यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चितवनमा भएको के हो? के हो हल्ला, के हो यथार्थ ? चितवनबाट फर्केपछिको रिपोर्ट

  • चितवनबाट फर्केपछि उमेश श्रेष्ठ


होटल कङ्गारु। रुम नम्बर २०२।

साउन २० गते यही ठाउँमा भएको एउटा घटनाले पूरै देश तरङ्गित छ।

नारायणगढ-मुग्लिङ राजमार्गबाट नारायणगढ बजार हुँदै पूर्व पश्चिम राजमार्ग जोडिनुअघि एउटा बसपार्क छ। पोखरा बसपार्कले चिनिने त्यो बसपार्कबाट पोखरा, लमजुङ, गोरखा आदि ठाउँमा जाने बसहरु पाइन्छ। काठमाडौँ जाने माइक्रोबस पनि त्यहीँबाट लाग्छ।

बसपार्क भएकोले चहलपहल भइरहने ठाउँ हो त्यो।

मलाई लागेको थियो होटल बसपार्कभन्दा अलि पर नै थियो होला। तर कङ्गारु होटल खोज्दै गर्दा पो थाहा भयो- बसपार्कै अगाडि रहेछ। बसपार्कलाई टार्गेट गरी अरु पनि होटलहरु त्यहाँ रहेछन्।

भदौ ६ गते शुक्रबारका दिन त्यहाँ पुग्दा लागेको थियो- प्रहरीले होटल ‘सिल’ गरेको होला। अथवा होटल साहु त्यहाँ बस्न नसक्ने भएर सटर तानेर अन्यत्रै बसिरहेका होलान्। किनभने त्यो कोठामा मृत भेटिएका शालिकराम पुडासैनीका आफन्तले हत्या भएको दावी गर्दै सबैभन्दा पहिला जाहेरी होटल साहु यज्ञबहादुर कार्कीविरुद्ध नै दिएका थिए। त्यसपछि प्रहरीले उनैलाई नियन्त्रणमा लिएको थियो।

‍शून्य थियो होटल। कोही गेस्ट थिएनन्। सुरुमा त उनले बोल्न मन पनि गरेनन्। बिस्तारै उनी खुल्दै गए। त्यो दिनको घटनाबारे बताए।

उनी लगायत अन्यसँगको कुराकानी, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुसँगको कुराकानी, हाम्रो एफबिआई अर्थात् फेसबुक ब्युरो अफ इन्भेस्टिगेसनको अनुसन्धान, प्रहरीको अनुसन्धान प्रक्रिया र प्रमाणहरु समावेश मिसिल आदि विभिन्न स्रोतहरुको अध्ययन र एक्सपर्टहरुसितको सल्लाहबाट मैले २०७६ साउन २० गते भएको के थियो होला, त्यसको विश्लेषण गर्ने प्रयास गरेको छु।

सम्भावना नम्बर १

शालिकराम पुडासैनी एक चर्चित तथा होनहार पत्रकार थिए। सीधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछानेसँग काम गर्दा उनी जोखिम मोलेर काम गर्थे। त्यसैले शत्रु कमाएका थिए। यही कारण उनलाई मारेर रवि दाइहरुलाई फँसाउने षड्यन्त्र अपराधीहरुले रचे।

त्यसका लागि उनीहरुले शालिकरामलाई मार्नै भनी चितवन ल्याए। होटल कंगारुमा बोलाए। हत्यारा ग्याङले बन्दूक देखाएर तर्साएर बाध्य पारी यो-यो भन भनेर कागजमा लेखेको कुरा पढ्न लगाएर भिडियो खिचे। आत्महत्या गरेको जस्तो देखाउन डोरी किन्न पठाए। रडले हिर्काए, करेन्ट लगाए, यातना दिएर मारे। त्यसपछि त्यही कोठाको सिलिङ फ्यानमा झुण्ड्याए। अनि भित्रबाट कोठा लक गरेर झ्यालबाट भागे। यो आत्महत्या हैन, हत्या हो।

यो सम्भावनाका लागि हाम्रो एफबिआईका प्रमाण

• भिडियो अर्कैले खिचेको हो। सेल्फी भिडियोमा नमस्ते कसरी गर्न सकिन्छ?

• भिडियोमा कहिले सिरानी देखिँदैन कहिले सिरानी देखिन्छ

• भिडियोको बीचमा ‘किन’ भनेको आवाज सुनिन्छ

• लाशमा निलडाम र करेन्ट लगाएको जस्तो देखिने घाउचोट छ

• फोटोमा शालिकरामको शरीरले एउटा खुट्टा खाटमा छोएको देखिन्छ। त्यसरी पनि आत्महत्या हुन्छ?

• मुचुल्का उठाउँदा प्रहरीले नै रडले हानेको भनेको छ

• शालिकरामको आँखाको नानीमा मान्छेहरु देखिएका छन्

• शालिकरामलाई मारेर भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिरिए। झ्यालबाट सहजै बाहिर अर्को कोठामा जान सकिन्छ।

सम्भावना नम्बर २

शालिकरामलाई मार्ने उद्देश्यले नै हत्यारा ग्याङले चितवन ल्याएका थिए। त्यसअघि नै उनीहरुले आफ्नै उपस्थितिमा भिडियो खिच्न लगाए। अनि कुनै अज्ञात ठाउँमा उनीहरुले शालिकरामलाई बेस्कन यातना दिए। रडले हाने, करेन्ट लगाए। मारे। अनि थाहा पाउँछन् भनेर लाशलाई त्यो होटलको कोठामा ल्याएर झुण्ड्याइदिए। अनि भित्रबाट कोठा लक गरेर झ्यालबाट भागे।

यो सम्भावनाका लागि हाम्रो एफबिआईका प्रमाणलाई माथि सम्भावना नम्बर १ कै लागू हुने भए पनि एउटा थप गर्न सकिन्छ-

• होटलको सिसिटिभी क्यामेराको फुटेज खै ? किन बिग्रयो?

प्रहरीको नालायकी

आत्महत्याका धेरै केसमा ‘हत्या’ हो भनेर पब्लिक प्रेसर हुने नौलो कुरा हैन। कहिलेकाहीँ प्रधानमन्त्री तहसम्मबाट यस्तो प्रेसर आउँछ भन्ने कुरा सार्वजनिक भइसकेको छ। एउटा उदाहरण यता छ।

बजारमा कस्तो-कस्तोसम्म हल्ला चलिरहँदा प्रहरी भने बेखबर झैँ रह्यो। सिआइबीको अनुसन्धान जेसुकै होस्, सर्वसाधारणको मनमस्तिष्कमा हाम्रो ‘एफबिआई’का अप्रमाणित हल्ला बसिसकेका थिए, जसलाई चिरेर वास्तविक कुरा यो हो है भनेर आधिकारिक रुपमा भन्न प्रहरी चुक्यो।

सिआइबीको नेतृत्व गरिसकेका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्- ‘मिडिया म्यानेजमेन्टमा प्रहरी नेतृत्व चुकेको छ। यति धेरै प्रश्न र देशभरबाट चासो उठिसकेपछि प्रहरीले केन्द्रीय तहबाटै यथार्थ कुराहरु प्रष्ट पारिदिनु पर्थ्यो।’

