युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

विलम्वित प्रायश्चित

-विशाल बी बस्नेत-

“डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ”

यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्‍है परिचित झैं थियो। जति पढ्दै गएँ मलाई आफु २२-२४ वर्षको हुँदा धरानमा रहेर दन्तचिकित्साको विद्यार्थी भएको ती दिनहरुको स्मरण आउन थाल्यो।

त्यो चीसो बिहानीमा धरानको आकाशमा स्पष्ट बादलका टुक्राहरू सल्बलाइरहेक थिए। मेरो मनभित्र आँधी सल्बलाएजस्तै। मेरो मन उद्विग्न थियो। चित्त चन्चल थियो। आत्तिइरहेको थिएँ म त्यो दिन। मैले मेरो पढाइको सिलसिलामा एउटा बच्चालाई सम्हाल्नु थियो, उसको उपचार गर्नुथियो। त्यो दिनदेखि नै हामीले सैध्दान्तिक रुपमा सिकेका कुराहरूलाई प्रयोगमा ल्याउनु थियो।

म दन्तचिकित्साको पढाइ गर्दै थिएँ । आमा भन्नुहुन्थ्यो, “छोरा, दाँतको दु:खाइ त प्रसव बेदनापछिको दोस्रो पीडा हो, बाबु तैले त्यस्तो दर्द हटाउने अवसर पाएको छस्।” त्यसैले पनि मामाको कम्प्युटर इन्जिनियर बनाउने इच्छाविपरित मैले दन्तचिकित्सक बन्ने निर्णय गरेको थिएँ। तर त्यो बेलाको जीवन भने अहिले परिकल्पना गरिएजस्तो सहज र रमाइलो थिएन।हामीले अनेकथरि काम गर्नुपर्थ्यो, बिरामीको उपचार् त छँदैथ्यो, प्रोफेसरहरुलाई खुसी पार्नु कम सजिलो थिएन, दाँते नमुनाहरू बनाउनुपर्थ्यो, टिलिक्क टल्काउनुपर्थ्यो, र पनि हामीले उल्टै गालि खानुपर्थ्यो। यस्तो हुँदा म मेरो पढाइको छनौटप्रति आफैं रिसले चुरचुर हुन्थें। उता बुवाको फोन आइराख्थ्यो, “यसपालि राम्रो अंक ल्याइनस् भने पठाउने खर्चमा १० प्रतिशतले गिरावट आउँछ है ख्याल गर्नू।”

हाम्रो जीवन कलेज र होस्टेलको आउजाउमै सिमित थियो, अरु कलेजका साथीहरूको जीवन देखेर म जल्न थालेको थिएँ। ती रमाइला भ्रमण, गफ, हाँसोठट्टा र केटीसाथी बनाएर जाने डेटहरू। सम्झिंदा पनि मन तरङ्गित हुन्थ्यो र पुलकित भैदिन्थें म।परिकल्पना मात्रैले रोमान्चित हुन्थें म। तर के गर्नु, आफ्नो विडम्वना अर्कै थियो। जे होस् त्यो बिहानी यस्तै जीवनको एउटा अर्को अध्याय थियो।

इस्तिरी लगाएको पोशाक, टल्काएको जुत्ता, सही ठाउँमा परिचयपत्र अनि सबै कुरा ख्याल गरेर म कलेजतिर दौडिएँ। दशबजेतिर एउटी महिला छिरिन् हाम्रो विभागमा। उनले आफ्नो छातीमा सानी नानीलाई राम्ररी च्यापेकी थिइन्। उनको त्यो बच्चामा भयमिशृत अभिव्यक्ति मुहारभरि छताछुल्ल थियो। म पनि भित्रभित्रै डराउँदै त थिएँ।

“नानु ल यता बस”, त्यो बच्चीलाई फकाउने शैलीमा भनें तर बच्चीले गहभरि आँसु बनाउन पो थाली। मुखको परिक्षण गर्ने एउटा सानो ऐना उसलाई देखाउँदै भनें, “ल नानी हेर्ने मात्रै हो। इ हेर त यो सानो ऐना।” सम्झाउँदा सम्झाउँदा गरेपछि त्यसले बल्ल मुख खोली। सबै हेरिसकेपछि थाहा भयो, उसको एउटा दाँत खोल्नुपर्ने भएछ। अब भने मलाई संकट पर्‍यो। मैले ती महिलालाई उपचारको बारेमा बताएँ र मलाई मद्दत गर्न भनें। “यो मेरो पहिलो उपचार हो,” भनेर त अवश्य भनिनँ मैले। तर मनमनै जानेजति भगवानहरूलाई सम्झिदै मैले दाँत निकाल्ने उपकरणहरू, कपास , सुइ र अरु केहि जिनिस लिएर म हाजिर भएँ।

त्यसका साना आँखाहरू मेरो त्यो ट्रेमा अडिएका थिए। उ म जता गयो उतै हेरिरहेकी थिई। अब सुइ दिनु थियो। म असिनपसिन भैसकेको थिएँ। तर नानिले मुख खोल्ने कुनै सुइको थिएन। अनेक प्रयास गर्दा पनि म सफल भइँन। आमाले चाहिं पनि हरेक प्रयत्न गरिन् तर हामीले केहि गर्न सकेनौं अन्तत: जोडजबरजस्तिपूर्वक उसको मुख च्यातेर खोलियो। र एकैपटकमा सुइ लगाइयो। बच्चीको रोदनले त्यो विभाग नै गुन्जायमान भयो। मेरो कान नै टिनीनी गरिरह्यो।

यता प्रोफेसर मलाई गाली गर्न थालिन्, “विशाल तिमी के गर्दैछौ? यति सानो काममा यसरी अड्किन्छौ , के पढ्यौ तिमीले?”

तर मेरो विविशता उनलाई नि पत्तो थिएन। उनी बुझ्नेखालकी पनि त थिइनन्।एउटा सानो दाँत निकाल्ने क्रममा बच्चीसँग एक किसिमको लछारपछार चल्यो। अन्त्यमा प्रोफेसर आइन् र एक दुईजना अरु विद्यार्थीलाई नि बोलाइन्। कसैले खुट्टा समाते, कसैले हात, अनि आमाले चाहिं टाउको पकृइन् अनि म चाहिं मुख खोल्नको लागि बच्चीको छेवैमा बसें। अनि प्रोफेसरले दाँत निकाल्ने उपकरण लिएर अगि सरिन्। लामो प्रयत्न पछि रगतले लत्पतिएको दाँत निस्कियो र बालिका सबैको बन्धनबाट मुक्त भइन्। यहि मौकामा तिनी त ममाथि पो झम्टिन लागिन्। मेरो टाउकोमाथि एक्कासी उनी झुन्डिइन्, मैले एकछिन केही पनि देखिनँ केवल अन्धकार मात्रै।

“डाक्टरसा’ब त्यो बेला म सानी थिएँ, मलाई कुनै ज्ञान थिएन। मलाई माफ गर्नुहोला। मैले बल्लतल्ल तपाइको ठेगाना थाहा पाएर यो पत्र पठाएको छु। कृपया मलाई अबोध बालिका ठानेर क्षमा दिनुहोला।”

पत्र पढिसक्ता मन झन् गर्‍हुङ्गो भयो । मैले मेरै आँखालाई पत्याउन सकिनँ। मलाई अनौठोखालको लाजले संकुचित बनायो। मैले आफुलाई नै खुम्चिएको पाएँ। त्यो सानी बालिकाले आफ्नो भूलको यस्तो प्रायश्चित गरेको तर मैले त्यो बेला उसँग कुनै क्षमायाचनाको वचन पनि नबोलेको सम्झिदा मलाई झन् पीडा भयो। कृसमसको भोजलाई स्थगित गरेर विलम्व भए पनि मैले उसलाई जवाफ फर्काउने निधो गरें, “प्यारी केली, म क्षमाप्रार्थी छु।”

[तपाईँ पनि आफ्ना कथाहरु story@mysansar.com मा पठाउन सक्नुहुन्छ]

3 comments to विलम्वित प्रायश्चित

  • Dil Thapa

    खासै केहि छैन, आफ्नो वास्तविक पुरानो कथा भने जस्तो मात्र लग्यो. राम्रो आउछ आउछ भन्दा भन्दै कथा सकियेछा. जे भए पनि पछि को लागि सुभकामना लेखक लाई.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • raaz

    बाल मनोविज्ञानलाई केलाउदै डाक्टर साहेबहरुले खेप्नु पर्ने यथार्थताको वास्तविक चित्रण गरिएको यो लेख साह्रै राम्रो लग्यो/ अझ मानसपटलमा तरंगीत अतित (वाल्यकाल) का स्मृतिहरुलाई शाब्दिक रुप दिएर वर्तमानमा गरिएको अपेक्षाकृत याचानाले मन छोयो/ अनि लेखकज्युलाई भाषा शुद्दा शुद्दिमा अलिक ध्यान दिनुहुन अनुरोध छ/ धन्यबाद/

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • रोहन

    कथा ठिकै छ। तर कथामा दमदार कुरो केहि भेटिन।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker