मेरो Tweet

  • आइन्दा #NabilBank को sms banking प्रयोग गर्दिनँ। सुविधा हैन झण्झट। अघि NT को रिचार्ज पिन किन्दा पिन नं गलत पठाइदिएर हेर्नुन। अब भोलि झण्झट
  • @SujanPoudel PIN मात्रै छ यसमा त सिरियल नम्बर छैन।
  • RT @SujanPoudel: @salokya होर त्यस्तो त नहुनु पर्ने । जुन सुकै सेवाबाट लिईएको भए पनि सिरियल नम्बर हुनु जरुरी हुन्छ । बैक सँगै कुरा गर्नु पर…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

‘सीते’ – एक यथार्थ!

-सुरेश ‘समान’-

मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती” अस्ती भर्खर भन्नुभयो।

“तैले के के सुन्छस, के के देख्छस मलाई कानमा आएर बता न बाबै” सेता खरानीको एक चिम्टी चोर औँला र बुढी औंलामा च्यापेर कपासको बाती कात्दै सोध्नुभयो। हजुरामाको देब्रे हातको फुसफुसे कपास, दाहिने हातले निमोठिदै लामो डोरी हुँदै तन्कन्थे। बेलाबेलामा बाटैमा चुटटिन्थे। फेरी गाँस्नु हुन्थ्यो र ति जोडीन्थे अनी पहिला जस्तै बन्थे। तीन फन्को लाएपछी मज्जाको दरो ‘बाती’ बन्थ्यो। लाखबाती बाल्ने योजना बनाउनुभाछ वँहाले पित्रीको नाममा।

हजुरामाको कुरा सुनेर वँहाको चाउरी परेको अनुहारका अनी हातका छाला जस्तै मुजैमुजा पर्छु म र केही बोल्दिन। बोल्न सके पो बोल्नु। मलाई डर छ – यदी हजुरआमालाई मैले देखेको, सुनेको कुरा बताँए र वँहाले मलाई -”अनी तँ के हेरेर बसिराछस?” प्रश्न गर्नु भो भने? मैले के उत्तर दिने? “म पनि ‘चुप्चाप क्लब’ को सकृय सदस्य हुँ” भन्नु भएन। ल ठीक छ कुनै बाहना बनाउँला – काम बढी भा’को, दाम कम भाको आदी। तर के ति अनुभवी मन, मुटु र चेतले मेरो कुरा पत्याउलान? वहाँलाई अहिले टाल्टुले उत्तर दिएर पछी – “म तपाईंकै छोरीको छोरो हुँ….” कुन निदार लिएर दसैंमा टिका थाप्न जानु? वहाँले पनि टाल्टुले आसिश दिनु भो भने?

“सबै उस्तै त हो नि! सब ठीक छ हजुरामा” मैले कामचलाऊ उत्तर दिएँ।

“जो आए पनि ‘सब ठीक छ’, ‘राम्रो छ’ भनेर यो कान नसुन्ने बुढीलाई ठीक्क पार्छन र जान्छन। तँ पनि उही ड्याङको मुला न परिस। तर बाबै… मलाई सब था हुन्छ – के ठीक छ अनी के नराम्रो छ। मेरा इन्द्रीयले सब बताउँछन। तिमेरु जम्मैको उमेर भोगेकी छु मैले।” मेरो कामचलाऊ उत्तरले मान्नुहुन्छ जस्तो लागेन।

“घोर कलियुग लागेको छ हजुरामा आजकल, खै के के मात्र सुनाँउ तपाईंलाई!” मैले अली ठुलो स्वरमा चिच्याएँ। अघीको काम चलाऊ उत्तर भन्दा दुईचार शब्द लामो।

“तेरा बोली पनि धोध्रिएछन” सुन्नुभए जस्तो लागेन।

“ए साची, ति थिन नि… माथ्लाघरे काजीकी छोरी… के नाम हो तीनको… सुद्दीपनी हराइसक्यो कान र आँखा त गए गए। के रे नाती नाउँ?” प्रसँग बद्लिदै हजुरामाले सोध्नुभयो।

“सिता” मैले एताउती हेरेर अली जोडले भने।

“अँ अँ गीता, सम्झे सम्झे।”

“गिता होइन हौ, सिता भन्या क्या सिता.. सि… ता..।” अली नजिक गएर ठुलो स्वरमा फेरी भने।

