'F2' मा दस दिनको बास

त्यसो त F2 को अर्थ फ्लुरिन ग्यासको केमिकल सूत्र, एउटा साइकोडेलिक औषधि र निकोनको एउटा प्रोफेसनल डिजिटल क्यामेरा र कम्प्युटरको कीबोर्डमा फाइल रिनेम गर्न वा गेम स्टार्ट गर्न थिचिने ‘की’ पनि हो।

तर म यी किताबी सूत्र, औषधि, क्यामेरा, मोबाइलको दिक्कलाग्ने गरी बज्ने एसएमएस र कलका आवाजहरु र त्योभन्दा बढी आँखा खोलेदेखि दर्शन गर्नुपर्ने कम्प्युटरको स्क्रिन र हातका औँलाहरुले चुम्नुपर्ने कीबोर्डको जञ्जालबाट टाढा थिएँ। म थिएँ F2 मा। तपाईँहरुले कतिको याद गर्नुभयो कुन्नि, म यी ११ दिन माइस‌‍ंसारमा अनुपस्थित थिएँ। ८ दिनका लागि त दिनमा दुई वटा ब्लग अटो अपडेट हुने बनाएर राखेको थिएँ। त्यस बाहेक बाँकी ब्लगहरु साथीहरुले राखेर सघाइदिनुभयो। कमेन्टहरु त आजभोलि मैले खासै हेर्नै छाडिसकेँ। त्यसमा पनि सदा झैँ साथीहरुले नै सघाइदिनुभयो र मेरो यत्रो दिनको बाहिरी विश्वसित बिल्कुल अलग थलग बसाइलाई सहज बनाइदिनुभयो, त्यसका लागि सबैलाई धन्यवाद।


यी दस दिन म एउटा त्यस्तो ठाउँमा थिएँ जहाँ राष्ट्रसंघीय मानवअधिकार घोषणापत्रको आर्टिकल १९ का कुनै शब्द काम लाग्दैन थिए। अन्तरिम संविधानका धाराहरुले दिने वाक तथा अभिव्यक्ति स्वतन्त्रता मात्र हैन, दिनमा ३ घण्टाका दरले पाँच दिन त हात, खुट्टा र आँखा समेत नखोली हलचल नगरी बस्नुपर्थ्यो। त्यसो त चलाइहालेमा कसैले दण्ड दिनेवाला पनि थिएनन्। तर अभिव्यक्ति स्वतन्त्रता भने बिल्कुलै बन्द। मुखले मात्र हो र लेखेर र इशाराले पनि केही भन्न नपाइने। शिक्षक कै शब्दमा यो एउटा ‘कारावास’ नै थियो, ‘धर्म कारावास’। तर सब स्वेच्छाले आएका थिए र म पनि दोस्रो पटक त्यहाँ गएको थिएँ। सोचे भन्दा बढी लाभ लिएर फर्किएँ। फर्कँदा सबैको अनुहार यति हँसिलो थियो कि त्यसको बयान यहाँ शब्दले गर्न सकिँदैन।

F2 मलाई बस्न दिइएको आसनको नम्बर थियो। त्यही आसनमा बिहान साढे चार बजेदेखि बीचमा केही आरामका समयलाई छाडेर राति नौ बजेसम्म बसेर आफूभित्रको सत्यलाई जानेर, बुझेर बस्ने विपश्यना साधनाको अभ्यास गरियो। दोस्रो पटकको साधना भएकोले पहिलोमा जति कौतुहल भएन। तर सार्‍है रमाइला घटनाहरु भए। सयभन्दा बढी साधक र साधिकाहरु जीवनमा कहिल्यै नबिर्सने विद्या र जीवन जिउने कला लिएर फर्किए।

पोहर गएर फर्कँदा पनि मैले आफ्ना अनुभवहरु बताउँछु भनेको थिएँ, तर यता आएपछि यतैका अनेक जञ्जालले जकडिएँ। फूर्सदै पाइनँ। यस पटक भने त्यसो हुने छैन। म त्यहाँका तीतामीठा सबै अनुभव बाँड्नेछु।

