कथा यात्रा (भाग ८)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ।


कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्
कथा यात्राको तेस्रो भाग पढ्नुस्
कथा यात्राको चौथो भाग पढ्नुस्
कथा यात्राको पाँचौँ भाग पढ्नुस्
कथा यात्राको छैटौँ भाग पढ्नुस्
कथा यात्राको सातौँ भाग पढ्नुस्

बद्री अधिकारी
सम्राटले अमेरिकाबाट मलाई फोन गरेका थिए मेरो मोवाइलमा। “म सम्राट बोलेको …….।” भन्ने वित्तिकै मैले फोन काटिदिएकी थिएँ। मलाई उनीसँग बोल्नु थिएन …..। उनले बारम्बार फोन गरेर मलाई हैरान पारिरहेका थिए। उनी मसँग के भन्न खोजिरहेका थिए, मैले बुझ्न आवश्यक ठानिनँ ….। उनले गरेको फोनको घण्टी बारम्बार मोवाइलमा आइरहन्थ्यो …….। मैले हैरान भएर सिम नै बदल्नु परेको थियो। इमेलको पनि अवस्था त्यस्तै थियो। म आफूलाई दोषी ठानीरहेकी थिएँ। इमेल आई.डी.र फोन नम्बर उनलाई दिएकोमा ……….। इमेलको हैरानीलाई सहन नसकेर इमेल नै बन्द गरिदिएकी थिएँ ……..। लगातारको हैरानीलाई सहन निकै कठिन हुँदो रहेछ। केही नलागेर उनले चिठ्ठी पठाएका थिए। मैले नहेरिनै ड्रेसिङको घर्रामा खाँदिदिएकी थिएँ। जुन बस्तुको आफूलाई आवश्यकता छैन त्यतातिर ध्यान दिनुभन्दा म पढाइमा व्यस्त रहन थालेकी थिएँ ………..।

म यसरी नै अतीतमा डुबेर वर्तमान भुलिरहेकी थिएँ। अचानक घर अगाडि एउटा ट्याक्सी रोकिएकोले तन्द्रा भङ्ग भयो। ट्याक्सीबाट अन्दाजी तीस वर्ष मेरै उमेरकी एउटी युवती ओर्लिन। रेणु मेरी साथी …। मैले उनलाई माथि नै आउने इशारा गरेँ।

“हैन ……रेणु तिमी त विवाहको पाँच वर्षपछि मात्र पो झुल्कियौ त?” नजिकैको कुर्सीमा बस्ने सङ्केत गर्दै मैले भने।
“घरिघरि माइतसम्म आउँथे केही क्षणका लागि,……… आज चाहीँ माइत बस्नेगरि आएकीले तिमीसँग भेट्न आएकी………।”
“राम्रो लोग्ने पाएपछि …….साथीलाई किन सम्झने?”
“तिमीलाई पनि अमेरिका बस्दै गरेको हाम्रै टोलको असल परिवारको केटाले मागेकै थियो नि।”
“तिमीले सम्राटको कुरा गरेको?
“……………।” रेणुले हो मा शीर हल्लाइन्।
“त्यतिबेला तिमीले नै भनेको होइन? सम्राट तिमीलाई मन पराउँछ र तिमी सम्राटलाई भनेर………। सम्राट र तिमीबीच विवाहपछाडि हुने सम्बन्ध पनि भइसकेको भनेर तिमीले नै भनेको होइन मसँग?” मैले बिस्फारित नेत्रले उनलाई हेर्दै प्रश्नको वाण वर्षाएँ।

“त्यो सबै मित्थ्या कुरा थियो। सम्राटले तिमीलाई मन पराएको थाहा पाएपछि उसप्रति तिमीभित्र घृणा उत्पन्न गराउन मैले त्यसो भनेकी थिएँ। तिमीले उसलाई अस्वीकार गर्दा कतै उसले आफूलाई मागि पो हाल्छ कि भन्ने लालच पनि मभित्र उब्जेको थियो। खैर ………छाडौँ……बितेको कुरा ………..।”

