कथाः शीर्षक आफै राख्‍नुस्

सुषमा मानन्धर

प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु।

रातभरि निद्रा परेको थिएन। मनमा उठिरहेका अनेक तरङ्ग र तर्कनावीच सायद झिसमिसेतिर मात्र आँखा लाग्यो। त्यो मनकै उदवेग थियो , मेरो आसक्ति। एकछिन निदाउँदा पनि टुक्रा टुक्रामा थुप्रै रङ्गिन कलेवरहरुसँग गाँसिएका सपना मानौँ ससाना सिरियलहरु थिए। बिहान उठ्दा असिनापसिना स्खलित म, रातीको समागम, सपना थियो वा यथार्थ छुट्याउनै सकिनँ। अँध्यारोकी महिला पात्रा छायाँसरि थिई, अनुहार कत्ति सम्झन खोजेँ, सकिनँ। नसानसा शिथिल भएका थिए। शनिबार भएकोले उठ्न हतार पनि गरिनँ। थकित जिउ लिएर तन्द्रामा पल्टी रहेँ। “चाय गरम … ” श्रीमतीका आवाजले मेरा तन्द्रा टुटे। सद्यस्नाता ऊ, बिहानी शीत परेर उज्यालिएको गुलाफ जस्ती, ओठमा स्निग्ध मुस्कान सजाएर चियाको कपसाथ छेवैमा उभिइरहेकी थिई।

“हनिमुनका सबै पावर अहिले निकालिरहनु भएको जस्तो छ।” उसले मेरो हातमा चिया थमाई। भर्खरै बिहे भएकी हैन तर पनि ऊ नवबधु जत्तिकै लजाइ रहेकी थिई। “जम्मै जिउ अझै पनि दुखेका छन्। तपार्इँ त साह्रै नहुने।” चिया दिएर गैसकेकी श्रीमतीका शब्दहरु केलाउन थालेँ। सपना ममाथि हावी भएको हो, वा विपनामा बसेर सपना चियाउन मैले छोडेको थिइनँ, मूल्याँकन गर्न सकिनँ।

बैठक कोठामा टिभि हेर्ने र पत्रिका पढ्ने काम सँगसँगै गर्दै थिएँ, “अलिकति शपिङ्ग गर्न बाँकी थियो। तपाई पनि आउनु हुन्छ कि?” श्रीमती बजार जान ठीक परेर मेरो सामु उभिई।
“तिमी जाउ रञ्जना, आज बाहिर निस्कने मूडै छैन।”
“त्यसो भए, म बजार लाग्छु। आज खाना अलि ढिलो पकाए हुँदैन र?”
“तिम्रो इच्छा। मैले कहिल्यै विरोध गरेको छु र?”
“हेर्नुस् न, स्मृति कतिबेला आउँछे, थाहा छैन। आइहाली भने कोठामा पर्खाइ राख्नु है?” श्रीमती कुरा बुझाइवरी बाहिर निस्की।

स्मृति, उसैको प्रसङ्गले मलाई रातभरि अधैर्य बनाएको थियो। उसैलाई मैले धेरै पटक आफ्नो बेड छेउ सर्वाङ्ग देखेको थिएँ। एकान्तमा उसैलाई सम्झेर आफ्नो कल्पना रंगाएको थिएँ।
आज ऊ आउँदै थिई यहाँ। स्कूलपछि यत्तिका वर्षसम्म कहीँकतै पनि हाम्रो भेटघाट भएन। अहिले ऊ कस्ती देखिँदी हो, उसले कस्तो प्रतिक्रिया गर्ली, म मनमनै आफ्नो तवरले सम्भावित भेटघाटको तानाबाना बुन्दै थिएँ। उसभित्र म बाँकी छु कि छैन त्यो त भेटैले मात्र बताउला तर मेरो स्मृतिपटलमा ऊ अझै पनि उस्तै सजीव थिई, उस्तै मादक।