अहिलेलाई गत वर्षदेखि यो वर्ष विपश्यनामा जानुअघिसम्म देखिएका सकारात्मक परिवर्तन मध्ये छोटोमा केही प्रसंग राख्न चाहन्छु। बाँकी विस्तृतमा पछि लेखौँला। आजै मात्र फर्किएको हुनाले निकै थाकेको छु।

एक महिना जति अघि मेरो मोबाइल हरायो। भर्खर जीपीआरएस जोडेको, कत्ति न जान्ने भएर टेकुको सुमाइ रेस्टुरेन्टमा इमेल चेक गर्दै थिएँ, फर्कँदा ल्याउन बिर्सेछु। आफन्तको घरमा पुगेपछि बल्ल याद भयो। मोबाइल हरायो- यो सत्य मलाई जब ज्ञात भयो। त्यतिबेला मलाई अलिकति पनि दुःख, पीडा भएन। मैले हाँसी हाँसी मोबाइल त बिर्सेछु भनेर आफन्तहरुलाई भन्दा उनीहरुले जिस्केको ठानेका थिए। अरु बेला भएको भए म निकै व्याकुल हुन्थेँ होला। पछुताउँथेँ होला। आत्तिन्थेँ होला। त्यही ठाउँमा पुगेर हेर्न हतारिन्थेँ होला। मलाई भने एउटा जिज्ञासा मात्र जागेको थियो, सीम कार्ड नयाँ बनाउँदा त्यसमा भएको २ सय भन्दा बढी रुपैयाँको ब्यालेन्स कायम हुन्छ कि हुँदैन ?

अन्ततः मोबाइल पनि भेटियो। म गइनँ। मसँग रेस्टुराँमा जो आफन्त गएका थिए, उही गए। मोबाइल क्यासियरमा सुरक्षित राखिएको रहेछ। अब हेर्नुस्, केही वर्ष अघि भएको भए मोबाइल भेटिए पनि नभेटिए पनि त्यो बीचमा म कति दुःखी हुन्थेँ होला। कति व्याकुल हुन्थेँ होला। कति आत्तिन्थेँ होला र कति पीडा हुन्थ‌्यो होला। यो एउटा सकारात्मक परिवर्तन थियो जसलाई अनुभूति गरेर म आफै पनि छक्क परेको थिएँ।

दोस्रो अनुभव पनि सामान्य नै छ। एक पटक एक जना साथी र म सुन्धारामा पेटीमा हिँडिरहेका थियौँ। एउटा गल्लीनिर एक्कासी एउटी युवतीले स्कुटी कुदाएर ल्याएर खुट्टामा धकेल्दै भित्र गइन्। लाग्यो खुट्टामा दुख्ने गरी नै। गाली साली बक्ने भयो भनेर युवती पनि भागिहालिन्। अरु बेला भएको भए, मनमा दुर्भावना जागेर गाली साली गरिन्थ्यो होला। त्यो बेला भने केही पनि भएन मनमा। त्यो दिनको अनुभवबाट पनि म अचम्ममा परेको थिएँ।

अर्को अनुभव। काठमाडौँमा सडकमा हुने जाम सबैले भोगेकै हो। कति पटक सुनेको छु, जाममा पर्दा दिक्क लागेर मानिसहरुले भन्दै गरेको साला, यो देश कहिले सुध्रिँदैन। म भने त्यस्तो बेला आनी छोइङ डोल्माका गीत कानमा लगाउँछु र त्यसै त्यसै रमाउँछु- फूल किन फूल्छ यहाँ, फूल किन फूल्छ, थाहा नै छ उसलाई भरे मर्नुपर्छ….

