यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञान ब्लग : जाडोमा छालाको हेरचाह कसरी गर्ने

Chapped विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत ९९% DNA मिल्छ।

शरीरमा हुने यही Genetic Material को भिन्नताले गर्दा हाम्रो छालाको प्रकारमा पनि भिन्नता हुन्छ। जाडोयाममा हरेक प्रकारको छालामा चिसोको प्रभाब परे पनि प्रभावको मात्रा र किसिम भने फरक-फरक हुन्छ। त्यसको अतिरिक्त व्यक्तिको खानपान, जीवनचर्या, बानीब्यबहार र छालाको रंगले समेत व्यक्तिपिच्छे प्रभावको मात्रा फरक पर्छ।

गाला फुट्ने, छाला खस्रो न खस्रो हुने, चिलाउने, कन्याउँदा पीठो जस्तो सेतो छारो निस्किने, कतला उप्किने, नङमा उचेरा जाने, ओठ चरचरी फुट्ने, कुर्कुच्चा धाँजा नै पर्नेगरी फुट्ने, नाक सुख्खा भै सुत्न गाह्रो हुने, नाथ्रो फुट्ने, घाँटी खसखसाउने आदि जाडोको कारणले हाम्रो शरीरमा पर्ने नराम्रा असरहरु हुन्।

हाम्रा आँखाले देख्न नसके पनि हावामा करिब १% जति पानीका कणको मात्रा हुन्छ, जुन बातावरणको आर्द्रता (Humidity) अनुसार तलमाथि हुन्छ। हावा तातो भयो भने त्यसमा पानीका कणको मात्रा धेरै हुन्छ भने चिसो भयो भने कम ! चिसा पदार्थ जस्तै कोक, बियर आदि हालेका भाँडाको बाहिर पानीका थोपा देखापर्नु पनि यही त्यथ्यमा आधारित छ।

जब बातावरणको तातो हावा चिसो बस्तुको नजिक पुग्छ उक्त बस्तुको चिसोपनले गर्दा नजिक पर्ने हावा पनि चिसिन गई, ग्यास अवस्थामा रहेका पानीका कणहरु तरलरुपमा बदलिन्छन्। तिनै ग्यासबाट तरल अवस्थामा बदलिएका कणहरु हामीले पानीको रुपमा देख्छौं। ग्यास अवस्थामा रहेको पानी तरल बनेपछि त्यही रुपमा उड्न सक्दैन। जाडोमा गाडीभित्र बसी सास फेर्दा सिसा धुम्म हुनु, लेकतिर अथवा हिमालतिर कुहिरो लग्नु पनि यस्तै कारणहरुले गर्दा नै हो।

प्रत्येक दिनको मौसमको भबिष्यवाणीमा सापेक्षित आर्द्रता (Relative Humidity) प्राय फरक हुनुको अर्थ पनि तापक्रमको आधारमा बाहिरी वाताबरणको हावामा हुने पानीको मात्रामा हुने फरकपनको कारणले गर्दा नै हो। मानौं बाहिरको तापक्रम २० Degrees Fahrenheit छ र सापेक्षित आर्द्रता ८०% छ। यदि त्यही बाहिरको हावालाई भित्र ल्याई ७० Degrees Fahrenheit सम्म तताइयो भने उक्त हावाको सापेक्षित आर्द्रता मात्र १५% हुन्छ। त्यसैले सापेक्षित आर्द्रता (Humidity) जति कम हुन्छ, हावा त्यति नै सुक्का हुन्छ। जाडो समयमा बाहिरको बातावरण Humid भए पनि जब हावा हाम्रो घरभित्र आइपुग्छ, तात्छ, अनि सुक्का हुन्छ।

बाहिरको वातावरण त हामीले बदल्न सक्दैनौ तर केही साबधानी अपनाइयो भने र सही बस्तुको सही इन्तजाम गरियो भने चिसोको असरबाट छालालाई धेरै हदसम्म बचाउन सकिन्छ।

जाडोको बेला हामीहरु प्रायले एकदम तातो पानीले धेरैबेर नुहाउंछौं, हट स्प्रिंग जान्छौं, एयर काण्डीशनर घन्काएर वा चर्को न चर्को हिटर तापेर भित्र बस्छौं, उनिका बाक्ला-बाक्ला कपडा लगाउँछौ, क्याफिनजन्य र अल्कोहलयुक्त पदार्थ पिउँछौं, घाम तापेर बस्छौं आदि। मजा त आउँछ यसो गर्दा, तर यी सबै कार्य स्वस्थता र अझ बिशेषत छालाको स्वास्थ्य र सुरक्षाको लागि एकदम हानिकारक हुन्छन्।

हाम्रो छालामा यसलाई स्वस्थ राख्ने र जोगाइराख्ने चिल्लो र ओसिलोपन (Moisture) बोकेको पातलो सतह हुन्छ। जाडोयामको सुक्का हावाले यो सतहलाई सुक्का बनाइदिन्छ। सुक्का भएको बेला चिसो हावाले हान्दा, हिटर ताप्दा, एयर काण्डीशनर लगाउँदा, झनै सुक्का हुन गई फुट्न थाल्दछ। जाडोमा यसै त पानी कम पिइन्छ त्यसमाथि झन् यस्ता कार्य गर्दा शरीरलाई झनै सुक्का बनाउँछन, जसको असर छालामा पनि चर्को गरी पर्छ।

तसर्थ चिसोमा निस्किंदा पुरै शरीर छोप्ने गरी लुगा लगाउनुको साथै पन्जा, गलबन्दी, मास्क लगाउनु पर्छ। जाडोमा तातोको लोभले हामी निष्फिक्री घाममा बस्छौं। त्यसो गर्नु हुँदैन। सूर्यको Ultraviolet (UV)Rays को तापक्रमसंग सम्बन्ध हुँदैन। जाडोमा पनि त्यसको छालामा त्यतिकै प्रभाव हुन्छ, त्यसैले जाडोमा पनि घाममा जाँदा सनक्रिम लगाउनु पर्दछ।
शरीरमा टिमिक्क कसिने गरी कपडा लगाउनु हुँदैन। एक किसिमले भन्दा छालाले पनि स्वास फेर्नु पर्दछ। उनि अथवा पोलिस्टरका कपडा लगाउँदा छालामा टाँसिने गरी लगाउनु हुँदैन। यस्ता कपडाले छालाको चिल्लोपन सोस्छन् र चिलाउने, बिबिरा उठ्ने, अनि ठाउँठाउँमा रागीने हुन्छ। भित्र सुतीको कपडा लगाई बल्ल त्यस बाहिर यस्ता कपडा लगाउनु पर्छ।

हिटर सकभर ताप्नु हुँदैन तापे पनि एकछिन ताप्ने अनि बन्द गरिहाल्ने गर्नु पर्दछ। एयरकाण्डीशनर पनि सकभर लगाउनु हुँदैन र लगाउँदा ह्युमिड़ीफायर (Humidifier) पनि साथसाथै लगाउनु पर्छ। एयरकाण्डीशनरको सिधा पर्नेगरी बस्नु हुँदैन। पिउँदा मजा आउने छुट्टै कुरा हो, सकभर क्याफिनजन्य र अल्कोहलयुक्त पदार्थ पनि पिउनु हुँदैन बरु प्रसस्त सागसब्जी मिसाएर कुँडो जस्तै बनाइएका सुपजन्य खाना, तातो पानी, ग्रिन टी आदि धेरै पटक खानु पर्छ।

जाडोयाममा धेरै तातो पानीले नुहाउनु हुँदैन अनि धेरैबेर पनि नुहाउनु हुँदैन किनकि तातोपानीले सुक्का छालाको चिल्लोपन सजिलै पखालिदिन्छ। पखाल्न त गर्मीको बेलामा पनि पखाल्छ, तर गर्मीमा छालाको चिल्लोपन तुरुन्तै पुराहुन सक्छ भने जाडोमा एकदम लामो समय लाग्छ। तसर्थ जाडोमा मनतातो पानीले नुहाउनु पर्छ र छोटो समय नुहाउनु पर्छ। धेरै रासायनिक पदार्थ (Chemicals) मिसाएर बास्नादार बनाइएका साबुन र शेम्पूले होइन कि चिल्लोपन बढी हुने र प्राकृतिक तबरले बनाइएकाले नुहाउनु पर्छ। नुहाउनु भन्दा पहिले होइन कि नुहाइसकेपछि तेल, क्रिम, लोशन जे छ लगाईहाल्नु पर्छ।

तेलमा ओलिभ (Olive) को तेल सबभन्दा राम्रो हुन्छ भने क्रिम र लोशनमा अल्कोहल नमिसिएको राम्रो हुन्छ। ओठमा पनि नियमित Lip balm लगाउनु पर्छ। फुटेको ओठ चाट्नु हुँदैन त्यसो गर्दा झनै असर पर्छ। हुन त औकातको पनि कुरा आउँछ। बजारिया घटिया बिनाब्रान्डका क्रिम लगाउनु भन्दा त भेसलिन, नौनी वा डाल्डा नै दल्नु राम्रो हुन्छ। चिल्लो लगाउँदा पनि छाला पुरै फुस्रो भैसकेपछि वा फुटेपछि होइन कि चिल्लो छँदै लगाउनु पर्छ, र लपक्कै लगाउनु पर्छ।
Jan 19, 2015 मा पहिलो पटक प्रकाशित

Comments