हुन पनि मूलधारका मिडियाले यस्ता हल्लाहरु बारे केही नलेख्दा समेत सामाजिक सञ्जालमा चलेको हल्लाकै भरमा मान्छेले आफ्नो विचार बनाइसकेका थिए। निर्मला प्रकरणमा पनि यस्तै हल्लाका कारण परिस्थिति बिग्रिएको थियो। मिडियाले बरु केही पाठ सिके त्यसबाट, प्रहरी भने नालायकै रहेको देखियो।

निर्मला प्रकरणमा बम दिदीबहिनीको चरित्रबारे नानाभाँती गाली गरेर सामाजिक सञ्जाल भरिएका थिए। उनीहरुको घरमा एसपी विष्टको छोरा र मेयरको भतिजा आउनेसम्मका हल्लालाई अनलाइनखबरले आधिकारिकता दिएर समाचारै बनाएको थियो। हुँदै नभएको भैँसी ब्याएको थियो। अम्बाको रुखमा झुण्ड्याइएको, अम्बाको रुख काटेको, कपि नभिजेको जस्ता हल्ला फैलिएको थियो।

यस पटक पनि त्यस्तै भयो।

‘कम्तिमा हत्या कि आत्महत्या के हो? पोस्टमार्टम रिपोर्टमा के आएको छ? शरीरमा निलडाम कस्तो अवस्थामा देखिन्छ? भिडियोको वास्तविकता के हो आदिबारे विज्ञलाई राखेर तथ्य प्रष्ट्याउन जरुरी थियो’, मल्ल भन्छन्।

तर चितवन प्रहरी दानबहादुर मल्लले दोस्रो पटक ५ दिन म्याद थप गरिसकेपछिको पत्रकार सम्मेलनमा पोस्टमार्टम रिपोर्ट के आयो भनेर सोधिएको प्रश्नको समेत जवाफ दिन चाहेनन्। यसले हल्लालाई अझ फैलाउने काम मात्र गर्‍यो। (भिडियो लिङ्क)

आधिकारिक रुपमा प्रहरीबाट केही पनि नआउने, मिडियामा पनि यसबारे केही नआउने। तर चासो धेरै। अनि मान्छेले केमा विश्वास गर्ने भए त? त्यही हाम्रो ‘एफबिआई’लाई।

अनुसन्धान प्रक्रियाबारे सामान्य जानकारीसमेत नभएका सर्वसाधारणले अनुसन्धान गर्न थाले भने त्यसले कस्तो गम्भीर परिणाम ल्याउँछ र निर्दोषलाई कति पीडित पार्छ भन्ने एउटा राम्रो प्रमाण बोस्टनमा भएको बम विस्फोट काण्डमा रेड्डिट प्रयोगकर्ताहरुले आआफै अनुसन्धान गरी सुनील त्रिपाठी नामका एक निर्दोषलाई आरोप लगाएको घटनाले देखाउँछ। पछि उनी मृत भेटिएका थिए। उनको परिवारलाई अज्ञात व्यक्तिहरुले धम्की दिन थालेका थिए। यो बारेमा बीबीसीले इन्टरनेटका जासुसहरु कसरी गलत भए भनेर एउटा लामो रिपोर्ट बनाएको छ। पढ्न यहाँ क्लिक गर्नुस्। पछि रेड्डिटले सार्वजनिक रुपमा माफी माग्यो। यो घटनाबारे थप जानकारी यसमा पनि छ।

‘प्रहरीको चेन अफ कमान्ड पनि देखिएन’, पूर्व डिआइजी मल्ल भन्छन्, ‘प्रहरीप्रति यति धेरै नकारात्मक स्थिति निम्तिरहँदा कम्तिमा प्रदेश नम्बर ३ का डिआइजी गएर प्रेस कन्फ्रेन्स गरी मिडिया म्यानेजमेन्ट गर्नुपर्थ्यो। हल्ला चिर्ने काम गर्नुपर्थ्यो।’

भएको के थियो?

खासमा भएको के थियो भन्ने प्रश्नमा जानुअघि सम्भावनाहरुमा पनि प्रतिप्रश्न गरौँ न। किनकि अक्सर धेरैले मानेर दिमागमा स्थापित भइसकेको तथ्य भएपछि सामान्य लजिक पनि नलागेको हुनसक्छ।

मैले आफन्त, साथीभाइ, चितवन जाँदा बाटोमा भेटिएका धेरै मान्छेसँग कुरा गरेँ। धेरैले यसलाई हत्या नै हो भनेर ठोकुवै गरे। प्रहरीले भने हत्या हैन आत्महत्यातर्फ केन्द्रित भई अनुसन्धान गरेको थियो। किन हत्या हैन भन्नेबारे प्रष्ट पार्नुपर्ने जिम्मेवारी त प्रहरीको थियो। तर खै त उसले प्रष्ट पार्न सकेको? अनुसन्धानमा अनुभव र दक्षता दुवै भएको प्रहरीले प्रष्ट पार्न नसक्दा हावी हुने त त्यही हाम्रा ‘एफबिआई’ हुन् जसको काम अनुमान गर्ने हो। तर त्यसमा पनि केही लजिक त हुन्छ। त्यसैले त यो धेरै फैलिन्छ।

अब आउँ हामी विश्लेषण गरौँ सम्भावना १ र २ तर्फ। दुवैको निश्कर्ष अरुले नै मारेको भन्ने हो। एउटामा त्यहीँ मारेको, अर्कोमा बाहिर मारेर ल्याई त्यहाँ फ्याँकेको भन्ने हो।

मार्नुपर्ने कारण (मोटिभ) के ?

पत्रकार शालिकराम पुडासैनीलाई मार्नुपर्ने कारण के हो त? उनलाई धेरैले चिनेका पनि थिएनन्। उनले चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा काम त गरेका थिए, तर उनको अनुहार एक पटक पनि टेलिभिजनमा नदेखाइएको कार्यक्रमका प्रोड्युयसर दीपक बोहरा बताउँछन्। उनी पत्रकारिताको सैद्धान्तिक ज्ञान भएका (पत्रकारिता अध्ययन गरेका) व्यक्ति पनि हैनन्। माउन्टेन टेलिभिजनमा उनले चलाउने मिसन न्युज कार्यक्रम धेरैले हेरेका पनि छैनन्। रवि लामिछानेसँग काम गरिसकेको भएर उनका केही कुरा शत्रुहरुलाई थाहा भएको र रविलाई फँसाउन भिडियो बनाउन लगाएर मारेको भन्ने अनुमान गर्न सकिन्छ।

हाम्रो एफबिआईको अर्को तर्क पनि छ- शालिकरामलाई मार्ने र रविलाई फँसाउने उद्देश्यले नै हत्यारा ग्याङले चितवन ल्याएका थिए। उनीहरुले यसका लागि चितवन नै किन रोजे भने यहाँ प्रचण्डकी छोरी भरतपुरमा मेयर छिन्। अनि त्यहाँको प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि प्रचण्डका पहिलेका बडीगार्ड हुन्। प्रचण्ड र रविको भयङ्कर दुश्मनी छ। प्रचण्डकी छोरी रेणुले भरतपुरमा चुनाव जिते स्टुडियोमै रविले झुण्डिएर मर्छु भनेर भनेका थिए रे। मदन भण्डारीलाई पनि चितवन मै मारेका हुन्।

अरुले मारेको भए ढोका भित्रबाट ‘लक’ कसरी भयो?

