यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञान कथा : माया नं ६५३

– शंकर लामिछाने –

माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो। अनि मार्च १७ तारिख।

आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो। उसले आफ्नू नारीघडी सारेर छालामा अङ्कित मिति पढी – १७ मार्च, २०५०। यो थियो उसको जन्मदिन! नं ६५३ यो थियो उसको जन्मसङ्ख्या।

ऊ नगरपालिकाको जनसङ्ख्या-नियन्त्रण-विभागमा काम गर्दथी। तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवनकार्यक्रमको लेखो राख्ने काम थियो। र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननीगुणरहित कति नारी छन्। उनीहरु के काम गर्छन् र कुन विबागमा – यो पनि ऊ जान्दथी। त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन् – र त्यस विबागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्नेमानिस छन्। सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो – सरकारका पूर्वनिर्धारित योजनानुसार नै उनलाई जन्माइन्थ्यो।

स्वास्थ्य विभावअन्तर्गत सन्तानोत्पत्तिशालामा शुक्रकीट सुरक्षित रहन्थे र सरकारी आदेशअनुसार नै उनलाई विकासि गरिन्थ्यो। तापक्रम-नियन्त्रण त्यस शालामा भावी कृषकदेखि डाक्टर, वैज्ञानिकसम्मको पूर्णनिर्धारित एवं नियोजित शुक्रकीट विभिन्न बोतलमा करोडौं सङ्ख्यामा सुरक्षित राखिन्थे। वैज्ञानिकहरुले सन्तानउत्पत्तिका प्रत्येक क्षेत्र एवं कार्यलाई वैज्ञानिक रूप दिई मानव नियन्त्रणमा राखिएका थिए – एक कुरामात्र उनीहरुले गर्न सकेका थिएनन् र त्यो थियो कृत्रिम गर्भाशयको निर्माण। अत: एक वर्षमा देशभरिका १२०० जननीपुणयुक्त नारी जन्माइन्थे र ती पूर्ण यौवनप्राप्त हुँदा तिनको गर्भाशय निकाली सरकारले आफ्नू सञ्चय बढाउँदथ्यो। बीसौं शताब्दीको अन्ततिर नै सरकारले यस विषयमा ठोस कदम उठाउनुपरेको थियो – त्यस बखतका नारीहरूको समानाधिकारको प्रबल मागले गर्दा। गर्भाधान एवं प्रसूतिको वेदनाबाट मुक्त हुन तथा पुरुषवर्गको समकक्षमा उनीहरुले काम गर्ने प्रस्ताव संसदमा राखी पास गराएका थिए। सरकारलाई कृत्रिम गर्भाधानको पद्धति विकास गरी सरकारी नियन्त्रणमा लिनुपरेको थियो। यसले बढ्दो जनसङ्ख्या एवं विश्वव्यापी आर्थिक सङ्कट पनि नियन्त्रित भएको थियो।

एक्काईसौं शताब्दीको शुरुमा पच्चीसवर्षीय योजनाले यस पद्धतिलाई प्रायश: पूर्ण पारिसकेको थियो। तथा वैज्ञानिकहरुको आशा थियो कि आगामी पच्चीसवर्षीय योजनाअन्तर्गत यो गर्भाशयको कमी र प्राकृतिक उत्पत्तिमा उनीहरु विजय प्राप्त गर्नेछन्।

अहिले २०५० का ती १२०० भाग्यमानी (वा मायाको भनाइअनुसार अभागी।) नारीहरुमध्ये माया नं ६५३ की थिई। उसको गर्भाशय निकाल्ने तिथि निश्चित भइसकेको थियो – अब ८ दिन मात्र बाँकी छ। तर…

