यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

खै त निर्मलाका हत्यारा पक्रिएको भनेको हैन? पुलिसको प्रोपोगान्डामा मिसयुज भएका मिडिया

एक हप्ताअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा एक जनालाई काठमाडौँमा पक्राउ गरिएको खबर आयो। त्यसपछिका केही दिनमा मिडियामा यस्तो समाचार आयो कि सर्वसाधारणलाई लाग्यो- अहो, पुलिसले त बल्ल पक्रेछ हत्यारालाई। रावल थरका ती किशोर अझै हिरासतमै छन् अर्कै मुद्दा (सार्वजनिक ऐन) अनुसारको छानबिनका लागि। तर हत्यारा पक्रिसकेका छौँ, यहाँ वहाँ भनेर समाचार भने आउन छाडेको छ। आइतबारदेखि यस्तो समाचार किन आउन छाडेको त? किन प्रहरीले पत्ता लगाइसकेको हत्याराबारे नयाँ सूचना चुहिएनन्? के पुलिसको प्रोपोगान्डामा मिडिया मिसयुज भएको हो? 

नेपाल प्रहरीका प्रवक्ताले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताएका थिए। सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा निर्मलाका हत्यारा पत्ता लगाइसकेपछि सरकार देखिन्छ भनेर हत्यारा छेउछाउ पुगेको संकेत दिएका थिए। शनिबार (मंसिर २२ गते) त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हत्यारा पत्ता लगाइसकेको र छिट्टै सार्वजनिक गर्ने नै दावी गरे।

तर आइतबारदेखि फेरि किन चुपचाप त? किन प्रहरीले पत्ता लगाइसकेको हत्याराबारे नयाँ सूचना चुहिएनन्? के पुलिसको प्रोपोगान्डामा मिडिया मिसयुज भएको हो?

केही समाचारको शृङ्खला हेरौँ। मंसिर १९ गते बुधबार सिआइबीले काठमाडौँमा एक जना पक्रेको खबर आयो।

त्यही दिन अन्नपूर्ण पोस्टमा सिआइबीले कसैलाई पनि नपक्रेको कोटसहितको समाचार आयो।

भोलिपल्ट मंसिर २० गते भने उही अन्नपूर्ण पोस्टमा फरक समाचार आयो। हिजो कसैलाई नपक्रेको भने पनि भोलिपल्ट भने साबिती बयान नै दिएको समाचार-

यो समाचारमा भने पक्राउ पर्नेको नामसमेत खुलाइएको छ। सबै समाचारको स्क्रिनसट र लिङ्क यहाँ राख्न सम्भव हुन्न। तर तपाईँहरुले पक्कै पनि पढ्नुभएको हुनुपर्छ समाचारहरु।

बिहीबार रावलकै बयानका आधारमा थप दुई जना भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई विमानबाट धनगढी हुँदै काठमाडौँ ल्याइयो।

आधिकारिक रुपमा प्रहरीले केही बोलेको थिएन। तर अनौपचारिक रुपमा आइजीको सचिवालयले सूचना ‘लिक’ गरिरहेको थियो मिडियालाई। यस्तो बयान दियो, उस्तो बयान दियो भन्दै। तर क्रस भेरिफाइ गर्नेहरु पनि हच्किएका थिए- किनभने त्यसमा आइजीको सचिवालयले लिक गर्दा गरिएको जस्तो दावी थिएन।

तर निर्मलाको हत्यारा पत्ता लगाउन नसकेकोले ठूलो दबाब भोगिरहेको र पछिल्लो समय निर्मलाको पोस्टर च्यातेको फोटो र भिडियो भाइरल भएपछि थप बदनामी कमाएको प्रहरी काम गरिरहेको देखाउन चाहन्थ्यो। पक्राउ परेको खबर लिक गराएपछि पोस्टर च्यातेकोबाट पब्लिकको ध्यान तुरुन्तै डाइभर्ट भयो।

तर काम गरिरहेको मात्र हैन, कथाको प्लट नै बुनेको देखिन थालिसकेको थियो। नेपाल प्रहरीले यसरी प्लट बुन्दा हिन्दी उपन्यासकै हुबहु अंशसमेत चोरेका उदाहरण पनि छन्। त्यो प्लटलाई मिडियामा चुहाएर पब्लिकको विश्वास जित्ने प्रयत्न भएको थियो।

त्यसैले पक्राउ परेका टिनएज उमेरका रावललाई मिडियामा २२ वर्षको भनेर प्रचार गरियो। टिनएजको केटोले एक्लै बलात्कार गरेको कुरा पत्याउन गाह्रो हुन्छ भनेपछि सामूहिक बलात्कारको प्लट रचेको झैँ देखियो। सामूहिक बलात्कारको कथा अनलाइनमा मात्र हैन राष्ट्रिय दैनिकमा समेत देखियो। प्लटलाई विश्वसनीय बनाउन र अपराधी ब्याकग्राउन्डको बनाउन रावलले आफन्तलाई नै बलात्कार गरिसकेको र परिवारले यसलाई गुपचुप राखेको आरोपसमेत मिडियामा लिक गराइयो। आइजी सर्वेन्द्र खनाल स्वयं बयान लिन पुगेको समेत चर्चा गरियो।

दीलिपसिंह विष्टलाई नक्कली अभियुक्त बनाएर प्रस्तुत गरियो, डिएनए म्याच नगरी अभियुक्त बनाएर प्रहरीले पत्रकार सम्मेलन गर्न हतार गर्‍यो भनेर आलोचना गर्ने मिडियाले अहिले चैँ के गरेका नि? प्रहरीले अभियुक्त नै नभनीकन त्यसरी नामसहित यसरी बलात्कार गरेँ भनेर बयान दियो भनेर लेख्न मिल्छ? अझ केही मिडियामा त फोटोसमेत राखेको देखियो। विष्टलाई प्रहरीले सार्वजनिक गर्दा त धन्न अनुहार छोपेको थियो। मिडियाले प्रहरीको लिक गरिएको सूचना कै भरमा प्रहरीले अभियुक्तसमेत किटान नगरेको व्यक्तिको फोटोसहित समाचार हाल्न मिल्ने हो?

पहिलेकै अनुसन्धान टोलीले पनि शंका लागेर नियन्त्रणमा लिई सामान्य सोधपूछपछि छाडिसकेका रावललाई यस पटक डिएनए चेक नै गर्न पठाइने भइयो। डिएनएको रिपोर्ट पनि तत्काल नै आउने र मिलिसकेको हल्ला समेत फैलाइयो। पछि फेरि यो ग्याङको चन्द थरका एक जना भारतमा भागेको र उसैलाई मुख्य अभियुक्त बनाई अहिले पक्राउ परेकालाई चाहिँ मतियार बनाएर प्रस्तुत गर्ने तयारी भएको पनि सुनियो।

यस्तै यस्तै अन्यौलका बीच हाम्रो हातमा प्रहरीको ल्याबमा भएको निर्मलाको भेजिनल स्वाबको डिएनए रिपोर्ट पर्‍यो। त्यो डिएनए रिपोर्ट विज्ञहरुलाई देखायौँ। फरेन्सिक एक्सपर्ट तथा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशन जीवन रिजालले हामीलाई बलात्कारको केसमा डिएनएको जाँच कसरी हुन्छ भनेर सरल भाषामा बुझाए।

महिलाको X डिएनएमात्र हुने भएकोले Y भेटिएपछि त्यसमा पुरुष संलग्न भएको बुझिने रहेछ। यसै अनुसार डिएनए रिपोर्टमा Y देखिएको रहेछ। रिजालका अनुसार एक जनाको मात्र Y डिएनए त्यसमा रहेछ। अर्थात् बलात्कार सामूहिक हैन एकलमात्र भएको देखियो। त्यसो त नजिकका नातेदार संलग्न भए एकभन्दा बढी पनि हुनसक्ने सम्भावना नभएको हैन। त्यसलाई अर्कै परीक्षण गरेर थाहा पाउन सकिने रहेछ। प्रहरीले त्यो पनि नगरेको रहेछ।

त्यसपछि हामीले पहिलोपोस्टमा एक्सक्लुसिभ समाचार लेख्यौँ मंसिर २३ गते आइतबार- डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, ‘प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन’

हामी स्थलगत रिपोर्टिङका लागि गएर फर्केपछि त्यहाँ देखेको सत्य र तथ्यमा आधारित भई लेखिरहेको सिरिजलाई सरकारद्वारा प्रायोजित, प्रहरीको बचाउन गर्न खोजेको भन्ने आरोपसमेत नआएका हैनन्। तर जब यो एक्सक्लुसिभ समाचार प्रकाशित भयो, तब डिएनए परीक्षणमा प्रहरीले तीन वटै स्याम्पल आफूकहाँमात्र गरेको, नेपाल प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको, त्यहाँ पुरानो मापदण्ड अनुसार १६ वटा ह्याप्लोटाइपहरु (एसटिआर लोकी) को मात्रै परीक्षण हुने गरेको, अन्तर्राष्ट्रिय रुपमा हाल प्रचलनमा रहेको नयाँ मापदण्ड अनुसार डिएनए प्रोफाइलिङका लागि Y एसटिआरको 1D1S1656, 2D2S441, 2D2S1338, SD10S1248, SD12S391, SD19S433, र SD22S1045 को परीक्षण प्रहरीको ल्याबमा नभएको जस्ता तथ्य सबले जान्ने मौका पाए।

