मेरो Tweet

  • टेलिकमको सोसल साइट http://t.co/wkRga0cuxI ट्राइ मारिराको त उता इमेलमा नोटिफिकेसन आएर ध्वस्तै पारे त

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा : पहुँच

- अतुल पोखरेल-

saturday-fictionबिराट राजाको पालाको कुरा हो, चारकोशे झाडीको एकछेउ जब मानिसको बस्ती शुरु हुन्थ्यो त्यहाँ एक जना जमिन्दारको बिशाल महल परिसरको एउटा लामो पर्खाल देखापर्थ्यो। सिर्फ एउटा आराम गर्न बनाइएको अग्लो मचान बाहेक त्यस पर्खाल भित्रको संरचना वा गतिबिधि बाहिरबाट खासै केही देखिदैनथ्यो। पर्खाल बाहिर जंगलमा एउटा बाख्रा गोठालो युवक बाँसुरी बजाउँदै बाख्रा चराउने गर्थ्यो। उसको बासुरीको धून गुन्जिंदा पशुपन्छी समेत लट्ठ भएका देखिन्थे र अरु गोठालाहरु उसको वरिपरि झुम्मिएर “वाह वाह” गर्थे।

एक दिन गोठालोले अचानक पर्खाल भित्रको मचानमाथि एउटी युवती देख्यो। युवती एकै छिनमा त्यहाँबाट गइहालिन्। तर गोठालोले त्यो दृश्य भुल्न सकेन। दुई चार दिनपछि पनि युवती फेरि त्यही मचानमा देखापरिन्। गोठालोको मन तरंगित र रोमाञ्चित भयो तर फेरि उनी एकै छिनमा अलप भइहालिन्। फेरि दुई चार दिनपछि तेश्रो पटक युवती त्यसै गरी देखा परिन् र त्यसपटक जानु अघि पुलुक्क गोठालोतिर हेरिन्। गोठालो र युवतीको आँखा जुध्यो।

उनको हेराइको असर स्वरुप गोठालोले आफू प्रेममा परेको थाहा पायो र ती युवतीलाई कुनै पनि हालतमा हासिल गर्ने उपाय सोच्न थाल्यो। महल भित्र बस्ने जमिन्दारकी छोरी र जंगलमा बाँसुरी बजाउँदै बाख्रा चराउने आफू बीचको पर्खाल उसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो बाधा जस्तो लाग्यो र त्यस महल परिसर भित्र कुनै पनि उपायले छिर्ने, ती युवतीको मन जित्ने र उनलाई भगाएर कुनै दूर देशमा गई बस्ने उपाय सोच्तै ऊ जंगलबाट बाहिर निस्कियो। उसले आफ्ना बाख्रापाठा र बाँसुरी बाटामा एकजनालाई बेच्यो र सिधा महलको प्रवेशद्वार तिर लम्कियो। द्वारपाललाई उसले परिसर भित्र कुनै नोकरी पाइन्छ कि भनी सोध्यो र उसलाई केही मुद्रा घुस दिएर महलको तबेलामा घोडाको हेरचाह गर्ने मानिसको सहयोगी भएर काम गर्न शुरु गर्यो।

जसै दिन बित्दै थियो, उसलाई आफ्नो बाँसुरीको सम्झनाले सताउन थाल्यो। एकदिन साँझ घोडाको हेरचाह गर्ने उसको हाकिम र बंगलाका अरु नोकरचाकरहरु तबेलाको छेउमा तास खेलिरहेको बेला उसले कसैसँग बाँसुरी छ कि भनेर सोध्यो। तर यहाँको वातावरणमा बाँसुरीको धून सुन्नेसुनाउने त परै जाओस त्यसबारे कुरा सम्म गर्न पनि कसैले चासो देखाएनन् । उसलाई जंगलका गोठाले साथीहरुले आफ्नो बाँसुरीको संगीतमा “वाह वाह” गर्दै तारिफ गरेको गरेको सम्झनाले सताइरह्यो। तर उसको मुख्य लक्ष्य जमिन्दारकी छोरीसम्म आफ्नो पहुँच पुर्याउने, उनको मन जित्ने र उनलाई लिएर भाग्ने अनि कुनै दूर देशमा जीवनयापन गर्ने भएकोले ऊ धैर्यतापूर्वक तबेलामा मेहनत गर्न थाल्यो। एक वर्षको लगातार परिश्रम पछि उसले घोडाको हेरचाह गर्ने मात्र होइन घोडालाई तालिम दिने र द्रुत गतिमा घोडा दौडाउने कला पनि सिक्यो। यो कला जमिन्दारकी छोरीलाई भगाउने बलियो पूर्वाधार भएको विश्वासमा गर्ब गर्दै अझ मेहनत गर्न थाल्यो। दिन बित्दै गयो तर उसले जमिन्दारकी छोरीलाई देख्ने मौका कहिले पाएन।

एकदिन बिहान तबेलामा एउटा सनसनीपूर्ण हल्ला फैलियो – ‘जमिन्दारकी छोरी कसैसँग भागिन्’ । त्यो खबरले तबेलामा काम गर्ने त्यो युवक सबैभन्दा बढी मर्माहत र निक्कै बेर अचेत झैं भयो। “त्यस्तो कसरी भएछ ?” दिउसो उसले आफ्नो हाकिमलाई सोध्यो।

“पर्खाल बाहिर सँधै बाँसुरी बजाइरहने एउटा गोठालोसंग भागिछन् ,” तबेलाको हाकिमले भन्यो। “मचानमा सारी बाँधेर त्यसैमा समाएर झुण्डिदै राती कुन बेला पर्खाल बाहिर ओर्लिछन्। जंगलमा सारा सबैतिर खोजी भैसक्यो तर उनीहरु कुनै दूर देश पुगिसके जस्तो लाग्छ।”

तबेलाको युवकले एक वर्ष अघि जंगल छाडेर महल परिसर पस्नु अगाडि आफूले बाँसुरी बेचेको केटोको अनुहार झल्झली सम्झियो।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ। कथाहरु सम्पादन नगरी जस्ताको तस्तै छापिने भएकोले कृपया शुद्धाशुद्धिसहित आफैले वा जानेका कसैलाई देखाएर आफ्नोतर्फबाट सबै मिलाएर कथा पठाउनु होला। ]


3 comments to कथा : पहुँच

  • बिजय

    बीचरा तो युवक …कस्तो बीयोगंता …तर कथा राम्रो लाग्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • chandra p

    राम्रो लागेयो मलाई त यो स्टोरी ..thanx यस्तै सानो -सानो राम्रो स्टोरी अगाडी नि पड़ना पवोस :)

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • B. Adhikari

    राम्रो कथा

    कथा राम्रो छ। कथा, उद्देश्यपूर्ण पराक्रम भन्दा पनि संयोगबाट प्राप्त हुने उपलब्धिमा केन्द्रित छ, मेरो विचारमा। संयोगले पनि कुनै ठूलो उपलब्धि हासिल हुन्छ भन्न खोजे झै लाग्छ, यो कथाले। महल पस्ने उक्त युवक आफ्नो उद्देश्यमा सफल होला जस्तो लागेको थियो, कथा पढ्दा। तर भयो विपरित। जे होस, कथालाई रोचक मोड दिएकोले कथा निकै आकर्षक भएको छ।

    शुभ कामना।

    बी अधिकारी

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

eXTReMe Tracker