स्कुटरको आवाज रोकिएपछि कलबेल बज्यो। यो पक्कै मेरी श्रीमती हैन, के त्यसो भए स्मृति? मेरा धमनीहरु फुल्न थाले। पेन्सीलहिलका खटखट क्रमशः नजिकिँदै थिए। मीठो बडीस्पे्रको बास्नाले मेरो सचेतनालाई झुम्म गर्दै थियो। भरेङ्गको माथिल्लो खुड्किलोमा पुगेर उसले बोलाई,“रञ्जना।” “भित्र आउनुस् न।” मैले अलि ठूलो स्वरमा भनेँ। एकैछिनमा ढोकामा उसको अनुहार देखियो। ऊ पहिलेभन्दा खुलेकी र उसका यौवनका रङ्गहरु अझ गाढा भएका थिए। स्मृतिलाई बिगतका धेरै घामपानीले पनि निस्तेज बनाएको थिएन, बरु उसको अगाडि अहिले म आफू नै बढी परिपक्व देखिन्थेँ, अलि खुइलिएको जस्तो।
“रञ्जना छैन?” उसले ढोकैबाट सोधी।
“आउँदैछे। तपाई स्मृति हैन? आउनुस् न।”
भित्र पसेर उसले गगल्स फुकाली र ब्यागमा राखी। “काठमाण्डौमा पनि कस्तो गर्मी बढ्न थालेको।” उसले हातले अनुहार हम्की।
“एकैछिन है, म जुस ल्याउँछु।” म उसलाई पर्खाएर भान्छातिर लागेँ। ऊ टेबुलको पत्रिका पल्टाउन लागी। मैले चिसो जुसका दुई ग्लास ल्याएर एउटा आफूलाई राखेँ, अर्को उसलाई दिएँ। ग्लास उसलाई दिने क्रममा मेरा औँलाहरुले उसका औँलाहरु छोए। यो भन्नु उपयुक्त होला, मैले नीयतबस् उसलाई छोएँ। उसले मलाई हेरी, धेरै नजिकबाट तर ती आँखाहरुमा परिचितता भेटिनँ। “थ्याङकस्। ” उसले ग्लास लिई।

“मलाई चिन्नु भएन जस्तो छ?” म स्मृतिले नचिनेकीमा आहत थिएँ। मेरो व्यक्तित्वमा निकै ठूलो रुपान्तर भैसकेको कुरामा कुनै शंका थिएन, तैपनि त्यही कुराले स्मृतिले मलाई नचिनेकी मान्न पनि म तयार थिइनँ। “तपाई रञ्जनाको हेमन्त।” उसले सामान्य पाराले भनी।
“योभन्दा अर्को रुपमा चिन्नु हुन्न?”
उसले बुझिन या नबुझेको अभिनय गरी। मेरो प्रश्नमा उसका आँखा सोच्ने शैलीमा खुम्चिए तर उसले प्रकटतः केही भनिन।
“तपाईले स्कूलिङ झापाबाट गर्नु भएको हैन र? ”
“हो।” अब ऊ अलिकति सचेत देखिई।
“मैले पनि त्यहीँबाट एस.एल.सी. गरेको हुँ। त्यो बेलाको कुनै पनि कुरा सम्झना छैन र तपाईलाई?”
“त्यत्रो वर्ष अगाडिका कुरा, कहाँ सम्भि्करहनु?” ऊ हाँसी। “तपाईले पनि त्यहीँ पढ्नु भएको थाहा पाएर खुशी भने लाग्यो।”
म स्मृतिलाई हेर्दै थिएँ। उमेरले थपेका केही वजनले ऊ अझ आकर्षक देखिएकी थिई। उसले मेरो काम र अफिसको दुईचार कुरा सोधी। ऊसँगको कुराकानीमा नजानिँदो तवरले मेरा चोर दृष्टि, हल्का गुलाबी सिफनको सारीमा उक्सेका उसका छातीमाथि अल्मलिरहेका थिए। ऊ भने कहिले कोठा वरिपरि, कहिले झ्याल बाहिर दृष्टि घुमाउँदैथी।