“ए ए त्यसो भन न त। सिता। अँ सुने सुने।” बल्ल सुन्नुभयो।

“का छे त्यो सिते अचेल? मेरो लट्टा फुकाउन आँउ थि पैला पैला। गोडा दुईएक बर्सै पो भो त नाकमुख देख्दिन।” हजुरआमाले सोध्नुभयो। सिताको अनुहार झ्वाट्ट मेरो आँखा अगाडि आए, बिलाए। “हे राम…, हे राम……” जग्जित सिङको गीत गाँउदै सिताको अगाडि टोलका केटाहरुले मलाई जिस्काको सम्झे। फेरी मेरो नाम पनि बलराम। अगाडिको ‘बल’ झिकेर कैले ‘राम’ कैले ‘रामे’ मात्रै भन्थे साथीभाइ। बिशेषगरी सिता ओरपर छिन भने त अचाक्ली नै हुन्थ्यो। कोइ चैँ -”महाभारतको बलराम र रामायणको सिता। तिमीहरुको लभस्टोरीको नाम ‘रामारत’। खतरै फिलिम बन्छ बाइ..” भन्थे। घरमा बोलाउने नाम चै ‘बले’। कोही चैँ हेपेर ‘फुटबल’ भन्थे। घरकालाई नाम चेन्ज गर्छु कत्ती भने। अर्जुन फिलिममा राजेश हमालको जस्तै ‘अर्जुन’ राख्न मन थियो। कतीपटक त एैना हेर्दै – ‘हेssss अर्जुन हुँ म, अर्जुन’ पुरै एक्टिङ गरेको छु। “स्कुलमा बलराम टिपाको छ, फेरी पछी नाम परिवर्तन गर्न झन्झट हुन्छ। एती राम्रो नाम पर्दैन फेर्न।” भनेर बाको गाली खाएपछी म फुच्चेको के लाग्थ्यो।
सिते एक साधारण घरमा जन्मिएकी असाधारण केटी थिइ। डिडी वानबाट सुरुमा आउने रामायाणकी ‘सिता माता’ भन्दा ठ्याकै उल्टी तर। त्यो हाँसीभने लाग्थ्यो रावणको बहिनी पुतना हासीराछे। एकदम निस्फिक्री। मिल्ने कुरो एउटै थियो – सिता र सिते नेपालमै जन्मेका। “कलिजुग कि सिता हुँ। मलाई लिन रावण आयो भने त्यस्को गेडा च्यापेर खसी बनाइदिन्छु,” मान्छेका मुखिन्जी हाक्काहाक्की भन्दै पुतना हाँसो छोड्थी। मान्छेका छोरीहरु रङगिला बुट टल्काउँदै हिड्थे। सिते गम्बुट ढल्काएर हिलोमा दौडिन्थी-छप्ल्याङ,छप्ल्याङ। गाँउमा एउटा हल्ला भित्रभित्रै फैलिएको थियो – ‘सितेले नै उकासेर डल्ले सार्कीकी छोरी प्रमिला र उमाकान्त पण्डितको छोरो भरत गाँउ छोडेर भागेका हुन।’ सितेको अगाडि चैँ कोही चुँइक्क बोल्दैन थे। बोलुन पनि के। काच्चै खाइ हाल्थी! मैले एकपल्ट जिस्काएर सोधेँको थिए-झन्डै मारिन। जे पनि गर्ने र जाँ जान पनि नडराउने स्वभावकी थि। होलीको दिन त झन बिजोगै पार्थी। सितेको हातबाट अबिर नदलिने त कमै हुन्थे। साँझपख जब जम्मै जना होली सकाएर नुहाइधुवाइ गरेर जिउको अबिर निखारेर सुकिलाहुन्थे तब सुरु हुन्थियो सितेको होली। अनेक अबिर र ढेडु रङ दलेर हेर्ननहुने गती पारीदिन्थी। राती फेरी नुहाउनुपर्थो। गाँउका बुढाबुढीहरुसँग चै खुब मिल्थी। जे भाका बुढाखाडा भेलापारेर अनेक भजन सुनाउँथी। टपरी गाँस्ने, बाती काड्ने, सिलोक भट्याउने – जम्मैमा निपूर्ण। तर्क गरेर उस्लाई जितुलाँ भन्ने शायदै कोही थिए। स्कुलमा हुने अन्तर सदनात्मक अनी स्कुल-स्कुल बिचहुने अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगिता र बाद्बिवाद प्रतियोगितामा सधैं फस्ट हुन्थी। एक्पल्ट ‘छोरीलाई शिक्षा कि सम्पत्ती’ शिर्षकमा उस्ले ‘सम्पत्ती’ को तर्फबाट चर्को बिबाद प्रस्तुत गरेकी थि। उस्ले चोर औलो प्रमुख अतिथीलाई ठड्याउँदै भनी – “प्रमुख अतिथी महोदय, हात्ती थोडै पढेर ठुलो भा हो? खै त यि उहिलेका बुढाबुढीहरुले स्कुल नटेकी, म्याथ-स्याथ केही नपढी पनि घरग्रिहस्थी चलाए त। औंला भाचीभाची भा पनि हिसाबकिताब मिलाए त। नपत्याए सोध्नोस उनिहरुलाई – व्रिद्धभत्ता कहिले आँउछ? कती आँउछ? ऐले सम्म कती आयो? के मा कती खर्च भयो? अब कती बाँकी छ? सब हिसाब देखाइदिन्छन, बिना क्याल्कुलेटर।” बिचरा अतिथी महोदयले मुन्टो अर्कैतिर बटारे। हाम्रोमा आएर घण्टौँ हजुरामासँग बात मार्थी-ठुल्ठुला स्वरमा। भन्थी – “अनी आमा तपाईंको र हाम्रो बाजेको मायापिर्ती चैँ कसरी बस्यो?” हजुरामा मरीमरी हाँस्नुहुन्थ्यो। धेरै भो मैले वँहा त्यसरी दिल खोलेर हाँसेको नदेखेको।
….
मैले केही भनेजस्तो लागेछ क्यारे -”हँ फेरी भन त बा” भन्नुभयो हजुरामाले। म झस्केर बर्तमानमा आइपुगेँ। “केही होइन” मैले भने।
“सुर्जे नारन काँ पुगे कुन्नी साँझबत्ती बाल्न अबेला त भा छैन नि?”
“छैन, छैन, दिउसै छ” मैले भने।
“अनी खोइ त सितेको कुरो के हो बताउँदैनस?”

