मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथाः मृत्यु रक्स!

-झलक पौडेल-

गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड
१३ नं. बेड
बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी
टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल
अनि त्यस पल्तिर औषधिका बट्टा, कागज, बिल, जुसको बोतल, दुई चार गेडा स्याउ र केही दैनिक पत्रिकाहरु
बेडको मुन्तिर पुर्पुरोमा हात लगाएर निरन्तर टोलाइरहेकि मेरी ममि र,
ई.सि.जि. मेसिनको स्क्रिनमा मेरो पल्स चुपचाप हेरिरहेकी ममता सिस्टर

म केही समयदेखि यही वातावरणमा थिएँ, मृत्युको पर्खाइमा। बाँच्ने सम्भावना थिएन, तर मृत्यु पनि भइसकेको थिएन। त्यो दोसाँधमा मैले जीवनको महत्व बुझेँ र मृत्यु महसुस पनि गरेँ। मृत्युको मुखमा चुपचाप उभिइरहेको म बिचरो मुख बन्द हुने समयको पर्खाइमा तीन महिना बिताइसकेको थिएँ।

अचानक स्क्रिनमा हेरिरहेका ममता सिस्टरका आँखाबाट आँसुका थोपाहरु गालाको बाटो हुँदै भुँइमा खसे।
अनि, अस्पतालले मलाई मृत घोषित गर्‍यो।
यो थाहा पाउने बित्तिकै ममिले मेरो छातिमा टाउको अड्याउँदै आँसु झार्दै डाँको छोडिन्, अस्पताल नै थर्किने गरेर। आँसुको भेल बगाइन्। अरुहरु ममिलाई सम्झाइरहेका थिए। मलाई साह्रै नरमाइलो लाग्यो। म केही बोलिनँ, म त मरिसकेको थिएँ।

ममता सिस्टरले मैले ओढेको कपडा तानेर मेरो अनुहार छोपिदिइन्। अस्पतालमा भएका जति आफन्त र पराइहरु मेरो वरिपरि जम्मा भए। सबै आआफ्नै सुरमा आँसु झारिरहेका थिए, चाहेर या नचाहेरै। म पच्चीस वर्षको उमेरमा मरेको थिएँ। अरु बिरामीका कुरुवा पनि लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा मेरो असामयिक मृत्यु देखेर चुकचुकाइरहेका थिए। मेरो असामायिक मृत्यु नै थियो यो। दैवले राम्रा र असल मान्छेहरुलाई चाँडो लग्छ भन्ने सुनेको थिएँ, तर यसपालि दैवलाई मैले झुक्याइदिएछु। किनकि म राम्रो मान्छे थिइनँ। तैपनि दैवले मलाई लगेरै छाड्यो। सायद म भविष्यमा राम्रो मान्छे हुनेवाला थिएँ कि!

डेटिङ् नजाने ? ममता सिस्टरले कपडा बाहिरैबाट मेरो अनुहार सुम्सुम्याउँदै थिइन्। तर यो के ? उनको मुख त खुलेकै छैन त। अहो, मैले उनको मनको बोली पनि सुन्ने भएछु। मरेपछि त सोचेको पनि सुनिनेरैछ। मलाई अचम्म लागिरहेको थियो र एकपल्ट सोचेँ, यस्तो जीवन रहँदै भइदिने भए मान्छे कति खुसी हुँदा हुन्। त्यसपछि ममता सिस्टरले एक थोपा आँसु टप्प झारिन् अनायासै। आँसुको त्यो बुँद कपडा छिचोलेर मेरो निधारमा टप्कियो।

उनै ममता सिस्टर हुन् जो म अस्पतालमा बिरामी भएर लड्दा मलाई औषधि खुवाउँथिन् ठीक समयमा। थर्मोमिटरले ज्वरो नाप्थिन् निकै गम्भिरताका साथ। मेरो निधार छाम्थिन् र नाडीका पल्सहरु गन्थिन्, उनको टिटान घडिको टिकटिकसँगै। म उनको अनुहार एक टकले हेर्थेँ। उनी थाहा नपाएझैँ गरेर आफ्नो काम गरिरहन्थिन् र काम सकिएपछि मसँग आँखा जुधाएर विलिन हुन्थिन्। म बस् प्रतिक्षामा उनको बाटो हेरिरहन्थेँ।

एक दिन म एक्लै बेडमा सुतिरहेको थिएँ। कोही थिएन। कुरुवाहरु पनि अत्यास मानिसकेका थिए। निरन्तर महिनौँदेखि मलाई अस्पतालमा कुरिरहनु कम्ता दिक्दारी थिएन। ममता सिस्टरले मलाई निद्राबाट ब्युँझाइन्। उनको निकटतामा पनि म ब्युझिन्थेँ।

