यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

निर्वाचन आयोगको नालायकीको प्रमाण समानुपातिक मतपत्र

भोलि मंसिर २१ गते दोस्रो चरणको निर्वाचनमा भोट हाल्नेहरुले सुरुमा हरियो मतपत्र पाउँछन् र त्यसपछि कालो मतपत्र पाउँछन्। अन्तिममा रातो मतपत्र पाउँछन्। हरियोमा प्रतिनिधि सभाको सांसद चुन्न मत हाल्ने हो भने कालोमा प्रदेश सभाको। त्यसपछि आउँछ रातो मतपत्रको पालो। यो मतपत्र अघिल्ला दुई मतपत्रभन्दा आकारमा ज्यादै ठूलो हुन्छ। यसले निर्वाचन आयोगको नालायक व्यवस्थापनलाई उजागर गरिरहेको हुन्छ। तर यत्रो ठूलो प्राविधिक गल्ती गर्दा पनि कसैको अनुहार रातो भएको छैन। निर्वाचन आयोगले बिगारेको कामको विरोध गर्नु निर्वाचनको विरोध गर्नु हो भन्ने परेकोले हो कि किन हो, कोही बोलेका छैनन्। कस्तो गल्ती छ त मतपत्रमा? आउनुस् विस्तारमा हेरौँ।

उम्मेदवारै नभएको दलको चिह्न, जितेमा के हुन्छ?

समानुपातिक तर्फका मतपत्र प्रदेश अनुसार फरक छ। यो हेर्नुस् यो प्रदेश नम्बर ३ को समानुपातिक मतपत्र हो-

समानुपातिकतर्फ एउटै पानामा दुई वटा मतपत्र राखिएको छ। माथिल्लो भागमा रहेको मतपत्र १ प्रतिनिधि सभाका लागि अनि मुनिको मतपत्र २ प्रदेश सभाका लागि। यसमा हेर्नुस् एक लहरमा १० वटा चिह्न छ। जम्मा लहर नौ वटा छ। अन्तिम लहरमा ८ वटा मात्रै चिह्न छ। कूल ८८ वटा चिह्न यसमा छ। सातै प्रदेशमा माथिल्लो भागमा ८८ वटा नै चुनाव चिह्न छ।

तर प्रतिनिधि सभामा समानुपातिकतर्फ उम्मेदवार भने ४९ वटा पार्टीका मात्रै छन्। अर्थात् ३९ वटा चिह्न बेकार छन्। यसमा भोट हालेमा कुनै पनि उम्मेदवारले जित्दैन। उम्मेदवारै नभएका दलहरुको चिह्न मतपत्रमा किन? यस्ता दलले समानुपातिकमा ल्याएको मत के हुने? उदाहरणका लागि मानौँ बाघ चिह्नमा ५ लाख भोट पर्‍यो। अब के गर्ने? बाघ चिह्न भएको आधुनिक नेपाल पार्टीले त समानुपातिक उम्मेदवारको बन्दसूची नै बुझाएको छैन। उम्मेदवारै नउठाएको भएपछि त यो पार्टी स्वतः चुनावमा भाग लिन अयोग्य हुनुपर्ने हो। तर निर्वाचन आयोगको नालायक व्यवस्थापनका कारण यो लगायत यस्तै ३९ वटा दलका चुनाव चिह्न मतपत्रमा रहेका छन्। यसले मतपत्र अनावश्यक लामो र मतदाताका लागि झण्झटिलो बनेको छ।

कसरी यस्तो भयो?

निर्वाचन आयोगका कर्मचारीहरुले व्यवस्थापन नजानेर। उनीहरुले समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलहरुले दर्ता गर्न आऊ भनेर आह्वान गर्‍यो भदौको अन्तिम साता। ८८ वटा दलले दर्ता गरे। निर्वाचन आयोगले यही आधारमा ८८ वटा दलको चुनाव चिह्न राखेर मतपत्र छाप्यो। यही गलत निर्णय थियो।

त्यसको एक महिनापछि असोज २९ गते बल्ल आयोगले दलहरुलाई समानुपातिक निर्वाचनमा भाग लिन उम्मेदवारहरुको बन्दसूची बुझाउन भन्यो। बुझाए जम्मा ४९ वटा दलले। मतपत्रमा भएका बाँकी ३९ चिह्न बेकार।

प्रदेशतर्फको मतपत्र झन् बिजोग
प्रदेशतर्फ पनि प्रदेश १ मा जम्मा २७ वटा पार्टीले मात्रै समानुपातिक निर्वाचनमा भाग लिएका छन्। तर मतपत्रमा ८७ वटा चुनाव चिह्न छन्। अर्थात् ६० वटा चुनाव चिह्न बेकार छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश २ मा २९ वटा पार्टीका मात्र उम्मेदवार छन् तर मतपत्रमा भने ८६ वटा चुनाव चिह्न छन्। अर्थात् ५९ वटा चिह्न बेकार छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश ३ मा ३१ वटा पार्टीका उम्मेदवार छन् तर मतपत्रमा ८६ वटा चुनाव चिह्न छन्। अर्थात् ५५ चिह्न बेकार छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश ४ मा त झन् २० वटा मात्रै पार्टीका उम्मेदवार छन् तर मतपत्रमा ८२ वटा चुनाव चिह्न छन्। अर्थात् ६२ वटा चुनाव चिह्न बेकारका छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश ५ मा २७ वटा पार्टीका उम्मेदवार छन् तर मतपत्रमा ८४ वटा चुनाव चिह्न छन्। यो प्रदेशको मतपत्रमा ५७ वटा चुनाव चिह्न बेकारका छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश ६ मा सबैभन्दा कम १८ वटा पार्टीका उम्मेदवार छन्। तर मतपत्रमा ८२ वटा चुनाव चिह्न छन्। अर्थात् यो प्रदेशमा ६४ वटा चुनाव चिह्न बेकारका छन्। हेर्नुस् मतपत्रको नमूना

प्रदेश ७ मा २० पार्टीका उम्मेदवार छन्। तर मतपत्रमा ८३ वटा चुनाव चिह्न छन्। यहाँ ६३ वटा चुनाव चिह्न बेकारका छन्। हेर्नुस् मतपत्रको नमूना

हेर्नुभयो होला प्रदेशतर्फका मतपत्रमा झन् बिजोग छ। यसले मतगणनालाई पनि गाह्रो बनाइदिनेछ।

आरामले काम गर्न खोज्दा
बन्दसूची बुझाएपछि बल्ल मतपत्र छापेको भए यस्तो गल्ती हुँदैन थियो। अहिलेको भन्दा सानो हुन्थ्यो मतपत्र। डटेर लाग्ने हो भने मतपत्र छाप्ने समय पनि नपुग्ने भन्ने हुँदैन थियो। तर आरामले काम गर्नुपर्ने मानसिकताले बिगार्‍यो कुरा।

दल दर्ता आह्वान र बन्दसूची बुझाउने समय नजिकै बनाएर त्यसपछि मात्रै मतपत्र छाप्ने निर्णय गर्नुपर्थ्यो। यसमा चुनाव गराउने जिम्मा बोकेको आयोग चुक्यो। फलस्वरुप स्थानीय तहको चुनावमा जस्तै उम्मेदवारै नभएको चुनाव चिह्न पनि मतपत्रमा रह्यो। के यसरी उम्मेदवार नभएको चुनाव चिह्न राखेर विश्वमा कतै चुनाव भएको छ होला? शंकै छ। यस्तो खालको नमूना चुनाव भएको भए गिनिज बुकमा नाम लेखाएर अहिलेका निर्वाचन आयुक्तहरुको नाम सुनौलो अक्षरमा किन नसजाउने?

बदर हुने दुई छाप
पहिलो चरणको निर्वाचनपछि धेरै ठाउँबाट समानुपातिकतर्फको मतपत्रमा मतदाता झुक्किएको कुरा आयो। रातो मतपत्रमा दुई छाप हाल्ने भनेको सुनेका मतदाताले मतपत्र लिएपछि माथि नै दुई छाप हान्दिएछन्। एमाले र माओवादी मिलेर आएका छन् भन्दै माथिकै अर्थात् मतपत्र १ मै सूर्य र हसिया हथौडामा दुई छाप हानेपछि पूरै मतपत्र नै बदर हुन जान्छ। खासमा एउटा छाप माथि प्रतिनिधि सभाका लागि र एउटा मुनिको मतपत्रमा प्रदेश सभाका लागि राख्नुपर्ने थियो। समानुपातिकतर्फ कति मत बदर हुन्छन्, त्यसको तथ्याङ्क आएपछि आयोगको यो गल्तीको गम्भीरता थाहा हुनेछ।

ठ्याक्कै यस्तै अन्यौल प्रत्यक्ष तर्फ पनि हुनेवालाा थियो। तर सर्वोच्च अदालतले दुई वटै मतपत्र छाप्नुपर्ने आदेश दिएपछि बल्ल आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गरेको थियो। त्यसअघि प्रमुख निर्वाचन आयुक्तले समेत छाप्न भ्याइँदैन भनेका कुरा सार्वजनिक भएका थिए। नभ्याउने भन्ने त हुँदैन रहेछ त। भ्याइयो त। समानुपातिकमा पनि दुई वटा मतपत्र भएको भए यस्तो गल्ती हुँदैन थियो।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)