मेरो Tweet

  • गाजामा लाइभ रिपोर्टिङ गर्दैगर्दा विस्फोट भएपछि सिएनएन रिपोर्टर यसरी लुके http://t.co/aDvrwwUBxl

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

महाभारतको कथा र वर्तमान नेपाल

महाभारतको कथामा बर्णन गरिएका घटनाहरु वास्तबिक हुन‌ कि काल्पनिक भन्ने बारेमा तर्क बितर्क गर्न छाडेर अहिलेको लागि महाभारत एउटा उपन्यास हो भनेर मानौं। यो उपन्यासमार्फत् ब्यासले जे भन्न खोजेका छन्, जे सिकाउन खोजेका छन् त्यो सन्देसको परिप्रेक्षमा वर्तमान नेपालको राजनैतिक घटनाक्रमलाई राखेर हेर्दा देखिन आउने बिभिन्न परिदृष्यहरु प्रस्तुत गर्ने यो लेखको लक्ष्य रहेको छ।

महाभारत के भन्छ?
राजा दुष्यन्त र शकुन्तलाका पराक्रमी पुत्र राजा भरतले बिशाल भारतबर्षको मात्रै स्थापना गरेनन्, उन्ले असल राजाका कर्तब्यहरू पनि निर्धारित गरे। उनका अनुसार एउटा असल राजाका तीन कर्तब्य हुन्छन्: जनतालाई न्याय दिने (आन्तरिक सुसासन), जनताको सुरक्षा गर्ने (बाह्य आक्रमणबाट रक्षा) र त्यो दुबैको प्रत्याभूति गर्न सक्ने उत्तराधिकारी (अर्थात्, युवराज) दिने। आफ्ना छोराहरूमा यी गुणहरु नदेखेकोले एउटा जनताको छोरो भारतव्दाज ऊपमन्यूलाई उनले आफ्नो युबराज घोषित गरे।

हेर्नोस् महाभारत भाग १ का सुरुको करिब १२ मिनट पछिका दृष्य

त्यसै दिनदेखि राजा भरतले भारतबर्षमा ‘गणतान्त्रिक’ शासन प्रणालिको सुरुआत गरेका थिए, जसअनुसार भारतबर्षमा (अर्थात, हस्तिनापूरमा) जन्मको आधारमा होइन कर्मको, योग्यताको आधारमा राजा हुने प्रचलन बस्यो।

कालान्तरमा उक्त देशमा शन्तनु नाम गरेका राजा भए। उन्ले गंगासंग उन्को ब्यबहार बारे प्रश्न नगर्ने सर्तमा प्रेम बिबाह गरे र अन्तमा त्यही शर्त पालना नभएकोले गंगाले उनलाई छाडिन्। तर, गंगाबाट शन्तनुलाई साह्रै बिव्दान र बीर देबब्रत नाम गरेको एउटा छोरो प्राप्त भएको थियो। उन्ले देशको रक्षा गर्ने तथा न्याय दिने जस्ता योग्यताहरु आबश्यक समयमा प्रदर्शन गरेकोले राजा शन्तनुले उन्लाई कर्मकै आधारमा युबराज घोषित गरेका थिए। एक्ला शन्तनु फेरि सत्यवती नामकी अर्की युबतीसँग प्रेममा फँसे। सत्यवतीका पिताले बिबाहको लागि सत्यवतीको छोरा राजा हुनै पर्ने शर्त राखे। नैतिक हिसाबले उक्त शर्त स्वीकार्न नसकी शन्तनु खाली हात घर फर्के, तर उनी सत्यवतीको प्रेममा पागल जस्तै रहन थाले। आफना पिताको यस्तो बेहाल भएको जानकारी पाएका देबब्रत पिताको सेबा गर्ने कि देशको भन्ने मानसिक द्विबिधामा (conflict of interest) फँस्छन्। अन्तमा पिताकै सेवा गर्ने बिचारले देबब्रत आफै सत्यवतीका पिताकहाँ पुगेर आफ्नो सट्टा सत्यवतीका पुत्रलाई राजा हुने निश्चितता प्रदान गर्छन्। यसमा देबब्रतका सन्तानले पछि कुनै अबरोध खडा गर्नै नसक्ने आश्वासनको पनि माग भएपछि देबब्रतले आफू आजीवन अविवाहित र निसन्तान रहने प्रण गर्दछन। यो भीष्म प्रतिज्ञा गरेको हुनाले उनलाई भिष्म पनि भनिन थाल्यो।

हेर्नोस् महाभारत भाग ३ का अन्तिम ४ मिनेट-

भनिन्छ यो प्रतिज्ञाको सबैले प्रशंसा गरे। भिष्म प्रतिज्ञा गरेर देबब्रतले आफ्ना पितालाई उनकी प्रेमिकासँग त मिलाइदिए तर त्यसको साथै हस्तिनापुरमा कर्म र योग्यताबाट राजा हुने विधानलाई तोडेर जन्मको आधारमा राजा हुने परम्पराको पुन: सुरुआत गरिदिए। सम्पूर्ण देशलाईनै योग्य नेतृत्व पाउने अवसरबाट एकाएक बञ्चित गरिदिए। शासन बिधिमा गरिएको यस्तो जबर्जस्त परिबर्तन कसरी देशलाई घातक हुन सक्छ भन्ने परिदृष्य देखाएर गणतान्त्रिक ब्यबस्थाको पक्षमा समाजलाई सचेत गराउने लक्ष्य महाभारतको कथाले लिएको देखिन्छ।