रेणुको कुराले एकपटक म छाँगाबाट खसेकी थिएँ। मैले उनलाई शीरदेखि पैतालासम्म गढेर हेरेँ। मेरो त्यस प्रकारको हेराइले उनी सकपकाएकी थिइन्। वास्तविकता मुखबाट फुत्केकोमा उनलाई पछुतो पनि लागिरहेको थियो क्यार! आफ्नी साथी भएकीले म उनका कुरामा विश्वास गर्दथेँ। त्यो विश्वासको उनले नाजायज फाइदा उठाइ सकेकी थिइन्। वास्तविकताबाट जब परिचित भएँ ….., उनलाई आदर गर्ने कुरा मैले बिर्सिएँ। मेरो परिवर्तित रूपको सायद उनले पनि अड्कल काटिसकेकी थिइन् क्यार। उनले जाने कुराको हतारो गरिन्। मैले चियासम्म पिलाउने औपचारिकता देखाउन सकिनँ। उनको व्यवहारले मभित्र उनीप्रति घृणा जन्मिसकेको थियो। उनी मसँग विदा मागेर गइन् तर अनौठो पीडा छाडेर ……..। ईर्ष्याले गाँजेको बेला मान्छेको विवेक शून्य हुन्छ क्यार ईर्श्या र डाहले वेष्ठितप्राप्तिको लागि लालची मान्छेले घिनलाग्दो व्यवहार गर्दछ। मेरी साथी रेणुले त्यो कुरालाई प्रमाणित गरेकी थिइन्। उनीप्रतिको स्नेहमा मभित्र खडेरी परिसकेको थियो। “यस्ता घटिया साथी हुनुभन्दा त नहुनु बेस।” रेणुसँग झगडा गरेर पनि कुनै प्राप्ति थिएन। “मरिहेर्नु मान्छे चिन्नु।” “कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नु बुद्धिमानी हुँदैन।”

“सम्राटले मसँग विवाह गर्ने हो भने मैले भनेको डाक्टरबाट चेक गरेको मेडिकल सर्टिफिकेट पेश गर्नु पर्नेछ।” मेरो यस्तो प्रस्तावले सम्राट र उनको परिवारमा भुइँचालो नै गएको थियो। मलाई आमा र आफन्तले धेरै सम्झाउँदा पनि मैले आफ्नो प्रस्ताव फिर्ता गर्न मानिनँ। उनी बुवाआमासहित विवाह नगरी अमेरिका फर्केका थिए।


यथार्थको ज्ञान भएपछि आफूले उनीप्रति गरेको व्यवहारलाई सम्झँदा पछुतो लागिरहेको थियो। मैले पछुतो मान्दा हुनेवाला केही थिएन। मलाई भित्री मनले फोनमै भएपनि एकपटक उनीसँग क्षमा माग्न घच्घच्याइरहेको थियो। मसँग उनको फोन नम्बर थिएन। म पानी बिनाको माछाझैँ छट्पपट्याइरहेकी थिएँ। पश्चातापले मानिस भित्रभित्रै गल्दोरहेछ। अचानक मलाई चार वर्ष अगाडि उनले पठाएको चिठ्ठीको सम्झना भयो। हत्तारिँदै ड्रेसिङ टेबुल भएतिर दौडिएँ, कति सुन्दर खाम झन् त्यसमा लेखिएका अक्षर अति सुन्दर लाग्थे। खामलाई हेर्दै नहेरी घर्रामा राखेकोमा थक्थकी पनि लाग्दै थियो। खाममा लेखिएका सुन्दर अक्षरहरूले आकर्षित गरिरहेको थियो। “खै………. मान्छेको मन पनि कस्तो?” म आफू आफैँसँग लजाउँछु।
“निष्ठा”
तिम्रो मनले निष्ठापूर्वक गरेको निर्णयमा खलल पुर्‍याउने मेरो कुनै अभिप्राय होइन। तिम्रो सर्तलाई पालन गर्न चाहँदा चाहँदै पनि मभित्र रहेको नेपालीपनको स्वाभिमानले रोक लगाएकोले इच्छा अधुरै रह्यो। नेपाली तन, मन र संस्कार भएकी जीवन साथी सायद मेरो भाग्यमा जुरेको थिएन क्यार! तिम्री साथी रेणुुलाई तिमीलाई मैले जीवन साथीको रूपमा चयन गरेको कुरा सुनाएको थिएँ र त्यसमा सहयोग पुर्‍याउन अनुरोध पनि गरेको थिएँ। सायद तिमीलाई सुनाइन् पनि होली। तिमीले सिधै मलाइ मन नपराएको कुरा राख्दा भईहाल्थ्यो। तर त्यस्तो सर्त राख्यौ। तिम्रो त्यो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ।

