मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

डाक्टर गोविन्द केसीलाई बचाऊ !

हरेक वर्ष जस्तो एक जना डाक्टर आमरण अनसन बसिरहेका हुन्छन्। माग एउटै हुन्छ- चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने। पछिल्लो पटक सन् २०१२ को अगस्तमा उनी अनसन बसेका थिए। ६ दिनपछि बाबुराम भट्टराईको सरकार माग पूरा गर्न बाध्य भयो। माग अनुसार तुलनात्मक रुपमा स्वतन्त्र छविका मानिने डा. प्रकाश सायमि नियुक्त भए। त्रिविका पदाधिकारीको दवाब थेग्न नसकेर सायमिले मंसिर १९ गते राजिनामा दिए। मेडिकल कलेजको सम्बन्धनका लागि दबाब आएको उनले सार्वजनिक रुपमै बताए। सायमीलाई पुर्नवहाली गर्नुपर्नेलगायतका चार सूत्रीय माग राखेर गएको शनिबारदेखि केसी अनसन बसे। उनको स्वास्थ्य निकै गम्भीर भइसकेको छ। तर सरकार माग पूरा गर्न तयार छैन। त्रिविवि कार्यकारी परिषद्‍ले विवादित छविका चिकित्सक डा. शशी शर्मालाई डिन नियुक्त गरे। शर्मा पद छाड्न तयार छैनन्। केसी अनसन छाड्न। डाक्टरहरु आइतबारदेखि देशभर सेवा ठप्प पारेर आन्दोलनमा उत्रँदैछन्। हजारौँ बिरामीको स्वास्थ्यमा असर पर्दैछ। सरकारलाई वास्ता छैन।

डा. केसी त्रिविका उपकुलपति, रजिष्ट्रार र रेक्टरले प्रक्रिया मिचेर करोडौँ रुपियाँको चलखेलका आधारमा स्वच्छ छवि भएका डा. प्रकाश सायमीलाई राजिनामा दिन बाध्य बनाइएको दावी गर्छन्।

महाराजगञ्जस्थित टिचिङ अस्पताल त्रिभुवन विश्वविद्यालय मातहत रहेको छ। विश्वविद्यालयका सबै पदहरु राजनीतिक भागवण्डा अनुसार बाँडिन्छन्। त्यही अनुसार भीसी हीराबहादुर महर्जन एमालेका नियुक्त भएका हुन्। डिन नियुक्त गर्न प्रमुख हात रहने कार्यकारी परिषद्‌मध्ये रजिस्ट्रार चन्द्रमणि पौडेलले माओवादी कोटामा पद पाएका हुन्। रेक्टर गुणनिधि न्यौपाने चाहिँ काँग्रेसको कोटामा पद पाउने व्यक्ति हुन्। शर्मा भने कांग्रेस समर्थक मानिन्छन्। त्यसैले नेविसंघको नाम लिएर केटाहरुले केसीलाई अनसनमा बस्नै सुरुको दिन अवरोध पुर्‍याउन खोजेका थिए।

त्रिभुवन विश्वविद्यालय मातहतका अध्ययन संस्थानहरुमा डिन पनि भागवण्डा अनुसार नै कङ्ग्रेसलाई यो, एमालेलाई यो, माओवादीलाई यो भनी छुट्याइन्छ।

केसीका चार माग
डा. सायमीलाई पुनः डिनमा फर्काउनु पर्ने,
त्रिविका उपकुलपति, रजिष्ट्रार र रेक्टर पदच्युत गरी कारवाही गर्नुपर्ने,
संस्थानमा बरिष्ठता र कार्यक्षमताका आधारमा मात्र पदाधिकारी नियुक्ति गर्नुपर्ने
नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने

डिन नियुक्तिमा चलखेल
चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) को डिनमा के त्यस्तो आकर्षण छ? सामान्य मान्छेलाई यो कुरा थाहा नहुनसक्छ। वास्तवमा यो पद ठूलै रकम कमाउन सकिने ठाउँ हो। निजी क्षेत्रका मेडिकल कलेजहरुलाई सम्बन्धन दिने, त्यस्ता कलेजका सिट आदिका लागि ठूलै रकमको चलखेल हुन्छ। त्यसको मुख्य निर्णय हुने ठाउँ यही डिनको पद हो। अनि किन नताकियोस् त एमाले, माओवादी र काँग्रेसको आँखामा। एक जना समाजसेवी डाक्टर मर्न लागिसक्दा पनि उनीहरु पद र पैसाको घिनलाग्दो खेल र अडानबाट पछि हटेनन्।

फैलियो आन्दोलन
डा.केसी जीवनमरणको दोसाँधमा रहँदासमेत सरकारी पक्षबाट बेवास्ता गरिएपछि डाक्टरहरु क्रुद्ध भएका छन्। उनीहरुले टिचिङ अस्पतालमा मात्र आकस्मिक बाहेकका सेवा ठप्प पारेकामा आइतबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेका छन्। आन्दोलन यसरी देशव्यापी बनेर देशभरका लाखौँलाई प्रभावित पार्ने स्थिति भइसक्दा पनि उनीहरु गम्भीर भएका छैनन्।

को हुन् डाक्टर केसी ?
डा. केसी को हुन् त ? कुनै राजनीतिक पात्र हुन् ? कसैले गोटी बनाएका हुन् ? के छ उनको हैसियत ? यसको जवाफ केही वर्षअघि नागरिक नायकका रुपमा उनलाई सम्मानित गरिँदा छापिएको एउटा व्यक्तिचित्रमा पाइन्छ-

गहुँगोरो अनुहार। बचेका कपाल केहीमात्र फुल्न बाँकी। ढाडमा झन्डै १५-२० केजीको झोला। साधारण सर्ट-पाइन्ट र चप्पल।

दुर्गम जिल्लाको विकट गाउँमा उकाली-ओराली गर्दा मन्द मुस्कान छर्दै पसिना पुछिरहेका कोही भेटिए, सोध्नुहोला, ‘तपाईं गोविन्द केसी हो?’

पेशाले उनी प्राध्यापक तथा हाडजोर्नीका वरिष्ठ शल्यचिकित्सक हुन्। कम्तीमा वर्षको दुईपटक झोलामा १५-२० केजी औषधि बोकेर पहाडका उकाली-ओराली र तराईका समथर मैदानमा निमुखा जनताको उपचार गर्न निस्कन्छन्। निःशुल्क स्वास्थ्य परीक्षण गर्छन्। निःशुल्कै औषधि बाँड्छन्। सरकारी खर्चमा होइन। कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन। आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चेर।

‘किन त?’

‘सन्तुष्टिका लागि,’ महाराजगन्ज टिचिङ हस्पिटलको सरकारी क्वार्टरमा आफ्नो कामको वर्णन गर्दा उनी लाजले अलिअलि रातो हुन्छन्, ‘चिकित्सा पेसाको धर्म नै यही हो।’
‘काठमाडौं बसेर उपचार गर्न सकिँदैन?’

‘सकिन्छ,’ उनी मुट्ठी उठाउँछन्, ‘मान्छे जहाँसुकै होस्, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो।’

‘सरकार केका लागि त?’

‘सरकार हाम्रो हो, हामी सरकारका,’ छातीमा हात राख्छन्, ‘सबै जिम्मेवार बन्नुपर्छ।’
१७ वर्ष भयो, डा. गोविन्द औषधिको भारी बोकी गाउँ डुल्न थालेको। ७२ जिल्लाका बिरामीमाझ पुगिसके। तीन जिल्ला बाँकी छन्।

देश-विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, उनी पीडितको उपचार गर्न पुगिहाल्छन्। कोसी बाँध भत्कँदा होस् या जाजरकोटमा हैजाको महामारी लाग्दा, भारतको गुजरातमा महाभूकम्प जाँदा होस् या बर्मामा आँधी आउँदा, उनी आफ्नै खर्चमा खटिएका छन्। बिरामीको उपचार गर्न उनलाई कुनै देशको सीमाले छेक्दैन। भाषा तगारो बन्दैन। उनको विचारमा, बिरामीको देश हुँदैन, र डाक्टरको पनि।

‘पैसा कमाउनु ठूलो कुरा होइन,’ चिकित्सा पेसाको धर्म भन्दैछन् उनी, ‘जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ।’

‘मान्छेले विश्वास गर्छन् त?’

