यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रधानमन्त्री ओलीले हँसाउन छाडेर रिसाएको कस्तो नसुहाएको ! के कारण आयो हास्यरसको ठाउँमा रौद्ररुप?


प्रधानमन्त्री केपी शर्मा ओलीको हास्य रस अतुलनीय छ। उहाँ जनताले बुझ्ने गरी ठेट भाषामा ठट्यौलो किसिमले व्यङ्ग्यवाण प्रहार गर्न माहिर हुनुहुन्छ। त्यसैले अरु नेताहरुभन्दा उहाँको भाषण सुन्न मज्जा आउँछ। अरु सब कुरा एकातिर राख्नुस्, कम्तिमा मनोरञ्जन त दिनुहुन्छ उहाँले। हँसाउनु त हुन्छ। निराश नेपालीको ओठमा हाँसो ल्याउनु कम्ता उपलब्धिको कुरा हो?

तर अचेल प्रधानमन्त्री ओलीले आफ्नो त्यही मौलिकपना गुमाउँदै जानुभएको महसूस भएको छ। यत्रो समय भयो प्रधानमन्त्री भएको, देखाउन मिल्ने काम खासै गर्न सकिएन भनेर उहाँले हरेस खानुभएको हो कि। संसदमा मंगलबार त्यस्तै भयो। हास्यरसको ठाउँमा रौद्ररुप देखियो। हँसाउन छाडेर सामाजिक सञ्जालमा आफैले खटाएका अरिङ्गालहरु भिडे जसरी प्रतिपक्षीहरुसँग संसदको रोष्ट्रमबाट गरिमामय पदमा रहेका सम्माननीय प्रधानमन्त्रीज्यु मुखमुखै लाग्नुभएको दृश्य कस्तो नसुहाएको!

माझी नभएको डुंगा जस्तो भएको कांग्रेस जस्तो प्रतिपक्षीलाई आफ्नो हास्यरससहितको व्यङ्ग्यवाणबाटै उडाउन सक्षम हुनुहुन्थ्यो प्रधानमन्त्रीज्यु। संसदमा कि प्रश्नोत्तर राख्ने व्यवस्था नै नियमावलीबाट हटाइदिए हुन्थ्यो, दुई तिहाई छ- हटाइदिए हुन्थ्यो। प्रश्न राख्ने व्यवस्था भएपछि उहाँलाई निम्छरा लागे पनि प्रश्न त आउँछन् नै। तँ निम्छरा त म पनि निम्छरा भन्ने पारामा प्रधानमन्त्रीज्यु उत्रन हुँदैन थियो। नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीले रोष्ट्रममा बसेर प्रतिपक्षीसँग त्यसरी बाझाबाझ गरेको अनि रेफ्रीको भूमिकामा रहेका सभामुख कृष्णबहादुर महरा महानिरीह भएर बसेको जस्तो दृश्य पहिले कहिले भेटिँदैन। भविष्यमा भने भन्न सकिन्न। अझ योभन्दा बढी हुन नि सक्दैन भनेर कसरी भन्नु अहिलेको पारा हेर्दा। चिकित्सा शिक्षा विधेयक पनि प्रमुख प्रतिपक्षको विरोधका बीच सभामुखले पास गराएका थिए।

प्रधानमन्त्रीले निम्छरा शब्द प्रयोग गर्‍यो भनेर कांग्रेस चाहिने भन्दा बढी प्रतिक्रियात्मक भएकै हो। तर संसद गरिमाका साथ चलाउनु पर्ने सभामुख सरकारको छायाँका रुपमा देखिनु झन् विडम्बना हो। निम्छरा शब्दको अर्थ ‘१. (निम्नस्तर) धन, बुद्धि, विद्या, आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर। २. दुब्लो पातलो निर्बलियो।’ हुन्छ।

निम्छरा शब्द प्रयोग गर्‍यो भनेर प्रतिपक्षीहरुले आपत्ति जनाउँदा प्रधानमन्त्रीज्युले एउटा तुक्का हानेर सबलाई हँसाइदिएको भए वातावरण त्यसै सहज हुन्थ्यो। कांग्रेसलाई पनि बेक्कारमा विरोध गरिएछ भन्ने पर्थ्यो। लाजले कुर्सीमा बस्थ्यो। प्रधानमन्त्रीज्युसित त्यस्तो क्षमता नभएको हैन। तर, म सर्वशक्तिमान प्रधानमन्त्री। म दुई तिहाईवाला प्रधानमन्त्री। उनीहरुले यस्तो भन्ने? भनेर इख राखेको देखियो। ‘जवाफ चाहिन्छ कि चाहिँदैन?’, ‘म जवाफै दिन आएको हो किन दिन्नँ’ भन्ने जस्ता शब्द प्रयोग गरेर दम्भ देखाउन पटक्कै आवश्यक थिएन। प्रधानमन्त्री ओलीको विशेषता उहाँको हास्यरस हो, रौद्ररस हैन।