तर यो एक वर्षमा सुख नै सुख मात्र भयो रिस पटक्कै उठेन, झगडा कतै पनि भएन भन्न खोजेको हैन। जति जे भए त्यसमा पनि पहिलेभन्दा परिवर्तन भने अवश्य अनुभव गरियो। र थप लाभ पाउनैका लागि र जीवन जिउने कला सिक्नैका लागि त फेरि त्यो दस दिन भिक्षु जस्तो कठोर जीवन जिउनु पर्ने धर्म कारावासमा थुनिन गएको। नत्र को जान्थ्यो र।

भर्खर फर्केको छु। यी दिन बाहिरी विश्वसित सम्पर्क नै भएन। राजनीति कता पुग्यो केही थाहा छैन। भोलिसम्ममा सम्हालिनेछु बाहिरी जीवनमा। अनि ब्लगमा सदा झैँ नियमित हुनेछु। मेरो दशैँ विदा त सकियो। अब दशैँ दिनभर तपाईँहरु कै सेवामा हाजिर हुने नै छु।

तपाईँहरु सबको कल्याण होस्। भलो होस्।

यसपालि क्यामेरा लगिनँ। फोटो पुराना हुन्।





57 Comments

  1. उमेश जी, तपाईलाई बधाई छ |
    मैले पनि करिब २ बर्ष अघि एक पटक (धर्मश्रिन्घ ध्यान शिबिर, शिवपुरी मा) १० दिनको ध्यान शिबिर मा बिताउने मौका पाएको थिए |
    आफ्नो बिबरण सदृश्य प्रस्तुत गर्नु भई मेरो सम्झना ताजा गरिदिनुभएकोमा धन्यवाद पनि दिन्छु |
    सबै ठाउ हरुको link राखी दिनु हुने साथि हरुलाई पनि साधुबाद!
    फेरी एकपटक मिशिगन (MI) मा भएको ध्यान केन्द्र मा गएर १० दिन बिताउनको लागि तिब्र इक्षा प्रकट भएको छ |
    यो पटकको Winter Break को उपयोग गर्ने सर्बोत्क्रिस्ट योजना फेला पर्यो!
    (हुर्रे!!)

    भवतु सब्ब मंगलम !!

  2. यो क्रिया त राम्रै रहेछ नि आत्मा सुद्ध गर्ने क्रिया बरु हाम्रा नेता मन्त्रि जी र घुस्या कर्मचारीहरुलाई पनि एता तिर छिराउन पाए त मन बचन कर्म पनि suddhi hune थियो ki

  3. बिपसय्ना मेरो पनि सपना हो , आसा छ म नेपाल गएको बेला पने यो प्रथा कयेम नै रहोस

  4. आजसम्म को सबै भन्दा राम्रो ब्लग उमेश जी | नकारात्मक कुरा कतै छैन |

    चेतनालाई उपभोगले छोपेको मात्र हो, सबैमा यो क्षमता हुन्छ | माटोलाइ जोतेर खुकुलो बनाउनु पर्छ, आर्द्रता, तापक्रम मिल्नुपर्छ, अनि बिरुवा उम्रन सक्छ| त्यस्तै हाम्रो चेतनालाई छोप्ने सतही उपभोगमुखी पत्रलाई हटाउन ध्यानले सहयोग गर्छ | राम बहादुर बोमजोनले प्रमाणित गरिसके कि ध्यान गर्न सके खान पनि आबस्यक छैन | अर्धचेतन वा अचेतन बिरुवाले आफ्नो खाना आफै बनाउन सक्छ भने, मान्छेले पेट भर्न कै लागि अर्काको हिँसा गर्नु पक्कै जरुरि छैन | तर चेतनाको स्तर बिकसित नहुँदै नखाई बस्ने भन्न खोजेको होइन | अर्काको जीवनमा आफ्नो जीवन को प्रतिबिम्ब देख्नसक्ने दिन आएपछि संसारमा शान्ति नै शान्ति हुनेछ |

