मेरो Tweet

  • बुद्धम् शरणनम् गच्छामि Photo Feature by @uttambabu shrestha t.co/KVFVZKGp2l via @mysansar
  • यस पटक बुद्ध जयन्ति बुद्धले सिकाएको मौलिक विधि अनुसार मनाउन पाइएन। Missing Vipassana ! Missing Dhamma Shringa !! भवतु सब्ब मंगलम् !
  • Nagarik News - प्रतीक प्रधान 'नागरिक' दैनिकका प्रधान सम्पादक: t.co/Ik8xGruOUE

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यसरी मारिए ‘दैत्य’ तान्त्रिक मुकुन्डोधारी नृसिंहबाट


वर्षमा एक पटक पाटन दरबारको सुनको झ्याल खोलिन्छ- हिजो राति। अवसर- कात्तिक नाचको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण नाच हिरण्यकश्यपु वध। ठूलो भीड जम्मा हुन्छ पाटन दरबार क्षेत्रमा यो रात। के बच्चा, के वृद्ध, के पुरुष, के महिला- सबै देखिन्छन्। खासमा यो नाच पुराणमा भएको भगवान विष्णुको दश अवतारमध्ये एक नृसिंह (नर+सिंह) अवतारको कथामा आधारित छ। दैत्यराज हिरण्यकश्यपुलाई वध गरी लोकमा शान्ति कायम गर्ने यही प्रसङ्गलाई नाचबाट देखाइन्छ। खुला डबलीमा देखाइने नाच भए पनि यसमा तान्त्रिक रहस्य जोडिएको छ। आउनुस्, ३७१ वर्षदेखि चलिरहेको यो नाचको मुख्य झलक म तपाईँहरुलाई फोटोमा देखाउँछु।



राति साढे नौ बजेतिर हामी पाटन दरबार क्षेत्रमा पुगेका थियौँ। नाच सुरु भइसकेको थिएन तर मान्छेहरुले डबली घेरिसकेका थिए। वरपर पनि थुप्रै भेला भइसकेका थिए। महत्त्वपूर्ण नाच भएकोले सबैभन्दा बढी चासो हुने र भिड हुने दिन आजै थियो। नाच निकै ढिला सुरु भयो।

सुरुमा दैत्यराज हिरण्यकश्यपु र उनका दुई सहयोगीको नाच हुन्छ। गीत र संगीतका साथ उनीहरुको नाच सुरु हुन्छ।

त्यसपछि मञ्चमा प्रह्लाद र असुरहरुका आचार्य शुक्रका पुत्र षण्ड तथा अमर्कको प्रवेश हुन्छ। उनीहरु पनि नाच्छन् र संवाद पनि बोल्छन्। केही वर्षअघि यो नाच हेर्दा संवाद बोलेका थिए जस्तो लाग्दैन। अहिले भने आधुनिक नाटक जसरी वायरलेस माइक जोडेर संवाद पनि राख्‍न सुरु भएको रहेछ। नाच प्रबन्ध समितिका हरिमान श्रेष्ठले माइकबाट दर्शकहरुलाई अस्ति तेस्रो दिनको नाचका क्रममा संवादको चलन बिस्तारै हराउँदै गएको बताएका थिए। सात सालदेखि ३८ सालसम्म नाच दुई दिनमा सीमित हुन पुगेकोले छोटकरीमा देखाउनु पर्ने हुनाले संवाद हराएको उनको कथन थियो।


दुई गुरुले प्रल्हादलाई ॐ नमः शिवाय् भन्न सिकाउँछन्। तर जति सिकाए पनि उनी खाली ॐ नमः भगवते वासुदेवायः मात्रै भन्छन्। कुट्ने, पिट्ने भनेर तर्साउँदा पनि उनी खाली त्यही भनिरहन्छन्। दिक्क भएर राजालाई कुरा लाउन जान्छन्।