बाहिरबाट मेरी श्रीमती आइपुगी। “मेरी साथीलाई राम्रो सत्कार गर्नु भएको छ कि छैन?” उसले झोला बिसाउँदै सोधी। “मेरो सत्कार तिम्री साथीलाई मन पर्ला नपर्ला।” मैले उड्दो दृष्टि फालेँ स्मृतितिर। ऊ सिर्फ मुस्काई।
“स्मृति, आउ भान्छामै जाउँ। पकाउँदै गफ गरुँला।” श्रीमतीले उसलाई तान्दै लगी। भान्छा र बैठक कोठावीच त्यति लामो दूरी थिएन। उनीहरुले गर्ने कुरा प्रष्ट नसुनिए पनि बेलाबेला उनीहरु खित्खिताएर हाँसेको मसम्म आइपुग्थ्यो। आँखा टिभिमा जमेका भए पनि कानहरु ती दुई महिलाका कुराकानी सुन्न लालायित थिए। म पानी लिने बहानामा भान्छा पुग्दा, स्मृति मेरी श्रीमतीसँग टाउको जोडी केही खासखुस गर्दै थिई। भान्छामा देखेर श्रीमतीले मलाई घचेटी, “तपाई हामी महिला पार्टीवीच किन?” कस्तो सेके्रट कुरा हो यो, जो आफ्नो लोग्नेले पनि थाहा पाउन नहुने, मलाई आशंका र कौतुहलता लागिरहेको थियो। “खाना पाक्यो भने बोलाउँछौ, एकैछिन उता टिभि हेर्दे गर्नुस् न। श्रीमतीले मलाई धकेलेको देखेर स्मृति हाँसी।

डाइनिङ टेबुलमा खाना पस्किएपछि श्रीमतीले खान बोलाई। मैले दुबैजनाको अनुहार पढ्ने कोशिश गरेँ, त्यहाँ कुनै पनि अस्वाभाविकता देखिएन। खाना खाँदै पनि उनीहरु घरघरायसी कुरा गरिरहे।
“स्मृतिजी, कहाँ बस्नुहुन्छ?” मैले स्मृतिलाई आफूतिर फर्काउन खोजेँ। ऊ फकीर्, “सिनामंगल, एयरपोर्टनिरै।” नाकमा उसले लाएकी नीलो फुलीको उज्यालोमा म उसका आँखाभित्र डुब्न खोजेँ यद्यपि स्मृतिले त्यहाँ बिगतका कुनै पनि चिन्ह खुला छाडेकी थिइन। खाना खाइ सकुन्जेलसम्ममा स्मृति अलिकति सहज भई मसँग। हामी बैठक कोठामा फर्क्यौँ।

गफ गर्दागर्दै स्मृतिले घडी हेरी, “ओहो, ढिलो भैसकेछ। रञ्जना, म त लाग्छु अब। एकठाउँमा नपुगी भा’छैन मलाई।” कोठाबाट निस्कन लाग्दा स्मृतिले मलाई मेरी श्रीमतीबाट लुकेर पहिलो पटक भरपुर हेरी। यो वर्षाैँदेखिको त्यही तीखो दृष्टि थियो, सम्पूर्ण अस्तित्व झम्झमाउने। म उसलाई रोक्न चाहन्थेँ र मुटु खोली देखाउन चाहन्थेँ, जहाँ ऊसँग सम्बन्धित यादहरु आजसम्म दबाइ राखेको थिएँ।


श्रीमतीले बैठक कोठामा छाडेकी मोबाइल निरन्तर बजिरहेको थियो। “सुन्नुस् न, जो भए पनि म बिजि छु भनिदिनुस् न है?” श्रीमती बाथरुमको ढोकाभित्रबाट कराई। स्मृतिको फोन थियो। मैले श्रीमती नुहाउँदै गरेकी कुरा बताएँ। उसले हाँस्दै फोन राखी। अफिसबाट द्विविधावीच पनि त्यो दिन लन्चबे्रकमा स्मृतिको मोबाइलमा फोन गरेँ। ऊ छक्क परी।
“यदि फुर्सद भए एक कप कफी लिऊँ न।” मेरो अनुरोधलाई उसले स्वीकारी हाल्छे जस्तो लागेको थिएन, तर ऊ जावलाखेलको …बेकरी क्याफे’ आइपुगी। मेरो अफिसबाट क्याफे केही मिनेटको दूरीमै थियो तर उसलाई कुपण्डोलदेखि आउनु पर्ने हुँदा उसले केही समय लगाई। “सरी मैले ढिलो त गरिनँ?” रातो सल र सेतो स्लीवलेस कुर्थासुरुवालमा आएकी स्मृति, मेरो मनको कुनामा अड्किएकी स्मृतिभन्दा पनि धेरै राम्री र तरोताजा भेटेँ।
“साह्रै राम्री देखिनु भएको छ।” भावना व्यक्त गर्नबाट मैले आफूलाई रोक्न सकिनँ। मैले उसको पाखुरा थुम्थुम्याएँ। उसले कुनै अप्ठ्यारो मानिन। ऊ झललल आँखा बाल्दै मतिर हेरी मुस्काई।