तिमीले सर्त राख्नुको कारण बुझ्न सकिनँ। फोन र इमेलबाट पनि बञ्चित गरायौ। सायद अरु इमेल पनि पढिनौ होला। यो चिठ्ठी पनि नहेरी फालिदिने पो हौ कि? चिठ्ठी लेख्नु गलत भए माफ पाउँ। तिम्रो मनले कुनै दिन सम्झना गरे फोन गर्नु ……….बाई।
अभागी …सम्राट’

चिठ्ठीलाई ओर्काइ फर्काइ हेरेँ फोन नम्बर नभएकोले मन खिन्न भयो। रेणुदेखि औधि रिस उठिरहेको थियो। रिस उठ्नु स्वाभाविक थियो। उनले नै मेरो सुन्दर भविष्यलाई निमोठेकी थिइन्।

“स्वार्थी”। म मनोसम्वाद गर्दै छट्पटाउँदै चिठ्ठीलाई दोहोर्‍याइ–तेहेर्‍याइ पढिरहेकी थिएँ।
“तिम्रो सर्तले मेरो नजरमा झन तिमीलाई उजिल्याईदिएको छ।” कति सुन्दर विचार, कति पवित्र भावना …..। सम्राट मलाई माफ गर ……। म आफ्नो त्यो तुच्छ व्यवहारप्रति तिमीसँग क्षमा माग्न पनि नसक्ने भएँ। तिमीले चिठ्ठीमा फोन नंम्बर लेखिदिएको भए… …। शरीरका असङ्ख्य हिस्सामा सियोले घोचेझैँ आभाष भईरहेको थियो। पीडा बोधले म मर्माहत हुँदै थिएँ। आँखा रसाएर आइसकेका थिए। मेरो दिमागमा भूर्इंचालो नै गइरहेको थियो। मोवाइलको घण्टी कानमा ठोकिएकोले तन्द्रा भङ्ग भयो।
“हेल्लो!” मैले फोन उठाएँ।
“म, सम्राट …..।” उताबाट आएको स्वरले म अचम्भित भएँ।
मलाई पत्यारै लागिरहेको थिएन। म जुन मान्छेको फोन आउँदा काटिदिन्थेँ आज त्यही मान्छेको फोनलाई त्यसो गर्न सकिरहेकी थिइनँ। मलाई बोल्न असजिलो भईरहेको थियो।
“निष्ठा! तिमी किन बोलिरहेकी छैनौ? अझै तिम्रो म प्रतिको रिस मरेको छैन? ”
उनको प्रश्नले मलाई मर्माहत पारिरहेको थियो। म बोल्न खोजिरहेकी थिएँ तर मुखबाट स्वर बाहिरिन सकिरहेको थिएन। आफूलाई संयम बनाउने प्रयास गर्दै भनेँ –“सम्राट! तिमीसँग रिसाएकी छैन ……. म के भनुँ! बरु तिमी पो मसँग रिसाउनु पर्ने। म त्यो दिनको आफ्नो प्रस्तुतिप्रति दुखित छु। क्षमा गर ……..।” यतिभन्दाभन्दै झण्डै म रोएकी थिएँ।
“निष्ठा! तिमीले गरेको यो याचनाले तिम्रो कोमल मनको सुन्दरतालाई चार चाँद लगाइ दिएको छ। म त्यसलाई टाढैबाट भएपनि महसुस गर्ने चेष्टा गरिरहेको छु।”
“धन्यवाद! म सन्तुष्ट भएँ। तिमीले मेरो मोवाइल नम्बर कसरी पायौ?
“……………………….” ऊ बोलेन।
“मैले सोधेको कुराको तिमीले जवाफ दिएनौ नि?”
“हिजो फोन गरेर रेणुले तिम्रो नम्बर दिएकी थिइन्। आफ्नो बिगतको दुर्व्यवहारप्रति माफी पनि मागेकी थिइन्।”
“रेणुले ……….!” आश्चर्यचकित मेरो स्वर बाहिरियो।
“हो………रेणुले।”
“अरु उनले केके भनिन्?” मैले उत्सुकता दर्साएँ।
“बिगतका सबै कुरा भनिन् …..। तिमीले पनि उनलाई माफ गर्नका लागि मैलै सिफारिस गरिदेउ है भन्दै थिइन् ..।”
“………….”रेणुले आफ्नो भूलप्रति प्रायश्चित गरेर असल साथीको भूमिका निर्वाह गरेको देख्दा खुसी पनि लागिरहेको थियो। कुण्ठित भएको मेरो मनभित्र उनीप्रति मायाका टुसाहरू पलाउँदै थिए।
“निष्ठा! मेरो मरिसकेको आश पुनः बौरिरहेको छ ….। तिमी के भन्छ्यौ?”
“तिम्रो विचार म के भनुँ?” भित्रभित्रै लजाउँदै मैले भनेँ।
“फेरि मेडिकल सर्टिफिकेट त माग्दिनौ? ” उनको ठट्यौली स्वर मेरो कानमा ठोकियो।
“अझै पनि ममाथि भरोशा छैन र? अमेरीकाबाट कहिले आउँछौ?”
“एक हप्ता जति लाग्छ होला।”
“मलाई प्रतिक्षारत पाउने छौ……..बाई।”
“बाइ……।” उताबाट फोन राखियो। सम्राटले पछाडि उभिएर मलाई कुत्कुती लगाएको आभाष भइरहेको थियो। मैले उनले लेखेको चिठ्ठीलाई म्वाइ खाँदै छातिमा टाँसेर आँखा चिम्म गरेँ।

क्रमशः

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता रिजनबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

3 Comments

  1. सायद राति ढिला सुतेछु क्यारे बिहान उठ्दा त झलमल उज्यालो भैसकेछ |
    मानिसहरुका खल्बलले बिउझिये | एसो झ्यालबाट बाहिर हेरेको त आकास खुल्ला थियो अनि, अनि मेरो मन निहाले त्यो पनि खुल्ला आकास झैं धेरै कुरा थामेर पनि हलुका र उदार महसुस गरिरहेको भान भयो| हिजो राति सम्रात्संगको कुरा सम्झे, मनमनै हासो संगै खुसि छायो मेरो अनुहारमा|
    एकछिन रोके अनुहारको मादकता र झस्किए| एसो बाहिर हेरे अनि आनन्द लाग्यो र फेरी मन मनै हासे कसैले चिहाएर नहेरेकोमा| उफ…..!!!! कस्तो छु मा भने आफ्नै खुसीलाई पनि रोकेर राख्ने, त्यो पनि अर्काले केहि अड्कल काट्छ कि भनेर| थुक्क! तँ , के भाकी हँ? आफैले आफैलै धिकार्छु | अब भने जीवनले निर्दिस्ट दिशा लेला जस्तो छ| के भन्छे यो केटि? औटा सानो कुरामा सहमति हुँदैमा जीबनभारिको लागि सहमति भयो भन्ने सोचस्की कि क्या हो हँ? छ्या….कस्ता कुरा खेल्या मनमा| ल अब मा सोच्दिन| भयो…….ऊऊउ …पुग्यो!!!!आँखा चिम्म गरेर ओछ्यानमा पल्टिए| भित्र मनमनै हासिरहेको थिए जुन अनुहारमा छारप्रस्तई देखिन्थ्यो तर कसले देख्ने यहाँ| त्यो सम्झेर झन् हासे मनमनै|
    ढोकामा ढक ढकको आवाज आए जस्तो लाग्यो| एक छिन चुप बसे हो कि हैन निर्क्योल गर्न, केहि सेकेण्ड पछि थाहा भयो ढोकाबाट आवाज आएको हो त्यो पनि कसको मेरो ममीको| हत्तपत्त ऐना हेरे र आफुलाई सोभाविक रुपमा ल्याउने चेस्टा गरेर ढोका खोल्न गए| उता बाट आवाज पड्कियो| के हो तेरो चाला आज कलेज जानु पर्दैन कि बन्द छ वन्ने हल्ला चलेर हो ह! बाहिर तेरो साथी कुरिरेहेको छ| कि नजाने हो भन| अर्कालाई किन कुराई राख्छेस? भित्र भित्रै रिस उठ्यो तर के गर्ने मर्यादा त पालन गर्नु पर्यो र भने को आयो?
    ममीले सिधा जावाब दिनुभयो तेरै साथी के इस्कूल देखिको …..को हो? अ…अ …अ ये .. राज हो. जे होस्, होश त ठेगन्मै रहेछ| ल जाने भए छिटो जा| बन्द त आज छैन नि हैन ममी ? ..ए राज आयो,… भने पछि बन्द त पक्कै छैन!!!
    राज , मेरो नर्सरी देखिको साथि एक असल मित्र जो संग मैले मेरो शैबब कालदेखि युवा अवस्था सम्म संगै बिताएको थिए| उसको जीवनलाई सरसर्ती केलाउदा आज म छक्क पर्छु| हिजो एउटा समयलाई चय्लेंज गर्ने मान्छे आज समयेको च्यालेज्लाई सुइकार्ने मान्छे भएको छ| उसमा यो परिबर्तन देख्दा आज अचम्म लाग्छ| नहोस नि कसरि ….उ त विदेश मा २ बर्ष पढेर आको र भन्ने ले भने उसले धेरै दुख पायोरे र कसै ले त भने कि उसले धेरै पैसा कमायोरे| जे भए पनि उ मेरो साथी …साथी नै हो !!!धेरै कुरामा भिन्नता देखिए पनि उसको त्यो बेबहार र मा प्रति को त्यो सोचाईमा केहि परिबर्तन देह्किना मैले ..
    क्रमस……..

