मेरो Tweet

  • निरौलाले यति मुद्दा हालेछन् कि कानूनी परामर्शमा ६ लाख बजेट विनियोजन भएकोमा ३६ लाख खर्च गर्देछन्। http://t.co/o1NnF0j1TA

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। पहिलेको पत्नीबारे उनका नजिकका आफन्त बाहेक अरुलाई केही थाहा छैन,उनी पहिलो पत्नीबारे भन्न पनि रुचाउन्न। बच्चाबच्चीहरु हरी-११,सुष्मा-८ र लियोनार्दो-५ बर्षका छन्। सानो छोरोको नाम लियोनार्दो अर्थात लियो कसरी हुन गयो,त्यसबारे चाखलाग्दो सानो कथा छ। जसबारे म पछि भन्नेछु।

अँ साँच्चै त,मैले आफ्नो नाम उल्लेख गर्नै बिर्सेंछु।मेरो नाम रोहित हो,जब कतै मेरो नाम सोधिन्छ,मा ढाँचा पारेर भन्ने गर्छु “म भट्टराई,,,रोहित भट्टराई”-एकदमै जेम्स बण्ड शैलीमा! यस गन्थनलाई यतिमै सिमित गरौँ होला,कारण यो कथा मेरो बारे होइन। यो कथा त जमरकट्टेलहरुको बारेमा हो,खासगरी जमुना जमरकट्टेलको बारेमा! भ्यानकुभरमा सबैले तिनलाई जमरकट्टेल भाउज्यु भनेर बोलाउँछन्,तर त्यसरी सम्बोधन गरेको तिनलाई पटक्कै मन पर्दैनथ्यो।

आफ्ना तिनजना बालबच्चा र जोइटिङ्ग्रे लोग्नेलाई क्यानाडा ल्याएको ३ महिना पछि एक अल्छिलाग्दो मध्यान्हमा तिनले बच्चाहरुको नाम परिवर्तन गरिन। हरी ह्यारी भयो भने सुष्मा सुजन भइन्। फुच्चे लियोको नाम फेर्नै परेन,पहिले देखिनै गोराको नाम पाएको थियो। खप्परै दह्रो! आफ्ना बच्चाहरुको नाम फेरेपछि आफ्नै पनि नाम किन नफेर्ने भने सोच तिनको मनमा आयो।थुप्रै नामहरु मनमनै खेलाइन,तर भनेजस्तो नाम भेट्टाउन सकिन।आफ्नो जमुना नामसंग मिल्दोजुल्दो अंग्रेजी छोटकरी नाम तिनले चाहेकी थिइन।१५ मिनट जति सोचेपछि तिनले आफ्नो नाम जिम्मी राख्ने निर्णय गरिन।’जिम्मी’ अंग्रेजी नाम हो भन्ने कुरामा तिनी ढुक्क थिइन,तिनलाई यो नाम मन पनि पर्‍यो।तर ठुले ह्यारीले प्रतिवाद गर्‍यो ” मुवा,त्यो त केटाको नाम हो,मसंग खेल्ने त्यो छिमेकी केटोको नाम जिम्मी हो”। ह्यारीले मुवा,,भनेर त्यतिमात्र के भनेको थियो,तिनले आदेश दिइ हालिन: “मलाई मुवा भनेर नबोलाउनु,मम वा ममी भनेर बोलाउनु, ओ के! यहाँ बसेपछि हामीले क्यानाडालीहरुले गरे झैँ गर्नुपर्छ। यो धादिङ होइन नि! हो त छोरा? उप्स! माइ सन! धेरैबेर घोत्लेर पनि आफुलाई उपर्युक्त हुने नाम फेला नपरेपछि तिनले छोरालाई भनिन: “ह्यारी,माथि स्याल्ली आण्टीको बाट एउटा अंग्रेजी पत्रीका मागेर लिएर आइज त”