उसको हृदयमा एउटा अनौठो भावनाको उदय हालै भएको थियो। नाचघर अथवा चियाघरमा कुनै पुरुषसँग अनायास नै उसको शरीर छोइँदा उसलाई एकतमासको सिरिङ्ग अनुभव हुन्थ्यो। त्यस पुरुषले ‘माफ गर्नुस है’ भन्दा ऊ चाहन्थी कि त्यस पुरुषबाटा ‘हिंड्नुस् घुम्न जाऊँ’ निस्कोस्। तर, त्यस प्रतीक्षामा नै उसका कति महिना बितिसके।

उसले घडी हेरी। १६ बजेर ४० मिनेट गएको रहेछ। १९ बजे उसलाई अस्पतालमा पुग्नु छ। उसलाई पीर थियो, यस एक सातामा पनि के ऊ प्रकृतिको त्यस मार्गलाई पूर्ण नगरी त्यसै साधारण नागरिक बन्नेछ? अहिले देशभरिमा भाग्यशाली (अथवा ऊजस्तै अभागी) ती १२०० पूर्ण नारी होलान्… तिनमा ऊ छे ६५३ औं! …१७ मार्चमा तीमध्ये एक नारी फेरि नारीत्वहीन हुनेछ १७ मार्च…!

अस्पतालबाट बाहिर निस्कँदा २० बजेको थियो। उसका ब्यागमा डाक्टरले दिएको रिपोर्टको एकप्रति र त्यसका साथ एक साताको दैनिक कार्यक्रमको रूपरेखा पनि थियो। उसले, अनि एक महिनामा बिदा पाएकी थिई – पहिलो साता अपरेशनअघिको स्वस्थता कायम राख्न, दोश्रो अपरेशनलाई, तेस्रो आरामी र चौथो भ्रमण एवं आनन्दको लागि – उसको दानको पुरस्कारस्वरूप। उसलाई चिन्ता थियो प्रथम साताको।

सडकको बत्तीमा उसले डाक्टरको कागज झिकेर पढी। लेखेको थियो- नगर्ने काम-
१ अतिशय उत्तेजनाका कुनै पनि काम,
२ अपच गर्ने गरी खानु,
३ लागु कुराको अति सेवन,
४ शारीरिक कष्ट हुने काम,
५ मानसिक चिन्ता।

मानिसक चिन्ताको बारेमा पढेर ऊ हाँसी। मानौं यो पनि मानसिकको आफ्नै इच्छामा निर्भर भएजस्तो! कागज उसले देबारेर राखी। अनि नगीचकै एउटा पेयशालामा पसी। कफीको अडर दिँदा सँगैकी एउटी अर्की स्वास्नीमान्छेले पुलुक्क हेरी, र बिस्तारै भनी-

तपाईंले किन कफी माग्नुभयो? के पेयवस्तु सेवन गर्न डाक्टरले तपाईंलाई पनि निषेध गरेको छ?

“ज्यू!”

“…”

“…”

“अघि तपाईंलाई स्वास्थ्य-निरिक्षण-गृहमा देखेको थिएँ, हो?”

“हो।”

“तपाईं पनि ती अभागी १२०० मा हो!”

यस एक प्रश्नमा हाइड्रोजन बमको विस्फोट थियो – जसका अदृश्य तरङ्गमा आश्चर्य, आत्मीयता र सहानुभव लहरिंदै मुटुमा ठक्कर खाइरहे। मायाको आँखामा एउटा भीषण ज्योति चम्कियो, र उसको मौनले उसको प्रश्नकर्तालाई प्रश्नको उत्तर स्वत: प्रसारित गरिदिए।

“तिम्रो नम्बर?”

“६५३, मार्च १७, २०५०। तिम्रो?”

“३४२, फरवरी २८, २०५०। म तिमीभन्दा जेठी रहिछु। तिम्रो दिदी!”

“दिदी!”

यो वाक्य अनायस मायाको मुखबाट फुस्क्यो – यसमा प्रश्न, प्रेम र खुशी मुछिएका थिए। कफीको सर्को लिंदै मायाले सोधी –

“उसो भए तपाईं अपरेशनपछिको भ्रमण-बिदामा, हो?”