“तपाईको फेसबुकको स्ट्याटस् पढेको थिएँ,…।” मैले कफी पिउँदै गरेकी स्मृतिको अनुहारमा भावना पढ्न खोजेँ। मेरो कुरा अनपेक्षित थियो सायद, उसका गालामा थोरै रातोपना देखियो। “अँ! कस्तो कमेन्ट आउला भनी त्यत्तिकै राखेकी थिएँ।” उसले कफीको एक घुट्को पिई। उसको जवाफ चित्तबुझ्दो थिएन तैपनि त्यही विषयमा थप अरु कोट्याइनँ। हामीले अरु कुरा गरिरह्यौँ। स्मृतिसँगको एकघण्टा लन्चबे्रक कति छिटो चिप्लियो। उसले हतार गरी र फर्कन बाध्य हुनु पर्‍यो।

त्यो रात श्रीमतीले स्मृतिसँग सम्बन्धित कुनै कुरा निकालिन। दुईवीच कुरै नभएको हो वा स्मृतिले नबताएकी, मलाई अनुमान लगाउन गाह्रो पर्‍यो। कुरा निकाल्छे कि भनी प्रसङ्ग उप्काउन खोजेँ, उसको व्यक्तिगत मामला भनी श्रीमतीले पूर्णविराम लगाई।

त्यसपछि पनि स्मृतिसँग दुईचार पटक कफी र लन्च भैसके तर यी कुराहरु श्रीमतीको मुखबाट सुनिनँ। स्मृतिले राखेकी गोपनियताले मलाई धेरै हौस्यायो। हत्केलाभरिका तातो अब डढ्न आतुर थिए। मनभित्रको बेचैनी, हरेक पटकको स्मृतिसँगको बसाइमा अझ बढ्थ्यो, तिर्खाएको बेला थोपाथोपा पानीले प्यास अझ भड्किएझैँ। सधैँ, सँगैको कति नाजायज कामना म आफूभित्र पाल्दैथिएँ, तर मनसँग विवस थिएँ।

स्मृति मसँग धेरै नजिकिइसकी। चियाखाजाको समय भेट भएका अरु साथीहरुलाई उसले, आफ्नो साथीको रुपमा मेरो परिचय गराउन थालेकी थिई।
“मैले तपाईलाई आजसम्म बिर्सेको छैन।” म भावुक भएँ। रेष्टुराँको एउटा एकान्त क्षणमा एकदिन मैले उसको हात आफ्नो ढुकढुकीमाथि राख्दै भनेँ। ऊ बोलिन, चुपचाप आफ्नो ओठको कुना टोक्दै मलाई हेरिरही। उसले आफ्नो हात तानी र जोडले मेरो हात समाती। उसको हात निकै तातो र हल्का काम्दै गरेको थियो। ऊ अझ मेरो नजिक आई। अर्को टेबुलमा एउटा धम्मरढस आएर बसेपछि ऊ जुरुक्क उठी।
“प्लीज बस्नुस् न। ” मैले अनुरोध गरेँ।
“हैन, अब जाउँ।” ऊ बस्न मानिन।

