यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यस्तो पनि ‘कविता’ हुन्छ? मैले नबुझेका ‘कविताहरु’


साहित्यमा रुचि राखे पनि साहित्य बुझ्नु मेरो क्षमता बाहिरको कुरो हो। तर पनि सानैदेखि नै मैले महेन्द्रमालामा भएका सबैजसो कविताहरु घोकेर कण्ठस्थ पारेको हुन्थें अनि मौका पाउनासाथ तिनै कविता गुनगुनाइ हाल्थेँ। मैले आजसम्म कविता लेखेको छैन। कथा, निबन्ध, नियात्रा, समालोचना आदि लेखन भन्दा कविता लेखन साहित्यमा सबैभन्दा प्रसिद्ध र सबभन्दा गाह्रो कुरो हो। साहित्य भन्ना साथ सबैले पहिले कविता नै सोच्छन्। त्यसमा पनि छन्दमा कविता लेख्नु त निकै नै गाह्रो कुरो भैसक्यो। अहिले नेपाली भाषामा छन्दमा कविता लेख्न सक्ने कविहरु सायद हातका औलामा गन्न सकिने संख्यामा होलान्। छन्दमा मात्र भर परेर कविता लेख्ने हो भने केही समय पछि सायद कविता विधा नै नहराउला भन्न सकिन्न तर छन्दमा लेख्न नसके पनि अन्य भाकाहरुमा लय मिलाएर कविता लेख्ने गरेकाहरुको लागि त्यति गाह्रो होला जस्तो मलाई लाग्दैन।

अहिले कविताको नाममा जथाभावी जे मन लाग्यो त्यही अनि जस्तो मन लाग्यो त्यस्तै लेख्ने चलनले बढावा पाएको देख्दा बालकृष्ण समको ‘इच्छा’, माधव प्रसाद घिमिरेको ‘बन जीवन्त मानिस’, देवकोटाको ‘यात्री’, लेखनाथको ‘चरीको विलाप’, कृष्ण प्रसाद भट्टराईको ‘आमा’ जस्ता कविता पढेर हुर्केका हाम्रो पिंढीको लागि अलि अपाच्य भए जस्तो लाग्छ। मेरो सानो दिमागले बुझे अनुसार कविता भनेको अवश्य पनि लय मिलेको हुनु पर्छ।

छन्दमा लेख्न सबैले सक्दैनन् तर कविता भनिसकेपछि कमसेकम लय र सुर त मिल्नु पर्‍यो भन्ने मेरो मान्यता हो। हुन त त्यतिबेला नै सायद दश कक्षामा पुग्दा हामीले एक दुईवटा तिनै लय नमिलेका गद्यलाई जबर्जस्ती ‘कविता’ भनेर पढ्यौं तर ती गद्यहरुलाई मैले त्यति बेलादेखि नै कविताको संज्ञा दिन मनमनै इन्कार गरिसकेको थिएँ।

कविता भनिसकेपछि लेख्नेलाई पनि ‘ए, मैले राम्रो सिर्जना गरें’ भन्ने लागोस् अनि पढ्नेलाई पनि कविता पढे जस्तो होस् अनि बल्ल पाठकले पनि लेखकलाई हृदयदेखि नै कवि भन्नमा हिच्किचाउँदैन।

नेपाली साहित्यका विभिन्न विधाको परिभाषा कुन निकायले बनाउँछ मलाई थाहा छैन, तर मेरो बुझाइमा कविताको परिभाषा सायद अलि बाहिर गयो कि जस्तो लागेको छ। हुन त मैले भनेर कसले पो सुन्ला र तर जब केही समय पहिले मैले यो वर्षको राष्ट्रिय कविता महोत्सवमा पहिलो भएको कविता पढें, मलाई कविताको बेइज्जत भए जस्तो लाग्यो। मैले त्यो कविता लेख्ने कविलाई चिन्दिनँ, उहाँ सायद ठूलै नाम चलेको साहित्यकार हुनुहुन्छ होला तर पनि त्यो कवितालाई कविता मान्न मेरो मनले भित्रैदेखि दिएन।

