यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !

गौतम राम

घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको हो र। म आफै अझै भाले भएर पो ब्युँझेको त। मैले त बिर्सिरहेको, म त करिब १ बर्शदेखि बिहे गर्छु भनेर हिम्मत जुटाको केटो। हिम्मत पनि आर्यघाट पुग्ने बेला हुन लागिसक्यो, खै केटी भने अझै पाउन सकेको होइन। हराको कुरा त भेट्टाउन गाह्रो हुन्छ! म त झन् हराउँदै नहराको कुरा खोजीरहेछु। के भेटिन्थ्यो र खै! यही व्यथाले रन्थनियर पो ब्युँझेछु म। देश र आफ्नो क्लेश, अहिले आएर उस्तै भएको छ। देशले संविधान पाउन सक्या छैन, अनि आफूले चाहि जहान पाउन सक्या होइन।

होइन केटी पाउन पनि कत्ति गाह्रो भन्या, त्यत्रा आफन्त अनि साथिभाइहरुले न्वारनदेखिको बल लगाएर खोज्दा पनि एउटा माखा मार्न सक्या हैन। उल्टै माखाले पनि मार्ला जस्तो शिथिल पो भका छन् त! ल माने आफन्तहरुलाई त भोजले लोभ्याएन र खोज्न चासो दिएनन् तर विवाहित साथीहरूलाई त मेरो हाँसो पक्कै बिझ्दो हो। ऊनीहरु नखोजीकन किन बस्न सक्थे र? हुन त यी केटीहरुको जात नै यस्तै,पाउन पनि गाह्रो र पाएपछी पनि गाह्रो। राम्री हुँदा नि गाह्रो,अरुको भैदिन्छन्। नराम्री हुँदा नि गार्हो,आफ्नै भैदिन्छन्। बरु नसिकेको चाइनिज भाषा बुझिएला, यी केटीहरुलाई बुझ्न सकिँदैन, मरिजाऊँ। ठिकै छ, बुझ्नै पर्ने कुरो, यिनीहरुलाई बुझ्न सकिदैन भनेर बुझौंला तर बुझ्नलाई कोही त पाउनु पर्‍यो नी।अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जीउ जोगाउनु भन्थे बुढापाकाहरुले। केटी पाउन गाह्रो भको देख्दा त लाग्छ, जवानीमा जीउ जोगाउनु, भिडभाडमा जिएफको बिउ जोगाउनु। नत्र उडाइदेला जिएफ कसैले,यस्तो गाह्रो रहेछ पाउन। फेरि यहाँ अरुको जग्गामा खेती गर्ने महापुरुषहरुको कमि छ र भन्या!

हैन काल बेला पनि कत्ती बिग्रेको,उसै त केटी पाउन गाह्रो, त्यही माथि अलि अलि बचेका केटीहरु पनि समलिङ्गी रे! हैन हो, यति धेरै स्वावलम्बी पनि किन बन्नु, पुरुष नै नचाहिने। हुन त आईमाईको शत्रु आईमाई नै हुन्छन् भन्छन्, धेरै भने भनेर होला यस्लाई बिपरितार्थ तुल्याउन यसो गरेका। खैर! जे भएर गरेका भए पनि,आफुलाई चाहिँ यहाँ दोहोरो घाटा भो। एउटा सन्तान पनि पाल्न नसक्ने गरीबको घरमा जुम्ल्याहा जन्मे जस्तो।

समय पनि कस्तो बदलिएको! हुन त घडीहरु पनि बदलेर होला, एक्लो केटी त भेट्नै गार्हो; जस्को पनि बिएफ। यस्तो लाग्छ,स्कुल कलेजको पाठ्यक्रममै समाबेश गरेजस्तो छ बिएफ या जिएफ कसरी बनाउने भनेर। अनि जस्ले धेरै बनाउछ उसलाई प्राप्ताङक पनि बढी प्रदान गर्ने। नसक्नेलाई, छात्र भए छात्राहरूको मात्रै झुन्डमा राखेर पढाउने र छात्रा भए छात्रहरुको मात्रै झुन्डमा राखेर पढाउने। अनि कत्तिको चाहिँ लिगलिगे दौडमा जस्तो प्रतिस्पर्धा नै पर्दो रहेछ,कस्ले चाहिँ पहिला बनाउने भनेर। यही रफ्तारमा दौडिने हो भने कुनै दिन देखि जन्मिदैमा बुकिङ भएर आउनेछन्।

