‘सरहरूलाई म आज अनौठो चिया खुवाउँछु’ भात्तडी निवासी प्रभाकर बरालले कर्णाली राजमार्गमा हामीलाई उत्सुक बनाए।
‘बजारमा बस्ने, कुन चिया भनेर के चिन्नु हुन्थ्यो र!’ उनले बजारियाले केही चिन्दैनन् भनेर झटारो पनि हानी हाले।
हुन पनि चिया खाइसक्दासम्म हामीले केको हो भनेर चिन्न सकेनौँ। अनौठो स्वाद थियो। रातो र काठको मिठो बास्ना आएको थियो। पछि पो उनले रहस्य खोले ‘खयरको काठ हो नि !’
कर्णाली कोरिडोरमा भेटिएको सिसौ र खयरको वन
खयरको रुख देखे पनि चियाको रूपमा प्रयोग गरेको मेरो पहिलो पटक थियो।
मैले सोधेँ ‘के सबैले खयरकै चिया खान्छन्?’
उनले भने ‘पुरानो पुस्ताको पहिलो रोजाइमा पर्छ। नयाँले पनि केही खान्छन्। आजभोलिका मानिस अल्छी हुन थाले। चियापत्ती सजिलै पाइन्छ, कसले दु:ख गरोस्।’
छेवैमा बसेका वृद्धाले थपे, ‘यसको चिया त औषधी हो नि, खोकी सन्चो गर्छ, छातीमा लागेको भित्री चोट पनि निको पार्छ।’
उनले निरासा पोखे, ‘आजभोलि खयर नै हराउन लाग्यो केको चिया खानु।’
चुलोमा राखिएको खयरको काठको टुक्राहरू
खयरको बोक्रादेखि भित्रको साना-साना ठुटाहरू चिया पकाउने बेला हालिन्छ। चियामा रङ्ग देखिए पछि निकालेर राखिन्छ। अर्को पटक चियामा फेरि प्रयोग गरिन्छ।
उनीहरुले बताए अनुसार एउटा ठुटोले ७-८ दिनसम्म चिया पकाउन पुग्छ।
अचम्मलाग्दो छैन त? तपाईँ पनि कालिकोट पुग्दा नछुटाउुनस् है रुखको चिया पिउने मौका!
चियामा हाल्नको लागि तयार खयरको काठको टुक्रा। कहिलेकाहीँ चिया उम्लिरहँदा यो काठनै हालिन्छ वा स-साना टुक्रा बनाएर पनि प्रयोग गरिन्छ।
खयरको चिया