‘कस्तो छ ?’, ममता सिस्टरले मलिन स्वरमा भनिन्। उनको त्यो मलिनता मैले पहिलोपल्ट देखेको थिएँ। अरु बेला मुस्कुराइरहने ममता सिस्टर त्यस दिन उदासी देखिइन्।
‘अलि बिसेक भा’छ’, मैले सधैँ झैँ उही जवाफ दिदैँ भनेँ, ‘तपैँलाई सन्चै छ ? आज बिरामी जस्तो देखिनुभा’छ । के भो ?’
‘नाइँ छैन बिरामी । ठीकै छु’, उनले बनावटी मुस्कानका साथ मलाई भनिन्, ‘एउटा कुरा भनम् ?’
‘हुन्छ। जम्मा एउटा ! अलि धेरै भन्नु न’, मैले हाँस्दै भनेँ।
‘तपैँ मलाई तिमी भन्ने अबदेखि’
म केही बोलिनँ। उनका आँखा रसाएझैँ भए।
‘मलाइ कैले डिस्चार्ज गर्ने ?’, प्रसंग मोड्दै मैले सोधेँ।
‘डिस्चार्ज भएर के गर्नु मन लागेछ र ? म त यैँ राख्ने हो अब, तपैँ गएपछि म कोसँग बोल्ने नि’, ममता सिस्टरले आँखा रसिला पार्दै भनिन्। मैले उनलाई पहिलोपल्ट कम्मरमा चिमोटेँ। ममता सिस्टर भावरहित मुस्कुराइन्।
‘मलाई डेटिङ् गर्न मन लागेछ।’
‘ओ ! ओ ! कोसँग हो नि ?’, ममता सिस्टरले आँखा ठूलाठूला पार्दै भनिन्। आँखा त उनका यसै पनि ठूलै थिए। झन् ठूला बनाउँदा उनी झन् सुन्दर देखिइन्।
‘तिमीसँग’, मेरो मुखबाट फुत्किहाल्यो।
मुस्कुराउने असफल प्रयास गर्दै ममता सिस्टरले आफ्ना नङ् कोट्याइन्। मैले स्वीकृति बुझेँ।

त्यसपछि मलाई थाहा भो, मेरो मृत्यु हुनेवाला छ। ममताले मेरो जीवनका अन्तिम खुसीहरुका लागि यो सब गरिरहेकी झैँ लाग्यो। तर ममताले सोचेभन्दा विपरीत मलाई झन्‌झन् जीवनप्रति आशक्ति बढ्दै गयो। ममता सिस्टरलाई माया गर्ने थप समय चाहेजस्तै। म मर्नेवाला छु भन्ने मैले जीवनका अन्तिम क्षणहरुमा पनि कल्पनासम्म गरिन। त्यसपछिका दिनहरु मैले खुसिमा बिताएँ। तिनै खुसीहरु मेरा जीवनका अन्तिम खुसिहरु बने। म ममतासँग कहिलै डेटिङ् जान पाइन।

मलाई अस्पतालको बेडबाट उठाएर अस्पताल बाहिर लगियो। सबैजना दाहसंस्कारको तयारीमा थिए। कोही कपडा किन्न गए। कोही हरियो बाँस खोज्न। कोही दाउराको बन्दोबस्त गर्नतिर लागे। कोही मेरो नजिक दुबोमा थुचुक्क बसेर रुन लागे।

मेरा जीवनका रमाइला कुराहरु सम्झिए सप्पैले। एकएक गरेर मेरो जीवनको समिक्षा भो नपत्याम्नी तवरले। मायाले बोलाएका कुरादेखि दशैँमा आशिर्वाद दिएकासम्म। ममिको आँखा छलेर झालबाट काँक्रा टिपेर खुवाएकादेखि पकाएर राखेको तरकारी र दुध चोरेर खाइदिएका रमाइला पलहरुसम्म। बूढीआमाको डोको बोकेर घर पुराइदिएर सहयोग गरेकादेखि चौतारीमा बसेर सुसेलेका पलहरुसम्म। सप्पै सप्पै सम्झिए एकाएक।