“लौ त सुन्ने हो भने, अली कान थापेर सुन्नु” मैले भने।

“के रे बा?”

“कान थापेर सुन्नु भनेको क्या।”

“ल ल”

खै था छैन मेरो कुरा कती सुन्नुहुने हो र कती बुझ्नुहुने हो तै पनि मैले लामो सास तानेर भने -

“उमाकान्त पण्डित्को जिल्लाका सामान्य कर्मचारी भएपनी माथि केन्द्रसम्म पौँच छ भन्छन। मान्छेहरुलाई रिनपान,सापट चाहिएमा, भनेको ठाउँमा सरुवा गर्नुपरेमा, सोर्सफोर्स लाउनु परेमा उनैकोमा पुग्छन। खोइ कुन चैँ मन्त्रीको पर्सनल पूजारी पनि हुन रे। आफ्ना पौचले भ्याएसम्म भरतलाई खोजे, अझै खोज्दैछन। कोही ‘उमाकान्तले छोरो भेटे’ भन्थे। कोही ‘सार्कीकी छोरीलाई बेपत्ता पारेर छोरोलाई इन्डिया लुकाए उमाकान्तले’ भन्थे। खाँटी कुरो के हो कसैलाई था छैन। उमाकान्तलाई सोध्ने आँट कस्को? भरत र प्रमिला भागेको ४-५ दिनपछी चारजना ज्याङ्गा केटाहरुलाई मैले खुद उमाकान्तको घरमा देखेकोथेँ। अरुले पनि ति केटाहरुलाई देखेको सुनाए।

भरतले डल्ले सार्कीकी छोरी प्रमिलालाई भगाएको कुरो बनमा डढेलो लागे जसरी गाँउभरी सक्लियो। ओल्लोपल्लो गाँउमा पनि कुरो पुग्यो। सार्कीकी छोरी बाहुन केटोसँग भागेकीथी – त्यो चानचुने कुरा त हुने नै भएन। भरत र प्रमिला भागेको करिब एकहप्तापछी डल्ले सार्कीकी कान्छीछोरी बाटुल्की एकदिन एकाएक घरबाट हराइ। अत्तालिदै सार्की बुढाबुढी घरघर, चौकी-चौकी धाउन थाले-बालख छोरी खोज्दै। रातरात भर खोजे। भोलीपल्ट पनि छोरी घर आइन। सार्की बुढाबुढी को भोकप्यास सबै उढीसकेको थियो। नउडोस पनि कसरी। सुकेर सन्ठी भए जोइपोइ। हप्तादिन अघीमात्र १० बर्ष लागेकी थि रे। जन्मदैकी लाटी थि बाटुल्की। बोल्न सक्दिन थि, सुन्न सक्दिन थि। सार्की दम्पतीको सम्पत्ती भनेकै दुइटी छोरी त थे नि – प्रमिला र बाटुल्की। प्रमिलाले आफुखुसी गरेर हिंडेपछी त बाटुल्कीमात्र थि घरमा।

