यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : माछो माछो- भ्यागुतो

-राजु अधिकारी-

एक दिन हापुर खोलामा माछा मार्न जाँदा माझी माइलोले खोलाको रहमा बडेमानको माछो देख्यो। हापुर खोलो त्यति ठुलो थिएन त्यसैले त्यहाँ त्यति ठुला माछा पाइन्नथे। चरिंगा, सेताला र सैयाँ नै त्यहाँका मुख्य माछा थिए अनि कहिलेकाही बाम माछाले पनि दर्शन दिन्थे। त्यसैले उसले त्यो रहमा त्यति ठुलो माछो पहिले कहिले देखेको थिएन। त्यति ठुलो माछा देखेपछि उसले तुरुन्तै जाल फ्याकेर पकड्न खोज्यो तर माछो उसको जालमा नपरी फुत्कि हाल्यो।

माझी माइलोको काम माछा मारेर बेच्नु हो। माछा नपाइने समयमा भने उ अरु जस्तै खेतिपातीमा व्यस्त हुन्छ। तर आफ्नो खेतबारी कम भएकोले माछा नमारी उसको गुजारा पनि चल्दैन। त्यतिले मात्रै खान नपुग्ने भएकोले उसले गाउँका पटुवारीको दुईचार कट्ठा खेत अधियाँमा पनि लगाउँछ। अलि अलि नगद आउने बाटो भनेको उसको माछा मार्ने व्यवसाय नै हो। माछा मार्नु उसको सौख पनि हो। जातै माझी भएकोले उसका बाबुले पनि माछा मार्थे।

त्यही बेलादेखि बाबुसँग खोलामा माछा पकड्दै गर्दा उ पनि माझी कै पेशामा लाग्यो। उसको दाइ र भाइले चाहिँ त्यो पुर्ख्यौली पेशा छोडेर अरू नै काम गर्छन् अनि उसले भन्दा बढी पनि कमाउछन तर कम कमाए पनि उसलाई माझी भएकोमा कुनै पछुतो छैन। आज भोलिको जमानामा पनि बाउबाजेको परम्परागत व्यवसाय गर्ने भनेर उसको छुट्टै पहिचान छ गाउँमा। अनि मुख्य कुरा उसले त्यो व्यवसायमा निकै रमाएको पनि छ।

त्यो दिन त्यो बडेमानको माछा पकड्न नपाएकोमा उसलाई दु:ख त लाग्यो तर यदि त्यो माछो त्यही बसिरह्यो भने एक दिन उसले त्यो माछा पकड्ने छ भन्ने उसलाई पूर्ण विश्वास थियो- माझी न प-यो, माछा समात्नु उसको लागि कति ठुलो कुरो भयो र? अर्को दिन देखि हरेक दिन सबेरै उ खोलामा जान्थ्यो र त्यो माछो झुल्कने प्रतीक्षा गर्थ्यो। तर त्यो माछो बिरैले देखिन्थ्यो अनि देखिए पनि एकैछिनमा हराउँथ्यो। रह निकै ठुलो र गहिरो पनि थियो, रहमै पसेर माछो पकड्न माइलोलाई आँट थिएन। त्यसमाथि त्यो रहमा हरिकेशरेको भूत नुहाउन आउँछ भन्ने हल्ला पनि थियो। यदि त्यो भूतले भेट्टाएमा सोझै त्यही रहमा डुबाएर मार्छ भन्थे गाउँलेहरूले। त्यही भूतले गर्दा त्यो रहमा अहिले सम्म दुइजना बच्चाहरू डुबेर मरिसकेका थिए। त्यसैले माझी माइलो पनि त्यो खतरा मोल्न तयार थिएन।

यदि कसैले थाहा पाए भने अरू पनि त्यो माछो पकड्न लाग्लान् भनेर माछाको कुरो उसले गाउँलेहरूसँग गोप्य राखेको थियो। तर एक दिन भट्टीमा रक्सीको सुरमा उसले खोलोमा बडेमानको माछा देखेको कुरा भट्टीकी कान्छीलाई खुस्कायो।

