथीको पेजमा पुगेर मेरा अौला अडियो । शैलेश र सम्राट एउटै कलेजमा पढेका रहेछन् अमेरिकामा – कन्सास कम्युनिटी कलेज । मैले शैलेशलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ अनि चिया लिन भान्सातिर लागें ।

    चिया लिएर फेरी कोठामा फर्किएँ । फेसबूकको च्याटमा लग-इन गरेको त शैलेशले “हाइ” भन्यो, मानौ उ मेरै प्रतिक्षामा थियो । मैले “हाइ” फर्काएर अभिवादन गरें । उसले मेरो परिचय माग्यो अनि साथ-साथै आफ्नो कोही सरु नामको साथी नभएको स्पस्टीकरण पनि दियो । मैले आफुँलाई सम्राटको बेस्ट फ्रेन्ड भनेर चिनाएँ अनी सम्राटबाट धेरै पल्ट नाम सुनेकोले फ्रेन्ड रिक्वेस्ट पठाएको हो भन्ने सफेद झुट बोलें । “खै, सम्राटले त कहिले पनि तिम्रो बारेमा कुरा गरेन त, हामी रूम-मेट थियौं अली अगाडिसम्म । बिहे गर्नलाई नेपाल जान अगाडि कोठा सरेको हो । अब नेपालबाट बुढी ल्याउने रे । अँ साचै त्यसले केटी पायो ? ” ओहो मलाई ढुङ्गा खोज्दा देउता मिले झै भयो । सम्राटको बिगतको बारेमा थाहा पाउन शैलेश भन्दा अर्को कोहि उत्तम मान्छे हुनै सक्दैन । “अनि किन आफ्नो फोटो एउटा पनि नहालेको नी ?” शैलेशले प्रश्न गर्‍यो । एक छिन पख है भन्दै मैले त्यही कम्प्युटर मा सेभ गरिराखेको एउटा अली पहिला नै खिचेको फोटो अप-लोड गरिदिएँ, शैलेशलाई फकाएर अझै धेरै कुरा धुत्न जो थियो । “केटी हेर्दै छ, तर अझै कसैसँग पनि फिक्स भैसकेको छैन ।” मैले यसो भनेर टाईप गर्न नपाउदै शैलेशले अर्को प्रश्न तेर्सायो – “तिम्रो बोयँ- फ्रेन्ड छ की छैन नी ?” मैले प्रोफाइल हेर्न भनें । अनि कुरा घुमाउदै फेरी सम्राटमै लगें – “सम्राटको गर्ल फ्रेन्ड कति जना थिए त ?” “मैले थाहा पाएसम्म ४ वटा जति भए होला, ती मध्ये एउटा ओरेगोनकी केटी सँगचाही त्यसको लामो अफेयेर चल्यो । हाल-सालै नेपाल जान अगाडि मात्र ब्रेक अप भएको हो ।” -सम्राटको बारेमा सबै कुरा थाहा पाउन सकिन्छ भन्नेमा म अब ढुक्क भएँ । कतै शैलेशलाई काममा जान पर्ने पो हो की, कतै सम्राटको मात्र कुरा गर्दा उसलाई बोर पो भईराखेको पो छ की, म अली सजग भएँ । “तिम्रो गर्ल फ्रेन्ड छे की छैन त ?” – मैले मन नभए पनि शैलेश तिर कुरा मोडें । “थियो अहिले छैन” – उसले सहज उत्तर दियो । “बिहे नेपालमा गर्ने की अमेरिकामा ?” मेरो यो प्रश्न को उत्तर यस्तो थियो – “आफुँ त एक्लो छोरो, बाउ -आमाले खोजेको रोजेकोलाई नै भित्र्याइन्छ । ” “तिमीलाई पनि भर्जिन नै त चाहिने होला नी होईन, ईन्जिनियर सापलाई जस्तो” – मैले जानि जानि कुरा फेरी सम्राटतिर नै मोडें । “को ईन्जिनियर?” – शैलेशको प्रश्नले म झस्याङ भएँ ।मुटु सिरिङ भयो, तर सम्हालिदै जवाफ फर्काएँ – “सम्राट” । “ए त्यो, त्यो त जनावरको ईन्जिनियर पो हो त, (पेट ईन्जिनियर) LOL …” – जनावर को ईन्जिनियर ? के हो यो पेट ईन्जिनियर भनेको ? जनावर को डाक्टर भनेको सुनेकी थिएँ, तर जनावरको ईन्जिनियर ? म सम्राटको अर्को ठुलो रहस्यको नजिक पुगे जस्तो लाग्यो । अौलाहरू काम्न लागे, तर जसो तसो सम्हालिदै सोधें – “मैले बुझिन नी” ।

    पहिले त सम्राटले आफ्नो सानै देखिको बेस्ट फ्रेन्ड सँग पनि सबै कुरा लुकाइ राखेकोमा उसले आश्चर्य प्रकट गर्‍यो । तर बिहेको कुराले गर्दा सम्राटसँग त्यती भेट हुन नपाएको बताउदै मैले शैलेशलाई आश्वोस्त पार्न खोजें । “भन न प्लिज, आज तिम्रो र मेरो फेसबूकमा कुरा भएको थियो भनेर म कहीले पनि सम्राट लाई भन्ने छैन , प्रोमिस । ” – मैले शैलेशलाई कुरा खोल्न जिद्दी गरें । आखिर मेरो उदेश्य पनि त त्यही थियो, जति सक्दो सम्राट को बिगतको बारेमा थाहा पाउने आनि त्यही बिगतको रहस्यलाई हतियार बनाइ सम्राटको बर्तमानको घमन्डलाई चक्नाचुर पार्ने ।