स्याल्ली,उनिहरुको पंजाबी घरपट्टी आमै थिइन,जसको असली नाम सलभिन्दर कौर धालिवाल थियो।न्युटनको सर्रे स्थित धालिवालको जमिनमुनिको दुइकोठे एपार्टमेण्ट जमरकट्टेलहरुले भाडामा लिएका थिए।तिनै स्याल्लीले अंग्रेजी नामांकरण गर्न हाम्री जमरकट्टेल भाउज्युलाई उचालेकी थिइन: “देखो जमना बैन,अगर अंग्रेजी नाम नहीँ हो ना,काम मिलना बहुत मुश्किल होगा,राइट?” स्याल्लीले भनेको ठिकै त हुनुपर्छ,तिनलाई सबैकुरा थाहा छ्,कारण तिनी १२ बर्ष अगाडि पंजावको पटियालाबाट क्यानाडा आएकी थिइन।सम्पूर्ण धालिवाल परिवारजनको नाम अंग्रेजिकरण भैसकेको थियो।स्याल्लीको श्रीमान देभिन्दर सिं धालिवाल डेभमा परिणत भैसकेका थिए।डेभ र स्याल्लीको दुई बच्चाहरु थिए। उनिहरुको छोरो नरिन्द्रलाई नेड भनेर चिनिन्छ।अंग्रेजिमा ‘नेड’ नाम हुन्छ भन्ने कुरा मलाई थाहा पनि थिएन,मलाई थाहा हुने कुरा पनि भएन।सिमन फ्रेजर विश्वबिधालयमा अध्ययन गर्न म क्यानाडा आएको दुइबर्ष त हुंदैछ।मा स्थाई बसोबासको लागि आएको पनि होइन। म त बिद्यार्थी,दुनियाँदारीबारे मैले के भेउ पाउनु?!

ओहो! म त बहकिएर कता पो पुगेछु! अं त हामी के बारे कुरा गर्दै थियौँ? अं सम्झें,धालिवालहरुको बारेमा-धालिवालहरुको एकजना छोरी पनि छ,जसको नाम क्यारोलिन हो। तिनी क्यानाडामै जन्मेकी हुनाले तिनको पंजावी नाम थिएन।तर मैले बुझ्न नसकेको कुरो के भने पंजाविहरुलाई अंग्रेजी नाम पनि आफ्नो पंजावी नामसंग मिल्दो जुल्दो राख्नुपर्ने कारण के होला – उदाहरणको लागि डेभ -देभिन्दर,नेड -नरिन्द्र,रब्बी -रभिन्द्र र स्याल्ली -सलभिन्दर। यसबाट यो सावित हुन्छ कि उनिहरु आफ्नो मुल नाउंमा अझै टाँसिन मन गर्छन्,आफ्नो चिनारीलाई पुरापुर परित्याग गर्न हिचकिचाइ रहेका छन। फलस्वरुप ‘नेड’ जस्तो नौलो नामको अविष्कार हुन्छ। इमान्दारिकासाथ भन्नुपर्दा मेरो हेराइमा यो नाम अलि जंचेन।आखिर यो मेरो सरोकारको बिषय पनि होइन। तर मैले भन्न खोजेको चाँहीँ माइकल,विलियम,रबर्ट,पिटर,थोमस आदि मुल अंग्रेजी नाम राख्दा नै सजिलो र राम्रो होइन र? क्यानाडामा स्थाई बसोबास गर्ने चिनियाँहरुकै नाम लिउँ न – माइकल च्याँग,विलियम चेंग,रबर्ट चुंग,पिटर चाउ,थोमस चिउ ,,,,,

अब हामी जमरकट्टेलहरुकै कथातिर जाउँ,,,हामी अघि कहाँ पो थियौं? अं सम्झें,माथ्लो तल्लामा बस्ने घरपट्टी आमैसंग अंग्रेजी पत्रीका मागेर ल्याउन ठुलो छोरोलाई पठाइन।ह्यारिले स्याल्ली आण्टी कहाँबाट ल्याएको तिनबर्ष पुरानो पत्रीकालाई दुई मिनट जति ओल्ट्याइ पल्ट्याइ गरेपछि हाम्री जमरकट्टेल भाउज्युले आफ्नो लागि नयाँ नाम फेला पारिन्-जेनी! गजबको नाम फेला पारेकोमा तिनी दंग परिन।स्थानीय खैरेहरुलाई उच्चारण गर्न सजिलो होस् भनेर तिनले आफ्नो थर पनि परिवर्तन गर्ने कि भनेर सोचिन – जेनी जमर कोटेल वा जेनी कोटेल,,यस्तै केही सोचिन। फेरी यस्तो गर्दा कुनै कानुनी बाधा अडचन पो आउने हो कि भनेर निर्णय गर्न सकिन,थरलाई चाँहीँ नचलाएकै ठीक भन्ठानिन।