त्यसो भए हामी अरुले मारेको भन्ने अनुमानित निश्कर्षमा पुग्यौँ। त्यही कोठामा मारेको रे ल। त्यसो भए प्रश्न आउँछ- ढोका भित्रबाट ‘लक’ कसरी भयो?

‘सादा खाना बनाइदिनू’ भनेर गएको तर खान तल नझरेको, ढकढक गर्दा पनि नखोलेको भएर होटल साहुले प्रहरीलाई खबर गरे। प्रहरीले अन्दाजी राति पौने १० बजे ढोका फुटाएर हेर्दा सिलिङ फ्यानमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा देखिएको थियो।

ढोका लक, झ्याल बन्द।

के झ्यालबाट भाग्न सक्ने अवस्था थियो? हामीले त्यो कोठाको झ्यालमा गएर हेर्‍यौँ। सेतो रङको ग्रिल नराखिएको स्लाइड गर्न मिल्ने खालको झ्याल थियो। आल्मुनियमको झ्याल बाहिरबाट स्लाइड गरेर पनि बन्द गर्न मिल्ने खालकै छ। तर झ्यालबाट निस्केर भाग्ने ठाउँ छ त?

होटलको छेउमै एउटा फराकिलो गल्ली छ र पारीपट्टी अर्को घर छ। झ्यालबाट पारीपट्टीको अर्को घरमा उफ्रेर जान सम्भव छैन।

झ्यालमुनि भिरालो (स्लोप) भएको करिब आधा फिटको टप छ जहाँ सहजै उभिन समेत सकिन्न। डोरीको सहायतामा ट्याक्टिकल ट्रेनिङको स्किल भएका व्यक्तिले बाहेक सामान्य अवस्थामा निस्कने अवस्था देखिन्न। त्यस्तो डोरी झ्यालमा भेटिएको पनि छैन। डोरी बाँधेको कुनै संकेत पनि देखिएको छैन। न त तीन तल्लामाथिबाट हाम्फाल्न नै सकिन्छ। फेरि बसपार्क नजिकको खुला ठाउँको घर भएकोले बाहिरबाट देख्ने सम्भावना पनि उत्तिकै हुन्छ।

रुम नम्बर २०२ खासमा ८ बाई १२ को सानो कोठा हो। मूलढोका बाहेक बाहिर निस्कने ठाउँ त्यही एउटा झ्यालमात्रै हो। अर्को कुनै झ्याल प्यासेजतिर छैन।

त्यो भएको झ्यालबाट निस्केर डोरी बिना अर्को कोठामा जान सम्भव छैन। अर्को कोठा भन्नाले नजिकैका कोठा रुम नम्बर २०१ र २०३ हुन्। ती कोठामा त्यो दिन बसेकाहरुसित प्रहरीले अनुसन्धान गरेर कुनै लिङ्क नदेखेको पुष्टि भइसकेको छ।

रुम नम्बर २०१ र घटना भएको रुम नम्बर २०२ नजिकै छन्। दुई कोठाको चौकटको दूरी निकै कम छ। अर्थात् ठूलो स्वरले बोल्यो, चिच्यायो भने सुन्न सकिने अवस्था छ। धेरै मान्छे आउजाउ गरेको भए अर्को कोठामा बसेकाले थाहा पाउने अवस्था छ।

नाइलनको डोरी किन किन्न गए?

शालिकरामले होटलबाट करिब १५० मिटर टाढा रहेको पसलबाट नाइलनको डोरी किनेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ। पसलमा सिसिटिभी रहेछ। सो सिसिटिभीको फुटेजमा शालिकरामले डोरी किन्दै गरेको देखिएको छ। त्यसलाई प्रहरीले विशेषज्ञबाट पुष्टिसमेत गराइसकेको छ।

पसलका साहुले पनि प्रहरीमा बयान गरिदिएका छन्। डोरी बेच्ने पसलका कामदारको पनि कागज भएको छ। डोरी बेच्ने योगेन्द्रको भनाई अनुसार शालिकरामले सुरुमा चार मिटर डोरी माग्दा पसलेले ‘हामी खुद्रा बेच्दैनौँ’ भनेका थिए।

पछि केका लागि भनेर सोध्दा शालिकरामले ‘लुगा सुकाउन’ भनेछन्।

त्यसो भए चार मिटरले पुग्दैन होला पाँच मिटर लैजानुस् भनी नापेर डोरी दिएको बताएका छन् डोरी बेच्नेले।

यदि अरु कसैले मारेर झुण्डयाएका भए आफै डोरी किन्न किन जान्थे? कसैले कोठामा धम्क्याएका भए पनि बाटोमा डोरी किन्न पठाउँदा भाग्न वा हारगुहार माग्न सम्भव थियो।

शरीरमा निलडाम, चोटपटक कसरी?

शालिकरामको शरीरमा कुटेको डाम र चोटपटक कसरी देखियो भनेर सामाजिक सञ्जालमा भ्रमपूर्ण फोटोहरु पनि पोस्ट भए। एउटा फोटोको फ्याक्ट चेक गर्ने क्रममा त्यो कास्मिरको फोटो रहेको पनि खुल्यो।

शरीरमा निल डाम देखिएका हुन् तर हल्ला फैलिएपछि त्यो प्राविधिक विषयलाई प्रहरीले विज्ञलाई भन्न लगाएर चिर्ने काम गर्नुपर्थ्यो। झुण्डिएर मरेको केही समयपछि रक्त सञ्चार रोकिन्छ र गुरुत्वाकर्षणका कारण रगत जमेर शरीरमा त्यस्तो नीलो देखिने गर्छ। यत्रो चासोको विषयमा प्रहरीले प्रेस कन्फ्रेन्स गरी पोस्टमार्टम गर्ने डाक्टरलाई राखेर भन्न लगाएको भए भइहाल्थ्यो।

खुट्टामा देखिएको चोटपटकको कुरा गर्दा भोलिपल्ट परिवारका सदस्यहरु चितवनमा आएको दिन हत्या भन्ने कुरामा बवाल हुँदा त्यही होटलमै शालिकरामकी श्रीमतीले ‘यो केटीको लफडाले भएको कुरा हो, पाप नबोलौँ, त्यो खुट्टाको डाम अगाडि नै मोटरसाइकल एक्सिडेन्टमा पर्दा साइलेन्सरले लागेर भएको हो’ भनेर बोलेको सुन्नेहरु नै रहेछन्।

शालिकरामको मोबाइलको डिजिटल फरेन्सिक ल्याब (DFL) मा अनुसन्धान हुँदा फेब्रुअरी १९, २०१९ मा खिचेको खुट्टामा घाउचोट लागेको र ब्यान्डेज गरेका चार वटा फोटोहरु पनि ‘रिकभर’ भएको छ। डिजिटल फरेन्सिक ल्याबबाट डिलिट भएका फोटो र भिडियोहरु पनि निकाल्न सकिन्छ। ती फोटोहरुले चोट पुरानै हो भन्ने पुष्टि गरेको छ।


DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो।


DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो। यी सब प्रमाण अदालतमा प्रस्तुत गरिएका छन्।

खुट्टा बेडमा छुने गरी कसरी झुण्डिए?