‘सबै ठाउँमा म यस्तो हुँ भन्दा विश्वास गर्दैनन्,’ उनी अनुभव सुनाउँछन्, ‘यत्रो टाढाबाट आफ्नो खर्च गरेर के आयो होला र भनेझैं गर्छन्।’

दसवर्षे माओवादी जनयुद्धका क्रममा गाउँ डुल्दा त उनले अनेकौं हन्डर खानुपर्यो । ‘यो माओवादी हो कि क्या हो,’ पहाडमा त्रास भरिएका यस्ता आवाज धेरैपटक सुने उनले,
‘यो त सिआइडीजस्तो छ।’

कसैले उनलाई ‘सरकारी गुप्चर’ को पगरी गुथाए, कसैले ‘छापामार’ बनाए। बिनाकसुर १९ घन्टा एउटै घरमा थुनिनुपर्योर। ‘माओवादी’ भनेर गाउँलेले खाना नखुवाएको अनुभव पनि छ, उनीसँग। तर, जस्तो अवस्थामा पनि उनका पाइला थामिएनन्। उनलाई लाग्थ्यो, ‘यही घडीमा गाउँमा मेरो खाँचो छ।’

गोविन्द पछिल्लोपटक स्वदेशभित्र जाजरकोटका महामारी पीडित र विदेशमा हाइटीका भूकम्प पीडितमाझ पुगेका थिए। उनको नयाँ योजना आगामी असार महिनामा तेह्रथुम र भोजपुरका दुर्गम गाउँमा औषधोपचार पुर्याँउनु हो।

यसका लागि उनको बैंक खाता ‘रेडी’ भइसकेको छैन। असारसम्म खातामा चाहिँदो रकम जम्मा हुन्छ। त्यसपछि यी ‘घुम्ती आकस्मिक सेवा’ १५-२० केजीको झोला बोकेर तेह्रथुम र भोजपुरका दुर्गम गाउँतिर हानिनेछन्।
***

२०१४ साल।

रामेछापको दुर्गम गाउँ माकादुम-सिम्लेमा जन्मे, गोविन्द। उनको परिवार गाउँमा हुनेखानेमै पर्थ्यो। उनले ६ कक्षासम्म दोलखाको मावली घरमा बसेर पढे। त्यसपछिका दुई वर्ष काठमाडौंको पद्मोदय स्कुलमा बिताए। स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे।
एसएससी भने दोलखाको भीम पब्लिक हाइस्कुलबाट दिए, २०२९ सालमा। सेकेन्ड डिभिजन आयो।

त्यसपछि के पढ्ने? उनले मेसो पाएनन्। घरबाट पनि ‘यो पढ्’ कसैले भनेनन्। डाक्टर, इन्जिनियर – उनले सुनेकै थिएनन्। मन्त्री हुनुपर्छ- गाउँतिर सबै यही भन्थे।

‘तर, मैले मन्त्री हुने सपना देखिनँ,’ उनी भन्छन्।

एकदिन उनलाई बुवाले भने, ‘राम्रो विषय पढ्नुपर्छ।’

‘म पढ्दै जान्छु, हेरौं,’ राम्रो विषय कुन हो पत्तो नभएका गोविन्दले सिधा जवाफ दिए।

राम्रो विषयको खोजीमा उनी काठमाडौं आए। भान्दाइ कल्याण बस्नेत तत्कालीन महाराजगन्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढ्थे। उनी त्यसै (एचए) मा हाम्फाले।

‘सोचेकै थिइनँ,’ उनी भन्छन्, ‘त्यो बेला यहाँ पढेर डाक्टर हुन पाइन्छ भनेर।’
उनको ब्याचमा एचए पढ्ने झन्डै डेढ सय विद्यार्थी थिए। एचएमा राम्रो गर्नेलाई पढाउने अवसर दिइन्थ्यो। उनी १० राम्रा विद्यार्थीमा पर्थे। साढे दुई वर्षमा एचएको पढाइ सकिएपछि उनले ६ महिनाजति पढाए। त्यहीबेला शिक्षा मन्त्रालयको ढाका छात्रवृत्तिमा उनको नाम निस्कियो। उनी लागे ढाका – एमबिबिएस गर्न। एमबिबिएसमा इन्टर्नसिप गर्दा उनले रोजे – अर्थोपेडिक (हाडजोर्नी)।

यही उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।

सन् १९८५ मा एमबिबिएस सकेर काठमाडौं फर्कनेबित्तिकै उनले शिक्षण अस्पतालको हाडजोर्नी शाखामा ‘हाउस अफिसर’को जागिर पाए। एक वर्षपछि स्थायी भई टेकु अस्पताल सरुवा भए। त्यहाँ उनी ‘मेडिकल अफिसर’ थिए। बिहान ९ देखि दिउँसो २ बजेसम्म ड्युटी हुन्थ्यो। अरू समय खाली नै हुन्थे। फुर्सद पायो कि लाइब्रेरी कुदिहाल्थे।
निजी नर्सिङ होममा काम गर्न उनलाई कहिल्यै मन लागेन। ‘म कहिल्यै प्राइभेटमा आकर्षित भइनँ,’ उनी थप्छन्, ‘जे काम गरे पनि एकोहोरो गर्न मनलाग्छ।’

तर, एकपटक आपत आइलाग्यो। एकजना अनन्य मित्र जापान जानुपरेपछि उनको ठाउँमा काम गर्दिनुपर्ने भयो। उनले एक वर्षजति काठमाडौं नर्सिङ होममा काम गरे। ‘डाक्टर अशोक बासकोटासँग सिक्न पाइन्छ भन्ने पनि थियो,’ उनी सुनाउँछन्।
उनले जीवनमा निजी नर्सिङ होममा काम गरेको त्यत्ति एकचोटि हो।

उनको पढ्ने इच्छा भने कहिल्यै मरेन। एमडी अध्ययनका लागि प्रवेश परीक्षा दिए। परीक्षा दिने दुई सय थिए, पढ्न पाउने १२ जनाले। उनी १२ भित्र परे। एमडीले उनले निजी खर्चमा पढ्न खोजेका थिए। त्यो बेला नेपालमा हाडजोर्नीका डाक्टर निकै कम थिए। त्यसैले उनले हाडजोर्नी नै रोजे।

‘अध्ययन विदा पाउँ,’ उनले सरकारसँग निवेदन गरे।

‘मिल्दैन,’ जवाफ आयो।

‘त्यसो भए बेतलवी विदा पाउँ,’ उनले अर्को निवेदन पठाए।

सन् १९८९ मा एमडी अध्ययन गर्न गोविन्द फेरि ढाका गए। १९९३ मा अध्ययन सकेर नेपाल फर्के।

‘म फेरि ज्वाइन गर्छु,’ गोविन्द स्वास्थ्य मन्त्रालय पुगे।

‘काठमाडौंबाहिर जानुपर्छ,’ मन्त्रालयका एक कर्मचारीले भने।

‘वीर अस्पताल मिलाइदिनोस्, ‘ उनले जोड गरे।

‘मिल्दैन।’

मन्त्रालयले उनलाई झापा खटायो। उनले जवाफमा राजीनामा ठोके।

***
अर्को जागिर भेट्टाउन उनलाई गाह्रो भएन।

उनले सुनेका थिए – शिक्षण अस्पतालमा हाडजोर्नी डाक्टरको अभाव छ। बुझे। सही रहेछ। प्राध्यापन र शल्यचिकित्सक दुवै काम उनले एकसाथ सुरु गरे। ८ महिना निःशुल्क काम गर्नुपर्यो ।