त्यसदिन देखि जो कोही भेटदा पनि “म जेनी जमरकट्टेल”,”तपाइंको शुभनाम” भनेर आफ्नो परिचय दिन थालिन्।क्यानाडामा बसोबास गरिराखेका प्रवासी नेपालीहरुले तिनलाई जमरकट्टेल भाउज्यु भनेर बोलाए भने तिनी तत्कालै सम्झाउंथिन: “मलाई जेनी भाउज्यु वा जेनी मात्र भनेर बोलाउँदा हुन्छ”। तर के गर्नु? भन्दा माने पो! ‘जमरकट्टेल भाउज्यु’ नाम त लिसो टाँसे झैँ छुटनै मानेन।

जेनी,ह्यारी,सुजन र लियो जमरकट्टेल – अब अंग्रेजी न्वारण गर्नलाई एकजना मात्र बाँकी थियो,त्यो हो जेनी जमरकट्टेलको जोइटिङ्ग्रे लोग्ने-घनश्याम कृष्ण जमरकट्टेल। परिवारको अंग्रेजी न्वारण चलेको बेला घनश्याम दाई घरमा हुनुहुन्थेन। क्यानाडेली केन्द्र सरकार अन्तर्गत मानव संसाधन बिकास बोर्डले सर्रेमा सन्चालन गरेको एउटा रोजगार एजेन्सिमा रोजगार सेमिनारमा भाग लिन उनी गएका थिए।जेनी भाउज्युले उनको लागि पनि एउटा नाम फेला पारेकी थिइन।

यस्तो रोजगार सेमिनारमा नअल्मलेर सेक्युरिटी गार्डको ट्रेनिङ्ग लिनु भनेर डेभले केही दिन अघि उनलाई सम्झाएका थिए: “घनश्याम भाई,तुसी इस्क्युरिटी गार्डका ट्रेनिङ्ग ले लो!ओ के! ए सेमिनार वेमिनार से कुछ बनता नहीँ,राइट?
जमरकट्टेल भाउज्युले प्रत्येक् चोटि बोल्दा प्रयोग गर्ने ओ के! र राइट! कहाँबाट टिपेकी रहेछिन भन्ने कुरा बल्ल तपाईंले बुझ्नु भयोहोला! होइन त? सेक्युरिटी गार्डको ट्रेनिङ्ग लिनु भनेर डेभले दिएको सल्लाह सुनेर घनश्याम कृष्णलाई बेस्मारी चित्त दुखेको थियो। धादिङमा हुँदा उनी शिक्षक मात्र नभएर उप प्रधानध्यापक पो थिए त! सेक्युरिटी गार्ड त यत्रो पनि गर्दिन! उनले मनमनै भने,तर डेभलाई केही भनेनन।

रोजगार सेमिनार सकेर सांझपख जब घनश्याम दाई घर फर्के, “क्रिस,किन ढिला आयौ” भनेर जमरकट्टेल भाउज्युले लोग्नेलाई जिस्काइन।”आज बेलुकी चतुर्वेदी दाइ कहाँ नयाँबर्षको पार्टी खान हामी जानुपर्छ भन्ने कुरा तिमीलाई थाहा छ् होइन? राइट? घनश्याम दाई अलमल्ल परे: “हैन के भन्दैछ्यौ? कसलाई क्रिस भन्या?तिम्लाई भन्या नि,अरु कोलाई भन्नु? मैले तिम्रो नाम फेरें। हरी र सुष्माको नामपनि फेरें। स्याल्लीले भनेको,यहाँ नाम फेरेन भने त कामै पाउंदैन अरे”-तर क्रिस नै किन? अरु नाम भेट्ट्याएनौ? घनश्याम दाइले सोधे।-कस्तो नबुझेको तिमीले? तिम्रो बिचको नाम कृष्णबाट लिएको-आदेशयुक्त स्वरमा जेनिले भनिन।घनश्याम दाइलाई नाम त्यति मन परेन।उनलाई आफ्नो नेपाली नाम नै प्यारो लाग्थ्यो।तर उत्पाते दिमाग भएकी आफ्नी स्वास्नीसंग यसबारे बहस नगर्ने निर्णय गरे,आखिर तिनिसंग बहस गरेर जितिने पनि होइन!-हेर है,आजको त्यो पार्टीमा आफुलाई घनश्याम कृष्ण भनेर परिचय नदिनु नी! मेरो नाम क्रिस जमर्कट्टेल भनेर भन्नु! भन्दयाछु-जमरकट्टेल भाउज्युले लोग्नेलाई चेतावनी दिइन।