जन्मको आधारमा राजा हुने परम्पराको (राजतन्त्रको) धेरै कमजोरीहरु मध्ये राजाले अयोग्य सन्तान जन्माउनु वा सन्तान जन्माउनै नसक्ने परिस्थिति हुनु पनि एक हो। राजाको सन्तान जन्माउने प्रक्रियामा कुनै प्रकारको त्रुटी हुन आएमा राजाका उत्तराधिकारीको ब्यबस्था कसरी होला, देशले कस्तो-कस्तो राजा पाउला, उत्तराधिकारी सम्बन्धी अरु कस्ता समस्याहरु उठ्लान र तिन्को बिधिबत समाधान कस्ता- कस्ता होलान् भन्ने बिबरणको पोको महाभारतको कथा हो।

यो श्रृङखलाको सुरुमा सत्यवतीका छोराहरु क्रमैले राजा त हुन्छन् तर सन्तान जन्माउनु अघिनै दुबैले मृत्युबरण गर्न पुगेकाले देशलाई राजा दिन रानीहरुले ब्यासको वीर्यदान लिनु पर्छ। यसै क्रममा दरबारको जेठो छोरो (धृतराष्ट्र) अन्धो जन्मेकोले ऊ राजा हुन अयोग्य हुन्छ। उसको भाइ (पाण्डु)ले राज्य पाउँछ। उसलाई पनि रानीहरूसँग सहबास गर्न नहुने श्राप पर्छ र ऊ वैरागिएर बनबास जान्छ। धृतराष्ट्र प्रतिनिधि राजा हुन पुग्छन। उता बनमा रहँदा पाण्डुका रानीहरुले पनि आफ्ना सासुले जस्तै शक्तिशाली पुरुषहरुबाट वीर्यदान लिएर पाँच सन्तान (पाण्डब) जन्माउँछन्। ती सन्तानहरु मध्येका जेठा, युधिष्ठिर, दरबारमा रहेका प्रतिनिधि अन्धो राजाका जेठो छोरो (दुर्योधन) भन्दा पनि जेठा हुन्छन्।

यहाँ आइपुगेपछि हस्तिनापुरको राजसिंहासनको असली हकदार दरबारबासी दुर्योधन हो कि बनबासी युधिष्ठिर भन्ने बिषयमा ठुलो प्रश्न खडा हुन्छ। दरबारबासी कौरबहरु (दुर्योधनहरु) बनबासी पाण्डबहरुलाइ (युधिष्ठिरहरुलाइ) आफुसरहको हकदार मान्न हिचकिचाउँछन। र, यो समस्यालाई बिभिन्न पात्रहरुका अभिमान र प्रतिशोधको भाबनाले कदम-कदममा यति धेरै जटिल बनाउदै जान्छ कि मान्छेको रुपमा आएका ईश्वरले (कृष्ण) प्रयत्न गर्दा पनि यस्को चित्त बुझ्दो समाधान निस्कन नसकेर महाभारतको युध्द भएरै छाड्छ। यो युध्दले गर्दा धनजनको अपार क्षति हुन पुग्दछ। यस्को सेरोफेरोमा कथाभित्रका घटनाक्रमहरु बढो रोचक ढंगले बिकसित हुन्छन, निकै ज्ञान-गुनका कुराहरू (गीता) पनि आउँछन् जस्ले यो उपन्यासलाई अजम्मरी बनाइदिएको छ।

यहाँनेर ध्यान दिन योग्य कुरा के हो भने महाभारतको कथाको मूलजरोमा देबब्रतले गरेको ‘भिष्म’ प्रतिज्ञा रहेको छ। यो प्रतिज्ञाले तात्कालिन बिधानको उलङ्घन गरेको छ। आफ्नो ब्यक्तिगत सन्तोषको लागि, अर्थात् आफ्ना पितालाई मनपरेकी श्रीमति ल्याइदिन, हस्तिनापूरको राजगद्दिको उत्तराधिकारी योग्यताको आधारमा छान्ने बिधानलाई देबब्रत अर्थात भिष्मले अभिमानपूर्बक परिबर्तन गरेर जन्मको आधारमा राजा हुने ब्यबस्था नगरेको भए महाभारतको कथाको सुरु र अन्त यस प्रकारको हुने नै थिएन भन्न सकिन्छ।

देशको राज्यसत्ता कर्म अर्थात क्षमताको आधारमा नभई जन्मको आधारमा प्राप्त हुने ब्यबस्था भयो भने, अरु कुरा त परै राखौ, राजामा हुन सक्ने प्रजनन् प्रणालीका दोषको (सन्तान जन्माउन नसक्ने बा अयोग्य सन्तान जन्मने) कारणले मात्र पनि त्यो देश र सभ्यताकै बिनाश निम्तन सक्ने सम्भाबना भएको ले महर्षि ब्यासले महाभारतको कथा मार्फत हामीलाई
(१) जन्मको आधारमा हैन कर्मको आधारमा शासक छान, र
(२) जतिसुकै पराक्रमी, बिद्वान र शक्तिशालि भएपनि ब्यक्तिगत लाभ वा स्वार्थ सिध्द हुने भएपनि देशको बिधाननै मिचिने (वा बदलिदिने) खालका निर्णयहरु एक्लै (वा २-४ जना मिलेर) लिनु हुन्न भन्ने सन्देश दिएका छन्।

औपन्यासिकनै भएपनि सायद महाभारतको कथा राजतन्त्र भन्दा गणतन्त्र उच्चकोटीको राज्य ब्यबस्था हो भन्ने खालको राजनैतिक चेतना फैलाउन लेखिएको पहिलो ग्रन्थ हुन सक्छ।