यो सन् १९९३ को कुरा। १९९४ मा उनी पक्का जागिरे भए, शिक्षण अस्पतालमा।
‘शल्यचिकित्सकमा हातको गुण चाहिन्छ,’ आफ्नो पेसा बताउँदैछन् उनी, ‘यो निकै जोखिमको काम हो, नतिजा तत्कालै देखिन्छ। चिलको जस्तो आँखा हुनुपर्छ। साहस पनि त्यति नै चाहिन्छ।’

विद्यार्थी पढाउने, अनि बिरामी पनि हेर्नुपर्ने- उनको व्यस्तता निकै बढ्यो।
बिहान साढे पाँच बजे उठ्ने गोविन्द बेलुकी १० दस बजेसम्म व्यस्त रहन थाले। बिहान उठ्यो। चियानास्ता गर्योब। पढाउन गयो। विद्यार्थीको परीक्षा लियो। त्यसपछि शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया। साँझ ८ बजे अस्पतालको ड्युटीबाट फुर्सद मिल्थ्यो। अनि लाइब्रेरी। एकैचोटि राति १० बजेपछि उनी कोठामा छिर्थे।

एक दिन होइन, दुई दिन होइन, सधैं यस्तै।

सुरुका ४ चार वर्ष गोविन्द आफ्ना भाइहरूसँग डिल्लीबजार बसे। तर बन्द-हडताल बढ्न थालेपछि कार्यालय आउजाउ गर्न गाह्रो भयो। उनी सरे अस्पतालको सरकारी क्वार्टरमा।
भाइहरूसँगको बसाइ टुटेपछि उनको खान्कीमा धेरै परिवर्तन आयो। ‘खाना पकाउन अल्छी छु,’ उनी हाँस्छन्, ‘बिहान पाउरोटी-जाम र फलफूल खान्छु। दिउँसो भेज ममः। राति सधैं दही चिउरा।’

‘भात कहिल्यै खाइन्न?’ आमनेपालीको भन्दा फरक खान्की देखेर मुखबाट प्वाक्क यो प्रश्न निस्कियो।

‘कहिलेकाहीँ कतै पाहुना लाग्न गएमात्र।’

उनले यस्तो भोजनशैली अपनाएको १२ वर्ष भयो। केही महिना अघिसम्म मासुका परिकार पनि खान्थे। तर अहिले मासुमात्र होइन, चियाकफी पनि पिउँदैनन्।

‘कति छाक त म खानै भ्याउँदिनँ,’ उनी भन्छन्, ‘थाकेर गइन्छ, एकछिन भन्यो पल्टियो, त्यसै निदाइन्छ।’

‘अब एकछाक खान,’ गोविन्द हाँस्दैछन्, ‘हरिद्वार जान मात्र बाँकी छ।’

***
जीवनमा एकछाक खान नपाउने नेपाली उनले थुपै्र देखेका छन्। त्योभन्दा बढी देखेका छन्, बिरामी हुँदा अस्पताल नदेखी मर्ने नेपालीहरू, अस्पताल पुगिहाले पनि खर्च नपुगेर रोग पाल्दै फर्कने बिरामीहरू।

शिक्षण अस्पतालसँग नाता गाँसिएपछिको पहिलो वर्ष उनले सँगालेको अनुभव यही थियो। यसैले उनलाई हौस्यायो- गरिब, असहाय र निमुखा जनताको उपचारमा लाग्न।

‘दार्चुला, हुम्ला, जुम्ला जिल्लाका दुर्गम गाउँबाट बिरामी आउँछन्,’ उनी भन्छन्,
‘साधारण उपचारका लागि हजारौं रुपैयाँ खर्च गरेर आउनुपर्छ। गाउँमै सामान्य प्राथमिक उपचार पाएको भए यो सब झन्झट बेहोर्नुपर्थेन।’

औसत नेपाली रोग सामान्य हुँदासम्म अस्पताल धाउँदैनन्। रोगले गाँजिसकेपछि मात्र अस्पताल र उपचारको खोजी सुरु हुन्छ। गाउँमा हुर्केकाले यो समस्या उनले नजिकबाट बुझेका छन्। त्यसैले उनलाई लाग्छ- स्थानीय स्वास्थ्यकर्मीलाई साधारण तालिम र शिक्षा दिए रोग बिग्रन पाउँदैन। र, सामान्य रोगका लागि सहरका महँगा अस्पताल धाउनुपर्दैन।
झोलामा औषधि बोकेर दुर्गम गाउँ डुल्ने उनको एकल ‘घुम्ती आकस्मिक सेवा’ अभियान यहीँबाट सुरु भयो।

२०४५ सालमा भूकम्प जाँदा उनी पहिलोपटक पीडितको उपचारमा सहभागी भए। भूकम्पले धरानमा ठूलो जनधनको क्षति गरेको खबर सुन्नासाथ उनी रात्रि बस चढेर त्यता हुइँकिए। दुईदिन त्यहाँ बिताए। सन् १९९४ मा काठमाडौं वरपरका गाउँमा ‘हेल्थ क्याम्प’ सञ्चालन गरे। १९९५ मा अर्को हेल्थ क्याम्प लिएर खोटाङ गए।

त्यसयता हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म दौडिरहेका छन्।

वर्षको कम्तीमा दुईपटक तीन जिल्ला घुम्नु गोविन्दको नियमित कार्यतालिकाभित्र पर्छ। एकचोटि निस्कँदा दुईदेखि तीन साता छुट्टयाउँछन्। ‘योभन्दा बढी गर्न बैंक खाताले भ्याउँदैन,’ उनी भन्छन्, ‘अरूको सहयोग लिने मेरो बानी छैन।’

उनले अस्पतालबाट वर्षको एक महिना घर विदा पाउँछन्। उनले सदुपयोग गर्ने समय यही हो। अहिलेसम्म दार्चुला, बैतडी, बझाङ, आछाम, बाजुरा, सुर्खेत, दैलेख, रुकुम, हुम्ला, डोल्पा, जुम्ला, मुस्ताङ, जोमसोम, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, खोटाङ, इलामलगायत ७२ जिल्ला पुगिसके, आफ्नै खर्चमा।

२०६४ सालमा कोसी बाँध भत्कँदा उनी काठमाडौंमै थिए। बाँध भत्केर हजारौं विस्थापित भएको र तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टेलिभिजनमा देखेपछि काठमाडौंमा अडिन सकेनन्। रातारात औषधि किनेर अर्को बिहान घटनास्थलतर्फ हानिए। पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ जनालाई जाँचे। र, औषधि बाँडे।

यस्तै भयो, २०६६ सालमा पनि। जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि उनको मन काठमाडौंमा अड्न मानेन। यसका लागि धेरै औषधि चाहिन्छ भन्ने उनले बुझे। एक्लै सबै औषधि बोक्न सक्ने स्थिति थिएन। बाटो पनि अप्ठ्यारो थियो। उनी खच्चडमा औषधि लिएर पुगे, जाजरकोटको हैजाग्रस्त क्षेत्र। १० दिन उपचारमा जुटे। दुई दिन स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिएर काठमाडौं फर्के।

‘दुर्गम जिल्लाको पनि दुर्गमभन्दा दुर्गम गाउँमा जान्छु,’ उनी थप्छन्, ‘त्यहाँ जे उपलब्ध छ, त्यसैबाट उपचार गर्न सिकाउँछु। सामान्य शल्यक्रिया छ भने गाउँमै गराउँछु।’ ठूलै शल्यक्रिया गर्नुपर्ने बिरामी भेटे उनी काठमाडौं नै बोलाउँछन्। र, निःशुल्क उपचारको व्यवस्था मिलाइदिन्छन्।

तालिम दिने उनको आफ्नै शैली छ। थोरै अवधिलाई जाँदा स्थानीय स्वास्थ्यकर्मीको ज्ञान कति छ, थाहा पाउन गाह्रो हुन्छ। त्यही भएर सबभन्दा पहिला सबै स्वास्थ्यकर्मीलाई एक ठाउँ भेला गराउँछन्। काठमाडौंमै तयार पारेको प्रश्नावली बाँड्छन्। यसबाट स्वास्थ्यकर्मीको दक्षता बुझेर तालिमको प्रकृति तय गर्छन्। तालिम सकिएपछि फेरि पहिलेकै प्रश्नावली भर्न लगाउँछन्। भिन्नता तुरुन्तै थाहा हुन्छ।

