यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अन्तर्घाती

-यम बूढा-

‘स्मार्ट गाउँमा’ बस्दा कस्तो होला भन्ने कौतुहलता, ‘ईसिटीमा’ रमाउने सुन्दर कल्पना, सरर रकेट चढेर चन्द्रमामा जाने र एउटा सस्तो घडेरी कब्जा गरेर म:म: पसल थाप्ने स्वर्णीम योजना, ‘चुच्चेरेलमा’ मायालूसँगै सुईकिने रोमान्टिक सपना, सगरमाथासम्म केवलकारमा पुग्ने अजीव रहरजस्ता थुप्रै रहरहरू, सपनाहरू, योजनाहरू, चाहनाहरूले रोमान्चित पारेपछी शरीरले दुईचार प्याक बढी नै माग गर्दोरहेछ । स्वभाविक पनि होला ।

त्यसो त हरसाँझ माथिका ‘दाईहरूले’ उनका ‘केटाहरूलाई’ पठाईदिएको चुनाव खर्चको मानमनितो स्वरूप चिसो-मिठो, चिल्लो-पिरो पनि त चाखिदिनु पर्‍यो । नचाखुँ भन्छु अन्तर्घाती बात लाग्छ! पार्टीलाई अपमान गरेको धम्की आउँछ । फेरी, हजुरलाई त थाहै छ,कोशेलीलाई नाईनास्ती गर्न पनि सकिन्न । भोटर लिष्टमा नाम हुनुको एकमात्र फाइदा यही त रैछ ।

यो चिसो मौसममा यसरी ‘चिसो-मीठो’ र चिल्लो-पिरो चाख्दाचाख्दै पिनासले बिनास पारेको थोत्रो ज्यानलाई एउटा भुइँफुट्टा बैद्यले सुझाव हान्यो ,”दिनहुँ बिहान झुल्केघाम हेर्ने गर । चट हुन्छ”। हो, उसैको सल्लाह अनुसार दिनहुुँ बिहान घामहेर्ने यानेकी जाडोमा पारिलो घाम ताप्ने क्रम दश-पन्ध्र दिन देखी चलिरहेको थियो ।

यो खबर खोई कुन्नी कस्ले हाम्रा वडा सदस्य- उम्मेदवारको कानसम्म पुर्याईदिएछ । आसेपासे ‘सरहरूले’ यसरी मसला थपेर खबरको बिर्यानी बनाउनु भएछकि खबरको स्वाद बिलाएर बेखबरमात्र सम्बन्धित ठाउँमा पुगेछ ।

हो,एकदिन, ह्यांगओभरले बिहान हो कि दिउँसो मेसो नपाएर ह्याङ्गिदै थिएँ । हाम्रा वडाका वडासदस्यका उम्मेदवार यस्ले मलाई नमस्कार गर्छ कि गर्दैन भन्ने पारामा मुसुमुसु हाँस्दै आए । मैले प्रतिउत्तरमा न किच्च पहेंला दाँत देखाउने मौका पाईन न त भविष्यका वडा सदस्यलाई नमस्कारको झापू हान्न नै पाएँ । चुनाव न हो , उम्मेदवार न हुन् । मित्रलाई हतार हुँदो हो । सिधै भनिदिए, “मैले जिँते भने तिम्रो आँगनमा मन्दिर बनाईदिन्छु।”
बरू समय टक्क अडिएर मसँग अक्क न बक्क भयो तर मेरो आश्चर्य बुझ्न उनलाई एक सेकेन्ड रोकिने फुर्सद भएन । उनले थप प्रवचन र सोडा भरे,” हेर भाई तिमी जिवनको कुनै कालखण्डमा सुध्रिएर धार्मिक बन्छौ भन्ने कुरा मलाई थाहा थियो ! तिमिले हरेक दिन सुर्य नमस्कार गरेको, हरेक दिन भजन- किर्तन गरेको, मलाई साह्रै राम्रो लागेकोछ ।”
कैले भजन किर्तन गरें? प्रश्न तेर्साउन पाइन । बरू उनले जोडकासाथ (यस्तो बेला ग्याँस जुनबाटो भएर पनि निस्कन सक्ने संभावना हुन्छ) घोषणा गरे,”तिम्रो आँगनमा मन्दिर एक बन्यो – दुई बन्यो ।” र, रेशमी स्वरमा कुरोको चुरो प्रष्ट्याए, “भोट कतै खेर नजाओस् नि” ।

खेर नजाओस भन्नुको मतलव?!

कात्तिक लागेको कुकुर र चुनावलागेको नेता-कार्यकर्तालाई आफ्नै दुईवटा कान चुँडिएको त वास्ता हुन्न रे ! उनलाई मेरो मतलव-बेमतलवसँग के मतलव ! मतलबी मतलव सुन्दै नसुनी सुँईकिए ।

कात्तिकमा पनि बैंस नआएको कुकुर पनि चुरीफुरी गर्न थाल्यो भने या कहिल्यै नभुक्ने कुकुर पनि भुक्यो भने कम्फर्म भए हुन्छ रे – आँगनमा नेता झुल्किदैछ । हो, कुकुरको नाममा कलंक – हाम्रो कुकुर चुरीफुरी गर्दै भुक्यो । हाम्रो वडाका वडाअध्यक्षका प्रत्यासी ‘फेबिकोलले’ कुहिनादेखि दशऔँलासम्म चिप्क्याएर आए ।

यस्तो लाग्यो, मिल्दो हो त यिन्ले खुट्टाको औंलासमेत जोडेर बीस औंलाको नमस्कार दिँदाहुन।

“महोदय” । रामराम यिनको सम्बोधन ! मलाई नै हो त ! मलाई ‘सरसम्म’ त उहिल्यै पुर्‍याएका हुन तर ‘महोदय’ कैले भएछु । “हजुरको सबैकुरा मलाई थाह छ । हजुरको सुबिधानै मेरो सुबिधा हो। हजुरको अाँगनमा जसरी पनि दुईतले मन्दिर बनाउँंछु । त्यो पनि चाँदीको मूर्तिसहितको । तर भोट खेर नजाओस् है ।”

म के भनुँ?! म बोल्न मिल्ने प्रजातन्त्र छ देशमा?! कुन्नी !? तर, कुरा सुन्ने नेता छैनन् कि?! ‘महोदय’ पनि आफ्नो निर्णय सुनाएर बतासिए ।

चाँदिको मूर्तीसहितको मन्दिर ?! वडासदस्य एक नम्बरी, वडाअध्यक्ष बहु-नम्बरी ?!

हुन त जनताले आश्चर्य मानेर के हुन्छ? नेताले भाषण गरे पो भीर-पाखा पनि स्मार्ट शहर हुन्छ । म किन आश्चर्यमा परूँ?

नेपाल गरीब भयो भन्ने सुनेर ब्राह्माजी हरेक नेपाली जनतालाई एक-एक केजी सुन दिउँ न त भनेर नेपाल आएछन । एक महिनासम्म जनता खोज्न यताउता भौंतारिएछ्न । जनता त ज्यान जाला भेटे पो ! जति भेटेछन, नेतामात्र भेटेछन । भैंसी चराउँदै गरेका मेरा बालाई “तपाईं जनता हो एककेजी सुन दिउँ” भनेर गल्तीले भन्न पुगेछन । “मलाई जनता भन्ने तँ को होस” भनेर घँंगारूको लठ्ठीले पिछ्डामा एक दिएका रे । बिचरा ब्रह्ममा जी सारा सुन बोकेर ठसठस कन्दै र खोच्याङ-खोच्याङ गर्दै स्वर्ग फर्किए रे । अचेल बूढा ब्रह्माजी गम्भीर पाराले गम्दा भयाछन रे मेरो उत्पादनमा कसरी कहाँँनिर कसरी यस्तो खराबी निस्क्यो भनेर । यस्तो देशका नेता हामी ( जनता भनेर कुटाई भेट्नु छ र!? नेताको के कमि!

