यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कान्तिपुरमा १० वर्षपछि सम्पादकीय ‘सत्ता परिवर्तन’ हुँदा राजनीतिको गन्ध


अन्ततः मिडिया बजारमा केही दिनदेखि चलिरहेको हल्लालाई सही साबित गर्दै कान्तिपुर दैनिक र काठमान्डु पोस्ट दैनिक दुवैका प्रधान सम्पादकहरुले मंगलबार राजीनामा गरेका छन्। यद्यपि, यो राजीनामाको औपचारिक घोषणा भने भइसकेको छैन। तर सुधीर शर्मा र अखिलेश उपाध्याय दुवैले न्युजरुममा आफ्ना सहकर्मीहरुलाई आफूहरुले राजीनामा दिएको ब्रिफिङ गरेको सार्वजनिक भइसकेको छ। दुवै सन् २००८ को अगस्तमा सम्पादक नियुक्त भएका थिए। १० वर्षसम्म देशको सबैभन्दा ठूलो र शक्तिशाली मिडियाको नेतृत्व गरेका उनीहरुले राजीनामा दिनुपर्ने परिस्थिति किन आइलाग्यो? यसबारे आधिकारिक जानकारी आइसकेको छैन। तर राजीनामा लगत्तै राजनीतिक गन्ध भएका ‘प्लान्टेड न्युज’हरु अनलाइनहरुमा राखेर सुधीर शर्मा बदनाम अभियान पनि सुरु भएको देख्दा शंका गर्नुपर्ने धेरै ठाउँ भेटिएको छ।

कसरी सुरु भयो हल्ला?
मिडिया बजारमा गुपचुप भइरहेको हल्लालाई एउटा हुँडार ट्विटर अकाउन्टले शनिबार ट्विट गरी अझ फैलाएको थियो-

अघिल्लो दिन नाम नतोके पनि सोही ट्विटर अकाउन्टले भोलिपल्ट नामै तोकेर ट्विट गर्‍यो

मिडियाको बारेमा भएका पनि नभएका पनि खबरहरु छाप्ने साँघु साप्ताहिकले सोमबारको अंकमा लगभग यस्तै जानकारी भएको समाचार छाप्यो

मंगलबारसम्ममा राजीनामाको आन्तरिक घोषणा पनि भयो।

नखुलेको कुरा
राजीनामाको आन्तरिक घोषणा भइसके पनि यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आफ्ना सहकर्मीहरुलाई राजीनामाको जानकारी दिँदा दुवैले ‘व्यक्तिगत कारण’मात्र बताएका थिए। टाइम्स अफ इन्डियामा काम गरिसकेका एक भारतीय नागरिक कैलाश सिरोहियाभन्दा मुनि रहने गरी आउन लागेको नै यो लफडाको मुख्य कारण भएको बुझिएको छ। तर टाइम्स अफ इन्डियाको लगानी नै भित्रिन लागेको हो कि व्यवस्थापनका लागि पावरफूल म्यानेजर भित्रिन लागेको हो, स्पष्ट भएको छैन।

केही मिडियामा भारतीय नागरिकको नामै आए पनि पूरा नामसमेत लेख्न सकेका छैनन्। रजनीश नाम मात्रै लेखिएको छ। साँघुमा आएको त्यही नाम अन्य मिडियाले समेत साभार गरेका छन्।

सुधीर शर्माको सफल नेतृत्व
सुधीर शर्माले कान्तिपुर पत्रिकाको इतिहासमा सबैभन्दा लामो समय नेतृत्व मात्र गरेनन्, उनको नेतृत्व त्यस्तो कठिन कालमा भयो जतिबेला कान्तिपुर इतिहासकै सबैभन्दा संकटमा गुज्रिरहेको थियो। नारायण वाग्ले, प्रतीक प्रधान, गुणराज लुइँटेल, अमित ढकाल जस्ता नाम चलेका पत्रकारहरुको नेतृत्वमा राम्रा भनिएका पत्रकारहरुको ठूलै हिस्साले कान्तिपुर छाडेको थियो। गोयन्काले स्थापना गरेको कान्तिपुरमा कैलाश सिरोहिया र विनोदराज ज्ञवाली दुई साझेदारका रुपमा प्रवेश गरेका थिए। तर अहिलेसम्म नखुलेको कारणले दुईबीच फाटो आयो र ज्ञवाली कान्तिपुर पब्लिकेसन्सबाट ७० करोड रुपैयाँ लिएर बाहिरिए। ज्ञवालीसँगै पत्रकारहरुको ठूलो समूहले कान्तिपुर छाड्यो।

ज्ञवालीसित गएका पत्रकारहरुको योजना ज्ञवालीले निकाल्ने नयाँ पत्रिकामा काम गर्ने थियो। तर पत्रिका निस्कनुअघि नै ती पत्रकारहरु ज्ञवालीबाट छुट्टिएर दैनिकी नामको नयाँ पत्रिका निकाल्ने तयारीमा जुटे। दैनिकी पत्रिका त बजारमा आएन तर अनलाइन सञ्चालनमा आयो। पछि ज्ञवालीले निकाल्न लागेको नागरिक र रिपब्लिकामा ती पत्रकारहरु मर्ज भए।

कान्तिपुरमै टिकेका केही पत्रकारहरु र नयाँ पत्रकारहरुलाई लिएर कान्तिपुरको सम्पादकीय नेतृत्वलाई सफलतापूर्वक अघि बढाउँदै नम्बर वानमा कायम राखिरहन शर्मा सफल भए। यता प्रतिस्पर्धी नागरिक दैनिकमा युवराज घिमिरे, नारायण वाग्ले, किशोर नेपाल, प्रतीक प्रधान हुँदै पाँचौँ सम्पादक गुणराज लुइँटेल सम्पादकको कुर्सीमा बसिसकेका बेला उता कान्तिपुरमा एक दशकसम्म परिवर्तन भएको थिएन। संस्थापक सम्पादक योगेश उपाध्यायको सात वर्षीय कार्यकालललाई पनि सुधीर शर्माले जितिसकेका थिए।

कान्तिपुरले अर्को एउटा कठिन समयको सामना त्यतिबेला गर्नुपरेको थियो जब भारतीय राजदूत र कान्तिपुर आमनेसामने भएका थिए। दूतावासले कान्तिपुरलाई भारतीय लगानीका कम्पनीहरुको विज्ञापनमात्र बन्द गरिदिएन, न्युजप्रिन्ट ल्याउनसमेत अवरोध गरेको थियो। तर त्यो कठिन परिस्थितिलाई पनि प्रकाशक र सम्पादकले मिलेर सामना गरेका थिए। अनौपचारिक जानकारी अनुसार त्यतिबेला भारतीय राजदूत राकेश सूदले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई सम्पादक सुधीर शर्मालाई हटाऊ, विज्ञापन लगायतका अवरोध हट्छ भनेका थिए। तर सिरोहियाले मानेनन्। त्यतिबेला त्यसरी एक भएका प्रकाशक र सम्पादकहरुको मन अहिले किन फाट्यो, कुनै दिन खुल्नेछ।

सुधीर शर्मा बदनाम अभियान
राजीनामाको आन्तरिक घोषणा भएलगत्तै केही अनलाइनहरु (विशेषतः पूर्व एमाले पक्षका) मा एकाएक सुधीर शर्मा बदनाम अभियानमा लागेको स्पष्ट हुने गरी ‘प्लान्टेड न्युज’ हरु देखिए। केही उदाहरण-

बाहिरका अनलाइनमात्र हैन कान्तिपुरमै कार्यरत पत्रकारले समेत सुधीर शर्मालाई अयोग्य भन्दै सार्वजनिक रुपमा ट्विट गर्न भ्याए

बदनामी अभियानमा समाचार लेख्दा कानुनी प्रावधान पनि हेर्न बिर्सेछन्। कानुनमा के छ? छापाखाना तथा प्रकाशन नियमावलीको यो व्यवस्था

सम्पादक हुन स्नातक उत्तीर्ण वा एसएलसी उत्तीर्ण भई पत्रिकाहरुमा समाचार संकलन र सम्पादन सम्बन्धमा कम्तीमा १० वर्षसम्म काम गरेको भए हुन्छ। शर्माले जनआस्था पत्रिकाबाट काम थालेर काठमाडौं टुडे, हिमाल मिडिया हुँदै कान्तिपुरको साप्ताहिक पत्रिका नेपालमा काम गरेका थिए।

राजनीतिक गन्ध?

सुधीर शर्माको राजीनामाको कुरा बाहिर आएपछि सामाजिक सञ्जालका सत्ता समर्थकहरुसमेत दङ परेको अवस्थासमेत देखियो। देशको पावरफूल मिडियाको पावरफूल पदमा राजनीतिक दबाब नहुने भन्ने हुन्न। के यो कान्डमा पनि राजनीतिक दबाब थियो त? कान्तिपुर पब्लिकेसन्सका पूर्व सम्पादकको नेतृत्व रहेको अनलाइन बाह्रखरीको एउटा समाचारले त्यस्तै संकेत दिँदै लेखेको छ-

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष सिरोहियासँग छलफल गरेर सम्पादकीयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । कान्तिपुर दैनिकमा प्रकाशित ‘बेइजिङसँग बढेको विश्वास’ शीर्षकमा प्रकाशित सम्पादकीयप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीले आफुले चीन र भारतलाई ब्यालेन्समा राख्ने प्रयास गरेको भए पनि सम्पादकीयमार्फत चीनतर्फ बढि झुकाव रहेको सन्देश दिइएको भन्दै अध्यक्ष सिरोहियासँग असन्तुष्ट भएको स्रोत बताउँछ ।

2 comments to कान्तिपुरमा १० वर्षपछि सम्पादकीय ‘सत्ता परिवर्तन’ हुँदा राजनीतिको गन्ध

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)