तराईको तुलनामा पहाड र हिमाली क्षेत्रमा हाडजोर्नीको समस्या बढी भेटिने उनको अनुभव छ। घाँसदाउरा, मेलापात गर्दा सानोतिनो दुर्घटना भइरहन्छ। बाहिर चोट नदेखिए पनि भित्र हड्डी भाँच्चिएको हुन्छ। जोर्नी पाक्यो भने मान्छे जीवनभरलाई अशक्त बन्नसक्छ। बालबालिकामा यो झनै डरलाग्दो हुन्छ। उपचार गर्न ढिला भए रोग निको हुँदैन। चोट गम्भीर छ भने प्राथमिक उपचार कसरी गर्ने, उनी यस्तै कुरा स्थानीय स्वास्थ्यकर्मीलाई सिकाउँछन्।

केही विकासे संस्थाले मान्छे भेला पार्दा भत्ता बाँडिदिएर उनलाई अप्ठ्यारो पर्ने गरेको छ। ‘तालिम लिन आउँदा भत्ता माग्छन्,’ उनको अनुभव छ, ‘म दिन सक्दिनँ।’
कहिलेकाहीँ उनी बठ्याइँ पनि गर्छन्। अरूले तालिम दिइरहेका बेला अन्तिमतिर छिर्छन् र आफ्नो काम सुरु गर्छन्।

उनको यो अभियानमा बेलाबेला अरू डाक्टरले पनि रुचि देखाउँछन्। ‘डाक्टर साब,’ उनीहरू भन्छन्, ‘जाने बेला हामीलाई पनि खबर गर्नू, हामी पनि जान्छौं।’ तर, जाने बेला कोही आउँदैनन्। ‘डाक्टर साब, यसपालि मेरो काम पर्यो।, अर्कोपटक है,’ यस्तो जवाफ सुनेपछि उनी कुरा बुझिहाल्छन्।

‘मैले प्राइभेट नर्सिङ होममा काम नगरेको पनि यी अभियानमा ‘ह्याम्पर’ गर्छ भनेर हो,’ उनी भन्छन्, ‘अरू कुनै आदर्श छैन।’

उपचारमा निस्कँदा उनी अक्सर आफ्नो परिचय लुकाउँछन्। ‘जहाँ डाक्टरको आवश्यकता छ, त्यहाँमात्र म डाक्टर हुँ भन्छु,’ उनी भन्छन्, ‘अरू ठाउँमा शिक्षक भनेर चिनाउँछु।’ हुन पनि उनी डाक्टर र शिक्षक दुवै हुन्।

‘किन त?’

‘डाक्टर हुँ भन्यो। केही भा’को हुँदैन, लौ न डाक्टरसाब चेक गर्नुपर्यो भन्दै आउँछन्,’ फुत्किन लागेको हाँसो रोक्दै उनी भन्छन्, ‘असली बिरामीले उपचारको अवसरै नपाउलान् भन्ने डर।’

‘केले प्रेरणा दिन्छ त?’

‘थाहा छैन,’ उनी भन्छन्, ‘जानुपर्छ जस्तो लाग्छ, जान्छु।’

अविवाहित भएकाले पनि यस्तो घुमन्ते जीवन बिताउन सहज भएको उनको विश्वास छ।

‘बिहे गरेको भए गाउँ घुम्न यति समय पाउँथिनँ होला,’ उनी हाँस्दै भन्छन्।

‘बिहे नगर्ने त?’

‘गर्नैपर्छ भन्ने छैन।’

‘केही कारण छ कि?’

‘हा…हा…,’ उनी जोडले हाँसे, अलिकति लजाए, ‘त्यस्तो केही छैन।’

***
दुःख, पीडा सबैको एउटै हो, चाहे त्यो स्वदेशी होस् या विदेशी- विदेशतिर पनि उपचार गर्न कुद्दा गोविन्दलाई यही भावनाले प्रेरित गर्छ।

ठूला प्रकोपका घटना सुन्नेबित्तिकै उनी टेलिभिजनअगाडि बस्छन्। हेर्छन्। मानिसले के-कति दुःख भोगिरहेका छन् मूल्यांकन गर्छन्। तिनै दृश्यले उनलाई डाक्छ। अनि भिसा मिलाउँछन्। कुदिहाल्छन्।

त्यहाँ बस्दा सबभन्दा सस्तो होटल खोज्छन्। फुर्माइस गर्न बैंक ब्यालेन्सले धान्दैन भन्ने उनलाई राम्ररी थाहा छ। अनि घटनास्थल पुग्छन्, आफ्नो परिचय दिन्छन्। र, काम थालिहाल्छन्। १९९३ मा बंगलादेशमा आँधी आउँदा होस् या २०१० मा हाइटीमा महाभूकम्प जाँदा, उनी घटनास्थलमा खटिएका थिए। हाइटीमा उनले १६ दिन बिताए। दैनिक २५ जनालाई जाँचे। सबै आफ्नै खर्चमा।

२००१ मा भारतको गुजरातमा भूकम्प जाँदा उनले त्यहाँ तीन साता बिताए भने २००५ मा पाकिस्तानमा भूकम्प पीडितको उपचार गर्न दुई साता। २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए। त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए। बर्मा सरकारले विदेशीलाई आँधी प्रभावित क्षेत्रमा छिर्न दिएको थिएन। गोविन्द भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे। त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो।

हाइटीमा पैसा नभएर दुई दिन कोल्ड ड्रिङ्कको भरमा बसेको क्षण उनलाई रोमाञ्चक लाग्छ। ‘यसैमा खुसी छु,’ उनी भन्छन्।

***
‘डाक्टर नमरुन्जेल विद्यार्थी नै हुन्छ,’ चिकित्सा क्षेत्रको गुरुमन्त्र सुनाउँछन्, गोविन्द।
त्यही भएर अहिले पनि दिनको कम्तीमा दुई घन्टा उनी अध्ययनमा बिताउँछन्। यी सबबाट फुर्सद पाए महिनादिनमा एकपटक भाइहरूकहाँ जान्छन्।

‘भातको स्वाद सम्झन पनि भाइहरूकहाँ गइरहनुपर्छ,’ उनी ठट्टा गर्छन्।

गोविन्दले प्राध्यापन र डाक्टर पेसा अंगालेको झन्डै दुई दसक बित्न लाग्यो। उनीसँग कार छैन। मोटरसाइकल छैन। मोबाइल छैन। मिल्यो भने साइकल किन्ने इच्छा छ। सम्पत्तिको नाममा अफिसले खोलिदिएको बैंक खाता र एउटा ल्यापटप छ। घरजग्गा केही जोडेका छैनन्। भएका पैतृक सम्पत्ति पनि बेचिसके।

‘सेवा गर्नुपर्छ,’ आमाबुवाको भनाइ सम्झन्छन्, ‘पैसा भन्या ठूलो कुरा होइन।’

‘मेरो केही डिमान्ड छैन,’ उनलाई लाग्छ, ‘जसरी पनि जिउन सकिन्छ।’ आवश्यक परे अझै घरपरिवारसँग पैसा माग्छन् उनी। भाइहरूलाई पनि उनको बानी थाहा छ। केही नसोधी सहयोग गर्छन्। आफ्नो बैंक खातामा पैसा छ भने औषधिको झोला बोकेर कुनै दुर्गम गाउँ हिँडिहाल्छन्।

‘कहिलेसम्म?’

‘जबसम्म जीउले धान्छ।’

‘आफैं बिरामी भए?’

‘म बिरामी नै हुन्नँ।’

(सुरेन्द्र पौडेलले लेखेको यो व्यक्तिचित्र २०६७ वैशाख ११ गते नागरिक दैनिकको नागरिक नायक विशेषाङ्कमा छापिएको हो।)

48 comments to डाक्टर गोविन्द केसीलाई बचाऊ !