साथीहरु त उनै हुन्। उनीहरुले अलि फरक सम्झिँदारहेछन्। सँगै बसेर चुरोटको गोलो धुँवा बनाएकोदेखि दारु खाएर वोमिट गरेकोसम्म। तरुनीसँग बिताएका पलदेखि मान्छे पिटेकासम्म। उट्पट्याङहरुको गिन्ती भो। तीन महिनासम्म म अस्पतालको बेडमा लडेपछि सायद साथीहरुसँगको निकटता र आत्मीयता घटेछ, भेटघाट जस्तै। सम्बन्धहरु बेलाबेला अपडेट भइरहनुपर्छ नत्र सम्बन्धहरु चिसिँदै जान्छन् र बिस्तारै अन्त्य हुन्छन्। सत्य साबित भो।

बिरामी भेट्न आएकाहरुले ल्याएको स्याउ नकाटिकनै पालैपालो कोपरेको बडो गम्भिरतामा सम्झिइन् ममता सिस्टरले। डेटिङ् जाने रहर, रहर मै सीमित भएको थियो। अस्पतालमा बसेर बनाएका अनेकौँ योजनाहरु भताभुङ्ग पारेर म सदाका लागि छुटिएको थिएँ। ममता सिस्टर पटकपटक भक्कानिएर रोइन्, ढोका बन्द गरेर। घृणाले छुट्टिएको भए त्यति सम्झना नआउँदो हो, तर हामीलाई दैवले छुटाएको थियो। मैले उनको आँशु पुछ्न सकिन। किनकि म संस्कारमा हुर्किएको मान्छे। सामाजिक रितिथिति, चालचलन र मूल्यमान्यताहरुको खिलाफ गएर म मृत्युबाट उठ्ने कुरा हुँदैनथ्यो। मलाई संस्कारले नदिएको काम गर्न मन लागेन। त्यसैले बस् अरुको जस्तै ममता सिस्टरको आँसु पनि पुछ्न सकिन मैले, चाहेर पनि।

सबै तयार भो। मलाई हरियो बाँसमा चोयाले कस्सेर बाँधियो। दुख्यो कि भन्ने पनि नसोची। कुनै गम्भिर अपराधीलाई प्रहरीले हिरासतमा सजायँ दिएजस्तै, निष्ठूर बनेर। मैले मृत्युलाई अनायासै अपराध सम्झिएँ। म एउटा अपराधी हुँ र मेरा सबै आफन्तहरु मलाई सजायँ दिइरहेछन्। घाटमा लगेर मलाई जलाइयो। मेरो शरीर एकैछिनमा खरानी बनेँ। मलामीहरु आआफ्नो बाटो लागे। म पनि मेरो बाटो लागेँ।

एउटा ठूलो गेट। चौडा बाटो। गेटको सिरानमा यमलोक लेखिएको सुनौला अक्षरमा। म सरासरभित्र छिरेँ। गेटको पालेले खुट्टा बजाएर सलाम गर्यो र एउटा पर्चा थमायो । मैले एउटा हात उठाएर उसको सलाम फर्काएँ बडो सन्तुष्टिमा।
‘जीवनभर एउटा सलाम खाइएन, मरेपछि क्या मिठो सलाम गर्यो यार’, मैले छेउको अर्को मान्छेलाई भनेँ। उसले मेरो वास्ता नगरी हिँड्यो।
‘मु* मरेपछि नि के ठूलो हुन परेको होला सालेलाई। मरेपछि सबै बराबर!’, मैले अलि ठूलो स्वरमा भनेँ।

एउटा ढुङ्गामा थुचुक्क बसेँ। रातो ढुङ्गा र इनामेलले हँसिया हथौडाको चिन्ह बनाइएको। यहाँ पनि कम्युनिस्ट रैछन् भन्ने लाग्यो मलाई। एउटा चुरोट सल्काएँ र अघि पालेले दिएको पर्चा खोलेँ। पर्चाको सिरानमा यमलोक जिन्दाबाद ! लेखिएको ठूला अक्षरमा। अनि त्यस मुन्तिर मार्क्सबाद जिन्दाबाद!
अनि,

‘आदरणीय कामरेड!
सयौँ बर्षदेखि जरा गाडेको सामन्ती राज्यब्यवस्थाले प्रताडित आम यमलोक निवासी आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुलाई चैनको स्वास फेर्ने दिन ल्याउन सकेकोमा हामी सम्पूर्ण लोकबासी गौरवान्वित छौँ । धर्म र अधर्म का नाममा लोकबासीलाइ बिभाजन गरि स्वर्ग र नर्कमा नारकीय जीवन बिताउन बाध्य पार्ने सामन्ती राज्यब्यवस्थाको अन्त्यको महान जनआन्दोलनमा सहभागी भई साम्यबाद ल्याउन सहयोग गर्नुहुने महान सहिद, बेपत्ता साथीहरु, बेपत्ता परिवार र आम जनसमुदायहरु प्रति हामी सदा शिर निहुराएर सम्मान प्रकट गर्न चाहन्छौँ ।