  5. धेरी राम्रो | खुसि लाग्यो, मलाई पनि यो ठाउँ जानी ठुलो धोको छ, अर्को वर्ष नेपाल आयको बेला अबस्य जान्छु |

  6. विपश्यना ध्यानले मेरो जीवनमा मेरो सोचाइमा पनि ठूलो परिवर्तन ल्याएको छ। यसले जीवनका हरेक अवस्थामा खुसी रहने अभ्यास गराउँछ। हाल चीनमा रहँदा कहिलेकाही एक्लै अभ्यास त गरिन्छ तर सामुहिक साधनाको अभिलाषा भइरहन्छ। कुनै महानुभावलाई चीनस्थित विपश्यना ध्यान भावना स्थलको बारे जानकारी छ भने सबैको लागि जानकारी बाँड्नु होला।

    सबैको मंगल होस्।।।

  7. राम्रो कुरा बाडनु भयो धन्यवाद|

    मेरो पनि नेपाल आएर जाने विचार छ हेरौ कहिले जुर्छ….

  8. राम्रो कुरा सेयेर गर्नु भएको मा धन्यवाद. मलाई पनि नेपाल फर्के पछी एक पटक ध्यानमा जाने रहर जाग्यो. धेरै पहिले देखि मैले सुन्दै आकी थिया तर अब अनुभब गर्नु पर्यो.

  9. विपश्यना ध्यानको बारेमा धेरै समय पहिले नै थाहा पाएर पनि अहिले सम्म जान नपाएकोमा पछुतो लाग्न थाल्यो | नेपाल फर्के पछी सबै भन्दा महत्वपुर्ण र नगरिनहुने कामको लिस्टमा विपश्यना ध्यानलाई राख्नु पर्ला | उमेशजीलाइ धेरै धन्यवाद ठेगाना र प्रक्रिया बतैदिनुभायेकोमा|

    एकपटक पद्मज्योतिले उनको कारखानामा काम गर्ने मजदुरहरुले वाक्क परेकाले तिनीहरुलाई तलबी बिदा दिएर ध्यन केन्द्रमा पठाएको सुनेको थिए. त्येसको परिणाम कस्तो निस्कियो होला| उमेश जी ले सो को बारेमा केहि बताउन सक्नु हुन्छ कि|

    केबीकमल
    अस्ट्रेलिया

  10. कुरा सुन्दा त सारै राम्रो पो लग्यो मलाए पछि फ़र्कियर १ पटक त पक्कै जानु पर्ला जस्तो छ.

  11. जर्मनी मा पनि यो ध्यान गर्ने ठाउं कतै छ की जान्न पाए धेरै राम्रो हुने थियो.

  12. उमेश जी हिर्दय देखि शुभकामना र इनी शब्द

    आते जाते साँस पर रखो सदा ध्यान |
    तन सुध्रे मन लागे हुए परम कल्याण |
    साँस देखते-देखते सत्य प्रगटता जाए |
    सत्य देखते देखते परम सत्य दिख जाए |
    म तपाइँ जति भाग्य शाली भैन पक्कै पनि जीवन ले मलाई पनि विपश्यना तिर लाने नै छ मात्र समयको प्रतिक्षा मा !!!!!!

  13. आफ्नो जानकारीमुलक अनुभव राखिदिनुभयेकोमा उमेशजीलाई धेरै धेरै धन्यवाद | तपाईको लेख पढ्दा मात्र पनि मेरो मनमा भित्रै देखि आनन्द लागेर आयो | सबैको कल्याण होस् |

  14. जसले अध्यात्मबादलाइ बिर्स्यो त्यो लंगडो भयो / जसले आफ्नु परम्परालाई बिर्स्यो त्यो जिउदो लास भयो / जसले आफ्नु जात र भाषालाई बिर्स्यो त्यसको नाक काटियो / अन्तिममा जसले आफ्नु जात, भाषा, धर्म र परम्परालाई ख्याल गर्दा गर्दै पनि अरुको जात भाषा, धर्म, परम्पराको बिरोध गर्यो त्यो अन्धो भयो ./ त्यो मुर्ख भयो / यहि नै हो सत्यता .