चतुर्वेदीहरुले मलाई पनि नयांबर्षे पार्टीमा बोलाएको छ् भनेर जमरकट्टेल भाउज्युलाई थाहा थियो।दिउंसै फोन गरेर “रोहित बाबु,तपाइ चतुर्वेदिहरुको पार्टीमा जानुहुन्छ,होइन? तपांइको गाडीमा हाम्लाई पनि लगिदिनुस् है भन्न भ्याइसकेकी थिइन। भैहाल्छ् नी भनेर मैले भने।साँझपख जब म उनिहरुलाई लिन उनिहरुको जमिनमुनिको एपार्टमेण्टमा पुगेँ। जमरकट्टेल भाउज्यु पार्टिको लागि भनेर तम्तयार भएर बसेकी थिइन – तिनले जिउमा तीन टन सुनको गहना र मुहारमा एक पाउण्ड श्रिंगारको सामान पोतेकी थिइन होलिन,डलर शपमा पाउने अत्तर त एक लिटर नै जिउमा छर्केको जस्तो लाग्यो,तिनी जहाँ जहाँ जान्थिन,अत्तरको चर्को गन्ध रहिरहन्थ्यो।

तिनी झलल बलेकी थिइन।मलाई दुवै हातले हार्दिक नमस्कार गरिन,साथसाथै तिनले हातमा लगाएको सुनको चुरा मैले देखोस् भन्ने तिनको चाहना भएको जस्तो लाग्यो।पार्टिमा पनि सबैसित तिनले त्यही रितमा अभिवादन गरिन, ताकी तिनले घांटिमा,कानमा,हातमा,कम्मर वरिपरि र कांधमा समेत लगाएको सुनका गर गहनाहरु अरुले थाहा पाउन भन्ने तिनको इच्छा थियो।मलाई त ति गहनाहरुको नाम धरी थाहा थिएन। यदी कसैले तिनको गहनाको तारिफ गर्‍यो भने उज्यालो अनुहार पारेर बर्णन गर्थिन:”मेरो बुवाले दिइस्या, अनि यो कानको झुम्का चाँहीँ मेरो हजुरले मेरो जन्मदिनमा किन्दिस्या” आफ्नो लोग्नेलाई घरमा तिनले ‘हजुर’ भनेर बिरलै सम्बोधन गर्थिन। घरमा लोग्नेलाई ‘तिमी’,’घने’, वा घनश्याम भनेर पुकार्थिन। “घने,जाउ,त्यो गर!;”घनश्याम,त्यहाँ गएर मेरो लागि त्यो लिएर आउ”;”घनश्याम,बाथरुम सफा गर”। बाहिरका मानिसहरुबिच चाहिं लोग्नेलाई परम्पारिक सम्मान प्रदर्शन गर्थिन:”हजुर सुनस्यो न, ए हजुर,सुन्स्या हो कि होइन? अचेल हजुर दुब्लाएर कस्तो सिन्का जस्तो भइस्या छ”। वास्तवमै घनश्याम दाई दुब्लो पातलो थिए। तर जमरकट्टेल भाउज्युको त कुरै अर्को! तिनलाई खाइरहनु पर्ने,तारेको खाना भनेपछि त हुरुक्क! मिठाइ पनि खुबै मन पराउने! जिलेबी र लालमोहन त तिनको मनपर्ने मिठाइ! ४ फुट ११ इन्चिका जेनी जमरकट्टेलको जिउको पछाडिको भाग Banyan रुखको फेद झैँ फराकिलो थियो ।