शालिक झुन्डिएको अवस्थामा फेला पर्दा देखाइएको दृश्यमा एउटा खुट्टा बेडमा छोइरहेको अवस्थामा देखिएको छ। तर होटल साहुका अनुसार शुरुमा लाश देखिएको अवस्थामा त्यो खुट्टाले बेड छोएको थिएन। पछि लाश धेरै समय झुन्डिदा झोलिंदै गएर बेडमा छोएको रहेछ। क्राइम सिन देखेका प्रहरीहरु यस्तो सम्भव भएको बताउँछन्। अझ अलि लामो समय भयो भने त शरीरका अङ्ग अङ्ग समेत झर्न थाल्छन्।

झुण्डिएको अवस्थामा साउन २० गते राति पौने १० बजे भेटिएपछि पुलिसले त्यो कोठा सिल गरेको थियो। नुवाकोटबाट परिवार र आफन्तजनहरु नआएसम्म कोठालाई सिल गरिएको थियो। भोलिपल्ट बल्ल मुचुल्का गरिएको थियो।

करेन्ट लगाइएको थियो?

फेसबुक र युट्युबका भिडियोहरुमा करेन्ट लगाएको ठोकुवा नै गरिएको थियो। तर करेन्ट लगाएर मारेको भए केही न केही संकेत त हुन्थ्यो नि। ती चोटपटकहरु पुरानो रहेको शालिकरामकै मोबाइलमा भेटिएका पुराना फोटोहरुले पुष्टि भइसकेको छ। करेन्ट लगाएका कारण मृत्यु भएको पनि देखिएको छैन। मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा स्पष्ट रुपमा HANGING अर्थात् झुण्डिएको भन्ने छ। झुण्डिएको अवस्थामा हुने लिगायचर मार्क पनि छ। त्यसैले करेन्ट लगाइएको भन्ने कुरा हचुवा हल्लामात्रै भएको पुष्टि भइसकेको छ।

मुचुल्का उठाउँदाको भिडियोमा प्रहरीले नै रडले हानेको भनेको छ त!

मुचुल्का उठाउने क्रममा नुवाकोटबाट ३० जना जति आफन्त साथीभाइ आएका थिए। उनीहरुले मृत्यु शंकास्पद रहेको भन्दै हत्याको शंका गरे। होटल साहुलाई दोष दिए। त्यही बेला खिचिएको भिडियोमा एउटा रातो सर्ट लगाएका व्यक्तिले रडले हानेको बोलेका छन्। सर्वसाधारणलाई लाग्यो, त्यो मान्छे पुलिस नै हो।

यो भिडियो हेर्नुस् यसमा रातो लुगा लगाउनेले भनेका छन्- माथि त केही देखिएन, तल चैँ देखियो। तल चाहिँ चार पाँच ठाउँमा रडले हानेको, एउटा गोडामा चार ठाउँमा हानेको र एउटा गोडामा एक ठाउँमा हानेको देखियो।

यत्तिकैमा भिडियोमा अनुहार नदेखिएका अर्कोले भन्छन्- हानेर मार्न नसकेसि चैँ झुण्ड्याएर मारेको झैँ लाग्यो।

‘बाहिरबाट मारेर ल्याएको हुनुपर्छ,’ अर्कोले थप्छ।

फेरि त्यही रातो लुगा लगाउने बोल्छन्- मारेर ल्याए हैन। उ (हाउभाउ गरेर) गर्‍यो अनि के प्रमाण हुन्छ भनेर झुण्ड्याइदियो।

हुँदाहुँदा सामाजिक सञ्जालमा त्यो बोल्ने र रवि लामिछाने र युवराज कँडेललाई पक्रन जाने प्रहरी एउटै हो भनेर समेत अनुमानकारिता गर्न भ्याए।

वास्तवमा त्यो रातो सर्ट लगाएर रडले हानेको छ भनेर बोल्ने नुवाकोटबाटै आएका पुडासैनी पक्षका व्यक्ति थिए। स्वभाविक रुपमा उनीहरुले त्यतिबेला आशंकाको बोली बोले। त्यसैलाई प्रमाण मान्नुअघि चाहिँ अलिकति लजिक पनि लगाउनु पर्ने हामीले। रडले हानेको भए त्यस्तो ५/६ वटा घाउ हुन्छ र भन्या, हड्डी नै भाँच्चिन्छ नि।

अनि रवि र युवराजलाई न्युज २४ को कार्यालयमा गएर पक्रन गएको बेलाको फोटोमा देखिएका चाहिँ महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटी हुन्।

‘मुचुल्का उठाइरहेको बेलाको त्यो भिडियोले प्रहरीको लापरवाही चाहिँ देखिन्छ। प्रहरीले क्राइम सिन प्रोटेक्सनका लागि केही गरेको देखिएको छैन। पब्लिक प्रवेश गरेका छन्, भिडियो खिचेका छन्। बेडमा जुत्ता नै लगाएर चढेको देखिन्छ’, पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘यसले निर्मला काण्डबाट प्रहरीले पाठ नसिकेको स्पष्ट हुन्छ।’ यो भिडियोमा हेर्न सकिन्छ ती दृश्य।

रडले हानेको भए घाउमा रगत बग्नु पर्ने कि नपर्ने? अनि खै त घटनास्थलमा रगत एक थोपा पनि भेटिएको छैन त। त्यसैले यी सब हचुवा कुरा हुन्। पोष्टमार्टमबाट समेत यस्ता कुरा छर्लङ भइसकेको छ।

होटल साहुले षड्यन्त्र गरेको ?

बाहिर मारेर ल्याएर त्यो होटलमा झुण्ड्याउन लगाएको भन्ने पनि एकथरि हाम्रा एफबिआईको निश्कर्ष छ। बाहिरबाट लाश त्यसरी ल्याएर रुममा लगेर झुण्ड्याउन सोचे जस्तो सजिलो छैन।

होटल साहुसँग शालिकको न त पहिले चिनजान छ न त कुनै दुष्मनी? पहिलो पटक रहेछ शालिक त्यस होटलमा बसेको। त्यसैले शालिकलाई होटलवालाले मार्नु वा मराउनु पर्ने कुनै कारण नै छैन। अब सामान्य लजिक पनि लगाएर सोच्नुस् न, कोही त्यति मूर्ख पनि किन होला र जसले आफ्नै होटलमा ल्याई कसैको हत्या गरोस् वा गराओस्। आफ्नै होटलको बेडमा ल्याएर कसैलाई मार्दा आफैमाथि जोखिम धेरै हुने कुरा उनलाई थाहा नहोला र?