    जय देश

  15. यो बकबास होइन | यो आत्मा सुद्दी गर्ने तरिका हो |

  16. ध्यानले हुन्छ आत्मा शुद्ध
    ध्यानले नै सिद्धार्थ भएका थीए बुद्ध

  17. धेरै धेरै धन्यबाद अब चै पक्का जाने भए, हुनु बिधि भयो गाठे यो ज्यानलाई कहिलै फुर्सद नपाउने अब जिन्दगीको बाकि कर्तब्य मेडिटेसन पछि गर्ने, सम्पर्क उपलब्ध र अब माइसंसारमा सिधै कमेंट्स लेख्न मिलाउनु भएकोमा तपाईलाई फेरिपनि धन्यबाद!!!!

  18. मलाई पनि मन छ, नेपाल आउदा मा पनि जान्छु सम्झिदिनु भो उमेश जी धन्यबाद

  19. अति राम्रो लाग्यो अब त विदेश देखि थकाई पनि लाग्यो दस बर्सको विदेश बसाई पछि अब आफ्नै देशमा ब्वयसाय सुरु गर्नुपर्छ भन्ने सोचाइ आएको छ त्यो भन्दा पहिले नेपाल आएर मन भित्रको खिया फेक्नु पर्ला तर उमेश जीले बिस्तृत रुपमा प्रक्रिया र सम्पर्क स्थान बताइदिनु भए अझ आभारी हुने थिए, बास्तबमै खुब राम्रो लाग्यो ध्यान गर्ने तरिका, धेरै धेरै धन्यबाद उमेश जीलाइ र बिजय दसमिको सुभकामना सम्पूर्ण नेपालीलाई

  20. मेरा मंगल तेरा मंगल सबका मंगल हो जाए
    तेरा मंगल तेरा मंगल तेरा मंगल हो जाए ।।

    जय जय मंगल जय जय मंगल जय जय मंगल हो जाए ।

    भवतु सर्व मंगलम ।।

    साँच्चै मलाइ दश महिना अघि बेलायतको वेल्स प्रान्त स्थित एउटा गाउँमा गरेको दशदिने विपश्यनाको याद आयो। त्यो घटनाले मेरो जीवनमा ठूलो परिवर्तन ल्याइदियो। रिस उठ्न त बन्द नै भयो र खुल्यो मनमा एउटा अर्कै आकाश । विपश्यना राम्ररी पुरा गरेर फर्कने हो भने सबै मानिस बुद्ध त भन्न सकिन्न तर गान्धी अवश्य हुन सक्छन्। नेपालमा प्रचन्ड बाबुराम र हार्डकोर मोहन बैद्यले यो शिविरमा जाने हो भने धेरै सिक्न सक्छन् तर उनिहरूलाइ लाने कसले । अनि अनमिनले एउटा सुधार तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत शिविरमा रहेका पूर्व छापामारहरूलाइ पनि त्यो अभ्यास गराए हुने थियो। आत्महत्या लगायत आपराधिक कृयाकलापमा संलग्न भारतीय सेना प्रहरी लगायत सुरक्षाकर्मीहरू र कतिपय कारागाहरूमा यस्तो शिविर सन्चालित छ जसले त्यस्ता घटना निकै कम गराउने गरेको समाचार केही महिना अघि सार्वजनिक भएको छ। गलत अर्थ नलागोस विपश्यना आपराध गर्नेहरूलाइ त्यसो गर्नबाट रोक्ने विधि होइन । यो त आफू भित्रको विश्वलाइ हेर्ने र ब्रम्हसत्य मनन गर्ने तरिका सिक्ने विधि हो । जव श्वास प्रश्वासलाइ एउटा सन्तुलनको स्थिति इक्वानिमिटीमा राख्न सकिन्छ तव शरीरका चेतनहरू सेन्सेसन अनुभूति हुन्छ र त्यो अनुभूति नै स्वर्ग सुखी हुन्छ । त्यस्तो अनुभुतिले हाम्रो मष्तिष्कलाइ आराम दिलाउने गर्छ र मानिस वास्तवमा तनाव मुक्त हुन्छ।

