मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : हाउस वार्मिंग पार्टी

– गोविन्द गिरी प्रेरणा –

परिवेश थापा हातमा रहेको कपको सेलाइसकेको कफीको चुस्की लिंदै विगतमा हराउन थाल्यो ।

मान्छेलाई समयले कहाँवाट कहाँ पुर्याउँदो रहेछ । कहाँ कहाँ भोजपुरको याकु गाउँमा जन्मेर, त्यहीं स्कूले शिक्षा सकेपछि उनका वा आमा विराटनगर वसाईं सरेका थिए । विराटनगरवाट विएसम्मको शिक्षा ग्रहण गरेपछि फराकिलो शहर र अग्लो उद्देश्य लिएर उ काठमाडौं हान्निएको थियो । काठमाडौंमा उसले शुरुमा त निकै हण्डर खानु परेको थियो ।

पहिलो कुरा त अविवाहित भएकाले डेरा पाउन उसलाई हम्मे हम्मे परेको थियो । एक्लो केटाले त डेरा पाउनै मुस्किल । कति ठाउँमा त विहा गरेको छु , गाउँमा स्वास्नी छे भनेर ढाँट कुरा पनि गरेको हो । तर त्यो ढाँट कुरा पनि काम लागेको थिएन र विराटनगरकै एकजना परिचितको घरमा शरण लिन पुगेको थियो ।

त्यहाँ एकाध महिना वसेपछि उसले कसरी त्यहाँवाट उम्किने, त्यो दाउ खोज्ने अभियान छेड्नु प¥यो । कारण सरल थियो, ती आफन्तको जागिर एयरपोर्ट भन्सारमा थियो र रातदिन नोटको विटा ल्याउने र होटलमा वास वस्ने वानी भएको थियो । यौटा नोटको विटो स्वास्नीको हातमा सुम्पेपछि उसले त्यसवापत एकाध दिन होटलमा वसे पनि अर्थात घरमा वास वस्न नआए पनि गुनासो हुन्नथ्यो । पछिपछि त घरमा भन्दा घर वाहिर वास वढी हुन थालेको वेला परिवेश त्यो घरमा शरण लिन पुगेको थियो ।

चिवेचरीको झैं चिरविरे स्वरकी म्याडमको उदासीलाई साम्य पार्न परिवेशले भन्यो, त्यत्रो कमाई गर्ने गर्ने सरलाई किन दुखी वनाउनु हुन्छ ?

म्याडमले त्यसपछि उसको हात समातेर सोधेकी थिइन्, अनि मभित्र उग्र भइरहेको आगो कसले शान्त पार्छ नि ?

म्याडमको यो जवाफले उ अवाक् भएको थियो ।

त्यसपछि एक्कासी म्याडमले उसको कठालो समातेर आफ्नो कोठामा लगेर सोधेकी थिइन्, तिमी सक्छौ मलाई शान्त पार्न ?
उ चूपचाप थियो यो अचानक विकास भएको अप्रत्यासित घटनाक्रमले र उसको ओठ वोल्न नसकेर थर्थराएका थिए ।

त्यसपछि म्याडमले उसलाई चिथोर्न, कोपर्न थालेकी थिइन् र एकाएक रुन थालेकी थिइन् । म्याडमको आँसुले उ द्रवित भएर उसले हत्केलाले सुस्तरी आँसु पुछिदिएको थियो । म्याडमले उसले आँसु पुछेका दुवै हात च्याप्प समातेकी थिइन् र उसलाई अँगालोमा वाँधेकी थिइन् ।

यतिन्जेल नफूटेको उसको धैर्यको वाँध अव फूटेको थियो ।

केहीवेरपछि म्याडमको आगो साम्य भएको थियो र परिवेशको छातीमा भने डरलाग्दो डडेलो सल्केको थियो ।

यसैवीच हो उसले त्यो घर छाडेर अन्त जान खोजेको ।

तर म्याडमले वाचा वन्धनमा पारेर उसलाई त्यहीं वस्न वाध्य तुल्याएकी थिइन् । उ वाध्यतावस वस्नु परेको थियो ।

पछिपछि त उसलाई दुनियाँमा म्याडमभन्दा कोही नभए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । राजकुमार भण्डारी, म्याडमका पति घरमा वास वस्न आएको दिन उसलाई नमज्जा लाग्न थालेको थियो ।

अचानक एकदिन राती घर आइपुग्दा राजकुमार दम्पत्ती मारामार झगडा गरिरहेका थिए । लोग्ने निकै पिएर आएको वुझिन्थ्यो, उ लर्वरिएको आवाजमा भन्दै थियो, मलाई नामर्द ठानेकी राँड तैंले ? नाठो खेलाएर रमाएकी , तेरो म रगत पिउँछु, इत्यादि।

माथि कोठामा उनीहरु उसकै विषयमा झगडा गरिरहेका थिए भने अव उसले त्यहाँ वास वस्न उचित ठानेन र सँगैको घरमा वस्ने, हालसालै चिनेको साथीकहाँ उ पुगेको थियो ।

केही दिन अघि चिनापर्ची भएको, एक दुई पल्ट सँगै चिया पिएको र एकाध पल्ट आउजाउ गरिसकेको हुनाले उसलाई त्यहाँ जान कुनै अप्ठ्यारो लागेन र भन्यो, आज म यतै वस्न चाहन्छु । हुन्छ ?

त्यो साथीले भनेको थियो, एकदम स्वागत छ तपाईंलाई ।

यसो अलिकति पिउँदै गफगाफ गर्न मन लागेर हो…उसले भनेको थियो ।

त्यसपछि दुवै वाहिर निस्केका थिए र हाफ वोतल ह्विस्की , सोडा , दालमोठ र ड्र«ाई मिट किनेर फर्केका थिए ।

त्यो मित्र अर्थात् रितुवर्ण थपलियासँगको त्यो साँझको वसाई अनि अवेरसँग वस्दै पिएर गफ गरेको रातले उसको जीवनमा नयाँ मोड ल्याई दिएको थियो ।

00

होइन कफीमै अल्झने हो कि पार्टीमा जान तयार हुने हो हजुर ?

विन्द्यवासिनीको वोलीले परिवेश झस्कियो । उ विस्मृतिको काठमाडौंवाट एक्कासी अमेरिकाको भर्जिनिया राज्यको फल्सचर्चमा आइपुग्यो ।

मलाई त पार्टीमा जान पटक्क जाँगर चलेको छैन, वासिनी । उसले विन्द्यवासिनीलाई भन्योें ।

उ माया गरेर स्वास्नीलाई वासिनी भन्न मन गथ्र्यो । उ पनि त्यसो भन्दा मख्ख पर्थी ।

मौका वेमौकामा नचाहिने धक्कू लगाएपछि यस्तै हुन्छ । तर हामी मात्र होइन यो स्थिति भोग्ने । साराका साराको हाल उही फटेहाल हो क्यारे । के नेपाली , के जापानी, के कोरियन, के भारतीय, के अमेरिकन सवै उस्तै भएपछि केको लाज, केको धक ?

उ केही नवोली चूप लागिरह्यो ।

वासिनीले उसको गाला मुसार्दै भनी, हजुरको सुख दुखमा साथ दिने वासिनी भएपछि के को चिन्ता ? ल छिटो तयार हुनोस् म मेकअप सकिहाल्छु । यति भनेर वासिनी मेकअपका लागि अर्काे कोठातिर लागी र उ पुनः एक्लो भयो ।

वास्तवमा उसलाई म्याडमको पंजावाट छुटकारा दिलाएर अमेरिका ल्याउने वासिनी नै थिई, यद्यपि आजपर्यन्त वासिनी यो तथ्यवाट वेखवर छे ।

00

राती अवेरसम्म रितुवर्ण र परिवेश त्यो हाफ वोतल ह्विस्की सिध्याउन नसकेर आकास पातालको गफ गर्दै समय कटनी गरिरहेका थिए ।

झण्डै मध्यरातमा रितुले भनेको थियो, यार एकछि वाहिर हावा खाएर आउँ, सारै औडाहा भयो ।

वास्तवमा खडेरी परेको जेठको महिना थियो त्यो । परिवेश रितुको प्रस्ताव सकार्दै वाहिर जान जुरुक्क उठेको थियो । अनि दुवै हल्लदै यताउता टहलिईरहेका थिए ।

वास्तवमा समयको खेललाई मान्नुपर्छ, म तपाईंलाई यौटा कुरा भन्न चाहन्थें, तपाईंलाई मेरो कोठामा निम्त्याउन चाहन्थें । तर तपाईं आफै मेरो कोठामा आएर ठूलो संकट टारिदिनुभयो । रितुले भन्यो ।

म क्यै कुरा नवुझेर छक्क परेको थिएँ ।

वास्तवमा तपाईं भनेपछि हुरुक्क हुने यौटी कन्या छिन् । रितुवर्णले यसरी कुराको उठान गरेको थियो ।

को होली त्यो अभागिनी । परिवेशले हाँस्दै भनेको थियो । यसो भन्न उसले पिएको ह्विस्कीको पनि अलिकति योगदान हुँदो हो ।

जो भए पनि राम्री कन्या हो । सुशिल कन्या हो । तपाईं भनेपछि हुरुक्क हुने कन्या हो । रितुले भनेको थियो ।

परिवेश रितुको कुराले आश्चर्यको भूमरीमा परेको अनुभूत गर्दै थियो ।

त्यो कन्याको प्रस्ताव स्वीकार्ने हो भने तपाईको जीवनले नयाँ आयाम पाउँछ । उसले भनेको थियो ।

यो त कुन ठूलो कुरा भयो र । उसको छातीमा यो जवाफ उम्रेको थियो । तर ओठमा आइसकेको थिएन ।