महाभारतको कथा र बर्तमान नेपाल
आफ्ना सार्बभौम अधिकारको लागि नेपाली जनताले गरेको धेरै लामो संघर्षले २०६२-६३ को जन आन्दोलन पश्चात १२ बुँदे समझदारी, बृहद शान्ति संझौता आदि हुदै नेपालको अन्तरिम संबिधान २०६३ मा आइपुगेर लोकतान्त्रिक बाटो पक्रन थाल्यो। त्यस बखत सक्रिय सबै राजनैतिक दलहरुले प्रतिनिधित्व गरेको बिद्रोही राजनैतिक शक्ति नेपालको अन्तरिम संबिधान २०६३ मा मिसाउने र बिसाउने सर्बसम्मत निर्णय भयो। राजनैतिक सहमतिमा बिघटित संसद ब्युँताइयो र संसदबाहिर रहेका राजनैतिक शक्तिको पनि प्रतिनिधित्व गराउन सदस्य संख्या थपियो। यसरी बनेको संसदले अन्तरिम संविधान २०६३ पारित गर्‍यो। देशबाट २५० बर्ष पुरानो राजतन्त्र समाप्त भयो र नेपाल संघीय गणतन्त्र घोषित भयो। सबैले बिधानको सर्बोच्चता स्वीकार गरे अर्थात् सबै दलहरुका आचरण, ब्यबहार र कार्यक्रमहरु अन्तरिम संबिधान २०६३ मा ब्यबस्था भए अनुसार हुने भयो।

संघिय गणतान्त्रिक नेपालको संबिधान लेख्न अन्तरिम संबिधान २०६३ मा ब्यबस्था भए अनुसार एक समाबेसी संबिधान सभाको निर्बाचन भयो। यो सभाले समयमै बिधान दिन सकेन, सभाको कार्यकाल थप्ने र बिधान निर्माणमा भन्र्दा सरकार बनाउने र भत्काउने प्रक्रियामा सभासदका समय खर्च हुन थाल्यो। बिधानमा अभिनिश्चित समय भित्रै यो सभाले या त संबिधान दिनू या धारा ६३ अनुसार अर्को चुनाब गर्नु भन्ने आदेश २०६८ साल मंसिर ९ गते सर्वोच्च अदालतले दियो। यो आदेश अनुसार २०६९ साल जेठ १४ गतेसम्म संबिधानसभाको कार्यकाल तोकियो। यो परिस्थिति सबैलाई थाहा हुँदाहुँदै पनि संबिधानसभाले समयभित्रै बिधान दिन सकेन, संबिधानसभाको कार्यकाल जेठ १४ मा सकियो।

कार्यकाल समाप्त हुनै लागेका बेला प्रधानमन्त्रीले संबिधानसभाको अर्को निर्बाचनको लागि २०६९ मंसिर ९ गतेको मिति तोकिदिए। जेठ १५ गते देखि प्रधानमन्त्री सभासद नरहेकोले सोहि दिनदेखि पदमुक्त भएको र बिधानमा ब्यबस्था भए अनुरुप अर्को मन्त्रिपरिषद गठन नभएसम्म कार्य संचालन गरिरहने जानकारी जेठ १६ गते राष्ट्रपतिले सार्बजनिक गरे।

यदि सबै दलहरु निर्बाचनमा गएको भए र राष्ट्रपतिले आबश्यक पर्ने कानुनी ब्यबस्था मिलाउन सहयोग गरेको भए देशले गत मंसिरमा नै संबिधानसभा र नयाँ सरकार पाइसकेको हुन्थ्यो। यतिखेर देशको प्रधानमन्त्री डा भट्टराई नभएर शुशिल कोइराला, झलनाथ खनाल वा अन्य कोही भएको पनि हुन सक्थ्यो। तर एमाले-काङ्ग्रेसले भट्टराईको नेतृत्व अन्तर्गत निर्बाचनमा जान अस्वीकार गरे भने महामहिम राष्ट्रपतिले राजनैतिक सहमति नभइन्जेल सरकारले प्रस्तुत गरेका अध्यादेशहरु स्वीकृत नगर्ने अडान लिए। एमाले-काङ्ग्रेसले डा भट्टराईको राजिनामालाई सहमतिको सरकार गठनको पूर्वशर्तको रुपमा प्रस्तुत गरे।

प्रधानमन्त्रीले राजिनामा दिए पनि फेरि कामचलाउ भइरहने हुनाले अन्तरिम संबिधान अनुसार पदमुक्त भइसकेको प्रधानमन्त्रीले राजिनामा दिनुको कुनै खास अर्थ थिएन र अझै छैन। एमाले-काङ्ग्रेसले प्रधानमन्त्रीको राजिनामालाई सहमतिको पूर्ब शर्तको रुपमा किन प्रस्तुत गरे त्यसको जबाफ यि दलका शीर्ष नेता हरुले जनतालाई मात्र हैन आफ्नै दलका अरु नेता तथा कार्यकर्ताहरुलाई छिट्टै नै दिनु पर्नेछ। त्यसमाथि, बिधान अनुसार प्रधानमन्त्री हुन ब्यबस्थापिका-संसदको सदस्य भएको हुनु पर्दछ, त्यो योग्यता पुगेको कुनै नेपाली नागरिक नभएको हुनाले नै राष्ट्रपतिले मंसिर १० गतेदेखि पटक पटक आह्वान गरेको ३८(१) अनुसारको सहमतिको उम्मेद्वार निस्कन सकेन।

