यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु

अहिले एकदमै चर्चाको विषय बनेको छ सामूहिक बलात्कारको एउटा केस। पीडित पूजा बोहराले कानुन मन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै लेखेको पत्र कान्तिपुर दैनिकमा ‘मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’ शीर्षकमा छापिएपछि यो विषय राष्ट्रिय बहसमा आएको छ। २०६९ फागुन २२ गते बैतडी जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय दिएको फैसला २०७१ वैशाख १५ गते पुनरावेदन अदालत महेन्द्रनगरले उल्ट्याइदियो। अहिले सारा मानिस फैसला उल्ट्याउनेहरुलाई गाली गर्नमा व्यस्त छन्। खासमा के कस्ता आधार दिएर पुनरावेदन अदालतले फैसला उल्ट्याएको हो? अनि जिल्ला अदालतले चाहिँ के कति आधारमा दोषी ठहर गरेको थियो त? सतही तवरमा भन्दा गहिराइसम्मै पुगेर विश्लेषण गरौँ न भन्ने लागेर साथी रविराज बराल र मैले दुवै अदालतले गरेका फैसलालाई तुलनात्मक रुपमा अध्ययन गर्‍यौँ। हामीले के पायौँ, पहिलोपोस्टमा लेखेका छौँ- पूजा बोहरा बलात्कार कान्ड : किन उल्टियो फैसला ? दुवै फैसलाका आधार तथ्य र प्रमाणमा भन्दा पनि भावनामा बहकिएको देखेर अचम्मै लाग्यो। अनि यो प्रकरणको यति फितलो अनुसन्धान गरिएको छ कि दोषी भनिएकाहरुले उम्कन पर्याप्त आधार पाउँछन्। प्रयोगशालाको रिपोर्टलाई दह्रो प्रमाणका रुपमा पेश गर्न पनि नसक्ने अनुसन्धान निकायप्रति कसैको ध्यान गएको छैन। सबको ध्यान उल्टाउने फैसलाप्रति मात्र गएको छ। प्रमाणै कमजोर रुपमा प्रस्तुत गरेपछि फैसला गर्नेलाई पनि सजिलो हुन्छ भन्नेतिर सोच्न खासै फूर्सद भएको देखिन्न। बरु यो चिट्ठी पढेर बाबुरामले डाँको छोडेर रोएको, ठाउँठाउँमा र्‍याली निस्केका खबरमा धेरैको चासो छ।

यत्तिकै रुपमा यो केस सर्वोच्च जाने हो भने पीडितको पक्ष बलियो हुने देखिन्न। पत्रिकामा छापिएको पत्र र कानुन मन्त्रीले न्याय दिन्छु भनेर भनेको भरमा सर्वोच्चले भावनामा बहकिएर फैसला गर्ने हो भने बेग्लै कुरा तर पुनरावेदनको फैसलाले प्रमाणका विषयमा उठाएका प्रश्नहरुले अनुसन्धान गर्ने निकायबाटै कमजोर रुपमा यसलाई अदालतसम्म पुर्‍याइएको प्रष्ट देख्न सकिन्छ।

जिल्ला र पुनरावेदनको फैसला अध्ययन गर्दा जुहारी चले जस्तो लाग्दो रहेछ। कक्षामा तरवार बलियो कि कलम बलियो भन्ने पक्ष र विपक्षमा तर्क गरे जस्तै। जिल्ला अदालत प्रतिवादीहरुलाई दोषी ठहर गराउने भावनामा बहकिए झैँ लाग्छ, पुनरावेदन चाहिँ दोषमुक्त गराउने भावनामा। मान्नुपर्ने र लिनु पर्ने आधार प्रमाणलाई हो, तर यहाँ त्यसैको कमि देखिन्छ।

जिल्ला अदालतको फैसला भन्छ- ‘जबर्जस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीलाई पूर्ण समर्थन हुने गरी पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट अनुसार पीडितको योनीमा दुई वटा औँला सजिलै प्रवेश हुने गरी योनी द्वार खुला भएको…समेतबाट पीडितलाई जबरजस्ती करणी भएको तथ्यमा कुनै विवाद देखिएन।’