जेनी भाउज्युको बुवा नेपालमा राजनीति गर्थे,राप्रापा धादिङ जिल्ला कमिटिका उपाध्यक्ष थिए,प्रशस्त जग्गा जमिन जोडेका थिए।भुतपुर्व राजा ज्ञानेन्द्रसंग नजिक रहेका रा.प्र.पा नेताहरुसंगको निकट पहुँचलाई भजाएर पैसा पनि निकै कमाएका थिए। जब माओवादी सत्तामा आए,उनले दल बदले र प्रचन्ड र बाबुरामको कट्टर समर्थक भएर निस्के।यती हुँदाहुँदै पनि माओवादी उग्र केटाहरुसंग उनको गम्भिर टक्कर नपरेको पनि होइन।जमुना जमरकट्टेलले नेपाल छाडने निर्णय लिनुमा यो पनि एउटा कारण थियो।

आफुलाई वाइस्याल हौँ भन्दै केही ठिटाहरु एकरात धादिङस्थित घरमा आएर उनिहरुको परिवार र सम्पत्तिको सुरक्षार्थ चन्दा मागेको दिनदेखी नै जमुना जमरकट्टेलले पनि देश छोडनेको लर्कोमा आफुलाई पनि समाबेश गरिन।चन्दा नदिएको खण्डमा उनिहरुको परिवारको सुरक्षा खतरामा भएको ति ठिटाहरुले खुलस्त रुपमा भने।तिनले त्यो धम्किको गम्भिरतालाई महसुस गरिन भने घनश्याम दाइले चैँ फोकट्या धम्की ठानेका थिए।आँखामा मुडकी भेट्टाए पछि उनले बल्ल कुरो बुझे,अझ “अर्को चोटि मुडकी होइन,गोली भेटछस” भनेर ति गएका थिए। तीन दिन भित्रमा उनिहरुले दस हजार रुपया बुझाए।त्यही तीन दिनमा तिनले अमेरिकाको लागि डि भि लटरी भिसाको आवेदन दिने कुरा सोचिन र लोग्नेलाई बताइन।लगालग दुइबर्ष फारम भरिन,तर केही हात लागेन।

त्यस्तैमा तिनको राम प्रकाश चतुर्वेदिसंग भेट भयो।चतुर्वेदी तिनको टाढाको नातेदार थियो,बेनिघाटमा बस्थे।उसले क्यानाडाको पि आरको लागि निवेदन दिएको थियो।अमेरिकाको चानस ढुक्नुभन्दा त क्यानाडाको पि आर मा कोशीश गर्नु भनेर उनले सल्लाह दिएका थिए।भ्यानकुभरमा नेपाली नयाँ बर्षको उपलक्ष्यमा पार्टीमा निमन्त्रणा दिने उनै चतुर्वेदी थिए।चतुर्वेदिबाट मद्घत लिएर जमरकट्टेलहरुले नयाँ दिल्लिस्थित क्यानाडेली उच्च कमिशनमा आफ्नो फाराम पठाएका थिए। दैव संजोगले एकैबर्षभित्र तिनिहरुको पि आर स्विक्रित भयो।जमुना जमरकट्टेलको लागि त यो वाइस्याल प्रति ठुलो बदला नै थियो।

पि आर भिसा पाएको दुई महिना भित्र जमुना जमरकट्टेल आफ्ना लालाबाला र जोइटिङ्ग्रे लोग्नेलाई लिएर थुप्रै आशा र उमंग संगालेर क्यानाडाको नयाँ अप्रवासी बनेर भ्यानकुभरमा आइपुगिन।सर्रेस्थित धालिवालको बेसमेन्ट एपार्टमेन्ट चतुर्वेदीले नै मिलाएका थिए।छिट्टै नै जमरकट्टेल भाउज्यु स्याल्ली धालिवालको लहलहैमा लाग्ने भैसकेकि थिइन: “हामी सस्तो सामानहरु किन्दैनौँ,हामी बालमार्ट जांदैनौँ,चुइँयाहरु मात्र बालमार्ट जान्छन,हामी भ्यानकुभरको डाउन टाउनमा गएर किनमेल गर्छौ” आदि ,,,,,
-बालमार्ट भनेको के हो ? जमरकट्टेल भाउज्युले स्याल्लीलाइ सोध्छे।
-यु डोन्ट नो बालमार्ट? एभरीबोडी नोज बालमार्ट ! क्यानाडामा बसेको बाह्र बर्ष जति भैसके पनि अंग्रेजी बोल्दा स्याल्लीको पटियाला लवज अझै छुटेको थिएन ।
-ए तपाईंले वालमार्ट भन्नुभाको?
-या या बालमार्ट !!!
स्याल्ली धालिवालले भनेकी कुरो हाम्री जमरकट्टेल भाउज्युले मनमा लिइ राखेकी थिइन।तिनी पनि धादिङ्को कुनै गए गुज्रेको परिवारबाट अवश्य थिइन। तिनको बुवा त राजनीतिज्ञ पो थिए।जब नेपालीहरुबिच किनमेलको कुरो चल्थ्यो,तिनी भन्थिन: “हामी त वालमार्ट जान्नौँ,सबै किनमेल रब्सन स्ट्रिटमा गर्छौँ”।

हालै भ्यानकुभरको अल्बर्नी स्ट्रिट्स्थित दामी सामान बेच्ने Holt Renfrew फेशन स्टोरमा तिनी छिरेकी थिइन, तिनले चारैतिर हेरिन।स्टोरमा काम गर्ने एकजना महिलाको आँखाले तिनलाई पछ्याइ रहेको थियो।त्यो Pretty Women चलचित्रको द्रिष्य जस्तै थियो, जहाँ अभिनेत्री जुलिया रबर्ट ठिक ढङ्गको लुगा नलगाइ उच्च्कोटिको सामान बेच्ने दोकानमा छिरेकी हुन्छिन र त्यहाँको कामदारले तिनलाई दोकान बाहिर निस्कन भन्छिन। स्वीटरको दाम $१९९,९९ देखेर जमरकट्टेल भाउज्युले लामो सास तानेकी थिइन,लेडिज ब्यागको दाम १४९,९९ $ देखेर तिनको ओठ कामेको थियो,पस्मिना शलको दाम २४९,९९ $ देखेर तिनको घाँटी सुक्यो।हिउंदे ओभरकोट किन्ने असाध्यै रहर थियो,तर $ ३९९,९९ दाम देखेर निधारमा चिटचिट पसिना आयो।आफ्ना बच्चा बच्चीलाई बोलाएर हत न पत त्यस दोकानबाट निस्किहालिन।त्यसदिनदेखी तिनले नगदी तिरेर वालमार्टमै किनमेल गर्न थालिन्।नगद पैसो चाँहीँ बटारेर ब्राभित्र राख्थिन।

यि सबै कुराहरु मैले कसरी थाहा पाएँ भनेर तपाईंहरु छक्क पर्नुहोला! जमरकट्टेलहरु बसेको त्यही बिल्डिङ्गको अर्को पट्टी एककोठे एपार्टमेण्ट भाडामा लिएर म बस्थेँ। घनश्याम दाई दुखसुखका कुरा गर्न म कहाँ आइरहन्थे।एकदिन यस्तै बसिबियाँलोमा क्रिस जमर्कट्टेल उर्फ घनश्याम दाइले आफ्नो कान्छो छोरोको नाम ‘लियोनार्दो’ कसरी रहन गयो भन्नेबारे मलाई बताएका थिए।६ बर्ष अघि जब तिनिहरु धादिङबाट काठमाडौ आएका थिए,जय नेपाल चित्रघरमा दोस्रोचोटी चलचित्र ‘टाइटानिक’ लागेको थियो।जमरकट्टेल भाउज्युले आफ्ना साथीहरुबाट त्यस चलचित्रको बारेमा राम्रो बर्णन सुनेकी थिइन। एकसाँझ लोग्नेसंगै तिनले त्यो चलचित्र हेरिन।तिनले चलचित्रको भरपुर आनन्द लिइन भने घनश्याम दाइले धेरैजसो उंघेरै समय बिताए।

