यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : स्वास्नीको बिहे

-कुमार काफ्ले-

राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र उदास उदास अनुहारहरू कहिले यता त कहिले उता दौडिरहेका भेटिन्थें । साँझ परेपछि रक्सीले टिल्ल भएर आउने अधिकांश लोग्नेले स्वास्नी कुट्थे र बहादुरी देखाउँथे । अनि कम कुटाइ भेट्ने महिलाहरू आफूलाई भाग्यमानी ठान्दथे । म यो नौलो परिवेशमा रमाएको थिएँ कि हराएको थिएँ आफैंलाई राम्रोसँग थाहा थिएन ।

०००
त्यस गाउँमा मैले केही साथीहरू बनाइसकेको थिएँ । तीमध्ये भोला पनि एक थियोे । उसको बारेमा बुझ्दै जाँदा धेरै कुराहरू थाहा हुँदै गयो । मान्छे सारै रमाइलो र हक्कीको थियोे । उसका दशौं असल गुणलाई त्यही एउटा रक्सी पिउने बानीले खर्लप्पै छोपिदिएको थियोे अौंसीको रातमा जून छोपिए जसरी । त्यही कारणले रहेछ स्वास्नीले चटक्क छोडेर माइतीघर गएकी ।

मेरै अनुरोधमा उसले आफूहरूको कसरी सम्बन्धमा चिसोपन आयो र गौरी कसरी माइत गई भनेर पश्चातापले भरिएको मुहारमुद्रा बनाएर भावुक भइ बताएको थियोे । “म नआउञ्जेल नखाई कुरेर बस्थी । तर म राती कतिबेला घर फर्किन्थें कुनै टुङ्गो थिएन । मलाई देख्ने बित्तिकै ऊ खाना तताएर पस्किन्थी । तैपनि म अकारण निँहु खोज्थें । गाली गर्थें र धेरैजसो त पिट्थें । खानाको थाल लात्ताले हानेर बेहाल बनाइदिन्थें । र , ऊ धरधरी रुदैं भोकै सुत्थी । म पनि बेहोस भएर त्यत्तिकै बेठेगान सुतिदिन्थें जुत्ता नै नखोलीकन । तर पछि होश खुल्दा विस्तारामा आरामले सुतिरहेको हुन्थें । उसको सहनशीलता मैले उबेला बुझिनँ र अहिले पछुताउँदै छु । ”

“अनि त्यसपछि के भयो त ?” मेरो चासो ।

एकपटक ख्वाक्क खोक्यो । लामो सास तान्यो र आँखा रसिला पार्दै कनेर भन्न थाल्यो –

“त्यसपछि जे नहुनु थियोे त्यही भइदियो । मेरो अत्याचारले सीमा नाघ्यो । म उसलाई हुने नहुने आरोप लगाउन थालें । सहेरै बसेकी थिई । जब मैले नशाको तालमा सजिल‌ैसँग उसको पतिव्रत धर्ममाथि नै धावा बोलें तब उसले मसँग जिन्दगी नकट्ने ठहर गरिछ । र , उसले अब तिम्रो मुख हेर्दिनँ भनेर बिहानै मलाई त्यागेर हिँडी । सायद अझै फर्काउन आउँछ कि भनेर पर कुइनेटोबाट फर्कीफर्की हेर्दै थिई । तर म पापी अहँ गइनँ ।”
“अनि उसलाई लिन गएनौं त भोला ?”

“के गर्नु सर ! दुई चार दिन त त्यो जाँठी गए जान्छे त , खुट्टा भए जुत्ता त कति कति जस्तो लाग्यो तर मेरो त दाहिने हातै भाँच्चिएजस्तो भइगो’नि । आज आउँछे छैन , भोलि आउली कि भनेर बाटो हेर्यो आउँदिन ! मेरा त आँखै टट्टाए । हार खा’र एकदिन त लिन गएँ ।”
“अनि आईन् कि आईनन् त ?”

“यहाँ सुन्नु न , भन्दैछु । पहिला कस्तो मान मनितो गर्ने सासू ससुरा त्यो पालि त वास्तै गर्दैनन् बा ! नमस्कार गरें , बस्नु नभने पनि बसें । खाना खान थालेपछिचाहिँ तीनै जनाले भन्नू नभन्नु भने है अनि । खाँदाखाँदै छोडेर हिँडिदिउँ जस्तो लागेको थ्यो तर हिँडिनँ । सुनिरहें ।”
“सह्यालु पो रहेछौ त है ?”

“त्यस्तो भइदे’को भ’त मलाई छोडेर के जाँदि हो र सर ! पहिला मैले भनेको थें , अहिले पालाको पैंचो फेरे भनेर मन बुझा’र बसें नि । फेरि त्यो दिनचाँहि रक्सी नखाइ गा’को भा हुने र’छ । सासूसुराले त ल है गौरी के गर्छेस् ; ज्वाइँ लिन आउनु भा’छ भनेर गए नि जाओस् जस्तो गरेका थे । तर ऊ बम्किन थाली हाली नि ! यस्तो जँड्याहासँग त मरे नि जान्न भनेर । अनि म भिजेको बिरालो झैँ लुरुलुरु एक्लै घर फर्किएँ ।”

“अनि फेरिफेरि पनि गयौ कि ; त्यत्ति एकचोटि हो ?”

“रक्सी नछोडी लिन नआउनू भनेकी थिई । भोलिदेखि खान्न भन्दाभन्दै यो काट्टो पनि कहिल्यै छोड्न सकिएन । अनि त जानलाई खुट्टा उचाल्न पनि सकिनँ ।”

त्यसरी गौरीलाई लिन जाँदा रित्तै फर्केको भोला घरखेत , हाटबजार र मेलापात एक्लै गर्न विवश थियोे । शनिबारको दिन , नुनतेल सकिएकोले साँघुटार बजारमा हाट भर्न झरेको रहेछ । म पनि झरेको थिएँ । झ्याप्प भेट भयो । उसले निकै मोलमोलाइ गरेर किनमेल सक्यो र भट्टीमा छिरेर एक बोतल लोकल रक्सी बिना सितन रित्यायो । अलिबेरपछि अझै थप्यो । म उसका क्रियाकलापहरू नियालिरहेको थिएँ । एकैछिनमा बाजागाजाका साथ एक हुल मान्छे अघि लागे । उसले झोला बोक्यो र लुसुक्क भीडमा छिर्यो । पाँच मिनेट जति अगाडि बढेपछि सबै रोकिए । त्यहाँ भव्य भोज चलिरहेको रहेछ । कोही खाने खाइरहेका थिए भने कोही नाच्न गाउनमा व्यस्त थिए । ऊ पनि अरु झैँ लाइनमा बस्यो र पालो कुरेर प्लेटभरि पुलाउ , काउलीको तरकारी , खसीको झोलवाला र कुखुराको फ्राइ मासु राख्यो । अब प्लेटमा थप केही चीज अट्ने ठाउँ थिएन । स्वाद लिइलिइ खायो चम्चाले । र , डकार्यो । त्यसपछि अरुले झैँ सानो प्लेटमा दही लियो । खायो । न्यापकिन पेपरले हातमुख पुछ्दै यताउता टहल्यो । लाग्थ्यो यस्तो परिकार उसले अहिलेसम्म एकैसाथ कहिल्यै खाने अवसर पाएको थिएन । यसकै हाराहारी स्वाद भएको खाना कहिलेकाहीँ गौरीले बनाउँथिन् र आफ्नै हातले खुवाउँथिन् । माया मिसिएको खानाको स्वाद आफ्नो ठाउँमा थियोे र त्योभन्दा भन्दा स्वादिष्ट उनका कोमल हात लाग्थ्यो । उसले आज पनि सदा झैँ गौरीलाई सम्झ्यो र सम्झ्यो ती दिनहरू । जुन दिनहरू दुई ज्यान एकजस्तै थिए र थिए एकअर्काको पीरमर्का बुझ्ने मनहरू । त्यो बेलाको कुरा ; जुनबेला ऊ रक्सी खान त के गन्ध पनि मन पराउदैनथ्यो । मातेको मान्छे देख्दा रिस उठ्थ्यो र एक्लै पनि बर्बराउथ्यो “जँड्याहाहरू…….”
यो बेग्लै कुरा थियोे ।

जसरी उसको जिन्दगीको एउटा पयो घोराए परेको थियोे ; ठीक त्यसैगरी उसका हरेक घटनाहरू अस्वभाविक र बेमेल लाग्थे मलाई । रक्सी पिउन शुरुआत गर्दाको कहानी पनि अचम्मैको थियोे उसको । साथीहरू जाँडरक्सी र चुरोट बिँडीका अम्मली भएपनि उसलाई यस्ता कुलतप्रति बहुत् घृणा थियोे । बिहे पछाडि तिनै दाँवलीहरूले रक्सी खाएर सम्भोग गरे शीघ्र स्खलन नहुने र श्रीमतीलाई सन्तुष्टि दिन सकिन्छ भनेर खुवाउन मरिहत्ते गरे तर उसले मानेन । यद्यपि उसको मनमा यस्तो कुरा खेलिरह्यो ‘रक्सी खाएर सम्भोग गरे……।’ यसले उसलाई पछ्याइरह्यो । छोड्दै छोडेन । दिनभरि गौरी , गौरीका अङ्ग विन्यास , उनीसँग बिताएका पलहरू सम्झ्यो । कहिले रात पर्ला र खानपिन छिट्छिटो सकेर सँगै सुत्न पाइएला ! दिमागमा यही मात्रै कुरा खेलाइरह्यो । र , राती हतारमा काम सक्यो । श्रीमतीको गुनासो आयो “तपाईं त के के न गरौंला झैँ झम्टिनुहुन्छ तर दुई मिनेट पनि अडिन सक्नुहुन्न ।” उसलाई यो असह्य भयो । आफैंलाई नामर्द सम्झ्यो र साथीहरूको सल्लाह अनुसार रक्सी नखाई आएकोमा पटकपटक धिकार्यो । अनि अर्कोतिर फर्केर सुत्यो तर राम्रोसँग निदाएन । र , भोलिपल्ट देखि रक्सी नखाइ घर फर्कनै छोड्यो ।

०००
उसले सोच्यो , यो कुनै ठूलाबडाकै काजभोज हुनुपर्छ । जो पायो त्यहीले यत्रो धुमधामका साथ काँ यसरी खर्च गर्न सक्छ र ! जे होस् वर्षौदेखिको भोक आजै मेटिए झैँ लाग्यो उसलाई । पेट छाम्यो , पुटुक्क उक्सिएको थियोे । सबैतिरबाट बिचार गरिल्यायो र अन्तिममा भोजको आयोजकलाई हृदयबाटै धन्यवाद दियो । हिँड्ने बेला उसलाई एउटा अर्को सोच आयो ; जुन मनासिब नै थियोे । धक फुकाएर मनैदेखि भोजको आयोजना गर्ने र यसको केन्द्रीय आकर्षण जो धेरै मान्छेहरूको भीडको बीचमा भए जस्तो ठानेर ऊ त्यतै लाग्यो । मिष्ठान्न परिकारले जिब्रो लठ्याइदिने , निशुल्करूपमा मनले मागेको भरपेट खान दिने मनकारी धर्मात्मा सज्जनवृन्दको दर्शन नगरी जानू त शोभनीय हुँदैन भन्ने ठान्यो उसले । भीड छिचोल्दै उसले सकेसम्म घाँटी तन्क्याएर सबैले हेरेतिर हेर्यो । सोफामा बिराजमान युगल जोडी जो मुस्कुराउँदै मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै थिए ।

उसलाई आफूले टेकेको धर्ती भासिए झैँ लाग्यो । एकैछिनमा टाउको घुमाएर चक्कर लाग्यो र भाउन्न छुटेर आयो । सपनामा समेत हत्तपत्त नदेखिने खालको दुर्लभ दृश्य जुन आफ्नै आँखा अगाडि घटिरहेको थियोे र ऊ सशरीर त्यहीँनेर ठिङ्ग उभिएको थियोे । उसलाई समय र स्थानको ख्याल हरायो । आफूले आफैंलाई बिर्सियो । हो , त्यहाँ गौरी नव दुलहीको स्थानमा सगर्व बिराजमान थिईन् जो केही वर्ष अगाडिसम्म भोलाको हप्कीदप्की सहेरै श्रीमतीको भूमिका निभाइरहेकी थिईन् । त्यतिमात्र कहाँ हो र ? एकैछिन अघिसम्मन् गौरी र उनीसँग बिताएका पल र उनले बनाएको खानाको स्वाद सम्झिरहेको थियोे ऊ ।

त्यसपछि भीडबाट फुत्त बाहिर निस्कियो र उकालो लाग्यो ऊ । म पनि उसैको पछिपछि लागें । ऊ त एक्लै फतफताइरहेको थियोे – ” साला आज स्वास्नीको बिहे खाइयो ! …..”

गफ गर्दै हिँड्दा बाटो कटनी पनि सजिलोसँग हुने र उभित्र गुम्सिएर रहेका भावनाहरू पनि सुन्न पाइने लोभमा मैले बोलाएँ ।
“ए भोला तिमी पनि यहाँ ! ल सँगै जाम् ।”

एकछिन त छक्क पर्यो अनि फिस्स हाँस्यो ।

त्यो हाँसोमा पीडाको मात्रा धेर थियोे कि आफैंप्रतिको व्यङ्ग्य धेरै थियोे ;मैले ठम्याउन सकिनँ । अनि कुरा शुरु गर्यो । “सर आज त मैले स्वास्नीको बिहे खाएँ नि !…….” (फेसबुकको कथा ग्रुपबाट)

1 comment to कथा : स्वास्नीको बिहे

  • KAMAL NEUPANE

    छोटो तर संदर्बिक. राम्रो प्रयास. हाम्रो समाज मा रक्सि को असर. अलिकति बिहे भोज को बर्दन बडी भयो. उसको श्रीमती लाई एकदमै धनि ले बिहे गरे जस्तो देखियो. अलिकति मिलेन.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0