यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत


विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरुको सूचीबाट नेपाललाई हटाएको समाचार धेरै मिडियामा आएका छन्। सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार एजेन्सी राससले बनाएको यो समाचार थुप्रै निजी मिडिया र अनलाइनहरुमा पनि आएका छन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत ‘सरकारकाे कामले नतिजा दिँदै, काेराेनाकाे अति उच्च जाेखिम सूचीबाट हट्याे नेपाल’ भन्दै यो समाचार ट्विट गरेका छन्। समाचारमा नेपाललाई उच्च जोखिम (लेभल ४) बाट झारेर जोखिम भएका देश (लेभल ३) मा हालै राखिएको दावी गरिएको छ। के यी समाचारहरु सही हुन्? हामीले फ्याक्टचेक गरेका छौँ।

सरकारी अखबार ‘गोरखापत्र’ दैनिकको वैशाख १४ गतेको अङ्कको पहिलो पेजमा ‘नेपालको अवस्था सुधार’ शीर्षकमा समाचार छ।

समाचारमा लेखिएको छ,

‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको लगायतका कार्यप्रगतिका कारण डब्लूएचओले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूूएचओले एकदेखि पाँच तहसम्म बनाएको जानकारी दिनुभयो । यसअघि तह चारमा नेपाल रहेकोमा अब त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उहाँले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूूएचओले उच्च जोखिममा राखेको बताउनुभयो ।
सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स तह तीनमा छन् । पाकिस्तान तह चार र अफगानिस्तान अहिले पनि तह पाँचमा छ । तह पाँच भौतिक संरचनाका आधारमा पनि अति कमजोर हो । नेपालले पछिल्लो समय पीसीआर ¥यापिड टेस्टको दायरा ह्वात्तै बढाएको, सङ्क्रमण रोक्न लकडाउन कडाइसाथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाइका साथ लागू गरेको जस्ता कार्यको मूल्याङ्कन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले स्पष्ट पार्नुभयो ।

“अमेरिकामा हजारौँ मानिसको मृत्यु भएको छ”, श्रेष्ठले थप्नुभयो, “त्यहाँ डब्लूूएचओले तह एकमा राखेको छ । किनकि त्यहाँको स्वास्थ्य संरचनाले तह एकमा राखेको हो ।” नेपालले सातवटै प्रदेशमा तीव्र गतिमा प्रयोगशाला विस्तार गरेको, ७७ वटै जिल्लामा ¥यापिड परीक्षण सुरु गरेको र स्थानीय तहले पनि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी सरकारी समाचार एजेन्सी राससमा यस्तो समाचार छ-

नेपाल कोरोनाको ‘अतिउच्च जोखिमबाट उच्च जोखिममा’

शरद शर्मा (रासस)
काठमाडौं, वैशाख १३ । नेपाल कोरोनाभाइरसको अतिउच्च जोखिमबाट एक तह तल झरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघिमात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोनाभाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए । उनकाअनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।

‘नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’–उनले भने–‘त्यसैले नेपाललाई कोभिड–१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड–१९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरिएको छ । कोभिड–१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

नेपालमा कोभिड–१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आ–आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत् रहेका छन् ।

यसैगरी, सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ ओटालाई ‘हब’ हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड–१९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।कैलालीमा विदेशबाट आएकाबाट एकजनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा ‘पीसीआर’ र ७५ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एकजनामा परीक्षण गरिएको छ ।

यसैगरी, कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्यरुपमा ‘क्वारेन्टाइन’मा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड–१९ को कारणले ज्यान गुमाइसकेका छन् ।

राससको समाचारमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको मात्र कोट छ भने गोरखापत्रले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको पनि कोट राखेको छ। दुई सरकारी अधिकारीको कोट भएका कारण यो समाचार विश्वसनीय देखिन सक्छ। तर तथ्य फरक छ।

हामीले विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका अधिकारीहरुसित सम्पर्क गर्‍यौँ। उनीहरुले यसमा अनभिज्ञता जनाए। ‘हामीले पनि समाचार सुन्यौँ, डब्लुएचओको कुनै पनि डकुमेन्टमा नेपालको स्थान यसरी झरेको हामीले देखेका छैनौँ’, उनीहरुले भने।

डब्लुएचओले तीन वटा ग्रेडिङ गर्ने गर्छ। सम्पूर्ण विश्व स्वास्थ्यलाई असर पर्ने हिसाबको भए ग्रेड थ्री इमरजेन्सी भन्ने गरिन्छ। कोभिड १९ लाई डब्लुएचओले Pandemic भनेर ग्रेड थ्री इमर्जेन्सी घोषणा गरेको छ। यो भनेको ग्लोबल हाइ रिस्क हो। यो विश्वका सबै देशमा लागू हुन्छ।

अर्को, डब्लुएचओले सिचुएसन रिपोर्टको दैनिक अपडेट दिने गर्छ। यसमा ट्रान्समिसन क्लासिफिकेसनको चार लेभल हुन्छ। नेपाल Sporadic Cases मा छ।

– No cases: Countries/territories/areas with no confirmed cases

– Sporadic cases: Countries/territories/areas with one or more cases, imported or locally detected

– Clusters of cases: Countries/territories/areas experiencing cases, clustered in time, geographic location and/or by common exposures

Community transmission: Countries/area/territories experiencing larger outbreaks of local transmission defined through an assessment of
factors including, but not limited to:
– Large numbers of cases not linkable to transmission chains
– Large numbers of cases from sentinel lab surveillance
– Multiple unrelated clusters in several areas of the country/territory/area

यसमा नेपाल पहिलेदेखि नै Sporadic cases चरणमा नै छ। सिचुएसन रिपोर्टहरु यहाँ क्लिक गरी हेर्न सकिन्छ।

डब्लुएचओले अर्को एउटा वर्गीकरण पनि गर्ने गर्छ- प्रत्येको देशको तयारीको अवस्था (Country Preparedness and Response Status) का बारेमा। गएको अप्रिल २० तारिखका दिन यसको पछिल्लो रिपोर्ट आएको थियो। त्यसमा नेपाललाई लेभल ३ मा देखाएको हो।



गोरखापत्रको समाचारमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भनेका कुरा यसैमा छन्। यसमा लेभल एकदेखि पाँचसम्म छ। तर श्रेष्ठले भनेका कुरा मिल्दैन। उनले सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स लेभल तीनमा अनि पाकिस्तान लेभल चार र अफगानिस्तान अहिले पनि लेभल पाँचमा छ भनेका छन्।

तर यो डकुमेन्ट अनुसार पाकिस्तान र अफगानिस्तान लेभल दुईमा छन्।

डकुमेन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।



Covid 19 Sprp Country Status 20april2020 (Text)

पाकिस्तान र अफगानिस्तानको लेभलमा बाहेक यहाँसम्म नेपालको लेभलको कुरा ठीक छ। तर बुझ्नु पर्ने कुरा के हो भने सरकारी अधिकारीहरुले नेपालको लेभल झरेको बताएका छन्। अर्थात् नेपाल लेभल ४ बाट लेभल ३ मा झरेको हुनुपर्ने। यसका लागि २० अप्रिल २०२० भन्दाअघिको Country Preparedness and Response Status हेर्नुपर्‍यो। हामीले मार्च १९, २०२० को रिपोर्ट हेर्‍यौँ। त्यसमा पनि नेपालको लेभल ३ नै छ।

डकुमेन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।



Covid 19 Sprp Country Status 19march2020 (Text)

त्योभन्दा अझै अगाडि फेब्रुअरीमा पो नेपाल लेभल ४ मा थियो र त्यसपछि घटेर लेभल ३ मा गएको हो कि भनेर त्यो पनि खोज्यौँ हामीले। फेब्रुअरी २८ को रिपोर्टमा पनि नेपाल लेभल ३ मा नै छ।

डकुमेन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

यसबाट प्रष्ट हुन्छ कि नेपाल लेभल ४ मा भएको र अहिले घटेर लेभल ३ मा अर्थात् नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको दावी गलत छ।

तर धेरै मिडियाले यस्तो गलत दावी भएको समाचार दिएका छन्। केही उदाहरण हेर्नुस्-

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल (गोरखापत्र)
डब्ल्यूएचओले भन्यो– नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल (अनलाइनखबर)
कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हट्यो (देशसञ्चार)
डब्ल्यूएचओले नेपाललाई कोरोनाको ‘अतिउच्च’बाट ‘उच्च’ जोखिममा झार्‍यो (नेपालखबर)
नेपालमा कोरोनाको ‘अतिउच्च जोखिम’ टर्‍यो, अब ‘उच्च जोखिम’को सूचीमा (थाहाखबर)

1 comment to कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)