यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : मुलाको अचार

– लेखनाथ काफ्ले/ताइवान –

मेरी आमा अरूहरू जस्तै सामान्य मान्छे हुन्। गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगी बिताएकी। उनको संसार सानो छ। उनका आफन्त, उनका सन्तान हामीहरू र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरू नै उनको ब्रह्माण्ड हो। उनको सामाजिक संसार उनलाई कसैले सम्झेर बोलाएका स्वस्थानी कथाका सांगेहरु, ग्रहदशा कटाउने पूजाहरू, बिहे, व्रतबन्ध र यी र यस्तै पुजाआजा हुन्। भर्खरै गाउँकै एउटा सहकारीमा सदस्य भएकी छन्। त्यो उनको बाहिरी संसार हो।

हो, मेरी आमाले धेरै कुरा जान्दिनन्। पढेकी भए केही पढेर जान्दिहुन्। पढ्ने जमाना थिएन। टिभीमा समाचार र सिरियल हेरेर आधा उधि बुझ्छिन् र त्यसैले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँछिन्। त्यसमा उनलाई ठुलो गर्व छ किनकि उनको घरमा पनि छिमेकको जस्तै टिभी छ। केवल छ। उनलाई फेसबुक छ भन्ने थाहा छ तर त्यहाँ के कस्ता काम हुन्छन् थाहा छैन। गाउँका ठुला साना केटाकेटी त्यसैको लतमा लागेर बिग्रेका छन् भन्ने सुनेकी छन्।

मलाई औधी अचम्म लाग्छ त्यति ज्ञानको जगमा कसरी यत्रो दुखको भवसागर छिचोली होलिन् उनले। हामी साना हुँदा स्याहार्न कै सास्ती, ठुला भए पढाउनु, लुगाफाटा, दैनिक खर्च र घर व्यवहारको चिन्ता। आम्दानी छैन, खर्च चारैतिर छ। खेतीपाती, मेला पर्म, अधिया खेती, छिमेकी र आफ्ना भन्नेकै पधेरे कुरा, आफ्नै घर भित्रको गनगन्। कसरी सकिन ती सबै कुराहरूलाई पार लगाउन ?

मेरी आमा साधारण छन्। यताउता धेरै सोच्दिनन्। मनमा आएको राम्रो नराम्रो भनी दिन्छिन्। त्यो पनि मनमा अति नै भएपछि। मलाई थाहा छ उनको माग सानो छ। “बुढेसकालमा अलिकति सुख पाए हुने। अलिकति सजिलो भए हुने” भन्ने नै उनको सर्वोच्च माग हो। म बुझेर पनि न बुझे झैँ गर्छु। आफ्नो दुनियाँमा म यसरी डुबेको छु कि उनको सानो कुरामा पनि म फ्याट्ट उनलाई मुख फर्काउँछु। तर उनी चुप लागेर सुन्छिन्। कहिले कपडा पट्याए झैँ गरी मेरा कुराहरूलाई पन्छाउछिन्, कहिले बा लाई बोलाउने नाउमा मेरा कुराहरू टारीदिन्छिन्।

कसरी सिक्दछिन् त्यस्ता तरिका उनले। मनमा त हुँदो हो भन्नु पर्ने के हो ? हुनु पर्ने के हो ? तर मेरो चित्त नदुखाउन आफ्नो चित्त ठुलो बनाउँछिन् र भन्छिन् “पछि छोराछोरीको बिहे भएपछि बुझ्लास्, अहिले काँचै छस्”। मेरा आँखा, अनुहार, हिँडाई, बोलाई, बसाइ, हेराइ सबैबाट मेरो हालत पत्ता लगाउँछिन् उनी। तर उनको कुरा भने मैले कतैबाट पनि केही मेसो पाउँदिन।

सानोमा लाग्थ्यो मेरी आमा सबथोक जान्दछिन्। पछि ठुलो भएर जागिर खाएर बिहे गरे पछि थाहा भयो मेरी आमा केही जान्दैनन्। बरु मेरी बुढी सब जान्दछिन्। मेरी आमा खान, लाउन, बोल्न, अथिति सत्कार, लुगा धुन, पट्याउन केही जान्दिनन्। हामी बूढाबूढीलाई लाग्छ आमा गाउँले गवार जस्ती छन्। आमाको सङ्गत गरेर मेरा केटाकेटी नै बिग्रेलान् भन्ने पो चिन्ता लाग्छ। त्यसैले लामो बिदा नै किन नहोस्, आमाले जतिपटक भने पनि गाउँको उनको घरमा आफ्ना केटाकेटीहरूलाई कहिल्लै पठाउँदिन।

तिनै आमा मेरो घरमा केही दिनको पाहुना भएर आइन्।

मेरी आमा आएकोमा म आफै दुबिधामा छु। मनले आफ्नै आमा आए झैँ लाग्छ तर व्यवहारमा एउटा झन्झट आइपरे जस्तो। एउटा मनले उनी बसिदिए हुन्थे जस्तो लाग्छ। अर्को मनले उनी बस्ने वातावरण बनाउन दिँदैन। त्यसैले होला पाहुना बनेर आएकी आमालाई मेरो व्यस्त दैनिकीमा अलिकति छुट्टै समय कहिले निस्केन। उनै गनगन, उनै गुनासा, उनै पुराना कुरा सुन्नका लागि किन चाहियो मेरो यस्तो व्यस्त जीवनको मुल्यवान समय ? म र मेरी बुढीको सल्लाह पनि यसमा ठ्याम्मै मिच्छ।

म र मेरो परिवारको बेवास्ता र व्यस्ततालाई पनि उनले सजिलै व्यवस्थापन गर्छिन्। कहिले खालि हात बस्दिनन्। कहिले के कहिले के गरेर आफूलाई व्यस्त बनाइ राख्छिन्। सधैँ व्यस्त हुने भएको बानीले होला उनी खालि बस्नै सक्दिनन्। गाउँको मानसिक र शारीरिक थकानपूर्ण जीवनलाई केही दिनको सुबिस्तामा बस्न पनि उनलाई मनले दिँदैन होला।

एकसाता बस्दा मलाई मेरी आमाको भन्दा मेरी बुढीको ज्यादा चिन्ता लाग्दथ्यो। मेरा केटाकेटी ज्यादा माया लाग्दथ्यो। कहिलेकाहीँ त आमाको गनगन सुन्नु पर्छ भनेर कामबाट ढिला पनि आए। कहिले झर्केर बोले। उनी चुप लागेर बसिन्। यो अनौठो शक्ति कताबाट आउँदो हो उनमा, मलाई डाहा पनि लाग्छ।

एक सातापछि आमा फर्किने बेलामा भनिन्, “छोरा तिमीलाई मुलाको अचार मन पर्छ। त्यसैले दुई बोतल बनाएर राखिदिएको छु। तीन चार दिनपछि खाने हुन्छ”। म भावशुन्य भएर सुने। मेरा केटाकेटी र बुढीले केही बुझे, केही बुझेर पनि बुझेनन्। हो, मलाई आमाले बनाएको मुलाको अचार, काँक्राको अचार र आलुको चुकौनी असाध्यै मन पर्छ। केटाकेटी उमेर अझै भनौँ बिहे नहुँदासम्म म मेरी आमाका पकवानहरुको बारेमा साथीभाइ माझमा प्रशंसाको पहाड नै बनाइ दिन्थे। अहिले चाहेर पनि सत्य बोल्ने आँट आउँदैन।

आमा गइन्। मेरो सफा सुग्घर र सजिलो घरमा बस भन्दा नि आफ्नै पुरानो, अँध्यारो घर नछाड्ने आमाको ढिपी मैले कहिले बुझ्न सकिन।

उनी बसुन्जेल बडो झन्झटिलो लाग्थ्यो उनी र उनको व्यवहार अनि गाउँले लवजको बोलीचाली। तर जब गइन् अनि त हरेक दिन जब भान्सामा उनले बनाएको मुलाको अचारका बोतलहरू देख्छु, लाग्छ उनी यतै वरिपरि नै छन्। अचार त मेरी बुढीले पनि बनाउँछिन्, बजारमा पनि थरिथरिका अचार किन्न पाइन्छन् तर ती अचारमा आमाको गन्ध कहाँ हुन्छ ? आमाको गाली मिसिएको माया कहाँ हुन्छ ? माया मिसिएको स्वाद कहाँ हुन्छ ?
आमा हिँडे पछि।

अलिकति परेपछि, अलिकति अरूको देखे पछि बल्ल थाहा भयो आमा त सब जान्दिरहिछन्। जानेर पनि नजाने झैँ गरेर, सुनेर पनि नसुने झैँ गरेर, बोल्न रोकेर, आफ्नो मनमै आफ्ना कुरा बोकेर पनि केही नजान्ने झैँ भएकी रहिछन्।

त्यसपछि फेरि आमालाई बोलाउने केही कोसिस गर्छु तर पनि उनी गाउँको अँध्यारो घर छाडेर मेरो सुकिलो घरमा आउन मान्दिनन्। मैले उनलाई फर्काउन सक्दिन। मलाई थाहा छ उनका मागहरू। ती स-साना मागहरू मेरा स्वार्थले मान्न दिदैंन। आफ्नो अनुभव र आफैले पटक पटक भोगेको घटनाहरूका कारण उनका पाइला अगाडि बढ्दैनन्। म सबै बुझेर र जानेर पनि लाचार नौटंकी गरिरहेको छु। उनी नबोल्दै सबै कुरा बोल्छिन्। म उनका हावभाव र सङ्केत बुझेर पनि अबुझ बनेर बुझ पचाउँछु।

आमाले अचार खाँदेर छाडेका ती दुई बोतलहरू भान्सामा देख्दा आमा आफ्नै वरिपरि भए झैँ लाग्छ। बोतलमा आमाको बास्ना अझै उस्तै छ जस्तो लाग्छ। अचारमा मेरी आमाका दुई चारवटा कपालका लामा रौंहरु समेत भेटिन्छन्। म बालककालमा पुग्छु, अनि मलाई त्यो अचार झनै मन पर्छ। हरेक दिन बेलुकी म तिनै बोतलहरूलाई खुसुक्क हेर्छु र ढुक्क हुन्छु कि आज पनि ती त्यही छन्, मेरी आमा घरमै छन्।
अलिकति समयको अन्तरालमा मलाई उनको जवाफ थाहा हुँदाहुदै पनि म फेरि आमालाई पाहुना हुन बोलाउँछु। उनी पनि मेरो आशय बुझेर पनि फेरि उही उत्तर फर्काउँछिन्। म उनको लागि बदलिन नसक्ने अवस्थामा छु, उनी मलाई उही आफ्नो पुरानो छोराको रूपमा हेर्न चाहान्छिन्। हामी सानो कुरामा ठुलो कुरा गुमाइरहेका छौँ समयसँगै।

4 comments to कथा : मुलाको अचार

  • Bijaya Sundas

    जोइटिङ्ग्रे छोराको वास्तविक पिडा

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Maya

    Heart touching story. When I read this it comes tear from my eyes.thank you.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • स्नेह-आभास मिसिएको शुक्ष्म मनोबैज्ञानिक कथाको आयामले जीवनका महत्वपूर्ण पक्षहरु समेट्न सफल भएको छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kamal

    A realistic story.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0