यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट


तपाईँले जतिबेला यो ब्लग पढिरहनु हुनेछ, त्यतिबेला म मनको ‘अपरेसन’का लागि पसिसकेको हुनेछु। आज जनवरी १ को साँझदेखि जनवरी १२ बिहानसम्म म केहीको पनि सम्पर्कमा हुनेछैन। न फोन, न इन्टरनेट, न मिडिया, न सोसल मिडिया। इन्टरनेट, इमेल, टेलिफोन, मोबाइल, टिभी, रेडियो- सम्पूर्ण सञ्चारमाध्यम र बाहिरी संसारसित मेरो सम्पर्क विच्छेद भइसकेको छ। कोही परिचित पनि हुने छैन मसँग। न मैले कुनै परिचितसँग सम्पर्क गर्न पाउनेछु।

एउटा निश्चित घेराभित्र म बस्नुपर्नेछ। त्यो घेरा नाघ्न मलाई अनुमति हुनेछैन। म बोल्न पनि पाउँदिनँ, मुखले त के हाउभाउले पनि। अपरेसन भएको हुनाले अपरेसन नसकी मलाई अरु केही गर्न दिइने छैन। किनभने राजीखुशीले गरिएको आत्मसमर्पण हुनेछ यो। केमा आत्मसमर्पण?

बुद्धको शिक्षाप्रतिको आत्मसमर्पण।

गौतम बुद्धले एउटा व्यवहारिक शिक्षा सिकाउनु भएको छ, जसको शुद्ध रुप अझै पनि कसैगरी कायमै छ। त्यसलाई विपश्यना भनिन्छ। यही विपश्यनाको १० दिने शिविरमा यतिबेला म छु। यी शब्दहरु केही दिन पहिले नै टाइप गरिएका हुन्। आगामी केही दिनसम्म तपाईँले पहिले नै लेखेर सेड्युल गरिएका ब्लगहरु माइसंसारमा पढ्न पाउनु हुनेछ।

नौ वर्ष अघि सन् २००८ मा मैले पहिलो पटक विपश्यनाको अनुभव गरेको थिएँ। १२ दिनपछि फर्कँदा लेखेको थिएँ- मनको ‘अपरेसन’ गरी फर्किएँ म त्यतिबेला पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बनेर बालुवाटार पस्दै थिए। नौ वर्षपछि अहिले जाँदै गर्दा नेपालको राजनीतिले एउटा कोर्स पूरा गरेर नयाँ संविधान अनुसार चुनाव भर्खर सकिएको छ, भावी प्रधानमन्त्री भनिएका केपी ओली कहिले बालुवाटार पस्ने टुङ्गो लागिसकेको छैन। यो बीचमा थप केही १० दिने शिविरमा म बसेँ। पहिले त दैनिक अभ्यास पनि हुन्थ्यो, विगत केही वर्षदेखि भने छुटेपछि मलाई निकै गाह्रो भयो। विपश्यना गर्दा हुने व्यवहारिक लाभलाई स्पष्ट अनुभव गर्दागर्दै पनि व्यस्तता र जिम्मेवारीको बोझले आफूलाई फाइदा हुने विषयमा पनि गरिने हेलचक्र्याइँको नतिजा थियो यो। त्यसलाई सुधार्ने प्रयत्नका साथ नयाँ वर्षको सुरुमा नयाँ उत्साह भर्न म फेरि मनको अपरेसन गर्न बसिरहेको छु।

बुढानिलकण्ठ मन्दिरबाट झण्डै आधा घण्टा पैदल हिँडेपछि पुगिने ठाउँ मुहानपानीमा रहेको विपश्यना ध्यान केन्द्रमा म अहिलेसम्म बसेको थिएँ। यस पटक बिल्कुल नयाँ ठाउँमा नयाँ अनुभव पनि हुनेछ।