“अँ, तर मैल यस शहरलाई छाडेर अन्त जान मन पराइनँ!”

“तिम्रो अपरेशन बाँकी नै छ होला?”

मायाको अनुहारमा एउटा वेदना झल्क्यो।

“तिमीले पूर्ण नारीजीवनको सदुपयोग त गर्यौ?”

प्रश्नको निर्भिकतामा माया झस्की। दिदीले कुरा पन्छाएर भनी –

“मलाई एलिजा भन्दछन्। तिमीलाई फुर्सद भए, हामी पार्कमा घुमौं न!”

दुबै बाहिर निस्के। एउटा बेन्चमा बसेर एलिजाले भनी –

“एक महिनाअगाडिसम्म यो पार्कमा बसेर यो चन्द्रमा र ताराहरुलाई हेर्दा मेरो मनमा कता-कता एउटा मीठो काउकुती लाग्दथ्यो। शायद तिमीलाई आजकाल भएजस्तो – हुन्छ?” र एलिजाले मायाको हात समातेर बिस्तारै थिचिदिई।

एलिजाले उसलाई बताई कि कसरी उसले एउटा पूर्ण पुरुषको खोजी गरेकी थिई। कि कसरी उसको खोज असफल भएको थियो र कसरी उसले मनमनै यो समाज, यसको बन्धन, पराधीनता र नियन्त्रणलाई अन्त:करणदेखि सरापेकी थिई। उसले भनी कि प्रत्येक दिवसको असफल खोजपछि ऊ रातमा ईश्वरको पुकारा गर्थी र भन्थी कि उसलाई अर्को जुनीमा यस्तो देशमा जन्म दिए जहाँ स्त्री स्त्री र पुरुष पुरुष बनेको होस्।

उसले सोधी कि माया कहाँ काम गर्छे। अनि भनि कि ऊ त शान्तिविभागको सङ्ग्रहालयमा व्यतीतकका घटनाके सङ्ग्रह गर्ने काम गर्छे। उसले बताई कि कसरी पुस्तकालयमा उसले उन्नाइसौं र बीसौं शताब्दीका पुस्तकहरु पाएकी र पढेकी छ त्यस बखतका नारी पुरुषको पर्दा गर्थे र विवाह गरी घरजम गर्थे। उसले भनि कि पर्दा, विवाह र घर शब्दका अर्थ बुझ्न उसलाई कति मेहनत गर्नुपरेको थियो। ती तीनवटै शब्दका अर्थ पनि उसले मायालाई बताई। उसले भनी कि त्यस बखत पुरुषको जिम्मा आर्थिक बोझ र स्त्रीको जिम्मा गृहस्थी थियो।

“थाहा छ माया, तिमीलाई कि तिनताक स्त्रीले पेटमा बच्चा हुर्काउँथे र आफ्नै घरमा जन्माउँथे।”

मायालाई उसको अगाडि कसैले स्वर्गको कुनै देवदेवीको जीवनचर्या वर्णन गरेजस्तो लाग्यो।

एलिजाले भनी – “सबभन्दा आश्चर्य त माया, मलाई यो लाग्यो कि त्यस बखतका नारी सहवासको निमित्त पुरुषबाट पारिश्रमिक पाउँथे। यस्तो कुनै व्यभिचारकेन्द्र हुन्थ्यो जहाँ…”

माया एउटा यस्तो स्वप्निल देशमा पुगेकी थिई जहाँ कसैलाई आफ्नो गर्भाशयको अपरेशन गराउन सात दिनपछि अस्पताल जानु पर्दैनथ्यो – जहाँ नारी पुरुषको स्त्री, सहगामिनी, स्वच्छन्द थिई। उनका कानमा एलिजाका अगाडिका वर्णन परेनन्।

