यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथाः गुड्डी

-वीणा सिन्हा-

आमा ! म यो जुठो रसभरी खान्नँ।
गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो।
ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन।
त्यही बेला श्यामजी (बुबा) आएर भन्नुभयो- चारवटा रसभरी थियो, बाँकी के भयो ? सोनुका लागि पनि मैले ल्याएको थिएँ।
सबै खायो होला।
सुधाको ठूलो आवाज सुन्ने बित्तिकै श्यामजी चुप लाग्नुभयो। गुड्डी पनि डराउँदै आफ्नो कोठामा गएर किताब निकालेर बसी तर उसलाई पढ्न भने मन लागेको थिएन। यी आठ वर्षीय गुड्डी र चार वर्षको भाइ सोनु श्याम मिश्र र सुधा मिश्रका छोराछोरी हुन्। गुड्डीको जन्म हुँदा परिवारका सबै सदस्यहरु निराश भएका थिए। गुड्डीको हजुरआमा भन्नुहुन्थ्यो- सोनुको छैटी धेरै धुमधामका साथ मनाइएको थियो। हजुरआमा धेरै खुसीसाथ भन्नुहुन्थ्यो कि सोनुको जन्म भएपछि हाम्रो वर्षौको सपना पूरा भएको थियो। गुड्डीको जन्म भएको बेलामा म धेरै रोएकी थिएँ। त्यतिबेला मलाई श्यामले धेरै बुझाएको थियो छोरा र छोरीमा केही पनि फरक छैन भनेर

ठीकै छ, मलाई जमाना नदेखाऊ। छोरीले मलाई हेरविचार गर्दिन किनकि तिमीले नै मलाई पालनपोषण गरिरहेका छौ। जबकि छोरीले दाइजो लिई आमाबाबुको घर खाली गरी कर्मघर गइसकेकी हुन्छिन्।
हजुरआमाका यी कुराहरु सुन्दै श्यामजी चुप लागे। त्यहाँ बसेका सबै आफन्तहरु हजुरआमाको कुरालाई समर्थन गर्न लागे। हजुरआमा र हजुरबुबा दिनभरी सोनुलाई काखमा लिई खेलाउने। भाइसँग खेल्न पाइयोस् भन्ने इच्छा गुड्डीलाई पनि हुन्थ्यो तर हजुरआमाको डरले गर्दा उनले खेल्न पाउँदैन थिइन्। बाबुको हात समात्दा हजुरआमा चिच्याउँथिन्। गुड्डी बाबुबाट टाढा बस् किनकि बाबुको हात भाँचिन्छ। त्यो बेला गुड्डीलाई धेरै रिस उठ्थ्यो र इच्छा हुन्थ्यो कि हजुरआमाको हात भाँचिदिउँ।
जब सोनु हिँड्दुल गर्न थाल्यो, त्यही बेला उसको जन्मदिनको अवसरमा हजुरबुबाले साइकल उपहारमा दिनुभयो। सोनु दिनभर साइकल चलाउँथ्यो। गुड्डीलाई पनि साइकल चलाउने इच्छा हुन्थ्यो तर साइकल छुने बित्तिकै हजुरआमा र आमाको तीतो बोली सुन्नुपर्दथ्यो। गुड्डी अलि मोटी भएकीले ऊ चढ्दा साइकल भाँचिन्छ भन्ने लाग्थ्यो सोनुलाई। एकदिन साइकल खाली देखेर गुड्डी साइकलमा बसिन्। त्यही बेला आमा आएर हात समातेर साइकलबाट ओरालिदिइन् गुड्डीलाई।
गुड्डीलाई त्यो बेला धेरै रिस उठ्यो र भन्न लाग्यो कि त्यो साइकललाई भाँचेर फ्याँकिदिउ- न रहे बाँस न बजे बाँसुरी। तर फेरि गुड्डीले यो सोची कि साइकल भाँचेपछि बाबु धेरै रुन थाल्छ। किनकि बाबु दिनभरि साइकलमा नै बस्ने गर्थ्यो। सोनुले सबै खेलौनामध्ये साइकल नै बढी मन पराउँदथ्यो। गुड्डी जब स्कुल जान थालिन् तब यी आफ्ना साथीहरुमाथि रिस पोख्थिन्। घरमा उनी चुपचाप कोठामा पढ्ने गर्थिन् र सोनु आफ्नो खेलौना खेल्दै गरेको हुन्थ्यो। गुड्डी आठ वर्षकी भएपछि उनलाई उनकी आमाले घरको काम गराउन थालिन्। गुड्डी पनि आमाको माया पाउनको लागि हरेक कुरा मान्न थालिन्। आमाको कुरा नमाने आमा मबाट झन् रिसाउनु हुन्छ भन्ने उनलाई लाग्थ्यो। आमाको रिसाएको अनुहार देखेपछि उनी डरले थरथर काम्ने गर्थिन्।
बाबुका लागि प्रत्येक दिन फलफूल जुस आदि घरमा ल्याउने गरिन्थ्यो र बाबुले खाएपछि बाँकी रहेका फलफूल, जुस आदि गुड्डीले खाने गर्थिन्। एक दिन स्कूलमा मिसले भनिन्- कसैको जुठो खानु हुँदैन। खायो भने बिरामी भइन्छ। गुड्डीलाई लाग्यो कि मिसले ठीक भनिन्। एक दिन बाबुको जुठो खिर खाएपछि बाबुलाई रुघाखोकी लागेको थियो र गुड्डीलाई पनि रुघाखोकी लाग्यो। त्यो दिनदेखि गुड्डीले निश्चय गरिन् कि आजबाट म कसैको जुठो खान्नँ। यही कारणले गर्दा नै उनले जुठो रसभरी खान मन नपराएकी। आमा जति रिसाए पनि ऊ खान मान्दै मानिनन्।
गुड्डी जब ठूली भइन्, तब उनले आमा, हजुरआमाका कुराहरु सबै बुझ्न थालिन्। कहिलेकाहीँ त बुबाले पनि आमाको व्यवहार देखेर भन्ने गर्नुहुन्थ्यो- यो छोरी तिम्रो सौताको छोरी हो। सुधा रिसाउँथिन् र छोरीलाई टाउकोमा नचढाउनुस् भन्थिन्। श्यामजी हाँसेर चुप लागेर बस्ने गर्थे।
गुड्डी एसएलसीमा प्रथम श्रेणीमा पास भएपछि बुबा धेरै खुसी हुनुभयो। पत्रपत्रिकामा गुड्डीका नाम र फोटो देखेर सुधासँग भन्नुहुन्थ्यो- छोरा र छोरीमा केही फरक छैन। हाम्री छोरीले हाम्रो खानदानको नाम राख्नेछिन्। गुड्डीको क्याम्पसमा नाम लेखाउने बेला आमाले भर्ना नगर्ने जिद्दी गर्न थालिन्। गुड्डीलाई बढी पढाउनु हुँदैन किनकि बढी पढाएर विवाह गर्ने बेलामा धेरै दाइजो दिनुपर्छ भन्ने आमाको भनाई थियो।
श्यामजी गुड्डीको मुख हेरेर भन्न थाल्नुभयो- बढी पढेपछि आफ्नो खुट्टामा आफै उभिई आत्मनिर्भर हुन्छिन्। जब आमा चाहिँ आफ्नो जिद्दीमा अडेर नै बसिन्, तब गुड्डी पनि भोक हड्तालमा बसिन्। त्यसपश्चात् मात्र क्याम्पसमा नाम लेखाउन सफल भइन्। जब गुड्डी क्याम्पसमा पढ्न सुरु गरिन् तब उनकी आमाले उनको विवाहको बन्दोबस्त मिलाइन्। यसैबीच सुधाले आफ्नी दिदीको नाता पर्ने आफन्तकहाँ गुड्डीको बिहे तय गरिन्। बुबाको भने अहिले नै छोरीको बिहे गर्ने इच्छा थिएन। तर पनि सुधाको कुरा काट्न सकेनन्। किनकि केटा बैँकमा क्यासियर थियो। गुड्डीले विवाहको धेरै विरोध गरिन् तर उसको आमाको अगाडि केही लागेन।
दुलाहा समीर र उसको परिवारका सदस्यहरु राम्रै थिए। त्यसैले उनीहरुले गुड्डीको पढाइलाई रोकेनन्। यसैबीच गुड्डी गर्भवती भइन् र यो खबर आमा सुधाले सुनेपछि छोरीलाई भेट्न आइन् र एकान्त देखेर गुड्डीलाई सम्झाउन थालिन्- तिमी अल्ट्रासाउन्ड गराऊ।
गुड्डीले सोधिन्- किन आमा ?
आमाले भनिन्- थाहा हुन्छ नि छोरा छ कि छोरी ? छोरी भए…। हाम्रो समयमा यस्तो सुविधा थिएन नत्र भने म तिमीलाई जन्म दिनेवाला थिइनँ।
आमाका यस्ता कठोर शब्द सुनेर छोरी गुड्डीका आाँखा रसाए। गुड्डीलाई लाग्यो- यी मेरी आमा हुन् कि राक्षस हुन् ? (गरिमा, असार २०६७ बाट)

9 comments to कथाः गुड्डी

  • कथाकार ज्यु , शिक्षित आमा ले कदापि तेसो भन्दैन , यदि भन्यो भने पक्कै अशिक्षित हुनु पर्छ , तर आमा लाइ आमा हुन् कि राक्षेश भनेर भन्दा आमा भन्ने शब्द को गरिमामा ठुलो आघात पुर्याउछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Pritam

    कथाको साहित्यिकपन कमजोर छ,कथा भन्ने शैली पुगेको छैन तर पनि कथाको सन्देश मार्मिक छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • yam pun

    कथा स्तरीय नभए पनि संदेश मुलक छ! “आइमाईको सत्रु आइमाई नै हुन्छ” भनेको साच्चै हो!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • Ganaga

    अति राम्रो कथा, मन छुने……कथाकार विणाजी को उत्तरोत्तर प्रगति को कामना….

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • आशा

    कथा सारै नै राम्रो र अति नै मार्मिक लग्यो/ यो हाम्रो समाजको अझ भनौ तराई तिरको तितो यथार्थ हो/ नौ महिना गर्भमा राख्ने आमाले त् माया दिन सक्दैनन् भने समाज संग के अपेक्षा राख्नु र खोइ?

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • suman

    कथाको सार राम्रो भए पनि स्तरीय लागेन |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 7

  • jeevan verma

    “गुड्डीलाई लाग्यो- यी मेरी आमा हुन् कि राक्षस हुन् ?” यसमा कुनै र कासैलाइ दोधार होला र ? निश्चित रुप मा तिनी मानब रुपी राक्ष्यास हुन् |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • kedar

    कथा मार्मिक र बास्तबिक छ | पिछडिएका र गरिबमा हैनकी आधुनिक हौँ भन्नेहरूमा छोरी बिरोधि अल्ट्रा साउण्ड कल्चर बेसी छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • कथा सारै अपुरो लाग्यो. लेख्दा लेख्दै बिचमै छोडेर हिंडे जस्तो.

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2