त्यो कन्यालाई स्वीकार्नु भनेको अमेरिका जाने भिषा लाग्नु हो । रितुले सुस्तरी भनेको थियो ।

कसरी ? परिवेशले सोधेको थियो ।

कसरी भने त्यस कन्यालाई डिभी परेको छ र छिट्टै उसले लोग्नेको नाम फाराममा भर्न पाई भने सिधै अमेरिका ग्रिनकार्डसहित । परिवेशको कानमा यी शव्द परेको थियो ।

अघिसम्म त परिवेश ठट्टाको मूडमा थियो र सवथोक हल्का रुपमा लिई रहेको थियो, तर यो कुराले भने उसले पिएको ह्विस्कीको नशा स्वात्तै वेपत्ता पारिदिएको थियो ।

तपाईंको कुरा म भोली दिउँसो उनीकहाँ पुर्याउन सक्छु । रितुले भनेको थियो ।

परिवेश अक्क न वक्क भएको थियो ।

अव सुत्न जाउँ, रितुले भनेको थियो ।

तर के सुत्नु नि, रितुको कुराले परिवेशको निद्रा वेपत्ता भएको थियो । रातभर निद्राको ठाउँ छटपटीले लिएको थियो ।

परिवेशको निद्रा वेपत्ता पार्ने त्यो कन्या अरु कोही नभई विन्द्यवासिनी थिई ।

00

परिवेश आफ्नो कफीको कपमा फर्कियो ।

अमेरिकाको आगमन परिवेशका लागि सुखद आश्चर्य थियो । नसोचेको भूमरिवाट नसोचेको संसारमा उसले पदार्पण गरेको थियो ।

अमेरिका त उसले सपनामा पनि सोचेको थिएन, कहिल्यै आउँला भनेर ।

रितुले भोलिपल्ट विन्द्यवासिनीसँग भेटाएको थियो अनि पहिलो भेटमै दुवैले एकअर्कालाई मन पराएका थिए ।

विन्द्यवासिनीले अन्तिम वाक्य यसो भनेकी थिई, भोलि अमेरिका गएर दुःख पाएँ भनेर मलाई दोष दिन पाउनुहुन्न नि ।

उसलाई लागेथ्यो, अमेरिका मन नपरेर गाली गर्ने को मूर्ख होला ।

त्यस्तो हुँदैन । उसले यत्ति मात्र भनेको थियो प्रकटमा ।

वास्तवमा विन्द्यवासिनीलाई डिभी चिट्ठा परेको रहेछ र उपयुक्त पात्रको खोजिमा रहिछ ।

गाउँवाट आएको पढाकु, सज्जन भन्ने कसैले वताएपछि उ आफैंले टाढैवाट परख र पारख गरेकी रहिछ ।

उसले मेरो सामान्य पृष्ठभूमि थाहा पाएकीले मन पराउन सजिलो भयो भने म्याडमको चक्रवाट छुटकारा पाएर अमेरिका पुग्न पाउनुले परिवेशलाई सकारात्मक निर्णय गर्न सहयोग पुगेको थियो ।

अमेरिका आउने वित्तिकै परिवेशले यौटा फाष्ट फूडमा काम पाएको थियो र एकै वर्षमा असिष्टेण्ट म्यानेजर हुने मौका पाएको थियो ।

वासिनीले पनि नेल्समा काम पाएकी थिई ।

हो यसैवीच रितेश शर्मासँग परिवेशको परिचय भएको थियो ।

दशवटा काम गरेर अमेरिका पचाइसकेको रितेश अहिले घर जग्गा किनवेच गर्ने रियाल्टर भएको थियो । अनि दुईचार दिन विराएर उ एपार्टमेण्टमा आएर गफ लाउँथ्यो र भन्थ्यो, हैन तपाईहरु घर किन्ने होइन ? हेर्नाेस्, अहिले मौकामा घर किन्नु भो भने एक वर्षमै पचासौं हज्जार नाफा हुन्छ ।

केही पल्ट त परिवेश र वासिनी दुवैले वास्ता गरेनन् ।

एकदिन चाहीं परिवेशले झर्के झैं गरेर भन्यो, हैन रितेशजी तपाईंले ठट्टा गर्नु भएको हो कि के हो मैले त कुरै वुझिंन । एपार्टमेण्टको भाडा तिर्न धौधौ छ, घर किन्ने कुरा गर्नु हुन्छ ।

लौ त्यही भएर त घर किन्नोस् भनेको नि । तपाईंले एपार्टमेण्टलाई तिरेको भाडा महिनैपिच्छे भूस हुन्छ । तर घर किन्नु भो भने तपाईले तिरेको घरको किस्ताको केही अंश वचत हुन्छ । दिन दुगुना भने झैं घरको भाउ वढेको वढ्यै छ, वढेको रकम सोझै नाफा । अनि के चाहियो ।

