यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बच्चाले पनि बुझ्ने गरी #ParadisePapers लिकको व्याख्या : खासमा यो के हो?

अहिले विश्वभर हङ्गामा भइरहेको ‘प्याराडाइज पेपर्स’ लिक के हो? रेड्डिटका एक प्रयोगकर्ता DanGliesack ले यसअघि पानामा पेपर्स सार्वजनिक हुँदा पाँच वर्षको बच्चाले पनि बुझ्ने गरी यो जटिल विषयको एउटा व्याख्या गरेका थिए, जसलाई मूलधारे मिडियाले समेत साभार गरे। उनकै व्याख्यालाई नेपाली परिवेशमा ढालेर भावानुवाद गरेको छु, शायद् यसले सजिलोसँग बुझाउन मद्दत गर्छ कि-

रामबहादुरसँग एउटा खुत्रुक्के थियो। आफूसित अलिकति पैसा हुने बित्तिकै उसले त्यही खुत्रुक्केमा जम्मा गर्थ्यो। उसले आफ्नो खुत्रुक्के खाटमुनि लुकाएर राख्ने गरेको थियो। तर रामबहादुरकी आमालाई उसले खुत्रुक्के कहाँ राखेको छ भनेर थाहा थियो। आमाले बारम्बार खुत्रुक्के जाँच्थिन्- पैसा राख्यो कि, निकाल्यो कि थाहा पाउँथिन्।

रामबहादुरले एक दिन निर्णय गर्छ, मेरो पैसा मेरी आमाले चियाएको मलाई मन परेन। अनि ऊ अर्को एउटा खुत्रुक्के बोकेर श्यामबहादुरको घरमा जान्छ। त्यो खुत्रुक्के रामबहादुरले आफ्नो नाम लेखी श्यामबहादुरको कोठाको खाटमुनि राख्छ।

श्यामबहादुरकी आमा निकै व्यस्त हुन्छिन्। त्यसैले उनले रामबहादुरकी आमाले चैँ खुत्रुक्के जाँच्ने फूर्सद पाउँदिनन्। त्यसैले रामबहादुरले आफ्नो खुत्रुक्के त्यहाँ राखेको कुरा गोप्य नै बनाउन सकिन्छ।

अब टोलका सबै बच्चाहरुले यो त राम्रो उपाय हो भनेर सोच्न पुग्छन्। अनि सबै जना खुत्रुके लिएर श्यामबहादुरको घरमा जान्छन्। अब श्यामबहादुरको खाटमुनि सबै छिमेकीहरुको खुत्रुकेहरुले भरिन्छ।

एक दिन श्यामबहादुरकी आमाले कोठा सफा गर्दा सबै खुत्रुके देख्छिन्। उनी रिसाउँछिन् र सबै बच्चाका आमाबुबालाई बोलाएर भनिदिन्छिन्।

सबै बच्चाले नराम्रो कारणले त्यहाँ खुत्रुक्के जम्मा गरेका भने हुँदैनन्। रामबहादुर आफ्नो गोपनीयता चाहन्थ्यो। हरिका दाजुले चोरी गरेको रकम राम्रो ठाउँमा लुकाउन त्यसो गरेको रहेछ। कृष्ण आफ्नी आमालाई थाहा नदिई जन्मदिनको उपहार किन्न पैसा जम्मा गर्न चाहन्थ्यो। रविन्द्र अर्काको पर्सबाट रकम खुसुक्क चोर्थ्यो र बाबुआमाले थाहा नपाओस् भन्ने चाहन्थ्यो। भोजबहादुरले आफ्नै आमाको ब्यागबाट रकम चोर्थ्यो। मोटे मनोजलाई उसका आमाबुबाले जङ्कफूड र चकलेट किनेर नखाओस् भन्ने लाग्थ्यो। मनोज भने आमाबुबालाई थाहै नदिई आफूलाई मन परेको कुरा किन्न चाहन्थ्यो।

अहिले वास्तविक जीवनमा धेरै धनी र शक्तिकाली व्यक्तिहरु श्यामबहादुरको घरमा खुत्रुके लुकाएको अवस्थामा पक्रिएका हुन्। अहिले ती सबैका आमाले थाहा पाएका हुन्। अब छिट्टै नै कसले राम्रो उद्देश्यले र कसले नराम्रो उद्देश्यले खुत्रुके राखेका हुन् भन्ने थाहा हुनेछ। पत्रकारहरु त्यही गरिरहेका छन्। तर सबैजना समस्यामा भने परेका छन् किनभने उद्देश्य जेसुकै भए पनि त्यसरी गोप्य राख्न पाइन्न थियो।

नेपालको कुरा गर्ने हो भने यहाँको कानुनले घरको रकम बाहिर लगानी गर्न अनुमति दिँदैन। यो गैरकानुनी हुन्छ।

अफसोर बैँकिङबारे सजिलो बुझाउन गरिएको यो व्याख्या तपाईँले बुझ्नुभयो नि?

अब प्याराडाइज पेपर्सबारे केही बुझौँ।

ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता देश वा क्षेत्रलाई Tax Haven भनिन्छ। यो भनेको कर सम्बन्धी प्रावधान खुकुलो भएका ठाउँ हो। केही विषयमा कर निकै कम लाग्ने वा करै नलाग्ने अथवा आर्थिक गोप्यता यस्तो ठाउँमा अपनाइन्छ। धनी मान्छेहरुले कानुनी रुपमा कम कर तिर्न यस्ता देशको अफसोर अकाउन्टमा धन जम्मा गर्छन्। तर कर छल्न, भ्रष्टाचारबाट कमाएको वा अपराधबाट कमाएको धन लुकाउन यस्तो ठाउँमा लगानी गर्ने सम्भावना धेरै हुन्छ।

त्यसैगरी अर्को एउटा शब्द छ शेल कम्पनी। यसलाई नेपालीमा कागजी कम्पनी भनेर बुझ्दा हुन्छ। कागजमा यो साँच्चैको कम्पनी जस्तै हुन्छ। तर खासमा यसको कुनै काम हुन्न। न यस्तो कम्पनीले केही उत्पादन गर्छ न यसको कुनै कार्यालय हुन्छ, न कर्मचारी।

प्याराडाइज पेपर्स भनेको एक करोड ३४ लाख गोप्य इलेक्ट्रोनिक डकुमेन्ट हो जुन अफशोर लगानीसित सम्बन्धित छ। यो जर्मन पत्रिकाले लिकका रुपमा पाएको थियो र आइसिआइजेको सहकार्यमा विश्वका विभिन्न मिडिया लागेर ५ नोभेम्बर २०१७ मा सार्वजनिक गर्न थालिएको हो। यी डकुमेन्टहरु अफशोर ल फर्म एप्पलबाइ, कर्पोरेट सर्भिस प्रोभाइडरहरु एस्टेरा र एसियासिटी ट्र्स्टसँग सम्बन्धित छन्। १ लाख २० हजारको नाम यसमा छ।

नेपालीको नाम छ? यो लिक नेपाली मिडियाले नपाएको हुनाले नेपालीको नाम अहिलेसम्म सार्वजनिक भएका छैनन्। तर पनामा पेपर्स र यसअघिका लिकहरुमा पनि नेपालीको नाम रहेकोले यसमा पनि नेपालीको नाम रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। पूरा डकुमेन्ट लिक नभएसम्म त्यो अहिले थाहा पाउन मुश्किल नै छ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)