  • Karunakar Nepali

    सबै देशभक्तहरुमा करुणाकर नेपालीको आह्वान:

    नैतिकताको खडेरी लागेको हाम्रो समाजमा डाक्टर के.सी. जस्ता आदर्श पुरुष पनि रहेछन भन्ने जान्न पाउँदा ज्यादै हर्ष लागेको छ. कुनै बैंक ब्यालेन्स नभएका, त्यागी र सन्त स्वभावका यी समाजसेवी महापुरुषको अनुकरण गरेर नेपाललाई साँच्चैको सुन्दर र विकसित देश बनाउन सकिन्छ भन्ने कुरामा नेपालमा नेता, कर्मचारी, शिक्षक, ब्यापारी, व्यवसायीले अब गम्भीरता साथ ध्यान दिनु परेको छ.

    डाक्टर के सी लाइ हेरे पुग्छ, कुनै बैंक ब्यालेन्स नभए पनि मजाले सन्तोषको जिन्दगि चल्ने रहेछ. आखिर यो जिन्दगि दुइ दिनकै घाम छाया त हो नि, कुनै पनि बेला पर्दा खस्न सक्छ. यो जान्दा जान्दै पनि हाम्रा समाजका कथित् अगुवाहरु कति लोभ र लालचमा घिन लाग्दा कुकृत्य गर्न पुग्छन सम्झेर ग्लानी लाग्छ. उनको नैतिक धरहराका अगाडी हाम्रा कथित् नेता तथा प्रशासकहरु बामपुड्के साबित भएका छन्.

    समाज हाँक्छु भनेर जनताको प्रतिनिधि बनि आएका केहि राजनीतिक खलपात्रहरुको पनि यसपाली नराम्ररी पोल खुलेको छ. समाजलाई अधोगतिमा धकेलेर आ आफ्नो छुद्र पार्टी राजनीतिलाई पैसा जुटाउने भित्रि खेलमा लाग्ने यी नराधमहरुलाई थुक्न मात्र सकिन्छ. त्यस्तै गुन्दगर्दिको आधारमा अरुको मेडिकल कलेज हत्त्यायेर अरबपति बन्ने नरपिशाच र त्यस्ताको इशारामा चल्ने विश्व विद्यालय र चिकित्सा शास्त्रका केहि पदाधिकारीहरु प्रति पनि धिक्कार व्यक्त गर्न मात्र सकिन्छ.

    सारांशमा भन्दा अब समाज पहिले भन्दा जागी सकेको छ. के ठिक के बेठिक छुट्याउन सक्ने भइ सकेको छ. लोभी पापीहरुले पनि जीवनको क्षणभंगुरता लाई मनन् गरेर आफुलाइ सुधार्नु जरुरि भइ सकेको छ. ड़ा. के.सी., ड़ा. भगवान, ड़ा. सायमी, स्व.ड़ा.चित्र वाग्ले जस्ता स्वास्थ्य क्षेत्रका होनहार सपुतहरु प्रति नतमस्तक हुँदै समाजका अन्य क्षेत्रका व्यक्तित्वहरुले पनि उहाहरुबाट प्रेरणा लिएर सत्कर्म तिर लागेमा नेपाल संसारकै सुखी राष्ट्र बन्नेमा कुनै शङ्का छैन भन्दै मेरो सानो मन्तव्य यहिँ टुंग्याउछु.
    जय नेपाल, जय नेपाली.

    करुणाकर नेपाली

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • roshna

    Hatss off to Govind Sir..Respect..

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • legend डा. के. सी. लाई सलाम.
    कित भन्छन् डा. के. सी. का मागहरु जायज छन् तर तरीका गलत छ।
    यस्तो भन्नेहरुले यो कुरा बुझुन् िक यो सितले सरापेको देशमा सिह बाटोबाट सिह कुरा हािसल गर्न त सम्भव नै छैन िन।
    salokya जी लाई यो चलखेलको बारेमा पुरै पर्दाफास गर्न मेरो अनुरोध छ, मैले सुनेको यो घृिणत भागबन्डा को रकम चुनाबताका नै िलइएको हो अरे।
    हािम नेपािलहरु पिन आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं।
    सामािजक संजालमा आवाज उठाउँ, निजक भए माइितघर मण्डला जाऊँ, अिन सबैले हेलो सरकारमा फोन गरेर दबाब िदऊँ र सबैलाई पटकपटक फोन गर्न लगाऊँ। अरुलाई मात्र कित दोष िदने, आफ्नो ठाऊँबाट पिन केिह गरौँ।
    डा. के. सी.को िजवनसँगै देशको िथित जोगाऊँ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • ए. ! सम्मानिय पदमा रहेका रेग्मीज्यू तपाई ले सर्वोच्च अदालत को गरिमा मय पद सम्हाल्दा कुनै मुध्दाको सही फैसला त गर्नु भयो ?नेपाली जनता लाई विश्वास दिलाउन चाहनु हुन्छ यदी भने डा. केसी को माग पुरा गर्न अहिले वाट तुरुन्तै पहल गर्नुहोस् लागी पर्नुहोस् या त राजीनामा ठोकीहाल्नुहोस् वक्र कोही नेपाली ले पत्याउने छैनन् , अनि त्यस पछि के के हुन्छ हेर्दैजानुहोला !

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • नरप्रसाद

    पार्टीको भागबण्डामा परेका पद कांग्रेसका भागमा विवादित छविका चिकित्सक डा. शशी शर्मालाई डिन नियुक्त गरे।
    एमाले भागमा भीसी हीराबहादुर महर्जन नियुक्त भएका हुन्।
    रजिस्ट्रार चन्द्रमणि पौडेलले माओवादी कोटामा पद पाएका हुन्।
    लौ देखियो पार्टीहरुको खसी काटेर पातमा भाग लगाएको जस्तो व्यवहार|

    यस अर्थमा, डा. केसीलाइ केहि भयो भने कुनै पार्टीलाई होइन तर खिलराज र उनको बाजे वाहुल्य मन्त्रिमन्डलले जिम्मा लिनु पर्नेछ|
    खिलराजले हिम्मत देखाए एकै क्षणमा नियुक्तिको निर्णय बदल्न सक्नेछन| अहिले सम्म कुनै दलको सरकार छैन, रेग्मी अन्तर्गत नै सो नियुक्ति भएका र बदर गरिएका हुन्|

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • harke

    खै के भन्ने भन्नु पर्ने जति माथि अगाडी नै भनिसकेछन तर पनि एउटा कुरा… होइन यो डाक्टर सशी शर्मा भन्ने कस्ट रहेछन हो ? येदि तेस्तो हो भने खुरुक्क राजिनामा दिए हुन्थ्यो नि कमसेकम आफै त्यागी पनि भैन्थ्यो पक्का नि दाल मा केहि कालो छ जसको लागि डाक्टर सशी शर्मा डीन भएर बस्न मन गरेको हेर्दा खेरि त. पक्का नै सबै लाइ खुवाएर आएको होला? नत्र किन नछोड्नु हो आफ्नो इमान्दार मित्र अनसन मा बस्दा?