तर रितेशको कुरा उसलाई अझै पत्यार लागेको थिएन । किन भने घर किन्न उसँग पैसा थिएन ।

अनि कुन पैसाले किन्नु नि घर ? परिवेशले भनेको थियो ।

हेर्नाेस्, पैसा चाहिंदै चाहिन्न । यसो ५।७ हजार भए भैहल्छ । रितेशले भनेको थियो ।

वासिनी त्यसो भए आँट्ने हो त घर ? उसले सोधेको थियो ।

यति सजिलै घर पाइन्छ भने त किन नकिन्नु नि । मैले अलिकति जम्मा पारेकी छु , तपाईं पनि अलिकति खोज्नोस्, अमेरिकामा घर मालिक हुन पाईने अवसर किन गुमाउने ? वासिनीले भनेकी थिई ।
त्यसपछि घर हेर्ने सिलसिला चलेको थियो ।

00

घर तीन लाख असी हजार डलरमा पाइएको थियो ।

परिवेशको त झण्डै सातो गएको थियो मोल सुनेर । वाफरे झण्डै चार लाख । भन्नाले अढाई करोड नेपाली ।

परिवेश चूप लागेको देखेर रितेशले भनेको थियो, दाई मोल देखेर तर्सिनु भा,को ? हेर्नाेस् न, ६ महिनामा यो घरको मोल साँढे चार लाख पुग्छ, अनि त तपाईंलाई ६०।७० हजार डलर नाफा ।

परिवेश फेरि हिसाव गुन्न थालेको थियो ६० हजार डलर अर्थात् ४० लाख भन्दा वढी ।

रितेषले फेरि भनेको थियो, वजार मूल्य त्यस घरको अहिले तीन लाख पन्चानव्वे हजार छ । अहिलेनै १५ हजार डलर त इक्विटी छ ।

परिवेशले सोधेको थियो, के हो इक्विटी भनेको ?

यसलाई नाफा सम्झनोस् । परिवेशले मुस्कुराउँदै भनेको थियो ।

वाफरे किन्दैखेरि १५ हजार डलर नाफा । परिवेश दंग परेको थियो ।

ल घर मन परेको भए आँट्नु होस्, रेल स्टेशनको नजिक यति मजाको घर १५ हजार इक्विटी सहित पाउनु भाग्यै हो । राम्रै भाग्य रहेछ तपाईंहरुको । अलिक टेढो तरिकाले मुख वँग्याउँदै रितेशले भनेको थियो र विदा हुँदै उसले भनेको थियो, हिरा पाइएको छ क्यारे, लिन मिल्ने नमिल्ने तपजईंहरुको सोचमा भर पर्छ । म भोलि आउँला घर सल्लाह गर्नु होला ।

रितेश गएपछि वासिनी र परिवेश अवेरसम्म घर किन्ने विषयमा छलफल गर्दै अल्झिएका थिए । साँच्चै यति सजिलोसँग अमेरिकामा घर पाइन्छ भने के चाहियो ?

हैन घर किन्दै १५ हजार डलर नाफा रे, विचित्रै होइन त यो ?परिवेशले भनेको थियो ।

भाग्यमा भएपछि यस्तै हो । चिट्ठा परेर अमेरिका आउन पाइयो , भाग्यले । यस्तो घर पाइने भो, भाग्यले । वासिनीले भनी ।

यस्ती मायालु वासिनी पाएँ , भाग्यले । परिवेशले भन्यो र वासिनीलाई च्वाप्प गालामा म्याँईं खायो ।

अर्काे दिन रितेश आउँदा उनीहरु घर किन्नका लागि तयार भैसकेका थिए ।

रितेशले घर मूल्याँकन, घर निरिक्षण , घरको लागि ऋण सवका लागि दौडधूप गरेको थियो । उनीहरुको आम्दानीले ऋणका लागि अपुग भयो । रितेशलेनै यौटा कम्पनीमा पार्ट टाइम काम गरेको देखाएर त्यो समस्याको समाधान गरिदियो ।

वासिनी र परिवेश दंग थिए, सारा कुरामा रितेशले सहयोग पु¥याएको थियो । उनीहरु भन्थे, यो रितेशले त देवदूतको रुपमा हामीलाई सहयोग पु¥याउन गोलोकवाट आएको हो ।

विहानको चियादेखि रातीको खाना पनि रितेशले उनीह्रुकहाँ नै खान्थ्यो, अविवाहित थियो, मनमौजी थियो ।

घर पास गर्नेदिनसम्म रितेश परिवेश वा वासिनीलाई कतै जान परे आफ्नै कारमा पु¥याउने ल्याउने गरिदिन्थ्यो । रितेशको सहयोगले उनीहरु कृतकृत्य भएका थिए ।

घर पास भयो । अव उनीहरुको हातमा अमेरिकाको घरको साँचो थियो ।

00

परिवेश र वासिनीले घर किनेको कुराले साथीभाईहरुमा चर्चा भएपछि सवले भने, हाउस वार्मिंग पार्टी नगरेसम्म हामी तिमीले घर किनेकौ पत्याउन्नौं ।

अमेरिकामा यसरी आफ्नो घर भएपछि यो पार्टी भन्ने के ठूलो कुरा हो र । परिवेशले भन्यो । पार्टी त गर्नैपर्छ । वासिनीले पनि भनी ।

दुवैको सल्लाह मिलेपछि उनीहरुले चिने जानेका सवैलाई वोलाएर हाउस वार्मिंग पार्टी गरेका थिए ।

पार्टीको दिन परिवेशको भुईंमा खुट्टा थिएन र अलि धाक धक्कू उसको ओठवाट झर्न थालेको थियो ।

डेरा भनेको डेरा हो । घर भनेको घरै हो । आफ्नो घरमा उफ्रिनुको आनन्द वेग्लै हुन्छ । उ भन्दै थियो ।

हैन यो घर कति वर्ष पुरानो हो ? कसैले सोधेको थियो ।

हुन त यो घर ३५ वर्ष पुरानो हो । तर घरको सवथोक नयाँ छ । हिटिंग सिस्टम चाहीं घर वनेदेखिकै रहेछ, एकदम मजवूत । वास्तवमा अमेरिकामा घर कहिल्यै पुरानो हुँदैन । उसले हौसिएर जवाफ दिएको थियो ।

अनि मोरगेज कति पर्छ नि ? कसैले सोधेको थियो ।

हाम्रो कमाइले मज्जाले पुग्छ । अझ यौटा वेडरुम भाडामा लाउने हो भने त उत्तम हुन्छ । उसले जवाफ दिएको थियो ।

वास्तवमा उसले यो जवाफ दिनुको खास कारण थियो । रितेशले यौटा पत्रिकाको अफिस राख्न यौटा कोठा भाडामा लगाइदिने वचन दिएको थियो ।

पार्टीमा पेयले रौनक वढाएको थियो । हातहातका गिलास स्वत स्फूर्त छचल्किन थालेपछि परिवेश झन् छचल्किन थालेको थियो । घर भनेको घरै हो, एपार्टमेण्ट भनेको एपार्टमेण्ट नै हो भनेर दुइचार चोटी दोहो¥याउन थालेपछि एकाध निम्तालुहरुले मुख कुच्याउन थालेका थिए र वासिनीले पाखुरामा समातेर एउटा कुनामा लगेकी थिई र मायालु प्रकारले हपारेकी थिई, हजुरलाई रक्सी लाग्यो कि क्याहो, एउटै कुरा कति दोहो¥याउनु भएको । सवैले नराम्रो मानेका छन् । रेष्टरुममा गएर यसो फ्रेस भएर आउनु होस्, अनि डिनर शुरु गर्ने ।

वासिनीले यसो भनेपछि परिवेश आज्ञाकारी छात्र झैं चूपचाप रेष्टरुममा गएर ताजा भएर फर्केको थियो ।

त्यसपछि उसले सवैलाई सम्वोधन गर्दै भनेको थियो, मित्रहरु यहाँहरुले पाउ कष्ट गरेर आइदिनु भयो, यो घरको शोभा वढाइदिनु भयो, हामी यसका लागि विनम्रतापूर्वक धन्यवाद दिन्छौं । अव डिनर तयार भएको छ, अव डिनर पनि शुरु गर्नुभए हुन्छ । ढिलो हुँदैन भने डिनर पछि नाचगान पनि गर्ने हो ।

केही निम्तालुहरु भोलि विहानै काममा जानु छ भनेर खाना खान थाले । कोही भोली १२ वजे काममा जाने हो, आनन्दै छ भन्दै गिलास सुम्सुम्याउन व्यस्त थिए ।

एक जनाले सोधे, हैन रितेशजी त देखिनु भएन नि !

अँ अलि ढिलो हुन्छ भनेका थिए आउँछन् । वासिनीले भनेकी थिई ।

अव रितेशको दर्शन पाउन मुस्किलै पर्ला । घर पास भएपछि अव उसलाई भेट्न हम्मेहम्मे पर्छ । उसलाई चाहियो भने दिनमा १० पल्ट पनि फोन गर्छ, भेट्नै आउँछ, हामीलाई चाहियो भने १० महिना पनि फोन उठाउँदैन । कसैले जवाफमा भनेको थियो ।

त्यति असल रितेशको वारेमा गरेको टिप्पणीले वासिनीलाई कताकता नमिठो लाग्यो । तर प्रत्यक्षमा क्यै भनिन ।

पार्टी राती अवेरसम्म चलेको थियो र अन्तमा नाचगानसमेत गरेर टुङ्गिएको थियो ।

00

घर सरेपछि उनीहरुले पहिलो किस्ता डेड महिनामा तिरेका थिए । त्यसपछि हरेक महिना किस्ता, विजुलीको वील, तीन महिनामा होम ओनर्स एसोसिएसनको दस्तुर, पानीको वील आउन थालेको थियो । सवै रकमको जोड र उनीहरुको कमाइको जोडवीच कम अन्तर देखा पर्न थालेको थियो र परिवेशले पार्ट टाइम काम थालेको थियो ।