स्पस्ट छ, अन्तरिम संबिधान संशोधन नगरी निर्वाचन अघिनै अर्को प्रधानमन्त्री नियुक्त गर्न सम्भब छैन। र, संबिधान संशोधन गर्न सक्ने निकाय भंग भएका बखत संबिधानको बिधिबत् संशोधन संभब पनि छैन। यो सब एमाले-काङ्ग्रेसलाइ थाहा हुँदाहुँदै संबिधानसभाको निर्बाचन अघिनै डा भट्टराईलाई कामचलाउ प्रधानमन्त्रीबाट किन हटाउनु परेको हो त्यो रहस्यमयनै छ। किनकि निर्बाचनको स्वच्छता को प्रधानमन्त्रीको कुर्सीमा छ भन्नेमा मात्र निर्भर गर्दैन। निर्बाचन आयोगले निर्बाचन गराउने हो। यसरी हेर्दा अहिलेको संबैधानिक संकट एमाले-काङ्ग्रेसले खडा गरेको हो भन्दा फरक नपर्ने देखिन्छ।

यहाँनेर आएपछि महाभारतको कथामा सत्यबतीका पिताले शन्तनुसँग राखेको माग र एमाले-काङ्ग्रेसले निर्बाचनमा जान राखेको अडानमा एकरुपता भेट्न सकिन्छ। दुबैले राखेको माग प्रचलित संबिधानबिरुध्द छन। तिनका माग पुरा गर्न संबिधान उल्लङ्घन गर्नै पर्दछ। महाभारतको कथामा देबब्रतले सदाको लागि आफ्नो अधिकारको तिलाञ्जलि दिएको ‘भिष्म’ प्रतिज्ञा गरेर देशको बिधान मिचे र आफ्नो बाबुको बिहे गराए। बर्तमान नेपालको परिबेसमा एमाले-काङ्ग्रेसको माग पुरा गर्नका लागि अन्तरिम संबिधानको बार भत्काउन कुन ‘देबब्रत’ आएर आफ्नो भबिष्यको बलिदान दिएर भिष्म प्रतिज्ञा गर्ला त? बिधानको बार भत्काएपछि चोर पस्न सक्छ र परिणाम महाभारत प्रकारको बिनाश हुन सक्छ। यसको पछाडि चोरको योजना पनि हुन सक्छ, खबरदार!

अहिलेको परिस्थितिमा नेपाली राजनीतिको क्षितिजमा तीनबटा गोरेटा देखा परेका छन:
(१) सत्यबतीको पिताले परिस्थितिको सही मुल्यङ्कन गरेर आफ्नो अडान छाड्ने, अर्थात एमाले-काङ्ग्रेसले निरर्थक राजिनामाको माग छाडेर अहिलेकै सरकारमा सामेल भएर वा सरकारलाई समर्थन गरेर जेठमा निर्बाचनमा जाने। देशले असार १ मा नया संबिधानसभा र सरकार पाउछ। अर्को ३ महिना डा भट्टराई प्रधानमन्त्री हुँदा देशलाई के नै नोक्सान भई हाल्ला र?

(२) चार दलका शीर्ष नेताहरुले बाधा अडकाउ मात्र किन आफै बिधायिका-संसद जस्तो गरेर संबिधानमा मनग्य संशोधन गरी अबदेखि ‘हामी-चार’ ले चाहेको जो पनि प्रधानमन्त्री हुन सक्ने भन्ने वा सो सरहको प्राबधान राखेर डा भट्टराईलाई ‘देबब्रत’ जस्तो बनाएर राष्ट्रपतिलाई धारा १५८ प्रयोग गरी संबैधानिक स‍शोधन गरिदिन ‘भिष्म प्रतिज्ञा’ युक्त सिफारिस गर्ने। त्यसपछि सत्यबतीका छोरालाई राजा बनाए जस्तै सर्बोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशलाई संशोधित बिधान अन्तर्गतको पहिलो प्रधानमन्त्रिमा नियुक्त गर्ने। त्यसपछि कस्को हिम्मत यो संशोधनलाई असंबैधानिक भन्ने? तर, यहाँनेर यो पनि बिर्सनु हुन्नकि यसको परिणाम महाभारतको जस्तै बिनास पनि हुन सक्छ। किनकि, जसरी सत्यबतीका छोराहरु नि:सन्तान भएर अनेक समस्या खडा भए त्यस्तै नयाँ प्रधानमन्त्रीले पनि निर्बाचन गराउन नसकेर देशबिदेशका शक्तिशाली महापुरुषसँग बीर्यदान माग्न पर्ने हुन पनि सक्छ। किनकी यसरी बनेको सरकारले निर्बाचन गराउन सक्ला भन्नेमा शंकै छ। यो असंबैधानिक प्रस्ताब कार्यान्वयन हुनु अघिनै चारैतिर बाट घनघोर बिरोध सुरु भइसकेको छ।

(३) महाभारतको कथामा जनताको कुनै भूमिका नदेखिए पनि आजको नेपालमा देखिन सक्छ। अथवा, चार दलका शीर्ष नेताहरुले चाहे जस्तै किसिमको सरकार गठनलाई अदालतले रोकिदिन सक्छ, प्रधानन्यायाधिशबाट अझै अस्वीकृत हुन सक्छ वा अन्तरिम संविधानको संरक्षण गर्न तथा संबैधानिक सर्बोच्चताका लागि दलका दोश्रो पंक्तिदेखि कार्यकर्तासम्म उठ्न सक्छन। जसले गर्दा देबब्रतको जस्तो देशघाति काम गर्न कुनै नेता तैयार नहुन सक्छन्। फलत: संबिधानको नक्कली भएपनि संशोधनको घोषणा नहुन सक्छ र प्रधानमन्त्री बदल्न चाहनेका लागि आन्दोलनमा नै जानु पर्ने हुन सक्छ। प्रधानमन्त्री बदल्न चाहने शीर्ष नेताहरुको नियतमा प्रश्न उठिसकेकोले अब यिनीहरुको नेतृत्वमा जनता आन्दोलित हुने संभाबना ज्यादै कम छ। निर्बाचन पनि नहुने, सरकार पनि नफेरिने अबस्था लामै समय सम्म रहन पनि सक्छ।