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Ram

    डा. के. सी. नेपाल का माहा मानब हुन्| सबै आफनै बारेमा सोच्न ब्यस्त हुदा पनि यी माहा मानब सामाजीक चिन्ता मा लागेका छन्|

    डा. शर्मा जस्ता ले यी माहा मानब बाट केहि सिकुन | शर्मा लै डा. लेख्दा पनि अप्य्ह्यारो लागि रहेछ | ई जस्ता को त चोरी गर्ने लाइसेन्स ( डाक्टर ) कन्सेल गर्न पर्ने |

    जय माहा मानब डा. के. सी. | तीम्रो जीत होस् !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • sony

    उनले गर्न खोजेको राम्रै कुरा हो ………. तर पनि यी र येस्तै डाक्टर साबले भगवान कोइराला ले अस्पताल बाहिर बिरामी पठौन दलाली गर्ने परम्परा तथा तेहाका डा. ले आफ्नु उपस्थिति बाहिरी private नुर्सिङ्ग होम देखाउनेलै कारबाही गर्न खोज्दा यी बाजे लगाएत अरु ले नि बिरोध गरेको भुल्न हुन्न हामीले| यिस्म्नरन रहोस तेहा काम गर्ने डाक्टर लै बाहिर काम गर्न नजौन भनेर बिसेस भत्ता पैले देखि थियो तेस बाहेक अन्य आम्दानी को लागि पय्यिङ्ग क्लिनिक पनि छ / सरकारी पैसो मा डाक्टर पढेका हरु बढी पैसो मुखी हुनु राम्रो चै हैन है/ डा गोबिन्द केसीको स्वास्थ्यको कामना|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • cRIS

    पोखरीमा पसेर यी यसरी नै हो, दुषित पोखरी सफा गर्ने!!! मेरो पनि समर्थन र एक्बद्दता दर्शाउन चाहन्छु|

    डा गोबिन्द केसीको स्वास्थ्यको कामना|

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • Abhyankar

    Dr केसी जस्तो पेशामा इमान्दार र मानवजातिकै वास्तविक डाक्टर लाई देशका कुनैपनि सरकार वा निजि अस्पताल, संघ सस्था वा बिदेशी संघ- Project आदिले अहिलेसम्म sponsor वा सहयोग गरेर उनको योग्यता, हिम्मत र सेवाको सक्दॊ उपयॊग नगरेको होला ???????!!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Binaya

    डाक्टर KC महान हुनुहुन्छ
    साथ दिनु हामी सबै नेपाली को कर्तब्य हो , हैन भने हामी लाई कहिले पनि मन मा शान्ति मिल्ने छैन अनि नेपाल शान्ति प्रेमी नेपाली को देश कसरि भन्ने. हामी सबै ले सक्ने किसिम ले डाक्टर KC लाई साथ दिनु हाम्रो नैतिकता हुनेछ . डाक्टर KC को जय होस्, देश का किटाणु को नाश होस्, हामी एक हौँ
    .

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • Sam Sharma

    Dr. Govinda KC is a living legend and a person with professional dignity/ethics/moral. We need to pressurize the government for saving his life and non-interference of political parties and student/trade unions on educational institutions including Institute of Medicine. The corruption watchdog CIAA should warn and stop such kind of interference which is detrimental for the development of professionalism. The government should work for providing autonomy of decision (in providing affiliation and other matters) as an University of Medicine so that the VC of TU, with limited technical/professional knowledge in medicine, cannot intervene on such issues. Dr. KC’s interview in Dishanirdesh can be viewed in the following link. Long live Dr. Govinda KC.

    http://202.166.193.40/videos/dishanirdesh-with-dr.-govinda-kc—january-16-2014-20-2524.html

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • abhishek bhattarai

    डाक्टर के सी आज अलि कम्जोर देखे मैले / जसले आफ्नो यौबन , जवानी , उत्साह , उमङ्ग, कमाई, सम्पति सबै दीन, दुखि , गरिब ,असहाय को निमित्त बितायो /दियो मान्छे त्यसको नियत माथि संका गर्छन / डाक्टर के सी जस्तो मानब हुन सजिलो छैन / ए के सी को बिरोध गर्ने हरु हो , ए के सी लाइ गाली गर्ने हरु हो के के सी ले बन्दुक उठाउन त सक्दैन नि ? के सी लाठो बजार्न पनि सक्दैनन , के सी कसै लाइ भन्न जान पनि सक्दैनन , के सी भासन गरेर कसैलाई प्रभाव पर्न सक्दैनन् / के सी संग जे हतियार थियो त्यसै ले प्रहार गरे त के बिराए / आफु संग जे छ त्यसैले हान्ने त हो नि हैन र ? यिनको निष्ठा को प्रहार , यिनको स्वाभिमान को प्रहार आज देश ले देखेको छ / महापुरुष हरु अरु लाइ दुख दिदैनन /त्यसैले पनि के सी ले आफ्नै दुख को बाटो रोजे / हो के सी ले हुल हुज्जत गर्न सकेन , के सी ले टाएर बाल्न सकेन र सक्दैनन् पनि / के सी यो समाज का दियो हुन् / मैन बत्ति हुन् / आफु बलेर अरु लाइ उज्यालो दिई रहेका छन् / विकल्प जानेका ले विकल्प देउ , सिकाई देउ , भनि देउ ,तर यौटा कुरा के भने के सी यौटा मानबता का प्रतिक बनेका छन् / जो संग आफ्नो लास जलाउन पुग्ने सम्पति पनि छैन /

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • shree ram raya

    डाक्टर वाग्ले जस्ता मान्छे उपचार गर्न नसकेर मरेर जाने यो देश मा अब गोबिन्द kc लाई गुमाउनु नपरोस डाक्टर अमित कुमार जस्तो मान्छे भयदेखि …………….सरकार ले सहयोग गर्थ्यो (……. अमित कुमार भन्या भारतीय मृगौला तस्कर हुन् )

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • suren gautam

    Dr. KC should be next CNN Hero. He is an angel in Earth!!! Salute you Dr. Sab. Mann vitra bata ko Salam.

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • डिल्ली

    त्रिविका राजनीतिका भ्रष्ट घोडा पदाधिकारीहरू मूलतः हिराबहादुर महर्जन (भिसी-एमाले), गुणनिधि न्यौपाने (रेक्टर-काँग्रेस) र चन्द्रमणी पौडेल (रजिष्ट्रार – एमाओवादी) मध्येका हिराबहादुर महापुरुषको मेडिकल कलेजको सम्बन्धन र डीन नियुक्तिको बहादुरी विविसि नेपाली सेवाको नेपाल सन्दर्भमा सुन्ने कि !
    http://www.bbc.co.uk/nepali/multimedia/2014/01/140115_sandarbhadr.shtml?bw=bb&mp=wm&bbcws=1&news=1

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Manoj

    The all mighty Khil Raj Regmi is in hangover after
    calling CA meeting

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

    • chiranjivi

      पार्टी को झोले माग मा नेपाल बन्द गर्ने हरु कहाँ गए? नेपाल बन्द गर्ने पर्ने मुद्दा हो यो.

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Wagle

    फटाहाहरुले मार्छन क्याहो डा. के. सी. लाइ? मेडिकल माफियाहरु, टि. यु.का चोर, डाका र राजनैतिक पार्टीका दलालहरुले बाच्न नदिने भए, सोझा-साझा डा. के. सी. हरुलाई | बरु अनसन नै बसेर भने पनि मोरोस, अनि आफ्ना कुत्सित स्वार्थ हरु पुरा गर्न पाइन्छ भनेर कामना गर्दै होलान यिनीहरु |
    जय होस् यो देशको….यो बाहेक अरु केहि भन्न सकिन्न !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 0

  • ekraj

    यो खिल राज को सरकार ले कसको के हेरेर बसिराखेको छ| यो पनि किन तिनै भ्रस्ट राजनीति पार्टी र नेताको भ्रस्ट पत्र भइ राखेको छ| यसरी नेपाल कमसे कम एकजना महापुरुस गोतल र भ्रस्ट नीति कसैको स्वार्थ को बिरुद्ध ज्यान सम्म दिन तयार हुदा, उनको त्याग लै सलाम गरेर न्याय दिनेकि उल्टो कण मा तेल हालेर सुत्ने|
    के हो एस्तो न्यायाधिश भएर, भ्रस्ट नेता लाई जेल हाल्न पर्ने साहश हुनु पर्नेमा उल्टो उनीहरुकै लंगुति को जुम्रो भएर बस्ने?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • महेश्वर श्रेष्ठ

    यदि आज हजारौं बिरामीलाई मर्का पर्छ भनि आन्दोलन नगर्ने हो भने त्यहि स्वास्थ्य प्रतिष्ठान बात् उत्पादन भएका बिद्यार्थीहरुले भबिस्यमा लाखौ बिरामीलाइ मर्का पार्ने छ त्यसैले भोलिको दिनको लागि आज आन्दोलन गर्नु आबश्यकता हो
    डा. केसी प्रति मेरो हृदय देखिको समर्थन

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

    • Mk

      सलाम छ, तपाइको सदबुद्धिलाई / तपाईं जस्तो , चिकित्सक गोविन्द जी जस्तो भबिश्ये द्रस्ता मान्छे अलि धेरै भइ दिए नेपाल सुध्रन के बेर !