त्यसको दुईदिनसम्म स्मृतिसँग कुराकानी हुन सकेन। ऊ रिसाई कि भन्ने आशंका पनि लागेको थियो, त्यही रात श्रीमती, स्मृतिसँग हाँसीहाँसी कुरा गर्दै थिई। म व्यर्थै डराएथेँ। आधा घण्टाभन्दा बढी नै गफ भयो होला दुईकावीचमा। भोलिपल्ट स्मृतिलाई फोन गर्दा ऊ सामान्य थिई। मैले ऊसँग भेट्न चाहेँ। उसले सहजै सकारी, “तर आज पुल्चोकको …डाउनटाउन’ मा आउनुस् न है? म पनि त्यहीँ आउँछु।”

म रेष्टुराँ पुग्दा स्मृति आइसकेकी थिइन। उसलाई मोबाइल गर्न खोज्दै थिएँ,“सरी हेमन्त, आज पनि ढिलो भएँ।” ऊ हस्याङफस्याङ गर्दै पन्ध्र मिनेट ढिलो आइपुगी। ऊ अचेल अफिसमा व्यस्त छु, भन्दै थिई। त्यही भएर त्यो दिन लामो गफ हुन पाएन। म ऊसँग धक फुकाएर बस्न चाहन्थेँ। कुनै दिन फुर्सद मिलाएर बसौँला नि भन्ने आशयको छनक पनि मैले उसको कुराबाट नपाएको हैन। तर कहिले बस्ने भन्ने कुरा ऊ बताइरहेकी थिइन। घरमा श्रीमती कैलेकाहीँ स्मृतिको कुरा निकाल्थी। ऊसँग भएको भेटघाट र उसका प्रसङ्गहरुमा कहीँकतै पनि हाम्रो कुरा उल्लेख हुँदैनथ्यो। स्मृतिलाई मेरो साथ मन नपरेको भए, कुरा गोप्य किन राख्थी? मसँग चिया र लन्चमा किन आइरहन्थी? मेरो स्पर्शलाई विना प्रतिकार, बढावा किन दिन्थी? कुनै एकान्त पाउने बित्तिकै नशालु आँखाले किन हेर्न थाल्थी? यी प्रश्नहरुभित्र स्मृति थिई तर ऊ आफै मेरो लागि प्रश्नचिन्ह बनिरहेकी थिई। स्मृति मेरी श्रीमतीसँग साह्रै मिल्थी भने मसँग पनि कम लहसिसकेकी थिइन। हामी दुईमा अचम्मैसँग सन्तुलन मिलाएकी थिई उसले।

श्रीमतीले अफिसको काम लिएर एकदिनको लागि पोखरा जानुपर्ने कुरा सुनाई। एकदिन, कुनै लामो अवधि थिएन, तर सँगै बस्न अभ्यस्त बनिसकेको म, खल्लो भएँ। दिउँसो चियाको चुस्किसँग यो कुरा स्मृतिलाई सुनाएँ।
“ए, तपाई पनि एक्लै? म पनि एक्लै परेकी छु अहिले। गाउँ गएकी सुनिता एक हप्ता नभै आउँदिन।” ऊ मलाई हेरेर हाँसी। उसले सिर्फ सुनाएकी हो वा त्यो उसको मौन आमन्त्रण पनि थियो, छुट्याउन नसके पनि सिरिङ्ग भएँ।

साँझको फ्लाइट थियो। श्रीमतीलाई एयरपोर्ट पुर्‍याई फर्केँ। उनीहरुको पाँचजनाको टोली थियो। एकछिन अघि श्रीमतीले फोन गरेकी थिई, अब केही मिनेटमा प्लेन चढ्छौँ भनेर। त्यसपछि सम्पर्क गर्न खोज्दा ऊसको मोबाइल अफ थियो।
घर सुनसान थियो, बोरलाग्दो। मन स्थीर गर्न सकिनँ। छट्पटीमा अलिबेर रन्थनिएँ, त्यसपछि साँझ गाढिन थालेपछि बाइक निकालेँ र बाहिर निस्केँ। मन उडिरहेको थियो। हत्केलाभरिको तातो मेरो नसानसामा दौड्दै मलाई तताउँदै थियो।

