यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

राष्ट्रपतिको हलुका भाषण : एउटा इलेक्ट्रिक गाडी चढ्नुलाई हरितगृह ग्याँस उत्सर्जन कममा जोड्नु विश्व मञ्चमा जग हँसाइ भएन?


राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणमा गएर फर्किसकिन्। उनी पोल्यान्डमा जलवायु परिवर्तनकाे संरचना सम्बन्धि महासन्धिको २४ औँ सम्मेलन (कोप–२४) मा सम्बोधनका लागि गएकी थिइन्। उनले नेपाली भाषामा सम्बोधन गरिन् भनेर एकथरिले वाहवाह गरेको पनि देखियो। हुन पनि हामी नेपाली जहिले भाषामा मात्रै अल्झन्छौँ। कसैले अङ्ग्रेजीमा राम्रो भाषण गरे वाह नेपालीको नाक राखे भन्छौँ। अङ्ग्रेजी बिगारे बेइज्जत गरे भन्छौँ। भाषा हैन कन्टेन्ट कस्तो छ हेर्नतर्फ हामी लाग्दै लाग्दैनौँ। गुदी हैन बोक्रा हेरेर आलोचना गर्छौँ।

युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भने कन्टेन्टभित्र प्रवेश गरी त्यसमा प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्-

भाषणका अंशहरू हेर्दा त्याे वैज्ञानिक तथ्यमा अाधारित भएन र तार्किक पनि भएन। धेरै कुराहरू हचुवामा बाेलेकाे जस्ताे सुनियाे।

उदाहरणकाे लागि उहाँले गाउँघरमा सुकेका पानीकाे मुहानहरूकाे कारण महिलाहरूले घन्टाैंसम्म पानी बाेक्न परेकाे बताउनु भयाे र त्यसलाइ जलवायु परिवर्तनसँग जाेड्नु भयाे। गाँउघरमा पानीकाे मुहान सुक्नुसँग जलवायु परिवर्तनकाे सम्बन्ध भएकाे कुनै विश्वसनीय वैज्ञानिक अध्ययन भएकाे छ नेपालमा? मेराे सीमित अध्ययनले त्यस्ताे लेख भेटेकाे छैन। यति ठूलाे दावी त्यत्राे ठूलाे मन्चमा गर्नु अाफू हलुका हुनु हाेइन? मेराे विचारमा याे जलवायु परिवर्तनसँग भन्दा पनि स्थानीय भूउपयाेगकाे परिवर्तन र सुशासनसँग सम्वन्धित प्रश्न हाे।

दाेश्राे, पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न उहाँले राष्ट्रपति कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग शुरु गरिसकेको जानकारी पनि दिनु भएछ। अहिले देशमा खपत भएकाे बिजुलीकाे करिब एकतिहाइ बिजुली भारतबाट अायात भइरहेकाे छ। भारतबाट अायतित त्यस्ताे बिजुली डिजेल प्लान्टबाट उत्पादित हाे, जसले कार्बन उत्सर्जन बढाउँछ। त्यही फाेहरी स्राेतबाट उत्पादित ऊर्जाले चार्ज गर्नपर्ने एउटा विद्युतीय कार राष्ट्रपतिले चढेर हरितगृह ग्याँस उत्सर्जन कम गर्न हामी अग्रसर छाैं भनेर जलवायु सम्मेलनमा भन्नु जग हँसाइ भयाे जस्ताे लाग्छ।

यस्ताे सम्मेलनहरूमा प्रस्तुत गर्दा भाषणहरूमा भएका कुराहरूलाइ अलिकता अालाेचनात्मक हिसाबले हेरेर ड्राफ्ट गरेदेखि दुनियाँकाे सामु हलुका भइँदैन है।

यस्तो छ राष्ट्रपतिको भाषण

अध्यक्ष महोदय,

नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको अति कम विकसित राज्य हो | ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा भने हामी निरन्तर पर्दै आएका छौं।