त्यही दिन डिएनए रिपोर्ट सार्वजनिक गर्ने तयारी भएकोसम्मका कुरा आएका थिए। तर यो सार्वजनिक भएपछि रिपोर्ट तत्काल नआउने जानकारी आयो।

त्यसो त उता कञ्चनपुरमा रावललाई बलात्कार र हत्या भएको दिन पुलिसले चोरीको आरोपमा पक्रेको, उसका मतियार भनी पक्रिएका दुई जना मध्ये एक जना दिनेश चौधरी त त्यो दिन प्रहरीले आफ्नो हिरासतमै राखिरहेको र भोलिपल्ट मात्र आमाले छुटाएर लगेको भन्ने खबर पनि आइसकेको थियो। फेरि एक पटक नक्कली अभियुक्त खडा गर्न लागेको भन्ने पनि आरोप सुरु भइसकेको थियो, महेन्द्रनगरमा विरोध प्रदर्शन पनि सुरु भइसकेका थिए।

आइतबार घटनाक्रमको त्यसरी विकास भएपछि प्लट बुन्ने र त्यसअनुसार मिडियालाई सूचना छुस्स छुस्स लिक गर्ने काम ठ्याप्पै बन्द भयो। तपाईँहरुले याद गर्नुभयो होला, आइतबारदेखि निर्मला प्रकरणका अभियुक्तबारे कुनै पनि समाचार आएका छैनन्, किनभने प्रहरीले त्यसलाई लिक गरेकै छैन।

अब प्रहरीले यत्तिकै डिएनए मिल्यो भनेर पनि भन्न पाउने छैन, निर्मलाको भेजिनल स्वाबमा भेटिएको Y STR को DNA Profiling भइसकेकोले कागजमा मिल्यो भनेर मात्र भएन, मुखले मिल्यो भनेर मात्र भएन, नक्कली अभियुक्त खडा गरेको भन्ने आरोप लागेपछि कस्तो ग्राफ देखिएको कारण त्यसको भ्यालु अंकमा देखिएका कारण म्याच भएको हो भनेर स्वतन्त्र विज्ञले समेत थाहा पाउने गरी इलेक्ट्रोफेरोग्रामको चार्ट पनि सार्वजनिक गर्नुपर्ने स्थिति आउँछ।

अब डिएनए रिपोर्ट ढिला गरिएको छ, शायद् जानाजान नै। त्यो मिलेन भने प्रहरी हिरासतमा निर्मलाको हत्या मैले गरेको हुँ भन्ने तर खासमा नगरेको हुने तीन जना पुग्नेछन्। यसअघि प्रहरीले घटनालगत्तै कैलालीका जीवन घर्तीमगरले निर्मलालाई खुकुरीले छप्काएर मारेको बयान दिएका थिए। त्यसपछि दीलिपसिंह विष्टले पनि आफूले नै बलात्कार गरी मारेको बयान दिएका थिए। विष्टको डिएनए म्याच भएन, जीवनले भनेको चाहिँ खुकुरीको चोट नदेखिएकोले पत्याउन योग्य भएन।

अब चौथो व्यक्ति को आउने होला? हेरौँ। त्यतिबेला पनि प्रहरीले प्रोपोगान्डा पक्कै गर्नेछ। मिडिया अहिले जस्तै मिसयुज हुन्छन् कि हुँदैनन्, त्यो पनि हेर्न बाँकी छ।

#WhoKilledNirmala शृङ्खला

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने ‘आइकनिक’ फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : ‘रे’ मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई ‘अपराधी’ बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट 
शृङ्खला ९ : निर्मला प्रकरणमा ‘भिआइपी’ कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: ‘त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।’ 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको ‘बाइट’ जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, ‘प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन’ 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको ‘दोष’ : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 

4 comments to खै त निर्मलाका हत्यारा पक्रिएको भनेको हैन? पुलिसको प्रोपोगान्डामा मिसयुज भएका मिडिया

  • राम बाबु श्रेष्ठ

    उपप्रधानमन्त्री त यस्तो झुठो बोल्न अघि सर्छ भने अरुको के कुरा गर्ने ? ताली बजाउनेहरु पनि अरिंगालहरु नै होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    निर्मला काण्डमा छानबिन गर्ने सहि अपराधी पत्ता लगाउने कुरामा नियतवस नै त्रुटि गरेको देखिन्छ/ यो कुरामा प्रथम दोसी त् सम्भंदित कर्मचारिहरुनै हुन् र यो हद सम्म निर्लज्जता पुर्वक बा आफ्नो बा अरुको स्वार्थ र निर्देशनमा गैरजिम्मेवार बन्ने बनाउने कार्य गर्ने ‘योग्य भयको नियुक्त भयको कर्मचारी भन्दा दलीय बा नेताको स्वार्थमा थोपरेकोनै हुन् सक्छ/ यस्तै यस्तै दल र नेताले योग्य नागरिकले पाउने अवसर र जिम्मेवारी लुछेर उनीहरुको स्वार्थमा परिचालित हुने कर्मचारीकै कारण भ्रस्टाचार र अपराध मौलायकोछ, अपराधि उन्मुक्त र निर्दोष फस्दै आयको छ/ यति मात्रै कहा हो र भने अरु दलको सरकार असफल र आलोचित बनेको छ, रास्त्रलाई आत्म निर्भर बनाउने उद्योगहरुमा बन्द र हडताल हुँदै आयको छ/ अस्ति भर्खरै आफ्नै दल भित्र समेत असछ्यम भयको आफ्नो जिम्मेवारी बहन नगरेको आरोप झेल्दै आयको देउपाले आफ्नो लार्य्कर्ताहरुलाई “मेरो होईन सरकारको बिरोध गर्नु” भनेर अर्हाय बाटै देसमा के हुँदै गराउँदै आयको छ भनेर/ त् के हामि हिच्किचाउनु पर्छ देसमा कयौं अरु पनि अपराधिक, भ्रस्टाचार र नागरिकलाई कानुनि राज्य भयको अनुभूति सम्म पनि गर्न नसक्ने बनाउने घटना हुँदै आयको र निर्मला र निर्मला जस्तै अरु माथि अन्याय हुँदा पनि बास्तविक अपराधि कानुनको पकडमा न आउनुको कारण हो भनेर?

    ओली भर्खरै प्रधान मन्त्रि बनेको हो उसको सरकार सफल हुने नागरिकहरु उ बात असन्तुस्ट हुने कार्य उसले गर्ने सक्दैन/ तर उ सफल नहोस उ आलोचित होस् भनेर आफ्नो दलको सरकार नबनेकोमा तिल्मिलायको दल र तेस्को नेताले काही पनि गर्न गराउन सक्छन/ यस्तो गर्न गराउन तेस्तो दलको नेताहरुले आफै बा आफ्नो कार्यकर्ताहरु मात्रै होईन कर्मचारी बनाईयको आफ्ना कार्यकर्ताहरुले परिचालित भयको हुन् पनि सक्छ/ नेपाल प्रहरी असछ्यम छैन बाधा नतेर्साय नेपाल प्रहरी निर्मला माथि बलत्कार गर्ने मात्रै होईन ग्रायण्ड डिजाईन गरेर गरेको …..काण्डको रहस्य र तेस्को मूल अपराधीलाई पनि पकड्न सक्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Rabin

    निर्दोषलै झूठो आरोप लगाएर चरित्रहत्या गर्ने त यसको पुरानो बानि हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    एउटा सानी चेलीको ज्यान सग येत्रो मजाक गर्ने ? बेइमान मिडिया , प्रहरी र , पाखे चोर झुण्ड हरुको सरकार | सबै गैर जिम्मेबार देखिए |
    तेसैले नेपाल जस्तो सुन्दर देश बानर को हात को नरिवल भन्दा अत्युक्ति न होला |

    पाखे हरुको येस्तै गैर जिम्बेबारी र धुर्ताताले गर्दा देश आज बिदेसी खुफिया , मिसनरी को हात मा छ जस्तो देखिएको छ , यिनीहरु मुख पत्र मात्र |
    इन्डियन हस्तछेप चै लागातर न भै बेला बेलामा उनीहरुको चासोमा( इन्डियन को स्वार्थ मा ) तिब्र रुप मा देखिन्छ |
    यो सब किन भनिदैछ भने , नेपालि नेतृत्त्व ले बोलेको , र जनता सग बाचा गरेको कुनै काम बेलामा गर्दैन |झुटो बोल्छ | जथाभाबी पनि बोल्छ |
    प्रहरी चै जबर्जस्ति निर्दोस लाइ पनि अपराधी भन्दोरहेछ | पहिला बिस्ट, अब रावल , चौधरी भोलि को ? हैन निर्दोष लाइ छानबिन न गरि तेत्रो आरोप लगाउनु पनि अपराध हो
    भन्ने थाह न पाएको कि धुर्त पाखे चरित्र देखाएको ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0