यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

धर्तीदेखि चर्पीसम्मको यात्रा

digestive हाम्रा भन्ने तरिकाहरु मिठा छन्, तथ्यको नजिकै पनि पुग्छौं, तर गहिराइमा डुब्ने त्यति बानी छैन हाम्रो। परिणामस्वरूप तथ्य हात पार्न चुक्छौँ। अरु त कुरै छाडौं, शरीरका सबै अंगहरु समेत आफ्नै भाषामा भन्न नपाई अरुका शब्दहरु सापट लिएर भन्न बाध्य हुनु भनेको हामी विज्ञानमा कमजोर भएको प्रमाण हो। सुन्दा भने तितो लाग्छ !

वाक्कै आउलाजस्तो भयो, जताबाट पठाएको उतै फर्केलाजस्तो भयो, आन्द्रा बटारिएर आयो, पेट हुँडल्यो, कटक्क पेट काट्यो, थुकथुकी लाग्यो, घाँटीमा अमिलो पानी आयो, पेट पोल्यो, छाती पोल्यो, नाक थुनेर खाएँ, श्रद्धा लाग्दैन, मेरो शरीरले सहँदैन, आउँ पर्यो, पखाला लाग्यो, पचेन जस्ता सबै भनाइहरु एकदमै ठिक र बिज्ञान सम्बन्धि हुन्। तर किन त्यसो हुन्छ भन्ने कारण हामी धेरैलाई त्यति थाहा छैन।

यी माथिका संपूर्ण कुराहरु पाचन प्रणालीसंग सम्बन्धित छन्। हामीले खाने खानाले करिब ३० फिटको कतै मोटो, कतै पातलो, कतै नरम, कतै कडा नलीभित्र यात्रा गर्नु पदर्छ। सामान्य अवस्थामा यो यात्रा १६-२४ घण्टा भित्र पुरा हुन्छ तर बिचमा अवरोध आएमा अवरोध हेरिकन ५ मिनेटभित्रै टुंगिन पनि सक्छ, अनि ४८ घन्टासम्म लाग्न पनि सक्छ।

“खाना खाएपछि पेटमा जान्छ, पच्छ र नपचेको अथवा काम नलाग्ने बाहिर निस्कन्छ” भनेर हामीले साधारण हिसाबले भने जस्तो सामान्य छैन यो पच्ने कुरा। खाना खाने प्रक्रियाभित्र, हाम्रो शरीरलाई बिभिन्न प्रकारका खाद्यतत्व चाहिने त्यथ्य भित्र, र खाएको खाना पाचन भै शरीरमा लाग्ने प्रक्रियाभित्र थुप्रै जटिल र आश्चर्यलाग्दा कुराहरु छन्।

अखाद्य बस्तु त हाम्रो शरीरले कहिलै स्वीकार्दैन नै। कुनै पनि खाद्य बस्तु स्वीकार गर्न समेत ४ अवस्था पुरा हुनु पर्दछ। बस्तु देख्दा सुन्दर हुनु पर्छ, बस्तुको बास्ना मिठो हुनु पर्छ, बस्तुलाई मनले स्वीकार्नु पर्छ, र उक्त बस्तुले हानिनोक्सानी गर्दैन भन्ने कुरामा शरीर अभ्यस्त तथा विश्वस्त हुनु पर्दछ। देख्दै घिन लाग्ने बस्तु जतिसुकै बास्नादार र पौष्टिक भए पनि, डुंङडुंङती गनाउने बस्तु जतिसुकै सुन्दर र पौष्टिक भए पनि, मनले नस्वीकारेको बस्तु जतिसुकै बास्नादार, सुन्दर र पौष्टिक भए पनि, र नयाँ खाद्यबस्तु तथा पदार्थमा शरीर अभ्यस्त नभएसम्म जस्तोसुकै फाइदाजनक बस्तु भए पनि हाम्रो शरीरले स्वीकार्दैन।