होटल साहुले सिसिटिभी क्यामेरा चैँ चलेको अवस्थामा राख्नुपर्ने थियो। बिग्रिएको थाहा भएर पनि तत्काल बनाउनु पर्नेमा नबनाएको उनी स्वीकार्छन्। सिसिक्यामेरा भएकै भए पनि कोठाभित्र त राख्न मिल्दैन थियो। को-को कति बजे आए, गए भन्ने चाहिँ देखिन्थ्यो, जसले अनुसन्धानलाई सहज बनाउँथ्यो।

त्यसैगरी शालिकराम बसेको कोठा वरपर जग्गा दलालहरु बसेको र उनीहरुले षड्यन्त्र गरेर मारेको हुनसक्ने पनि कन्स्पिरेसी थ्यौरी सुनिएका छन्। प्रहरीले कोठा नम्बर २०२ वरपर को को बसेका थिए, उनीहरु सबसित सम्पर्क गरी सोधपूछ गरी यो घटनामा कुनै लिङ्क नभएको अनुसन्धानबाट पुष्टि गरिसकेको छ।

भिडियो कसले खिचेको ?

फेसबुके ब्युरो अफ इन्भेस्टिगेसनले तमाम शंकाका थ्यौरी लगाए पनि उनीहरु कोही पनि विज्ञ हैनन्। र विज्ञसहितको डिजिटल फरेन्सिक ल्याबले पुष्टि गरिसकेको छ- भिडियो शालिकरामकै सामसुङ ग्यालेक्सी J6 (Samsung SM-J600G) मोडलको मोबाइलको फ्रन्ट फेस क्यामेराबाट खिचिएको हो। त्यो भिडियोमा कतै कुनै छेडखानी गरिएको छैन। उनको मोबाइलमा दुई वटा भिडियो फाइल थिए – जसलाई एउटै बनाएर सम्पादनसमेत गरी ‘नेपालआज’ को युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो। एउटा भिडियो ४ मिनेट ५८ सेकेन्डको छ भने दोस्रो भिडियो ८ मिनेट २७ सेकेन्डको छ। पहिलो भिडियो साउन २० गते दिउँसो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्न सुरु भएको हो भने दोस्रो भिडियो अपराह्न ४ बजेर १ मिनेट १७ सेकेन्डमा।

भिडियोमा सिरानी सुरुमा नदेखिएको पछि देखिएको आदि कुरा पनि भिडियो दुई पटक खिचेको कारण पोजिसन चेन्ज भएकोले हो। ‘किन’ भन्ने आवाज उनकै हो, भक्कानिएका कारण आवाज अलि फरक सुनिएको हो र लिप्सिङ हेरे प्रष्टै हुन्छ। आँखाको नानीमा मान्छे देखिएको कुरा अफवाह हुन्।

सामान्य लजिक लगाउन सकिन्छ, यदि कसैले उक्त भिडियो जबर्जस्ति सो कोठामा बनाउन लगाएको मान्ने हो भने पनि किन शालिकले आफैले डोरी किनेर ल्याउँथे त ? कसैले डोरी किनेर ल्या जा भनेर पठाएको भए त्यतैबाट टाप ठोकिहाल्थे नि।

आफैले खिचेको सेल्फी भिडियोमा नमस्ते गर्न कसरी सम्भव हुन्छ पनि भनिएको छ। तर यो सामान्य कुरा हो उत्तानो परेर सुतेको ब्यक्तिले दुबै खुट्टा खुम्चाएर मोबाइल च्यापेर सजिलै यो सम्भव छ। हेर्नुस् परीक्षण

शालिकरामको सार्वजनिक भएको भिडियो ध्यान दिएर हेर्ने हो भने सुरुमा शालिकले आफ्नो हातले समातेर भिडियो खिचेको र पछि नमस्ते गर्ने बेला मुनि मोबाइल राखेको देखिन्छ। भिडियोको दृश्य त्यतिबेला हल्लिएको (प्राविधिक भाषामा जर्क भएको) बाट पुष्टि हुन्छ। भिडियोबारे ज्ञान भएको भिडियो एडिटरलाई सोध्दा यो बारे प्रष्ट हुन सकिन्छ।

यदि कसैले जबर्जस्ति बोल्न लगाएको भए त्यो कोठाको नजिकको दुबै कोठाको मान्छेले सुन्ने सम्भावना हुन्छ र शालिकले समेत मर्ता क्या न कर्ता भनेर कराउने चिच्याउने गर्न सक्थे। त्यसैले त्यसरी कसैले जबर्जस्ति गर्न सकिन्न।

यदि कसैले शालिकलाई त्यो कोठामा योजनावद्ध ढंगले पुर्‍यायो कि भन्ने शंका गर्ने हो भने पनि शालिकलाई मोबाइलमा कसैले कुरा गरेको हुनु पर्‍यो जुन कुरा मोबाइलको प्राविधिक अनुसन्धानबाट समेत सजिलै पुष्टि हुन्छ। त्यस्तो कुनै सम्पर्क भएको देखिँदैन। प्राविधिक अनुसन्धानका क्रममा मोबाइलमा बिहान पूजा नाम गरेकी केटीसँग भएको देखिन्छ १६ मिनेट ३० सेकेन्ड।

प्रहरीले उनीसित पनि भदौ १ गते नै सोधपूछ गरिसकेको छ। उनले त्यतिबेला शालिकरामले आफूलाई प्रेमिकाले रेप केसमा फँसाउन लागेको हो कि भनेर आत्तिएको र उनले नआत्तिनु मेडिकल लगायतका कुराहरु पनि आउँछन् नि भनेर सम्झाएको बताएकी छिन्। त्यो कुराकानीको अडियोसमेत रिकभर भएको हुँदा के कसो कुराकानी भएको स्पष्टै हुन्छ। त्यो कुराकानीबाट पनि शालिकराम आत्महत्या गर्ने स्थितिसम्म पुग्ने गरेर आत्तिएको प्रष्ट हुन्छ। यो आत्महत्या गरेको भन्ने तथ्यको corroborating evidence हो।

सबभन्दा महत्वपूर्ण कुरा भनेको पोष्टमार्टम रिपोर्ट हो जसबाट अन्य कुनै तरिकाले पहिला मारेर झुन्डाएको वा झुन्डिएर मरेको भन्ने प्रष्ट हुन्छ । यसमा मृत्युको कारण झुण्डिनु उल्लेख छ।

यदि कसैले मार्ने धम्की दिएर आफै झुन्डिन बाध्य पारेको पनि त हुन सक्छ नि भन्ने पनि आवाज नसुनिएको होइन। त्यस्तो हो भने गोली हाने पनि मर्ने, झुन्डिए पनि मर्ने भन्ने अवस्थामा जो कोहीले पनि आफ्नो बचाउ गर्न खोज्छ र त्यस्तो अवस्थामा शालिकले चिच्याउने कराउने गर्न सक्थ्यो। यो होटल एकान्त ठाँउमा नभई बसपार्क जस्तो भिडभाड हुने ठाउँमा अवस्थित छ । त्यसैले यो कुरा सम्भव छैन ।

त्यो दिन भएको के थियो त?