अनि पुनरावेदन पनि के कम, उसको फैसलामा यस्तो भनिएको छ-‘योनीमा दुई वटा औँला सजिलै प्रवेश हुने गरी योनीद्वार खुला भएको भन्ने कारणले जबर्जस्ती करणी भएको आधार बन्न सक्दैन। एउटी उमेर पुगेकी महिलाको योनीमा दुई औँला प्रवेश गर्न सक्ने अवस्था जबरजस्ती करणीले मात्र हुनसक्छ भन्ने तर्क र अनुमान न्यायोचित हुँदैन।’

हेर बिजोग, यहाँ एउटी बलात्कृत युवतीको कुरा भइरहेको छ। न्यायाधीशहरु भने योनीमा प्रवेश हुने दुई वटा औँलाको प्राविधिक विवादमा अल्झिएका छन्।

कट्टुमा भेटिएको शुक्रकिट र रौँ कसको?
यसमा म अनुसन्धान गर्ने निकायको गम्भीर गल्ती देख्छु। पीडितले घटना भएको समयमा लगाएको लुगामध्ये कट्टुमा Human sperms cell found (मानव शुक्रकिट भेटिएको) र रौँहरु भेटिको भनेर केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट लेखिआएको रहेछ।

जिल्ला न्यायाधीश हिमालयराज पाठकले आफ्नो फैसलामा प्रतिवादीहरुको शुक्रकिट र रौँहरु भेटिएको ठहर गरेका छन्। अनि पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीले भने ‘ती मानव शुक्रकिट र रौँहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी भएको नदेखिँदा रिपोर्टले नबोलेको तथ्यलाई अदालतले आफैले अनुमान गरी उक्त मानव शुक्रकिट र रौँहरु यिनै प्रतिवादीहरुको नै हो भनी किटानी गर्ने अवस्था रहँदैन’ भनेको छ।

भो अब ? जिल्लाले अनुमानको भरमा यो प्रतिवादीहरुको हो भनेको भए पुनरावेदनले पनि अनुमानकै आधारमा होइन भनेको त हो नि। फैसला गर्दा यस्ता अनुमानलाई आधार बनाउने कि प्रमाणलाई ? त्यो शुक्रकिट र रौँ कसको भनी डिएनए रिपोर्ट पेस गरिदिए त दुई अदालतले अनुमानको खेती नै गर्नुपर्ने थिएन नि।

अझ पुनरावेदनले यस्ता यस्ता तर्क पनि गरेको छ- ‘अरुहरुले पनि सामूहिक बलात्कार भएको भनी उल्लेख भएबाट निजको सो भनाई आधारमा कट्टुमा देखिएको मानव शुक्रकिट र रौँ यिनै प्रतिवादीहरुको हो भनी अनुमान गरी भन्न सक्ने अवस्था रहेन।’

अहिले न्याय परिषद्ले कारबाही गर्नै लाग्यो भनेर हल्ला मच्चाइए पनि, न्यायाधीशलाई तथानाम गाली गरे पनि पुनरावेदनले रिफरेन्स दिई दिई फैसला गरेकोले कम आँक्न पक्कै सकिँदैन। एउटा रिफरेन्स दिइएको छ सागरप्रसाद श्रेष्ठ विरुद्ध श्री ५ को सरकार मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसला जसमा भनिएको छ, मानिसको स्खलित वीर्य गुप्ताङ्गमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरुकै हो भनी यकिन ठहर गर्न न्यायोचित नदेखिने।

फितलो अनुसन्धान, कमजोर केस
अनुसन्धान गर्ने निकाय अर्थात् प्रहरीले गरेको फितलो अनुसन्धान, अदालतसम्म पीडितको एउटै व्यहोराको बयान जानु पर्नेमा फरक फरक रुपमा प्रस्तुत हुन नदिन सरकारी वकिलले लिनुपर्ने अग्रसरता र सावधानी नदेखाएको जस्ता कारणले केस कमजोर बनेको देखिन्छ।

