यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मेरो ‘मनको अपरेसन’ को एक दशक


विगत केही दिनदेखि म कसैको सम्पर्कमा थिइनँ। घरपरिवार, साथीभाइ कसैले मलाई र मैले कसैलाई सम्पर्क गर्ने माध्यम थिएन। किनभने म ‘मनको अपरेसन’का लागि गएको थिएँ। ‘अपरेसन थियटर’को घेरा नाघ्न मलाई अनुमति थिएन।

सन् २००८ मा पहिलो पटक भएको थियो मेरो मनको अपरेसन। त्यसकै फलोअप थियो यस पटकको पनि। तपाईँहरु इस्वी संवतको नयाँ वर्ष मनाउँदै गर्दा मलाई भने एउटा बसले काठमाडौँको भिडभाडबाट टाढा लग्दै थियो।

बसले मुहानपोखरीमा पुर्‍याइदिँदा त्यो गम्भीर दुर्घटनापछि बहिनीलाई आर्यघाटमा पुर्‍याएर फर्केको २४ घण्टा पनि भएको थिएन। मन त्यसै त्यसै भारी भइरहेको थियो। राति अबेरसम्म झल्झली पुराना कुराहरु सम्झिरहेको थिएँ। बिहान तीन घण्टामा माइसंसारका लागि केही ब्लगहरु अग्रिम तयार पार्ने कोशिश गरेँ। सोचे जति गर्न सकिनँ।

अब यहाँ आइसकेपछि मोबाइल, कम्प्युटरको त कुरै छाडौँ, बोल्न समेत पाइँदैन। मुखले बोल्ने त परको कुरा, आँखाले वा इशाराले समेत बोल्न पाइँदैन। १० दिने विपश्यना शिविरको यो सातौँ अनुभव हुँदै थियो मेरो लागि। पोहोर लुम्बिनीमा १० दिन बसेको थिएँ। यस पटक साथी कृष्ण ढुंगानासित बोधगया जाने कुरा भएको थियो। तर भारत जाँदा र फर्कँदा समय लाग्ने भएकोले नजिकैको धर्मशृङ्गमा नै बस्ने निधो गरेका थियौँ।

सातौँ पटक बस्न लागेको भए पनि अरु बेला र अहिलेको मानसिक स्थिति अलि फरक थियो। यतिबेला आगलागीको त्यो दुर्घटनाले मानसिक स्थिति निकै विचलित भएको थियो। आँखा चिम्लँदा त्यही कुरा याद आउँथ्यो। जब १ जनवरीको रात आर्यमौन सुरु हुने गरी धम्महलभित्र हामी प्रवेश गर्‍यौँ र पहिलो निर्देशन दिइयो, मलाई फेरि त्यही छटपटी सुरु भइहाल्यो।

मैले सीधै विपश्यना सिकाउन बसेका सहायक आचार्य ज्ञानदर्शन उदासलाई भनेँ- मेरो एउटा पर्सनल प्रोब्लम छ। हिजो भर्खर बहिनीको डेथ भएको छ। मलाई एकदम गाह्रो भइरहेको छ। मलाई थाहा छ कन्ट्रोल गर्नुपर्छ भन्ने। तर गर्न सकिरहेको छैन।

‘कन्ट्रोल गर्ने हैन,’ उनले भने, ‘एसेप्ट गर्ने। जे छ, त्यसलाई स्वीकार गर्ने।’

‘यत्रो ठूलो घटना भएको छ। आउन त आउँछ। यस्तो विचार मलाई आएको छ भनी स्वीकार गर्ने र समतामा बस्ने।’

अहो, उनको यो भनाईपछि म झसङ्गै भएँ। के गर्नुपर्ने, के गरिराछु जस्तो लाग्यो। बाटो खुल्यो।

विपश्यना नगर्नेलाई यो ‘समता’को अर्थ थाहा नहोला। तर गर्नेहरुले यो शब्द पछाडिको गहनता बुझ्छन्।

त्यसपछिका दिनहरुमा ती घटनाले सताउन छाडेनन्। तर ती स्मृतिहरुले धेरै पीडा दिएनन्। यद्यपि फरक रह्यो यो पटकको विपश्यना अर्थात् मनको अपरेसन अरु पटकको भन्दा।

जाडोको बेला। लागेको थियो, यस्तो बेला अलि कमै आउलान् मान्छे ध्यान गर्न। तर हाम्रो सोच विपरीत ६५ जनाको हाराहारीमा (पुरुषमात्र) फूलप्याक थियो ठाउँ।