दोश्रो बा तेश्रो गोरेटोले कहाँ पुर्याउछ त्यो यसै भन्न सकिँदैन। तर यदि जेठभित्र चुनाव हुन सकेन भने एमाले-काङ्ग्रेसका दोश्रो पंक्तिका नेताहरु र अरू कार्यकर्ता मिलेर नयाँ नेतृत्वको खोजी भने अबश्य गर्ने छन्। पहिले गोरेटो संबिधानसम्मत छ, यस अनुसार निर्बाचनमा जान संबिधानमा संशोधन आबश्यक छैन। जहाँ अस्पस्टता छन् त्यहाँ अदालतबाट ब्याख्या गराइमाग्ने संबैधानिक ब्यबस्था छँदैछ। अहिले बिकसित भइरहेको परिस्थितिको परिप्रेक्षमा काङ्ग्रेस-एमालेका नेताहरुले यो गोरेटोको बारेमा एक पटक फेरि सोच्न जरुरि देखिएको छ। के डा. भट्टराईको राजिनामा निर्वाचनमा जान साँच्चै नै त्यति सारो आबश्यक छ त?

20 comments to महाभारतको कथा र वर्तमान नेपाल

  • sajana

    लेख राम्रो लाग्यो . ठिक माहाभारतमा जस्तै छ अहिलेको नेपालको अवस्था पनि. लेखमा गरियको तुलना राम्रो लाग्यो. लेखको अन्तमा भने लेखक अलि बढी नै निराष भय जस्तो देखिन्छा. तेती धेरै निराश हुनुपर्ने अवस्था होइन र छैन. पहिलो गणतन्त्रको प्रारम्भ भयको तार्किक बयान रोचक लग्यो . हुनपनि हो नि त्यो कुरा जब जनताको छोरो नै देशको प्रमुख भयको थियो. त्यस्मा पनि योग्ताको आधारमा सरकारको प्रमुख भयका थिय.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    लेख राम्रो छ/ नेता र राजनीति विगत भन्दा खराब हुदै जादै छ/ इतिहास इतिहास नै हो तर सयौं वर्ष पहिले र आधुनिकताको अहिले उस्तै हुनु लाज र सरम को कुरा हो/ राजनीतिमा अति नै निरासा छाएको छ/ यसको जिम्मेवारी राजनीतिका पछि दौडिएका युवा नेता र नागरिक समाजको पनि हुनु पर्ने हो/

    जनताको भविस्यमा खेल खेल्नु, अर्को महाभारत लेखिनु हो/ यो महाभारत कलंक का रुपमा हुने भएकाले नेता जी , युवा नेताहरु, विद्वान वर्ग र नागरीक समाजले समयमा ध्यान दिए हुने थियो/ कमल थापा(साउदी अरब)

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • योगेश आदी

    सधै झैँ सार्है ज्ञानबर्दक लेख्नु भएको छ, डा.होम्मुर्ती सरले..

    जुनसुकै दलको नेतृत्वमा भएपनि चुनाबमा जानु नै देशको संकट मोचन हो भन्ने कुरामा अब शंका त रहेन; तर कांग्रेस एमालेलाइ, माओबादी सर्बसत्ताबाद तर्फ पुग्ने सोचको साथ् मैदानमा आएको हुनाले र अधिनायकको हातबाट लोकतन्त्रको घांटी रेटिने डरले शंका उब्जिनु गलत पनि होइन !!
    महाभारतमा गंगेले गरेको प्रतिज्ञाको कारण समस्या खडा भएको भन्दा पनि अन्धो हुदैमा राजाको योग्यताबाट बन्चित गराइएको कारणले जड रोपेको थियो / भलै लोकतान्त्रिक पद्धतिमा त्यो नभएपनि, विधिलाई भंग गर्ने काम त पाण्डुलाइ अगाडी ल्याएर भएको थियो /
    अब के नेपालमा अस्तित्वमा नै नरहेको अन्तरिम संबिधानको धारालाई जोगाउने प्रयास मै मुलुकलाई संकटग्रस्त बनाइराख्ने त ? संविधानको गलत विश्लेषण र घुमाउरो प्रयोग गर्नु भन्दा त बरु सबै दलहरुको बहुमतमा चुनाबी संविधानको खाका तयार पारेर, शक्ति सन्तुलनको लागि, साना दलको नेतृत्वमा चुनाब जतिसक्दो चांडो गर्दा नै लोकतान्त्रिक मान्यताको कदर होला कि ?!!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • surbir

    लेखले उठेका कुरा सहि हो ; अहिलेको सहज र उपयुक्त निकाश नै बाबुरामको सरकारले चुनाब गरौअन दिनु नै हो . त्यमथिका कुरा तपसिलका कुरा हुन भन्ने मलाई पनि सुरुदेखि लागेको हो . यहाँ त स्यालको हुएयाजसतो एकोहोरो आबाज निकाल्नेहरुले कानको जाली फुटाउने भय . बोल्यो भने बाबुरामको पुछर माओबादी भानिदियापछी भैहाल्यो. तर सहि कुरो चाही अन्तरिम सरकारले नै चुनाब गर्ने संसारमा चलिआएको चलन हो. यसमा यो या त्यो को बाहानामा देशमा भाडभैलो ल्यौअनेहरुको गोटी बन्नु thik chhaina. Jati dherai दिन transition मा देश gayo tyati देशमा दुर्गति आउने निश्चित छ. देशभन्दा पनि आफ्नै बढी चिन्ता गर्ने नेताको कारण नेपालीले दुख पायको हो. आरु बढी दुखका दिन त आउनुनै छ जस्तो लग्छ नेपालमा.
    .

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • suresh panta

    हैन हाम्रा मएसंसर का पाठकलाई कमेन्ट गर्न कति हतार हुन्छा राम्रो संग लेख नपढी. हुन त यो लेख कुनै नेपाली फिल्मको कमेन्ट परेन, न त कुनै यात्रा विवरण येसो scan गर्यो अनि कमेन्ट ठोक्यो. अर्थ बुज पासा अर्थ , शब्द शब्दमा अर्थ लुकेको हुन्छा . किन हाम्रा सभासद जस्तो, नेता भनौदा जस्तो हुने कुरै नसकिकन , कामगर्ने नपाई बिरोध गर्ने थाल्ने, समय देउ, हेर, बुज अनि कमेन्ट गर न mates???

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3

  • Prasad

    भनेछी वीर्यदानको परम्परा महाभारत काल देखि नै चलि आएको रहेछ|
    राणा र शाह कालका केही सन्तानका नाक नक्सा हेरेर कति बीर्य ट्रान्सफर भएको
    त्यो सहजै अनुमान गर्न सकिन्छ| सायद नंया नेपाल त्यस्तै हुनपर्ने हो|

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • madan bajracharya

    महाभारत कथाको धार्मिक महत्वो त् छ/ तर यो कथामा बिस्वास गर्ने भारत र नेपालका शासक बर्ग पनि महाभारतकै पात्रहरु जत्तिकै सत्ताको लोभी बने/ महाभारत कथा राजनीतिमा आधारित छ/ त्यो महाभारत कथाको राजनैतिक बिस्ल्लेसन गर्ने हो भने त्यो कथा नै विकृत नेता जन्माउने कारण बनेको थियो र बन्दै आयकोछ भनेर भारतलाई महा भारत मान्ने हाम्रा नेताहरुले देखाउंदै आयकैछ/

    महाभारतमा उल्लेखित भारतको सिमानालाई नियालेर हेर्ने हो भने तेस्ले समस्त भारतीय उपमहाद्वीपको प्रतिनिधित्वो गर्दैन/ महाभारतको साम्राज्य भित्र नेपाल तेतिबेला पनि नपर्नु हाम्रो नेपालको निमित गौरवको कुरा हो/ महाभारतको घटना नेपालको पहिलो किराती राजा यलम्बर हुँदा घटेको भनिन्छ/ महाभारत युद्धको निमित आफुलाई बिस्वको सम्राट भन्ने तत्कालिन महाभारतको सम्राटले नेपालको राजा यलम्बरलाई आमन्त्रण गरेको थियन/ तर महाभारतको युद्ध हेर्ने आफ्नो ईछ्या यलम्बरले दवाउन सकेन र उनि महाभारतको युद्ध हेर्न भारत भनिने हस्तिनापुर गयो/ कृष्णले हाम्रो राजा यलम्बरलाई पछाडी बात प्रहर गरेर टाउको छिनालेर मारे/ भारतको कृष्ण हरुले स्वतन्त्र नेपालको राजाहरुलाई मर्ने क्रम अझै नटुटेको कुरा बिरेन्द्रको सपरिबारको हत्या बात पनि प्रमाणित हुन्छ/ यसले पनि देखाउंछ कि भारत सिट नेपाल जत्ति टाढा रहन सके मात्रै नेपाल र नेपालको रास्त्र्वादी नेताहरुको असल हुन्छ/ कृष्णले काटेको नेपालको राजा यलम्बरको टाउकोलाई ईश्वर मानेर पुजिने ने मन्दिर काठमान्डू इन्द्रचोकमा छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 5

  • dnes

    समय सान्दर्भिक बैचारिक र खोज मुलक लेखका लागि लेखक लाई धन्यवाद नेपालमा राजनीतिक दलहरुले देवब्रत ले जस्तो भिस्म प्रतिज्ञा गर्न नसके पनि गंगा ले आफ्नो सन्तानलाई हत्या गरे जस्तो देसको बिनास नगरुन नत्र एकदिन उनीहरु लाई पनि जनताले धुलो चटाउनेछन

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • suresh panta

    नेपाल टिवी बाट फेरि दिनको एकपल्ट महाभारत प्रसारण गर्नु पर्यो साथ साथै कथाले भन्न खोजेको वास्तविक संदेश नेपालीमा अनुबादपनि.
    डा. पन्तलाई एस्तो सन्देस मुलक समाचार को लागि धेरै धन्यवाद तर दिमागमा गोबर भरिएका, औठा छाप धेरै जसो हाम्रा नेताहरुलाई एस्तो कुरा को अर्थ के थाहा र? भेडाको जस्तो आचरण भएका लाई जसले जे भन्यो तेही ठिक. –

    नेपाली ठिटो
    अस्ट्रेलिया

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 4

  • abhi

    Dr साब ले तर्क को नाम मा केहि कुतर्क गर्ने कोशिश गर्नु भएको छ. शब्दको जाल छिचोल्न नसक्नेहरु त वाह वाह गर्दै गर्छन र Dr साब अर्को येस्तै लेख लेख्न सुरु गर्नु हुञ्छ, तर समस्या को सुरुवात बाबुराम ले एकलौटी, गैरकानुनी र असंबैधानिक रूपमा चुनाब को घोषणा गरेपछि भएको हो भन्ने बुझ्न कानून मा PhD गर्नु पर्ला जस्तो लाग्दैन. येह संबिधान मिच्ने काम को सुरुवात त, बाबुराम ले गरेका हुन्, न कि बाबुराम लाइ सत्ता छोड्नोस भन्ने हरु ले.