  21. उमेशजी म पनि बिगत १० वर्ष देखि ध्यान योग गर्ने गरेको छु | तपाईले भने जस्तो व्यक्तित्व नै फेरिने अनुभव मलाई नी भको हो र छ पनि | मैले हाल क्रिया योग तर्फ़ ध्यान लगाको छु | एस्तो उत्तम बिसयमा लेख्नु भको मा धेरै धेरै धन्यवाद |

  22. बिजया दशमीको शुभकामना सबै साथीहरुलाई .
    जय दुर्गा भवानी .
    मलाई पनि एक पटक ध्यानमा जान मन लाग्यो उमेशजी का कुराले .

  23. मन ले आटेको पुगोस , रोग हरण होस्,जता सुकै खुसियाली छाओस बिजय दशमी को मंगलमय शुभकामना

  24. सुद्द त एक चोटी म लाइ पनि गर्न मुन लागेको हो|के गर्नु रिस मात्र उठी रहन्छ |
    आह क्या काइदा को ब्यबस्था गर्नु भएछ |मजाले नेपालीमा लेख्न मिल्ने |
    गुड जब |

  25. मलाई केहि साथीहरुले पहिले पनि यो विपश्यनाको बारेमा जानकारी गराएका थिए तर पारिबारिक झमेलाहरुले गर्दा जाने मौका मिलेको छैन. उमेशजीको कुरा सुनेपछि त झन चाडैं नै जाऊ जाऊ लागेर आयो.

  26. तपाई को आध्यात्मिक कुरा सुनेर धेरै नै खुशी लाग्यो. मैले पनि बिहानमा १ घण्टा जति ध्यान गरु कि जस्तो लागि राखेको छ . बिहान निद्राले पटक्कै छोडदैन. कसरी यो निद्रा लाई ठीक गर्ने होला, कृपया एस्सो बताई दिनु होला.

  27. नमस्ते उमेश जी,
    खुस्सी लाग्यो तपाइको अनुभब साट्न पाउदा.
    दसैँ त छैन होला येस्पली तपाई को? फोन तेही होलानी?

  28. उमेशजी ! आत्मा सुद्वी गर्नु भएकोमा बधाई छ | जसरी खिया लागेको चिजमा हामी तेल लगाएर खिया हटाउन्छौ, त्यसरी नै मनभित्र रहेका कतिपय नकारात्मक पाप्रालाइ उक्काउन यस्तै ध्यानको सबैलाई जरुरि छ | सिधा नेपालीमा कमेन्ट लेख्ने बन्दोबस्त गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद | अझ रोमन-नेपालीमा लेखनै नमिल्ने व्यवस्था भए क्या खासा हुन्थ्यो |

    शशांक लामा

  29. उमेश जी
    नेपाल मा चाही कहिले छ ? मार्च महिना मा कुनै प्रोग्राम छ कि छैन? कृपया बुक गर्ने कसरि पनि बताई दिनु भय आबरी हुने थिय. म नेपाल आउदै छु मर्चा मा तेस्तो प्रोग्राम छ भने म पनि जना चाहन्छु.

  30. धेरै नै खुशी लग्यो, मलाई पनि एकदम इच्छा छ धयान गर्न लाई, अनि तपाई बाट यता पनि हुने थाहा पाएर खुशी लग्यो. सायद मा यो वर्षा मा पहिलो ध्यान गर्छु कि? धेरै धेरेई धन्दाबाद |||

  31. उमेश जी, बधाई छ | सबैको मंगल त तपाईले माई संसार ब्लग चलाएर उसै पनि गरि रहनु भएकै थियो र छ होइन र ?