तेस्रो दिनको साँझ सङ्गी खोलामा माछा मार्न गाका गाँउका केटाकेटीहरु ‘लास, लास’ चिच्याउँदै गाँउ पसे। सारा गाँउ खर्लप्प उल्टिएर एकछिनमा सङ्गी खोला किनारमा जम्मा भए। म पनि दौडिए। दुईजना हवल्दार पनि त्याँ पुगेर घटनाको निरिक्षण गर्दैथे। एक किसिमको मेला नै लागेको थियो किनारमा। भिडले गर्दा नजिकबाट त हेर्न पाइन तर सार्की दम्पतीको चिच्चाहट, बिलाप निकै परपरसम्म सुनिन्थ्यो। भिड छिचोल्दै एउटा हवल्दार बाहिर आयो। उ फोनमा शायद रिपोर्टिङ गर्दै थियो – “साप, खत्त्तमै छ यहाँको स्तिथी। हामी याँ पुग्दा, लास आदी पानीमा, आदी तटको हिलोमा थियो-उदाङग शरीर। हामीले तानेर अली माथि ल्यायौँ। टाउकोतिर हिलैहिलो अनी कम्मर मुन्तिर त छ्यत्तबिछ्यत छ। रगतै रगत जिउभरी। जिउभरी निल्डाम छ। पानीले गर्दा लास फुलेर ढाडिएको बिरालोजस्तो भा’छ। लासको वरीपरी थुप्रै पदचाप थिए रे भिडलाग्नु अघी। मलाई त साप यो ‘ग्याङ रेप’ हो जस्तो लाग्छ।” उताबाट त्यो हवल्दारले के आदेश पायो कुन्नी फोन राख्नासाथ दौडेर गएर भिडलाई तितरबितर पार्नतिर लाग्यो। दुईचार जना मिलेर अल्लीपर खाल्डो खनेर बाटुल्कीलाई पुरे। छेउमा सार्की बुढाबुढी पुर्पुरोमा हात रखेर बसेकाथिए। शायद आफ्नो भाग्यलाई सराप्दैथे ति। बाँकी जम्मै घर फर्के। भोलीपल्ट देखी बाटुल्कीको कथा एकादेशको कथा भयो। त्यस्को हप्तादिनपछी सार्की दम्पती रातारात गाँउ छोडेर अन्तैलागे……।”
यती भनिसकेर मैले हजुरामालाई पुर्लुक्क हेरेँ। वँहाको आँखाका चेपचेप रसाएका थिए। दुबै हात पन्जाहरु कसिएर मुठ्ठी बनेका थिए। मेरो पनि गला अवरुद्ध भयो। एक घुट्की थुक घुटुक्क निल्दै सोधेँ – “सुन्नुभयो?”

“बुझेँ” बिस्तारै वहाँले भन्नुभयो। “अनी?” अझै सुन्ने इच्छा देखाउनुभयो।

मैले भने – सिते आफ्नी आमालाई लिएर बेङ्लोर गा’की थि जचाउन। उ फर्केर आएपछी बाटुल्कीको बलात्कारको खबर सब सुनेर रन्थन्नीदै चौकी पुगी। प्रमिला सितेकी मिल्ने साथी थि र उस्की बहिनी बाटुल्कीलाई खुब माया गर्थी। सिते अब उग्रचण्डी बनेकीथी। चौकीमा पुलिसलाई हात हालिछ। पुलिसको निरिहपन र निस्कृयता घचघच्याउदा पाउने पुरस्कार उस्ले पनि पाइ – दुईदिन थुनामा परी। सितेकी आमा छोरी छुटाउन पैसा माग्दै हाम्रामा आकीथिन। आमाले तीन हजार दिएर पठाउनुभयो र थप जोरजार गरेर सिते छुटी। “किन छुटाउन आको?” भनेर आमालाई उल्टै थर्काइरे! जेलबाट छुटेपछी पनि के चुपलागेर बस्थी। एकदिन रुद्रेको चियापसलमा एकाबिहानै गएर गाँउक ठुलाबडा भनौदालाई खुब झाटी। आफ्ना हातका चुरा खोलेर भनी रे – “मा कसम अब उप्रान्त म यो चुरा लाउदिन। यो तिमीहरुलाई मेरो उपहार भो। जाओ श्वासनीको फरियाभित्र लुकेर बस। भोली तिमेर्की छोरीचेलीको त्यही दसाभयो भने, के गर्छौ ए नामर्द हो?”