पहिले पनि एक पल्ट स्मृतिलाई पुर्‍याउन आइसकेकोले घर खोज्न गाह्रो परेन। बाइकलाई निकै तल पार्क गरेँ र पैदलै स्मृतिको घरतिर लागेँ। भरेङ्गभरि जिरोवाट्को मधुरो प्रकाश पोखिएको थियो। मुटुको बढ्दो गतिसँग, मेरा सास फुल्न थालेका थिए। कसैले देखिहाल्लान् कि भन्ने पीर पनि लाग्यो। मेरो संस्कार मसँग युध्द गर्दै थियो। यत्तिका वर्षसम्म थुनिएको मैले खुला हुन पाउँदै थिएँ, तर श्रीमतीको मायालु अनुहार र मप्रतिको विस्वास मेरो बाटो छेक्दै थियो। अन्ततः जीत मनकै भयो। निकै दोमनपछि भरेङ्ग उक्लिएँ। स्मृतिको कोठामा ढोका ढप्किएको थियो। ऊ हुनसम्मकै छक्क पर्ली, के थाहा म आउँछु भन्ने अपेक्षा पो गरिरहेकी थिई? यतिबेला उसको अगाडि उभिएर उसलाई चकित पार्ने उद्देश्यले ढोका ढक्ढकाउन हात बढाएँ तर सकिनँ। शीताङ्ग भएँ। अहिले चैँ, ममाथि मस्तिष्क हावी भयो। एकछिनको तृप्तिको लागि सधैँभरिको तिक्तता मोल्न सकिनँ। जसरी गएथेँ, उसरी नै फर्किएँ।
घर पुग्दा नपुग्दै श्रीमतीको फोन आयो, “हेर्नुस् न, आज प्लेन उड्न सकेन। भोलि बिहानैको फ्लाइट छ। त्यसैले आज राती यहाँ स्मृतिकोमा बसेकी छु।”
… … म सँज्ञाशून्य भएँ।

25 Comments

  1. मिठो !!! सार्है मिठो !!!! तर केटि मान्छेले पुरुष पात्र भएर लेखेको कथा भन्दा महिला भएर लेखेको भए अझ सुनमा सुगन्ध हुने थियो !! त्यो पुरुष को ठाउमा आफुलाई उभ्याएर स्मृतिको सट्टामा श्रीमानको पुरुष साथि राखेको भए झन् उत्तम हुन्थ्यो !!! महिला भएर आम पुरुष मनोविज्ञान लाइ खोतल्ने सुन्दर प्रयास भए पनि, एउटा पुरुष स्खलित भएको काल्पनिक अनुभब एउटी महिलाले गर्नु भन्दा महिला आफै स्खलित भएको सुन्दर अनुभब लेख्दा अझ राम्रो होला !! कथाको सिर्शक चाही ‘खान नपाइएको लड्डु’ ठिक होला !!! THANKS FOR READING

  2. साचै कथा धेरै राम्रो छ ,राम्रो मनोविस्लेशण गरिएको छ \

  3. मलाई यो कथा सारै मनपर्यो, अझै अरु कथाको आशा गर्छु .

  4. यो कथा सारै नै राम्रो लाग्यो, यो कथा को शिर्षक” मनको बादुल्की” राख्दा राम्रो होला भन्ने मलाई लागेको छ .

  5. सार्है राम्रो कथा येस्को शीर्षक छोरा मान्छे को मन

  6. सारै राम्रो कथा !!! नुन ,खुर्सानी ,तेल .मशाला सबै ठिक्क मिलेको तरकारी जस्तो /कथाको अन्तिम मा कर्तव्य बोधले आफुलाई गलत बाटो मा हिड्न बाट रोकेको र ठुलो सम्भावित दुर्घटना हुन बाट बचेको अवस्था निकै संदेश मुलक लाग्यो मलाई /कथाले मान्छेको मनोभावना लाई राम्रो गरि समेटेको छ/धेरै धन्यवाद राम्रो कथा को लागि सुष्मा जी !!!

  7. अत्यन्तै राम्रो लग्यो ,यो कथा. सुषमा जी लाई धेरै ,धेरै धन्यवाद.आगामी दिनहरु मा यस्ता रहस्यपूर्ण कथा पढ्न पाउने आशा छ.

