यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

युएईमा भिजिट भिसा प्रकरण : सरकारी कर्मचारीको मन किन नपग्लेको?

– मेघराज सापकोटा –

गत एक महिनादेखि युएईका नेपाली पत्रकारहरु भिजिट भिसा प्रकरणलाई सशक्त रुपमा उठाइरहेका छन्। नेपालका राष्ट्रिय मिडियाहरुमा मानव तस्करहरुको निद हराम हुने गरी समाचार र लेखहरु छापिए। उनीहरुकै प्रयासमा भिजिट भिसामा दलालहरुले युएई ल्याई अलपत्र पारिएका १५ जना नेपालीहरु नेपाल फर्काइए। चितवनका साजन भनिने प्रेम पाण्डेले ती नेपाली युवाहरुलाई ३ लाख भन्दा बढी रुपैयाँ लिएर युएई ल्याएर अलपत्र पारेपछी भिजिट भिसाको कुरा बाहिर आएको हो। युएई पुग्ने बित्तिकै काम पाइने भन्दै काठमाण्डौ ठमेलस्थित अर्थलाइन ट्राभल्सका जानकी अधिकारी र पवित्र अधिकारीले पाण्डेसँग मिली उनिहरुलाई सेटिङ गरी नेपाल एअरपोर्टबाट नै युएई पठाएको खुल्न आएको छ। युएईमा रहेका पाण्डेले नेपाली दूतावासमा गएर आफूले भिजिट भिसामा ती युवालाई काम लगाइदिने शर्तमा युएई ल्याएको भनेर स्वीकार गरिसकेका छन् भने पीडितहरुलाई पैसा फिर्ता गर्ने कागजमा हस्ताक्षर गरी दायाँ बायाँ ल्याप्चे पनि ठोकिदिए।

जुलाई ३ तारिखका दिन १९ जना पीडितहरु अबुधाबीमा रहेको नेपाली दुताबासमा गएर सहयोग र उद्दारको लागि अनुरोध गरेका थिए। उनीहरुले आफूहरु पाण्डे र अधिकारी जोडीद्वारा ठगिएको समेत जानकारी गराए। एक जना पीडितले आफूले तिरेको रकमको रसिद पनि बुझाए। दलालहरुले एक जनालाई भने नक्कली डकुमेन्ट प्रयोग गरी श्रम स्वीकृत गरेको स्टिकर समेत टाँसेर अध्यागमन पास गराएका थिए। पाण्डेले पीडितहरुलाई जाँड खाएर पिटेको, युएईका प्रहरीलाई २० हजार घुस खुवाएर पीडितहरुलाई आईकाडको जङगलमा मारेर गाडिदिने भनेर डरधम्की दिने गरेको उजुरी दिए। पीडितहरुले ती सबै प्रमाणहरु दुताबासमा बुझाए। दुताबासकी कर्मचारी श्रम सहचारी हीरा यादवले दलाल पाण्डेलाई फोन गरिन्। पाण्डे पनि तुरुन्तै हाजिर भए। कार्यवाहक राजदुतको अगाडि पाण्डेले पैसा लिएर आफुले नेपालको अर्थ लाइन ट्राभल्स बाटै उनिहरुलाई युएईमा काम लगाउन ल्याएको स्विकार गरे । दुताबासमा पीडित र दलाल बिच भएको छलफलमा पाण्डेले ठगिएका ती युवाहरुलाई एक हप्ता भित्र युएईमा पाण्डेले लिएको १,००० डलर सहित नेपाल फर्काउने सहमती भयो । उक्त समयमा पाण्डेको मुसाफा डेरामा ४० जना नेपालीहरु भिजिट भिसामा थिए भने ती मध्ये १९ जनाले मात्र यसरी उजुरी दिएका थिए। बाँकी अरु २१ जनाले चाँही पाण्डेके काम खोजिदिने आशामा उजुरी गरेरनन् ।

एक हप्ता भित्र नेपाल फर्काउने सहमती भए पनि ३ हप्ता बितिसक्दा पनि पीडितहरुले नेपाल फर्कन पाएनन्। दुताबासका कर्मचारी श्रम काउन्सिलर भेषबहादुर कार्की अब दुताबासले केही गर्न नसक्ने बताउन थाले। उनी पीडितहरुलाई नेपाल गएर पनि कतै उजुरी नगर्न सुझाब दिन थाले । उता दलाल पाण्डे भने दुताबास आफ्नो गोजीमा रहेको र उनिहरुलाई पैसाले किनिसकेको बताउँदै हिंड्न थाले। पीडित भनिएका मध्ये ४ जना पीडितहरुको भिसाको ओभर स्टे पेनाल्टी ३२ हजार दिर्हाम ( झण्डै ९ लाख रुपैयाँ) रहेको थियो । यस्तो अवस्थामा नेपाल फर्कने २ वटा उपायहरु हुन्छन । एक, भिसा पेनाल्टी तिर्ने र सकुसल फर्कने । अर्को, पैसा छैन भनेर युएई सरकारसँग सरेन्डर गर्ने र युएईमा आजिबन ब्याण्ड हुने गरी एकदिन जेल बसेर फर्कने ।

पाण्डे ओभर स्टे भएका ती ४ जना युवाहरुलाई युएईमा आजिबन आउन नपाउने “ब्याण्ड” गर्ने गरी नेपाल फर्काउने पकृयामा लागे । दुताबासले त्यसो नगर्न पाण्डेलाई भन्न सक्थ्यो, तर भनेन। यसमा पनि दुताबासको भित्री सहमती थियो भन्ने पीडितहरुले आरोप लगाए । एकातिर पाण्डे दुताबास आफ्नो गोजीमा छ भन्ने अर्को तिर दुताबासका कर्मचारी दलाललाई कारबाही गर्न नसकिने बताउने । यसैमा कतै समस्या लुकेको त छैन ? भन्ने प्रश्न उब्जिनु स्वभाबिक हो । युएईमा रहेका नेपाली पत्रकारहरुले पनि सोही ब्यहोराको समाचार लेखे । यो पंक्तिकारले पनि गृहमन्त्री लगायत नेपाल सरकारका बिभिन्न निकायहरुको ध्यानाकर्षण गरेको थियो र दलाललाई कारबाही गर्न सक्दिन भन्ने गैर जिम्मेवार अभिब्यक्ति दिने कार्यबाहक राजदुत सहित श्रम काउन्सिलरलाई छानबिनको दायारामा ल्याउन पनि माग गरिएको थियो । दूताबासले भने पीत पत्रकारिता गरेको भनेर विज्ञप्ति नै जारी गर्‍यो। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको भेटमा कार्यबाहक राजदुत टण्डनले पत्रकारहरुलाई निगरानी गरिने भनेर धम्कीको भाषा समेत बोले।

चौतर्फी दबाब परेपछी दुताबासले पीडितहरुलाई नेपाल फर्काउने काम त गर्‍यो । १५ जना पीडितहरु २५ जुलाईका दिन एअरअरेबियाको उडान हुँदै नेपाल फर्किए । उनिहरुलाई नेपाल एअरपोर्टमै रोकियो र उनिहरुको पासपोर्ट जफत गरियो । पासपोर्ट जफत गरिएको कुनै पनि प्रमाण पीडितहरुलाई दिईएन । नेपालको कानुनले सायद दिनु पर्थेन होला त्यो जान्ने तिनै अध्यागमनका कर्मचारी हुन । तर दुनियाँमा भने शायद यस्तो नियम नहोला । कसैको पासपोर्ट बिना प्रमाण बिना जानकारी खोसिन्न ।

