यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अमेरिकामा नेपाली भाडा मात्रै माँझ्छन् त ?

-क्षितिजराज लोहनी-

‘अमेरिकाको जीवन साह्रै कष्टकर, हप्ताको ६ दिन घोटीएर काम अनि बाँकी एक दिन लुगा धुनमै सकिने । नेपालीहरू तल्लो स्तर को काम पाउँछन् । महिनाको कमाइ भाडा तिर्नै ठिक्क । सधैँ अभावमा बस्छन् नेपाली ।’ अमेरिका आएका नेपालीका बारेमा नेपालीले नै गर्ने औसत टिप्पणी हुन् यी ।

म अमेरिका आएको ९ वर्षमा हरेक हप्ता जसो कुनै न कुनै पत्रिकामा नेपालीका बारेमा यस्तै टिप्पणी पढिरहेको छु । यी यस्ता टिप्पणीहरूमा कुनै प्रतिक्रिया दिन मन लाग्दैनथ्यो । अरूले भन्दैमा हुने हो र? नबुझी गरेको टिप्पणीमा प्रतिक्रिया दिएर समय खेर फाल्नु ठिक होइन भन्ने लाग्थ्यो तर गएको हप्ता परिवार भित्रकै भाइलाई उच्च शिक्षाको लागि अमेरिका आउने होइन त भनेर सोध्दा भाडा माँझ्न किन आउनु, यही मोज गरेर बस्छु भन्ने जवाफ दियो । यो जवाफले एक छिन सोचमग्न बनायो नै, सँगै मेरा आफ्नै कमजोरी केलाउन पनि प्रेरित गर्‍यो।

अमेरिकाका नेपालीले तल्लो स्तरको काम मात्र गर्ने हो भन्ने भ्रम फैलन दिनुमा म र म जस्तै जसले कुनै दिन त्यस्तै काम गरेर आएको हो उनीहरूले नबोल्नु, वास्तविकता बाहिर नल्याउनु पनि त्यत्तिकै जिम्मेवार छ । मेरो विगत पनि औसत अन्य नेपालीकै जस्तो हो, पछि उल्लेख गर्छु । यहाँ मैले देखेको र भोगेकै विषयमा लेख्न चाहेको हुँ यसमा भ्रम मिसिएको छैन ।

अमेरिकामा नेपालीको कष्टकर जीवनका बारेमा लेख लेख्ने दुई तरिकाका नेपाली हुन्छन् । पहिलो, जो १ महिना अमेरिका घुम्न आउँदा मलाई मेरो आफ्नै साथीले नेपालमा जस्तो २४ घण्टा नै समय दिन सकेन भन्नेहरू । दोस्रो, शरीर अमेरिकामा भए पनि मन मस्तिष्क नेपालमै हुने । अझ राम्ररी बुझाउनु पर्दा, नेपालमा त ठुलो पदमा थिए, अरूलाई काम लगाएर बसेको थिए, नेपालमै बसिराखेको भए अहिलेसम्म त सचिव हुन्थे जस्ता कल्पनामा रमाउने । यो लेखमा म यी दुवै थरीलाई पाहुना लेखक भनेर सम्बोधन गर्नेछु ।

भोगेको र देखेको वास्तविकता भएकै कारण यो लेख ती पाहुना लेखकहरूको भन्दा भिन्न कोणबाट छ । यसमा कुनै समयमा भाडा माझ्ने तर आज आफ्नो ‘ड्रिम जब’ गर्ने र साथै, अहिले कुनै ठाउँमा भाँडा माझिरहेको तर भविष्यमा आफ्नै व्यवसाय थाल्ने ती नेपालीका बारेमा जसको दृढ विश्वास छ वर्तमान जस्तो भविष्य हुन दिन्न, सुधार गरेरै छाड्छु ।