शालिकरामको मोबाइलको प्राविधिक विश्लेषण र अन्य प्रमाणहरुबाट त्यो दिन के भएको थियो भन्ने प्राविधिक रुपमा पनि पुष्टि भइसकेको छ।

साउन २० गतेका दिन बिहान ६ बजेर ३५ मिनेटमा शालिकरामले अस्मिताकी एक साथीलाई फोन गर्छन्। बिहान ६ बजेर ४० मिनेटमा अस्मितालाई फोन गर्छन्। त्यतिबेला उनको लोकेसन गोंगबुको वसन्तनगर देखाउँछ।

तर बिहान ९ बजेर ४४ मिनेटमा उनको मोबाइलको लोकेसन कलंकी देखिन्छ। त्यतिबेला उनले श्रीमती सम्झनालाई फोन गरेका हुन्छन्।

त्यसैगरी दिउँसो १ बजे ३ मिनेटमा मलेखु पुगेको देखिएको छ। त्यतिबेला पनि उनले श्रीमतीलाई नै फोन गरेका हुन्छन्। यसले उनी त्यो दिन काठमाडौँ बाहिर जाने भन्दै बिहानै घरबाट निस्केको देखिन्छ। दिउँसो ३ बजे आसपास उनी चितवन पुग्छन्।

सबैभन्दा पहिला लमजुङ होटलमा कोठा खोज्न पुग्छन्। त्यो होटलका साहुले प्रहरीलाई बताए अनुसार शालिकराम अन्दाजी ३ बजेर १० मिनेटमा कोठा खोज्न त्यहाँ पुगेका थिए। प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘होटलको काउन्टरमा कोठा खोज्दै एक्लै आएका थिए। मैले १०८ नम्बरको कोठा देखाएँ।’

‘कोठा देखाएपछि होटलको कोठामा सिलिङ फ्यान रहेनछ, गर्मी हुन्छ होला। कोठा गनाएको पनि छ, वालपङ्खाले त्यति राम्रो हावा दिँदैन होला भनी निस्की हिँडे।’

सिलिङ फ्यानै भएको कोठा रोज्नुको कारण के हुनसक्ला? के उनी झुण्डिने योजनै बनाएर काठमाडौँबाट हिँडेका थिए?

त्यहाँबाट निस्केपछि उनको रोजाइमा पर्छ होटल कंगारु। कंगारुका साहुका अनुसार उनी त्यस्तै ३ बजेर १५ मिनेटमा त्यहाँ आएका थिए। होटल साहु कार्कीका अनुसार एक्लै आएका शालिकले सोधेका थिए- ‘कोठा छ?’

कोठा देखाइदेऊ त ! उनले होटलका कर्मचारीलाई अह्राए।

तेस्रो तल्लामा रहेको रुम नम्बर २०२ देखाएपछि उनले कोठा मन पराउँछन्। कोठामा सिलिङ फ्यान पनि हुन्छ।

रिसेप्सनमा आएर उनले गेस्ट रजिस्टर कार्ड भर्छन्।

८ सय रुपैयाँ पर्ने रुम बुक गरेर उनले एडभान्स वापत् ५ सय रुपैयाँ दिन्छन्। त्यसपछि उनी फेरि माथि कोठामा नै जान्छन्।

त्यसपछि होटलबाट कहिले शालिकराम बाहिरिए, होटल साहुलाई याद छैन। ‘मैले याद गरिनँ कतिबेला बाहिरिए, यसरी पत्रिका पढेर बसिरहँदा याद हुन्न नि’, रिसेप्सन छेउको सोफामा बसेर उनले मलाई भने।

सिसिटिभी फुटेज अनुसार उनले डोरी किनेको पसलमा दिउँसो ३ बजेर ३२ मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म देखिन्छन्।

त्यसपछि उनी फेरि होटल कंगारु फर्कन्छन्। फर्केको भने होटल साहु कार्कीलाई याद छ। किनभने शालिकरामले एक बोतल पानी लगेका थिए र साथमा भनेका थिए, ‘मलाई सादा खाना बनाइदिनु होला। माथि ल्याउनु पर्दैन, म तल नै आउनेछु।’

रुम नम्बर २०२ मा बसेर उनले ४ मिनेट ५८ सेकेन्डको पहिलो भिडियो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्छन्।

लगत्तै सोही कोठामा बसेर ८ मिनेट २७ सेकेन्ड लामो दोस्रो भिडियो दिउँसो ४ बजेर १ मिनेट १७ सेकेन्डदेखि खिच्न थाल्छन्।

भिडियो रेकर्ड गरे लगत्तै उनी झुण्डिएका भने हैनन्। भिडियोमा गन्जी लगाएको छ, तर झुण्डिएको अवस्थामा शर्ट प्यान्ट लगाएको छ भनेर पनि प्रश्न उठेका थिए।

भिडियो रेकर्ड गरिसकेपछि पनि ४ बजेर २२ मिनेटमा श्रीमती सम्झना घिमिरे पुडासैनीले कल गरेको देखिएको छ।

त्यसैगरी ४ बजेर २४ मिनेटमा शालिकरामको एनसेल नम्बरमा पनि श्रीमतीले फोन गरेको देखिन्छ।

४ बजेर ३६ मिनेटमा उनको मोबाइलको जिपिआरएस एक्टिभ भएको देखिएको छ। त्यसैगरी ४ बजेर ३६ मिनेटमा पूजालाई ४/५ पटक फोन गरेको देखिन्छ तर रिसिभ भएको देखिन्न। ४ बजेर ३८ मिनेटपछि उनको मोबाइल इनएक्टिभ देखिन्छ।

राति साढे ८ बजेसम्म पनि खाना खान नआएपछि होटल साहु कार्कीले कर्मचारीलाई २०२ को गेस्टलाई खाना खान बोलाउन अह्राउँछन्।

‘ढोका खोलेन’ भनेर कर्मचारी फर्कन्छन्।

उनले फेरि अर्को कर्मचारीलाई पठाउँछन्। ऊ पनि ढोकै खोलेन भन्दै फर्कन्छ। त्यसपछि होटल साहु आफै जान्छन् र कोठा ढकढक गर्छन्, खोल्दैनन्।

त्यसपछि होटल साहुको मनमा चीसो पस्छ। ‘तर त्यस्तो होला भन्ने थिएन,’ होटल साहु कार्कीले गएको शुक्रबार हामीलाई भने, ‘कोही कोही गेस्ट त मस्तसँग केही चाल नपाई सुतिदिने पनि हुन्छन्।’

तर त्यत्रो बोलाउँदा पनि नखोलेपछि अर्का होटल व्यवसायी राजन श्रेष्ठलाई फोन गर्छन्, ‘हेर्नु न एक जना गेस्ट खाना खान बोलाउँदा न बोल्छ न ढोका खोल्छ।’

‘उनकै सल्लाहले यहाँ बसपार्कमा नै ड्युटीमा रहने प्रहरी खोज्न गयौँ। अर्को पनि एरिया होला उनको, यहीमात्र त हैन। शायद् अर्को ठाउँमा गएको थियो कि, नभेटेपटि मैले वडा प्रहरी कार्यालय नारायणगढमा खबर गरेको हुँ।’

उनका अनुसार त्यसरी खबर गरेपछि दुई जना प्रहरी मोटरसाइकलमा आउँछन्। उनले सब कुरा बताउँछन्।