रक्सीले मातेको सुरमा लर्बरिएको बोलीमा दुईवटा हातले देखाउँदै उसले भन्यो– ‘हेर कान्छी त्यो हापुर खोलामा छ नि मैले अस्ति यत्रो माछो देखेँ। मैले त्यसलाई जसरी भए पनि पकड्छु। तर यो कुरा तिमीले कसैलाई नभन्नु नि, मैले माछो पकडे पछि बरु अलिकति तिमीलाई पनि चाख्न दिम्ला।’ त्यति भनेर उसले गिलासमा भएको रक्सी घुट्कायो।

माझी माइलोले रक्सीको सुरमा भनेको कुरो भट्टीकी कान्छीले गम्भीरतापूर्वक लिइन अनि त्यो कुरा भट्टीमा आउने अरूहरूलाई पनि ठट्टा ठट्टा मै भनी दिई। त्यो कुरो एकान दोकान मैदान गर्दै सारा गाउँभरी नै फैलियो। गाउँका पट्वारी बाजेले पनि थाहा पाए।

पट्वारी बाजे गाउँका सबभन्दा पढेलेखेका, जाने बुझेका र धनी मान्छे थिए। गाउँका प्राय: सबैजसोले उनलाई मान्थे अनि उनले भनेको विश्वास पनि गर्थे। ठुलो माछोको कुरा सुने पछि पट्वारी बाजेले त्यो कुरा हुनै सक्दैन भनेर गाउँलेहरूलाई सन्ताए. अनि यदि माछो साच्चिकै रहेछ भने पनि त्यो जल देवता भएको र त्यसलाई मारेमा ठुलो अनिष्ट आउने भनेर गाउँलेहरुको मनमा डर हालिदिए।

तर गाउँका बुढापाकाका अनुसार त्यो भन्दा पहिले पनि धेरै वर्ष अगाडी त्यहाँ खोलामा एउटा निकै ठुलो माछो भेटिएको थियो। अनि माझी माइलाकै बाबुले त्यो माछा पकडेर पट्वारी बाजेलाई बुझाएको थियो। त्यति बेला जमाना अर्कै थियो। त्यो ठुलो माछो पटुवारीले एक्लै भित्र्याएका थिए त्यसको बदला उनले माझीलाई उनले दुई पाथी तिल्कीको चामल अनि एक मुरी सिम्ठारो धान दिएका थिए। त्यति बेला त्यो माछाको गन्ध पट्वारीका घरकाले बाहेक अरू कसैले सुघ्न समेत पाएनन्।

तर अहिले जमाना बदली सकेको छ। त्यसैले त्यो माछोमा सबैको हक थियो। पट्वारीलाई पनि अब कसले टेर्थ्यो र? राजा त गए, त्यस्ता पट्वारी?

त्यसैले पटुवारीले त्यो माछो आफ्नो बाबुले जस्तै एक्लै खाने बिचार गरेका होलान् भनेर माछो देखिएको कुरो पक्कै पनि सत्य भएको हुनु पर्छ भन्ने लाग्यो सबैलाई। अनि पट्वारी बाजेको डरको बाबजुद गाउँलेहरूले पनि माछो देखिएको कुरो विश्वास गरे अनि त्यो माछोलाई जसरी पनि पकड्नु पर्छ भनेर माझी माइलोलाई उक्साए।

त्यसैले गाउँलेहरूले यस पटक पक्का पनि त्यो ठुलो र विशेष माछोको मासु चाख्न पाइने भयो भनेर मक्ख थिए।

‘ए माइला त्यो माछो बल्झे पछि एक्लै खाने होइन नि? त्यसमा हाम्रो पनि हक छ, दशी पनि आउन लागेको छ, सबै मिलेर खानु पर्छ।’ एक दिन धनेले माझी माइलो माछा मार्न जान लागेको देखेर भन्यो।
‘हुन्छ के हुन्छ, के के नै बल्झी सक्या होला जसो।’ झर्को मान्दै उसले उत्तर दियो।