म एप्पल कम्पनीको आइफोन टिममा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छु । सन् २०१० मा अमेरिकाको बस्टन सहरस्थित नर्थइस्टर्न युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ पढ्न अमेरिका आएको थिए । कलेजको कामले मात्र नपुगेर बाहिर पनि काम गर्न थाले । काम थियो, स्टोरको भुईँ पुछ्ने । गाडीबाट सामान झारेर कुलरमा मिलाएर राख्ने र ट्वाइलेट सफा गर्ने । पहिलो पटक ट्वाइलेट सफा गर्न छिर्दा आँखाबाट आँसु धेरै खस्यो कि मुखबाट बान्ता, यकिन भन्न सक्दिन । सफा गरेपछि त्यही दिन अठोट लिएँ, आजको जस्तो जीवन, भोलि हुन दिन्न । त्यसपछि, सधैँ टोइलेटमा गणितको किताब राख्थे र हरेक १÷१ घण्टामा ट्वाइलेट सफा गर्न जाँदा एउटा हिसाब गर्थे । ती दिनका धेरै रमाइला भोगाइहरू छन् । अन्य लेखमा लेखौँला ।

पाहुना लेखकहरूले आफ्नो लेखमा एकदम चलाखीपूर्वक एउटा लाइन सधैँ प्रयोग गर्छन् ‘मेरो लेखले अमेरिकामा माथिल्लो स्तरमा पुगिसकेका एक दुई प्रतिशत अपवादलाई समेट्दैन । ठिकै छ, त्यसो भए यो लेखमा बाकी ९८ प्रतिशत नेपालीकै उदाहरण प्रस्तुत गर्छु ।

म काम गर्ने कम्पनीकै छेउमा रहेको क्यान्टिनमा केही नेपाली दाइहरू काम गर्नुहुन्छ । उहाँहरूको काम खान पकाउने र भाडा माझ्ने नै हो । हाम्रा पाहुना लेखकहरू यी दाइहरूले १२ घण्टा काम गरेको मात्रै र यिनीहरूको जिन्दगी भाडा माझ्नेबाट माथि नजाने ठोकुवा गर्छन् । तर पूर्ण चित्र भिन्नै छ । एक दिन म क्यान्टिनमा खादै गर्दा दाइहरू हतार हतार काम सकेर म बसेको टेबलमा आउनु भयो र भन्नुभयो ‘भाइ खान मिठो छ ? यसो हामीलाई पनि कम्प्युटर प्रोग्रामिङ सिकाई देऊ न । सधैँ भाडा माझेर त बस्दैनौ ।’ दाइहरूको भविष्य निर्माण प्रतिको चिन्ता र केही नयाँ सिक्ने सोच देख्दा आफैलाई ऊर्जा थपियो । सबैको उमेर ४० नाघिसक्यो, २ बच्चा सबैका छन् । कम्प्युटरको नाममा सायद सामान्य ज्ञानबाहेक अरू आउँदैन तर कोसिसमा हार नमान्ने अठोट अद्भुत छ ।

हाम्रा पाहुना लेखकहरू वर्तमानमा भाडा माझ्नेको भबिश्यनै आफै लेख्न खोज्छन् । त्यो सरासर यी दाइहरूको मेहनत, दृढता र लक्ष्यलाई नजरअन्दाज गर्नु हो । हामी पुरानै सोचमा छौँ सायद । क्यान्टिनमा काम गर्ने क्यान्टिनमै जीवन बिताउँछन् भन्ने सोच राख्छौँ । संभवत यस्तो अवस्था अब निकै कम मात्रै होला । अवसर देख्नासाथ सबै नेपालीले आफूलाई परिष्कृत गरेकै छन् ।

अब पालो पढ्न आएका विद्यार्थी घण्टा हान्न व्यस्त भएकाको । हरेक वर्षको गर्मी बिदा (समर)मा ओसन सिटी भन्ने ठाउँमा हजारौको सङ्ख्यामा नेपाली विद्यार्थीहरू काम गर्न जान्छन् । काम त्यही भाडा माझ्ने, टेबल सफा गर्ने, टि सर्ट प्रिन्ट गर्ने । विद्यार्थीहरूले दिनकै १८ घण्टासम्म काम गर्नु यो समयमा कुनै नौलो हैन । तर अहिलेसम्म त्यो १८ घण्टा को मेहनतले कमाएको पैसा विद्यालयको शुल्क बुझाउन नभई मोजमस्तीको लागि खर्च गरेको मैले चाही देखेको छैन । स्मरण रहोस्, नेपालमा आफ्नो वार्षिक बिल समेत कहिल्यै नदेखेकाहरू (विषेशत आमा वा बुवा फी तिर्न जाने हुँदा) अमेरिकामा पढ्ने खर्च जुटाउन आफै मेहनत गर्छन् । यसमा गलत के छ ? अनि आलोचना किन ?