कांग्रेस कति नालायक छ भन्ने त उसले उभिएर विरोध गर्दागर्दै पनि मतदानको प्रक्रियामा भाग लिएकोबाट देखियो। सभामुखले त्यसरी प्रमुख प्रतिपक्षीलाई यस्तो सामान्य विवादमा पेलेर अघि नबढेको भए हुन्थ्यो। केही समय संसद स्थगित गरेर स्थिति सहज बनाउन नसकिने स्थिति पटक्कै थिएन। कांग्रेसभन्दा त बरु लक्ष्मणलाल कर्णको सुझबुझ राम्रो देखियो। उनले संसदमा प्रमुख प्रतिपक्षी उभिएर विरोध गरिरहेको असहज परिस्थित भएकोले केही समय संसद स्थगित गर्नुपर्नेमा नगरी सञ्चालन गरिएको भन्दै संसद सञ्चालनसँग म सहमत छैन त्यसैले प्रस्ताव फिर्ता लिने कि नलिने भन्ने कुरा बताउन चाहन्नँ भने। मतदानको प्रक्रिया अर्थात् हुन्छ र हुन्नमा पनि सहभागी भएनन्।

प्रधानमन्त्रीलाई रिस किन उठ्यो त? प्रश्न सोध्न पाइन्छ, अपशब्द प्रयोग गर्न पाइन्न उहाँले त्यतिबेलै भन्नुभएको थियो। खासमा के अपशब्द प्रयोग भयो त? अपशब्द प्रयोग भएको भए संसदको नियमावली अनुसार तत्काल आपत्ति जनाउन सकिन्थ्यो। उसले गर्‍यो म पनि गर्छु भन्ने पारा पो भयो यहाँ त।

अपशब्द भने पनि खासमा प्रधानमन्त्रीज्युको मर्ममै पर्ने गरी प्रतिपक्षीहरुले प्रश्नवाण प्रहार गरेका थिए। यसैका कारण हास्यरस गुमेर रौद्ररस देखापरेको थियो प्रधानमन्त्रीको।

केही नमूना यस्ता थिए-

प्रेम सुवाल : कुन कुन कम्युनिष्ट देशको राष्ट्रपतिले मेरो सरकार भन्ने चलन छ?

पुष्पा भुषाल : सबै अपराधी जेल गए भन्नुभो। निर्मला पन्तको अपराधी अहिले पनि जेल जान बाँकी छ। कहिले जेल जाने?

गगन थापा : राष्ट्रपतिज्यूको सरकारको प्रधानमन्त्रीज्यूले वाइडबडि खरिद प्रकरण, बालुवाटार जग्गा प्रकरणमा दोषीलाई दण्डित गर्न अभूतपूर्व काम गरेको भन्ने प्रसंसा गर्नुभयो। छानविन गर्ने निकाय एकातर्फ, फैसला दिने प्रधानमन्त्री। मन्त्रीज्यू निर्दोस हुनुहुन्थ्यो, महासचिव ठगिनुभएछ। यस्तो कुरा प्रधानमन्त्रीज्युले कहाँबाट थाहा पाउनुभयो?

दिलेन्द्रप्रसाद बडु : प्रधानमन्त्रीले महाकालीमा तुइन विस्थापित भनेर झुटा विवरण राख्नुभयो। झोलुंगे पुल बनाएको भनेर झुटा विवरण राख्नुभयो। २०४८ सालमै महाकालीमा झोलुंगे पुल बनाएको हो दार्चुलामा। अहिले कहाँ बनाएको हो झोलुंगेपुल? जानकारी दिनुपर्‍यो। झुटा विवरण राख्न सुहाउने कुरा भएन

डिला संग्रौला पन्त : यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ। वाइडबडी, ३३ किलो सुन कान्ड, बूढीगण्डकी काण्ड…। काण्डैकाण्डमा सरकार फसेको छ। प्रधानमन्त्रीज्यू भ्रष्टाचारको जगमा समृद्धि कहाँबाट हुन्छ?