हाम्रा उच्च पर्वतमालाका हिउँ पग्लँदैछन्, सेता हिमालहरु काला र फुस्रा बन्दैछन्, हिमताल विष्फोटनको खतरा बढ्दैछ र हाम्रा नदीका जलाधार प्रणाली प्रभावित हुँदैछन् ।

हिमपहिरो, बाढीपहिरो र खडेरीका घटना पहिले भन्दा विषम हुन थालेका छन् ।

प्राकृतिक स्रोतमा परेको नकारात्मक प्रभावले गाउँघरको खानेपानी प्रणाली प्रभावित हुँदै गएका छन् ।

हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको छ ।

हाम्रो खाद्यान्न उत्पादनको मुख्य भूमि तराई बारम्बार ठूलो बाढीको चपेटामा पर्ने गरेको छ । कृषि उत्पादन प्रभावित भएको छ ।

यस्ता घटनाहरूको प्रत्यक्ष असर महिला र विपन्न वर्गमा झन बढी पर्ने गरेको छ । नेपालका गाउँबेसीमा महिलाहरुले घरायसी प्रयोजनका लागि घन्टौ लगाएर पानी बोक्नु परेको दुःख हामीले बुझेका छौ ।

नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको जस्तो अनुभूति हामीलाई हुने गरेको छ ।

निर्दोषहरू माथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो भन्ने कुरा म यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु ।

हालै सार्वजनिक गरिएको IPCC को विशेष प्रतिवेदनले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्डले विश्व समुदायलाई अझ प्रतिबद्ध भई कार्बन उत्सर्जन न्यून गर्ने बाटोमा लाग्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

हामी प्राकृतिक रुपमै विश्वको तापक्रम बृद्धि (Global Warming) रोक्न ठूलो योगदान गरि आएको राष्ट्र हौं ।

सर्वोच्च शीखर सगरमाथा लगायत तमाम हिमशृङ्खला तथा पहाडहरुले हावा र पानीलाई चीसो, शितल र स्वच्छ पार्ने काम गरिरहन्छन् ।

वास्तवमा वातावरण र मौसमका सर्जक र संचालक हिमाल र समुद्र नै हुन् ।

हिमालको हिउँ विस्तारै पग्लिएर धर्तीलाई निरन्तर चिस्याउने र रसीलो पार्ने विशिष्ट भूमिका खेलेको हुन्छ ।

यो पुनर्सिंचन (Water Recharging System) प्रणालीले धर्तीको तापक्रम वृद्धि हुन नदिन ठूलो महत्त्व राखेको हुन्छ ।

बढी कार्वन उत्सर्जन गर्ने र विकसित देशहरुले यो महत्त्व अनुभूत गर्न र हिमाली देशहरुको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनु जरुरी छ ।

जलवायु परिवर्तन सम्वन्धि नमूना आयोजना लागू गर्न र राष्ट्रिय एवं स्थानीय अनुकूलन कार्ययोजना बनाई जलवायु परिवर्तनको जोखिम न्यून गर्न हामी प्रयासरत छौं ।

पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न, जलवायु परिवर्तन नीति र जलवायु परिवर्तनमा राष्ट्रिय योगदान (NDC) लाई पुनरावलोकन गरी समय सापेक्ष बनाउने र तिनको कार्यान्वयनका लागि दीर्घकालिन रणनीति तयार भई रहेकोछ |

हामीले राष्ट्रपति कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग शुरु गरिसकेका छौं र यसलाई क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लगिने छ |

नेपालले ‘शिवालिक’का रुपमा परिचित चुरे क्षेत्रमा एकीकृतरुपमा वातावरण संरक्षण तथा जीविकोपार्जनका कार्यक्रमहरु लागू गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाएको छ । उक्त परियोजनाले यस क्षेत्रको भूभाग मात्र होइन छिमेकी मुलुकहरुको वातावरण संरक्षण तथा सम्बद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

हिमालय जलविज्ञान अध्ययनमा थप लगानी, नवीकरणीय ऊर्जामा रुपान्तरित हुने आर्थिक र सामाजिक विकास, शतप्रतिशत नेपालीले स्वच्छ ऊर्जाको प्रयोग, स्वच्छ ऊर्जामा आधारित सार्वजनिक यातायात प्रणालीको विकास, वनजङ्गल एवं प्राकृतिक प्रणालीको सम्बर्द्धन, रोजगारी सिर्जना, महिला तथा विपन्न वर्गको समस्यामा कमी, सार्वजनिक स्वास्थ्यमा सुधार गरी तिनलाई कार्बन सिन्कको रुपमा विकास गर्ने र दिगो पर्वतीय अर्थतन्त्र प्रवर्धन गर्ने हाम्रो उद्देश्यमा ज्ञान, सीप, प्रविधि र अन्य स्रोत परिचालनका लागि विश्व समुदायको साथ र सहयोग रहने विश्वास गर्दछौँ ।

विकास आयोजनाहरु संचालन गर्दा दिगो विकासका लक्ष्य तथा जलवायु मैत्री बनाउन नेपाल प्रतिवद्ध छ ।

स्वच्छ र सुरक्षित प्राकृतिक वातावरणमा बाँच्न पाउने हामी र हाम्रा सन्ततिको अधिकार रक्षा गर्नु सामुहिक दायित्व हो ।

कोप २४ ले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेहीपूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउनेछ भन्नेमा नेपाल विश्वस्त छ।

अन्तमा, यस सम्मेलनले विश्वमा वातावरण संरक्षण तथा सम्बर्द्धनको अभियानमा ठोस योगदान पुर्‍याउने अपेक्षासहित सफलताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

३ डिसेम्बर २०१८ तदनुसार २०७५ मङ्सिर १७ गते सोमबार

8 comments to राष्ट्रपतिको हलुका भाषण : एउटा इलेक्ट्रिक गाडी चढ्नुलाई हरितगृह ग्याँस उत्सर्जन कममा जोड्नु विश्व मञ्चमा जग हँसाइ भएन?

  • Kumar

    धन्य जीवन मा र आफ्नो कार्यकाल मा एउटा गतिलो काम गरे झैँ लग्यो र फुक्दै हिदैछीन / कुवा को भयागुता न हुन् दुनिया कहाँ छन् पत्तो छैन होला /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    खत्रीजी
    देशको दुरावस्था लाइ लिएर असन्तुस्टी पोख्ने हरु धेरै छन् यहा , सायद यहा पार्टी भनेर सायदै कोइ ले लेखला | यहा हिजो ओली आउदा हामि धेरैलाई आश थियो , तेसो त् प्रचण्ड , बाबुराम आदि हुदा पनि देश मा भ्रास्ताचार को अन्त होला ,विधिबाट देश चल्ला भन्ने बिकास होला आश गरिएकै थ्यो |
    किनकि उनीहरु लामा ,लामा छोड्थे ,प्रचण्ड त् पथ नै खोलेर आएको ,आफुलाई युग पुरुस नै भन्थ्यो | तर यी सब को पालामा पनि ४० बर्स अगि देखिको भ्रास्ताचारी कर्मचारी तन्त्र , पुरानो सैली , रितिरिवाज , सिक्ष्या नीति केहि परिबर्तन भएँन | भ्रास्ताचार दिन दुगुना , रात चौगुना झन् बढ्यो |यी सिर्स नेताहरुले हतियार ब्यबस्थापन , सान्ति सम्झौता मा खरबौ घोटाला गरेको , इतिहास मा न भएको सुन काण्ड, बिमान बडी काण्ड ,राज्य कोस मा जथाभाबी विदेश भ्रमण , हेलिकोप्टर लिएर नुहाउन जाने , येताउति जथाभाबी जाने ,आफुहरु टन्न सुबिधा लिने कति कति बिकृति थपे यिनले |
    यो सब यथार्थ हो | कांग्रेस , कम्निस्ट , राजाबादी , मधेस बादी को कुरा हैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रविण खत्री

    कार्यकारी हुन या आलंकारिक राष्ट्रप्रमुख भनेको राष्ट्रप्रमुख नै हो । दलीय व्यवस्थामा आधारित हाम्रो लोकतन्त्रमा कुनै दलबिशेषबाट राजनिति गरेर सरकार प्रमुख तथा राष्ट्रप्रमुख हुने व्यवस्था छ भलै राष्ट्रप्रमुख भैसकेपछि चाँही दलनै त्याग गर्नु पर्छ र सरकार प्रमुख भएपछि दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थला आत्मसाथ गर्नु पर्ने हुन्छ । यस्ता काम कतिले गरे कतिले गरेनन् यो समय र ईतिहासले समेत बताउँदै जानेछ । बिद्वान मीत्रहरुलाई मेरो प्रश्न
    राष्ट्रप्रमुख या सरकार प्रमुखले गरेका हरेक काम कारवाहीको दलगत स्वार्थको हिसाबले मात्र आलोचना गरेर राष्ट्रियता बलियो होला र ? यदि यस्तो हुन्छ भने म पनि आजैदेखि आलोचना मात्रै होईन बिरोधनै सुरु गर्नेछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • सागर घिमिरे

    ‘युवा बैज्ञानिक’ उत्तमबाबुको तर्क अलि मिलेन।

    डिजेल गाड़ी चलाउनु र डिजेलबाट निकालेको बिजुलीबाट विद्युत गाड़ी चलाउनुमा फ़रक छ। डिजेल गाड़ीको इफिसियेन्सी लगभग २०% हुन्छ भने डिजेल विद्युत प्लान्टको लगभग ६० – ८०%। अर्थात् जति डिजेलले गाड़ी २० किमी जान्छ त्यति डिजेलबाट निकालेको बिजुलिले विद्युत गाडी चैं ६० – ८० किमी।

    https://Youtu.be/GT8xgUx5WGk

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • धन्न नेपालीमा बोलिछन, नत्र सबैले बुझ्ने रहेछन 😛 भासन चाही बकवास नै रैछ | अनि यो लेखेर दिने चाइ हो रहेछन कुन्नि ? अनि उहाले पनि जे दियो तेही खुरुखुरु पढिदिने, विचारै नगरी!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • विवेक

    गाउँ घरमा घन्टौ लागेर पानी बोक्नपरने समस्या हिज र अस्ति पनि थियो| आज पनि छ धेरै हदसम्म|
    तर यो समस्यालाई एउटा दृष्टिकोणबाट नियाल्दा वितरण र उपलब्धता जुटाउने पर्ने व्यवस्थापनको अभाव र असामर्थ्यता संग जोडे उचित होला| बढ्दो आवादी र वातावरणीय चाप लगायत कतिपय कारणले मुहान सुक्दै जाँदा वा पानी श्रोत घरआँगन छेउ नभए पनि दैलो र खेत अनि करेसा घुरेंन सम्म उपलब्ध गराउन र अग्लो होचो ठाउँमा पानी पुर्याउन सही व्यवस्थापनको आवश्यकता पर्छ| यस सन्दर्भमा, नेपोथिन पाइपले ल्याएको क्रान्तिलाई विर्सनु हुँदैन| नहर, कुलो र बाँसको खपेटामा पानी पुर्याउन सबै ठाउँमा उपयुक्त र व्यवहारिक हुँदैन|
    “हाम्रा दिदिबैनी आमाहरुलाई घन्टौ लगाएर पानी बोक्नपर्छ| चेलीबेटी बेच बिखनको कहानी र छाउको हाउँगुजी” एनजीओ र आईएनजीओले अन्तराष्ट्रिय मन्चमा कटौरा अघि राखेर बारम्बार रट लगाउने मुख्य बिषयहरुमा पर्दछन| त्यस्ता समस्याहरु छैनन् भन्न खोजेको होइन, समस्या छन्| तर नेपाली आफैले यस्ता आधारभूत समस्याहरुलाई कसरि निपटिरहेका छन्, कसरि आफ्नै श्रोत साधन संचालित छन् र बाँकी योजना के के छन् ती सुन्न पाए राम्रो हुने हैन र? आइएनजीओ र एनजीओका सक्सेस स्टोरीहरु टन्नै छन्, धेरैजसो कटौरा भर्ने र आफ्नै गुनगान निश्रित मात्र छन्, स्थायित्व र दिगो हुने खालका छैनन् गहिरिएर अनि स्वतन्त्र रुपमा हेर्यौ भने| नेपालमा परिचालित उक्त संस्थाहरुका (युएन लगायतका) उपलब्धि कतिपय यस्ता पनि छन्, हजार रुपिया लायकको नतिजा वा उपलब्धिलाई जन र श्रोत हिसाब गर्यौ भने लाख करोड खर्चेका छन् भने स्थायित्व र दीगोपनको उदेश्य केवल भाषण र लिखित भिजन र मिसनमा सीमित रहन्छ|
    विदेश भ्रमणको खास उपलब्धि के हुन् हाम्रा सन्दर्भमा, कसरि फलो अप र कार्यान्वयन गरिने हुन्, कति अवधिमा, सुन्न पाए हुन्थ्यो| हाम्रो मुलुकमा विदेश भ्रमण पछि फलो अप गर्ने न परम्परा छ, न कुनै वाध्यता|
    राष्ट्रपतिको भ्रमण टोलीमा जति खर्च भयो, त्यसले आधाउधि गाउँघरको कठिन पानीको समस्या पहल गर्न सकिने थियो होला|
    १८ करोडको गाडी खर्चबाट कटौती गरेर राष्ट्रपतिले राष्ट्रपति परियोजना स्थापित गरेर घरघरमा पानी र चर्पीको व्यवस्थापनका लागि समर्पित गरे कसो होला?
    सेवाको भावना, कटिबद्धता र समर्पण भन्ने चरी मन भित्रबाट पलाएर आउँन पर्छ|
    राष्ट्रको ढुकुटीबाट खर्च हुने एक रुपिया मात्र होइन, एक एक पैसा समेत पनि कसरी सही उपयोग गरिन पर्छ भन्ने कुरो आफुले आफैलाई राष्ट्रसेवक भन्ने सबैले हरपल चौबिसै घण्टा ख्याल राखे यो देश अवश्यै समृद्धितिर उन्मुख हुनेछ|

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Shankar

    लेख्ने ले लेखिदियो , उनले पढी दि इ न | जिजस को छोरी ले चोखो पानि ले नुहाई दिएपछि को सरकार ले लेखेको हो कि अगिको सरकार ले लेखेको हो , त्यो चै हेक्का भएँन |
    आजकाल नेपाल को ड्राइभर हरु उहा नै हो , ओली र उहा हरुको टोलीले नयाँ , सम्ब्रिद्दा नेपाल को सपना देखेको पनि अलि समय नै भैसक्यो | अझ साकार गर्न कति समय लाग्ने हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • madan bajracharya

    अलंकारिकको अलंकारिक कुरा हो/ पार्टी र नेताको निर्णय र सिफारिशलाई जस्ताको तस्तै आधिकारिक बनाउनेहो/ भुलबस भुलनै गरे पनि दोषी कहिले नहुने गरिमामय उच्च अधिकारि हो/ बस सुन्ने हो हिडे डुलेको हेर्ने हो; मन लागेमा त्यो पनि फुर्सद भय!!/

    पार्टीको सिफारिस र कोत्तामा नियुक्त हुनेले पार्टीलाई लेभी बुझाउनु पर्छ भनेर सुने पढेको थिय; के अलंकारिक पदमा बस्नेले पनि पार्टीलाई लेभी बुझाउनु पर्छ बा पर्दैन र यदि बुझाउनु पर्छ भने नबुझाय के हुन्छ त्यो जान्न उत्सुक छु/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)