वासिनीले पनि अतिरिक्त काम थालेकी थिई ।

रितेशलाई जति फोन गरे पनि उठ्न छाडेको थियो र भ्वाइस मेसेज छोड्दा पनि जवाफ आउँदैनथ्यो ।

केही महिनापछि घरको कर तिर्नु पर्ने चिट्ठी आयो । केही दिनमा घरको विमा नविकरणका लागि चिट्ठी आयो । र त्यसभन्दा डरलाग्दो कुरा उनीहरुको घरको मजवूत हिटिंग सिस्टमको मेसिन वन्द भयो र मर्मतका लागि कुरा वुभm्दा मेसिन पुरानो भएकाले फेर्नुपर्ने र त्यसका लागि पाँच हजार डलर लाग्ने देखियो ।

घर मालिक हुन पाउनुको आनन्द र रमाइलो तीन महिनामै धूलधूसरित भएको थियो र मरिमरि काममा गएर आएपछि परिवेश र वासिनी एकअर्काको मुख हेर्ने मात्र भएका थिए । उनीहरुको वोली अर्थतन्त्रले निभाईदिएको थियो ।

केही समय त उनीहरु रितेशले परेको वेला सहयोग गर्छ भन्नेमा ढुक्क थिए । अव त्यो ढुक्कको तिर उल्टोतिर पुगेको थियो । तर हाउस वार्मिंग पार्टीमा राती अवेरसम्म पनि रितेशले फोन उठाएको थिएन र सवै निम्तालुहरु गैसकेपछि पो उसको फोन आएको थियो । न्यूयोर्क गएको गाडी विग्रेर आउन नसकेको उसको भनाई थियो ।

जवाफमा परिवेशले लौ त भरे भोली भेटौंला भनेको थियो , जुन भरे भोली कहिल्यै आएन । अफिसका लागि कोठा भाडामा लगाउने कुरो पनि गर्भमै तुहिएको थियो ।

अव के गर्ने ? परिवेशको मनले सोध्थ्यो ।

अव के गर्ने ? वासिनीको मनले सोध्थ्यो ।

तर प्रत्यक्षमा सोध्ने आँट गर्न सकेका थिएनन् ।

एकदिन दुवैले एकसाथ छुट्टी पाएका थिए । यो जुराइदिने अरु कोही नभएर डरलाग्दो हिमपात थियो । अघिल्लो दिन देखि भएको हिमपातले वाटो घाटो सारा वन्द भएको थियो । सारा दोकान, व्यापारिक प्रतिष्ठान वन्द भएका थिए । यो वन्दकै कारण उनीहरुले स्वत छुट्टी पाएका थिए ।

हामीले यसरी सुत्न नपाएको पनि कति धेरै भएछ हगी ? वासिनीले भनी ।

हो त नि हगी ? परिवेशले भन्यो ।

हामीले ढुक्कले प्रेम नगरेको पनि कति भैसक्यो हगी ? परिवेशले वासिनीको कपाल मुसार्दै भन्यो ।

त्यही त भन्या । वासिनीले परिवेशको छातीमा मुण्टो गाड्दै भनी ।

वाहिर हिउँ अविराम परिरहेको थियो तर उनीहरु भने पसीनाले लफ्रक्कै भिजेका थिए । प्रेमको मौसम जो उदाएको थियो ।

निकै वेर उनीहरु अँगालोमा गुजुल्टिरहे मानौं उनीहरुको विहा भर्खरै भएको हो, पिरतीको उदात्तता भर्खरै आरम्भ भएको हो ।

वासिनी यौटा कुरा भनौं ? परिवेशले सोध्यो ।

भन्नुस न । वासिनीले भनी ।

हाम्रो प्रेममा तगारो, हाम्रो सुखको तगारो, शान्तिको तगारो यो घर घाँडो भो हगी ? परिवेशले भन्यो ।

मैले पेटमा भएर पनि मुखले भन्न नसक्या कुरा यही त हो नि । वासिनीले भनी ।

कतिले घर छाड्दा रहेछन्, हामी पनि छाडौं न, के भो त ? वासिनीले भनी ।

लाज हुन्न ? परिवेशले भन्यो ।

कति अमेरिकन, इण्डियन, पाकिस्तानी, वंगाली, स्प्यानिस लाई लाज नहुने, हामी नेपालीलाई लाज हुने ? लाजले पैसाको संकट टार्ने होइन क्यारे । वासिनीले भनेकी थिई ।