  8. सुषमा जी को जति पनि कथा हरु छन, सारै राम्रा छन्, लेख्दै जानुस हाम्रो साथ सधै तपाई सग हुनेछ…

  9. झन्डै झन्डै मेरै कथा दोहोरिएको जस्तो छ त यो ?

  10. मैले धेरैपछी यति साह्रै राम्रो कथा पढन पाए । शुषमा जी को यो कथाको प्रस्तुती अति नै राम्रो छ। आगामी दिनमा यस्तै कथाको अपेक्षा गर्दछु ।

  11. एस्लाई लोग्ने मान्छेहरुको चरित्र भन्दा पनि मान्छेका दमित उद्बेग हरु भन्दा होला | पहिलो प्रेम, पहिलो स्पर्श, पहिलो चुम्मन र पहिलो समागम का स्मिर्तीहरु सधै अन्तर मनमा लुकी रेखेको हुन्छ | सारै राम्रो कथा सुस्मा जी |

  12. सुष्मा जी ज्यान बचाई दिनु भो ……..सार्है राम्रो प्रस्तुति……….

  13. सुषमा जी ,
    जति तारिफ गरे पनि नपुग्ने कथा हो यो ,धेरै मानिस (पुरुष या महिला )हरु भित्र यो त्रिसना ,चाहना उम्रिरहेको हुन्छ ,झान्गीरहेको हुन्छ \ जसले आफुलाई कन्ट्रोल गर्न सक्छ उ आफ्नो सुखी जिबन र पारिबारिक मिठो सम्बन्ध बचाई राख्न सक्छ जो आफुलाई आफु संग जे छ (पारिबारिक बैबाहिक जिबन ) त्यस मै सन्तुस्ट र खुशी हुन् सिक्छ ,सक्छ उसको परिबार र जिबन सधै उज्यालो हुन्छ \ यो यस्तो त्रिसना या नशा हो जो कुनै मादक प्रदार्थ ले पुरा गर्न सक्दैन तर पनि तपाइँ ले भने जस्तै जब कुनै पनि गलत कार्य गरिन लाग्दा आफ्नो जिबन साथि ,सन्तान ,अभिभाबक ,समाज र भोलि को दिन र अबस्था लाइ एकै क्षण सम्झने हो भने जसरि ढोका ढक ढकाउनु पुर्ब आफ्नो घर यस कथा का पात्र फर्किय त्यसै गरि आम मानिस पनि गल्ति गरिनु बाट बच्ने छन् \ सार्है सर्हानिय ,चेतनामुलक र खुसि जिबन यापनदायी कथा लाग्यो \ सबैले सधै भरि याद गर्नु पर्ने बिषय हो यो \

  14. पुरुष चरित्र छि छि: सुन्दा पनि घिन लागेर आउने, तर यो पुरुषको बास्तबिकता हो लेखकको प्रस्तुति सारेइ राम्रो लग्यो! Keep it up

    • हरेक कुरामा पुर्वाग्रह राख्नु पनि राम्रो होइन. यसमा कथाकार ले पुरुष चरित्र भन्दा पनि मानबिय चरित्र र पहिलो प्रेमको प्रभाव लाइ चित्रण गर्न खोजेको हुनुपर्छ

    • सारा ज्यु,
      तपाइले हेमन्तलाइ पुरुष चरित्र भनेर छि छि भन्नु भयो, तर स्मृतिले आफ्नै साथिको श्रीमानसंग उसलाई थाहै नदिई भेटिरहनु के हो नि ? हो सामाजिक हिसाबले दुवैले गलत गरिराख्या छन् तर यौनको मामिलामा पुरुष र महिला उत्तिकै सहभागी छन् किनकि – It takes two to tango.

  15. कता कता यसको शिर्षक ” सपनाका सेरिअलहरु”( serial ) राख्दा कस्तो होला !!!

  16. बाफ रे ! कस्तो राम्रो कथा. धेरै दिन पछी राम्रो कथा पढ्न पाइयो धन्यवाद !

  17. आहा कति मिठो कथा के होला के होला भन्नि कौतुलता भैरहने धन्यवाद सुष्मा जी .

Comments are closed.