“हेर सिते तैंले जती चिच्याए पनि, यही सेरिएर मरिस भनेपनी केही हुनेवाला छैन। पौँच हुनेहरुले जे गरे पनि सहनुपर्छ। हामीलाई पनि आफ्नो परिवारको चिन्ता छ। हो त्यै चिन्ताले चुपलागेका हौँ। त पनि बिचार पुर्याएस,” चिया सुरुप्प पारेर पत्रीका पट्याँउदै चन्दन काकाले भने रे।
चन्दन काकाको कुरोमा हँ मा हँ थप्दै कुवेरदाइले भने रे – “सोर्है आना सही भन्नु भो चन्दनजीले। तलाईँ था नै होला सार्कीकी छोरी र भरतलाई उकासेर भगाउने तैँ होस् भन्ने हल्ला छ। खाँटी कुरो के हो त्यो तलाई नै था होला तर हामी तँ जस्तो जानी जानी अरिङ्गालको गोलामा हातहाल्ने पक्षमा छैनौ, बुझी राख। उ चन्दनजीले भनेजस्तै हामीलाई यो गाँउमा बाच्नु छ।”

चन्दन काका अनी कुबेरदाइको कुरो सुनेर सितेका आँखा राता भए रे। उ ठुलै स्वरमा ‘ह्वाँ ह्वाँ’ गर्दै रोइछे। एकछिनमै आँखाका आँसुहरु हातले पुछेर मिल्काइदी छे। अनी चियापसलकै एउटा भित्तोमा टाँगेर बेच्न राखेका पत्रीकाहरुतिर लम्केर पालैसँग पत्रीका थुत्तै चर्का स्वरमा भट्याउन लागि रे -

‘तीन वर्षपछी स्वदेश फर्केकी सिता राइको विमानस्थलका कर्मचारीले मिलेर दुई लाख रुपियाँभन्दा बढी कमाई लुटे र पछी प्रहरीबाट बलात्कृत…..’

‘लेटाङ-५ बस्ने एक बोल्न नसक्ने महिला बलात्कृत…’

‘दक्षिणी रम्घा ५, दुइपिप्लेकी एक १५ वर्षीया किशोरीको सामूहिक बलात्कार…’

‘दक्षिण भोजपुरको पात्लेपानी गाविसका दुई बालिका बलात्कृत…’

‘धादिङको मैदीमा एक ८ वर्षीया बालिका बलात्कृत…’

‘महोत्तरीको सिस्वाकटैया गाउँ विकास समितिमा गएराति बोल्न नसक्ने युवतीलाई बलात्कार…’

‘ललाइफकाइपछि यौन हिंसा…’

‘बारामा छ वर्षिय बालिकामाथी यौन दुर्ब्यवहार…’

‘इलाममा चालु आर्थिक वर्ष २०६९/७० को छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना…’

पत्रीका मान्छे भएतिर हुर्याँउदैँ “यस्ता घटना कती छन कती, अझै सुन्छौ? पढेर सुनाउँ?” भनेर सबका मुखमुखमा हेरी रे। कोही चुइक्क बोले त के। सबका टाउको भुइँतिर धसिएको थियो रे। सिते रोकिनेवाली का थि र। फेरी चर्किएर बोली -”कहिले सम्म? कहिले सम्म चुप बस्छौ? हरेकदिन यो चियापसलमा आएर चियाको चुस्कीसङै पत्रीका पढ्छौ, समाचार सुन्छौँ, हेर्छौ। ‘हत्या’, ‘अपहरण’, ‘बलात्कार’ का समाचार। चियाको चुस्कीको आनन्द लिदैँ जान्छौ अनी ति सबै दर्दनाक घटनाको समाचार पनि पढ्दै जान्छौ। तर अँह कसैको हात काँप्तैन, कसैको आँत काप्तैन। चियाको प्लेट हातबाट छुटेर खस्दैन। खै त हाम्रो सम्बेधनसीलता, करुणा स्रोत? मानव धर्म खै?”

अली नरम शब्दमा फेरी थपी – “यँहा बस्नुभएका सँग, चन्दनकाकासँग अथवा कुबेरदाइसँग मेरो कुनै दुस्मनी छैन। मैले यहाँहरुलाईमात्र अलग्याएर यो सब भनेकी होइन। तपाईंहरु म भन्दा जान्नेसुन्ने हुनुहुन्छ। सज्जन हुनुहुन्छ। मेरो बिचारमा यो सारा देशले बुझ्नु जरुरी छ कि खराब मान्छे धेरै छन त्यसैले यो समाज ह्रासोन्मुख भएको होइन, जो सज्जन छन ति निस्कृय छन त्यसैले ह्रासोन्मुख भएको हो। खराब मान्छेहरु संगठित छन, एकबद्ध छन – सज्जन छैनन। सज्जन सङ्गठित नुहुनाले आज यो पारीणाम देख्नुभोग्नु परेको हो! हामीलाई दुर्जनहरुको दुर्जनतासँग कुनै खतरा छैन हामीलाई त सज्जनहरुको निस्कृयाता सँग प्रबल खतरा छ। निभेको दियोको अध्यारो कोठामा केही महत्व हुँदैन। अन्धकारलाई गाली गरेर, सरापेर अन्धकार मेटिन्छ र?”