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 18

    • Soyag

      अभि जी हुनत तर्क लाइ खण्डन गर्ने सभ्यता हामी नेपालीहरुले सिकेकी छैनौ . तपैले लेखक को प्राप्त डिग्री लाइ उधृत गरेको र नेपालका तेताले पटक बाबुराम को पिएच्दि लाइ भासनै पिछे उधृत गर्ने गरेको कुरा यूटी असभ्यता को प्रदर्शन हो . लेखक को पिएच्दि कुनै बिषयमा होला तेस्मा टाउको दुखाउनु पर्दैन . यो लेखमा उनले जे लेखे तेसैलाई मात्र छलफल गर्दा तपाई लाइ केहि फरक पर्छ र ?

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • स्वयम्भु सौरभ उपासक

    हाम्रो सामान्य अन्तर दृष्टिले के देख्छ भने , भूतपूर्व विशाल दलहरुले विगतको चुनावमा बेहोरेको लज्जास्पद हार को ‘हंगओवर’बाट अहिले पनि उनीहरु मुक्त हुन् सकेका छैनन् / जसरी यौटा जन्द्याहाले , आफ्नो रीस पोख्न शत्रु अगाडी नभए तापनि भित्तामा लात्तीले हानेर फुर्ति निकाल्छ ; बस त्यहि ‘लघुताभास’ को रोगले पीडित ‘बडे’ दलहरुको मूढता मात्र हो यो /

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 5

  • Prakash Nepal

    होममुर्तिज्यु
    बहुत गहन, बौद्धिक र सान्दर्भिक लेख लेख्नु भो | धन्यवाद |

    हामी नेपालीहरु सबैलाई दुखको कुरा के भने हामी जनताले कुनै बिना स्वार्थको नेता जन्माउन सकेनौ | सबैले राम्रो कुरा गरेर जान्छन र देश, जनता र गाउलाइ बिर्सेर चुर्लुम्म आफ्नो स्वार्थमा लिप्त हुन्छन | जब मान्छे स्वार्थमा लिप्त हुन्छ, उसले के सहि, के गलत छुटयाउन सक्दैन | अहिलेको समस्या भनेको तेही हो | नत्र भने यो काम चलाउ सरकारको बेलामा प्रधान-मन्त्रिको कुर्ची मात्रै ताक्नुको अर्थ के ? यति बेला त कुर्चीको कुरा छोडेर चुनाव कसरि गराउने, देशलाई कसरी निकास दिने भन्ने कुरा महत्वपूर्ण होइन र?

    दुर्भाग्यबश नेताहरुलाई कसैलाई पनि देशको चिन्ता भएन | सबैलाइ कसरि कुर्ची हत्याउने भन्दा बढी केहि सोच्न सक्ने क्षमता भएन र देशले यो दुर्गति भोग्नु पर्यो | यस्तो बेलामा कमसे कम केहि समयकोलागि देश र जनता सम्झेर आफ्नो स्वार्थ अलि पर सर्न सकिन्न?

    हुन त कसलाई दोष दिनु र ? यो देशको शिक्षा पनि तेस्तै छ| जो जाचमा फेल हुन्छ, राजनीति गर्ने जिम्मा उसैको हुन्छ अर्थात् अरु केहि उपाय भएन र जिन्दगि बर्बाद हुन थाल्यो भने अन्तिम लौरो भनेको राजनीति | न त राजनीति बारे कुनै स्कुले शिक्षा हुन्छ, न त कुनै ट्रेनिंग, अनि यसरी जन्मेका नेताहरुले सडकमा टायर नबालेर, रेलिङ्ग न भत्काएर के गरुन? अरु जानेका नै के हुन्छन र ? अनि उनीहरुबात के आशा गर्ने ?

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 6

  • Rames, Korea

    डा. होममूर्ति पन्त’s political analysis is 100% correct. I hope this analysis will be helpful to those so called leaders of Nepal. All the ways of analysis is perfect matching and may this analysis could be one of the solution for breaking present deadlock and could be helped to track the shining path for Nepal.

    Hope to see and read more this type of analysis.

    Thanks

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 6

  • Ekraj

    मैले बुझेको केहो भने, अहिलेका सिखंदिको बुद्धी भएका पाखण्डी नेताहरु सबैले महाभारत एकपटक मात्र होइन दोराही तेहराई हेरे होलान| आदर्श सिक्न, सभ्य र नैतिकवान बनेर गणतन्त्र को मान्यता जोगौना होइन, महाभारत भित्र रहेका खल नायकहरुको धुर्त्याई, छल, कपट र फतहगिरि सिकेर, लोभ को भाँडो भर्ना मानबले गर्ने नहुने नीच र भ्रस्ट किर्या कालाप गरेर राज्य हाक्ने महत्ताकंक्ष्या राखी राख्ने र देश डुबाएर जनालाई दुखदिने/ सबै सिखंदी र दुर्योधन हुन् इनिहरु|

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • एक्कासौ सताब्धीमा महाभारत ? रामायण,महाभारतको सिदान्तले राजनिती गर्‍यो र जनताले त्यस्तै राजनितीलाई समर्थन गर्‍यो भने नेपाली जनता सबै बनबास जानु पर्ने हुन्छ ।

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 17 Thumb down 68

    • Kevin

      महाभारतबाट राजनीतिको लागि धेरै धेरै पाठ लिन सकिञ्छ l एककासौ मात्र होइन
      जुनसुकै शताब्दीको लागि यसबाट धेरै कुराको ज्ञान लिन सकिन्छ l

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 3

    • Prakash Nepal

      अनोज जी
      तपाइले लेख नै नपढी कमेन्ट गर्नु भए जस्तो लाग्यो नि ?