त्यसपछि घर फोर क्लोजरमा गएको थियो र उनीहरु पुन एपार्टमेण्टवासी भएका थिए ।

00

लौ अझै के गम खाएर वस्नु भा, भन्दै वासिनी परिवेश सामु झुल्किई ।

ल म तयार भैहालें भनेर उ रेष्टरुमभित्र छि¥यो र केहीवेरमै फ्रेस भएर निस्कियो अनि कपडा वदल्न थाल्यो ।

दुवै तयार भएर निस्कदा साँझले आफ्नो अनुहार देखाइसकेको थियो ।

मै चलाउँछु कार, भरे फर्कदा मैले नै चलाउनु पर्ने हो क्यारे । वासिनीले भनी ।

लौ तिम्रै इच्छा । परिवेशले जवाफमा भन्यो ।

तर गाडी चलाउन पर्दैन भनेर धेरै पिउने होइन नि राजा, वासिनीले हाँस्दै भनी ।

हुन्छ । परिवेशले यत्ति भन्यो ।

कुरा पनि कम गर्ने है । वासिनीले फेरि भनी ।

म वोल्दै वोल्दिन । परिवेशले भन्यो ।

नवोले त लाटो भन्छन् नि प्यारा । वासिनीले भनी ।

त्यसो भए अलिअलि वोलौंला । परिवेशले भन्यो ।

यतिन्जेल उनीहरु कारमा वसिसकेका थिए र वासिनीले टोयोटा कोरोलाको २००० मोडेलको कार मज्जाले हुईंक्याइसकेकी थिई ।

उनीहरु पुग्दा पार्टी जम्न शुरु भैसकेको थियो । परिवेशले हातमा लिएको एक वोतल वाइन स्मृति भाउजुको हातमा राखिदिंदै भन्यो, अवेर त भइएन नि भाउजु ?
अलिअलि अवेर भैहाल्यो नि, यसको क्षतिपूर्ति अलि अवेर वसेर चुक्ता गर्नुपर्छ । स्मृति भाउजुले हाँस्दै भनिन् ।

कोही तलमाथि गर्दै घर निरिक्षण गर्दै थिए ।

कोही हातमा गिलास खेलाउँदै पिउनुको आनन्दमा झुम्दै थिए ।

परिवेश पनि हातमा ह्विस्कीको गिलास लिएर चुस्की लाउँदै यताउता घरको भित्री भागहरु हेर्न थाल्यो ।

सुगम घर हेर्न चाहनेलाई तल माथि, भित्र वाहिर गर्दै थियो र घरको कहानी पनि वताउँदै थियो, घर सानै छ, हामीलाई पुग्ने छ ।

कसैले सोध्यो, घर राम्रो समयमा किन्नु भो । हेर्नाेस्, आफू त भाउ अकासिएको वेलामा परियो, निल्नु न ओकल्नु भएको छ ।

सुगमले भन्यो, हेर्नाेस्, यो सव अर्थतन्त्रको कुरा हो । भोली यो अर्थतन्त्र अझै ओरालो पनि त लाग्न सक्छ, कस्ले भन्न सक्छ, जाँदैन भनेर ।

अर्काेले भन्यो, एपार्टमेण्टको भाडा भन्दा त मोरगेज कमै होला नि ?

त्यो त कम छ । उसले भन्यो ।

त्यसो भए तपाईं नाफामै हुनुहुन्छ । अर्काेले वतायो ।

वल्ल सुगम र परिवेश आमने सामने भए । दुवैले हात मिलाए । गला पनि मिलाए ।

सुगमले भन्यो, ढिलो गर्नु भो नि आउन ।

धेरै ढिलो त होइन । वास्तवमा हिडौं हिडौं भन्दा भन्दै ढिलो भयो । परिवेशले भन्यो ।

लौ गिलास मात्र लिएर भएन नि , स्न्याक्स पनि लिनु प¥यो, ल म ल्याइदिन्छु । यति भनेर सुगम उसलाई स्न्याक्स लिन गयो ।

परिवेशलाई असजिलो लागिरहेको थियो । उसले घर किन्दा उ निकै फुर्किएको थियो र फूर्ति लाउँदै थियो । तर सुगम विनम्रतापूर्वक प्रस्तुत भइरहेको थियो ।

वास्तवमा परिस्थितिले नराम्रोसँग लात हानेको थियो । उ र उजस्तै थुप्रैलाई लात हानेको थियो । अझ भनौैं टाठा वाठा भएर हतारहतार घर किन्नेहरु सवै थलिएका थिए र सोझासाझाहरुको दिन फिरेको थियो ।

वासिनी थुप्रैसँग हाई हल्लो गर्दै कुराकानीमा व्यस्त थिई । परिवेश भने एउटा कुनामा वसेर एकोहोरो ह्विस्की पिएर आफैमा हराइरहेको थियो ।
अनि तपाईंको रियाल्टर चाहीं को नि ? कसैले सोध्यो ।