यसो सोच्छु बरु सहि गर्न नजान्ने हाम्रा पूर्वजहरु धेरै हदसम्म सहि रहेछन्। जन्मिने बित्तिकै ताततातै, तेरो सन्तान मलाई है भन्दै घर जग्गा पास गरेझैं अग्रिम पास गर्ने प्रबृत्ति नै ठिक रहेछ। घडी बिग्रे पनि या बिगारे पनि समय त रोक्न सकिँदैन तथापि तेहि चलन जिवित रहदो हो त कमसे कम यस्तो दिन त आउने थिएन। आज आएर समय यस्तो भएको छ कि जुनबेला घडी हेरे पनि बार्है बज्छ। यस्तो लाग्छ सरकारले अब मागी बिवाह गर्नेहरुलाई संरक्षण गरेर बिशेष भत्ता र सुबिधा दिनुपर्ने बेला आएको छ। केवल आफन्त र आफ्नाहरुका मात्र प्रिय नेताहरु, संविधानमा यो मुद्दालाई पनि उठाउने हो कि! के भो र, रिसोर्टको भात पचाउन अझै एउटा बिषय थपिन्छ। मागी बिवाहको रुग्ण अवस्था देख्दा त लाग्छ कुनै दिन सम्पुर्ण सञ्चार माध्यमहरुमा ब्रेकिङ न्युज भनेर आउनेछ-“५० बर्ष पछि मागी बिवाह सम्पन्न”

सबैसँग हारगुहार गर्दा पनि हार नै भएपछि म दक्षिणतिर फर्केर घोरियँ, अब के गर्ने? दक्षिणतिर फर्केर होला झ्वाट्टै स्नायु सक्रिय भयो अब `र´ लाई गुहार्न पर्यो भनेर। नेताहरू दिल्ली लागे जस्तै म पनि लागे `र´ लाई भेट्न। `र´ लाई भेटे र अनि आफ्नो आन्द्रा भुंडी सहित सबै नालीबिस्तार लगायँ।

एक हप्ता पछि `र´द्वारा एउटी केटी फेला पारियो। झल्लु प्रसादले केही नदेखेझैं म पनि केही नहेरी 4G गतिमा आफ्नो निशानातर्फ प्रस्थान गरे। नपुगुन्जेल कहिले पुगुं जस्तो भएको थियो,पुगेपछी कहिले फर्कु जस्तो लाग्न थाल्यो। केटी हेरे,पटक्कै मन परेन। परोस पनि कसरी? ग्लामरसको दुनियाँले मगजमा ढुसी लागिसक्या छ। टिभी, इन्टरनेट अनि पत्रपत्रिकामा तेति राम्री राम्री सेलिब्रिटीहरु देखिराको, यो आँखालाई चानचुने किन मन पर्थ्यो र। बर्गर र पिज्जाको स्वाद बसेपछि मकै र ढिंडो किन घाँटीबाट तल सर्थ्यो र। कस्ले सम्झाइदिने यो मनलाई कि ती सेलिब्रिटीहरु त्यो भन्दा राम्रा हुदैनन् र हामी आम मानिस यो भन्दा नराम्रो हुन सक्दैनौं भनेर। मनाउनै सकिन आफुलाई र नाई भनिदियँ। यस बेलामा लाग्यो बरु फ्लाशब्याकको जस्तै अनुहार नै नहेरी बिहे गर्ने चलन नै ठिक। हुन नि हो अनुहार हेर्न लाएककै हुँदो रहेनछ, तेहि भएर अनुहार नै नहेरी बिहे गर्‍यो। अनि पछि अनुहार हेरिसकेपछी भन्यो-सन्तान राम्रो आफ्नो,श्रीमती राम्रो अरुको।

`र´ मार्फत अर्को एक ठाँउमा अर्की एउटी फेला परिन्। ऊनी चाहिं मनले खानि रहिछन् र चित्त बुझ्यो तर चित्त दुख्ने कुरो ऊनीलाई चित्त बुझेनछ। भनिन् “म दुई/चार बर्ष अझै पढ्न चाहन्छु।” मनमनै भने यो त धेरै राम्रो हो नि। बिवाहपछि श्रीमतीहरु यसै पनि धेरै बखेडा झिक्छन्, कमसेकम पढिरहे भने केही समय भएनी शान्त त बस्छन्। मैले भने “तिमी बिवाहपछि पनि त पढाइलाई निरन्तरता दिन सक्छेउ नि, छुटेको कैदीले फेरि अपराध गरे जस्तै।”

“बिवाहपछी धेरै अवरोधहरु आउँछन्, त्यसैले म पुरा गर्न सक्दिन” प्रत्युत्तरमा उनले भनिन्। मैले भने “के म मुसा हो र तिम्रो कपि किताब खान? के सिन्दुर पोतेले रोक्छ र तिमिलाई कलेज जान? “धेरै आग्रह गरे तर नेतालेझैं उनले आफ्नो पुर्वाग्रह छाडिनन्। सोचे हिजडालाई लस भेगसको ठेगाना देर के फाइदा! काशीमा पानी अझै बाँकी छ,पाप अझै गरुँला।

यस्ता केटीहरुलाई बिहे गर्न हतार नहुनुको प्रमुख कारण फेसबुक हो जस्तो लाग्यो।पहिला पहिला भए पो साडी लगाउन बिवाहित नै हुनुपर्थ्यो। अनि गलामा पोते र सीउँदोमा सिन्दुर अनिवार्य हुनुपर्थ्यो। तर अहिले फेसबुकमा लाइक पाउने होडबाजीले गर्दा बिवाह अगाडि नै फोटो खिच्छन् र पोस्ट गर्छन्। सीउँदोको सिन्दुर र गलाको पोते त राजतन्त्र जस्तै मिल्काइदिए यिनिहरुले। बिचरा!हामी कमल थापको आवाज किन सुन्थे र! म स्थापित हुन नसक्नुका यस्तै कारणहरु बिश्लेषण गर्दै त्यहाँबाट बिस्थापित भयँ।

त्यसपश्चात पुनश्च `र´लाई गुहारे र `र´ले थर्काउदै अब यो अन्तिम हो भन्दै अर्को एउटा ठेगाना दियो। म ठेगाना पछ्याउँदै र गल्ती सच्याउँदै सम्बन्धित ठाँउमा पुगें। केटी पनि हेरें। मन त पर्यो तर ऊनी ट्रान्जिट पिरिएडमा रहिछिन्, भर्खर एक्लिएर बसेको रे। अनि मैले सोधे “कति भो त एक्लिएको?” ऊनी त रुन पो थालिन्। मलाई लाग्यो मैले उनको पीडा उप्काइदियँ र अनि संसारकै सबैभन्दा सजिलो काम गर्न थाले,अर्ती उपदेश दिने। “पुरानो कुरा बिर्सिदेऊ र X बिएफ लाई Ctrl+X गर्देऊ। रुनै परे बिहेमा रोउलिऊ, अहिले नरोऊ” इत्तरिदै भनें। उनले थपिन् “म कहाँ X बिएफलाई सम्झेर रोको हो त !” “अनि किन त?” मैले सोधेँ। “मेरा सबै साथीहरूले ५/६ वटा बिएफ फेरिसके,आफ्नो भने जम्मा २ स्कोर भो अहिलेसम्म। सबै मलाई सुस्ते भनेर गिज्याउँछन्।” उनको यो कुरा सुनेर म केहिबेर त मनमोहन सिंह भयँ, बोली नै फुटेन। अनि ब्याकप गरेको बोली निकाल्दै भनें “माफ गर, तिम्रो स्कोर बढाउन म आत्मघाती गोल गर्न सक्दिन।” रिसले एक मन त लागेथ्यो कि कुनै फिमेल सिरियल किलरको नम्बर दिऊँ, फेरि लाग्यो के फाइदा? रमाउने त यिनी नै हुन् । मनमनै, स्कोर बढाउने, नापिस! भन्दै त्यहाँबाट आफ्नो बाटो नापें।

यसप्रकार अहोरात्र खटिदा पनि मैले केही लछार्न सकिन। कुहिएरै गयो पिठो र यो ठिटो, कसार बटार्न सकिन। आफ्नो अगाडि अब म जस्तै नाङ्गाभोका बोकाहरुको लागि दुईओटा मार्गहरु देखें, सुमार्ग र कुमार्ग। पहिलो सुमार्ग, देशका नेताहरुसँग ईमानदारिता र शोभित बस्नेतसँग राम्रो चलचित्रको आशा नगरे जस्तै केटीको पनि आशै नगर्ने। सिधै हनुमानको शरणमा जाने र पुच्छर नै ठूलो रहेछ भन्ने। दोस्रो कुमार्ग चाहिँ सिधै आफुजस्तै अर्को पीडित समात्ने र सरकारको लैङ्गकि भेदभाव हटाऊँ भन्ने नारालाई सार्थक गराऊने।

(यो लेख एकतर्फी भएकोमा सम्पुर्ण नारीहरुप्रती क्षमाप्रार्थी छु)

Jul 14, 2015 मा पहिलो पटक प्रकाशित

1 comment to हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !

  • Vicky Dev

    गौतम जी,
    सार्है राम्रो, सहज व्यंगात्मक ले भरिपुर्ण लेख, तपाइले अन्त्यमा (सम्पूर्ण नारीहरु प्रति माफ) भने जस्तै
    लैंगिक एकोहोरो तर सुन्दर सुन्दर अति सुन्दर प्रस्तुति. मेरो लागि mysansar मा आजसम्मकै best रचना….

    येस्तै लेख फेरि फेरि पढ्न पाइओस….

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1