एउटा मुख्य कमजोरी नै पीडितको बयानमा भिन्नता हो। सुरु जाहेरीदेखि अदालतसम्म र अझ पछिल्लो समयमा कान्तिपुरमा प्रकाशित पत्रसम्म पनि बयान फरक फरक देखिन्छ।

सुरु जाहेरी दरखास्तमा दिउँसो १२ बजे गेसपेपर किन्ने क्रममा फोटो स्टुडियोमा विभिन्न किसिमको औषधी सुईको प्रयोग गरी अचेत अवस्थामा पारी सामूहिक बलात्कार गरेको उल्लेख छ।

प्रहरीले अनुसन्धान सकाएपछि सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाको मुख्य अभियोगपत्रमा पनि ‘सागर भट्ट र अमरराज अवस्थीले डरत्रासमा पारी बेहोस बनाउने सुई दिई बलपूर्वक पसलभित्र लगी खटियामा पल्टाई पीडितलाई सामूहिक रुपमा पालैपालो गरी जबर्जस्ती करणी गरेको’ उल्लेख थियो।

तर महिला विकास अधिकृतलाई सम्बोधन गरी लेखिएको निवेदनमा दुई जनाले बलात्कार गर्दा आफू अचेत भएकीले अन्य पनि व्यक्तिहरुबाट आफूू बलात्कृत हुन सक्ने वा आफूलाई अरु थाहा नभएका व्यक्तिसमेत थप भई बलात्कार गरेको हुनसक्ने भनेका रहेछन्।

यसभन्दा बिल्कुल फरक बकपत्र दिइन् उनले जिल्ला अदालतमा। त्यहाँ उनले फोटो स्टुडियोको खाटमा होइन, आफू बस्दै आएको घरको कोठामा आएर खुट्टा र पाखुरामा सुई लगाएर जबर्जस्ती गरेको भनिन्। जिल्ला अदालतको फैसलामा उल्लेख उनको बकपत्रको सारांश यस्तो छ-

२०६८ चैत ९ गतेको दिन गेस पेपर किन्न सागर भट्टको पसलमा जाँदा विभिन्न किसिमका गेसपेपर हेर्दा खेरी अबेर भयो। मैले सागर भट्टसँग पानी मागी एक गिलास खाएँ। त्यहाँ अमरराज अवस्थी बसिरहेको थियो। मैले पानी खाइसकेपछि टाउको दुख्यो, रिङ्गटा लागे जस्तो भयो। त्यहाँबाट दिदीको घरमा गएँ। घरमा जाँदा आधी बाटोसम्म ती दुवै जना मेरो पछि पछि लागे मलाई मतलब भएन। म छ बजे घर पुगेँ। दिदीले खाना पकाउनु भयो र मैले खाना खाएँ। रिङ्गटा झन् झन् बढ्न थाल्यो। दिदीको छोरी म सँगै सुत्ने भएकीले मैले ढोका लगाइनँ। म सिरकमा गुटमुटिएर सुतिराखेको थिएँ। त्यही बेला मेरो कोठाभित्र १०:३० बजे यी दुवै जना प्रतिवादी सागर भट्ट र अमरराज अवस्थी आएर सिरानीले मेरो मुख च्याप्यो। त्यसपछि सुई खुट्टा र दायाँ पाखुरामा घोच्यो। अनि दुवै जनाले मलाई के के गर्‍यो, त्यो बेला थाहा भएन। राति साढे ११/१२ बजेतिर निद्रा खुलेपि यी दुवै जना प्रतिवादीहरु बाहिर गइराखेका थिए। मैले आफ्नो जिउ हेर्दा खेरी बायाँ गालामा निलडाम थियो। आफूले अनुभव गर्दा जिउ तलमाथि दुवैतिर दुखेको थियो। मैले लगाइराखेको लुगाहरु फेरिएका थिए। भित्रपट्टी कट्टु र गन्जी थिएन

कान्तिपुर दैनिकमा छापिएको कानुन मन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा भने पीडितले आफूलाई सोडापानी खुवाएपछि रिङ्गटा लागेको र ट्वाइलेटमा जाँदा त्यहीँभित्रै सामूहिक बलात्कार गरिएको बताएकी छिन्।

उनका फरक फरक बयानले यस्ता प्रश्न उब्जाउँछन्-

बलात्कार भएको ठाउँ कहाँ हो ? फोटो स्टुडियोमा कि त्यहाँको खाटमा कि ट्वाइलेटमा ? कि उनी बस्दै आएको घरको कोठामा ?
सुई दिएको हो कि पानीमा नशालु पदार्थ मिसाएको ?