  2. ,,,,,ट्रिन ट्रिन,,,,ट्रिन ट्रिन
    म फोन उठाउछु ” हेलो” उताबाट आवाज आउछ
    “ए सम्राट ,,!!,,?? कहिले आइ पुगेको ? यति चाडै ? होइन, भरे बेलुकी मात्र आइपुग्ने भनेको होइन र ?” मेरो प्रश्नको खोलोको उत्तर दिन्छ उ
    “हो बेलुकी आइपुग्छु ”
    “अनि फेरी कहाबाट फोन गरेको त् ? तिमि त् हिजो राति प्लेन चढ्नु लागेको भनेको होइन र ? कि फ्लाइट डिले भो?”
    “त्येस्तो केहि होइन, म त् बीच बाटोमा नै भन्नु पर्ला, अहिले हंगकंगको ट्रान्जिटमा छु अब १२ घण्टा पछी भरे बेलुकी मात्र छ नेपाल जाने उडान ” उ प्रस्ट्याउछ /
    “ओहो १२-१२ घण्टा कुर्नु पर्ने ?” मलाइ दिक्क लाग्छ /
    “के गर्नु हाम्रो देशको त् सबै बेचेर खाई हाले, यस्तै हो अर्काको आस निस्तो गास भनेको” बास्तबिकता स्वीकार्छ उ /
    ” यहा त् सबै खत्तम भैसक्यो, यो चाही ठिक छ भन्नु लायकको त् केहि पनि छैन यहा” म थप्छु /
    “त्येसो नभन न, हामीले नै त्येसो भनेउ भने कसले गर्छ त् “लायक ” बनाउने काम चाही ?” उसको कुरो सुनेर म तन्द्रा बाट बिउझिन्छु /
    तर पनि मन मान्दैन / आखा अगाडिको बेथितिको रीस उमाथि पोख्छु ” आफु चाही पाताल भासिने अनि त्येसो भन्नु मिल्छ त् ?”
    “त्येसो होइन, अब पढाइ सकियो अनि अमेरिका नफर्किने गरेर फर्कदै छु / नेपालमा नै केहि गरेर बस्ने सोच बनाएको छु ” नजानिँदो तरिकाले सम्राट मलाइ सुनौलो सरप्राइज उपहार दिन्छ /
    बेलुकीको पर्खाइको व्यग्रताले मलाइ किन हो किन भित्र भित्र सम्म काउकुती लागिरहेको छ /
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,क्रमश:

    • एक्लै दौडेर प्रथम हुने पीर पर्यो फेरी

Comments are closed.