पसलमा सितेको बहस सुन्नेको जमात निकै ठुलै लागिसकेको थियो। केटाकेटी, तरुनी, आमा, बजै जम्मैले सुने रे। भिँडतिर दुई हात जोडेर हेर्दै उ भन्दैथी – “म सम्पूर्ण आमाहरुलाई यो निवेदन गर्दछु कि आफ्नो हुनेवाला सन्तानलाई आफ्नो दुधमा करुणा, दया र सध्भाव का साथसाथै आँट र सच्चाइवर्दक टोनिक पनि घोलेर पिलाउनु होला, बिन्ती!” एती भनेर उ त्याँ बाट हिडि रे। र यो नै उस्को जीवन अन्तिम वाक्य थियो।
….
लामो सुन्यता छायो। “सुन्नुभयो त?” मैले हजुरामालाई सोधेँ। एकछिन केही बोल्नुभएन। एकछिन पछी भक्कानिदै -”बुझेँ” भन्नुभयो फेरी। हजुरामाका हातका मुठ्ठी अघीका भन्दा दरा थिए। आँखामा कोशी बग्नथाले। मेरो पनि नाक रसाउन थाल्यो। गला अवरुद्द भयो। केही भन्न खोज्दैहुनुन्थियो सक्नुभएन र जुरुक्क उठेर कोठातिर पस्नुभयो। त्यतिकैमा एकहुल हावा आएर बाती कात्ने खरानीको थाली घोप्टाइदियो। आधाजती खरानी हावाले आँफैसँग लिएर भाग्यो। त्यो साँझ साँझबत्ती बालेर हजुरामा निकैबेरपछी मात्र पूजाकोठाबाट निस्कनुभयो। मेरो कोठामा आएर भन्नुभयो -”नाती, तेरो काकाले कान सुन्ने मेसिन पठाउनु अघी खबर गर्दे है, पर्दैन भन्दे।”

मैले केही भन्न नपाउँदै निस्केर जानुभयो। सधैं छिट्टै सुत्नुहुन्थ्यो। त्यो रात बाती कातेर छर्लङ पार्नुभयो। मलाई याद छ किनभने म पनि अर्को कोठामा सुत्न सकिराको थीइन। म सोच्दैथे सितेको कुरा। जसरी बाटुल्कीलाई मारे ठीक त्यसैगरी, त्यही ठाउँमा सितेको बलात्कार भयो। उ कती चिच्याइ होली, प्रतिकार गरीहोली….। यो देश किन ठुला मान्छेको पेवा भएकोहोला, राम्रा मान्छे किन नाटाएका होलान? एसो झकाउन खोज्थेँ, सितेको चिच्चाहट सुन्थे र झस्किन्थे। म साच्चै फुट्बल नै हो त? मेरो मस्तिस्कमा गाँउका दिदीबहिनीको फोटाहरु झल्याक्झुलुक आए। आफ्नै घरकी बहिनी आइ। नातागोता आए। मेरो माथा चाडकेलाजस्तो भयो र च्याप्प समाएँ। मैले मनमनै भने – “हे भगवान! आज म तिमीसँग केही माग्दिन। आज म तिमीलाई मेरो निर्णय सुनाउँछु – “म सिते र अरु कयौँ सितेहरुको लागि लड्नेछु। अराजकता र अब्यवस्थताको हिसाबकिताब मिलाउनैपर्छ नत्र ‘सिता’ र ‘सीते’ को यो देशमा कयौँ चेलीहरु गिद्देदृष्टिको शिकार हुनेछन। म पनि न्याय र कानूनी शासनका लागि गरिएको स्वतन्त्र नागरिक अभियानमा लाग्ने छु। ‘न्यायिक शासनको अभाबमा, राजनीतिक संरक्षणका कारणले दबाईएका अन्य आवाज र मुद्दाहरूलाई उठाई न्यायको खोजीमा सङ्घर्षसङ्ग जोडी सत्याग्रह गर्न’ म यो अभियानमा लाग्ने छु। अहिँसा र भद्रताका साथ न्यायको मागमा म पनि निरन्तर साथ दिनेछु। राष्ट्रब्यापी सत्याग्रह न्याय र न्यायिक शासन र महिला हिंसा बिरुद्धको भद्र राष्ट्रिय ऐक्यबद्धता हो। र अब हामी खोक्रो आश्वासनले मान्नेवाला छैनौ – Not this time!”
….