  32. सालोक्य जी,
    तपाईंलाई एउटा आध्यात्मिक साथीको रुपमा पनि चिन्न पाएकोमा खुशी छु । म भित्र पनि केही सकारात्मक परिवर्तनहरु आएका छन् । मैले करिब ३ बर्ष अघी देखी गुरु निर्मलमणी अधिकारी ज्युसंग सिकेर निरन्तर गर्दै छु । तपाईंमा आएका केही परिवर्तन म सङ मेल खादा रहेछन । कहिले कहिले अती नै रिस उठ्ने कुरा हुँदा पनि म आनन्दले बस्छु । यसलाई अरुले मेरो कम्जोरी नै सोच्दा रहेछ्न । त्यस्तै सानो सानो कुराले पनि मन खिन्न बनाइरहन्छ । कुनै दिन दशैमा ४ वटा सम्म वटा खसी छिनाल्ने गर्थे, अहिले कसैको थोरै रगत देख्दा नी अत्ती माया लाग्छ । परिवर्तन यो मात्र होइन, बिकासानन्दले जनकपुरमा योगा गर्दा गर्दै आफुलाइ भेट्न आउने मान्छेको अनुहार देख्न दिमागमा आउन थालेको बताएका थिए । मलाई पनि त्यस्तै भएको त भन्न मिल्दैन तर मैले कती पय घटनाको पूर्व आभास गरेको छु । यो कुरा पत्यारिलो त छैन तर गुरु निर्मल मणी अधिकारी यो सम्भव रहेको बताउनु हुन्छ । भर्खरै माइण्डपावर न्युजले पनि यो सम्भव रहेको समाचार दिएको छ । मैले गरेको योगा निर्मल सरको व्याख्या अनुसार “धर्म, अर्थ, काम र मोक्ष नै जिबन जिउने कला ” मध्ये एक हो । जसको लक्ष्य मोक्षमा लीन गराउनु हो अर्थात ब्रम्हज्ञान प्राप्त गर्नु हो ।
    – साक्ष्यात सुशिल

  33. तपाइ को पनि भालोहोस अनि सबै को भलो होस्. दुर्गा माता को कृपाले….
    धयान गर्नु आफै मा एउटा छुट्टै अनुभौव लिनु हो त्यो अनुभौव जसले परि संसार को बाटो बलियो पार्दै लान्छ….
    संसार सानो छ अनि हाम्रो जीवन त एकदमै छोटो छ.
    ओम नम शिवाय
    अर्कै दुनिया

  34. उमेशजी,
    यस विपश्यनाको बारेमा गतबर्ष पनि केहि जानकारी त दिनु भएको नै हो, तर पूरा जानकारी पाउन सकिएन ।
    यस पाली चांहि त्यो कहां हो, कसरी प्रवेश पाउन सकिन्छ र के कति लाग्छ, एक पटक सर्सती जानकारि पाउन पाए तपांई जस्तै अरुले पनि सुखानुभूती पाउंथे कि !

  35. ध्यान पछिको ब्रेकमा कत्तिको खुट्टा तन्काउनु भयो ?
    ११ बर्ष पछिको याद आयो मलाइ पनि|
    धन्यवाद है तपाइलाई |

  36. तपाईको प्रसँग उदारणिय छ ।

    यस्तै खालका अनुभव साट्दै गर्नुहोला ।

  37. उमेशजी, हाम्रो दुनियाँमा तपाईंलाई स्वागत छ। तपाईंले लेख्नुभएको अन्तिम वाक्यको म प्रसम्शा गर्दछु। तपाईंको आध्यात्मिक यात्रा पनि निर्बिघ्न चल्दै जावोस।
    सुशील

Comments are closed.