नाचको तेस्रो चरणमा पुनः हिरण्यकश्यपु र सहयोगी डबलीमा आएर नाच्छन्। नाटकको यसरी चरण परिवर्तन हुँदा एक चरण र अर्को चरणको बीचमा अलि धेरै नै समय लाग्नु चाहिँ प्राविधिक कमजोरी लाग्यो। तर मान्छेहरुको ठूलो भिड हुने हुनाले यत्तिकै रमाइलो भने हुन्छ। काठमाडौँको साता दिन मनाइने इन्द्रजात्रा र ललितपुरको यो नाच मलाई विशेष रमाइलो लाग्छ। भक्तपुरका नाच र जात्रा भने मैले खासै हेर्न पाएको छैन। उहिले एक पटक गाईजात्रा हेरेको थिएँ।


यो वर्ष सरकारबाट एक पैसा पनि अनुदान नपाए पनि स्थानीय स्रोतसाधन जुटाएर सम्पन्न यो नाचमा यस पटक प्रविधिको गजबले उपयोग गरिएको थियो। वायरलेस माइक, बाजागाजाको आवाजका लागि युनी माइक, स्पिकरहरु राखेर संवाद र संगीतमा सबैको स्पष्ट पहुँच। सबभन्दा गजब त मलाई यो लाइभ टेलिकास्ट लाग्यो। हिजो धेरै भीड हुने भएकोले सबैले राम्रोसँग हेर्न गाह्रो पर्थ्यो। त्यसैले भिन्द्य मन्दिर अगाडि रहेको स्कूलनजिकै ठूलो पर्दा राखेर प्रोजेक्टरबाट नजिकैको दृश्य त्यता देखाइएको थियो। र, त्यहाँ पनि हेर्नेहरुको ठूलै घुँइचो भएको थियो। पहिलो पटक भएर हो कि केही स्पिकरमा आवाज भने कहिले आउने, कहिले नआउने भइरहेको थियो।


कथामा खम्बा फोडेर नृसिंह अवतार प्रकट हुने गर्छ। नाचमा पनि त्यस्तै देखाउन कागजको खम्बा ल्याएर डबली छेउमा राखिन्छ। नृसिंह तान्त्रिक विधिपूर्वक पूजा गरिएको मुकुन्डो लगाएर पाटन दरबारभित्रबाट निस्कन्छ। त्यहाँ स्वदेशी तथा विदेशी फोटो खिच्नेहरुको लर्को नै हुन्छ। त्यहाँ उनलाई छोपेर डबली छेमा रहेको त्यसै खम्बाभित्र राखिन्छ। बिस्तारै खम्बामा रहेको कागज च्यात्दै नृसिंह बाहिर प्रकट हुन्छ र मञ्चमा दौडन्छ।


दरबारबाट निस्कने बित्तिकै त्यहाँको भिडले ठूलो आवाजका साथ स्वागत गर्छ। अब मञ्चमा नृसिंहको नृत्य सुरु हुन्छ।


भिडमा अपरिचितहरुसँग हाँसोठट्टा गर्दै नाच हेर्नुको रमाइलो अर्कै हुन्छ।


तान्त्रिक सिद्धि गरिएको मुकुन्डो हुनाले त्यो लगाएपछि प्राप्त हुने ऊर्जाले मञ्चमा राम्रो नाच नाच्न प्रेरित गर्ने बताइन्छ। नेवार समुदायले बुबा आमा र गुरुलाई प्रमुख देवताको रुपमा मान्दै आएको पाइन्छ। बुबा अर्थात पुरुष देवताको रुपमा आजु द्यः, आमा अर्थात् स्त्री देवताको रुपमा अजिमा द्यः र गुरुको रुपमा नासः द्यः अर्थात नाट्यश्वरलाई मान्दै आएको पाइन्छ। यो कात्तिक नाच सुरु गर्नुअघि पनि धार्मिक विधि पूर्वक नासः पूजा गरिन्छ।


मञ्चमा प्रवेशसँगै मञ्चको सबै कुनामा राखिएका मसालमा आगो बिस्तारै दन्काउन सुरु गरिन्छ।


पाटन दरबारमा कहिल्यै नखोलिने सुनको झ्याल पनि आजको दिन खोलिएको थियो। राजा सिद्धिनरसिंह मल्ल र उनीपछिका अन्य राजाहरूले पनि कात्तिक नाच हेर्न सोही झ्यालको प्रयोग गर्ने गरेकाले हाल पनि नाच हेर्नका लागि सिद्धिनरसिंह मल्ल आउने जनविश्वासका कारण उक्त झ्याल खोलिने गरेको स्थानीय वृद्धहरू बताउँछन्।