सबेरै पूजा सकेर हजुरामाले मेरो निधारमा टिका लाइदिनु भयो। र मेरो टाउकोमा हात राखेर आँखाको भाकाले ‘बिजयी भव’ को आषिक दिनुभयो। मेरो सोच अन्यकेही साथीहरुकोमा पसेर राष्ट्रब्यापी सत्याग्रहको बारेमा अझ बढी बुझ्नु-बुझाउनु र उनिहरुलाईपनी लाग्न आह्वान गर्नुथियो। म निस्किन मात्र लागेको थिएँ हजुरामाले पछाडिबाट बोलाउनु भयो “ए नाती, पख त बा”

वहाँले एउटा ठुलो झोला मेरो हातमा थमाउदै भन्नुभयो – “ला यो लगेर पसुपतीमा बालेश। लाख बाती पुराछन। लगेर सितेहरुको नाँउमा बालीदे। अनी बातीको आगोमा ति सब राक्षसलाई पोलिदे, खरानी बनाइदे।” म केही बोल्न सकिन। झोला समातेर सरासर बाटो लागेँ। मैले पछाडि फर्केर हेरिन तर मलाई था छ मेरी हजुरामाका ति बुढा आँखाले मलाई निकै पर सम्म हेरे, हेरिरहे….!

23 comments to ‘सीते’ – एक यथार्थ!

  • Nav raj shrestha

    साच्चै, मलाई त साह्रै राम्रो लाग्यो यो कथा l आखाँमा आँशु रसायो …काश सुन्नेले सुनी दिनु पर्यो यो कथा … best of luck dear writer ..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अनिल मिश्र

    कहिले सम्म? कहिले सम्म चुप बस्छौ? हरेकदिन चियाको चुस्कीसङै पत्रीका पढ्छौ, समाचार सुन्छौँ, हेर्छौ। ‘हत्या’, ‘अपहरण’, ‘बलात्कार’ का समाचार। चियाको चुस्कीको आनन्द लिदैँ जान्छौ अनी ति सबै दर्दनाक घटनाको समाचार पनि पढ्दै जान्छौ। तर अँह कसैको हात काँप्तैन, कसैको आँत काप्तैन। चियाको प्लेट हातबाट छुटेर खस्दैन। खै त हाम्रो सम्बेधनसीलता, करुणा स्रोत? मानव धर्म खै?
    मेरो बिचारमा यो सारा देशले बुझ्नु जरुरी छ कि खराब मान्छे धेरै छन त्यसैले यो समाज ह्रासोन्मुख भएको होइन, जो सज्जन छन ति निस्कृय छन त्यसैले ह्रासोन्मुख भएको हो। खराब मान्छेहरु संगठित छन, एकबद्ध छन – सज्जन छैनन। सज्जन सङ्गठित नुहुनाले आज यो पारीणाम देख्नुभोग्नु परेको हो! हामीलाई दुर्जनहरुको दुर्जनतासँग कुनै खतरा छैन हामीलाई त सज्जनहरुको निस्कृयाता सँग प्रबल खतरा छ। निभेको दियोको अध्यारो कोठामा केही महत्व हुँदैन। अन्धकारलाई गाली गरेर, सरापेर अन्धकार मेटिन्छ र?”

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • bibek dhakal

    धेरै समयदेखि बोक्दै आएको भारि एकछिन भएपनि बिसाउँदा पाएको आनन्द महसुस गरें मैले | लगभग एक बर्षदेखी यस्ता घटनाहरु पढ्दा पढ्दा , सुन्दा सुन्दा मेरो मनमा आगो बलिरहेको थियो तर त्यो आगोलाई कसरि कहाँ प्रस्तुत गर्ने सकिरहेको थिइन. आउन त पत्रिकाहरुमा दिनहु जस्तो महिला हिँसा बिरुद्द को लेख रचना पाठक प्रतिक्रिया हरु आइरहन्थे, फेसबुक मा यस्तै कमेन्ट हरु पढ्न पाइन्थ्यो, अकुपाई बालुवाटार को बारे पनि सुन्न पैन्थ्यो तर कतै पनि यस्तो सशक्त ढंगले आक्रोश र समाधान ब्यक्त गरिएको पाइन. लाग्थ्यो खालि ” औपचारिकता” मात्र पुरा भैरहेको छ.
    तपाइको कथा पढेपछि भने त्यो बल्ल अलिकति धित मर्यो…हो हाम्लाई “सिते” जस्तै पुतना हरु , हिदम्बा हरु आवस्यक छ , त्यो beauty paegent ले प्रोहोत्साहन गर्ने नाजुक पर्सन्यालिटि…अभिवावक हरुले पनि आफ्नो छोरी हरुलाई डान्स, फेशन भन्दा पनि मार्शल आर्ट तिर प्रोहोत्शह्न गर्नु पर्छ. छात्राहरुलाई मार्शल आर्ट निजि सरकारी सबैमा कम्पुल्सरी गर्नु पर्छ….बरु यो काम न काजको beauty paegents haru भन्दा sports ra martial arts competition हरु गर्नु पर्छ….
    अनि समाज लाइ आवस्यक छ बले जस्तो पात्र को ….यदि आवस्यक परे यस्ता बले हरुको अभियानमा साथ् दिन मा पनि तैयार छु !!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • Deepak

    बर्तमानको सामाजिक यथार्थ! यो कथामा राम्रा कलाकार राखेर चलचित्र बनाउने हो भने निकै हिट हुने देखिन्छ! कथाकारलाई बधाई !