एलिजा भन्दै थिई – “आफ्नै शरीरको अङ्ग काँचको भाँडामा जिउँदो चलमलाइरहेको देख्दा मलाई कस्तो-कस्तो अनुभव भयो। अब एक महिनाभर त मेरो प्रथम पुत्र पनि हुन्छ – यस्तो पुत्र जसको प्रसवमा आमालाई कुनै वेदना, व्यथा हुनेछैन र साथै कुनै प्रेम पनि। यस्तो पुत्र जसकी आमालाई आफ्नू पुत्रको पिताको ज्ञान नै हुनेछैन। मैले… माया, तिमी पनि मजस्तै…”

ooo

झण्डै तीन महिनापछि मायाको अनुरोधपत्रमा निकासा लाग्यो कि ऊ टाढाबाट आफ्नो गर्भाशयबाट विकसित भएको तथाकथित बच्चा हेर्न सक्छे। उसको बच्चाको नम्बर थियो ११४७८ जुन २०, २०७०।

शिशुशालाको लामो बरन्डामा १४ बजेतिर ऊ जाँदै थिई, उसका साथमा एउटा डाक्टर थियो जसले उसलाई बच्चा चिह्नाउनेछ।

“यता, श्री माया, पहिले तपाईंलाई शुद्ध पारौं! हामी स्वयं शुद्ध नभई बच्चाहरूको छेउमा पर्दैनौ।”

मायालाई एउटा ठूलो बत्तीको मुनि उभ्याएर डाक्टरले स्वीच थिचे। त्यसबाट एउटा नौलो प्रकाश मायाको सर्वाङ्गमा पर्यो। डाक्टरले मायालाई एउटा सेतो एप्रोन लाउन दिए, भने – “हामी चाहँदैनौं बच्चाले झुक्केर पनि सधैं देख्ने नर्सभन्दा भिन्न आकृतिको नयाँ मानिस देखेको सम्झिरहोस्।”

बच्चामा कुनै पनि मौलिकता मायालाई लागेन। उसलाई अनुभव भयो ऊ सधैंजस्तो डकुमेन्टरीमा देखाउने प्रसूतिगृहमा कुनै बच्चा हेरिरहिछ। उस्तै मोटो छ, उस्तै रूप। Ommentryको पङ्क्ति उसका मनमा सुरुसुर दोहोरिए- ‘तपाईलाई विकसित गर्न ग्लैक्सोको ठूलो योग छ।’

उसले अनायस सोधी – “यसको कागज एक फेर हेर्न सक्छु डाक्टर?”

“किन नसक्नु, आउनुस्।”

मायाले पढी –
१ जन्म – जून २०, २०००: १८ बजेर ४७ मिनेट ३३ सेकेन्ड
२ स्थल – सरकारी प्रसूतिगृह सं ९७
३ नं – ११४७८
४ गर्भाशय नं – ६५३
५ शुक्र नं ८२७
६ नाम – स्पाइक
७ जीवन-कार्यको रूपरेखा –
(क) इन्जिनियर – सूर्य ताप-विद्युत-सङ्ग्रहकर्ता
(ख) क्षेत्र नं १० – सेक्सन ५५३
(ग) नं ९७८६ जून २०, २०१० को सट्टा काम गर्ने
(घ) मिति – जून २०, २०९०
(ङ) विश्राम मिति – जून २०, २१३०।

माया जान्दथी कि यस विश्रामको अर्थ के हो – ऊ जनसङ्ख्या नियन्त्रणविभागमा काम गर्थी नि!

“धन्यवाद डाक्टर!”

माया बाहिर आई, उसलाई त्यस बखत आफू, आफ्नो समाज, समाजको इतिहास र आफूले देखेसम्मको इतिहासको भविष्य ‍- सबउपर एउटा बुझिनसक्ने गरी घीन लागिरहेथ्यो। ‘गौंथलीको गुँड’बाट

1 comment to विज्ञान कथा : माया नं ६५३