***
मेरा केही साथीहरु ध्यान गरेपछि भिक्षु,जोगी नै हुन्छ कि भन्ने सोच्छन्। गलत! ध्यानले परिवार र आफू निकटका मात्र हैन, सकल दृश्य अदृश्य प्राणीको मंगल कामना गर्छ, माया बढाउँछ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न अपनाएको विद्या हो विपश्यना। विपश्यना ध्यानको मुख्य अभ्यास तटस्थताको हो। यसले सजग भएर तटस्थ बस्न सिकाउँछ। त्यो पनि सिद्धान्तमा हैन व्यवहारमा। व्यवहारका लागि यसले प्रयोगशाला बनाउँछ तपाईँको आफ्नै शरीरलाई। पलेँटी कसेर बस्नुस्, आँखा चिम्लनुस् र तटस्थ भएर शरीरमा के के हुन्छ, हेर्नुस्, महसूस गर्नुस्। प्रतिक्रिया बिल्कुलै नगर्नुस्।

यसरी बस्दा कहिले यता दुख्छ, कहिले उता दुख्छ। कहिले भने कति पनि दुख्दैन- आनन्दको महसूस हुन्छ। सटल भाइब्रेसन- सुखद अनुभूतिका बेला पनि तपाईँ तटस्थ बस्न सक्नुपर्छ, दुःखद अनुभूति भएका बेला पनि। यही हो विपश्यनाको अभ्यास। यही हो तटस्थताको अभ्यास।

शरीरमा हुने संवेदनालाई व्यवहारिक रुपमा यसरी अनुभूति गरेर मनलाई तटस्थ बनाउन सिकेपछि जीवनमा आउने सुख, दुःखका घटनालाई पनि त्यसरी नै तटस्थ बसेर हेर्न सकिन्छ।

के यस्तो साँच्चिकै गर्न सकिन्छ त? विपश्यनालाई पछिल्लो समयमा लोकप्रिय बनाउन ठूलो योगदान दिएका गुरु सत्यनारायण गोयन्का कै जीवनको उदाहरण लिन सकिन्छ। उनीहरुको परिवार वर्मामा व्यापार गरेर बसेका थिए। वर्मामा सैनिक शासन आएपछि विदेशी मूलका व्यापारीहरुको उद्योग र सम्पति राष्ट्रियकरण गरिदिए। गोयन्काका एक सहकर्मी दुःखले रुँदारुँदा आँखा नै गुमाउन पुगे। गोयन्काले भने सुखलाई जसरी यो दुःखलाई पनि तटस्थ रुपमा लिए। उनले चित्तको समतालाई गुमाएनन् र यो दुःखलाई सजिलै पचाए।

ठूला मान्छेका ठूलै कुरा। हामी सर्वसाधारणले यस्तो अनुभूति गर्छौँ त? दुई तीन पटक मैले यस्तो अनुभूति गरेको छु। एउटा अनुभव सुनाइ हालौँ, यो अनुभव मैले पहिला पनि सुनाएको हुनुपर्छ।

एकताका म दिनहुँ यसको अभ्यास गर्थेँ। दिनदिनै जसो साँझ कान्तिपथको ज्योति भवनमा गई सामूहिक ध्यान गर्थेँ एक घण्टा। त्यतिबेलातिरको कुरा हो- मेरो मोबाइल हरायो। भर्खर जीपीआरएस जोडेको, कत्ति न जान्ने भएर टेकुको सुमाइ रेस्टुरेन्टमा इमेल चेक गर्दै थिएँ, फर्कँदा ल्याउन बिर्सेछु। आफन्तको घरमा पुगेपछि बल्ल याद भयो। मोबाइल हरायो- यो सत्य मलाई जब ज्ञात भयो। त्यतिबेला मलाई अलिकति पनि दुःख, पीडा भएन। मैले हाँसी हाँसी मोबाइल त बिर्सेछु भनेर आफन्तहरुलाई भन्दा उनीहरुले जिस्केको ठानेका थिए। अरु बेला भएको भए म निकै व्याकुल हुन्थेँ होला। पछुताउँथेँ होला। आत्तिन्थेँ होला। त्यही ठाउँमा पुगेर हेर्न हतारिन्थेँ होला। मलाई भने एउटा जिज्ञासा मात्र जागेको थियो, सीम कार्ड नयाँ बनाउँदा त्यसमा भएको २ सय भन्दा बढी रुपैयाँको ब्यालेन्स कायम हुन्छ कि हुँदैन ?

अन्ततः मोबाइल पनि भेटियो। म गइनँ। मसँग रेस्टुराँमा जो आफन्त गएका थिए, उही गए। मोबाइल क्यासियरमा सुरक्षित राखिएको रहेछ। अब हेर्नुस्, केही वर्ष अघि भएको भए मोबाइल भेटिए पनि नभेटिए पनि त्यो बीचमा म कति दुःखी हुन्थेँ होला। कति व्याकुल हुन्थेँ होला। कति आत्तिन्थेँ होला र कति पीडा हुन्थ‌्यो होला।

त्यो दिन सानै भए पनि विपश्यनाको व्यवहारिक लाभ अनुभव गर्दा म आफै छक्क परेको थिएँ।

***

अब प्रश्न उठ्न सक्छ तटस्थ बस्नु राम्रो त हो। दुःखमा तटस्थ बसौँला नि त, सुखमा किन बस्नु पर्‍यो ? सुख त मज्जाले अनुभूति गर्न पाउनु पर्‍यो नि। सुख पनि मज्जाले अनुभूति गर्न नपाइने हो भने त जीवन बाँच्नुको के मज्जा रहन्छ र।

पहिलो पटक १० दिने विपश्यना शिविरमा बस्दा मैले यही सोचेको थिएँ। तर हैन रहेछ, सुखमा खुसी जरुर हुने, खुसी हुनै पर्छ। तर त्यो खुसीमा आशक्त नहुने। त्यो खुसीमा नटाँस्सिकन तटस्थ बस्ने। यसो भए मात्र हामी सँधै सुखी हुन सक्छौँ। सुखमा तटस्थ नभई आशक्त हुने हो भने एक न एक दिन सुख त जान्छ जान्छ, सँधै एउटै समय त रहँदैन। जब सुख जान्छ, तब आशक्तिका कारण दुःख पाइन्छ। सुख कै बेला पनि आशक्तिका कारण दुःख पाइन्छ भने सुख गइसकेपछि पनि दुःख पाइन्छ।

एउटा सानो व्यवहारिक उदाहरण हेरौँ न, आजभोलिको मायाप्रेम। मायाप्रेम त सुखको लागि हो नि। एकले अर्कालाई सुख दिनलाई त हो नि लभ गर्ने। तर हेर्नुस् त तटस्थ नभएका कारण सुखमा आशक्ति पैदा भएको। अनि आशक्त लभरले आफ्ना प्रेमी वा प्रेमिकाले कसैसँग कुरा गर्‍यो कि जेलस हुने। शंका उपशंकाले चिन्ता जन्मने। सुखका लागि गरिएको मायामा दुःखैदुःखको जञ्जाल भित्रिने। सुखमा तटस्थ हुन सिकेको भए यस्तो हुन्थ्यो त? अहँ पक्कै हुँदैन थियो।

रिसोर्ट शैलीको ‘रिल्याक्स’
विपश्यनाभन्दा धेरै तर्सने गर्छन्- त्यत्रो दिन नबोली बस्नुपर्छ। दिनभर खाली ध्यान गरेर बस्नुपर्छ, अरु केही गर्न पाइँदैन। नबुझेर हो त्यसो भन्ने गरेका। भगवान गौतम बुद्धले सिकाएको यो विद्या सिक्न पाउनु अहोभाग्यको कुरा हो। यहाँ दिनभर ध्यान गरेर मात्र बस्नुपर्ने कुरा साँचो हैन। प्रशस्तै आरामको समय पनि पाइन्छ। हामी जस्तो व्यस्त जीवन शैलि जिउनेहरुका लागि भने यो रिसोर्ट शैलीको रिल्याक्स पनि हो। रिसोर्ट शब्द मैले दुई परिप्रेक्ष्यमा प्रयोग गरेको हुँ। एक, डाँडाको मुन्तिर रहेको यो ध्यान केन्द्रको वातावरण यति रमणीय छ कि यहाँबाट फर्केपछि पनि सँधै तपाईँलाई यहाँको बसाइ स्मरणमा आइरहन्छ। दुई, रिसोर्ट कै जस्तो यहाँ निम्न वर्गकाहरु पुग्दैनन्। मध्यम र उच्च वर्गकाहरु त्यसमा पनि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विदेशी, कर्मचारी, प्रशासक, ख्यातिप्राप्त व्यक्तिहरु यहाँ अक्सर भेटिन्छन्।

किन त ? महँगो भएकोले हो ? बिल्कुलै हैन। यो ठाउँमा तीन दिने शिविरका लागि आउनुस् वा दस दिने अथवा २० दिने नै किन नहोस्, बसेको, खाएको, पानीको, बत्तीको केही पनि शुल्क लाग्दैन- पाँच पैसा पनि। काठमाडौँको कार्यालय जमलदेखि ध्यान केन्द्रको गेटसम्म माइक्रो वा बसले सित्तैमा पुर्‍याउने व्यवस्था केन्द्रले गर्छ। बरु तपाईँले स्वेच्छाले शिविर सकिएपछि इच्छाएको ‘दान’ दिनसक्नुहुन्छ, त्यो पनि अनिवार्य छैन। शिविरमा नबसेकाले दान दिन खोजे त्यो पनि स्वीकारिँदैन।

फरक दैनिकी
यहाँको दैनिकी फरक हुन्छ। बाहिर हुँदा दिनभर व्यस्त हुनेहरुले यहाँ निकै आराम पाउँछन्। टेलिफोनको त के कुरा, बाहिरी मानिससँगको त के कुरा, भित्रै आफूसँगै बस्ने ध्यानीसित पनि कुरा गर्न पाइँदैन। दोस्रो पटक १० दिने शिविरमा बस्दा त एक विदेशी युवती रोएकी थिइन्। ती रसियन युवती एक पटक फोन गर्न पाउँ न भन्दै गुरुसँग अनुनय विनय गर्दै थिइन्। तर गुरुले १० औँ दिन म आफै तिमीलाई फोन दिएर कुरा गर्न लगाउँछु, अहिले मनलाई बलियो पार भनेर सम्झाए। नभन्दै १० औँ दिन उनलाई फोन आवश्यकै भएन। ११ औँ दिनमा सबैले पाउने दिनमा नै फोन र आफ्ना सामान बोकेर उनी केन्द्रबाट हामीसँगै बाहिरिइन्।

बाहिरी जीवन शैलीबाट अलग बस्न पाइने हुँदा यहाँ बाहिरको टेन्सन केही हुँदैन। यहाँको दैनिकी पनि आरामदायी नै छ। बिहान ४ बजे उठ्नलाई घण्टी लाग्छ, तर ४३० बजे मात्रै हलमा पुगे हुन्छ। दुई घण्टा बिहानी ध्यान गरेपछि नास्ता गर्न पाइन्छ। त्यसपछि ८ बजेसम्म आराम गर्ने।

बिहान ८ देखि ९ बजेसम्म ध्यान गरेपछि पाँच मिनेटको विश्राम दिइन्छ। त्यसपछि ११ बजेसम्म फेरि ध्यान बस्ने। ११ बजेदेखि दिउँसो १ बजेसम्म फेरि आराम। यो बेला खाना दिइन्छ।

१ बजेदेखि सवा दुई बजेसम्म ध्यान बस्ने। त्यसपछि फेरि आराम। अनि साढे दुईदेखि साढे ३ सम्म फेरि ध्यान बस्ने। फेरि पाँच मिनेट विश्राम। विश्रामपछि फेरि ध्यान बसेपछि अपराह्न ५ बजे उठ्ने। ५ बजेदेखि ६ बजेसम्म चिया/कागती पानी पिउन विश्राम। ६ बजेदेखि ७ बजेसम्म अन्तिम एक घण्टा ध्यानमा बस्ने त्यसपछि केही समय विश्राम र प्रवचन। प्रवचनपछि भोलिपल्ट कस्तो किसिमले ध्यान गर्ने भनी निर्देशन दिइन्छ, त्यसपछि राति ९ बजे सुत्ने।

एउटा फरक अनुभव
ओशोले एउटा प्रवचनमा भनेका छन्- मान्छेको दिमाग जटिल काम गर्न अभ्यस्त हुन्छ, त्यसैले साधारण काम गर्न गाह्रो महसूस हुन्छ। विपश्यना त्यस्तै साधारण किसिमको ध्यान हो, श्वासलाई महसूस गरेर अन्तरमनको गहिराइमा पुग्ने। काम सजिलो तर गर्न गाह्रो। तर जो १० दिने ध्यान शिविरमा बस्छन्, उसले एउटा फरक किसिमको अनुभव पक्कै गरेर फर्कन्छ। यथाभूत ज्ञान दर्शन अर्थात् जे हो, त्यसको ज्ञान पाएर फर्कन्छन्। अत्ता हि अत्तनोनाथो अर्थात् ‘आफ्नो मालिक आफै’ ज्ञान पाउँछन्। नियमित अभ्यास गर्ने हो भने व्यवहारिक जीवनमा यसका धेरै फाइदा अनुभव हुँदै जान्छन्। कहिलेकाहीँ तपाईँलाई कारणै बिना वा अनेक कारण भएको तर खास कुनै कारण निश्चित नभई रिस उठ्ने, दिक्कलाग्ने हुनसक्छ। ठिक त्यसको विपरीत नियमित अभ्यास गर्दा कारणै बिना वा कारण निश्चित नभई पनि मनमा प्रसन्नता अनुभव हुने, कुनै समस्यालाई आत्तिएर नहेरी शान्त भएर त्यसको समाधान खोज्न अभिप्रेरित हुने, कसैले ईर्ष्या, डाहा गरेर जे भनेगरे पनि त्यसलाई ‘कूल’ भएर फेस गर्ने र ऊप्रति वैरभाव नभई मैत्रीभाव नै राख्‍ने…..

त्यसबाहेक १० दिन ध्यानमा बस्दा अरु कुरा नसोच भनेर भन्दा पनि आरामको समयमा वा ध्यानको समयमा नै पनि तपाईँ बाहिर गएपछि यस्तो गर्छु उस्तो गर्छु भन्ने अनेकन् योजना बनाउनु हुन्छ। पवित्र ठाउँमा मनमा उब्जिएका यस्ता योजना साँच्चिकै बाहिर आउँदा उत्साहप्रद हुन्छन्।

रुचि भएकाहरुका लागिः
काठमाडौँ बाहिरका बासिन्दालाई अब अनलाइन आवेदन भर्ने सुविधा पनि छ। नेपालका लागि हेर्नुस् तरिका काठमाडौँका बासिन्दा हो भने जमलको ज्योति भवनमा जान सक्नुहुन्छ। 4250581, 4223968 सम्पर्क टेलिफोन नम्बर।

विदेशमा हो भने यहाँ क्लिक गर्नुस् सोही वेबसाइटबाट तपाईँले आवश्यक अन्य सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ।

3 comments to मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट

  • रान

    म अहिले अत्यन्तै दुख मा छु यानी जेल मा छु त्यो पनि निर्दोस …. तर जेल भित्रै यथार्थ गिता पढ्न पाए अनि योग मा लिप्त छु दुख र सुख को सम भाव तटस्थ भएर आनन्द पुर्ण ब्यतित गरिरहेछु । मेरो मन को अपरेसन अनिश्चित छ, साथी भाइ आफन्त कहिलेकाही भेट्न् आउछन उन का हेराइ मा बिचरा को भाव स्पष्ट देख्छु त्यो देख्दा उनी हरु प्रती म पो बिचरा जस्तो लाग्छ । यथार्थ भोगाइ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    यो तपस्या को सन्दर्भ मा देबी पुराण मा एउटा कथा छ |

    एउटा व्यक्तिले जंगलमा गएर धेरै काल तपस्या गरेछन | एक दिन तपस्या गर्दा गर्दै उनको टाउको मा चिसो चिज खसेछ | येसो आँखा खोले र आकास तिर हेरे पानि पनि परेको छैन ,अचम्म | तर यत्तिकै मा एउटा कौवा आफूमाथि रुख मा देखे | बल्ल उनलाई आफ्नो सिरमा खसेको चिसो को कारण थाह हुन् गयो |उनलाई कौवा सग रिस उठ्यो | क्रुद्द आँखा ले कौवा तिर हेरे , तर आर्को अचम्म , कौवा हेर्दा हेर्दै जलेर भस्म भयो | उनले अनुभब गरे , मेरो तपस्या सिद्द्द भएछ |म सिद्द पुरुस भएछु |
    तेही अनुसार गेरु बस्त्र पनि धारण गरे | आश्रम मा रहन लागे |
    उ बेला हृसी मुनि हरु भिक्ष्या मागेर जिबन गुजारा गर्ने चलन थ्यो | यी नया सिद्द्द बाबा पनि एक दिन भिक्ष्या टन को लागि गाउ बस्ति छिरे |

    एउटा घर मा एक पति , पत्नी बस्दा रहेछन | दुवै दयालु स्वभाब का थिए | उतिबिधि धेर्म कर्म चै न गर्ने , तर दिन दुखि को सेवा गर्ने , संकट मा परेको लाइ मदत गर्ने आफु अनुसासन नियम मा रहेका , आफु मै रमाएका | जाल झेल, भ्रास्ताचार र धादली बाटसम्पति आर्जन न गरेका र आवस्याक भन्दा बढी संग्रह पनि न गरेका |
    येस्ता को घर मा यी बाबा भिक्ष्या माग्न पुगेछन |
    कारण बस बाबा भिक्ष्या को लागि आएको यी गृहिणी ले देखिनन्| केहि समय कुर्नु पर्यो |
    जब उनले बाबा लाइ देखिन तुरुन्त दौडेर भिक्ष्या लिएर आइन |
    उतिबेला सम्म बाबा मा अहंकार चढेछ , उनले बिचार गरेछन म जस्तो सिद्द बाबा लाइ कुराउने , म एस्लाई भस्म गरिदिन्छु | क्रुद्द्द आँखाले ले ति पतिब्रता स्त्री लाइ हेरे |
    तर के आस्चर्य , केहि असर परेन | उल्टो ति नारीले बाबा लाइ सम्झाइन ” हे महात्मा !
    तपाइको आसय मैले बुझे , तपाइले सिद्दि प्राप्त गर्नु भएको रहेछ | तर अहंकार ले तपाइको सिद्दि नस्ट भयो |”बाबा को आँखा खुल्यो | उनले क्ष्यमा मागे , क्ष्यमा माग्नु र दिनु महानता हो | भुल गर्ने ले आफुलाई सुधार्छ , क्ष्यमा दिनेले मौका दिन्छ |
    अन्त् मा पुराण लेख्छ ” धन्यो गृहस्ता श्रम ”|
    यहा हरेक नेपालि ले आफ्नो आफ्नो जुन काम छ , पेसा छ तेसैलाई नै धर्म पुर्बक , इमान्दार भएर निभाए तेही नै ठुलो तपस्या हो | येसैको अभ्यास गरौ | देश र समाज यसै बाट बन्छ |
    ६ महिना जिम गरेर छोड्ने , ६ महिना योगा गर्ने र छोड्ने भनेको हिस्की को चुस्की लिएको जस्तो हो , केहि समय असर गर्छ अनि छोड्छ | सबै नेपालि ले बाच्ने ६०-७० साल हो | ५० नागेपछी प्राय सब लेहाई सुगर , हाइ ब्लडप्रेसर , हाइ कोलस्ट्रोल भेट्छ | घाट ले सबलाई आइज आइज भन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • वनमाली

    साधु !साधु !! साधु !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0