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • bijay

    मानब रुपी देउताकोलागि केहि भन्न शब्दहरु पर्याप्त छैनन् / वाहाँको यो युद्ध सफल होस् / मेरो श्रद्धापूर्ण शुभकामना /

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 0

  • Laxman Adhikari

    Proud of you Dr. Govinda. Wish you all the best for your mission to be success.

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • Sunil, London

    “सति ले सरापेको देश” हो यो भन्ने हामीलाई थाहा छ ! डा. के.सी. नेपालमा एक अपवाद नै हुन् , एस्तो काम गर्ने डाक्टर नेपालीले देखेका छैनन् नै ! तर उनलाई समेत विवादास्पद बनाउन मान्छेहरु लागिपरेका छन् , धन्य हो पदलोलुपता, र भागबन्डाको राजनीति ! भगवान कोइराला जस्ता डाक्टरले समेत तनाव खप्न नसकेर राजिनामा दिनु परेको देश येही नै त हो नि ! जुन सरकार आएपनि नेपालीको भलो गर्ला भनेर नसोचे हुन्छ ! शायद उनीहरु त बूढा के. सी. केहि दिनमा अनसन मै मरिहाल्छन तेस्पछि त झन्झट नै साफ भनेर कुरी पो रा हुन् कि ?
    अर्को कुरा देश ब्यापी डाक्टरको हड्ताल ले केहि बिगार्दैन उनीहरुलाई ! जापान, अमेरिका, युरोप का अस्पताल मा इलाज गराउने रहर सबै नेता को छदैछ, जसले गरिसके उनीहरु स्वस्थ्य छन् अब अरु गर्न नपाएकालाई पनि यो हड्तालले चिठ्ठा पर्ने भो, येही बहानामा इलाजका साथै विदेश भ्रमण पनि जुर्ने भो !!!!!! मर्ने चाही नेपाली जनता छदैछन !!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • Manu Chhetri

    Dr. K.c. लाइ हृदय देखि सलाम,
    चोर र फटाहाहरुको स्वार्थको लागि गरेका सबै निर्णयहरु तत्काल फिरता गरी डॉ.k c .को माग तत्काल पूरा गरियोस,

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 134 Thumb down 1

  • राजनीतिक भागबन्डा गर्ने नेता हरु को बानी मा जब सम्म सुधार आउदैन तब सम्म यो देश ले डाक्टर के.सी.हरु गुमाउदै जानेछ/जय होस् डाक्टर साब हजुर को/शीग्र स्वास्थ लाभ को कामना सहित हजुर को महानता अगाडी लुरे भ्रस्ट सरकार निरिह बनोस सधै/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 92 Thumb down 0

  • सुमन

    डा. केसीको मांग पुरा गर्न हाँसु कि नहाँसु जस्तो मुखारविन्द लिएका खिलाराजेको सरकारलाई के को समस्या छ?
    सर्बोच्चमा जनताको एक लाख मुद्दा निर्धक्क पेनडिंग राखेर एमाओवादीको प्रस्तावमा
    खिलाराज गैर दलीय सरकार चलाउन आएका छन्| चुनाव पनि सकियो|
    मन्त्रिहरु सबै सुब्बा खरदार लायकका छन्|
    यस बेला पनि सरकारले डा. केसीको मांग पुरा गर्न नसके कुन बेला सक्ला?
    खिलराज श्रीमान, लौ सुशील लाई जदौ गरेर छिट्टै घर जानु भए हुन्छ| सर्बोच्चमा नत्र
    शम्भु थापाले स्वागत् गर्नेछन|
    डा. केसीलाई केहि भए खिलाराज जिम्मेवारी हुनेछ|
    अर्को एउटा पोइन्ट पनि भनिहालम| राजनैतिक दलहरुमा पदको भाग बण्डाले देश दिनहु टुक्राएको बारे केही बोल्ने कोही छन्? को हुन् यी भाग बन्डामा पर्नेहरु?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 1

  • डिल्ली

    डा केसीलाई मेरो हृदय देखि नै सम्मान छ । यस्ता आदर्श पुरुषहरू संसारमा नै धेरै कम जन्मन्छन् । क्रमिक रुपमा नरभक्षीआकार ग्रहण गरिरहेको राजनीतिज्ञनामका गुण्डा राजका झुण्डहरूको द्रव्य मोहकाकारण सत्पुरुषहरूले दुःख झेल्नु परिरहेको छ ।

    त्रिविका वर्तमान पदाधिकारीहरू राजनीतिका मुस्दण्डहरू हुन् । एमाले, काङ्ग्रेस, माओवादी र मधेसी सबैको स्वार्थ यसमा जोडिएको छ । सबै दल एकमत भएर तत्कालीन डीनलाई दवाब दिएर राजिनामा दिन वाध्य पारे र अर्का द्रव्य पिसाच डा शशी शर्मालाई नियुक्ति दिन सफल भए । पदाधिकारी पनि कम हैनन् यी झन पार्टी वफादारीमा कम हुने कुरा भएन भोलीकालागि राजदूत पद दाता तिनै दल हुन् भन्ने उनीहरूलाई राम्ररी थाहा छ । इन्स्टिच्युट अफ मेडिसिन पनि त्यही त्रिवि भित्र कै थलो हो ।

    त्रिवि पढ्ने, पढाउने र योग्य नागरिक उत्पादन गर्ने थलो नभै बोराका भित्रका दुर्गन्धित आलु उत्पादन गर्ने थलो बन्दै गैरहेको छ । यी पदाधिकारीलाई आ-आफ्ना सङ्कायहरूको स्तर कति खस्केको छ मतलवको विषय नै भएन । उनीहरू कताबाट अकुत कमाउन सकिन्छ भन्ने क्षिद्र खोजेर बसिरहेका छन् । क्षमता नै नभएका मेडिकल कलेजलाई सम्बन्धन बाँडिहिड्ने यिनीहरू करोडौँको आर्जन गर्छन् । शिक्षा क्षेत्र तहस नहस पारेर ढुकुटी भर्नेहरूले डा केसीले नीजि खर्च गरेर दिने सेवाको के मुल्याङ्कन गर्न सक्छन् र ! सम्बन्धन बाड्ने भनेको धन आर्जन गर्ने एउटा फ्याक्ट्री बनेको छ ।

    हाल त्रिविमा पार्टिकै आउरे बाउरेहरूको बलियो उपस्थिति छ । चाहे भिसी हिरावहादुर कहाँ होस् वा रेक्टर गुणनिधि वा रजिस्ट्रार चन्द्रमणी । कुनै समयका लठेत गुण्डाहरू नै पदाधिकारी माथिका उपर पदाधिकारी देखिन थालेका छन् ।

    मनमोहन मेडिकल कलेजको बहाना देखाएर सम्वन्धनको चलखेलमा राजेन्द्र पाण्डे, महेन्द्र पाण्डे र विजय सिलवाल कम्पनी द्रव्य भोगमा लागेका छन् । हिरबहादुर उसै पार्टिका न परे । रेक्टर रजिष्ट्रार अफिसका लठेतहरूको त कुनै कुरै नगरौँ । विद्यार्थीकालका गुण्डाहरू नै सल्लाहाकार प्राज्ञ छन् जो सबै सात जन्मका भोकाहरू हुन् । सित्तै पाए अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्नेहरू विना लगानी अकुत आर्जन गर्ने चलखेलमा किन पछि हट्थे ! त्यस्ताहरूले के डा केसीको देनलाई मूल्याङ्कन गर्न सक्छन् र उनको जीवन रक्षाको पहल गर्छन् ?

    ईमान्दारलाई जोगाउने पालो नेपाली सबैको हो त्यसैले डा केसी जोगाउ अभियानमा हातेमालो गरौँ । दल र त्रिवि पदाधिकारीहरू भाग बण्डाका भोगिहरू मात्र हुन् । अन्यायमात्र गर्ने हुन् न्याय गर्दैनन् । अपराधि र माफियाहरूलाई कार्यवाहीको दयरामा ल्याउन सक्तो प्रयत्न गरौँ ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 86 Thumb down 1

  • Amit

    Thank you Umesh ji for bringing this up. Its so touching story about Dr. Govinda K.C. I am sure the govt. will heed to his demands. This success will stop future intervention in educational sector. Thanks again.