केस कमजोर बनाउने बयान
अदालतमा पीडितले आफूलाई बलात्कार गरिएको ठाउँका रुपमा आफू बस्दै आएको जुन घरको कोठा बताइन्, त्यो घर उनकै दिदी कमला विष्टको थियो। कमलाले गरेको कागज र अदालतमा गरेको बकपत्रले पनि केस कमजोर बनाउन मद्दत गरेको छ। पीडितले असामान्य हर्कत गर्न थालेपछि झारफुक गर्न हात बाँधेर राखेको उल्लेख भएको छ। अनुहारमा लागेको चोट झाँक्रीका कारण भएको हुनसक्ने अनुमान पनि त्यही भएर पुनरावेदनले गरेको छ।

‘बजारबाट फर्केर आउँदा चोट लागेको थिएन, झाँक्रीहरुले चुल्ठो समातेर पिटपाट गरेको बेला चोटपटक लागेको हुनुपर्छ’ समेत बकपत्रमा रहेछ।

जिल्ला अदालतको फैसला यस्तो छ-









14 comments to पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु

  • sudhir

    दुइवटा कुरा छुटेका छन्; बलात्कारको लगत्तै जिल्ला अदालत र पुनरावेदन अदालतसम्म के के भयो? मूलतः पूजालाई उद्धार गर्नेले कहाँबाट उद्धार गरेर कहाँ कहाँ लगे? अनि अहिले उनि कहाँ छिन? तेश्रो प्रश्न जन्मिन्छ, उद्धार गर्नेले पुनरावेदनले दिएको ७० दिने म्याद भित्र सर्वोच्चमा पुनरावेदनगर्न किन चासो जनाएन?
    अदालत चुकेको कहाँ देखिन्छ भने प्रतिवादीले बलात्कारीको भनिएको मेडिकल रिपोर्टको प्रमाण मेरो होइन भनेको छ. प्रतिवादीकोपनि मेडिकल परिक्षण पुनरावेदन अदालतले किन गराएन?
    नेपालका मानवअधिकार कर्मीहरुले बारम्बार भनि आएको दुइटा कुरा:
    (०१) गम्भीर प्रकृतिका मामिलामा भुतलक्षी कानुन बनाएर भएपनि न्याय दिनु पर्छ.
    (०२) राष्ट्रपति समक्ष अपील गरेर गम्भीर मामिलामा पुन: परिक्षण गर्ने प्रावधान हुनुपर्छ.
    कुनै एक बिषय भरपुर उछाल्यो, सक्नेलाई मेडियाबाजी गय्रो, सुरुआत गय्रो अनि बिर्षियो. भीडमा जसले जे भन्यो त्यहि कुरालाई समाचार बनाउने प्रवृतिमा पत्रकार रमाएका छन. हुँदा हुँदा कोकाकोलामा यौन-उत्तेजक औषधि मिसाएर ख्वाएको कथापनि समाचार बनाइयो. पूजाको तर्फबाट उजुरी गर्न तछाड मछाड भएको छ. उजुरीकर्ताहरुले पेशगरेको घटनाको बयान फरक फरक छन.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • एउटा गरिब परिवार कि छोरी बलात्कृत भयाकी छिन | सालोक्य को लेख त्यति चित्त बुझ्दो लागेन | आखिर जहाँ भय पनि बलात्कार भयको सत्य हो | बलात्कार गर्ने अपराधी हुन् | बयान ठिक भयन रे भनेर लेखेको खासै मलाई मन परेन | यस्तो समाचार लेखेर अपराधी लाइ उन्मुक्ति दिने जस्तो देखिन्छ | ति गरिब बहिनि लाइ यस्तो बेलामा तपाई हाम्ले सहयोग गर्नु धर्म हो तर अतिरन्जित तरिकाले खण्डन गर्नु गलत हो |