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • alis

    धेरै राम्रो कथा छ . फेरी फेरी येसतै कथा को आसा गर्दछु

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • B. Adhikari

    सन्देशमूलक कथा

    कथा यथार्थवादी भन्दा पनि आदर्शवादी छ। कथा निकै सन्तुलित किसिमले लेखिएको छ। कथा राम्रो छ र सन्देशमूलक पनि छ। कथाकारलाई शुभ कामना।

    वी अधिकारी

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Ram

    सारै राम्रो कथा लागो मलाई त समय सान्दर्विक छ अब तपाई हामीले नै कहिँ गर्नु पर्छ यो देश मा……………मेरो सुभकामना छ तपाई लाइ

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • anrup

    while reading this story, y blood moves so strangely. we love our sisters and mothers. we need harsh punishment for those animals and lots of public awarness. सोसन मा परेकोले मुक्ति को गीत जान्दैन जसले जानेको छ प्रत्येक ठाउमा सुनाउने कोशिस गरौ. हामी सक्छौ

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Ram Sharma

    वर्तमान नेपाली समाजको तितो यथार्थमा आधारित सत्य कथा / धन्यवाद लेखकलाई !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • bibekanand

    वाह !!! यस्तो पो लेख !!! समय सान्धर्भिक यो कथाका कथाकार लाई मेरो सलाम छ / एस्तो कुरा जसले पढ्नु पर्ने हो उसले पढ्दैनन् र पो त समस्या पर्यो /कानुन को राज्य स्थापित नभए सम्म यो समस्या समाधान हुनसक्दैन / बलात्कार को समस्या समाधान गर्न त्येसका कारक तत्वहरु को पहिचान गरि मात्रै निराकण को उपाय निकाल्नु पर्छ / आखिर के के कारण ले बलात्कार गर्न प्रेरित हुन्छन ? यो नै सबै भन्दा महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • सार्है मन छुने गरि समाजको वास्तविकतालाइ चरितार्थ गरि दिनु भएकोमा धन्यबाद!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • sabita

    सीता पनि बलात्कृत भएर मरियिन? दुखः लग्यो..कथा मा नै भए पनि सीता बचेको भए हुने जस्तो लाग्ने..वास्तविकतामा मारिनु त छदै थियो..मौन रहनु त छदैछ .. कहिले सम्म कठै भन्दै चुक-चुकाएर..केवल रमिता हेरेर बस्नु पर्ने हो..खै?

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 2

  • Aryan

    एकदम राम्रो कथा , अब नातिहरूले केहि गर्नु छ देश र चेलीहरुको लागि

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 0

  • समय सान्दर्भिक मन छुने कथा….. कथामा जस्तै राष्ट्रब्यापी सत्याग्रहको बारेमा सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउनु पर्ने छ अब नेपालमा … सिते र धेरे अरु सिते हरुलाई अत्याचार गर्ने राक्षसलाई खरानी बनाउनु पर्छ अब…!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • Ratna Thapa Magar

    धन्यबाद, लेखको लागि,
    हाम्रो समाजका कुरुतिहरुलाई सटिक ढंगले उतार्नु सफल यो लेख गहकिलो छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • kedar

    सीता कसम …….. अब घर घर बाट लाख बत्ती बालिनु पर्छ र गाउँ गाउँ बाटै तेही आगोमा राक्षसहरु खरानी बनाउंदै जानु पर्छ अनिमात्र उमाकान्त बिहिन सिता र बाटुल्कीहरु सहज रुपमा बाच्न पाउने समाजको निर्माण हुनेछ /

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

  • shovakarbhusal

    so good .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • सुभ कामना छ एहालाई अघि बढ्नुहोस, गएर हजुर आमाले अह्राएको काम गर्नु होस् अनि दुष्ट अपराधीलाई सखाप पार्ने सफलता मिलोस

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • jagdish

    It is the real scenario of our country…so we must be united to fight against this type of problem.

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • pooja

    superb …

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • राजेन्द्र अधिकारी

    धेरै राम्रो !

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • Shyam

    ……समय सान्दर्विक छ यो कथा……मन पर्यो …….

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker