यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

१६ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा एउटा अर्को ब्लग

राजा ज्ञानेन्द्रको संकटकाल जारी रहेको बेला ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ भनी सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा लेख्न थाल्दा टुङ्गो थिएन त्यो यात्रा कहिले टुङ्गिने हो भनेर। अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु। फोन गरेर सर्भरमा जोडिएर चलाउनु पर्ने डायल अप इन्टरनेट, सामाजिक सञ्जालहरुको अनुपलब्धता जस्ता प्रतिकूल परिस्थितिमा पनि माइसंसारलाई १६ वर्षसम्म निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु तपाईँ पाठकहरु नै हुनुहुन्छ।

बितेको वर्ष त हामी सबैलाई कठिन भयो। कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आक्रान्त पार्‍यो।  बच्दै हिँडेको म स्वयं पनि यसबाट संक्रमित हुन पुगेँ। यसले मेरो दैनिक जीवनलाई नै निकै लामो समयसम्म प्रभाव पार्‍यो। यो १६ वर्षमा कहिले पनि नभएको कुरा भयो- अर्थात् कयौँ दिनसम्म माइसंसारमा केही पनि अपडेट भएन। सके पो गर्नु !

करिब तीन हप्तासम्म अलग्गै बसियो। कोरोना संक्रमण भएको रिपोर्ट आइसकेपछिका एक हप्ता सकसपूर्ण थिए। स्वास्थ्य मात्र होइन, मानसिक रुपमै पनि। रिपोर्ट नेगेटिभ आइसकेपछिका दिनहरु पनि सहज भएनन्। त्यसपछि पनि दिमागमा एक किसिमको शून्यताका कारण केही लेख्न सकिएन।

१६ वर्ष पूरा गरेर १७ औँ वर्ष पुगेको आजको यो अवसरमा म तपाईँ पाठकहरुप्रति एकदमै आभारी छु- त्यस्तो अवस्थामा पनि तपाईँहरुले ब्लगलाई निरन्तर गरिरहन इमेल र फोनमार्फत् झकझकाइरहनुभयो। कयौँ पटक त्यही कारणले म केही लेख्न ल्यापटप वा डेस्कटप अगाडि बसेको सम्झन्छु। कोरोनाका कारण माइसंसारमा जुन ब्रेक लाग्यो, त्यसलाई तोडेर अघि बढ्न अझै म संघर्षरत नै छु। कृपया मलाई यस्तो विषयमा लेख्दिए हुन्थ्यो है भनेर इमेलमा वा मेसेजमा झकझकाइरहनु होला।

मिडिया निगरानी

मिडियाले आफूलाई राष्ट्रको चौथो अङ्ग भन्छ। मिडियाले अरुलाई जिम्मेवार जवाफदेही हुन सजग गराउँछ। तर मिडिया आफै कति अरुप्रति जिम्मेवार छ त ? पाठकप्रति कति जवाफदेही छ त ? मिडिया निगरानीका लागि माइसंसारले गरेको निरन्तर प्रयासलाई नियमित पाठकहरुले अवलोकन गरिरहनुभएकै छ। माइसंसार एक्लो प्रयासमा चलिरहेको सानो ब्लग भए पनि ठूला मिडियाका ठूलै किसिमले चिप्लेका घटनाहरुमा सतर्क गराइरहेको छ। राष्ट्रपतिसमेत झुक्किन पुगेको कान्तिपुरको अनुजा बानियाँको गलत समाचारको विषयदेखि टियुका मानवशास्त्र प्रमुख डम्बर चेम्जोङविरुद्ध रिपब्लिकाको नियोजित समाचारको ब्लगले पारेका असरहरु बारे तपाईँ पाठकहरुलाई स्मरण हुनु नै पर्छ।

यो वर्ष पनि धेरै मिडिया निगरानी गरियो। पुलिसले हुँदै नभएको नगरपालिकाको नाम लेखेर सबै मिडियालाई भ्रमित पारेको, अमेरिकी दूतावासले मलालाले पाउँदै नपाएको अवार्ड पाएको भनेर विज्ञप्ति सार्वजनिक गरेको, पुलिसले जे भन्यो त्यही पत्याएर सुगा बन्ने पत्रकारहरु, अनलाइनखबरले सुटुक्क डिलिट गरे पनि माइसंसारको ब्लगपछि फेरि राख्न बाध्य भएको समाचार,रुकुम प्रकरणमा कान्तिपुरले गरिरहेका गल्तीहरुको खबरदारी, आदि यो वर्षका केही उल्लेखनीय मिडिया निगरानीका रुपमा सम्झन लायक रह्यो।

नाम चलेका मिडियाहरुले गरेका गल्तीहरुलाई औँल्याइरहनु सहज काम होइन। यसमा आउने दबाब र प्रभावका कथा बेग्लै छन्। आवश्यकै भए कुनै दिन लेखौँला। अहिलेलाई कम्तिमा कसैले यसलाई रोक्न सकेका छैनन्।

पाठकको माया

सुरुदेखि नै पाठकहरुको माया माइसंसारले पायो। सोसल मिडिया नभएको त्यो बेला इन्टरनेटमा राखिएका कुनै कुरा प्रचार गर्न सजिलो थिएन। यो वेबसाइट पनि छ है भनेर जानकारी दिने माध्यम नै इमेलबाहेक अरु केही छँदै थिएन। तर पनि लोकतान्त्रिक आन्दोलनको त्यो समयमा त्यतिबेला विदेशमा भएका पाठकहरुले माइसंसारको प्रचारका लागि ठूलो योगदान गरे। साइटको लोकप्रियतासँगै होस्टिङ लगायतका प्राविधिक समस्या समाधान गर्न पाठकहरुले स्वेच्छाले आर्थिक सहयोग पनि गरे। त्यतिबेला त्यस्तो सहयोग नभएको भए माइसंसारको अवसान भइसक्थ्यो।

बीचमा गुगल एडसेन्सले आर्थिक रुपमा सघायो। तर केही वर्षअघि नै नेपाली भाषाका साइटहरुमा गुगल एडसेन्स बन्द भइसकेको छ। अहिले फेसबुकको मनिटाइजेसन र टाबुलाको फिडले केही रकम सहयोग हुन्छ तर त्यो एकदमै न्यून छ। विज्ञापन माग्ने, छाप्ने कलाको अभावै रह्यो। त्यसैले त्यतिबेला साइटमा एकदमै धेरै भिजिटर हुँदा पनि र अहिले पनि आर्थिक समस्या उस्तै नै छ।

त्यसबाहेक विज्ञापन राख्दा हुने बन्धनको कुरा पनि छ। बन्धनमुक्त भएर लेख्नुको आनन्द नै बेग्लै छ। एनसेलको इस्यु त तपाईँले थाहा पाउनु भएकै छ, एनसेल जस्तै कर छलीको इस्यु भएको कोकाकोलाको बारेमा मूलधारका मात्र होइन, कुनै पनि मिडियामा समाचार नआउनु र आएको केहीमा पनि रोकिनुमा विज्ञापनकै कुरा जोडिन्छ।  कर कार्यालयले बहुराष्ट्रिय कम्पनीको कार्यालयमा छापा मार्ने, अनि कतै समाचार नआउने ! यस्तो पनि हुने रहेछ।

अहिले नेपालमा न्युजपोर्टल धेरै भइसके। सूचना विभागमा दर्ता भएकै न्युजपोर्टलहरुको संख्या झण्डै दुई हजार पुग्न लागिसकेको छ। तर पनि विश्वासिला र नाम चलेका अनलाइनहरुको संख्या औँलामा गन्न मिल्छ। ती मध्ये सबैको शैली लगभग उस्तै छ। औपचारिक र सतही समाचारहरुमा नै यी अनलाइनहरु अल्झिएका छन् जसलाई नपढे पनि हामीलाई खासै केही घाटा हुँदैन। अर्कोतर्फ सोसल मिडियामा फैलने फेक न्युजहरुले अनलाइनको विश्वसनीयतामाथि प्रहार गरिरहेको छ। अनलाइनको संख्या बढ्यो तर गुणस्तर बढेन।

माइसंसारलाई पनि न्युजपोर्टलमा परिवर्तन गर्नुपर्‍यो भन्ने सुझाव नआएका हैनन्। पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु-  माइसंसारले ब्लगको अनौपचारिक शैलीलाई परिवर्तन गरी न्युजपोर्टलमा आफूलाई ढालेको भए यो पनि त्यही सयौँ अनलाइनहरुको भिडमा एक हुनपुग्थ्यो भन्ने लाग्छ। अनि के हुन्थ्यो? विज्ञापनहरु हुन्थे। आर्थिक रुपमा त सबलै भइन्थ्यो। तर विज्ञापन भएपछि के हुन्थ्यो? विज्ञापनदाताको स्वार्थसँग बाझिने गरी केही लेख्न नपाउने गरी हात बाँधिन्थ्यो। सम्पर्कहरुको घेरा बढ्दै जाँदा यसको स्वार्थ र उसको स्वार्थ थपिँदै जान्थ्यो र बिस्तारै इन्डिपेन्डेन्ट हुन गाह्रो हुँदै जान्थ्यो।

चाहे ती मूलधारका राष्ट्रिय दैनिकहरु हुन् वा धेरै लगानीका अनलाइन, अथवा साप्ताहिक पत्रिका र साना अनलाइनहरु- सबैका आफ्ना स्वार्थ हुन्छन् नै। अलिकति मिडिया साक्षर व्यक्तिले फ्याट्टै थाहा पाइहाल्छ, कुन मिडियाको स्वार्थ के, के कारणले यो समाचार आयो, यो समाचारले कसलाई ठोक्न खोज्यो, कसलाई बोक्न खोज्यो?

अहिले भएभरका सबै मिडियाको मुख्य लक्ष्य व्यापार अर्थात् नाफा कमाउने नै छ। तर मिडिया नाफा मात्र कमाउने व्यवसाय भने होइन। तर ठूलो खर्च व्यहोर्नु पर्ने व्यवसायिक पाटोका कारण मिडियाका हात त्यसै पनि बाँधिन्छन्। पाठकको सहयोगमा चलेको मिडियाको उदाहरण विदेशमा छ, तर नेपालमा छैन। अहिले झन् इन्डिपेन्डेन्ट मिडियाको खाँचो बढेको छ। अहिले संख्यामा त हामीसँग धेरै अनलाइनहरु छन्। तर हेर्नुस् त, हरेक अनलाइनमा उस्तै समाचार, उस्तै शैली। सोसल मिडियाबाट जानकारी पाइसकेको खबरका लागि हरेक अनलाइनमा छुट्टाछुट्टै गएर क्लिक गर्नुपर्ने आवश्यकतै हुन्न। तर पनि यत्रा अनलाइनहरु चलेकै छन्। त्यसमा विज्ञापनहरु देखिएकै छन्।

अहिले हेर्नुस् त सबै चलेका अनलाइनहरुमा विज्ञापन यति धेरै छ कि आँखा तिरिमिरीझ्याँइ हुन्छ। तर त्यसमा तपाईँले आफूलाई चाहिने र समाजलाई चाहिने समाचारहरु कतिको देख्नुहुन्छ? क्रिटिकल एनालाइसिसहरु र डेप्थ रिपोर्टिङ पढ्नै पाइन्न। समाचारको फरक पाटो कसैले खोज्दै खोज्दैनन्, सतही जानकारीमै अल्झिएका छन् सबै।

तर इन्डिपेन्डेन्ट भएर आर्थिक रुपमा थेगिने मात्र हुनसक्नु पनि कम्ता चुनौतिपूर्ण हुन्न। फरक पाटो खोज्न श्रम, समय र आर्थिक खर्च पनि उत्तिकै लाग्छ। मलाई यसपालि भागरथी प्रकरणको बारेमा थप थाहा पाउन बैतडी जान मन थियो। तर कुनै पनि दुई वर्षअघि पहिलोपोस्टको सम्पादकबाट राजीनामा दिएपछि हालसम्म कुनै व्यवसायिक मिडियामा आवद्ध नभएको कारण खर्च बेहोर्न नसकिएला भनेरै जान सकिएन।

अरु देशहरुतिर भए पनि नेपालमा पैसा तिरेर अनलाइनमा सामग्री पढ्ने संस्कृति अझै सुरु भइसकेको छैन। कसैले गरेका पनि छैनन्।

तपाईँको स्वेच्छिक सहयोग आवश्यक

माइसंसार सुरु भएदेखि नै पाठकहरुले गरिरहनुभएको माया मलाई याद छ। सुरुमा माइसंसारका लागि क्यामेरामा लाग्ने एउटा एसडी कार्ड पाठकले नै सहयोग स्वरुप पठाउनुभएको थियो। त्यसपछि जनआन्दोलनताका बढ्दो पाठकका कारण उतिबेला महँगो पर्ने होस्टिङ खर्च धान्न पनि पाठकहरुले नै स्वेच्छिक सहयोग गर्नुभएको थियो। त्यसले माइसंसारलाई निरन्तर अघि बढाउन निकै सहयोग गरेको थियो।

त्यतिबेला त समाचारका स्रोतहरु पनि धेरै थिएनन्। अहिले त प्रशस्तै अनलाइनहरु पनि छन्। तर पनि माइसंसारले यदि तपाईँको सूचनाको भोकलाई शान्त पार्न केही सघाएको भए र यसलाई अझै सशक्त पार्न उत्प्रेरित गर्न चाहनु हुन्छ भने फेरि पनि स्वेच्छिक सहयोगको आह्वान गरेको छु।

यो स्वेच्छिक निःशर्त सहयोग हुनेछ र यसमा कुनै शर्त न तपाईँको हुनेछ, न मेरो हुनेछ। जति पनि सहयोग तपाईँले गर्न सक्नुहुनेछ- न्यूनतम एक रुपैयाँदेखि।

स्वेच्छिक सहयोगका लागि इसेवाले सघाएको छ। तपाईँ यो इसेवामा लग इन गरी यो लिङ्कमार्फत् सहयोग पठाउन सक्नुहुन्छ।

अथवा डेस्कटप/ल्यापटप वा मोबाइल एपबाट इसेवा लग इन गरिसकेपछि MYSANSAR टाइप गरेर खोज्न सक्नुहुन्छ।

त्यसपछि खुल्ने विन्डोमा नाम, फोन नम्बर र सहयोग गर्न चाहेको रकम भरेर पठाउन सक्नुहुन्छ। सहयोग गर्नेहरुको सूचीमा तपाईँको नाम/नम्बर प्रकाशित हुनेछैन। गर्न इच्छुक भएमा नोटमा लेख्नुहोला।

अथवा सीधै तलको QR Code मार्फत् स्क्यान गरेर पनि माइसंसारलाई सहयोग गर्न सक्नुहुन्छ।

तपाईँहरु सबैलाई १६ वर्षसम्म माइसंसारलाई साथ दिनुभएकोमा धन्यवाद। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु।

अन्त्यमा, यो वर्ष पनि माइसंसारको लेआउट परिवर्तन गर्न सकिएन। माफी चाहन्छु। यो वर्ष पनि त्यो प्रयास जारी रहनेछ। किनभने

यात्रा जारी छ…

29 comments to १६ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा एउटा अर्को ब्लग

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)