ती पीडितहरु एअरपोर्टबाट बिना पासपोर्ट बाहिरिए । रातको १० बज्न आँटेको थियो । जाने ठाउँ कतै थिएन । कोही एकजना मनकारीले नजिकैको होटलमा लगिदिए । भोलि पल्ट काठमाण्डौका ठुला ठुला मिडियाहरु भेट्नलाई आए । पीडितहरुले कार्यबाहक राजदुत नेत्र बहादुर टण्डन र श्रम काउन्सिलर कार्कीको नाम किटान गरेर मानब तस्कर र दुताबासको मिलेमतो भएको कुरा बताए । पीडितहरुले दिएको बयानको केही क्लिपहरु मसंग पनि आईपुगेको छ । तर प्राय मिडियाले पीडितहरुले बोलेको उक्त भनाइलाई प्रसारण गरेनन । ती मिडियाहरुले दुताबासलाई जोगाएर दलालहरुलाई मात्र गाली गरिरहेको कुरा छापे र बजाए । हिजो जुलाई ३१ तारिक उनिहरुलाई अपराध अनुसन्धान माहाशाखा बोलाईयो । पीडितहरुले सोही कुरा राखे । पीडितहरुको भनाइलाई सुन्ने हो भने अपराध अनुसन्धान महाशाखामा उनिहरुलाई उल्टै भिजिट भिसामा किन गएको, पैसा दिएको प्रमाण के छ, दुताबासको मिलेमतो भएको प्रमाण के छ जस्ता प्रश्नहरु तेर्साईए । युएईमा रहेको दलाल पाण्डे र दुताबासको कर्मचारीहरुलाई आफुले केही गर्न नसक्ने पनि बताईयो अपराध अनुसन्धान महाशाखामा । त्यसो गर्नको लागि गृहमन्त्रालयमा हुन्छ कि अन्यत्र गएर हुन्छ आँफै गर्न भनियो । पीडितहरु अहिले झनै निरास छन । नेपाल सरकारका कुनै पनि निकायबाट सहयोग होला भन्ने आशा मार्दै गएका छन । यता पाण्डेको अबुधाबीको मुसाफा स्थित डेरामा भने ४० जनाबाट नेपाल पठाईएका १५ घटेर २५ हुनुपर्नेमा बढेर ४३ जना पुगेका छन । यसको मतलब नेपालबाट पाण्डे र जानकीले भिजिट भिसाको कारोबार रोकेका छैन । मान्छे ल्याउने क्रम जारी नै छ ।

पाण्डे त युएईमा रहेका बिसौ दलालहरु मध्येका एक हुन् । आजकाल त दिन यस्तो छैन कि कुनै दिन पनि भिजिट भिसामा युएई आएर नेपालीहरु बिचल्ली परेको भन्ने कुरा नसुनियोस । प्रत्येक् दिन दलालको प्रलोभनमा परेर नेपालको अध्यागमन पार गर्दै बिसौ युवाहरु भिजिट भिसामा युएई आउने गरेका छन । दलालले अबुधाबी, दुबई, शारजाह र अजमानमा कोठा भाडामा लिएर भिजिट भिसामा आउनेहरुलाई राख्ने गर्दछन । यसरी आउने मध्ये बिरलैले मात्र काम पाउने सम्भावना रहन्छ । दलालले नेपालमा भनेजस्तो महिनाको ५०- ६० हजार रुपैयाँ बचत हुने काम पाउन त मुस्किल नै छ । एकातिर युएईमा रोजगारीको अवसर कम हुँदै जानु वा प्रतिस्पर्धा तीब्र हुनु अर्कोतिर ठुला र पतिस्ठित कम्पनीले यसरी दलाल मार्फत कामदार भर्ती नगर्ने हुनाले दलालले नेपालमा भनेजस्तो काम पाउने सम्भावना शुन्य बराबर हुन्छ । यो अवस्थामा कसैले पनि दलालको प्रलोभनमा बिलकुल पर्न हुँदैन । दलालहरु आँफैमा दलाल हुन्, बिना र्हिदयका, कठोर र पैसाका लागि आफ्नै एकाघरका दाजुभाइ दिदीबहिनीलाई पनि बेच्न पछी नपर्ने जन्तु हुन् । जनावर हुन् ती त मान्छे हैनन । यस्ता जनावरहरुको कुरा सुनेर भिजिट भिसामा काम पाईन्छ भनेर युएई नआउनु बुद्दिमानी हुनेछ । सकिन्छ भने म्यानपावर कम्पनी मार्फत नै आउन बेस हुनेछ ।