तसर्थ सर्वप्रथम हामी आँखा, नाक र मनबाट खान सुरु गर्छौं, अनि पाचनको थालनी पनि त्यहींबाट प्रारम्भ हुन्छ। आँखा, नाक र मनले स्वीकारेका खानेबस्तुहरु पेटमा नपुग्दै पाचन प्रणालीसंग सम्बन्धित कैयौं अंगहरु प्रभावित र गतिशील भै प्रतिक्रिया जनाउन थालिहाल्छन। अमिलो, मन परेका खानेकुरा देख्दा मुख रसाउनु, खाना पर्खेको बेलामा वा मिठो बास्ना नाकमा पर्दा झन् भोक लाग्नु त्यसैका परिणाम हुन। आँखाले देखेर शरीरले प्रतिक्रिया जनाउने कुराहरु त खाना बाहेक पनि सयौँ हुन्छन। कुनै मान्छे देख्ने बित्तिकै मन पर्नु वा मन नपर्नु, राम्री महिलालाई देख्दा पुरुस र राम्रो पुरुस देख्दा महिला कल्पनामा बग्नु, अस्लिल चित्र हेर्ने मान्छेले विकृत मैथुन गर्नु पनि शरीरले जनाउने प्रतिक्रियाका अन्य परिणाम हुन। फरकफरक अवस्थामा भिन्नभिन्न अंगहरु प्रभावित हुन्छन। एउटै बस्तु समेत राम्रो देख्दा र नराम्रो देख्दाको शरीरको प्रतिक्रिया फरक हुन्छ।

हाम्रो शरीरलाई बिभिन्न कामको लागी बिभिन्न प्रकारका खानेकुराहरु चाहिन्छ। हुन त एउटै खाने बस्तुमा पनि शरीरलाई चाहिने धेरै प्रकारका तत्वहरु पाइन्छन, तर पनि बुझ्नको लागी साधारण दृष्टान्त दिनु पर्दा भात, रोटी, आलु आदिमा कार्बोहाइद्रेड पाइन्छ जसले शरीरलाई तुरुन्तै शक्ति प्रदान गर्दछ। तेल, घ्यू, नट आदिमा चिल्लो पदार्थ पाहिन्छ जसले भिटामिन सोस्न, शक्ति प्रदान गर्न, जाडोबाट बचाउन सहयोग गर्दछ। चोकरयुक्त खाना, हरियोपरियोमा फाइबर पाहिन्छ जसले पाचनमा सहयोग पुर्याउनुको साथै कब्जियत, केही प्रकारका क्यान्सर, मधुमेह र मुटुको रोगबाट जोगाउन भूमिका खेल्दछ। माछा, मासु, अन्डा, दलहन, दुग्द पदार्थ आदिमा प्रोटिन पाइन्छ जसले हर्मोन बनाउने, शरीरका कोष बृधि र तन्दुरुस्त राख्ने, बिभिन्न इन्जाइमसंग मिलेर आवश्यक रासायनिक प्रतिक्रिया गर्ने लगायतका थुप्रै महत्वपूर्ण कम गर्दछ। नुन, दूध, कलेजो आदिमा फलाम लगाएतका खनिज पदार्थ हुन्छन जुन जीवकोष राम्रोसंग रहन, बाँच्न, शरीरका माम्सपेसीको मस्तिष्कसंग सम्बन्ध स्थापित गर्न अति आवाश्यक हुन्छन्। फलफूल, हरियो तरकारी, दुग्ध पदार्थ आदिमा भिटामिन पनि पनि पाहिन्छ जसले शरीर तन्दुरुस्त राख्न सहयोग गर्दछ। शरीरले प्रोटिन बनाउँछ तर भिटामिन बनाउंदैन त्यसैले यो एकदम महत्वपूर्ण छ। शरीरलाई चाहिने सबै तत्व र कुन तत्वमा केके पाइन्छ भन्ने सबै कुरा यो सानो लेखमा व्याख्या गर्न सम्भब छैन। यो बिषय एकदम बृहत छ। त्यसैले प्रसंग बदलौं।

फेरि पाचन प्रक्रियामैं फर्कौं। हामीले ख्याल गरेका हुँदैनौं तर अति अचम्म र बिशिष्ठको छ यो पाचन प्रक्रिया भन्ने ! हाम्रो शरीरमा हुने बिभिन्न प्रकारका अंगको बिशेष काम र भूमिका हुन्छ। एउटै अंग पनि अलिकति फरक हुनेबित्तिकै काम पनि फरक भैहाल्छ, जस्तै:- हाम्रा अगाडिका दाँतले लुच्छन र टुक्र्याउंछन, कुकुर दाँतले फुटाउंछन र चुँडाउंछन, अनि बंगाराले कुट्ने र पिन्ने काम गर्दछन। खाना मुखमा नहाल्दैदेखि रयालग्रन्थीहरु सक्रिय भै रयाल निकाली रहेका हुन्छन। त्यही रयालसंग जिब्रोले खाना मुच्छ र डल्लो जस्तै पारेर तर्कुलोबाट निल्नेनली (esophagus) मा धकेल्छ। एक दिनभरिमा हाम्रो मुखबाटमात्रै २ लिटरसम्म रयाल निक्लिन्छ। हुन त श्वासनली र निल्नेनली फरकफरक हुन्छन, तर तर्कुलोमा आएर जोडिन्छन। खाना निल्दा एउटा सानो एपिग्लटिस् (epiglottis) नामको ढकनी (flap) ले खानालाई श्वासनलीमा जानबाट रोकी निल्नेनलीतर्फ झर्न सहयोग गर्दछ। यो नलीबाट झरेको खानालाई पेटले एक संयन्त्र प्रयोग गरी तल आमासयमा तान्छ र खाना पेटमा पुग्छ। ठोस बस्तु आमासयमा पुग्न झन्डै ८ सेकेन्ड लाग्छ भने तरल पदार्थ १ सेकेन्डमै पुग्छ। यो अबरोधबिनाको प्रक्रिया भयो।

यो प्रक्रियामा सामान्यभन्दा सामान्य अबरोध आए के हुन्छ त ? जिब्रोमा मिठो नमिठो, ताजा सडेगलेको तुरुन्त छुट्टयाउन सक्ने (censorship) क्षमता हुन्छ। खराब बस्तु मुखमा पुग्ने बित्तिकै थाहा पाई थुक्न संदेश दिन्छ। कुहेको बदाम, किरा भएको केराउ, कटुस तथा लिंची मुखमा पर्दा कस्तो हुन्छ ख्याल गर्नु भएको होला नि ! त्यस्तै निल्नेबेलामा कुनै तरल अथवा ठोस बस्तुको कण श्वासनलीमा छिर्यो भने सर्किन्छ। निलेको कुनै बस्तुको सानो कण पनि निल्नेनलीमा बाँकी रह्यो भने छातीमा ढ्वाक्क केही अड्किएझैं हुन्छ आदि।

निल्नेनली, आमसय, आमसयसंग जोडेको सानो आन्द्राको भाग (duodenum), सानो आन्द्रा, ठुलो आन्द्रा र मलद्वार (rectum) सम्मको यो लामोनलामो नलीलाई विज्ञानमा पाचन प्रणालीको सुरुंग मार्ग (gastrointestinal track) भनिन्छ। प्राबिधिक रुपले भन्दा यो नालीमा रहुन्जेल खाना शरीर बाहिर भए जस्तैजस्तै हो। किनकी यदि हानिकारक खाना, किटाणु यो नालिभित्र प्रवेश गर्योभने शरीरले स्वीकार्दैन र त्यो चीज यो नलीको कुनै एक छेउबाट निस्कन बाध्य हुन्छ। साहाकरीले मासु वा बच्चाले कफी, रक्सि आदि खाँदाझैँ !

हामीले खाने खाना टुक्रिएर, गलेर, घोलिएर एकदम साना अणुमा परिणत नभैकन शरीरले लिन सक्दैन। शरीरले खाना लिने भनेको खाएको खाना चन्दन जस्तै मसिनो भै बिभिन्न प्रक्रियाबाट सोसिएर रगतमा पुगेर त्यहाँ पनि बिकार छानिएर रगतको माध्यमले शरीरका बिभिन्न कोषमा पुग्नु हो। त्यसो हुनकालागी एउटा बिशेष प्रक्रिया पुरा हुनु पर्दछ। तर मिनरल, भिटामिन र पानी भने पच्नु पर्दैन। फाइबर पच्दैन पनि र शरीरले लिंदैन पनि, यसले मात्र खाना सही समयमा चल्न सहयोग गर्छ।

आमासयमा खाना पुगेपछि त्यहाँ हाइड्रोक्लोरिक अम्ल (hydrochloric acid) लगायतका खानलाई छिट्टै गलाउन सक्ने थुप्रै रासायन तत्त्वहरु निस्कन्छन्। एमीलस (amylase) भन्ने रसायनले माडजस्ता (starch) तथा चिनी (glucose) आदिलाई टुक्र्याउछ, प्रोटिज (protease) भन्ने रासायन तत्व ले प्रोटिन र अमिनो एसिड (amino acid) लाई, लिप्से (lipase) भन्ने तत्वले बोसो (fat), बोसे एसिड (fatty acid) आदिलाई टुक्र्याएर मसिनो बनाउँछन्। खाएका बस्तु पनि बस्तु हेरिकन पच्न लाग्ने समय फरक हुन्छ। जस्तै अंगुर पच्न १०५ मिनेट, केरा १८०, भेन्टा २१०, र बदाम पच्न १९५ मिनेटसम्म लाग्छ। बिभिन्न प्रकारका बस्तु गलाउने रासायन पनि फरकफरक हुन्छन। आमासयको लागी एकै प्रकारका खानेकुरा ठिक हुन्छन किनकी एकै प्रकारको रसायनले गाल्न सक्छ। तर हाम्रो शरीरलाई धेरै प्रकारका खानेकुरा चाहिन्छ। धेरै प्रकारका बस्तुहरु गाल्न धेरै प्रकारका रासायन उत्पादन हुन्छन, अनि बिभिन्न रसायनहरुको एकआपसमा मिश्रण हुँदा अन्य प्रतिक्रिया पनि हुन्छ र ग्यास पनि धेरै उत्पन्न भै पेट कराउने, डकार आउने, पाद आउने आदि हुन्छ। खाना खाएको कम्तिमा १-२ घन्टासम्म पानी खानु पनि हुँदैन किनकी पानीले, एकातर्फ रासायनहरुलाई पातलो बनाइदिन्छ भने, अर्कोतर्फ खानाका केही कणहरु नपच्दै तल बगाइदिन्छ।

पचाउने काममा कलेजो, पित्त र प्यानक्रियास (pancreas ) को पनि एकदम ठुलो भूमिका हुन्छ। प्यानक्रियासले कार्बोहाइड्रेड, बोसो, प्रोटिन आदि पचाउने काम गर्नुको साथै रगतमा गुल्कोजको मात्र समेत सन्तुलन गर्ने काम गर्छ भने कलेजोले पित्त उत्पादन गरी शरीरलाई बोसो सोस्न सहयोग गर्नुको साथै रगतका बिकारहरु छान्ने काम गर्दछ।

आमासयमा मसिनो लेदो बनेपछि त्यो लेदो डुडेनम हुँदै सानो आन्द्रामा प्रवेश गर्दछ र एकोहोरो घुम्दैघुम्दै अगाडि बढ्दछ। सानो आन्द्रा नरम, पातलो र लामो हुन्छ। यसको भित्रपट्टी भिली (villi) भन्ने मसिना छिद्र र रगत रेसा (blood capillaries) हुन्छन। तिनैले नै मसिनो भएका खानाका अणुहरु बिस्तारै सोसेर लिन्छन् र त्यो सोसेर लिएको कुरा रगत बहने ठाउँ (bloodstream) मा प्रवेश गर्दछ। सानोआन्द्राबाट छिर्न नसकेका र बढी तरल बनी बगेर गएका, तर अझै उपयोगी तत्वहरु, ठुलो आन्द्राबाट शरीरले सोसेर लिन्छ। काम नलाग्ने बाँकी पदार्थ चर्पी तर्फ प्रस्तान गर्दछ।

(नोट: कतिपय शब्दहरु नेपालीमा नपाइएर अर्थ बुझ्न सजिलो होस् भनेर आफैले नेपालीकरण गरेको छु। साथै बिशेषज्ञ र चिकित्सकहरुका लागी यो लेख पर्याप्त छैन)

[गौतम हरेक साता विज्ञान सम्बन्धी ब्लग लेख्छन्। उनका अन्य विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्]

3 comments to धर्तीदेखि चर्पीसम्मको यात्रा

  • shree basanta

    धेरै उपयोगी कुरा हो थाहा पाउनु पर्ने | राम्ररी बयान गर्नु भएकोमा धन्यवाद | हाम्रो शरीर ज्यादै संबेदनशील छ भन्ने पनि यो लेखको आशय हो जस्तो लाग्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Anjan

    This is nice and detail information. Manythings that we don’t know about. Everyone should read it.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Janaki

    अलिकति भाष मिलाएर अल्लि छोटो बनाएमा यो लेख स्वास्थ बिषयकोलागि एकदम ठिक छ, राम्रो लेख .

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3