    अपराधी लाइ फासी को सजाय होस् , हाम्रो यहि चाहना

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 4

  • surekshya gupta

    Thank you Salokyaji for breaking the “one sided journalism for personal benefit” policy adopted by different types of “patis” of Nepal. Ratopati just happened to dig deeply into this case where the rape perpetrator were given clean chit by judges. These judges so happened to be linked with Congress and Yemale was very much highlighted.Not anything was mentioned like what we got to read above. Co-incidence also that the victim was given one lakh by then PM BRB was also highlighted. Journalism truly can manipulate people. Credibility of ratopati is lost to a deep extend. Hopefully more people would be able to see it.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • D. Bhandari

    सालोक्य जी, तपाइले जे जस्तो microanalysis गरे पनि बास्तबिकता भनेको पूजा जी बलात्कृत हुनु भएको कुरामा कुनै दुबिधा छैन/ bottom line यहा के हो भने, पीडक को हो ? answer त्यति गार्हो कुरा भएन ऐलेको समय मा – sperm र कपाल को dna टेस्ट गर्नु दुधको दुध पानीको पानि छुट्टी हाल्छ/ हो अदालत को निर्णय सबै solid proof भन्दा पनि भावनामा बहकिएको देखिन्छ तर किन अदालत ले dna proof माग्न सकेन? कि हाम्रो न्यालायाले यस्तै बकवास decision गर्छ? अब बाकि रह्यो, पूजा जी को बयान को (अनि एक पटक सोच्नुस कि त्यो पीडित तपाइँ हुनुहुन्थियो अनि महसूस गर्नु त्यो मानसिक तनाब) सम्बवत उहाको मानसिक स्तिथि हिजो भन्दा आज पक्का राम्रो भएको हुनुपर्छ किन कि ऐले त उहाले SLC पास गरिसक्नु भएको छ र मा ब्याक्तिगत रुपमा उहाको पछिल्लो बयानमा केहि वजन भएको महसूस गर्दछु/ अन्तमा सायद हामि सबैलाई शंका नभएको कुरा के हो भने “पुजा पिडित हुन्” अब सोच्नुस उहाले न्याय पाउने कि नपाउने?

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • एउटा केटि को रेप को केश लाइ येति नजिक बाट खोतल्दा उसको जिन्दगि त बर्बाद हुञ्छ हुन्छ, पढ्ने लाइ सम्म अफ्ट्यारो . हाम्रो देश अमरिका जस्तो बिकसित त छैन जहाँ एस्तो कुरा लाइ सामान्य लियियोस ….

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 10

  • Prakash_Canada

    “आफू बस्दै आएको घरको कोठामा आएर खुट्टा र पाखुरामा सुई लगाएर जबर्जस्ती गरेको भनिन्।”
    This injection is not easy to administer. The dose of injection should be calculated very accurately, otherwise this lady can go to cardiac arrest. How these people, who is not even a medical/clinical professional, can adjust dose that is exactly good for 1 hour until rape is done.” This case now confused me.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 11

  • bijay

    It is easy to get carried away in emotions, but when it comes to charging and prosecuting someone for a serious crime then facts (or the way the facts are reported) is what ultimately matters. In case of Nepal there is no doubt that either money, power, mob or media rules in swaying public opinion in such matters. But if people (assuming that they could be victim of such atrocities at some point in their life) could be made aware of what counts in court decisions, only then these kind of situations could be avoided. Had the girl known that changing her statement three times would make anyone suspicious about what she is saying she probably would have never done it in first place.

    Check this link showing how is the rape situation in India:
    https://www.youtube.com/watch?v=9J8ifuHyHjk&list=PLhMXTT56gOntuWCxyX8rgS7LgrPoD-5Lw

    Also this showing how an innocent act can be some expensive in lack of proper knowledge of law:
    http://www.cnn.com/2014/01/23/justice/kansas-sperm-donation/

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • Shankar

    यो चेकगर्ने बहाना मा योनिमा दुइटा आउला घुसाउने को हो ? तेस्लाई पनि कारबाही गर्न पर्छ | खुरुक्क डी यन ये टेस्ट गर्ने र आरोप लागेको लाइ उल्टो पारेर झुन्ड्याएर
    सियो ले पुक्क पुक्क गालामा घोचेर सोध्ने , अनि पत्ता लाग्छ | आइमाई को आँखा छैन ? देख्दा देख्दै कानुन ? के को कानुन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 6

  • Shruti

    मैले बुझ्न नसकेको कुरा पूजालाई हस्पिटल लगे पछि डाक्टरहरुले बलात्कार भएको भन्ने थाहा भए पछि उनको शरीरमा भेटिएको semen र hair को sample लगाएत अरु प्रमाणहरु उपलब्ध गराइदिने र तुरुन्त पुलिसलाइ खबर गरिदिएर अनुसन्धान अघि बढाउन किन मदत नगरेको होला. यस्तो घटनाको मुख्य प्रमाणहरु त सबै हस्पिटलको बिज्ञान प्रयोगशाला मा बन्नु पर्ने होइन र? अनि अरोपिहरु पक्रिए पछि उनीहरुसंग त्यो sample match गरेपछि बलियो प्रमाण बन्ने थियो होला. यस्तो ठुलो घटनामा पनि सम्बेदंसिलता नै छैन. आज भोलि त झन् जे कामको लागि पनि मीडियाको pressure नभैनहुने भैसक्यो हाम्रो नेपालमा. पूजालाई छिट्टै न्याय मिलोस र उनको बलियो आत्मबिस्वाश र सफल भबिस्यको लागि कामना गर्दछु !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 2

  • विजय

    पैसाले सबैकुराे किन्न सक्ने भएपछि कसकाे बाउकाे के लाग्छ? जिल्लाकाे फैसला पुनरावेदन अदालतले उल्टाउनुकाे प्रमुख कारणै त्यही हाे पैसा । पैसाकाे अगाडी इमान्दारीता, नैतिकता, कर्तव्य परायणताले पनि शिर निहुरयाएपछि परिणाम सुल्टाे अाउने त कुरै भएन नी ।

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2

  • jasmine

    सालोक्य जी ले राम्रै खोजबिन गरेर यथार्थ बाहिर ल्याउनु भाको जस्तो देखिन्छ…केस त फितलो नै देखिन्छ हेर्दा त…हो पुजा बलात्कृत भएको भन्ने कुरा मा कुनै विवाद देखिएन..तर कसले गर्यो त त्यो अपराध ? बलात्कृत भएपछि पुजा को मानसिक अवस्था सुरु मा निकै कम्जोर भएको जस्तो लग्यो जुन स्वाभाविक पनि हो …फरक फरक बयान साएद येही कारण ले होला..यस्तो मा तेस बेला को परिस्थितिजने प्रमाण हरु बादी महत्व पूर्व हुनु पर्ने हो..के कति उपलाप्ध भयो कुन्नि?

    प्रणाम नपुगेको कारण ले यिहा प्रतिवादी हरु छुट्न सक्ने नै देखिन्छ सर्बोच्व बाट पनि…यस संगै अर्को प्रस्न पनि आउछ ..येदि तिनी हरु निर्दोष हुन् भने (अदालतले भने पछि मान्नु पर्यो) बिना कारण ३ वर्ष जेल बसेको भनेर छेतिपुर्ती पो पाउने भए त तिनले, होइन?

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • kedar

    कतै अनुजा बानियाँले धरानमा पुरुषोत्तम पौडेलको ९१ लाख रुपैंया र हिराको हार भेट्टाएर फिर्ता गरे जस्तो त हुने वाला छैन यो केस ?

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 14

  • […] पनि हेर्नुस्- पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमा… पूजा बलात्कार : के छ पुनरावेदनको […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमा… […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0