कथा यात्रा (भाग ६)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको छैटौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ र सिराग नेपाली। ७० मतका साथ रिजनको कथा यो साताका लागि छानिएको छ।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। तपाईँको मतले छानिएको कथा यात्राको छैटौँ भाग यस्तो छ।

कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्
कथा यात्राको तेस्रो भाग पढ्नुस्
कथा यात्राको चौथो भाग पढ्नुस्
कथा यात्राको पाँचौँ भाग पढ्नुस्

-रिजन श्रेष्ठ-
“सम्राट, सम्राट, सम्राट – आखिर के छ यो मान्छेमा ? किन सबै जना हात धोएर पछि परेका छन् ? किन सबै जना उसकै गुणगान गाउन व्यस्त छन् ? ल माने उ सँग धन छ, अमेरिकाको ग्रीन कार्ड पनि होला, तर एउटी केटी मान्छेसँग कसरी बोल्ने भन्ने सामान्य ज्ञान भने पटक्कै छैन ।” – म एक्लै भुत्भुताउन थालेछु । “फेरी यो नखरमाउलीलाई पनि कोहि नपाएर त्यही मान्छेको साथी हुनु पर्ने । हैन यो के संयोग हो । फेरी जोडी त पहिले नै बनिसकेको हुन्छ भन्छन् ।” – मनमा अनेक कुरा खेल्न थाले । “अब चाडैं नै यो नक्कली हाम्रो घरमा आउने छे अनि आमालाई नाना-भाँतीका गफ सुनाएर आगोमा घ्यु थप्ने छे ।” – फोन गरेकोमा मलाई थकथकी भयो । “होइन केही त गर्नै पर्छ । रेणुको जिन्दगी बर्बाद पार्नेलाई म आफ्नो सारा जीवन सुम्पन सक्दिन ।” – मनमनै केही गर्ने निर्णय गरें ।

मैले आइ. ए. किलियर गरेपछी बुवाले मलाई एउटा कम्प्युटर गिफ्ट गर्नु भएको थियो । मोडेल केही पुरानो भए पनि मजाले काम दिदैछ । यसलाई मैले खाटमा नै बसी बसी चलाउन मिल्ने गरि राखेकी छु । कोठामा पस्ने बित्तिकै कम्प्युटर अन गरें र एकै छिनमा फेसबुकमा लग-इन गरें । फेसबुकमा हाल सालै मात्र म सम्राटसँग साथी बनेकी थिएँ । मलाई त खासै केही चासो थिएन तर उसले रिक्वेस्ट पठाए पछी मैले नो भन्न सकिन । फटाफट सम्राटको पेजमा गएँ । उसको ११५२ जना साथी थिए । ती मध्ये अधिकांश केटी साथी नै थिए । अमेरिकन, जापानी, फिलिपिनो, आइरिस – सबै देशका थिए त्यहाँ, मानौ यो फेसबूक नभएर एउटा नमुना संसार थियो । एक-एक गरेर सबैको प्रोफाइल चेक गर्न मलाई फुर्सद पनि थिएन, रहर पनि भएन । शैलेश पराजुली – सम्राटको एक जना साथीको पेजमा पुगेर मेरा अौला अडियो । शैलेश र सम्राट एउटै कलेजमा पढेका रहेछन् अमेरिकामा – कन्सास कम्युनिटी कलेज । मैले शैलेशलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ अनि चिया लिन भान्सातिर लागें ।