T1-2 यो थियो मलाई १२ दिन बस्न, सुत्न छुट्याइएको ठाउँ। तर मैले गुरुलाई भनेर कोठा चेन्ज गरेँ त्यहाँ हल्ला हुन्छ भनेर। तर फेरिएको ठाउँ V3 पनि अलि हल्ला हुने ठाउँ नै थियो। तर पनि प्रतिकूलताका बीच अनुकूलता खोज्नै पर्‍यो।

एक दशक नाघिसकेको रहेछ विपश्यना गर्न थालेको। यो बीचमा सात पटक विपश्यनाको १० दिने शिविरमा बसियो। तर सबैभन्दा सम्झन लायक भने दुई वटा शिविर रह्यो। पहिलो, सन् २००८ को पहिलो शिविर। दोस्रो, पोहोर लुम्बिनीको शिविर।

लुम्बिनी- गौतम बुद्धको जन्मस्थल। यो पवित्र भूमि भएर पो हो कि, यति गहन रुपमा यो विद्याबारे बुझियो कि अरु बेला यसरी किन बुझिएन छक्कै परियो। लुम्बिनीको शिविर पछि नै मैले दिनमा नियमित केही समय ध्यान बस्ने कामको थालनी गर्न सकेँ। व्यवस्थापनको हिसाबले काठमाडौँको अवस्था एकदम राम्रो पक्कै हो। तर लुम्बिनीमा केही फरक छ। यस पटक काठमाडौँमा ध्यान बस्दा लुम्बिनीको त्यो शक्ति प्रशस्तै महसूस गरियो।

विपश्यना २५ सय वर्षभन्दा अगाडि सिद्धार्थ गौतमले खोजेको ध्यान विधि हो। यो एक किसिमले सरल र अर्को किसिमले कठिन विधि हो। सरल कुन हिसाबमा भने यसमा अरु केही गाह्रो काम छैन- सास र आफ्नो शरीरका सेन्सेसन फिल गर्नुमात्रै। कठिन कुन अर्थमा भने यही गर्न एकदमै गाह्रो छ। कसरी? गरी हेरेपछि थाहा हुन्छ।

अनि के २५ सय वर्षअघिको विधि अहिलेको युगमा सान्दर्भिक हुन्छ त?

किन हुन्न? के जन्म, मरण, शोक, सुख, दुःख, चाहेको कुरा भएन भने दुःखी हुने, मनलाई वशमा गर्न नसक्ने कुरा यो युगमा हुँदैन ? पक्कै हुन्छ नि। जबसम्म यस्तो हुन्छ तबसम्म यो बुद्धले सिकाएको विधि सान्दर्भिक हुन्छ नै।

सान्दर्भिक र फाइदा महसूस नभएको भए मेरो काम थिएन र १०-१० दिन गरेर अहिलेसम्म ७० दिन यसरी खेर फाल्नु !

अनि मलाई यो विधि मन पर्नुको अर्को कारण भनेको यसले आफ्नो असली रुप बचाएर राख्न सक्नु हो। हेर्नुस् न अहिलेको यो व्यवसायिक युगमा हरेक कुरा पैसामा बिक्छ। तर यो ध्यान विधि सिक्नका लागि कुनै पनि पैसा लाग्दैन। विधि सिक्न मात्र हैन, यो सिक्ने क्रममा बस्न, खान लाग्ने खर्च पनि तिर्नु पर्दैन। गुरु शिष्य परम्परा अनुसार गौतम बुद्धकै पालाको गैर व्यवसायिक ध्यान विधि सिकाइन्छ।

न यसमा हाम्रो धर्म महान भनेर पढाइन्छ, न अरुको धर्म खराब भनेर सिकाइन्छ। म महान, मलाई पूजा गर भनेर उपदेश पनि दिइँदैन।

गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न अपनाएको विद्या हो विपश्यना। विपश्यना ध्यानको मुख्य अभ्यास तटस्थताको हो। यसले सजग भएर तटस्थ बस्न सिकाउँछ। त्यो पनि सिद्धान्तमा हैन व्यवहारमा। व्यवहारका लागि यसले प्रयोगशाला बनाउँछ तपाईँको आफ्नै शरीरलाई।

यसलाई मनको अपरेसन किन पनि भनिन्छ भने हाम्रो मन दुई तहको हुन्छ। बाहिरी मनलाई सबै कुरा थाहा हुन्छ- लोभ गर्नु हुन्न, द्वेष गर्न हुन्न, राग जगाउनु हुन्न। सब कुरा अस्थायी हो। तर भित्री मनलाई यो कुराको मतलब हुन्न। भित्री मनले बाहिरी मनको कुरा सुन्दैन। भित्री मनलाई वशमा राख्न सकिन्न।

बाहिरी मन र अन्तर्मनको बीचमा एउटा मोटो पर्खाल हुन्छ। त्यो पर्खाललाई नै यो अपरेसनले भत्काउने कोशिश गर्छ। बाहिरी मनलाई जस्तै भित्री मनलाई पनि वशमा गर्न सक्नु नै विपश्यनाको उद्देश्य हो।

जो १० दिने ध्यान शिविरमा बस्छन्, उसले एउटा फरक किसिमको अनुभव पक्कै गरेर फर्कन्छ। यथाभूत ज्ञान दर्शन अर्थात् जे हो, त्यसको ज्ञान पाएर फर्कन्छन्। अत्ता हि अत्तनोनाथो अर्थात् ‘आफ्नो मालिक आफै’ ज्ञान पाउँछन्। नियमित अभ्यास गर्ने हो भने व्यवहारिक जीवनमा यसका धेरै फाइदा अनुभव हुँदै जान्छन्। कहिलेकाहीँ तपाईँलाई कारणै बिना वा अनेक कारण भएको तर खास कुनै कारण निश्चित नभई रिस उठ्ने, दिक्कलाग्ने हुनसक्छ। ठिक त्यसको विपरीत नियमित अभ्यास गर्दा कारणै बिना वा कारण निश्चित नभई पनि मनमा प्रसन्नता अनुभव हुने, कुनै समस्यालाई आत्तिएर नहेरी शान्त भएर त्यसको समाधान खोज्न अभिप्रेरित हुने, कसैले ईर्ष्या, डाहा गरेर जे भनेगरे पनि त्यसलाई ‘कूल’ भएर फेस गर्ने र ऊप्रति वैरभाव नभई मैत्रीभाव नै राख्‍ने…..

त्यसबाहेक १० दिन ध्यानमा बस्दा अरु कुरा नसोच भनेर भन्दा पनि आरामको समयमा वा ध्यानको समयमा नै पनि तपाईँ बाहिर गएपछि यस्तो गर्छु उस्तो गर्छु भन्ने अनेकन् योजना बनाउनु हुन्छ। पवित्र ठाउँमा मनमा उब्जिएका यस्ता योजना साँच्चिकै बाहिर आउँदा उत्साहप्रद हुन्छन्।

रुचि भएकाहरुका लागिः
काठमाडौँ बाहिरका बासिन्दालाई अब अनलाइन आवेदन भर्ने सुविधा पनि छ। नेपालका लागि हेर्नुस् तरिका काठमाडौँका बासिन्दा हो भने जमलको ज्योति भवनमा जान सक्नुहुन्छ। 4250581, 4223968 सम्पर्क टेलिफोन नम्बर।

विदेशमा हो भने यहाँ क्लिक गर्नुस् सोही वेबसाइटबाट तपाईँले आवश्यक अन्य सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। तपाईँलाई पनि विपश्यना जान मन छ र मसित केही सोध्न र सल्लाह लिन चाहनुहुन्छ भने मलाई फेसबुक वा ट्विटर अथवा इमेलमा सम्पर्क गर्दा पनि हुन्छ। मैले जाने जति कुरा भन्नेछु।

9 comments to मेरो ‘मनको अपरेसन’ को एक दशक

  • Narayan bajagain

    साधु साधु साधु

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • arjun shrestha

    राम्रो कुरा छ , समय milaayara ekchoti jani rahara cha malie pani, ma always yo mysansar herni ra padani garchuu, umesh ji ko dd venajuko nidhan parti gahero samabedanaa parkata garna chahnachuu,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    म त् तेसै तेसै जिन्दगि जी रहेछु , ध्यान पनि गर्दिन , पुजा पनि गर्दिन | मान्छे ले इश्वर बनाएको ठान्छु , इश्वर ले मान्छे बनायो भन्ने चित्त बुझ्दो प्रमाण पाइन् मैले |
    बाटो मा राम्री केटि देखे आँखा तेतै जान्छ , नीति नियम ले सायद दिदि , बहिनि , आमा ठान्नु भंछा| तर प्राय जसो हेर्नको को लागि हेरिन्छ , केहि ठानिदैन| यहा मन एक चोटी चिप्लिन्छ |
    कोइ कोइ छेउ छेउ बाट लेक्सस , बियम डब्ल्यु मा गए लोभ लाग्छ | सायद यहा पनि चिप्लिंछु |
    कसैले सेकुवा र बियर खाएको देखे , मुख मा पानि आउछ | लोभिन्छ | सायद यहा पनि म स्खलित हुन्छु |
    हिजो सगैको साथि , सह कर्मी आज मन्त्रि बन्दा आफु लाइ डाह पनि लागेकै हुन्छ | मुख अमिलो हुन्छ |
    तेसैले मेरो त् मन कन्ट्रोल मै छैन | ध्यान के गरम ?
    मैले जानेको येउतै कुरो भनौ बा आफुले प्रयास गरेको |
    हिजो को चिन्तै न गर्ने ( किनकि त्यो भुत ) , भोलि को पनि चिन्ता न गर्ने किनकि एकै छिन मा मोर्न सकिन्छ बा जे पनि हुन सकिन्छ | भोलि कसले देखेको छ , बर्तमान मा चै बेस्ट गर्न कोसिस गर्ने | के गर्न सकिन्छ |तेस्मा जोड दिने |सक्दो हास्ने , मोज गर्ने आदि आदि |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    समयलाई पिडा दिने बनाउने परिस्थिति हो/ यदि तेस्तो परिस्थिति आफुले चाहेरै पनि रोक्न नसक्ने कारणले भयको छ भने तेस्ल्ले दियको पीडालाई आफ्नो आत्मबल प्रयोग गरेर दवाउनुको बिकल्प हामी सिट छैन/ पिडा अनुभूति हो/ आत्मबलले कुनै पनि प्रकारको आवेश र अनुभूति लाइ हराउन सक्छ/ शिदार्थ गौतमले आफ्नो अन्तिम समयमा आफ्नो शिष्य आनन्दलाई समय र परिस्थितिले के सहि हो भन्ने कुराको सार पनि यहि हो यहि कुरा बिबस्यनामा सिकाउँछ/
    सलोक्य्ज्यु तपाइंलाई थाह भयकै कुरा हो दुखाई निको हुने औषधिले दुखेको कारण निको बनाउन्दैन मात्र दुखेको अनुभूति लाई दवाउञ्छ/ यो कुरा त् हामीले आफ्नो आत्मबल बात पनि गर्न सक्छौँ/ डाक्टरको गल्तिको कारण मेरो ढाड खुट्टामा सहि नसक्नु पिडा भैरहेको छ/ डाक्टरले निको गर्न सैक्न्दैन तर औषधि खाँदै गरेमा दुखेको कम हुन्छ भने/ मैले खाईन तेस्तो दुखेको कारण निको नगर्ने मात्र दुखेको अनुभूति दवाउने औषधि; तर दुखेको भुल्ने प्रयाश गरे/ धेरै हद सम्म सफल भय पनि/ डाक्टरको भनाई अनुसार अपाङ्ग बनेर कुनामा थच्चियर बस्नु पर्ने म आज ५०/६० माईल गाडी चलायर काममा जान्छु र मलाई मेरो दुखाइ र आफु अपाङ्ग जस्तै भयको सम्झाउने कुराहरु बात टाढा बस्छु/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • हिमाल

    मेरो मन को मालिक म हुदा सम्म मेरो मन को अबस्थालाई ध्ह्यन बाट केबल हेर्ने , जान्ने मात्र हो। जब सम्म पर्मेशोर मेरो मन को मालिक हुदैन तब सम्म साचो शान्ति र आनन्दको महसुस गर्न गार्हो हुन्छ्।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Dev

    Gratitude!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Avi Adhikari

    ओहो सालोक्य जि ले मलाई भर्खर गएर आएको बिपासना को याद ताजा गराइ दिनु भयो । साह्रै राम्रो अनुभव को लागि धन्यवाद , साधु साधु साधु !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • सुमन कुमार

    सारै मन पर्यो। ध्यान विधि बाट आफ्नो जीवन सरल बनाउने चाहना छ। सहयोग को आशा छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • कार्की

    साधु साधु साधु

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0