उ भन्दैछु त! यसबार गाउँपालिका अध्यक्षका उम्मेदवार झुल्किए । बाटैदेखि लम्पसार?! यिनी लम्पसार परेर के हुन्छ?! म मरे पनि मेरो पाऊ छुन दिन्न ।

पाऊछुने प्रयत्न असफल भएपछी बाख्रा ठानेर कुकुर दुहुने प्रयत्न गरे । यो प्रयत्न पछी अन्य पशुपंक्षी पनि दुहुने प्रयत्न नहोस् भन्नका खातिर एक गिलास भैंसीको दुध अबिलम्ब हातमा थमाईयो । एकचिम्टी भैंसीको दूध घाँटीबाट ओरालो नलाग्दै कुरोको चुरो उकालो ओकेल्न के हतार हो कुन्नी !
दूधसँगसँगै माकसम बाहेक ‘बाचा-कसम’ खाइवरी यस दुनियाँमा भए नभएका देउतादेखि भूत पिचास भाक्ने प्रकृया पूरा गरेपछी उनले भने, ” तपाईंको आँगनमा मन्दिरको सख्त: आवश्यकता देखियो । म निर्वाचित हुनासाथ गजुर र सुनको मूर्ती सहितको मन्दिर पक्का भयो । अन्यत्र भोट खेर नफाल्नुहोला । म हिँडे पनि ।”

टासिंएर बस्नकोलागी मेरो घर तिम्रो कुर्सी हो? घाँटीसम्म आएको जवाफ भनिन । भित्रै निलें । नेताका “भाईहरू” तिघ्रे थिए ।

म हारें । सुनको गजूर र मूर्ती भएको मन्दिर मलाई आवश्यक रैछ । म आफ्नै अावश्यकता थाह नपाउने बेकूफ जनता।

ढोल, झ्याम्टा, मादल, माईक, डानस सहितको जत्था देखेपछि थरीका भैंसी, राँगा, गोरू डाम्लो चुँडाएर गुहार भन्दै जंगल पसेछन । कुकुर महोदयले डराएर जिवनमा पहिलो पटक खुट्टै नउचाली आँगनमै अमृतजल तुर्क्याउनुभएछ । मेरो बोली डरले भासिएर आन्द्रा तिरै हरायो । पचाउन सके भोली बिहानसम्म निस्केला कि !?
हुन पनि प्रदेशसभाका उम्मेदवारको आगमन भएछ । भोली मुख्यमन्त्री पड्काउन के बेर ?!
जे होस उनको कसिलो अभिबादनमा डर निवारण ओखती रैछ । डर अलि दूर भयो । उनि पनि बेखबर कसरी रहन सक्थे?! उ भनि त हाले , ” तपाईंको धार्मिक आस्थामा मेरो पूर्ण समर्थन छ । हजुरको आँगनमा कच्ची हैन पक्की मन्दिरको आवश्यकता महसुस गरेको छु । मन्दिरमा सुनकै गजुर र सुनकै छाना बनाउने र हजुरको घरलाई ‘धार्मिक घर’ घोषणा गर्न म सरकार समक्ष जोडदार माग राख्नेछु ।”
म त के! न आँ न उँ! उनैले भने, ‘म सुनौलो दिन लिनकोलागि हिँडें ।
‘नफर्कनु’ भन्न खोजें तर घाँटीमा ठेटी बनेर डर अड्कियो ।
नेताको कुराले दिसा वा पिसाब के चुहिनु थालेको हेक्का भएन ।

रिमझिम साँझ हुँदैथियो, केटाकेटी लौ ‘मुर्कुट्टा’ आयो भन्दै च्याँ च्याँ र चुँ चुँ रुन थाले । म पनि डरले कट्टु भिजाउँदै खात मुनि छिर्नै के आँटेको थिएँ, भिंडबाट मान्छेकै आवाज आयो “नडराउनुस, तपाईंको आँगनमा संघीयसभाका उम्मेदवार आउँदैहुनुहुन्छ”।
यो सुनेर मलाई झन कहिल्यै ननिस्किने गरेर खातमुनि छिर्न मन लाग्यो। के गर्नु साँझमा राक्षस नै आए पनि पाहुना मान्नुपर्ने संस्कार ।

अहो ! मालाले पुरिएका । अबिरले छोपिएका । उम्मेदवारको घाँटी कुन हो , लात्ति कुन हो – सबै उस्तै । केटाकेटी त्यसै डराउने भैहाले । तर, बोल्न न मालाले छेक्दो रैछ न त अबिरले । बडा चर्को स्वरमा भन्दा भए, “म पनि धार्मिक मान्छे , तपाईंलाई देखेर मलाई देउता भेटेजस्तो भएकोछ।”
लौ सक्किगो! यही सुन्न म बाँच्या होला।
“तपाईंको आँगनमा एउटा हैन दुइवटा मन्दिर निर्माण गर्ने संकल्प गर्दछु ।” बिग्रेको रेडियोका द्वार हुन कि उम्मेदवार?! रोकिए पो ! “तपाईंको आँगनमा हरेक बिहान भजन, किर्तन पूजा आजा गर्ने ब्यवस्था मिलाउँछु । तपाईंको आँगनलाई धार्मिक क्षेत्र घोषणा गर्न विशेष पहल गर्नुका साथै तपाईंलाई ‘बाबाजी”को उपाधी दिलाउन कुनै कसर बाँकी राख्ने छैन ।”

सांसदको काम पनि मन्दिर बनाउनु र मलाई बाबाजी घोषणा गर्नु नै हो भने तेरो अनुहार कोदालीले मर्मत गरेर वडा सदस्य बनाउँछु भनेर कड्किन के लागेको थिएँ आँखा अँध्यारोले छोपेझैं भयो ।

कतिखेर बेहोश भएँ पत्तो भएन । बेहोश हुँदैछु भन्ने होश भए बेहोश पो किन हुन्थें र ! म होशमा फर्किदा उम्मेदवार पनि फर्किएछ्न् । ब्यूँझेलान् ब्यूँझेनन् भने धामी बोलाएर झारफुक गराउनु भनेर गए रे । हुन पनि २४ घण्टा बेहोश हुनेलाई कस्ले कुर्छ? फेरी, कुरो ‘बाबाजी’ उपाधी पाउनेमा पुगेपछि बेहोश नभई रहन सक्ने को होशी हुनसक्छ ?!

यसो वरिपरि नियाल्छु । शोक ब्याप्त संसार भएछ घर । बा फाटेको टोपीबाट एरियल आकाशतिर पठाएर झोक्राएका । आमा फाटेको पछ्यौराले आसुँंको समुन्द्र छेक्दै गरेका । आफू सम्हालिन नसक्दा पनि अर्धनग्न भूराहरू सम्हाल्नु पर्ने बाध्यताले किचिएकी श्रीमती । आश्चर्य चकित छिमेकीहरू ।
“यस्तो कमजोर मुटु लिएर पनि नेपालमा जन्मिने हो त” भन्दै व्यंग्य खिपिरहेका गाँउका यूवाहरू ।

“छिटो उठ, भट्टी तिर जान ढिलो भयो” भन्लान् झैं गरेर कुरिरहेका साथीहरू ।

“बेहोसीमा पनि अन्तर्घाती बन्छु भन्छ, यो कुन काइदा हो यस्को?” नेताको भाई केटा होला, गुनासो गर्दैछ । “यस्तै हो भने यस्लाई उधोमुन्टे बनाएर आजसम्म खाएको पूरा निकाल्नुपर्छ .” धम्की नयाँँ त होइन तर चर्को छ ।

म पटक्कै बोल्दिन । सोच्दछु। हो म बेहोश थिएँ । अब साँच्चिकै होशमा आएँ । मलाई भ्रममा राख्नेलाई धोका दिनसक्छु । देशलाई घात गर्नेलाई अन्तर्घात गर्न सक्छु ।

चिच्याएर आँफैंलाई अन्तर्घाती घोषणा गरूँ ?! भो, गोप्य मतदानको पनि मूल्य राखिदिउँ न त ।

2 comments to अन्तर्घाती

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)