कामरेड कार्ल मार्क्सको अगुवाइ र आम मर्त्यलोक निवासी दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा भएको महान तथा गौरवशाली जनआन्दोलनको सफलतापश्चात् हामीले तपसिलका उपलब्धिहरु हासिल गरिएको जानकारी गराउन चाहन्छौँ।
-सामन्ति राज्यब्यवस्थाको आमूल अन्त्य तथा साम्यवादी राज्यब्यवस्थाको सुरुवात
-सबै आम यमलोक निवासी सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा समानताका आधारमा ब्यवहार
-धनी र गरिब बीचको असमानता नष्ट गरी सम्पत्तिमाथिको व्यक्तिगत स्वामित्वको अन्त्य
-स्वर्ग र नर्क बीचको भावनात्मक एकीकरण तथा स्वर्ग र नर्कको अवधारणाको खारेजी
उल्लेखित उपलब्धिहरु संस्थागत गरी साम्यवादको सुदृढिकरणका लागि तपैँले महत्वपूर्ण सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।
तपैँलाई यस यमलोकमा हार्दिक स्वागत तथा तपैँको यमलोक बसाइ सुखद रहोस्!
लालसलाम ! अभिवादन !’

‘ओ माइ गड! साम्यबादको अनुभव गर्न त मर्नु पो पर्ने रहेछ’, बाँचुन्जेल लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र भोगेको मैले खुसी प्रकट गरेँ आँफैसँग। अरु त कोही छैन यहाँ के गर्नु। जति बोल्नुछ आफैसँग बोल्नुपर्ने। वक्ता पनि आँफै, स्रोता पनि आँफै! मृत्युपछि भए पनि नयाँ राज्यब्यवस्थाको नागरिक बन्न पाएकोमा मज्जा लाग्यो। बाँचुन्जेल स्वर्ग र नर्कका कहानी सुनियो। भगवानका भजन पनि गाइयो। तर सब बकवास रैछ। तेस्तो हामीले बाँचुन्जेल सुनेको जस्तो त पहिले नै अन्त्य भइसकेको रैछ। मैले चुरोट निभाएँ।

म मरेको दश दिन भएको थियो। घर जाने निधो गरेँ। पोखरा पुगेपछि ममता सिस्टरको यादले फेरि पनि सतायो। तर याद गर्नु बाहेक अरु बिकल्प केही थिएन, किनकि म मरिसकेको थिएँ। यसो साइबर बसेँ। फेसबुक, टुइटर र ब्लग एकैपटक खोलेँ। फेसबुकको टाइमलाइन भरि RIP लेखिएका मेसेजहरु मात्रै थिए। ममता सिस्टरले पनि RIP लेखेकी रहिछन्। एकछिनसम्म हेरेँ, मन थाम्न सकिन लाइक ठोक्दिएँ। टुइटर भरि मलाई मेन्सन गरेर RIP लेखिएको। रिप्लाइ गर्न मलाई मेरो सामाजिक मान्यता र संस्कारले दिन्नथ्यो त्यसैले हेरेँ मात्रै अनि एकाउन्ट डिएक्टिभेट गरिदिएँ। मेरो साहित्यिक र ब्यवसायिक जीवनका बारेमा लेखिएका थुप्रै ब्लगपोस्टहरु प्रकाशित गरिएका रैछन्। सबै ब्लगर मित्रहरुलाइ मनमनै धन्यवाद दिएँ र प्रफुल्ल बनेँ। पत्रिकामा समबेदनाहरु पनि छापिएका। मैले काम गर्ने कार्यालयमा एक दिन छुट्टी पनि दिइएछ। बाँचुन्जेल मेरो अगाडि खुसी ब्यक्त नगर्नेहरु पनि मेरो मृत्युमा दुःखी बनेका रैछन्। मान्छेलाई सम्झिइने त मृत्यु पछि नै रैछ।

मनमा अनेकौँ कुराहरु खेलाउँदै म साइबरबाट निस्केँ। घाम अस्ताइसकेको थियो। महेन्द्रपुलको पुलिस बिटनिर उभिएँ। सबै मान्छेहरु हतारमा हिँडिरहेका थिए। गाडीहरु बत्ति बाल्दै मेरो सामुन्नेबाट हुइँकिएँ। चम्किलो प्रकाशले मेरा आँखा तिरिमिरी भए। बिस्तारै शहर सुनसान हुँदैगयो। सटरहरु बन्द गरिए। मापसे चेकिङ्का लागि बर्दिवाला पुलिसहरु तैनाथ भए। म एकटकले ती अनेकौँ दृश्यहरु हेरिरहेँ। म बाँचेको भए अहिले म पनि साथीहरुसँग कतै बसेर दारु पिउँदै हुँदो हुँ सायद।

बाह्रौँ दिनको रात। घरमा के गरेछन् होला भन्ने कल्पनाले मलाई सुत्न दिएन। सबेरै उठेर घरतिर लागेँ। त्यस दिन मेरो तेह्रौ पुण्यतिथि थियो। खिर खुवाउलान् भन्ने आशामा मेरो मुख रसायो। तर, पधेँरामा राखिएको खिरको डल्लो म पुग्नु अगावै कौवाले टिपिसकेछ।

अनि,
मन अमिलो पार्दै यमलोक फर्किएँ सदाका लागि।

पौडेल ‘अ ब्रिफ लुक’का ब्लगर हुन्। ट्विटरमा उनी बिचारी नामले चिनिन्छन्।

[तपाईँ पनि आफ्ना कथा माइसंसारमार्फत् पाठकहरुमा बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

819 Total View 9 Today View

12 comments to कथाः मृत्यु रक्स!

  • Gambhir Man

    सुन्दर ! अति सुन्दर !! कथा one way नभएर अरु पात्र र बिषए समावेस भएकोले अति सुन्दर !! Thank you so much. धेरै दिन पछी राम्रो कथा पदना पाइयो. लेख्दै गर्नु होला.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bishnu pd subedi- SAUDI ARAB

    वा क्या कथा छ, लेखकले मेहनत चाई गरेका रहेछन है/ धन्यबाद कथाकार लाइ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ram

    घेरे नै राम्रो छ। तर पक्का माअोवाद र समाजवादी त मरेपछि पाईन्दो रहेछ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Santosh

    राम्रो कथा!!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Tenzing

    —‘जीवनभर एउटा सलाम खाइएन, मरेपछि क्या मिठो सलाम गर्यो यार’–वास्तविकतालाई बब्बाल हास्यात्मक र मनोरन्जनात्मक तरिकाले प्रस्तुत गर्नु भाको छ | झलक दाजु कलालाई मन नपराउने व्यक्ति तर झलक दाजुको कला चै सारो मन पर्यो हो मलाई |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Sanjeev

    धेरै समयपछि राम्रो कथा पढ्न पाइयो/

    तर कथालाई अझै राम्रो ढंगले टुंग्याउन सकिन्थ्यो कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • david sharma

    एकदम राम्रो छ राम्रो लाग्यो ,, कल्पनामै बास्तबिकता………

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • abhin thapa

    बब्बाल रछ ल

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Binod Timilsina

    झलक रक्स,वास्तविकता नजिकको कल्पना

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Dinesh

    कथा राम्रो लाग्यो, पुरै पढियो
    दिनेश, क्यानाडा

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • kedar

    यी लाइनहरुले झन्डै मलाइ नै रुवायो

    बिरामी भेट्न आएकाहरुले ल्याएको स्याउ नकाटिकनै पालैपालो कोपरेको बडो गम्भिरतामा सम्झिइन् ममता सिस्टरले। डेटिङ् जाने रहर, रहर मै सीमित भएको थियो। अस्पतालमा बसेर बनाएका अनेकौँ योजनाहरु भताभुङ्ग पारेर म सदाका लागि छुटिएको थिएँ। ममता सिस्टर पटकपटक भक्कानिएर रोइन्, ढोका बन्द गरेर। घृणाले छुट्टिएको भए त्यति सम्झना नआउँदो हो, तर हामीलाई दैवले छुटाएको थियो। मैले उनको आँशु पुछ्न सकिन। किनकि म संस्कारमा हुर्किएको मान्छे। सामाजिक रितिथिति, चालचलन र मूल्यमान्यताहरुको खिलाफ गएर म मृत्युबाट उठ्ने कुरा हुँदैनथ्यो। मलाई संस्कारले नदिएको काम गर्न मन लागेन। त्यसैले बस् अरुको जस्तै ममता सिस्टरको आँसु पनि पुछ्न सकिन मैले, चाहेर पनि।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • आशा

    “……सम्बन्धहरु बेलाबेला अपडेट भइरहनुपर्छ नत्र सम्बन्धहरु चिसिँदै जान्छन् र बिस्तारै अन्त्य हुन्छन्।……….”
    यसले भने मनै छोयो…

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 66 Thumb down 1