अमेरिकी शिक्षा प्रणालीमा पनि ‘ए’ पछि ‘बी’ नै आउँछ, र १ मा १ जोड्दा २ नै हुन्छ । तर जुन व्यवहारिक ज्ञान यहाँको बसाइले सिकाउँछ, त्यो नै वास्तविक शिक्षा हो । समरको केही महिना दुख अवश्य हुन्छ, तर आफ्नो आवश्यकता पूरा गर्न आफै मेहनत गर्न सिक्नु, कुनै किताबी ज्ञान भन्दा कम अवश्य छैन ।

त्यसबेलाको सभासद्को छोरा नेपालमा कलेज पढ्दा देखिको मेरो साथी । उसको परिवार नेपालमा सम्पन्न छ । उसले चाहे अमेरिकाबाट हरेक महिना नेपाल जान आउन केही गाह्रो छैन । तर ओसन सिटीमा १८ घण्टाको शिफ्ट पछि किन यस्तो मेहनत भन्दा आफैले कमाएर पढ्छु ब्रो र बाआमालाई पनि आफ्नै पैसाले अमेरिका घुमाउने भनेर जवाफ दियो । पाहुना लेखकहरूले ओसन सिटीको यस्तो चित्रलाई ‘थुइक्क कठिन अमेरिकी घन्टे जिन्दगी’ भनेर धेरै पटक लेखिसकेका छन् । उनीहरूले त्यस्ता विद्यार्थीको मेहनत र आत्मनिर्भर हुने चाहनालाई भने बुझ्ने कोसिस नै गरेनन् । मलाई भने नेपालमा हुँदा परिवारको पैसामा घुम्ने मेरो त्यो साथी अहिले व्यवहारिक भएको लाग्छ र गर्व लाग्छ आत्मनिर्भर साथी पाएकोमा ।

कसैले अमेरिकामा नेपालीहरू भाडा मान्झेरै बस्छन् भनेर लेख्छ भने त्यो व्यक्तिले भाडा माझेको कति वर्ष भयो? १० वर्ष अघि भाडा माझ्नेहरू आज पनि त्यही गर्दै छन्? ५वर्ष अघि ओसन सिटीमा दैनिक १८ घण्टासम्म काम गर्ने विद्यार्थी के आज पनि त्यही गर्दै छ? यी सब प्रश्नको उत्तर खोज्ने प्रयास मात्र भए पनि गर्न जरुरी छ ।

आलोचना गर्नेहरूले कुन भाडा माझ्नेलाई चिन्नुभएको छ जो भाडा आफ्नो परिवारको पालन लागि हैन तर सबै रक्सीमा उडाउन माझ्छ ? कुन ओसियन सिटी जाने विद्यार्थीलाई चिन्नुभएको जो बिद्यालयलामा वार्षिक शुल्क तिर्न नभई महिनै पिच्छे नयाँ गाडी फेर्नलाई १८ घण्टा काम गर्छ ?
यदि एक महिना अमेरिका घुम्न आउँदा पनि आफन्तले नेपालमा जस्तो हप्ता दिन अफिसमा बिदा लिएर घुमाउन सकेन भन्ने हो भने झुर छ अमेरिका । आज भाडा माझिराको छु, यसको मतलब म सधैँ भाडा नै माझेर बस्नु पर्छ भन्ने सोचाई छ भने खत्तम छ अमेरिका । बुढेसकालमा आइयो, के नै गर्न सक्छु र भन्ने हो भने पीडादायक छ अमेरिका । बाउआमाकै पैसामा मोज गर्न रमाइलो, आफै कमाइले पढ्न व्यर्थ ठान्ने हो भने सारै नमज्जा छ अमेरिकामा ।

अमेरिकामा भाँडा माझ्न तत्पर हुनु भनेको पनि कामलाई ठुलो वा सानो ठान्ने मानसिकताबाट बाहिर निस्कनु हो । आगामी दिनमा आफ्नो खुट्टामा आफै उभिने सङ्कल्प गर्नु पनि हो । र, त्यो कठिन शारीरिक एवं मानसिक मेहनतबाट गुज्रिनु हो, जसले केही वर्षमै ठुलो फड्को मार्न मद्दत गर्छ । तसर्थ अमेरिकामा नेपालीहरू भाँडा माझ्छन् के बिग्रियो त?

हाल : क्यालिफोर्निया, अमेरिका

9 comments to अमेरिकामा नेपाली भाडा मात्रै माँझ्छन् त ?

  • Raj

    I have to US last 25 yrs. I have hundreds of friends and husband wives both work as engineers, doctors and accountants. Actually, I hardly know any one who do dishes.

    So, it depends who you hang out with.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Kiran

    Bro ma pani 11 yrs bho usa ma basako.usa ma basna 95%nepali la manual labour garjan.baki business ki institution ko job.ma saga gadi cha, ghar cha dokha kahi chaina.tara nepali ko dokha dakhda laj lagja.nepal ma kahi garna nasakna la usa ma pani kahi garna sakdaina just survive garja.baki katha chahiama bhanawla.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bugati??

    त्यो माथि को “नेपाली” ब्रो comedy रहेछ. कुन जमाना को बुगति किनेछ ५ ओटा गास स्टेशन हुने बितिकै? कि bugati को tyre हाल्यो हो टोयोटा camry ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • राजन

    किन ग्यास स्टेशन ? ग्यास स्टेशन मा भाँडा माझ्ने ले त्यो भन्दा ठुलो केहि सोच्न सकेन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • gafadi

    ब्रो ले भर्खर apple मा job पाएछ! अब एसो सबैलाई सुनाउना त परिगो नि! कुनै काम सानो हुन्न भन्ने अनि ठुलो काम पाउने बित्तिकै mysansar बाट फुक्ने?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • म यो लेखक संग १००% सहमत छु | अमेरिकामा नेपाली हरुले खालि भाडा मात्र माजदैनन् , दिनहु दात पनि माझछन् |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • नेपाली

    तिम्रो जस्तो गफ गर्ने हो भनेत भाई मेरो ५ वटा ग्याँस स्टेसन छ र अहिले (बुगाटी) चलाएर हिँड्छु ओरेगन मा |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Jyaapu

    गर्नेले नेपालमै गरेको हुन्छ नगर्ने ले अमेरिका होस् या स्वर्ग नै पुगेनी कुरा मात्रै ठुलो ठुलो गर्छ – मैले भाडा माझे मैले गू सोरे |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • madan bajracharya

    “अमेरिका” संसारकै धनि र शक्ति शालि मुलुक हो/ यो मुलुककले अरवौं खरवौ डलर बिस्वको अन्य मुलुकलाई दान अनुदान पनि दिन्छ/ ई कुराहरु हेर्दा सबैलाई अमेरिकन र अमेरिकामा बस्ने सबै अत्यन्त सम्प्पन्न होला जस्तो लाग्न सक्छ/ तर यथार्तमा अमेरिकामा बस्ने आमअमेरिकन र त्याहा बसाई सर्ने अधिकांसको जीवन बाहिरको ले सोचे जस्तो सहज छैन/ त्याहाको गरिव र गरिबी गरिव मुलुकको गरिव गरिवी भन्दा धेरै धेरै कहाली लाग्दोनै छ/ अमेरिका “सम्पन्नको सान” बनेको मुलुकहो / अमेरिकाले आफुलाई बिस्वमै धनि मुलुक भयको कुरा स्थापित गरेको भयकोले यो मुलुकको ब्यबस्थापन नै यसरि भयको छ कि यहा गरिवले पनि आफ्नो गरिवीलाई उधारोमा किनेको सम्पन्नताले धाक्नै पर्ने बाध्यता छ/ अधिकाश अमेरिकाको बासिन्दाको जिन्दगि आफुलाई उधारोमा सम्पन्न देखायको ऋण चुक्ता गर्दैमा बिक्छ/ जो यो उअधारोको सम्पन्नताको चक्र ब्यूह बात आफुलाई मुक्त गर्न सक्छ अमेरिका सुनौलो अबसरको मुलुकहो; नसक्नेको निमित अमेरिका उधारोमा किनेको सम्पन्नताको ऋण चुकाउन अन्तिम स्वाश सम्म घोतिनै पर्ने “श्रम सिविर” हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 3