    “सम्राट र म कम्युनिटी कलेजमा दुई बर्ष सम्म संगै पढ्यौं । त्यस पछी उ युनिभर्सिटीमा भर्ना भई कम्प्युटर ईन्जिनियर पढ्न थाल्यो । त्यति बेला उ ‘टाको वेल’ भन्ने फास्ट फुड मेक्सिकन रेस्टुराँमा पार्ट टाईम काम गर्थ्यो । नेपालमा जति नै धनी भए पनि उसलाई यहाँ ट्युसन फी बुझाउन धौ-धौ पर्न थाल्यो । प्रतेक ३-३ महिनामा नेपालबाट ल्याएर यहाँ डलर मा तिर्न पनि सम्भव हुदैन । छात्रविर्तीको लागि पनि थुप्रै ठाउँमा फारम नभरेको होईन, तर कतैबाट पाएन । एकातिर खान, बास्न र फी तिर्नको लागि मरि-मरी काम गर्नु पर्ने बाध्यता, अर्कोतिर पढ्नलाई सधैं कलेज पनि नगई नहुने । सो ही कुइट ।” म स्तब्ध भएँ – “आर यु सिरियस ?” शैलेशले लेख्दै गयो – आजभोली उ वाल मार्टको डग फुड बेच्ने सेक्सनमा सुपरवाइचरको काम गर्छ । त्येसैले पेट ईन्जिनियर भनेको हा हा …”

    आज किन को किन सम्राट देखेर मलाई दया लागेर आयो । यहाँको हुने खानेको एक्लो छोरा । उसको परिवारको कस्तो रवाफ छ । कुकुर मात्र ३-३ वटा पालेका छन् । एक पाइला हिंड्न परे गाडी निकाल्छन् । सधैं पार्टी । भित्तामा टाँस्न मिल्ने पातलो टि.भी रे , बिदेश बाट छोराले ल्याइदिएको आइ फोन । के उनीहरूलाई सम्राट को वास्तविकता बोध होला ? अनि सम्राट – खुब अमेरिकन लाईफको फुइँ लगाउथ्यो नी । ईन्जिनियरको धाक दिन्थ्यो । जो मान्छे स्कुल फी तिर्न नसकेर पढाई पुरा गर्दैन उसलाई के धनी भन्ने । मलाई भित्र भित्र रिस उठ्यो । फेरी त्यस्तो पढ्नै मन भएको भए फर्केर आएको भए पनि त हुन्थ्यो । यहाँ त उसले भने जस्तो ठाउँमा पढ्न सक्थ्यो । म एक्लै फत्फताएछु । मलाई के कुरामा रिस उठिराखेको थियो म ठम्याउन कोशिश गर्दै थिए – सम्राटले ईन्जिनियरिङ पुरा नगरेकोमा , उसको परिवारको रवाफमा या उसले झुट बोलेकोमा । सोच्दै जादाँ मनमनै सम्राटका अवगुणहरूको एउटा लिस्ट नै तयार भयो । सोच्दा सोच्दै आँखा फेरी कम्प्युटरको मनिटरमा पुगे । बिचरा शैलेश मेरो उत्तरको आशमा आफ्नै सुरले टाईप गर्दै बस्दै रहेछ । “तिमी अझै छौ त्यहाँ ?” – शैलेश को अन्तिम प्रश्न थियो त्यो । “छु तर अब जानु पर्छ ” भन्दै बिदा हुन खोजें । शैलेशले लगाएको गुनको ऋण तिर्नको लागि मात्र पनि अर्को आइतबार फेरी च्याटमा भेट्ने उस्को आग्रहलाई नकार्न सकिन ।

    चिया त्यसै गिलासमा नै सेलाई सकेको थियो । त्यत्तिकैमा ढोकाको घन्टी बज्यो । खोलिदिए । आमा-वुवा मन्दिरबाट फर्कनु भएको रहेछ । आमाले निधारमा टिका लगाइदिनु भयो अनि सँगसंगै आशिर्वाद पनि दिनुभयो – “मनले आँटेको पुगोस्” । “आमा सोचेर आशिर्वाद दिनुहोला, नत्र पछी महँगो पर्ला है” – यसो भन्न मन लागेको थियो तर चुप लागें । बरु भने – “आमा, सम्राटले त ईन्जिनियरिङ गरेकै छैन रहेछ नी।” आमाले पूजाको थाली टेबलमाथि राख्दै भन्नु भो – “के भन्छे यो? कसले भन्यो नचाहिदो कुरा । सुन् त, अगी मन्दिरमा एक जना भेट भएकी थिई, तेरो एउटा साथी थिई नी, बिहे गर्ने बित्तिकै अमेरिका गएकी, उसकी आमासँग भेट भएको थियो । अहिले त्यो पनि नेपाल आएकी छे रे । अनि सम्राटवावुलाई राम्ररी चिन्छे रे । भोलि दिउसो खाजा खाने गरेर जसरी पनि आउनु भनेकी छे । त्यहाँ जानु पर्छ, बुझिस् ।” मलाई जे कुराको डर थियो, आखिर त्यही भयो । “यो नक्कलीलाई पनि यही बेला नेपाल आउनु पर्ने” – कुन बेला मुखबाट चिप्लीएछ पत्तै भएन ।

Comments are closed.