‘पुडासैनी सर,’ प्रहरीले बोलाउँछ। कसैले बोल्दैन। त्यसपछि प्रहरीले ढोका खोलौँ भनी फुटाई हेर्दा सिलिङ फ्यानमा झुण्डिएको देखिन्छ।

‘प्रहरीले त्यसपछि हामी कसैलाई प्रवेश गर्न नदिई घटनास्थल सुरक्षित गरी राखी भोलिपल्ट साउन २१ गते मृतकका आफन्तहरु आइसकेपछि बल्ल लाश जाँच मुचुल्का गरी लाश पोस्टमार्टमका लागि अस्पताल लगेका हुन्।’

होटल कंगारु कोठा नम्बर २०२ को रेखाचित्र र त्यहाँ देखिएको वस्तु। नम्बरमा माउस लग्नुस्, विवरण देखिन्छ। तल रेखाचित्र नखुले यहाँ क्लिक गर्नुस्।

होटल साहुको पीडा

धन्न तपाईँ त यहाँ होटल खोलेर बसिरहनु भएको रहेछ भनेर भन्दा हामीसँग कुरा गर्दै गर्दा चश्मा खोलेका कार्कीको आँखाभरी आँसु थियो।

‘मैले केही गल्ती गरेको भए पो !’

तर युट्युबर र भिडले उनलाई अपराधी सरह व्यवहार गरेका थिए। क्यामेरा तेर्स्याएर प्रहरीको भन्दा बढी आक्रामक शैलीको केरकार होटलमा गर्नेहरु युट्युबर थिए।

हुँदाहुँदा भिडले होटल साहुको दोष भन्दै उनलाई थुन्नुपर्ने माग गर्‍यो। एक रात त उनी हिरासतमा समेत बसे। उनकी श्रीमती हामीले जति पीडा त कसले भोग्यौँ होला र भनेर साध्य छैन भन्दै थिइन्।

ऋण लिएर भाडामा होटल चलाइरहेका उनले महिनामा एक लाख ४० हजार भाडा तिर्नुपर्छ। तर होटल सुनसान छ। एक जना पनि पाहुना छैनन्।

उनी एउटा कुरामा भने अझै झसङ्ग हुन्छन्। ‘धन्न कोठामा भित्रबाट चुकुल लगाएर आत्महत्या गरे। नलगाई पनि त गर्न सक्थ्यो नि। चुकुल लगाउँदा त नानाथरी आरोप खेप्नु पर्‍यो, नलगाई गरेको भए झन् के के पो हुने थियो होला !’

शुद्धि र स्वस्तिशान्तिका लागि उनले रुम नम्बर २०२ मा भर्खरै एउटा पूजा लगाएका छन्। तर थाहा छैन, कहिले उनको होटलमा शान्ति फर्कने हो।

जसरी निर्मला प्रकरणमा घरबाट आएर गएको कारणले मात्र बम दिदीबहिनीहरु प्रताडित भइन्, अनेक हल्ला मच्चियो। त्यसैगरी होटल कंगारुका साहु पनि त्यही होटलमा आएर शालिकराम झुण्डिनु मात्रैको कारणले शंकाको घेरामा आए। अनेक हल्ला मच्चियो।

त्यसो भए आत्महत्या गर्नुपर्ने के कारण छ त ?

• शालिकले सम्झनासँग बिहे गरे तर अस्मितासँग आफू अविवाहित भनी मायाजालमा पारे। पछि अस्मिताले शालिकको विवाह भइसकेको र श्रीमती छ भन्ने थाहा पाएपछि हो कि हैन भनेर पुष्टि गर्ने प्रयास गरिन्। कुरा पनि भयो सम्झनासित अस्मिताको। हो भन्ने थाहा भइसकेपछि उसलाई छोड्ने कोशिस गरिन तर शालिकले छोड्न मानेन।

• शालिकले अस्मितालाई कोर्ट म्यारिज गर्ने प्रस्ताव गरे र गत फागुनदेखि टोखामा छुट्टै कोठा समेत लिइराखेको समेत पुष्टि भएको छ जसबाट शालिकको अस्मितासँगको सम्बन्ध पुष्टि गर्छ ।

• शालिकले अस्मितालाई लेखेको म्यासेज र अस्मिताले समेत शालिकले उनलाई मानसिक याताना दिएको कुरा आफ्नो साथीहरुलाई भनेकोबाट समेत दुई जनाको सम्बन्ध बिग्रिएको पुष्टि हुन्छ।

• अस्मितालाई शालिकले धम्की दिने र जसरी पनि बिहे गर्न दबाब दिएको र अस्मिताले शालिकसँग छुटकारा पाउन सीधा कुरामा काम गर्ने क्यामराम्यान अनिल ढुङ्गेलमार्फत् आफ्नो कुरा सीधा कुरा मार्फत् प्रसारण गरिदिन आग्रह गरेको र अस्मिताले शालिकलाई आफूले सबै कुरा सिधा कुरा जनतासँगको कार्यक्रममार्फत् भण्डाफोर गरिदिने चेतावनी दिएपछि शालिक आफ्नो काला कर्तुतको पर्दाफास हुने डर र त्रासले आत्महत्या गर्ने निर्णयमा पुगेको देखिन्छ।

• शालिक चितवन पुग्छन् र होटलमा कोठा खोज्न थाल्छन्। होटल कंगारुमा पुग्नु अगावै एउटा अर्कै होटलमा पुग्छन र कोठा हेर्छन् त्यहाँ सिलिङ फ्यान नभएको कारण सो कोठा रिजेक्ट गरी कंगारुमा पुग्छन्, त्यहाँ सिलिङ फ्यान भेटेपछि त्यही कोठामा बस्ने निधो गर्छन्। यसले चितवन आउँदा नै उनले झुण्डिने मनसाय बनाएर आएको देखिन्छ। सिलिङ फ्यान नभएकोले कोठा रिजेक्ट गरेको होटल साहुसित पनि प्रहरीले सोधपूछ गरिसकेको छ।

• शालिकले मर्नुअघि पूजासँग गरेको कुराकानीमा पनि न्युज २४ टिभीमा रेप गरेको कार्यक्रम बजाएर फँसाउन लागेको थाहा पाएर तनावमा परेको सुनिन्छ। यो कुराकानी त मोबाइलमा रेकर्ड भएको हुनाले अडियो सुन्न समेत सकिन्छ। शालिकले किन यस्तो कार्यक्रम बजाउन लागेको हो भनेर रवि लामिछानेलाई सोधेनन् त?