पार्वता डिसी चौधरी : महाकाली नदीमा कुन कुन ठाउँमा कतिवटा तुइन विस्थापित भए जवाफ पाउँ। निर्मलाको हत्यारा कहिलेसम्म पत्ता लाग्छ? बालुवाटार खुला मञ्चलगायत सरकारी जग्गा अतिक्रमण भएको छ कहिलेसम्म त्यो जग्गा फिर्ता ल्याउनुहुन्छ। एनसेलसँग कर उठाउने कि नउठाउने सरकारको के सोच छ?

राजेन्द्रकुमार केसी : ३३ किलो सुन तस्करहरुलाई जेल चलान गरेँ भन्नुभयो। तर ३३ किलो सुन चाहिँ कहाँ छ प्रधानमन्त्रीज्यू? त्यसको जवाफ चाहियो।

सञ्जयकुमार गौतम : आपतकालीन हवाइ अवतरण गराउने राजमार्ग बनाउने कुरा आयो। तर देशका राजमार्ग साइकलमैत्री, वातावरणमैत्री, ओभरपास र अन्डरपास भएको बनाउँदा राम्रै हुन्थ्यो। यसबारे प्रधानमन्त्रीले के सोच्नुभएको छ?

देवेन्द्रराज कँडेल : मार्सीचामलदेखि मन्दिरको दर्शनसम्म बिहानबेलुकी बालुवाटारमा आउनेको लिष्ट यदि जारी गरियो भने त्यसबाट मात्रै थाहा हुन्छ कि प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्नुहुन्छ कि हेर्नुहुन्न। लिष्ट सार्वजानिक गर्नुस्, त्यहाँ भूमाफिया छन् कि मेडिकल माफिया छन् कि सुकुम्वासीका नाममा जग्गा अपरहण गर्ने माफिया छन् जानकारी हुन्छ।

अनिलकुमार झा : तुइन विस्थापित गरेको भन्नुभो, डुंगा विस्थापन कार्यक्रम आउँछ कि आउँदैन?

मिनेन्द्र रिजाल : नीति तथा कार्यक्रमको लिखित दस्तावेजमा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सम्माननीय लेखेको छ अडियो र भिडिओमा माननीय छ के सत्य हो जानकारी पाउँ। संविधानको भाग ५,६ र ७ ले राष्ट्रपतिको मातहत नेपाल सरकार राखेको छैन। प्रदेश संघको मातहत भन्नुभयो प्रधानमन्त्रीले तर संविधानको धारा ५६ ले साझा होइन बेग्लाबेग्लै क्षेत्राधिकारको व्यवस्था गरेको छ। मातहत होइन। क्षमा गर्नुस् प्रधानमन्त्रीज्यू हामीले भनेको कुरा तपाइँलाई गम्भीर लाग्दैन। तपाइँले बोलेका कुरा आमनागरिकलाई ख्यालठट्टा, मनोविनोद, व्यंग्यविनोद लाग्न थाल्या छ। यो व्यवधान कहिले हट्छ? कम्वोडियाको भ्रमणपछि कि अझ पर्खनुपर्छ?

लक्ष्मी परियार : संविधानको धारा ४० बमोजिम दलित विपन्न परिवारलाई आवास र जमिन उपलब्ध गराउनु पर्ने कुरा नीति तथा कार्यक्रममा कहाँ लेखिएको छ? कि यो पनि सरकारलाई पाखण्डी कुरा भएको छ? हुनत यो संसदीय मर्यादाको कुरा आउला तर यो शब्द सम्माननीय प्रधानमन्त्रीज्युको हो। त्यसैले यो राम्रो होला भनेर मैले दोहोर्‍याएँ।

ज्ञानेन्द्रबहादुर कार्की : काठमाडौँका मान्छेले मास्क लगाउन छाडेको भन्नुभो। प्रधानमन्त्रीज्युलाई थाहा रहेनछ काठमाडौंलाई डस्टमाण्डौं भन्न थालिएको छ। डस्टमान्डौमा मास्क लाइन्छ कि लाइन्न प्रधानमन्त्रीज्यूले जानकारी दिनुपर्‍यो।

मीनबहादुर विश्वकर्मा : सम्माननीय प्रधानमन्त्री ज्युले कोशीमा एकपटक के स्टीमर देख्नुभएछ बारम्बार पानीजहाजको गीत गाइराख्नुभएको छ। त्यो स्टीमर २०६१ सालदेखि स्थानीयबासीले सञ्चालन गरेका हुन्। पहिला प्रधानमन्त्री हुँदा पाइपबाट ट्याक्क गरे भान्सामा ग्यास आउँछ भन्नुभाथ्यो। कहिले आउँछ? भ्रष्टाचार गर्दिनँ भन्नुभएको छ। २५ अर्बभन्दा माथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने नियम बनाइएको छ। अब भ्रष्टाचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला।