केही हप्ता पहिले माननीय गृहमन्त्री नेपाल एअरपोर्टको आकस्मिक भ्रमणमा जानुभएको कुरा बिभिन्न समाचार माध्यमहरुमा प्रकाशित भए । ३३ केजी सुन प्रकरणले ईज्जत गुमाएको नेपाल एअरपोर्ट बिशेष गरी अध्यागमन बिभागमा उनको आकस्मिक भ्रमणले एअरपोर्टमा सुधार ल्याउनेछ भन्ने आम मानिसहरुले आशा राखेका थिए । आशा पनि के नराखुन र ? बर्तमान गृहमन्त्री जनार्दन शर्मा उर्जा मन्त्रालयमा वाह वाह कमाएर अहिले गृहमा आसिन छन । जनताले त्यही उर्जाको वाह वाह गृहमा पनि खोज्नु स्वभाबिक हो ।

पीडितहरुले भिजिट भिसाको कुरा आफ्नो आफ्नो च्यानल मार्फत गृहमन्त्री सम्म पुर्याए । मन्त्रीको स्वकिय सचिबलाई पनि भन्न भ्याए । उपप्रधान तथा पररास्ट्र मन्त्रीसम्म पनि कुरा पुग्यो । मन्त्रीहरु धेरै ब्यस्त हुन्छन भनेर स्वकिय सचिबहरुलाई पनि जानकारी गराए । नेपाली जनप्रगतिशिल मँच युएईले त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पीडितहरुलाई न्याय दिलाउन अनुरोध गर्‍यो । सरकारको साझेदार पार्टी हुनुको नाताले उनिहरुले गैर जिम्मेवार र दलालको मतियार बनेको दुताबासलाई समेत छानबिनको दायारामा ल्याएर दोशी पाईए उक्त काण्डमा मुछिएका कार्यबाहक राजदुत टण्डन र श्रम काउन्सिलर कार्कीलाई फिर्ता बोलाउन अनुरोध समेत गर्‍यो ।

पीडितहरु नेपाल पुगेको एक हप्ता बित्न लाग्यो । तर उनिहरुले न्याय पाउने कुनै छाँटकाँट देखिएको छैन । त्यो सम्भावना टर्दै गईरहेको छ । उता मन्त्रालयका सचिबहरु यताका दुताबासका सचिबहरुलाई बचाउन तल्लिन छन भन्ने कुरा गाईगुइ हुनथालेको छ । यताका सचिब आईन्दा पत्रकारहरुलाई कुनै सुचना नदिन दुताबासमै उर्दी जारी गर्दैछन । नेपालका अध्यागमन बिभाग र अपराध अनुसन्धान महाशाखाले पीडितहरुलाई सहयोग र न्याय भन्दा पनि ‘ह्यारासमेन्ट’ गर्दै गरेको पीडितहरुको बुझाई छ ।

यसैबिचमा पीडितहरुलाई बोलाएर उक्त ट्राभल्सले भदौ १५ एक महिना पछीको मिती राखेर आफुले लिएको पैसाको चेक दिएको छ । पीडितहरु यो चेक पैसामा साटिएला भन्नेमा विश्वस्त हुन सकेका छैनन । साटियो नै भने पनि बिदेश जाने भनेर खुट्टा उचालेको दिन देखी देखी आज सम्म ५ महिना बितेको छ । यो अवधीमा स्वयम र घरपरिवारले धेरै तनाब खेप्नु परेको छ । बिदेशमा बिचल्ली हुनुपरेको छ । यसको क्षतिपुर्जी पाउने कानुन नेपालमा कहिले बन्छ र पीडितहरुले पूर्ण न्याय पाउलान भनेर सोच्नु बेकार हुनेछ ।

पीडित मध्येकै एक जना पीडित भन्छन, “उहिले हाम्रो गाउँमा राज्यले न्याय दिदैन भन्दै भाटे कारबाही गर्ने माओवादीहरु राज्यको निकायमा छन अझै चाँही आशा मारेको छैन । कथमकदाचित पैसा फिर्ता पाइएन भने गाउँमा रहेको एउटा पाखोबारी बेच्दा ३ लाख रुपैयाँ आउँछ। त्यही बेचेर ऋण तिर्छु ।”

मानब तस्करको त त्यस्तै हो तर यति सुन्दा र बुझ्दा बुझ्दै पनि नेपाल सरकारका यी कर्मचारीहरुको मन चाँही किन नपग्लेको ?
(हाल युएई)

1 comment to युएईमा भिजिट भिसा प्रकरण : सरकारी कर्मचारीको मन किन नपग्लेको?

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)