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • Sisir

    संबिधान सभाको निर्बाचन र अद्यावधिक निर्बाचनमा फरक देख्नु भएन जस्तो लाग्यो लेखक महोदयले … बक्र चालमा चल्ने नेपाली राजनीतिको सफात ब्याख्या हुन सक्दैन .. संबिधान सभाको निर्बाचन कुनै एक व्यक्ति वा पार्टीको लहडले हुने होइन , येस्मा राजनीतिक दलहरुको व्यापक समर्थन र सहभागिता चाहिन्छ … यो सरकारले अन्तरिम संबिधानको कुन धारामा टेकेर संबिधान सभाको दोस्रो निर्बाचन घोसना गर्यो , कि हाम्रो अन्तरिम संविधानले त्यो अधिकार पनि बाबुरामलाई दिएको थियो ? एस्तो ऐतिहासिक निर्बाचन गर्न बृहत राष्ट्रिय सहमति चाहिदैन र ? हो संबिधान मिच्ने कामको पहिलो कदम येहीबाट सुरु हुन्छ, नभएको अधिकार प्रयोग गरि निर्बाचन घोसना गर्नाले , र यो काम यो सरकारले जानी जानी गरेको हो आफ्नो प्रभुको इसारामा .. के यो सरकारलाई आफुले घोसना गरेको चुनाब संबिधान संसोधन नगरी गर्न सम्भब छैन भन्ने कुरा थाहा थिएन र ? किन सरकारमा समिल अन्य दलसंग समेत सल्लाह नगरी निर्बाचन घोसना गरे त ? गुह्य कुरा त यहाँ छ नि , कपट त यहाँ छ नि ? सड्यन्त्रको भरमा नया नेपाल त पक्कै बन्नेवाला छैन .. एस्तो अबस्तामा निर्बाचन हुने हो भने सद्दाम हुसेन र परबेज मुसरफले चुनाब गरेर ९५ – ९८% मत आफ्नो समर्थनमा रहेको नाटक गरे जस्तो मात्र हुने छ ..
    गिरिजा जस्तो घमण्डी र एकांकी मान्छेले त माओबादिको ब्याबधान र आनाकानीले गर्दा २-२ चोटी संबिधान सभाको निर्बाचन सारेका थिए , किन त ? किन कि येस्मा सबै मुख्य दलको सहमति होश भन्नको लागि .. येति कुरा पनि हाम्रा धूर्त भट्टराईलाई थाह छैन भनेर कसरि पत्याउने ?
    संबिधान सभाको निर्बाचन घोसना गर्दा सरकारको नियतमा दोष लाउने प्रसस्त ठाउँ छन् .. नेपालको राजनीतिक समस्या येति गाजिएको छकी कुनै एउटा दल वा व्यक्तिले समाधान गर्ने सक्दैन , सहमति बिना यो सम्भब नै छैन ..येदि देश र जनतालाई सर्बोपरि ठान्ने हो भने सबैले आफ्नो अहंकार त्यागेकै राम्रो .. महाभारतको कथाको लागि भने धन्यबाद ..

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 24

    • A Shakya

      सहमति को कुरा गर्नु हुन्छा तपाई? सहमति हुने भए उहिल्यै भैसक्थ्यो / येस्मा माओबादी को भन्दा एमाले कांग्रेस को दोष बढी किन छ भने माओबादी ठुलो दल थियो बिगत को चुनाब मा र माओबादी को प्रस्ताब जातीय पहिचान सहित को संबिधान मा कांग्रेस एमाले ले स्विकार्नु पर्थ्यो/ आखिर एसले देशका बढी जनता लाइ हित हुन्थ्यो/ तेही संबिधान को संरचना मा कुरा मिलिहाल्छ भन्ने सोचाई हुदा हुदै पनि सबै दल को स्वार्थ कारण समय बित्यो र संबिधान को म्याद बधाउन नमिल्ने अवस्था मा निर्वाचन को घोषणा अपरिहार्य थियो प्रजातान्त्रिक हिसाब ले/ प्रधान मन्त्रि ले त्यो समय मा भबिस्य को सोच्न भ्याएको भए यो अवस्था आउने थिएन/ उनले जे गरे त्यो त्यति कम समय मा ठिक गरे/ नेपाल को दुर्भाग्य भनेको दुइ तिहाई को नियम हो/ जब सम्म दुइ तिहाई ल्याएर कुनै दल निर्वाचन मा जित्दैन तब सम्म यो देश मा कुनै दल ले गर्न चाहेको गर्न दीदैना/ तेसैले कुनै दल लै दोष दिनु भन्दा नेपाली जनता नै दोषी छन् जसमा एकता को भावना छैन र बहुसंख्यक नेपाली को भलो भन्दा आफ्नो स्वार्थ मात्रै देख्छन/ यदि अब हुने चुनाब मा पनि कुनै दल को दुइ तिहाई मत न आउने हो भने देश को अवस्था सुध्रिने देखिदैन/ र कुनै दल को पनि एक तिहाई भन्दा बढी मत आउने सम्भावना कमै छ/ तर पनि निर्वाचन अपरिहार्य छ प्रजातान्त्रिक निकास को लागि/

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 10

eXTReMe Tracker