चिया लिएर फेरी कोठामा फर्किएँ । फेसबूकको च्याटमा लग-इन गरेको त शैलेशले “हाइ” भन्यो, मानौ उ मेरै प्रतिक्षामा थियो । मैले “हाइ” फर्काएर अभिवादन गरें । उसले मेरो परिचय माग्यो अनि साथ-साथै आफ्नो कोही सरु नामको साथी नभएको स्पस्टीकरण पनि दियो । मैले आफुँलाई सम्राटको बेस्ट फ्रेन्ड भनेर चिनाएँ अनी सम्राटबाट धेरै पल्ट नाम सुनेकोले फ्रेन्ड रिक्वेस्ट पठाएको हो भन्ने सफेद झुट बोलें । “खै, सम्राटले त कहिले पनि तिम्रो बारेमा कुरा गरेन त, हामी रूम-मेट थियौं अली अगाडिसम्म । बिहे गर्नलाई नेपाल जान अगाडि कोठा सरेको हो । अब नेपालबाट बुढी ल्याउने रे । अँ साचै त्यसले केटी पायो ? ” ओहो मलाई ढुङ्गा खोज्दा देउता मिले झै भयो । सम्राटको बिगतको बारेमा थाहा पाउन शैलेश भन्दा अर्को कोहि उत्तम मान्छे हुनै सक्दैन । “अनि किन आफ्नो फोटो एउटा पनि नहालेको नी ?” शैलेशले प्रश्न गर्‍यो । एक छिन पख है भन्दै मैले त्यही कम्प्युटर मा सेभ गरिराखेको एउटा अली पहिला नै खिचेको फोटो अप-लोड गरिदिएँ, शैलेशलाई फकाएर अझै धेरै कुरा धुत्न जो थियो । “केटी हेर्दै छ, तर अझै कसैसँग पनि फिक्स भैसकेको छैन ।” मैले यसो भनेर टाईप गर्न नपाउदै शैलेशले अर्को प्रश्न तेर्सायो – “तिम्रो बोयँ- फ्रेन्ड छ की छैन नी ?” मैले प्रोफाइल हेर्न भनें । अनि कुरा घुमाउदै फेरी सम्राटमै लगें – “सम्राटको गर्ल फ्रेन्ड कति जना थिए त ?” “मैले थाहा पाएसम्म ४ वटा जति भए होला, ती मध्ये एउटा ओरेगोनकी केटी सँगचाही त्यसको लामो अफेयेर चल्यो । हाल-सालै नेपाल जान अगाडि मात्र ब्रेक अप भएको हो ।” -सम्राटको बारेमा सबै कुरा थाहा पाउन सकिन्छ भन्नेमा म अब ढुक्क भएँ । कतै शैलेशलाई काममा जान पर्ने पो हो की, कतै सम्राटको मात्र कुरा गर्दा उसलाई बोर पो भईराखेको पो छ की, म अली सजग भएँ । “तिम्रो गर्ल फ्रेन्ड छे की छैन त ?” – मैले मन नभए पनि शैलेश तिर कुरा मोडें । “थियो अहिले छैन” – उसले सहज उत्तर दियो । “बिहे नेपालमा गर्ने की अमेरिकामा ?” मेरो यो प्रश्न को उत्तर यस्तो थियो – “आफुँ त एक्लो छोरो, बाउ -आमाले खोजेको रोजेकोलाई नै भित्र्याइन्छ । ” “तिमीलाई पनि भर्जिन नै त चाहिने होला नी होईन, ईन्जिनियर सापलाई जस्तो” – मैले जानि जानि कुरा फेरी सम्राटतिर नै मोडें । “को ईन्जिनियर?” – शैलेशको प्रश्नले म झस्याङ भएँ ।मुटु सिरिङ भयो, तर सम्हालिदै जवाफ फर्काएँ – “सम्राट” । “ए त्यो, त्यो त जनावरको ईन्जिनियर पो हो त, (पेट ईन्जिनियर) LOL …” – जनावर को ईन्जिनियर ? के हो यो पेट ईन्जिनियर भनेको ? जनावर को डाक्टर भनेको सुनेकी थिएँ, तर जनावरको ईन्जिनियर ? म सम्राटको अर्को ठुलो रहस्यको नजिक पुगे जस्तो लाग्यो । अौलाहरू काम्न लागे, तर जसो तसो सम्हालिदै सोधें – “मैले बुझिन नी” ।

पहिले त सम्राटले आफ्नो सानै देखिको बेस्ट फ्रेन्ड सँग पनि सबै कुरा लुकाइ राखेकोमा उसले आश्चर्य प्रकट गर्‍यो । तर बिहेको कुराले गर्दा सम्राटसँग त्यती भेट हुन नपाएको बताउदै मैले शैलेशलाई आश्वोस्त पार्न खोजें । “भन न प्लिज, आज तिम्रो र मेरो फेसबूकमा कुरा भएको थियो भनेर म कहीले पनि सम्राट लाई भन्ने छैन , प्रोमिस । ” – मैले शैलेशलाई कुरा खोल्न जिद्दी गरें । आखिर मेरो उदेश्य पनि त त्यही थियो, जति सक्दो सम्राट को बिगतको बारेमा थाहा पाउने आनि त्यही बिगतको रहस्यलाई हतियार बनाइ सम्राटको बर्तमानको घमन्डलाई चक्नाचुर पार्ने ।

“सम्राट र म कम्युनिटी कलेजमा दुई बर्ष सम्म संगै पढ्यौं । त्यस पछी उ युनिभर्सिटीमा भर्ना भई कम्प्युटर ईन्जिनियर पढ्न थाल्यो । त्यति बेला उ ‘टाको वेल’ भन्ने फास्ट फुड मेक्सिकन रेस्टुराँमा पार्ट टाईम काम गर्थ्यो । नेपालमा जति नै धनी भए पनि उसलाई यहाँ ट्युसन फी बुझाउन धौ-धौ पर्न थाल्यो । प्रतेक ३-३ महिनामा नेपालबाट ल्याएर यहाँ डलर मा तिर्न पनि सम्भव हुदैन । छात्रविर्तीको लागि पनि थुप्रै ठाउँमा फारम नभरेको होईन, तर कतैबाट पाएन । एकातिर खान, बास्न र फी तिर्नको लागि मरि-मरी काम गर्नु पर्ने बाध्यता, अर्कोतिर पढ्नलाई सधैं कलेज पनि नगई नहुने । सो ही कुइट ।” म स्तब्ध भएँ – “आर यु सिरियस ?” शैलेशले लेख्दै गयो – आजभोली उ वाल मार्टको डग फुड बेच्ने सेक्सनमा सुपरवाइचरको काम गर्छ । त्येसैले पेट ईन्जिनियर भनेको हा हा …”

आज किन को किन सम्राट देखेर मलाई दया लागेर आयो । यहाँको हुने खानेको एक्लो छोरा । उसको परिवारको कस्तो रवाफ छ । कुकुर मात्र ३-३ वटा पालेका छन् । एक पाइला हिंड्न परे गाडी निकाल्छन् । सधैं पार्टी । भित्तामा टाँस्न मिल्ने पातलो टि.भी रे , बिदेश बाट छोराले ल्याइदिएको आइ फोन । के उनीहरूलाई सम्राट को वास्तविकता बोध होला ? अनि सम्राट – खुब अमेरिकन लाईफको फुइँ लगाउथ्यो नी । ईन्जिनियरको धाक दिन्थ्यो । जो मान्छे स्कुल फी तिर्न नसकेर पढाई पुरा गर्दैन उसलाई के धनी भन्ने । मलाई भित्र भित्र रिस उठ्यो । फेरी त्यस्तो पढ्नै मन भएको भए फर्केर आएको भए पनि त हुन्थ्यो । यहाँ त उसले भने जस्तो ठाउँमा पढ्न सक्थ्यो । म एक्लै फत्फताएछु । मलाई के कुरामा रिस उठिराखेको थियो म ठम्याउन कोशिश गर्दै थिए – सम्राटले ईन्जिनियरिङ पुरा नगरेकोमा , उसको परिवारको रवाफमा या उसले झुट बोलेकोमा । सोच्दै जादाँ मनमनै सम्राटका अवगुणहरूको एउटा लिस्ट नै तयार भयो । सोच्दा सोच्दै आँखा फेरी कम्प्युटरको मनिटरमा पुगे । बिचरा शैलेश मेरो उत्तरको आशमा आफ्नै सुरले टाईप गर्दै बस्दै रहेछ । “तिमी अझै छौ त्यहाँ ?” – शैलेश को अन्तिम प्रश्न थियो त्यो । “छु तर अब जानु पर्छ ” भन्दै बिदा हुन खोजें । शैलेशले लगाएको गुनको ऋण तिर्नको लागि मात्र पनि अर्को आइतबार फेरी च्याटमा भेट्ने उस्को आग्रहलाई नकार्न सकिन ।

चिया त्यसै गिलासमा नै सेलाई सकेको थियो । त्यत्तिकैमा ढोकाको घन्टी बज्यो । खोलिदिए । आमा-वुवा मन्दिरबाट फर्कनु भएको रहेछ । आमाले निधारमा टिका लगाइदिनु भयो अनि सँगसंगै आशिर्वाद पनि दिनुभयो – “मनले आँटेको पुगोस्” । “आमा सोचेर आशिर्वाद दिनुहोला, नत्र पछी महँगो पर्ला है” – यसो भन्न मन लागेको थियो तर चुप लागें । बरु भने – “आमा, सम्राटले त ईन्जिनियरिङ गरेकै छैन रहेछ नी।” आमाले पूजाको थाली टेबलमाथि राख्दै भन्नु भो – “के भन्छे यो? कसले भन्यो नचाहिदो कुरा । सुन् त, अगी मन्दिरमा एक जना भेट भएकी थिई, तेरो एउटा साथी थिई नी, बिहे गर्ने बित्तिकै अमेरिका गएकी, उसकी आमासँग भेट भएको थियो । अहिले त्यो पनि नेपाल आएकी छे रे । अनि सम्राटवावुलाई राम्ररी चिन्छे रे । भोलि दिउसो खाजा खाने गरेर जसरी पनि आउनु भनेकी छे । त्यहाँ जानु पर्छ, बुझिस् ।” मलाई जे कुराको डर थियो, आखिर त्यही भयो । “यो नक्कलीलाई पनि यही बेला नेपाल आउनु पर्ने” – कुन बेला मुखबाट चिप्लीएछ पत्तै भएन । क्रमश :….

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता रिजनबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

2 Comments

  1. लौ कथा मा नेता मोड आयो जस्तो छ . आफुलाई चाइ यौ सम्राट संग बिबाह नहोस भन्ने लागेको थियो तेंजिग गाब जी ले त कस्तो गजब तरिका ले फेरी बिबाह हुने हुने तिर पो लग्नु भो …. राम्रो तरिका तर कोहि साथी ले अर्कै मोड मा लानु पर्यो कथा आफुलाई एस्तो राम्रो लेख्ने बुध्ही सरस्वती मत ले दिनु भाको छैन तर पनि त्यो सम्राट संग चै बिबाह नहोस भन्ने कामना गर्छु कोहि ले लेख्नुस है मेरो एक मत पक्का सम्राट संग बिबाह नहुने हुदा

  2. कुमुस्तीको घरमा भोलि जाने एकतर्फी निर्णय सुनाएर आमा भान्सा तिर लाग्नु भए पछी म पनि आफ्नो कोठा तिर लागे / जीवनको बडो जटिल संघारमा आफुलाई उभिएको अनुभूति भै रहेको छ / म न त् आसन्न बिबाह नकार्ने परिस्थितिमा छु, न त् स्वीकार्ने नै मानसिकतामा नै छु / पलंगमा पल्टेर सोच्नु थाल्छु,
    मेरो सम्भावित बिबाह प्रति मेरी आमा किन यति उत्साहित ?
    मेरो बुबा किन यति गम्भीर ?
    किन उहाहरु मेरो आहुती दिनु खोजिरहनु भएको छ ?
    सोच्दा-सोच्दै मनै तितो भएर आउछ /
    छि कत्ति नकारात्मक मात्र सोच्नु ? मनमनै भन्छु, होस् अब त् अर्कै आयामवाट सोच्छु / अनि सोच्न थाल्छु, मेरो बिबाह सम्राटसंग गरिदिनुमा मेरो बाबा-आमाको कुनै निजि स्वार्थ छैन, छ भने केवल एउटा स्वार्थ छ,,,, मेरो सुख /
    जे -जति गर्दै हुनु हुन्छ, मेरै निम्ति नै गर्दै हुनुहुन्छ तर पनि म यो बिबाह पन्छाउनु भित्रै देखि लालयीत छु
    ,,,छी ! म कति कृतघ्न !!
    बुबा-आमाले मेरो खुशीको निमित्त यत्रो प्रयाश गरिरहदा उहाहरु प्रति मेरो कुनै अभिभारा छैन?
    अभिभाराको धोक्रो किन बुबा-आमाको काधमा मात्र ?
    बुबा-आमाले छोरीको निमित्त यत्रो बिधि गर्दा मैले आज आफ्नो कर्तब्यबोध गरिन भने मलाइ मेरो आत्माले धिक्कार्दैन ?
    बुबा-आमालाई दुखी तुल्याएर म सुखी हुनु सकुला र ?
    मैले सम्राटसंग बिबाह गर्दा उहाहरु खुसि हुनुहुन्छ भने मैले उनीसंग बिबाह किन नगर्ने ?
    अन्तर्मनको भीषण युद्दले थकित भएर कति बेला निदाएछु पत्तै भएन,,,,
    ***********************************************************************************
    आखा खोल्दा पो होस् आयो, कम्प्युटर त् अफ गर्ने बिर्सेछु /
    फेरी जकर्बर्गको बरदान खोल्छु /
    मन-मनै भन्छु, धन्यबाद जकर्बर्ग, तिमीले फेसबुकको अविस्कार गरेर आज मलाइ ठुलो गुण लगायेउ, मेरो ठुलो काम बन्यो फेसबुकले गर्दा आज /
    ओहो !!! शैलेश त् अझै फेसबुकमा नै अल्झी रहेको रहेछ /
    अनयशै मेरो औलाहरु सलबलाउछन् “तिमी अझै ,,,,,?”
    “तिमी फेरी आउछौ भन्ने थाहा थियो नि त् ”
    ,,,,,,,,,,,,,,,,म स्तब्ध
    “के भो ? केहि त् लेख”
    मलाई के लेखु के लेखु भो, त्येतिकै डिसकनेक्ट गर्न पनि भएन, लेख्नु पनि कुरो केहि भए पो / के लेखु के लेखु भए पछी उनको प्रोफाइल पिक्चर हेरे, यसो हेरेको त् दुर्गा माताको फोटो पो राखेको रहेछ /
    बल्ल बिषय पाए, कुरोको मेलो अघि बढाउनुको लागि “किन देबीको फोटो राखेको नि प्रोफाइल पिक्चरमा चाही ?”
    “आफ्नै राखु त् ?”
    म फेरी अवाक, मेरो कुरो अघि बढाउने मेलो फेरी टुट्यो,
    आफु चाही मलाइ फोटो राख भन्ने अनि आफु चाही नराख्ने ? मन मनै सोचे अनि जसो-तसो लेखे ” राख न राख ”
    “एकै छिन पख है ,,,,,अब Refresh गर त् ”
    तुरुन्तै रिफ्रेश गरे
    ????????????????????????????
    सम्राटको हासीराखेको फोटो ?????????
    उ लेख्छ ” म सम्राट नै हु ”
    “,,,,,,,,,,,,,,,,,,,,,,,,,,”
    उ थप्छ “मेरो बारेमा अरुले नराम्रो कुरो गरे तुरुन्तै पत्याउने, even online मा भेटेको मानिसहले भनेको कुरो सम्म पत्याउने तर मैले भनेको कुरो चाही बिस्वाश नगर्ने, होइन म माथि किन यत्रो पूर्वाग्रह ? ”
    “,,,,,,,,,,,,,,,,,,,”
    “म माथि तिमीले अन्याय गरेउ जस्तो लाग्दैन ?”
    “मैले बोलेको सबै झुटो अरुले भनेको सबै सत्य?”
    “के अमेरिका जानु अनि धनि बाउको छोरो हुनु पाप हो ?”
    “तिमीले म बारे सुनेको सबै नकारात्मक टिप्पणीहरु सबै सत्य नै थिए भन्ने के छ आधार ?”
    प्रश्नहरुको लामो बर्षाले म हठात् हुन्छु, मेरो हात ले Keyboard थिच्न खोज्छ तर सक्दैन / औलामा पक्ष्यघात भएको अनुभूति हुन्छ /
    म अलिक बौराउछु /
    अनि साहस गरेर सोध्छु ” तिमीले म संग गरेको ब्यबहार चाही के नि ?”
    उ प्रतिप्रश्न गर्छ ” मैले के त्येस्तो नीच कुकर्म गरे?”
    अनि थप्छ ” भनि हाले नि पुर्बाग्राही आखाले हेर्दा तिमीलाई भएको दृस्टी दोष मात्र हुन्”
    “फुलको आखामा फूलै संसार, काढ़ाको आखामा काडा नै संसार ”

    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,क्रमश:

Comments are closed.