मीना पाण्डे : निर्मला पन्तको हत्यारालाई एक पटक थुनेर देखाइदिनुपर्‍यो प्रधानमन्त्रीज्यू।

अमरेशकुमार सिंह : नागढुंगा- थानकोट ८ किलोमिटर पिच गर्न नसक्नेले ८ हजार किलोमिटर पिच गरेको गफ पत्याउँदैनन्।

प्रकाश रसाइली : बुढीगण्डकी विना प्रतिस्पर्धा किन चिनियाँलाई दिइयो? मेडिकल कलेजले विद्यार्थी थुनेर पैसा लिने गरेको छ सरकार कहाँ लुकेर बसेको छ?

बालकृष्ण खाँण : एयरपोर्टलाई हाइवे बनाउन खोज्नुभा हो कि हाइवेलाई एयरपोर्ट बनाउन खोज्नुभा हो?

हेर्नुस् संसदमा भएको हङ्गामाको भिडियो

2 comments to प्रधानमन्त्री ओलीले हँसाउन छाडेर रिसाएको कस्तो नसुहाएको ! के कारण आयो हास्यरसको ठाउँमा रौद्ररुप?

  • Sikkum

    “अब भ्रष्टाचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला।”

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • सौरभ

    ने.का. साँचै निम्छरा छन, नीरिह छन, अहिलेको सरकारले सम्हाल्न समय खर्चिनु परेको मुद्दा हरु ने.का. ले नै विरासतमा दिएका हुन| अरिंगालहरु पनि उस्तै निम्छरा नै देखिए|
    प्रधान मन्त्रीमा अस्वाभाविक दम्भ देखियो| व्यर्थमा शब्दजालमा अलमलिए|
    प्रश्न उठाउन पर्ने मुद्दा भनेको–
    कम्बोडिया र भियतनाम भ्रमणका अपेक्षित उपलब्धिहरु के हुन?
    पुर्णत अनावश्यक भ्रमण हो|ढुकुटीको खर्च मात्रै| बरु सुडान र हेटिमा गए हुन्थ्यो जँहा नेपाली शान्तिसेना छन|
    स्मरण रहोस, ज्ञानेन्द्रले सत्ता पट्टा पुर्णत आफ्नो हातमा लिए पछि बंगलादेश गए सम्मेलनमा भाग लिन र त्यहाबाट यात्रुहरुलाई अलपत्रै पारेर आर.एन.एसी. को जहाज लिएरै काम न काजको मीटिंगमा भाग लिन ट्युनिसिया भन्ने मुलुक तिर हानिए| निकट व्यक्तिहरुलाई लिएर ज्ञानेन्द्रको त्यहा जानुको उदेश्य अर्कै थियो, व्यक्तिगत थियो भन्ने पनि सुनियो, खुलिएला कुनै दिन| जे होस्, उनी अहिले इतिहास बनेका छन| मुलुकका जल्दा बल्दा समस्याहरुलाई लत्ता छाडेर किन व्यर्थमा गएछु भनेर फुर्सदै फुर्सदमा झमझम पोल्द हुन उनलाई|
    प्र.मा.का निम्छरा सल्लाहाकार र निकटलाई दक्षिण पुर्ब एसियाको सरकारी खर्चमा भ्रमण गर्न प्यास लागेका होलान त? जब परराष्ट्रका ज्ञाता र विज्ञहरुले अहिलेको समयमा ती दुई मुलुक भ्रमण गरेर नेपाललाई कुनै फायदा हुनेवाला छैन भनेर प्रष्ट पारेका छन, किन गैरहनु पर्यो?
    दुई तिहाईले जे पनि गर्न सक्छु भन्ने हो?
    प्रा. डा. सुरेन्द्र केसीले बारम्बार के भन्दै आउनु भएको छ भने एउटा लेख नलेखी र विदेश नीति सम्बन्धी कुनै वुनियादी विज्ञता नभएको र एघार क्लास पास गरेकोलाई परराष्ट्र मन्त्रालयको गहन जिम्मेवारी दिईएकोले यो अवस्था नेपालीले भोग्नपरिरहेको हो|
    प्रा. डा. केसीकै शब्दहरुमा “त्यत्रा दुई दुई वटा ब्लनडर हुँदा र राष्ट्रकै इज्जत शर्ममा पार्दा पनि किन परराष्ट्र मन्त्रालयमा कसैलाई केहि कारवाही भएन?”

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0