रितेश । रितेश शर्मा । उसले जवाफ दियो ।

त्यो गुनिलो भाई अलि ढिलो आउँछु भनेको छ । स्मृति भाउजुले भनिन् ।

रितेश । त्यो दुष्ट मनुष्य । परिवेशले त्यसलाई आमाचकारी गाली दियो, मनमनै ।

त्यो गुनिलो भाई आउँछ त ? कति भो नभेटेको । परिवेशले भन्यो ।

न्यूयोर्क गएका रहेछन्, वाल्टिमोर आइपुगें भनेको आधा घण्टा भयो, अव एकाध घण्टामा आई पुग्छन् । यसपल्ट स्मृति भाउजु वोलिन् ।
परिवेश अचानक अट्टहास गरेर हाँस्न थाल्यो ।

वातावरणमा एक्कासी सन्नाटा छायो । सव चूप लागे ।

हतारिंदै वासिनी परिवेश छेउ पुगी, के भो ? उसले सोधी ।

लौ के हुनु ? मलाई मज्जाले हाँस्न मन लाग्यो । रक्सी खाएको भएर, ठूलो आवाज भयो होला, त्यत्ति हो । परिवेशले भन्यो ।

स्थिति अव सामान्य भैसकेको थियो , क्षणभरमै । कतिले आफूलाई रक्सी लागेको भएर कानले त्यस्तो ठूलो आवाज सुनेको होला पनि भन्ठाने ।
अव खाना खाउँ । वासिनीले परिवेशको कानमा भनी ।

अव एक पेग लिन्छु, लास्ट पेग । अनि जाने । परिवेशले भन्यो ।

अनि उठेर गयो अनि एक पेग ह्विस्की लिएर फर्कियो ।

पार्टी खाएर मानिसहरु धमाधम विदा हुन थालेका थिए भने केही युवा युवती मीठा मिठा गीतमा झुम्दै कुम हल्लाउन थालेका थिए । यो अव नाच्ने वेला भएको संकेत थियो ।

वासिनीले अघिनै खाना लिइसकेकी थिई । परिवेशले अहिले लियो र कुनामा वसेर खान थाल्यो ।

सुगमले परिवेशको छेउमा गएर भन्यो, ढुक्कसँग खानुहोस् । अव गएर सुत्ने नै त हो ।

हो त्यो त हो । परिवेशले जवाफ दियो ।

सुगम यताउता गर्न थाल्यो केहीवेर र उद्घोषणा ग¥यो, अव डिजे शुरु हुन्छ ।

सवैले ताली वजाए र गीत शुरु भो । नाच शुरु भो ।

अव आगन्तुकहरु कोही आइरहेका थिएनन् र जान खोजेकाहरु पनि रोकिएका थिए डिजेले गर्दा ।

डिजे नृत्य सकिएपछि सवैजसो थकित भए झैं खुइय गर्दै वसे । वासिनी पनि वसी ।

परिवेश वासिनी छेउ पुग्यो र भन्यो, वासिनी जाउँ ।

हुन्छ । यत्ति भनी वासिनीले ।

हैन, केक नखाई कहाँ हुन्छ ? अव केक काट्ने वेला भैहाल्यो । सुगमले भन्यो ।

केही वेरमै जन्मदिनको झैं केक सजियो टेवुलमा र करतल ध्वनीकासाथ सुगम र स्मृतिले केक काटे अनि केकका टुक्राहरु सवैलाई वाँडियो ।
परिवेशलाई राम्रैसँग लागिसकेको थियो । उसले यौटा सानो टुक्रा केक मुखमा हाल्यो प्लेट कुनामा कतै राख्यो अनि वासिनी छेउ पुगेर भन्यो, वासिनी , अव जाउँ ।

00

परिवेशले जुत्ता लगायो ।

वासिनीले पनि लगाई ।

सुगम र स्मृति ढोकासम्म पु¥याउन आए ।

वासिनीले परिवेशको यौटा हात समातेकी थिई ।

स्मृतिले सुगमको हात समातेकी थिई ।

परिवेश र सुगमले विदाइका हात मिलाए ।

हात मिलाउँदै परिवेशले भन्यो, त्यो गुनिलो भाई त आएन नि हगी ?

सुगम र स्मृतिले मुखामुख गरे ।

परिवेशले हाँसेर भन्यो, अव उसको आउने कामै छैन किन आउँथ्यो ? अव उ कहिल्यै आउँदैन ।

यत्ति भनेर सुगमको हात छाडेर परिवेश गाडी पार्किंग गरेको ठाउँतिर लम्कियो ।

७ फरवरी २०११
मनासस, भर्जिनिया, अमेरिका ।

(यो कथा नेपाल प्रज्ञा प्रतिष्ठानको समकालीन साहित्यमा पूर्व प्रकाशित बैसकेको हो । लेखकको सम्पर्क ईमेल [email protected] हो । लेखक सन् २००४ देखि अमेरिकामा वसोवास गर्दै आएका छन् ।)

1 comment to कथा : हाउस वार्मिंग पार्टी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)