चलचित्रको असरले जमुना देवी जमरकट्टेल नरम र कामुक भएकी थिइन।तिनलाई आफु बास बसेको ठाउंमा जान हतारो भैसकेको थियो।टाइटानिक जहाजको एकान्त बग्गीमा केट विन्सेटलाई लियोनार्दो डिक्याप्रियोले गरेको बाफिलो प्रेमको द्रिष्यलाई तिनले दिमागबाट हटाउनै सकिरहेको थिएन।जब जमरकट्टेलहरु घरमा पुगे,जमुना भोकाइ रहेकी थिइन,मेरो भनाइको आशय तपाईंले थाहा पाउनु भयो होला।तिनले लोग्नेलाई ओछ्यानतिर तानिहालिन।दुइहप्ता जति पछि आफु दुई जिउ हुन लागेको कुरो तिनले पत्ता पाइन र लोग्नेको कानमा खुसुक्क भनिन:”हजुर,सुनस्योस्न!छोरी जन्मी भने केट र छोरा जन्म्यो भने लियोनार्दो नाम राख्ने है”। वरिपरि कोही नभएको बेलामा जमुना जमरकट्टेलले घनश्याम जमरकट्टेललाई ‘हजुर’भनेको यो पहिलो चोटि हो। घनश्यामको मनमा अन्य नामहरु थिए,तर स्वास्नीसंग बहस गर्न उनले ठीक ठानेन।

मूल कथा अंग्रेजीमा थियो। इमेलबाट थुप्रै चोटी फर्वार्ड हुँदै म कहाँ आइपुगेको हो यो कथा। अंग्रेजी कमजोर भएका नेपाली पाठकलाई यस मिठो कथाको स्वाद चखाउने हेतुले मैले अनुवाद गरेको छु। यस कथामा बर्णन गरिएको पात्रहरु कुनै जिवित ब्यक्तिसंग मेल खान गएमा त्यो केवल संयोग मात्र हुनेछ। यो कथा धेरै अघि प्राप्त गरेको थिएँ, तर यसको सान्दर्भिकता अझै छ र भविष्यमा पनि भैरहन्छ भन्ने मेरो ठनाइ छ।)

लेखक -अज्ञात
अनुवादक – शशांक लामा

737 Total View 9 Today View

37 comments to जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

  • Jyoti from CANADA

    Great writing / तितो सत्य but this is personal details and attack my friends! You “the writer ” may have some issues with जमरकट्टेल भाउजु …

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Prakash Gautam

    अंग्रेजीमा हेर्न को लागि http://fc03.deviantart.net/fs45/f/2009/120/7/c/Jamarkattel_Bhauju_by_ajayPRADHAN.html

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • indira

    कथा ठिकै लाग्यो मलाई त, जमरकट्टेल भाउजुलाई एकोहोरो खल पात्र बनाको मनपरेन, उनको तेत्रो संघर्स चै खै कता गयो क्यानाडा गएर श्रीमान् छोरा छोरी लानु अनि अझै कामको लागि संघर्स गर्नु तेत्रो परिवार एउटा गाडी बिना बस्नु र उनको ४ फीट ११ इन्च को उचाई को क सम्बन्ध अझ उनोको पछाडिको भाग कति मोटो छ भन्ने कुरा सान्दर्भिक लागेन जे होस् नाम फेर्ने चलन चै ठिक भएन, हुनत हामी आफ्नो देश नै छोडेर अर्कालाई अपनौना तयार भैसकेका बिचरा नेपालीहरुको दुर्दशा हो यो

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • योगेश आदी

    अनुबादकले सरलतालाइ आत्मसात गर्दै कथाको मर्मलाई जिवन्त राखेको छ / पढ्दै गर्दा कथा अनुवादित नभै सर्जकले प्रारम्भिक नै नेपाली भाषामा लेखेको हो कि भन्ने प्रतित हुन्छ /
    कथाले बिचमा घोप्टो औंलो पाउन लागिसकेता पनि अन्तमा रमाइलो मोड दिन सकेकोले मनपर्यो / कथाकार र अनुवादक दुवैलाइ धन्यबाद !!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Mike

    शशांक जी ले कथाको बिषय वस्तु लाइ नेपाली मा निकै सरल र सहज रुपमा रुपान्तरण गर्नु भएको रहेछ. यसको लागि धन्यवाद, मै ले यो कथा को मूल कथाकार कै अंग्रेजी संस्करणमा पनि पढिसकेको हुँदा शशक जी लाई सोध्न मनलागेको कुरा चांही लेखकको अनुमतिमा लेखकको नाम नछाप्ने सर्त रुपान्तरण गरेर छाप्नु भएको कि आफ्नै मन खुशीले राम्रो लागेर छाप्नु भएको? नत्र भने कहीं कतै copyright हनन त् भएको छैन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

    • शशांक लामा, न्युयोर्क

      ति अज्ञात लेखकले उनको कथा हजारौ नेपालीको माझमा पुर्याए बापत मलाइ मुददा नहाल्ला , बरु धन्यवाद नै भन्ला! अ*ग्रेजीमा त्यो कथा फरर पढने कति पो छन् र ?

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 8

    • jeevan verma

      पहिलो कुरा , तपाइले अंग्रेजी मा पठेको भन्दैमा कसरि अनुबाद गर्नु भो भन्ने जान्न मन लाग्ने नत्र नलाग्ने ? लग्दछ, तपाइले कथाको अन्त तिर ध्यान दिनु भएन | नत्र उहाले भन्नु नै भएको छानी त्यो उहालाई इमेल बाट प्राप्त भएको भनेर | नत्र एक पटक फेरी पढ्नुस

      मूल कथा अंग्रेजीमा थियो। इमेलबाट थुप्रै चोटी फर्वार्ड हुँदै म कहाँ आइपुगेको हो यो कथा।

      लेखक -अज्ञात
      अनुवादक – शशांक लामा

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • Binod

    स्वाङ्ग पारेर ल्याइस्योस र हालिस्योस भन्ने नक्कली संस्कारमा बाँच्न चाहनेहरुलाई गतिलाई झापड दिएको छ यो कहानीले|

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Bishwaraj

    अहिलेको जमानामा लामो कहानी गर्नु बेकार छ-छोटो छरितो र मीठो भए पुग्छ- साह्रै लामो- अर्थ न बर्थ -

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 14

  • डिल्लीरमण न्यौपाने

    कथै हो बास्तबिकता धेरै होला, बढाईचढाई अलि अलि होला / बिदेशमा पुगेर धेरै कुरा थाहा नहुने र अरुको अर्ति उपदेश मानेर नाम परिवर्तन गर्नेहरुको खिल्ली उडाएर मनोरंजन लिन खोजेको देखियो कथाकारले / त्यो भन्दा, जानी जानी (अलि धेरै नै पढेलेखेका र धेरै वर्ष विदेश भोगेका) बिदेशीको सिको गरेर बच्चा बच्चीलाइ समेत भ्रमित बनाउने नेपालीहरुलाई लक्ष्य गरेर लेख्ने हो भने अलि सान्दर्भिक हुन्थ्यो होला / पहिलो पुस्ता अम्रिका आउने इन्डियन हरुले दोश्रो पुस्ता (अम्रिकामै जन्मेको वा हुर्केको) लाइ ABCD यानेकि american born confused desi भन्छन / हुनत येस्मा अलिकति तिनको इर्श्या पनि लुकेको होला तर जति बिचार पुर्याए’नि दोश्रो पुस्ता केहि मात्रामा भ्रमित चै हुन्छ, संस्कृतिक र सामाजिक दुवै कारणले /

    अनुबाद अलि शाब्दिक (literal) देखिन्छा: जस्तै baniyan को रुख (बरको रुख) नेपाली भाषामा प्रयोग हुदैन कम्तिमा मोटोपना जनाउन / नेपालीमा फर्सी, कुभिन्डो, सुँगुर हुँदाहुदै कसले बरको रुख सम्झिरहोस? अनि हाम्रा किस्न दाइचै बारम्बार किन जोइटिङ्ग्रे भनिए? “थाहा” चाहियो ……

    मन परे हरियो नपरे रातो ! Thumb up 6