अहिले मदन पुरस्कारमा छनौट भएको कविता संग्रहका केही कविताहरु पनि मैले सुन्ने मौका पाएँ। ती कविता सुन्दा मलाई आफैलाई थाहा भएन मैले कुनै भाषण सुन्दै छु कि कविता। मैले यसो भनेर सर्जकहरुलाई होच्याउन खोजेको होइन, उहाँहरुको प्रतिभालाई सानो आँकेको पनि होइन तर कविताको परिभाषामा मेरो आपत्ति हो।

ती दुई उदाहरण मात्र हैन, अहिले निकै नाम चलेका ‘कवि’ हरुको कविता पढ्दा पनि सुन्दा पनि मलाइ पटक्कै ती गद्यहरुलाई कविता मान्न मेरो मनले दिंदै दिंदैन। ती सृजनामा अवश्य पनि निकै राम्रो साहित्य लुकेको होला त्यसैले त ती कविताहरु र कविहरुले त्यत्रो पुरस्कार पाए, समालोचकहरुको वाह वाह पाए तर मैले चाहिँ पटक्कै बुझ्न सकेन त्यसैले त मैले पहिले नै भनिसकें साहित्य बुझ्नु मेरो क्षमता बाहिरको कुरो हो।

मलाई थाहा छैन अन्य पाठकहरुले कस्तो सोच्नु हुन्छ तर सारा पाठकहरु एकातिर अनि म एक्लै एकातिर भए पनि म ती गद्यहरुलाई कविता मान्न पटक्कै तयार छैन।

त्यसो भनेर मैले ती रचनाहरुलाई र रचयिता हरुलाई अपमान गर्न खोजेको होइन, ती रचना पनि साहित्यका रचना हुन, हाम्रो भाषा र साहित्यमा निकै ठूलो योगदान पु-याएका छन् । तर तिनलाई कविताको विधामा राख्नु भन्दा गजल, सायर, मुक्तक या अरु कुनै नयाँ विधा बनाएर राखेर कवितालाई शुद्ध कवितामै राख्दा सायद म जस्ता साहित्य नबुझ्ने मुर्खहरुको मन अलि शान्त हुन्थ्यो कि जस्तो लाग्छ।

सम्बन्धित सामाग्री
बरु, चाहिँदैन मलाई आइफोन, चाहिंदैन मलाई सुनको चुरा, अलिकति रङ लिएर आउनुहोस्, र, खुइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्, हजुरलाई मेरो सिउँदोको रातो सिन्दूरको कसम, हजुरलाई मेरो सौभाग्यको चुरापोतेको कसम,हजुरलाई मेरो जिन्दगीको कसम, मेरो परान, मैले मात्र होइन,आज यो देशले पनि हजुरलाई पर्खिरहेछ यो वर्षको राष्ट्रिय कविता महोत्सवमा पहिलो भएको कविता

कविता कविको कल्पना मानिए पनि अतिशय भावुकता या अतिरञ्जनामा खोट हुन सक्छ । ‘विश्वलाई नै पोत्न पुग्ने रङ मेरो देशका गुराससँग सापटी माग्नू’, ‘पृथ्वीभरिकै फोहोर पखाल्न पानी चाहिए मेरो देशका नदीसँग सापटी माग्नू’ या ‘मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले नौलाख बत्ती बाल्न पुग्ने बिजुली निक्लन्छ’ भन्नुमा कति कवित्व झल्केला ? कविता खालि कम्प्युटर–किबोर्डको एक इन्टर होइन । क्रियापदबाट सुरुआत हुनु पनि होइन । कवितालाई रबरजस्तो तन्काइरहने शैली त अझ फजुल खर्च मात्र हो । शब्दमा किफायती कविले मात्र कमाल गर्न सक्छ । राजकुमार बानियाँको समीक्षा : कच्चा काव्यखाना

1 comment to यस्तो पनि ‘कविता’ हुन्छ? मैले नबुझेका ‘कविताहरु’

  • Shankar

    कृष्ण प्रसाद भट्टराइको ”आमा ” भन्ने कबिता छ , छैन कस्तो छ , त्यो त् थाह भएँन तर गोपाल प्रसाद रिमाल को ”आमा ” चै धेरै पपुलार कबिता हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0