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 0

  • बशन्त राज

    लौन नेता हो अब त यी जस्ता ब्यक्ति बाट प्रेरणा लीएर देश को हित मा सोच / अनि यिनको मांग छिटै पुरा होस् / एकदम मार्मिक लेख आखाबाट आसु नै आयो /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 40 Thumb down 0

  • Mahendra

    डा केसी जस्ता महान मान्छे कमै मात्र पाइन्छन / उहाले राखेका मागहरु जायज छन् / उहाको जीबन राक्ष्ह्याको लागि सबैले पहल गर्नु पर्दछ / येसकालागी सबैतिरबाट TU र सरकार लाइ दबाब दिनुपर्छ / भगवानले उहाको जीबन रक्ष्ह्या गरुन /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 0

  • shiva hari

    राम्रो मान्छे यिनलाई पैसाभन्दा सेवा ……यी राष्ट्रका सम्पति हुन् जस्तो लाग्यो म proud गर्छु उह्वा पर्ति

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 41 Thumb down 0

  • abhi

    Does not the IOS dean have any powers that he has to quit because he is pressured to do “illegal” stuff? Amid this mess, why Dr Shayami quit, what are the pressures he faced, what would have happened if he did not heed to the pressure? I have not read anything about these issues in any media. Can anyone elucidate me on these things?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • sagar

    Salute to you sir. Hats off to you legend dr. Kc.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 90 Thumb down 2

  • Bindu

    कति सबल अनि दृढ . आफ्नो सही विचारको लागि ज्यानको बाजी लगाउने !
    मुलुक उँभो लाग्न कति बेर लाग्ने थियो र !हाम्रा नेता पनि डाक्टर गोबिन्द जस्तै सबल अनि दृढ भैदिए आफ्ना सहि बिचारमा —-
    के गर्नु ! राम्रो कुरा मात्रै गर्ने नेता छन् —– काम चै ?!
    अब चै पाठ सिक्लान् कि हाम्रा नेताहरुले पनि ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 124 Thumb down 1

    • Mk

      खुसि साथ् भन्नु पर्छ कि तपाइले ब्यक्त गर्नु भएको कुरो चाडै पुगोस ; तर अहिलेसम्म को राजनीतिक हर्कत हेर्दा , दुख साथ भन्नै कर लाग्छ कि -’कुकुर को पुछर बार बर्ष ढुंग्रोमा राखेको बांगो को बाङ्गै’/ कतै, भारतमा आम आदमी पार्टीको अरविन्द जी जस्तै नेपालले पनि खोजेको तो होइन ?

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Sargam

    भ्रस्टहरुको माझमा डा. केसी एक आदर्श हुन ! उनले चिताएको पुगोस हाम्रो शुभकामना !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 111 Thumb down 1

  • ekraj

    “इ गोबिन्‍द केसी डाक्टर साब त मान्छेका रुप मा भगवान नै हुन् जस्तो लग्यो” |आशा र नेपाल को नैतिक पतन सरकार र यो चलखेल मा लाग्ने पदाधिकारी हरुको हर होस्|
    सहि माग को लागि लागेका डाक्टरहरुको माग पुरा होस् र जनता ले एक पटक नेपालमा महापुरुषको देन मा गतिलो न्याय दिलाउन सकिने रहेछ भनेर, सर्ब साधारण हरुको आत्म बिस्वाश बदोस|
    “सत्यको जय होस्”

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 81 Thumb down 1

  • Pandit sharma

    Thank you for such inspiring cover news, he is a great inspiration for the nation

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 67 Thumb down 0

  • Prima

    Hats off Dr k c .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 0

  • नोबेल पुरस्कारले सम्मानित होस् भन्ने चाहान्छु सम्मानीय , आदरणीय डाक्टर साबलाई …

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 90 Thumb down 2

  • Purushottam Shrestha

    सलोक्यजिलाइ धन्यवाद – एउटा त्यागी समाजसेवी डाक्टर गोविन्द केसी को सङ्घर्ष र समाजसेवाबारे रिपोर्टिंगका लागि |

    आज हामीहरुले आफैलाई प्रस्न गर्नुपर्ने भएको छ – किन चिकित्सा शास्त्र अध्ययन संस्थानमा डाक्टर केसीले पटकपटक अनसन बस्नुपरिरहेको छ ? किन हामी हाम्रा संस्थाहरुमा योग्य र सक्षम व्यक्तिहरु नियमबमोजिम नियुक्त गर्न सक्दैनौं ? यो राजनैतिक हस्तक्षेप र भागबन्दाको संस्कृति कहिले सम्म रहन्छ ?

    मेरो विचारमा यी सबै विकृति विसंगतिको जड भनेकै हाम्रो देशमा विद्यमान गलत राजनीति हो | देशको राजनीति सफा नभएसम्म यस्ता विकृति विसंगतिहरुले हामी नेपालीहरुलाई पिरोलिनै रहन्छ |

    तर पनि अहिलेको मुख्य विषय भनेको डाक्टर केसीको जीवन रक्षा हो | यो बेलामा आफुलाई कुनै राजनैतिक रङ्ग नदिई सबै प्राध्यापकहरु, डाक्टरहरु, अन्य पेशागत समुदायहरु , बुध्दिजिबिहरु, विद्यार्थीहरु एवं सर्वसाधारण जनताहरुसमेत एकजुट भएर डाक्टर शशि शर्मालाई डिन पदबाट राजिनामा लगायत डाक्टर केसीका सात बुंदे मागहरु पुरा गराऊन दबाब सिर्जना गर्ने नै हुनुपर्छ जस्तो लाग्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 71 Thumb down 0

    • Mk

      हालको अबस्थाको सहि ब्याखा तथा चिरफार गर्नु भएको मा दुइ मत नहोला/ भन्नाले , नया नेपाल बनाउन को लागि हालको फोहोरी राजनीतिलाई कसरि सफा देशनीति मा परिणत गर्ने -यो पो मूल मुद्दा तथा सरोकार को विषय रह्हेछ , हँ /

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • kishor

    I have tears in my eyes reading his biography, it is so touching! I feel proud to be Nepali today because of you, thank you Dr. Govinda KC. Although people like you may be minority in politically and culturally corrupt society like ours, you are a ray of light and symbol of hope in this darkness. Thank you Salokya for making us aware about who Dr. KC is. I pledge my earnest support to your cause Dr. KC (which in fact we all Nepali’s cause that you are fighting for).

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 1

  • बिराज सुबेदी, Fougeres France

    डा गोविन्द केसी ज्यु लाई मेरो आत्म बाटनै सलाम छ. नेपाल आमाले यस्तो ब्यतिलाई पनि जन्म दिएकी रहेछिन आज को युगमा ,तर के गर्ने नालायक नेपाल सरकारले जिउदै मार्न खोजिरहेको छ डा गोविन्द केसीलाई, डा गोविन्द केसीको सु-सस्यस्थ्यको कामना गर्दछु!!!!!
    ि

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 80 Thumb down 0

  • sabita paudel

    डा. केसी को बारे मा जति जान्यो उतिनै वहा प्रति श्रद्धा जागेर आउने, वहा जस्तो आदरणीय महापुरुष ले यदि कसै को बिरोध गर्नु हुन्छ भने त्यो बिरोध गर्न लायक नै भएर होला भनि बुझी, म वहा प्रति अन्धभक्त मेरो सहमति जनाए.. वहा को माग छिटो भन्दा छिटो पुरा गरिओस..सम्बंधित निकाय कानमा तेल हालेर बसेको मा घोर भत्सना छ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 122 Thumb down 0

  • […] Nepali blog Mysansar [ne] wrote about the doctor's heroics quoting an earlier write-up on him by journalist Surendra […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

eXTReMe Tracker