मसाल दन्काउँदै।


नृसिंहको छायाँ जसमा पर्‍यो उसको मृत्युसम्म हुनसक्छ भन्ने विश्वासका कारण आगो दन्काउने प्रचलन रहेछ।


अब नाचको प्रमुख चरण सुरु हुन्छ। यसमा नृसिंहले लखेटी लखेटी हिरण्यकश्यपुलाई थकाउँछ।


यो भाग्ने-लखेट्ने क्रममात्रै २५ मिनेट जति लामो हुन्छ।


कति पटक त अब चैँ फन्दामा पार्‍यो कि भने जस्तो हुन्छ। दर्शकहरु रोमाञ्चित हुन्छन्। यत्तिकैमा फुत्त भाग्छ दैत्यराज। फेरि अर्को कुनामा त्यस्तै हुन्छ। अन्ततः एउटा कुनामा च्यापेर नृसिंहले यसो औँलाले छोइदिएपछि दैत्यराजको अभिनय गर्ने ढल्छन्। त्यसपछि उनलाई बोकेर नजिकैको एउटा घरको भूँइतलामा राखी तान्त्रिक विधि अनुसार होसमा ल्याइन्छ। त्यो नगरुन्जेल उनको शरीर लाश सरह हुन्छ।


उता अचेतलाई होसमा ल्याउने विधि पुर्‍याइरहँदा यता डबलीमा भने दैत्यराजको मृ्त्युको खुसियालीमा अप्सरा नाच चलिरहेको हुन्छ। अप्सरा नाच सुरु हुँदा मध्यरातको सवा १२ भइसकेको थियो। यति अबेला पनि त्यो ठाउँमा हजारौँको चहलपहल थियो। वधपछि भने मान्छेहरु बिस्तारै घरतिर लाग्न थाल्छन्।

पूरै नाच सकाएर त्यहाँबाट पैदल हिँडी चोभारको मन्दिर पुग्नेहरु पनि हुन्छन्। चोभारमा यतिबेला मेला लागेको हुन्छ।


थप जानकारी र भिडियोका लागि यो हिजोको ब्लग हेर्न सक्नुहुन्छ।

14 comments to यसरी मारिए ‘दैत्य’ तान्त्रिक मुकुन्डोधारी नृसिंहबाट

  • अनुराधा पौडेल, फ्रान्स

    श्रीकरको भनाइ मनासिव लागेपनि समय र परिस्थितिका कारण त्यो दुरुस्त बनाउन गाह्रो परेकोले होला भन्ने मैले ठानेँ । नृसँह र दैत्य हुनेले लामो समय दिनु पर्ने हुँदा थकाइको कुरा पनि आउँछ होला । फेरी त्यहि चाडपनि पैसा उठाएर गरिएको भनेर लेख्नुभएको छ सालोक्य जी ले ।
    हामीले सानोमा फटिकको खम्बा फाटेर नृसिँह प्रकट भएको भन्ने सुनेका थियौँ । अनि कथा बाँकी श्रीकर जी कै जस्तो थियो क्यारे । तर दैत्य अर्थात हिरन्यकश्यपु मरेपछि या मारिदैँ गर्दा आकासबाट केहि महावाणी आएजस्तो लागेको थियो । श्रीकर जी लाई थाह छ कि ।
    प्रह्लादले जहिले पनि एउटै कुरा दोहराएपछि हैरान भएका गुरुहरुले कुरा लाउँदा के भने भन्ने दृश्य देखाइएन जस्तो छ हगि ।
    सालोक्य जी हिरन्यकश्यपु नै दैत्यराज होइन र ? त्यो कुरा अलि नपुगेको जस्तो मानेँ मैले ।
    दैत्यराज अर्थात हिरण्यकश्यपु मारिएको खुसीयालीमा अप्सरा नाच देखाउनेहरु महिला थिए होलान् । त्यो नाच पनि राम्रो थियो होला । यो चाँही छुट्यो है सालोक जी । अलि खिन्न भयो मन । हामी बिदेशमा बस्नेले त्योहेर्न जान सक्दैनौँ ।
    तर यति राम्रो कुरा जान्न पाएकोमा ह्दय देखि धन्यवाद सालोक्य जी तपाइँलाई । हाम्रो यो सदियौँ पुरानो धार्मिक पर्व चन्दा र सहयोगकै कारण चलेकोमा अलि दुख लाग्यो । तपाँइहरुको यो काम अत्यन्त प्रसँसनिय छ पाटनका नेवार दाजुभाइहरु । आफ्नो सँस्कृति जगाइरहनुहोस ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • sunil