गएको शुक्रबार चितवन प्रहरीको नियन्त्रण कक्षमा उनलाई भेट्न जाँदा दुई तहको बारको पछाडि रहेको कक्षमा उनी अन्य थुनुवासँगै थिए। एकछिन पछि कालो चश्मा लगाएका रवि त्यहाँबाट भिजिटर भेट्ने बार भएको ठाउँमा आए। एकछिन के कुरा गर्दै थिएँ, रविको हात समातेर एक युवती रोइन्। रुँदै ती युवतीले आफ्नो आफन्तलाई फँसाइदिएको र अहिलेसम्म नछोडेको बताइन्। रविले नरुनुस् ठीक हुन्छ, म आफै त यस्तो छु भनेर भने।

शालिकले आफू मार्केटिङ म्यानेजरको रुपमा १ लाख रुपैयाँ तलबमा जान लागेको भनेर गएको तर त्यही रात फेसबुक लाइभमा आफूले अर्को कार्यक्रम चलाउन लागेको भनेको, झुट बोलेर गएको हुनाले मलाई फोन गरेर कार्यक्रम बजाउन लागेको हो कि हैन भनेर भेरिफाइ गर्ने आँट नगरेको हुनसक्ने रविले बताएका थिए। दीपक दाइ (प्रोड्युसर) को यसमा कुनै दोष छैन भनेर चाहिँ किन भने होलान्? जबकि भिडियोको सुरुमा शालिकले दीपकले पनि दुर्व्यवहार गर्ने गरेको बताएका छन्।

दीपक भन्छन्, ‘मैले नै उसलाई सीधा कुरा टिममा राखेको थिएँ। छाडेर जाँदा पनि मैले उसलाई केही भनिनँ। माउन्टेन टिभी जाँदा पनि कार्यक्रम कस्तो छ भनेर सोध्थे, मैले यस्तो यस्तो गर भनेर सुझाव दिन्थेँ। त्यही भएर हो कि।’

फ्यानहरुले बुझ्नुपर्ने कुरा- हत्या हो भने मात्र रवि दाइ बच्ने हैनन्, आत्महत्या दुरुत्साहन पनि पुष्टि हुन गाह्रो छ

रवि लामिछानेका फ्यानहरुलाई लाग्ने गर्छ- शालिकरामको हत्या भएको हो भने मात्र रवि दाइ निर्दोष हुनेछन् र उनलाई फँसाउन लागेको पुष्टि हुन्छ। तर हैन, यो आत्महत्या नै हो भने पनि दुरुत्साहन पुष्टि गर्न गाह्रो हुने कुरा त चितवन जिल्ला अदालतले दिएको सुरुवाती आदेशबाट प्रष्ट हुन्छ।

यी माथिका विभिन्न अवस्थाबाट सजिलै पुष्टि हुन्छ कि यो आत्महत्या हो। तर शालिकले भिडियोमा भने जस्तो के उनको मृत्यु हुनुमा रवि, अस्मिता र युवराज दोषी हुन् त?

• शालिकको अस्मितासँगको झुटको जगमा टिकेको विवाहेत्तर (extra marital affair) सम्बन्ध उनको आत्महत्याको पर्याप्त कारण देखिन्छ।

• रवि र अस्मिताको बीचमा कुनै सम्बन्ध वा सम्पर्क भएको पुष्टि भएको छैन।

• युवराज र अस्मिताको समेत कुनै सम्बन्ध र सम्पर्क पुष्टि भएको देखिन्न।

• अस्मितालाई युवराजले चिनाइदिएको भन्ने कुरा नै गलत पुष्टि भएको छ। युवराज र रविसित पहिलो भेट पक्राउ परेपछि बल्ल भएको हो।

• शालिक र रविको सम्बन्ध राम्रै थियो भन्ने कुराको पुष्टि शालिकले फेसबुक प्रोफाइल पिक्चरमा रविसँगको फोटो राख्नु र घटनाभन्दा केही समय अगाडि मनाइएको गुरु पूर्णिमामा शालिकले फेसबुकमा रवि दाइ मेरो गुरु हुन् भनेकोबाट समेत देखिन्छ।

• किन शालिकले रविलाई दोषी देखाए त? जब अस्मिताले शालिकको कर्तुत सीधा कुरा जनतासँगबाट देखाउन लागेको भनिन् तब शालिकले रविप्रति नकारात्मक सोच्न थाल्यो र आफ्नो गल्ति ढाकछोप गर्न रविलाई दोषी ठहरायो।

• युवराजसँग सीधा कुरामा काम गर्ने क्रममा भएका असहजता तथा मनमुटावको कारण यसलाई समेत फँसाउनु पर्छ भन्ने इगोको कारण उसको नाम समेत भिडियोमा लिएको हुनुपर्छ। अदालतले समेत तलब कम भएको, काम गर्दा खेरी दुर्व्यवहार गरेको, तनाव दिएको भन्ने कुरा न्युज २४ मा काम गरेको बेलाको भएको र अहिले उनी त्यो टिभी छाडेर अर्कैमा काम गर्न थालिसकेकोले त्यतिबेलाको व्यवहारलाई लिएर अहिले आत्महत्या गर्नु परेको भन्नु विश्वासयोग्य देखिएन भनेको छ।

• यो मुद्दाको मुख्य आधार भनेकै अस्मिताले रवि र युवराजसँग मिलेर तैँले रेप गरेको भनेर सीधा कुरामा कार्यक्रम बनाएर बदनाम गरिदिन्छु भनेर धम्क्याएको भन्ने हो। त्यसका लागि त अस्मिता र रवि अनि युवराजको सम्पर्क हुनुपर्‍यो। न सिडिआरबाट उनीहरुबीच मोबाइल र टेलिफोनमा सम्पर्क भएको देखिन्छ, न अरु प्रमाण छ। रवि र युवराजसित सम्पर्क नभएर अस्मिताले विदेशमा बसेका व्यक्ति र न्युज २४ का क्यामेराम्यान अनिल ढुंगेललाई प्रयोग गर्न खोज्छिन्, भेट्छिन् र स्क्रिनसट दिन्छिन्। यदि सीधै सम्पर्क भएको भए त अनिल मार्फत् हैन सीधै भेटे भइहाल्थ्यो।

• शालिकरामले आफूलाई अस्ट्रेलिया पठाइदिने भनेर अस्मितासित युवराजले भेटाइदिएको भनेर भिडियोमा भनेको कुराको पनि पुष्टि भएको छैन। भेटाइदिन त युवराज र अस्मिताको पहिले नै चिनजान हुनुपर्थ्यो। त्यो देखिएन।

• अदालतले रवि र युवराजलाई अस्मितासँगको सम्पर्क पहिले नै थाहा भएको र सो सम्बन्धको विषयलाई लिएर कार्यक्रम बनाउने धम्की वा त्रास देखाएनन् होला र त्यो धम्की वा त्रास आत्महत्या गर्न दुष्प्रेरित हुने तहसम्मको थिएन होला भनी अहिले नै भन्न सक्ने स्थिति रहेन भनेको छ। यसको मतलब त्यस्तो धम्की वा त्रास दिएको हैन भनी प्रमाण पेश गरे उनीहरुले सफाई पाउने स्पष्ट छ।

यो घटनाको अर्को पाटो बारे जनकराज सापकोटाले कान्तिपुरमा तयार पारेको खोजमूलक रिपोर्ट पढ्नुहोला- पत्रकार शालिकराम आत्महत्या प्रकरण : विवाहेत्तर सम्बन्धको भित्री पाटो

1 comment to चितवनमा भएको के हो? के हो हल्ला, के हो यथार्थ ? चितवनबाट फर्केपछिको रिपोर्ट

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)