अर्को दिन देखि गाउँलेहरू आफै पनि बल्छी र जाल बनाएर त्यो रहमा माछा मार्न जान थाले। तर खोलामा माछा मार्नु त्यति सजिलो काम कहाँ थियो र? पालेका माछा जस्ता सजिलै जालमा पर्छन् र खोलाका माछा? माझी माइलोले बाहेक अरू कसैले माछा छोप्ने आँट नगरे पनि हुन्थ्यो त्यो गहिरो रहमा। केही उपलब्धि नभएपछि पछि गाउँलेहरू पनि थत्मरिए। अनि त्यो माछा पकड्नको लागि सबैको आशाको केन्द्र माझी माइलो मात्रै थियो।

गाउँलेहरू धेरै दिन उसको पछि लागे तर माछोले आफ्नो दर्शन दिएन। माझी माइलोले पनि- ‘भाग्यो जस्तो छ’ भनेर गाउँलेहरूको आशा मारिदियो। गाउँलेहरू पनि माझी माइलोले रक्सीको सुरमा भनेको कुरा विश्वास गर्ने हामी पो उस्तै हौँ भन्दै माछो खाने आफ्नो इच्छा पुरा नभएकोमा खिन्न मान्दै चित्त बुझाए।

अर्को दिन माझी माइलो फेरि त्यो माछो देखेको खबर लिएर भट्टीमा आयो। उसले रक्सीकै नशामा ठुलो स्वरमा कराउँदै भन्यो- ‘त्यो साले माछो भोलि त म जसरी भए पनि पकड्छु। जाल हानेर होस् कि, बल्छी लगाएर होस् कि, ढडिया थापेर होस् कि भालाले हानेर होस्, जसरी भए पनि मैले पकड्छु, पकड्छु अनि मेरो पौरखको स्वाद गाउँलेहरूलाई चखाउँछु। जल देवता लागे लागुन्।’

कतिले उसको विश्वास गरे तर धेरैजसोले रक्सीको सुरमा भनेको भनेर विश्वास गरेनन्। उसको कुरा विश्वास गर्ने गाउँलेहरूको मरिसकेको आशा फेरि थोरै भए पनि फेरि जागृत भयो।

अर्को दिन बिहानै झीस्मीसेमा उ बल्छी, भाला, जाल र ढडिया तयार पारेर खोलातिर लाग्यो। उसको कुरा विश्वास गरेका गाउँलेहरू रमिता हेर्न अनि सायद माछोको मासु खान पाइहालिन्छ कि भन्ने सानो आशा लिएर अलि अबेर गरी खोलातिर लागे। उनीहरू पुग्दा माझी माइलो त्यहाँ बल्छी, जालो, भाला ढडिया सबै थापेर बसेको थियो।

माछो देख्न पाई हालिन्छ कि भनेर धेरै बेर उनीहरूले त्यहाँ कुरे तर माछो देखिने कतै केही सुर सार आएन। त्यो बिचमा बरु बल्छीमा बल्झिन आएका चार पंचा वटा चरिंगा र दुईवटा बाम माछा माझी माइलोले समात्यो अनि पिरुङ्गोमा राख्यो। रहको पुछार तिर गएर ढडिया हे-यो। केही स-साना माछा परेका थिए। गाउँलेहरू पट्यार लागेर एक एक गर्दै फर्कँदै थिए। एक छिन पछि उसले थापेको जालमा केही वस्तु चलेको जस्तो देखियो। बिस्तारै त्यो वस्तुको चाल अलि तीव्र हुँदै गयो। पछि त जाल निकै हल्लिन थाल्यो। सानो तिनो माछाले त्यो जाल त्यसरी हल्लाउने कुरै थिएन। त्यो देखेर त्यहाँ हेरिरहेका सबैको खुशीको फोहरा फुट्यो। अवश्य पनि त्यही ठुलो माछो हुनु पर्छ भन्नेमा सबैलाई विश्वास लाग्यो। माझी माइलोले सबैलाई चुप भन्ने इसारा गर्दै, बिस्तारै जाल तान्न थाल्यो। अनि बिस्तारै जाल तान्दै गर्दा त्यहाँ जाल हल्लिने क्रम बढ्दै गयो। सबैलाई अब त ठुलो माछा खान पाइने भयो भनेर निकै उत्साह थियो। घर फर्कन लागेका गाउँलेहरू पनि त्यहाँको हल्ला सुनेर दौड्दै फर्केर आए। माझीले जाल तान्दै गयो। अनि त्यहाँ जालभित्रको वस्तुको चल्ने पनि तीव्र हुँदै गयो। अनि एकै छिनमा त्यहाँबाट पानी सर्प निस्केर किनारातिर भाग्यो। सर्प देखेर सबै तर्से तर माझी विचलित भएन, उसले जाल बिस्तारै तान्दै गयो। अनि उसले एकाएक जोडले जाल तान्यो र जाल र त्यसमा बल्झेका सबै बस्तु जोडले किनारमा फाल्यो।

तर जब जाल बाहिर आयो सयौँको सङ्ख्यामा जाल भित्र परेका भ्यागुताहरू त्यहाँ उफ्रन थाले। त्यो देखेर कसैले खिन्न माने भने कोही हाँस्न थाले। वास्तवमा के भएको रहेछ भने, त्यहाँ जाल हालेको ठाउँमा सायद भ्यागुताहरूको बथान थियो होला अनि उनीहरू जालमा परेको बेला भ्यागुताहरूले सर्पलाई देखेर डराएर उफ्रँदा त्यहाँ जालमा ठुलो झट्का परेको थियो होला। ती भ्यागुताहरू देखे पछि सबैले निराश मान्दै घर फर्के।

सबै गाउँलेहरू फर्किसके पछि माझीले पनि आफ्ना सामान पोको पार्न थाल्यो। ढडियामा परेका दुईचार वटा सेताला पिरुङ्गोमा हाल्यो। जालमा परेका एक दुईवटा माछा लाई पिरुङ्गोमा हाल्यो अनि भ्यागुताहरूलाई पानीमा छोडिदियो। जाल, बल्छी, भाला सबै एकै ठाउँमा पा-यो अनि अलि पर खेतको किनार नजिकै एउटा झाडीमा राखेको आफ्नो सामान राख्ने बोरामा सामान हालेर घर तिर लाग्यो। आज उसको त्यो बोरा अलि गह्रुगो थियो। उसले सकी नसकी बोकेर गयो। घर जाँदा उसको घर जाने बाटोमा पटुवारीको घर थियो।

पट्वारी उसलाई मन पर्दैनथ्यो तर के गर्ने गाउँमा बसे पछि सबैले मान्ने मान्छेलाई मान्नै प-यो। उनकै खेत जोतेर साँझ बिहान हातमुख जोड्ने बाटो भएको छ, अनि कहिले कहीँ अप्ठ्यारो पर्दा पैसाको सहयोग गर्ने पनि उनै हुन्। दसैँ तिहारमा जडनको भात खानु प-यो भने हात फैलाउन जाने त्यहीँ नै हो। जति मन नपरे पनि सहनै पर्ने।

तर उसलाई अचम्म लाग्छ- त्यत्रो सम्पत्ति छ, छोरा छोरी कोही छैनन्, के को लोभ होला यो बुढेसकाल कालमा? पटुवारीको बोली आइमाईको जस्तो छ। त्यो सम्झेर उसलाई मनमनै हाँसो उठ्छ। उनी छक्का हुन कि गाउँलेहरूले उनको पछाडि कुरा काट्छन्। उसलाई लाग्छ सायद त्यो सत्य पनि हुन सक्छ नत्र अहिले सम्म किन छोरा छोरी हुँदैन थिए त?

बोली आइमाईको जस्तो भए पनि बुढा निकै खरा छन्। आफ्नो विरोध गर्नेलाई यति तिखो रूपमा भन्छन् कि बरु काडा बिझ्दा त्यति नदुख्ला उनको त्यो तिखो बोलीले त्यति दुखाउँछ। अनि उखान टुक्काका त उनी सबभन्दा धनी छन्। कहिलेकाहीँ गाउँमा सार्वजनिक बैठक हुँदा उनले उखान टुक्का भनेर हस्याएको हस्यायै गर्छन्।

कुरा यति मिठा गर्छन् कि गाउँको विकासमा काम गर्ने यिनी मात्रै हुन जस्तो लाग्छ। कुरै कुरामा सबैलाई मक्ख पार्छन्। तर कामको नाममा सिन्को पनि भाँचेका छैनन्, कुरैले खाएका छन्।
यति सोच्दा सोच्दै उ पटुवारीको घर नेरी पुगी सकेको थियो।

अनि पटुवारीको पर्खालमा लगाएको ठुलो गेट खोलेर सुटुक्क भित्र पस्यो।

‘जधो हजुर’ उसले पटुवारीको आँगनमा पुगेर भन्यो।

पट्वारी बाहिर निस्कँदै भन्छन्- ‘ल्याइस् त माइला?’

‘ल्याएँ हजुर’ उसले बोराको मुख खोलेर देखाउँदै भन्यो।

अनि नजिकै आएर पटुवारीले बोरा हेर्दै भने- ‘ए, साँच्चै ठुलै पो रहेछ। १० -१२ धार्नी त होला।’

‘होला हजुर।’

‘ल तेरो बक्सिस’ भन्दै पचास रुपैयाँका नयाँ कट कट गर्ने नोटको बिटो आफ्नो खल्तीबाट निकालेर उनले माइलाको हातमा थमाई दिए।

माइलाले कति छ भनेर सोधेन पटुवारीले पनि भनेनन् तर जिन्दगीमा पहिलो पटक त्यति सुकिला पैसाको पुरै एक गड्डी आफ्नो हातमा परेपछि उसको मनै प्रफुल्ल भयो। मनमनै सोच्यो- ‘यसपालिको दसैँमा ऋण लिनु नपर्ने भयो।’

‘तर हजुर गाउँलेहरूले थाहा पाए भने त मलाइ जिउँदै जलाउंछन। यो कुरा जसरी भए पनि गोप्य राखी बक्सेला।’ उसले बिन्ती ग-यो।

‘म हुँदाहुँदै किन डराउछस? कसैलाई थाहा हुँदैन। ढुक्क हो। ल जा अहिले। दसैँको लागि तिलकीको चामल लिन तेरी स्वास्नीलाई पठाईदेस भोलि पर्सितिर।’ पटुवारीले उसलाई विश्वस्त पार्दै भने।

‘हस्, हजुर। मालिकको जय होस्।’ माझी माइलाले पट्वारीलाई नमस्ते गर्दै आफ्नै सामानको बोरा बोकेर घर तिर लाग्यो।

दसैँको मुखमा फेला परेको त्यत्रो माछो, घर परिवार गाउँघर साथीभाइ सबैलाई मिलाएर भोज खुवाउला अनि उनीहरूको वाह वाह पाउँला भन्ने आफ्नो सबै सपना चकना चुर भएकोमा उ चिन्तित थियो तर फेरि ती कटकट गर्ने नोट निकालेर हे-यो अनि मुसुक्क मुस्काउदै घरतिर लाग्यो।

घर पुग्दा माइलीले सोधी- ‘बल्झ्यो त त्यो ठुलो माछो?’

माइलाले केही उत्तर दिएन बरु पिरुङ्गो स्वास्नीलाई दिँदै भन्यो- ‘ल साँझ पकाउनलाई एकदुइवटा चरिंगा बल्झेका छन्।’

माइली पिरुङ्गो लिएर भित्र गई। आँगनमा उसकी छ वर्षकी छोरी र चार वर्षको छोरो चोर औला र बुढी औलाको खेल रमाएर खेल्दै थिए- माछो माछो- भ्यागुतो…, माछो माछो- भ्यागुतो… ।

[तपाईँ पनि आफ्ना कथा,लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)