    गर्व छ नेवार हुनु मा /नेवारहरुले यसरी धार्मिक संस्कृति ,देबालय बनाएकोले संसारभर नेपालको मौलिक परिचय गराउँछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

  • तारा मगर, खाडी दुबइ

    राजा सिद्धिनरसिंह मल्ल र उनीपछिका अन्य राजाहरूले पनि कात्तिक नाच हेर्न गरेको सुनको झ्यालको फोटोमा भने हेर्न पाइएन नि

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • rajeev

    I really miss these kinds of events and occasions…

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • द्रोण

    We have many ”hirandya kashyapu” now.We need one Narsimha..
    we already have budda(prachand),

    Note:Prachand proclaimed himself as Buddha few yrs ago.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 20

  • sudarshan

    I hope they will continue such a beautiful tradition years to years which can give unique identity of Nepal.

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • shailendra

    सारै रमाइलो लग्यो पढ्न पाउदा.काठमाडौँकै बासिन्दा भए पनि मैले यो नाच आज सम्म प्रतक्ष हेरेको थिइन ,अर्को साल पक्का पनि हेर्न जानेछु.फोटो समेतको तपाइको प्रस्तुति आकर्सक छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • गगने

    नेवार संस्कृति जत्ति बिशाल छ तेत्तिकै गहन पनि छ! संस्कृतिको हरेक पातोसंग एउटा बिशेष र गहन कथा जोदियाको छ! हामीले यसको संरक्षण गर्नुपर्दछ!
    यो नेवारको मात्र नभयर नेपालकै गहना हो!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 0

  • श्रीकर

    एउटा तथ्य छुटेको जस्तो देखिन्छ … पहिला… येस्तई सात वर्ष अगाडी सम्म दैत्यलाइ नरसिंग बन्नेले आफ्नो काखमा राखेर आफ्नो नंग्राले तेस्को पेट चिरफार गरेको देखौन्थियो … आन्द्रा समेत निकालेको देखुन्थियो… त्यो आन्द्रा चाहिं कुनै बोकाको राख्थियो रे…. होला अब बोका महंगो भएर नाटक मा परिबर्तन आयो कि !

    कथा अनुसार त्यो दैत्यलाई बरदान हुन्छ … आगो ले छुन नसक्ने, पानीमा मृत्यु नहुने, कुनै हतियारले मार्न नसकिने, कुनै जनावर वा मान्छे वा दैत्य ले पनि मार्न नसकिने, जमिनमा पनि मृत्यु नहुने, बायुमा पनि मृत्यु नहुने, दिन वा रातमा पनि मृत्यु हुन नसकिने…तेसैले सो दैत्य निकै बलबान हुन्छा l तेसैले भगवान नर्सिन्गले मान्छे, दैत्य र जनावरको पूर्ण रुप नभाको अबतार मा प्रकट हुन्छ, अनि साँझ को बेला पारेर आफ्नो काखमा राखेर, आफ्नो नंग्राले तेस्को पेटमा चिरेर, मार्नु भाको थियो.. खै मैले त तेस्तै देखेको थियो त्यो डबली को नाटकमा पनि, अहिले आएर किन परिबर्तन भयो सो नाच? येसो जानकारी पाउन सकिन्ठियो कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 5

    • Sujan

      चित्त नराम्रो भयापाची कसको के लाग्छ र l उहेले राजा सिद्धिनरसिंह मल्ल र उनीपछिका अन्य राजाहरूले पनि कात्तिक नाच हेर्न सुन को झ्याल मा बसी त्यो रमाइलो नाच हेर्थियोरे l अनि आज चै ?

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • aditya khanal

    Thank you so much for wonderful reporting with pictures.

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • nabaraj kale

    गर्ब छ नेपाली परम्परामा ….जय होस् नेपालको जय होस् प्राणी जगतको !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker